Friday, April 19, 2024

-->

विचारको बहस : को वामपन्थी, को दक्षिणपन्थी?

पुँजीवादी देशहरू पनि वामपन्थबाट मुक्त छैनन्। जतिखेर पुँजीवाद संकटमा पर्छ,  त्यतिखेर आफूलाई जोगाउनका लागि पुँजीवादले वामपन्थको अभ्यास गर्छ।

विचारको बहस  को वामपन्थी को दक्षिणपन्थी

सन् १७८९ मा फ्रान्सको नेशनल एसेम्ब्लीमा संविधान मस्यौदाका लागि बैठक बोलाइएको थियो। यसको उद्देश्य राजा लुई १६औँ लाई कति अधिकार दिनुपर्छ भन्ने तय गर्नु थियो। बैठकमा समाजका उच्च वर्ग, चर्चका पादरी र मजदुर वर्गका सदस्यहरू पनि बोलाइएका थिए। त्यहाँ उपस्थित कुलीन र उच्च वर्गका प्रतिनिधिहरू निम्त्याएका मजदुर वर्गका प्रतिनिधिहरूसँग एकै ठाउँमा बस्न चाहेनन्। सिधा भन्नुपर्दा सुकिलामुकिला र सम्भ्रान्तहरू तल्लो भनिने मैलाधैला वर्गसँगै एउटै लाइनमा वा साइडमा बस्न चाहेनन्। आफू बस्नका लागि उनीहरूले राजा बसेभन्दा दक्षिणपट्टिको ठाउँ रोजे। राजाभन्दा दायाँपट्टि बसेका उच्च वर्गका प्रतिनिधिहरू र चर्चका पादरीहरू आम रूपमा परिवर्तनलाई रुचाउँदैनथे। उनीहरू तत्कालीन राजशाही–सत्ता टिकाउन चाहन्थे। उनीहरू राजालाई बढीभन्दा बढी अधिकार दिनुपर्ने पक्षमा थिए। राजतन्त्रका भक्तहरू परम्परागत चलन र स्थितिका पोषक थिए।

तर उपस्थित मजदुर र मैलोधैलो वर्गचाहिँ समाजमा परिवर्तन चाहन्थ्यो। नौलो स्थिति ल्याएर पुराना विभेद र असमानता हटाउन चाहन्थ्यो। यसरी राजाको बायाँपट्टि आफ्नो अधिकार खोज्ने र परिवर्तन चाहने मान्छेहरू बस्न पुगे। यो बसाइकै आधार पछि गएर व्यक्तिको विचारको पक्षधरता जनाउने संकेत बन्यो। यथास्थिति चाहनेलाई दक्षिणपन्थी भनियो, सुधार र परिवर्तन रुचाउनेलाई वामपन्थी भनियो। त्यसपछि पत्रपत्रिकाले पनि ‘राइट विङ र लेफ्ट विङ’ भनेर व्याख्या गर्न थाले। यसरी वामपन्थी र दक्षिणपन्थी अवधारणाको विकास भयो।  

आजको वामपन्थ 
वामपन्थी र दक्षिणपन्थीको अवधारणा बिस्तारै थप विकसित हुँदै गयो। परिवर्तन, सुधार  र गणतन्त्र चाहनेलाई उतिखेर 'बायाँतिर बस्नेवाला' या वामपन्थी भनियो। जतिखेर वामपन्थी भन्ने अवधारणा आएको थियो, त्यतिखेर त कम्युनिस्ट विचारधारा पनि पूर्णरूपमा विकसित भइसकेको थिएन। कम्युनिस्टहरू समेत वामपन्थभित्रै अटाउनुपर्ने अवस्था थियो। दक्षिणपन्थीभित्र पुरातनपन्थी भएझैँ वामपन्थीभित्र कम्युनिस्ट विचार भएकाहरू अटाएका थिए। 

