Friday, March 29, 2024

-->

सहज छैन 'नयाँ'लाई जनमत जोगाउन

कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ।

सहज छैन नयाँलाई जनमत जोगाउन

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणामलाई हेर्दा नेपालको निर्वाचन प्रणाली र शासन पद्धतिलाई परिवर्तन नगर्दासम्म देशले अग्रगति लिने र कुनै एक पार्टीले सरकार बनाउन सक्ने गरी स्पष्ट बहुमत प्राप्त गर्न सक्ने देखिँदैन। इतिहासका खास सन्दर्भमा उदाएका कतिपय राजनीतिक दल जनतामाझ टिक्न सक्छन् भने कतिपयले आफूलाई स्थापित गर्न सक्दैनन्। जस्तो कि, २०७४ सालको पहिलो संघीय निर्वाचनमा पहिलोपटक सामेल भएको तत्कालीन नयाँ दल विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा प्रवेश नै पाएन। अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले चाहिँ 'चामत्कारिक सफलता' हासिल गर्न सफल भए। यो जनमत यी तीनै पार्टीले अपेक्षा गरेभन्दा सम्भवतः अधिकाधिक हो।  

यी दलले प्राप्त गरेको मतलाई लिएर एक थरीको विश्लेषण छ- अब नयाँ दलले देशमा केही गर्छन्। हामी यिनै पार्टीमा लाग्नुपर्छ। अर्का थरीको विश्लेषण छ, मलमा सप्रेको तितेपाती हुन्, नयाँ पार्टी। केही समयमै हलक्कै मौलाए। जसरी मौलाए, त्यसैगरी ओइलिन्छन्। यी दुवै थरी विश्लेषणलाई सुन्ने तर आफू कुनै प्रतिक्रिया नजनाउने अर्का थरी मानिस पनि छन्। ती हुन् पर्खने र हेर्ने।

करिब ६ महिनाअगाडि मात्रै राजनीतिमा आएका रवि लामिछानेको स्वतन्त्र पार्टीले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान तानेको छ। तर, यो र अन्य नयाँहरूको पक्षमा अहिले देखिएको जनलहरलाई कायम राख्दै अझै जनमत बलियो बनाउन यिनीहरूलाई उत्तिकै चुनौती छ। खास गरी स्वतन्त्र पार्टीमा राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका व्यक्तिहरूको बहुलता भएको हुनाले यस दलबाट निर्वाचित कुनै पनि सांसदसँग संसदीय अभ्यासको अनुभव छैन। न त नेतृत्वसँग नै पार्टी चलाएको अभ्यास छ। एकाएक उदाएको सो दललाई जनताले अप्रत्याशित रूपमा विश्वास गरे। नयाँ दल उत्साहित रूपमा आए पनि सरकार चलाउने गरी तिनले जनमत पाएका भने होइनन्। त्यसो हुँदा पुराना पार्टीहरूप्रतिका आक्रोशको आधारमा यो दल उदाएको भन्ने पनि छ। 

परिणाम र लहर हेर्दा गठबन्धन गरेर निर्वाचनमा उत्रिएका दलहरूका आफ्नै कार्यकर्ताले समेत गठबन्धनका उम्मेदवारलाई मत नदिएर बरु नयाँ दललाई मत दिएको देखिन्छ। जस्तो कि: धेरै ठाउँको मतान्तरलाई हेर्दा कांग्रेसका मतदाताले माओवादीका उम्मेदवारलाई मत नदिएको देखिएको अनुमान गर्न सकिन्छ। त्यो आक्रोशकै मत हो।  उता, वैकल्पिक-क्षेत्रीय दलकै रूपमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी भने तुलनात्मक रूपमा केही राजनीतिक मुद्दा बोकेर आए। यी दुई पार्टीले पनि परम्परागत दलप्रतिको आक्रोशको मतको केही अंश पक्कै पाए। 

मत परिणामको समग्र नतिजा आउनै लाग्दा अबको सत्ता समीकरणका बारेमा चर्चा हुन थालेको छ। कुनै पनि दलको पक्षमा बहुमत नआउने प्रस्ट छ। प्रारम्भिक अनुमानले वर्तमान सत्ता गठबन्धनको पक्षमा बहुमत जुट्ने देखिन्छ, तर यो बहुमत त्यति शक्तिशाली हुने देखिँदैन। त्यसैले पनि गठबन्धनकै मात्र सरकार बन्दा पनि सरकार त्यति शक्तिशाली हुने देखिँदैन। त्यसो हुँदा अबको पाँच वर्षको सत्ता समीकरण यस अघिका सत्ता समीकरणभन्दा झनै गन्जागोलपूर्ण र अस्थिर हुने देखिन्छ। संसद्को सबैभन्दा ठूलो दललाई सरकार बनाउने अधिकार संविधानले नै प्रदत्त गरेको हुनाले त्यसको अवसर त नेपाली कांग्रेसले पाउने देखिन्छ। यद्यपि, यही दलमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएका कारण अहिले नै को प्रधानमन्त्री भन्ने निर्क्यौल निकाल्न कठिन छ। एमालेको गठबन्धनले बहुमत प्राप्त गर्न नसकेको हुनाले उसले सरकार बनाउने अवसर पाएमा अन्य कुनै दल वा स्वतन्त्र सांसदहरूको पक्ष लिनु पर्नेछ। 

