Thursday, February 29, 2024

-->

प्रतिविश्वव्यापीकरणका प्रभाव

स्थानीयस्तरमा हुने सीमित विकास निर्माणबाहेक बाँकी सबै काम वैदेशिक सहयोग तथा ऋणमा निर्भर छन्। नेपाली अर्थतन्त्रको चारित्रिक विशेषता नै हो याे।

प्रतिविश्वव्यापीकरणका प्रभाव

अन्तर्राष्ट्रिय स्तरमा तीव्र गतिमा विस्तार हुँदै गएको व्यापारिक, आर्थिक, सामाजिक तथा बसाइसराइ आदि सम्बन्धलाई विश्वव्यापीकरण मान्न सकिन्छ। झण्डै दुई दशक (१९९०-२००७) लामो अवधि विश्वव्यापीकरण प्रक्रिया उत्कर्षमा पुगेको थियो। उक्त अवधिमा विश्व व्यापार ७ प्रतिशत प्रतिवर्षका दरले वृद्धि भयो। विश्व अर्थतन्त्रको आकार सरदर ३/४ प्रतिशत प्रतिवर्षका दरले वृद्धि भयो। विश्व अर्थतन्त्रमा आएको अभूतपूर्व परिवर्तनको प्रत्यक्ष असर करोडौँकरोडको संख्याका विपन्नताको चक्रव्यूहमा फसेका परिवारको उन्मुक्तिलाई मानिन्छ। 

सन् २००७ र ८ को मौद्रिक संकटले समतल हुँदै गरेको विश्वलाई धक्का दियो। विश्वव्यापीकरण प्रक्रियालाई उल्टो दिशातर्फ उन्मुख तुल्याउने अर्थात प्रतिविश्वव्यापीकरणको अभ्यास थालनी भयो। राष्ट्रहरू बढ्दो आर्थिक, व्यापारिक, बसाइसराइ तथा सामाजिक आदि सम्बन्धलाई बाधा अड्चनहरू खडा गर्न अग्रसर हुनथाले। उग्र राष्ट्रवाद तथा लोक रिझाई नीतिले महत्त्व पाउन थाल्यो। अवरोधविहीन अन्तर्राष्ट्रिय व्यापार, बसाइसराइ, प्रविधि  तथा पुँजी परिचालनका खिलाफ पहलकदमीहरू अख्तियार गरिन थाले।

परनिर्भरता एक वास्तविकता
आत्मनिर्भर हुन हामी सबै चाहन्छौँ। परनिर्भरता बढेकोमा धेरै दुखेसो पोख्ने गर्छौं। राजनैतिक दलको घोषणापत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यले प्राथमिकता पाउँदै गरेको छ।  विडम्बना, देश भने प्रत्येक दिन अघिल्लो दिनभन्दा बढी पर निर्भर हुँदै गरेको तथ्यांकले देखाउँछ। 

सियो धागो मात्र होइन, जनै तथा डोरोसमेत हामी विदेशबाट निर्यात गर्छौं। ‘कृषिप्रधान देश’ खाद्यान्न तथा अन्य कृषिजन्य वस्तुका निमित्त परनिर्भर हुँदै जानु चिन्ताको विषय भएको छ। 

सरकारी आय (राजस्व प्रणाली) वैदेशिक व्यापारसँग बलियोसँग गाँसिएको छ। विदेशी व्यापार घाटामा छ। आयात नै वैदेशिक व्यापारको पर्यायवाचीमा परिणत हुँदैछ। स्वदेशी निर्माण कार्यहरू वैदेशिक ऋण तथा सहयोग रकममा निर्भर छन्। संवेदनशील निकायहरू जस्तै: संसद्, अदालत तथा सुरक्षा आदिले वैदेशिक सहयोग प्राप्त गर्ने प्रक्रियालाई छलेको घटनाका समाचारले सनसनी फैलाउने गर्न थालेका छन्। 

स्थानीय स्तरमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइनजीओ) द्वारा गरिने खर्चको हिसाबकिताब राख्ने आधिकारिक निकाय जस्तै: अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई अत्तोपत्तो हुँदैन। तर, तिनकै सहयोगबेगर ग्रामीणस्तरका आर्थिक सामाजिक कार्यहरू मात्र होइन, सहरी क्षेत्रका होटल व्यवसाय बन्द हुने अवस्था छ।    

