Friday, April 26, 2024

-->

कतार विश्वकपमा पुग्दा : मैदानमा प्रतिस्पर्धा, बाहिर उल्लास

विश्वकप फुटबल आममान्छेका लागि प्रतिस्पर्धात्मक खेलकुद मात्रै हो। तर कतार आएपछि थाहा लाग्यो, यो केबल खेलकुद प्रतियोगिता मात्रै होइन रहेनछ।

कतार विश्वकपमा पुग्दा  मैदानमा प्रतिस्पर्धा बाहिर उल्लास

कुनै समय विश्वकप फुटबल अर्काको टेलिभिजनमा गएर हेरिरहँदा मैले शायदै सोचेको थिएँ, यो उत्सव एकदिन रंगशालामा गएर प्रत्यक्ष हेर्ने मौका पाउने छु। त्यो पनि आफूलाई मनपर्ने टिमसँग कुनै प्रतिस्पर्धीको खेल।

कतारमा जारी फिफा विश्वकप फुटबलको २२ औँ संस्करणले मजस्ता धेरै नेपालीलगायत विश्वका धेरै आप्रवासीहरूलाई त्यो अवसर जुराइदिएको छ। विश्व खेलकुद जगतमा ठूलो उत्सवको रूपमा लिइने विश्वकप फुटबल एकैचोटी विश्वका आधाभन्दा धेरै जनसंख्याले हेर्छन् भन्ने गरिन्छ। 

सन् २०१० मै कतारले २०२२ को  विश्वकप आयोजना गर्ने घोषणा गर्दा त्यहीँ देशमा बसेर काम गरिरहेका मजस्तै धेरै नेपालीको मनमा एउटै प्रश्न उठेको थियो, ‘त्यति बेलासम्म कतारमा बसिएला कि नबसिएला? बसियो भनेपनि स्टेडियममै पुगेर विश्वकप प्रत्यक्ष हेर्ने अवसर पाइएला कि नपाइएला?’ ती सबै शंका उपशंकाहरूलाई चिर्दै अन्ततः स्टेडियममै पुगेर यसपटकको विश्वकप फुटबल प्रत्यक्ष हेर्ने र बुझ्ने मौका पाइयो।

 कतारको परिवर्तन 
सन् २०१० मा कतारले अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालाई पछि पार्दै विश्वकप फुटबलको २२ औँ संस्करण आयोजनाको अधिकार पायो। 

पछिल्लो एक दशकमा कतारले आफूलाई आधुनिक, विकसित र गतिशील राष्ट्रका रूपमा उभ्याएको दाबी समेत गर्दै आएको छ। विभिन्न चार लाइनमा चल्ने ३ सय किलोमिटर भन्दा लामो मेट्रो रेल सेवा, ट्राम, विशाल विमानस्थल, आठवटा अत्याधुनिक रंगशाला तथा तारे होटलदेखि लुसैल, वेस्ट वे र एजुकेसन सिटीजस्ता नयाँ शहरहरू नै कतारले निर्माण गरेको छ। विश्वकप फुटबलको यो चार बर्से महोत्सवको मौका छोपेर मध्यपूर्वको यो सानो देशले यसको भरपुर उपयोग गरेको छ। विश्वकप आयोजना र व्यवस्थापन तथा पूर्वाधारका लागि कतारले कमसेकम २ सय २० अर्ब डलर खर्च गरेको बताइन्छ। 

टिकट र मूल्य 
फिफाले जनवरी १९, २०२२ देखि विभिन्न पाँच चरणमा टिकट बिक्री खुलाएको थियो। एउटा टिकटको मूल्य कतारी रियल ४० (नेरु १४ सय) देखि कतारी रियल ५ हजार ८ सय ५० (नेरु २ लाख ५ हजार) सम्म थियो। विभिन्न चार श्रेणीमा टिकटको वर्गीकरण गरिएको थियो। पहिलो श्रेणीको टिकटको मूल्य सबैभन्दा महँगो थियो भने चौथो श्रेणीको सबैभन्दा सस्तो। उद्घाटन र फाइनल खेलका टिकट मूल्य भने सबै श्रेणीकै महँगो तोकिएको थियो भने समूह चरणको भने सस्तो पर्थे। सिटमा बसेर खेल हेर्दा जहाँबाट सहजै खेल देखिन्छ, त्यसका आधारमा रंगशालाका सिटको श्रेणी छुट्टाइएको हुने रहेछ। यसपटक फिफाले अपांगता भएका दर्शककाका लागि भने अलग्गै र सस्तो दरमा टिकट उपलब्ध गराएको थियो भने कतार निवासी (आप्रवासीसहित) का लागि एकदमै सस्तो मूल्य करिब ४० (नेपाली १४ सय) मै टिकट उपलब्ध गराएको थियो। 