तर जब समाजवादी आन्दोलन विकसित हुन थाल्यो, त्यसपछि वामपन्थ भन्ने शब्द केही समय हरायो। समाजवादले नै सुधार र परिवर्तनका अजेन्डा बोकेको हुनाले त्यसो भएको थियो। समाजवादी आन्दोलन र बहसहरू शुरू भइसकेपछि कम्युनिस्ट शब्द पनि विकसित हुन थाल्यो। सन् १८१४ मा फ्रान्समा संवैधानिक राजतन्त्र लागू भइसकेपछि त्यहाँ ‘लिबरल’ र ‘कन्जर्भेटिभ’हरू प्रमुख दुई पार्टीका रूपमा देखिए। कन्जरभेटिभहरू पुरातन विचारका र यथास्थितिको पक्षमा थिए भने लिबरलहरू तत्कालीन परिस्थितिमा सुधार र परिवर्तनका पक्षमा थिए। यसकारण राजा लुई १६औँ को पालामा भएको विगतसँग तुलना गरेर कन्जरभेटिभलाई दक्षिणपन्थी र लिबरललाई वामपन्थी भनिन थालियो। 

पहिले बसाइका आधारमा लेफ्ट विङ र राइट विङ भन्ने अवधारणा थियो। पछि भने ठाउँको सट्टा विचारधारा र प्रवृत्तिको आधारमा वामपन्थ र दक्षिणपन्थ अस्तित्वमा आयो। पछि विचार र राजनीतिको जटिलताबाट बच्न र तटस्थ देखिन वामपन्थ र दक्षिणपन्थीको बीचमा  मध्यपन्थ समेत देखियो। यस मध्यपन्थले आफूलाई वामपन्थ र दक्षिणपन्थी दुवैका राम्रा मुद्दाहरू मिसाएर आफूलाई प्रस्तुत गर्थ्यो। राजनैतिक दृष्टिले यो अवसरवादी धारा हो। 

गत चुनावको नतिजापश्चात् रवि लामिछानेका पार्टीका नेता तथा कार्यकर्ताहरूबीच पन्थका बारेमा हल्काफुल्का बहस चलेको पनि हामीले देख्यौँ। शिशिर खनालहरूले आफूलाई ‘सेन्टर टु लेफ्ट’ भने। रवि लामिछानेले 'हामी त राइटिस्ट हौँ' भने। अर्को कुनैले 'हामी सेन्टर टु राइट हौँ' भन्यो। त्यसकारण, राजनीतिमा लाग्ने र चासो लाग्नेका लागि पन्थ र विचारधारा महत्त्वपूर्ण कुरा हो। 

लेनिनले विचारधाराको यो द्वन्द्व र अन्तर्द्वन्द्वबारे किताब नै लेखे। 'वामपन्थी साम्यवाद : एक बालरोग' नामको किताबमा कम्युनिस्ट आन्दोलनभित्रका दुस्साहसवादीलाई वामपन्थी भनिएको छ। तर समय बदलिँदै गएपछि आजका दिनमा वामपन्थ नयाँ अर्थबोधमा परिवर्तित भएको छ। आजका दिनमा मार्क्सवादप्रति मोह राख्ने, समाजमा केही केही विषयमा सुधार गर्न चाहनेहरू तथा सेन्टर लाइनभन्दा बायाँतर्फ बस्नेहरूलाई  वामपन्थी भन्न थालिएको छ। यो चलन प्रायः पश्चिमा पुँजीवादी देशहरूबाट शुरू भएको हो। युरोप र अमेरिका जस्ता पुँजीवादी देशहरूमा पुँजीवादको आलोचना र निजी पुँजीको तुलनामा पुँजीवादभित्रै जनकल्याणकारी सामूहिक अर्थ राजनीतिको पक्ष लिनु पनि दुस्साहस गर्नु हो। अझ, जहाँ मार्क्सवादीलाई उपेक्षापूर्ण नजरले हेरिन्छ, त्यस्तो समाजमा मार्क्सवादी हुनुको अर्थ भयानक दुस्साहसवादी हुनु नै हो।  