आत्मनिर्भरताको विषय प्रवेश गर्नुपूर्व देशको आर्थिक संरचनातर्फ नजर घुमाऊँ। शुरूआत ग्रामीण परिवेशबाट गरिएको छ। ग्रामीण घर परिवारको आर्थिक सामाजिक सम्बन्ध छरछिमेक तथा प्रकृतिसँग बलियो गरेर गाँसिएको पाइन्छ। कृषिप्रणालीमा आधारित हाम्रो जीवनशैलीलाई हामी निर्वाहमुखी भन्ने गर्छौं। खाद्यान्न आपूर्ति, रोजगारी तथा आयआर्जनको मूल स्रोत कृषि नै हो। खेती तथा पशुपालन यस प्रणालीको अभिन्न अंग हुन्। उत्पादन तथा जीवन सञ्चालन धान्नका लागि जमिनमा भएको स्वामित्व अनुरूपको संख्यामा गाई, गोरु, भैँसी, बाख्रा, खसी बोका तथा हास कुखुरा आदि पाल्ने प्रचलन छ। 

परिवारको खाना तथा पशुका दाना पकाउने दाउरा, पशुका लागि घाँस तथा सोतर वनबाट उपलब्ध हुन्छ। पशुबाट प्राप्त हुने गोबर तथा सोतर नै खेतबारीमा हाल्ने मलको प्रमुख स्रोत हो। घर तथा गोठ निर्माण सम्भारका लागि काठ तथा घर सफा राख्न कुचो आदिका लागि मान्छे जंगलमै निर्भर हुन्छन्।

खेतीयाममा घरपरिवारका सदस्यले खेतीका लागि आवश्यक श्रमको आपूर्ति बिरलै गर्न सक्ने हुँदा खेती यामको श्रम आपूर्ति 'पर्म' प्रथाअनुरूप हुने गर्छ। एउटा घरपरिवारको सदस्य अर्को घर परिवारको आवश्यक श्रम पूर्ति गर्ने प्रथा नै हो पर्म। यस प्रथालाई अचेल सविस्तार पुँजी अर्थात् ज्यालाले विस्थापित गर्दैछ। स्थानीय स्तरका सिँचाई सुविधा पनि सामूहिक श्रम परिचालनबाट हुन्छ। कृषि प्रणाली तथा गृहस्थ जीवन सुचारु रूपमा सञ्चालन गर्नका लागि चुलेसी, खुकुरी, बन्चरो हँसिया, खुर्पा, फाली आदिजस्ता औजार अनिवार्य हुन्छ। उक्त सामग्रीहरूको उत्पादन परम्परादेखि स्थानीय स्तरमै हुँदै आएको छ। 

त्यसैगरी, लुगाफाटो सिउने तथा छालासम्बन्धी कार्य पनि स्थानीयस्तरमै हुँदै आएको छ। बजार व्यवस्थाको विस्तार हुनुपूर्व गृहस्थी जीवनका अन्य आवश्यकता जस्तै: लत्ताकपडा, नुन तेल, सलाई, मट्टितेल, सखर तथा चिनी आदिको प्रबन्धसमेत अन्नको सट्टापट्टाबाटै हुने गर्थ्यो। ग्रामीण क्षेत्रमा हुने लेनदेन तथा व्यापारिक गतिविधि थोकमा हुने प्रथालाई अब नगदले तीव्र रूपमा विस्थापित गर्दैछ। ग्रामीण जनजीवन एकापसको सहयोगले सञ्चालन हुँदै आएको छ। आत्मनिर्भर हुनका लागि परनिर्भरताको अनुपम उदाहरण हो यो।    

जीवन-निर्वाहमुखी भर्सेस् व्यावसायिक
जीवन निर्वाहमुखी कृषि प्रणाली सविस्तार व्यावसायिक हुँदैछ। फलफूल, आलुलगायत सागसब्जी तथा नगदे बाली उत्पादनतर्फ कृषक आकर्षित हुन थालेका छन्।  विशेष गरी पशुपालन व्यवसाय दुग्ध  (गाई, भैँसी)  तथा मासु (खसी, बोका तथा राँगो) उत्पादनप्रति आकर्षण बढ्ने क्रम छ। सहरी क्षेत्रको सामीप्यमा कुखुरा, माछापालन तथा तरकारी उत्पादन व्यवसाय फस्टाउन थालेको छ। सुर्ती, उखु तथा चियाखेतीप्रतिको आकर्षणमा केही शिथिलता आएको छ। कफी तथा फलफूल खेतीप्रति आकर्षण बढ्दो छ। 