यस्तो टिकट कतारमा रहेका धेरैभन्दा धेरै मानिसले साथै न्यून आय भएका कामदारहरूले पनि विश्वकप फुटबल हेर्न पाउन् भन्ने उद्देश्यले राखिएको हुनुपर्छ। तर यो टिकट 'रेन्डम सेलेक्सन'बाट दिइने हुँदा सबैलाई पर्ने सम्भावना भने नहुने रहेछ। मैले ४० रियलको टिकट किन्ने प्रयास गरेको थिए तर मैले पाउन सकिनँ। त्यसपछि दोस्रो लटमा खुलेको टिकट बिक्रीका क्रममा लामो प्रयासपछि ३० नोभेम्बरको राति १० बजे लुसैल स्टेडियममा करिब २५० रियाल (नेरु ८ हजार ७ सय ५००) को टिकट पाउन सफल भएँ तर त्यतिखेर समूह वर्गीकरण भैसकेको थिएन। ‘जे भए पनि विश्वकपको एउटा मात्रै खेल भए पनि रंगशालामै गएर हेर्नुपर्छ, यो अवसर गुमाउनु हुँदैन’ भन्दै सो टिकट किनियो। पछि टिम वर्गीकरण हुँदा बल्ल थाहा पाइयो, लुसैल स्टेडियममा साउदी अरेबिया र मेक्सिकोको खेल हुने रहेछ। एकातिर विश्वकप फुटबलको टिकट पाइयो भनेर मन खुशी थियो भने अर्कोतिर आफूलाई मनपर्ने टिमको भने टिकट पर्न गएन भनेर अलिकति मन खिन्न भयो। 

मान्छेको मन न हो, पाएको भन्दा गुमाएको विषय प्यारो लाग्छ। त्यसमाथि ब्राजिल मेरो प्यारो फुटबल टिम थियो। त्यसो हुँदा उसको खेल हेर्दै उसको समर्थनमा चिच्याउने रहर मनमा बाँकी नै थियो। दोस्रोपटक फिफाले फेरि 'पहिला आउनेलाई प्राथमिकता'सहित दोस्रो लटको टिकट खुलायो। झण्डै ७ र ८ घण्टा फिफाको अनलाइन पोर्टलमा 'क्यु' बसेपछि बल्लतल्ल आफूलाई मनपर्ने टिम ब्राजिलकै टिकट पाउन सफल भएँ म। तर यसपटक मैले टिकटको ६०० रियल (नेरु २१ हजार) तिर्नुपर्‍यो। विश्वकप फुटबलको प्रत्यक्ष स्वाद, त्यसमा पनि ब्राजिलको, यो अवसर छुटाउनुहुँदैन भन्ठान्दै महँगै परेपनि सो टिकट लिएँ। २८ नोभेम्बर बुधवार '९७४ रंगशाला'मा ब्राजिल र स्विजरल्यान्डबीचकाे खेल हेर्ने भइयो।

 सिंगो विश्व : एकै ठाउँ  
२८ नोभेम्बर सोमबार स्थानीय समयअनुसार बेलुकी ७ बजे स्टेडियम ९७४ मा  ब्राजिल र स्विजरल्यान्डबीच खेल हुँदै थियो। गेट भने दिउसो ४ बजे खुल्नेवाला थियो। बिहानैदेखि कति बेला रंगशाला पुगौँ भन्ने हुटहुटी थियो। दिउँसो १२ बजेपछि आफूलाई घरमा स्थिर राख्नै सकिएन। खेल हेर्न चाहिने डिजिटल टिकट र 'हाया कार्ड' बोकेर लागियो मेट्रो स्टेसनतिर। खेल हेर्न आउने दर्शक र फ्यानहरूलाई सहज होस भनेर विश्वकप अवधिभर 'हाया कार्ड'धारीलाई मेट्रो निःशुल्क बनाइएको रहेछ। झण्डै २० मिनेटको भूमिगत मेट्रो चढेर स्टेडियम ९७४ पुगियो। मेट्रो स्टेसन पुग्ने बित्तिकै अलग्गै दुनियाँमा पुगेको महशुस भयो। फुटबलमय भएको थियो कतार। विभिन्न देशका फ्यान, दर्शक र फुटबलका पारखीले मेट्रो स्टेसन भरिएको थियो। 