यसकारण पश्चिमा पुँजीवादी देशहरूमा पुँजीवादी संरचनाको सामान्य विरोध गर्नेहरू र फरक देखिनेहरूलाई पनि वामपन्थी भनिन थालियो। पुँजीवादको विरोध गर्ने, उदारवादी दृष्टिकोण राख्ने, धर्म निरपेक्षताको वकालत गर्ने, पर्यावरणका कुरा र कहीँ कतै त समलैंगिक सम्बन्धको अधिकारका कुरा समेत उठाउनेलाई वामपन्थी भनिने गरेको छ। पश्चिमा फेसनमा अब हामीतिर पनि वामपन्थ यस्तै भएको छ। यस कारण अहिलेको समयमा मार्क्सवादप्रति मोह त राख्ने तर आमूल परिवर्तन या क्रान्तिकारी क्रियाकलापमा सहभागी हुन नचाहनेलाई वामपन्थी भन्न सकिन्छ। यसको तुलनामा कम्युनिस्ट हुनलाई मार्क्सवादी विचार, वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, श्रमिक तथा उत्पीडित वर्ग र समुदायप्रतिको पक्षधरता र सर्वहारा वर्गीय क्रान्तिप्रतिको प्रतिबद्धता र सक्रियता अनिवार्य छ। त्यसै कारण भनिएको होला, ‘सबै कम्युनिस्टहरू वामपन्थी हुन्छन्, तर सबै वामपन्थीहरू कम्युनिस्ट हुँदैनन्।’

मध्यपन्थी कांग्रेस 
नेपाली कांग्रेसले आफ्नो विचारधारालाई प्रजातान्त्रिक समाजवाद भन्छ। प्रदीप गिरिले समाजवादी प्रजातन्त्र भन्थे। समाजवादी प्रजातन्त्र भन्दा समाजवादको हिस्सा बढी हुने भयो। प्रजातान्त्रिक समाजवाद भन्दा त्यसमा प्रजातन्त्रको हिस्सा बढी र समाजवादको हिस्सा कम हुने भयो।

तुलना नै गर्दा कांग्रेस मध्यपन्थी दृष्टिकोण बोक्ने पार्टी हो। अहिले त चुनावी राजनीतिमा कांग्रेस विचारबाट पुरै टाढिएको छ। तर पनि विगतमा त्यहाँको केही नेताहरू मध्यबाट वामतर्फ (सेन्टर टु लेफ्ट) देखिन्थे। कांग्रेस पार्टीका प्रारम्भका नेता बीपीलाई पनि सेन्टर टु लेफ्ट विचार बोक्ने नेताका रूपमा लिन सकिन्छ। उनले वामपन्थप्रति मोह देखाएका छन् तर कम्युनिस्ट आन्दोलन र लेनिनप्रति उनको आलोचनात्मक दृष्टिकोण छ। भर्खरै बितेका प्रदीप गिरी पनि सेन्टर टु लेफ्ट हुन्। उनलाई पूर्ण वामपन्थी भन्न अलि अप्ठेरो छ। उनले पुँजीवादको आलोचना त गरे तर क्रियात्मक विरोध गरेनन्, आलोचनात्मक प्रखरताका बाबजुद यथास्थितिलाई भङ्ग गर्न चाहेनन्। तर कांग्रेसका अरू नेताभन्दा त गिरी धेरै अर्थमा वामपन्थी हुन्। उनी रोजा लक्जेम्बर्ग र कानुनी साम्यवादको अवधारणा अघि सार्ने वर्नस्टिनलाई रुचाउँथे। 