समग्रमा आजका दिनमा नेपाली कृषकहरू उत्पादकत्व शक्तिको पहिचान गर्न व्यस्त छन्। बढीभन्दा बढी मुनाफा आर्जन सम्भव वस्तुको उत्पादन गर्न अग्रसर हुँदै छन्। व्यावसायिक कृषि प्रणालीका निमित्त श्रम तथा प्रविधिको भूमिका निर्वाहमुखी कृषि प्रणालीमा भन्दा बढी हुन्छ। घर परिवारको आफ्नै श्रम तथा प्राविधिक ज्ञान क्षमताले व्यावसायिक प्रणाली थेग्न सक्दैन। व्यावसायिक कृषकको जति आयआर्जन बढ्न थाल्छ, त्यति धेरै घर परिवारको आवश्यकता तथा माग कृषि आधारित वस्तु तथा सेवाबाट औद्योगिक वस्तु तथा सेवातर्फ अग्रसर हुन्छ। समग्रमा भन्नुपर्दा निर्वाहमुखीभन्दा अझ बढी नै परनिर्भर हुन्छ व्यावसायिक कृषि प्रणाली।       

अर्कोतर्फ, प्राय:जसो सबै (ग्रामीण तथा सहरी) घर परिवारले खपत गर्ने दैनिक वस्तुहरूमा आयातितको अंश बढी हुने गर्छ। भान्छामा पाक्ने खाद्यपदार्थ जस्तै: दाल, भात, साग सब्जी, मासु, नुन तथा तेलको परिणाम आन्तरिक उत्पादित सामाग्रीको परिमाण भन्दा बढी अन्यत्रबाट आयातित छन्। 

विगतमा खाना पकाउने प्रमुख इन्धन स्रोत दाउरा, झारझुर तथा गुइँठाजस्ता वस्तुलाई आयातित लिकुफाइड पेट्रोलियम ग्यास (एलपीजी)ले तीव्र गतिमा विस्थापित गर्दैछ। सहरी क्षेत्रमा दाउराको प्रयोग ‘सौख’का निमित्त गर्ने प्रचलन हाबी भएको छ। ग्रामीण क्षेत्रमा समेत घर परिवार दाउरालाई विस्थापित गरेर एलपीजीलाई उपयोग गर्न लालायित हुने गर्छन्। 

आन्तरिक रूपमा उत्पादित ओढ्नेओछ्याउने राडी, पाखी तथा गुन्द्रीलाई आयातित रेयन, एक्रेलिक र सिलिकनका सामानले विस्थापित गरिसकेको छ। बाहिर उत्पादित वस्तुको खपत बढ्नुको मुख्य कारण परिवारको क्रय शक्ति बढ्नु हो। परिवार सदस्यले आर्जन गर्ने नगद आयको मूल स्रोत गैर कृषि क्षेत्रमा उपलब्ध हुने रोजगारीका अवसर हुन्। 

परिवार चाहे सम्पन्न होस् अथवा विपन्न, ग्रामीण क्षेत्रका हुन् अथवा सहरिया, सम्पूर्ण पारिवारिक आवश्यकताको आपूर्ति आफ्नो परिवारको उत्पादनबाट मात्र सम्भव हुँदैन। उत्पादनका निमित्त प्रयोग गरिने सामाग्री अन्य स्रोत अथवा उत्पादकबाट प्राप्त हुँदै आएका हुन्। आयआर्जनमा आएको वृद्धिसँगै घरपरिवारको रोजाइमा आधुनिक, छरितो र किफायती वस्तु पर्न थालेका छन्। त्यस्ता वस्तुहरूको उत्पादन देशमा हुँदैन। त्यसो हुँदा जतिसुकै आत्मनिर्भरतालाई प्राथमिकतामा राखे पनि परनिर्भरता घटाउन सहज देखिँदैन।  