एउटै विषयले संसारभरका मान्छेहरूलाई यहाँ जम्मा गरेको थियो। विभिन्न देशका रंगीचंगी जर्सी लगाएका र झण्डा बोकेका मान्छेहरू, विविध संस्कृति, रङ्ग, रूप र फरक-फरक भाषा र भूगोलका मानिसहरू फुटबल हेर्नका लागि झुम्मिएका थिए। एउटा आम नेपालीका रूपमा मैले विश्वकप फुटबललाई टेलिभिजनमा मात्रै देखेको थिएँ। तर यहाँ आएपछि खेलभन्दा पनि बाहिरको गतिविधि देख्ने मौका पाएँ। फरक विश्व देख्ने अवसर मिल्यो। विश्वकप फुटबल आम मान्छेका लागि प्रतिस्पर्धात्मक खेल मात्रै हो। तर यहाँ आएपछि थाहा लाग्यो, यो केबल खेलकुद प्रतियोगिता मात्रै होइन रहेछ। यसले विश्व मानव समुदायलाई एकै ठाउँमा ल्याउने अभूतपूर्व क्षमता बोक्दो रहेछ। विश्वलाई एकै ठाउँमा उतार्ने एक महोत्सव रहेछ यो। 

मेट्रो स्टेसनभित्र पस्ने बित्तिकै प्याँप्याँ र पुँपुँ गर्दै ढोल र अनेकौँ खालका बाजा तथा खेलौनाहरू बजाउँदै, नाच्दै र गाउँदै रमाइरहेका मान्छेको भिड देखा पर्‍यो। कतिपय मान्छेले आफ्ना मौलिक पोसाक लगाएका थिए। एक देशको समर्थकले अर्को देशको समर्थकसँग फोटो खिच्ने, भिडियो बनाउने, बधाई र शुभकामना दिन सिङ्गो स्टेसन नै व्यस्त देखिन्थ्यो। मेट्रो स्टेसनभित्र पस्ने बित्तिकै सारा विश्व त्यही जम्मा भएको भान भइरहेको थियो। 

९७४, तोरीबारी र मखमली  
स्टेडियम ९७४ कतारको अन्तर्राष्ट्रिय टेलिफोन कोड +९७४ को प्रतीकको रूपमा ९७४ वटा सिपिङ कन्टेनर (खास गरी अन्तर्राष्ट्रिय स्तरमा सामान ढुवानी गर्ने क्रममा प्रयोग गरिने फलामे बाकस) हरू प्रयोग गरी बनाइएको विशेष रंगशाला रहेछ। विश्वकप फुटबल सम्पन्न भएपछि ती बाकसलाई अरू देशलाई सहयोग (चिनो)का रूपमा पठाउने बताइएको छ। विश्वकप फुटबलकै इतिहासमा पहिलो अस्थायी स्टेडियम हो यो। इन्जिनियरिङ र कलाको अभूतपूर्व सम्मिश्रण हो यो स्टेडियम। ४४ हजार दर्शक क्षमताको यो रंगशालामा अपांगता भएका मानिसहरूलाई बस्ने अलग्गै सुविधासम्पन्न सिट बनाइएको थियो। अपांगता भएका मानिसहरूप्रतिको यो सम्मान अनुकरणीय छ। त्यो देखेर खुशी लाग्यो। रंगशाला बाहिर ब्राजिल र स्विजरल्यान्डका रंगीचंगी जर्सी लगाएका र झण्डा बोकेका मानिसहरूले सिंगै रंगशाला ढकमक्क फुलेको फूलबारी जस्तो देखिएको थियो। रंगशालाभन्दा बाहिर विभिन्न देशका सांस्कृतिक झाँकीहरूले दर्शकलाई बाटैबाट स्वागत गरिरहेका थिए। रंगशालाभित्र भने सारा दर्शक ब्राजिल र स्विजरल्यान्डका पक्षमा बाँडिएका थिए। 