लेफ्ट टु राइट यात्रामा एमाले र माओवादी
विगतका नाराहरू हेर्दा एमालेलाई वामपन्थी भन्न सकिन्छ (अहिले त त्यो पनि हराएको छ र संकीर्ण धार्मिकता तथा सांस्कृतिकता हाबी हुँदै गएको छ)। तर लेनिनले ‘वामपन्थी अवसरवादीहरू पनि अन्ततः दक्षिणपन्थमै सकिन्छन्’ भने झैँ अहिले एमालेको वैचारिक अवस्था हेर्दा उ ‘लेफ्ट टु फार राइट’को यात्रामा छ। एमालेले आफूलाई मार्क्सवादी लेनिनवादी भने पनि एमालेको दस्ताबेजमा पुँजीवादको समर्थन छँदैछ। निजी पुँजीको समर्थन भन्नु आखिर पुँजीवादकै समर्थन हो। व्यवहारमा पनि हेर्ने हो भने नेपालमा आइएनजिओको विकास गर्ने श्रेय एमालेलाई नै जान्छ। वामपन्थको न्युनतम् सकारात्मक अवधारणा हेर्ने हो भने त्यो बजारको विरोधमै खडा हुन्छ। तर बजारको भूमिका बढाउनमा एमालेको पनि भूमिका छ। भलै पुँजीवादलाई औपचारिक रूपमा संविधानमा ल्याउने श्रेय रामशरण महतकै हो। तर नेपालमा पुँजीवाद (अविकसित र विकासशील देशहरूमा दलाल पुँजीवाद)को विकासमा एमालेको कम भूमिका छैन। उसको दस्ताबेजमा जे लेखिए पनि वर्ग संघर्षको कुरा समाप्त भइसकेको छ। त्यसो हुँदा नाममा माले लेखे पनि एमाले मार्क्सवादी लेनिनवादी त हुँदै होइन।  

माओवादीको कुरा गरौँ। संघर्षमा हुँदादेखि गणतन्त्रमा आउँदासम्म माओवादी कम्युनिस्ट नै थियो। पछि विभाजित भयो। माओवादी सैद्धान्तिक रूपमै चुनावी राजनीतिमा डुब्यो। त्यसपछि उ वामपन्थी भयो। अब उसको यात्रा वामपन्थबाट पनि ओरालोतर्फ छ। यदि उसले आफूलाई सुधार गर्न सकेन भने उ पनि लेफ्ट टु राइटकै यात्रामा छ। त्यसो हुँदा उ पनि एमालेकै स्थितिमा पुग्न सक्छ। 

संगत वामपन्थ र असंगत वामपन्थ 
त्यसो भए वामपन्थी हुनु राम्रो होइन त? यदि साम्यवादतर्फ जाने सोचसहितको वामपन्थ हो भने त्यो सही हो। तर वामपन्थबाट दक्षिणपन्थतर्फ जाने हो भने गलत हो। कम्युनिस्ट बन्ने यात्राका क्रममा कोही वामपन्थी भएको हो भने त्यो ठीक हो। तर लोकाचारका लागि मात्रै कसैले वामपन्थी ढोँग गरेको छ भने त्यो गलत हो। मार्क्सवादले वर्ग संघर्ष र सर्वहाराको अधिनायकत्व सिकाउँछ, मानवीय बनाउँछ र समाजवादी क्रान्तिहरूको माध्यमबाट साम्यवादी विश्व निर्माणको दिशामा लैजान्छ। कोही त्यस दिशामा जान गोडा उचाल्ने वामपन्थी हो भने उ सही छ। त्यस्तो वामपन्थलाई संगतपूर्ण वामपन्थ भन्न सकिन्छ। 

तर बायाँबाट दायाँ जाने वामपन्थी कोही छ भने उ असंगत वामपन्थी हो। मार्क्सवाद र सर्वहाराको अभिनायकत्वप्रतिको प्रतिबद्धता तथा भौतिकवादी विश्व दृष्टिकोणबाट निरन्तर स्खलनको यात्रामा रहेको कोही वामपन्थी छ भने उ असंगत वामपन्थी हो। लेनिनले पनि प्रजातन्त्रमाथि टिप्पणी गर्दै ’संगत प्रजातन्त्र’ र ‘असंगत प्रजातन्त्र’का कुरा गरेका थिए। 