घर परिवारसँग मिल्दोजुल्दो हुन्छ राष्ट्रिय आर्थिक संरचना। घर परिवारको परिधिबाट राष्ट्रिय अवस्थातर्फ नजर घुमाउने हो भने अवस्था धेरै पृथक् छैन। औद्योगिक क्षेत्र जस्तै: सिमेन्ट तथा खाद्यान्न प्रशोधन उत्पादनसम्बन्धी उद्योगहरू बाहेक प्रायः सबै नेपाली उद्योगहरू आयातित कच्चा पदार्थमा निर्भर छन्। विभिन्न कालखण्डमा निर्यात व्यापारको प्रमुख स्रोत भएका गलैँचा, गार्मेन्ट तथा पस्मिना उद्योगका निमित्त आवश्यक कच्चा पदार्थमध्ये अधिकांश आयातित हुने गर्थे, गर्छन्। वर्तमान कालखण्डमा सबैभन्दा बढी निर्यातित आर्जन स्रोत खाना पकाउने तेल पनि आयातित कच्चा पदार्थमै निर्भर छ।

नेपाल मात्र होइन, कुनै पनि मुलुकले आफ्नो नागरिकको सम्पूर्ण आवश्यकताको आपूर्ति आफ्नै देशको उत्पादन, स्रोत तथा साधनहरूबाट गर्न सक्दैन। जसरी सम्पन्न परिवारको मापन उक्त परिवारले गर्ने आयबाट गरिन्छ, त्यसै गरी राष्ट्रको सम्पन्नताको मापन पनि उक्त राष्ट्रले गरेको आयआर्जन, भएको पुँजी र लगानी क्षमता आदिबाट गरिन्छ। 

उत्पादन गर्ने परिवार जति धेरै छ, त्यति नै धेरै क्रय शक्ति,  खपत, लगानी तथा बचत क्षमता हुन्छ। त्यसै गरी राष्ट्रको पनि उत्पादन तथा उत्पादकत्व क्षमताले उक्त राष्ट्रको  खरिद, लगानी तथा बचत लक्ष्य निर्धारण गर्छ। सम्पन्न राष्ट्रले आफूले गरेको उत्पादित वस्तु तथा सेवा अन्य राष्ट्रलाई बिक्री गर्छन्। उत्पादन प्रणालीलाई आवश्यक पर्ने सामाग्री अन्य राष्ट्रहरूबाट खरिद (आयात) गर्छन्।

स्थानीय स्तरमा हुने सीमित विकास निर्माण कार्य बाहेक सबै वैदेशिक सहयोग तथा ऋण निर्भर छन्। नेपाली अर्थतन्त्रको चारित्रिक विशेषता नै हो याे। यदि देशको भौगोलिक अवस्था तथा भौगर्भिक चञ्चलतालाई आत्मसाथ गर्ने हो भने जतिसुकै आत्मनिर्भरताको प्रयास गरे पनि हामीलाई परनिर्भर नभई धरै छैन।  

विप्रेषणबाट प्राप्त हुने आय नेपाली परिवारको प्रमुख आर्थिक आय स्रोतमा परिणत भएको छ। यसरी प्राप्त हुने रकमले परिवारको खरिद क्षमता अभिवृद्धि हुँदैछ। विप्रेषण-कमाइबाट हुने लाभ तथा हानी जतिसुकै विवादित विषय भए पनि यो कमाइ बेगर देशको अर्थतन्त्र ठप्प हुने चरणमा हामी छौँ।  घर परिवार सञ्चालन तथा राष्ट्रिय अर्थतन्त्र सञ्चालनको प्रमुख इन्धन भएको छ यो आय। विप्रेषण-आय परनिर्भर आयस्रोत हो।    

छोटकरीमा भन्नुपर्दा परनिर्भरता हाम्रो वास्तविकता हो। तीव्र गतिमा हुँदै गरेको मौसम तथा जलवायु परिवर्तनले परनिर्भरतामा अर्को आयाम थपेको छ। जलवायु परिवर्तनका निमित्त हाम्रो योगदान नगण्य छ। तर, दु:खकाे कुरा, यस्ता परिवर्तनबाट पर्ने कुप्रभावको कोपभाजनमा पर्ने मुलुकको अग्रपंक्तिमा पनि हामी नै पर्दछौँ। यदि आधी पानी भरिएको गिलासलाई ‘आधा रित्तो गिलास’ नभन्ने हो भने परनिर्भरताबाट आत्मनिर्भर हासिल गर्ने पहलकदमीको विकल्प हामीसँग छैन।

(बढ्दो प्रतिविश्वव्यापीकरणले नेपाली अर्थतन्त्र र जनजीवनमा पार्न सक्ने असर तथा प्रभावबारे थप शृङ्खलामा चर्चा गरिनेछ। -सम्पादक)


सम्बन्धित सामग्री