यो स्टेडियममा तुलनात्मक रूपमा स्विजरल्यान्डभन्दा ब्राजिलका समर्थक धेरै थिए। त्यसो हुँदा पहेँलो झण्डा र जर्सीका कारण रंगशाला तोरीबारी झैँ पहेँलो भएको थियो। ठाउँ-ठाउँमा राता जर्सी लगाएका स्विजरल्यान्डका समर्थकहरू तोरीबारीको बिचमा फुलेका मखमली फूलझैँ देखिन्थे। यसरी सिंगै रंगशाला फूलबारी भएको थियो। रंगशालामा बसेर त्यो विशाल भिड र तिनको उत्साहलाई नियाली रहँदा दुई वटा कुराहरू स्मरणमा आए। एक जना मित्रले केही समय अगाडि भनेका थिए, "पहिलो, यदि विश्वकप प्रतियोगिताबाट ब्राजिल र अर्जेन्टिना यति चाँडै बाहिरिने हो भने यो प्रतियोगिताको आधा रौनक नै समाप्त हुन्छ। दोस्रो, फुटबलका महारथी देशहरूले केबल आफ्नो देशका दर्शकको मात्रै भावनाको लागि मात्रै खेलेर हुँदैन। उनीहरूले विश्व भरी रहेका आफ्ना समर्थकका लागि पनि खेल्नु पर्छ।" रंगशालामा देखिएको दृश्यले त्यही बताइरहेको थियो। 

आफ्नो राष्ट्रिय टिमलाई जिताउन ठुलै संख्यामा ब्राजिलियनहरू रंगशालामा आएका थिए। तर त्योभन्दा पनि बेसी गैरब्राजिलियनहरू ब्राजिलका जर्सी र झण्डा बोकेर त्यहाँ उपस्थित भएका थिए। एक छिनका लागि तिनीहरू सबैले आफ्नो देश बिर्सिएका थिए र भावनात्मक रूपमा उनीहरू ब्राजिल भएका थिए। ब्राजिलका खेलाडीहरूले जति चोटि गोल गर्ने प्रयास गर्थे, त्यति नै चोटि सिङ्गो रंगशाला गुञ्जायमान हुन्थ्यो। त्यस्तै चाला स्विजरल्यान्डका समर्थकहरूको पनि थियो। मेरो सिटको देब्रेतिर भारत-केरलाका एक जना स्विस फ्यान स्विजरल्यान्डको जर्सी र झण्डा बोकेर चिच्याइरहेका थिए भने दाहिनेतिर सेनेगलका ब्राजिल फ्यान ब्राजिलको जर्सी र झण्डा बोकेर कुर्लिरहेका थिए। सेनेगल आफैँ पनि यो विश्वकपमा सहभागी थियो। मैले सेनेगलका ती मित्रलाई प्रश्न गरेँ, "यदि सेनेगल र ब्राजिलको खेल भयो भने कसलाई सपोर्ट गर्नुहुन्छ?" उनले धक नमानी भने, "पहिलो सपोर्ट त आफ्नै देशलाई हुन्छ तर ब्राजिलले जित्यो भने पनि म खुशी नै हुनेछु किनकि मलाई ब्राजिलियनको खेल मन पर्छ।" 

यहाँनिर एउटै कुरा उल्लेख गर्नै मन लाग्यो। ब्राजिलको समर्थनमा झण्डा बोकेर आएको म ब्राजिलका चर्चित खेलाडीहरूलाई आँखै अगाडि देख्ने लोभमा पनि थिएँ। स्टेडियममा भएको खेल हेर्दा जर्सी नम्बरबाट कुन खेलाडी हुन् भन्ने अनुमान लगाउन सकिए पनि उति प्रस्ट अनुहार देखिन्थेन। स्टेडियममै रहेका रोनाल्डो र काकालगायतका पुराना खेलाडीहरूलाई क्यामराले फोकस गरेर स्क्रिनमा देखाइरहेका थिए। ती खेलाडीप्रति मेरो विशेष अनुराग पनि थियो। दुःखको कुरो, स्टेडियमको वारीबाट पारिपट्टि हेर्दा सबै दर्शक कमिला झैँ देखिने यो मानव भेलमा रोनाल्डो र काकालगायतलाई देख्न सम्भव कहाँ थियो? 