कम्युनिस्ट भन्नेबित्तिकै बीचमा एउटा सीमा राख्न आवश्यक छ। तपाईंमा सर्वहारा वर्गको अधिनायकत्व र समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धता छ, तपाईं समाजमा व्याप्त अधिभूतवादी चिन्तनविरुद्ध दृढतापूर्वक उभिनुहुन्छ। यसलाई तपाईं प्रतिबद्धताका रूपमा स्विकार्नु हुन्छ या पुरानो समाजलाई बदल्ने कुरामा प्रतिबद्ध र सक्रिय हुनुहुन्छ भने तपाईं कम्युनिस्ट हो। यो व्यक्ति र राजनीतिक संगठन दुवैमा लागू हुन्छ। अर्को अर्थमा मार्क्सवादी कम्युनिस्ट विचार स्विकार्ने मात्र नभएर क्रियाशील रहने पार्टीहरू नै कम्युनिस्ट हुन्। केवल सुधारवादी मात्रै हुनु भनेको त वामपन्थतर्फ फर्कनु हो। उल्टो दिशामा फर्कनु हो। 

वामपन्थ : लचकदार अवधारणा 
पुँजीवादी देशहरू पनि वामपन्थबाट मुक्त छैनन्। जतिखेर पुँजीवाद संकटमा पर्छ,  त्यतिखेर आफूलाई जोगाउनका लागि पुँजीवादले वामपन्थको अभ्यास गर्छ। अमेरिकाका डेमोक्रेट बर्नी स्यान्डर्स वामपन्थी होइनन्, उनी उदार पुँजीवादी हुन्। उनी आफ्नो राजनीतिक टल्काउन संकीर्ण पुँजीवादको आलोचना गर्दै सार्वजनिक लाभका कुरा गर्दै जनकल्याणकारी पुँजीवादको वकालत गर्छन्। त्यसै कारण अमेरिकामा उनलाई 'डेमोक्रेट पार्टीभित्रको वामपन्थी' भन्नेहरू पनि छन्। पुँजीवादले निर्मम शोषण गर्न थालेपछि चारैतर्फ असन्तुष्टि उत्तेजना र आन्दोलन शुरू हुन्छ। अनि पुँजीवादले आत्तिएर केही सुधारका कार्यक्रमहरू ल्याउँछ। अमेरिकामा शिक्षा र स्वास्थ्यमा कतिपय राज्यमा निःशुल्क समेत व्यवस्था छ,  त्यो वामपन्थबाटै प्रभावित अवधारणा हो। 

कतिपयले भन्छन् कि वामपन्थ आफैँमा प्रतिबद्ध अवधारणा हो भन्ने लाग्छ तर वामपन्थ एक लचकदार अवधारणा हो। त्यसमा कम्युनिस्ट आन्दोलनमा प्रतिबद्ध र मार्क्सवादप्रति मोह राख्ने व्यक्तिहरू पनि हुन्छन्। तत्कालीन रूपमा जतिखेर पेरिस कम्युन असफल भयो, त्यसलाई लिएर लेनिनले भनेका थिए, "मजदुरहरूको विद्रोह यो समाप्ति होइन, यो समुन्द्रको छालजस्तै हो। यसले पटक पटक संसारलाई भिजाइरहन्छ। जबसम्म यसले सारा संसारलाई नै भिजाउँदैन, तबसम्म यो दोहोरिरहन्छ।" अतः आजका दिनमा पनि वामपन्थ यो वा त्यो नाममा सबैतिर छ। वर्ग संघर्षमा आधारित समाजवाद र साम्यवादको दिशामा वामपन्थ गयो भने समाजका लागि हितकारी हुन्छ।


सम्बन्धित सामग्री