यसअघिका सत्ता समीकरणमा मुख्य भूमिका खेल्दै आएका स्थापित मधेसवादी दलहरू अबको पाँच वर्ष राजनीतिको केन्द्रबाट लगभग हराउनेजस्तै भएका छन्। त्यसको ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले लिनेछन्। आफैँ सरकार गठन गर्ने ठाउँमा पुग्न नसकेका हुनाले यिनीहरूको भूमिका फेरि पनि सत्ताको टेको बन्नेमा मात्रै सीमित बन्ने खतरा छ। अर्को रोचक कुरा भर्खरै संसद्काे ढोका छिर्दै गरेका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता-सांसदहरू त आफ्नै पार्टीका नेता-सांसदहरूसँग सायद एक अर्कामा राम्रोसँग परिचित समेत नहोलान्। 

चर्को स्वरमा बोल्नु र खबरदारी गर्नु जति सजिलो काम गर्न हुँदैन। स्थानीय तहको निर्वाचनमा देखिएको स्वतन्त्रको लहरले गर्दा संघीय संसदकाे निर्वाचनमा त्यसको प्रभाव र पुराना दलप्रतिको आक्रोश नै फरक जनमतको कारण हुनुपर्छ। तर स्थानीय तहमा निर्वाचित हुनु र संघीय संसद्‍मा सांसदका रूपमा निर्वाचित हुनुमा धेरै अन्तर छ। पालिका प्रमुख र वडाध्यक्षमा राज्यको सानो इकाईको सञ्चालनको अधिकार हुन्छ र उनीहरू तुलनात्मक रूपमा शक्तिशाली हुन्छन्। तर एउटा सांसदको भूमिका अलग हुन्छ। सांसदले संसद्मा गएर नीति निर्माणको काम गर्ने हो। जे जे भए पनि सांसदले आफ्नो कार्यदक्षता देखाउने ठाउँ सरकार नै हो। आजकाल दिनमा सांसदको हैसियतमा काम गर्ने ठाउँ सीमित छ। त्यसैले संसद्मा मात्र सीमित हुँदा सांसदको कार्य दक्षताको मूल्याङ्कन गर्न सकिँदैन। 

त्यसो हुँदा नयाँ दलको अबको क्रियाकलाप के हुने भन्नेमा सबैको ध्यान केन्द्रित छ। यो जनविश्वासलाई दिगो बनाइराख्ने चुनौती नयाँ दलमा छ। नयाँ दलले कि त सत्ता बाहिरै रहेर सरकारका असल र खराब कामको मूल्यांकन गरेर खबरदारी गर्न सक्छन्, या त सरकारमै सहभागी भएर आफ्नो कार्यक्षमता प्रदर्शन गर्न पनि सक्छन्। त्यसमाथि, उत्साहित  जनमत देखिने बित्तिकै अनावश्यक रूपमा हौसिने र मात्तिने स्वभाव नयाँ दलमा पनि देखिएको छ, त्यसले चाहिँ तिनलाई उल्टै अप्ठ्यारो पार्नेछ। त्यसो हुँदा यो जनसमर्थनलाई परीक्षाको प्रवेश पत्र ठानेर मूल परीक्षामा बस्नु नै नयाँहरूका लागि श्रेयस्कर हुन्छ। पाँच वर्षे परीक्षाको समयावधिमा यी दलहरूले त्यो परीक्षा कसरी हल गर्छन् भन्ने कुराले नै अबको दिनमा यिनको राजनीतिक भविष्य तय गर्ने छ। 

नयाँ दलको लहरलाई २०६४ सालमा तत्कालीन नेकपा माओवादीको पछाडि देखिएको लहरसँग तुलना गर्न सकिन्छ। संसदीय राजनीतिमा पोख्त नभएको भए पनि उतिखेरको माओवादीको पृष्ठभूमि राजनीति नै थियो तर अहिलेको छोटो समयमा उदाएको राष्ट्रिय स्वतन्त्र दलको कुनै राजनीतिक पृष्ठभूमि देखिँदैन। यसमा सामेल भएका व्यक्तिहरू विभिन्न पेसा व्यवसायबाट आएका छन्। माथि नै उल्लेख गरियो, अन्य दलप्रतिको आक्रोशको मत त्यता गएको छ। त्यसो हुँदा अन्य दल सुध्रँदा यी दलको जनमत खुम्चने सम्भावना पनि छ। 

कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ। किनकि दल सफल हुनका लागि पार्टी स्वयंले आफ्नो आन्तरिक जीवनमा कठोर लोकतान्त्रिक अभ्यास गर्नुपर्छ। नत्र आन्तरिक शक्ति सङ्घर्षकै कारण पार्टी फुटेर जान्छ। एउटै मात्र व्यक्तिको पूजा आराधना र जगजगीले पार्टी झनै कमजोर बन्ने खतरा बन्छ। ठूला दलहरू कमजोर हुँदै गएको पनि सोही कारण हो। र, यी सबै दल एउटा व्यक्तिको क्रान्तिकारिता या हिराेगिरीमा उदाएका हुन्। र, यिनमा पर्याप्त वीर पूजनको अभ्यास छ। त्यसो हुँदा नयाँ दलले यस विषयमा पहिले नै सावधानी अपनाए भोलिका दिनमा यिनको राजनीति सप्रेरै जाला।

अब बन्ने सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयबाटै यी पार्टीहरूमा कलह पैदा हुने सम्भावना छ। सत्ता प्रवेश र पार्टीको आन्तरिक लाेकतन्त्रजस्ता विषयमा अन्य दलहरूबाट समेत पाठ सिकेर अघि बढे यी पार्टीहरू झनै जनतामाझ फैलन सक्लान्। 


सम्बन्धित सामग्री