ब्राजिल  र साउदी
३० नोभेम्बर, बुधवारको दिन साउदी र मेक्सिकोको खेल हुँदै थियो। दुवै टिमको बारेमा मलाई उति धेरै जानकारी थिएन। त्यसो हुँदा कसलाई समर्थन गर्ने भन्ने दुबिधा थियो ममा। फेरि रंगशालामै गएर विश्वकप हेरिरहँदा एक समूहको समर्थन नगरी के बस्नु भन्ने लाग्यो। तर कसलाई गर्ने समर्थन? धेरै सोचेपछि साउदी अरेबियालाई समर्थन दिने निर्णय गरियो। साउदीलाई समर्थन गर्नुका पछाडि दुई कारणहरू थिए। पहिलो, अघिल्लो चोटि अर्जेन्टिनासँगको खेलमा साउदीले अपत्यारिलो नतिजा निकालेर विश्वको ध्यान आफूतिर तानिसकेको थियो। दोस्रो, साउदीले झण्डै चार लाख भन्दा बढी नेपालीलाई रोजगारी दिएको छ। साउदी नेपालीहरूको वैदेशिक रोजगारीका लागि एउटा प्रमुख गन्तव्य पनि हो। 

त्यहाँको रेमिटेन्सले लाखौँ परिवारको पेट पालिएको छ। तिनका छोराछोरीले शिक्षादीक्षा पाएका छन्। त्यसैले साउदीलाई समर्थन गर्ने निर्णयसँगै साउदीको झण्डा बोकेर पुगियो लुसैल स्टेडियममा। विश्वकपका लागि बनाइएका आठमध्ये सबैभन्दा ठुलो रंगशाला हो लुसैल। झण्डै ८८ हजार सिट क्षमताको सुविधा सम्पन्न रंगशाला। लुसैलमा रंगशाला त बनाइएको थियो नै, विश्वकप फुटबलकै लागि भनेर विशाल र अत्याधुनिक सहर नै निर्माण गरिएको छ।  ८८ हजार क्षमताको लुसैल स्टेडियम साउदी र मेक्सिकोको समर्थकहरूले भरिएका थिए। उत्साह र रोमाञ्चकतासाथ साउदी र मेक्सिकोको खेल सकियो। अर्जेन्टिनासँगजस्तो अपत्यारिलो खेल नतिजा साउदीले निकाल्न नसके पनि खेल राम्रो थियो। मेक्सिकोको खेल पनि दर्शनीय थियो। 

सम्भवतः यो नै पहिलो विश्वकप हुनुपर्छ, जहाँ यति धेरै संख्यामा नेपालीहरू स्टेडियममै पुगेर विश्वकप फुटबल हेर्न पाए। कतार नेपालीहरूको प्रमुख रोजगारी गन्तव्य भएका कारण पनि यहाँ पाँच लाखभन्दा बेसी नेपालीहरू रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन्। यति धेरै संख्यामा नेपालीहरूको बसोबास हुनु र विश्वकप यही देशमा आयोजना भएका कारण पनि धेरै नेपालीले सशरीर फुटबल प्रतियोगिताहरू हेर्ने अवसर पाएका हुन्। अहिले पनि हरेक म्याचमा प्रशस्त मात्रामा नेपाली युवायुवतीहरू मनपर्ने टिमको जर्सी लगाउँदै हिँडेको देख्न पाइन्छ। कतारमा रहेका नेपालीहरूको सामाजिक सञ्जालको पेज यतिखेर विश्वकप फुटबल र त्यसका रौनकपूर्ण विवरण, तस्बिर र भिडियोले भरिएका छन्।

विभिन्न स्थानहरूमा बनाइएका फ्यान जोनहरूमा नेपाली कलाकारहरूलाई आफ्ना सृजनशील प्रस्तुतिका लागि अवसर पनि दिइएको छ। समग्रमा भन्नुपर्दा, कतारमा आयोजित विश्वकपको २२औँ संस्करणले कतारलाई आफ्नो कर्मथलो बनाइरहेका लाखौँ प्रवासीहरूलाई काँचको सिसाबाट बाहिर निकालेर प्रत्यक्ष हेर्ने मौका प्रदान गरेको छ। आम नेपालीका लागि स्टेडियम टिकट त्यति धेरै पैसा तिरेर खेल हेर्नु महँगो नै हो तर त्यति संख्या र उत्साहमा नेपालीहरूसमेतका माझ विश्वकप फुटबलको रौनक शरीर महशुस गर्न फेरि कहिले पाइएला? आफ्नै देशको झण्डा बोकेर विश्वकप हेर्न जान हामी नेपालीले कहिले पाउलाऊँ? 


सम्बन्धित सामग्री