Friday, April 19, 2024

-->

अन्तर्वार्ता
‘एक्लो’मा म सुदूरपश्चिम छाडेर शहर आइपुगेँ : बुद्धिसागर

शहरको संघर्षभन्दा पाठकवर्गमा एक खालको अनुमान होला। तर, यो केही भिन्न छ। बाँकी पुस्तक विमोचनपछि नै थाहा हुन्छ। त्यसपछि पाठक अचम्भितका साथै आफैँलाई कहीँ कतै ‘रिलेट’ पनि गर्नुहुनेछ भन्नेमा आशावादी छु।

‘एक्लो’मा म सुदूरपश्चिम छाडेर शहर आइपुगेँ  बुद्धिसागर

कर्नाली ब्लुजबाट नेपाली साहित्यमा स्थापित बुद्धिसागर सर्वाधिक पढिनेमध्येका लेखकमा पर्छन्। उत्तरार्द्ध मंसिरको साइत पारेर उनको नयाँ उपन्यास ‘एक्लो’ बजारमा आउँदैछ। यो उनको सातौँ पुस्तक र तेस्रो आख्यान हो। एक्लो बाहिरबाट काठमाडौँ आएका संघर्षरत पात्रको कथा हो। एक्लोकै सेरोफेरोमा रहेर लेखक बुद्धिसागरसँग उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश:


औपचारिक रूपमा ‘एक्लो’ बजारमा आउँदै गरेको घोषणा गर्नुभयो, यसको विषयवस्तुचाहिँ के छ?
'एक्लो' शहरको कथा हो। खासमा काठमाडौँ शहरको कथा। शहरमा होहल्ला, कोलाहल हुन्छ। तर, जति हो-हल्ला भए पनि शहरका मानिसमा हुने एक्लोपन महसुसको कथा हो यो। विशेषतः काठमाडौँ बाहिरबाट आएका मानिसहरूको संघर्षको कथा हो। यसअघिका मेरो पुस्तक ग्रामीण परिवेशसँग निकट थिए। यसपटक भने शहरको कोलाहलमा भेटिने एक्लोपनलाई विषयवस्तु बनाएको छु।

शहरको संघर्षभन्दा पाठकवर्गमा एक खालको अनुमान होला। तर, यो केही भिन्न हुनेछ। बाँकी पुस्तक विमोचनपछि नै थाहा हुन्छ। त्यसपछि पाठक अचम्भितका साथै आफैँलाई कहीँ कतै ‘रिलेट’ पनि गर्नुहुनेछ भन्नेमा आशावादी छु। 

तपाईंका अघिल्ला पुस्तक र एक्लोमा के भिन्नता छ? 
यसअघिका पुस्तकमा सुदूरपश्चिमका घटना र कथा थिए। यसपटक कथा परिवेश फरक छ। काठमाडौँबाहिरबाट आएका व्यक्तिहरूको संघर्षको कथा छ। सुदूरभन्दा बढी मैले  काठमाडौँमा बिताएको रहेछु, आफ्ना केही अनुभूति पनि जोडेको छु। 

अघिल्ला दुई पुस्तक ग्रामीण परिवेशका थिए, यसपटक शहरी परिवेशको कथा रोज्नुभयो नि, किन?
मेरा अघिल्ला दुई पुस्तकमा मैले ग्रामीण परिवेशलाई विषयवस्तु बनाएको थिएँ। तर, यसो नियाल्ने क्रममा मैले मेरो जीवनकालको लामो समय गाउँभन्दा शहरमा बिताएको अनुभव गरेँ। ती अनुभवमा शहरका केही यस्ता कथाहरू छन्, जसलाई मैले भन्नुपर्छ भन्ने लाग्यो। यी कुरा शायदै अरूले वास्ता गरेका छन्। ती स–साना कथा, जुन हामीले भोगेका छौँ तर अनुभूति वा हेक्का गरेका छैनौँ। यस्ता कथा भन्ने जमर्को मैले यस उपन्यासमा गरेको छु। 

गाउँका कथामा काम गर्दा त्यहाँका पात्रमा आफ्नै बुझाइको ‘फिलोसोफी’ हुन्छ। दर्शनलाई प्रत्यक्ष जोड्न पाइँदैन। तर, शहरका कतिपय पात्रसँग दर्शनको सर्वोपरि भाव जोड्न पाइन्छ। काठमाडौँमा भएका मानिसहरू दार्शनिक हिसाबमा कहीँ कतै जोडिन्छन्, त्यसमा पनि मैले खुलेर खेल्न पाएको छु। काठमाडौँ विभिन्न क्षेत्रबाट आएका मानिसहरूको कर्मथलो हो, बासस्थान हो। ती आबादीमा विभिन्न पात्र पाइन्छन्। उनीहरूका कथा हुन्छन्, संघर्ष हुन्छन्। मैले तिनै भिन्न पात्रका कथालाई आपसमा जोडेको छु। व्यक्तिगतरूपमा पनि यो पुस्तक मेरो ‘पर्सनल फेभरेट’मा पर्छ। यस उपन्याससँगै मेरो लेखनमा पनि ‘ग्रोथ’ पनि भएको छ। जुन पाठकले महशुस गर्न सक्नुहुनेछ। 

सात वर्षको अन्तरालपछि एक्लो आउँदैछ। तपाईंको पुस्तक बजारमा आउन किन ढिला हुन्छ, लेख्न सकसपूर्ण हुन्छ वा कुनै रणनीतिले रोकेको हुन्छ?
कर्नाली ब्लुज आएको १३ वर्ष भयो। फिरफिरे प्रकाशित भएको पनि ६ वर्ष पूरा भइसक्यो। कर्नाली ब्लुज र फिरफिरे लेख्न जति सकस भयो, त्यति यो पुस्तकका लागि भएन। कर्नाली ब्लुज र फिरफिरेमा बिम्ब-प्रतीक, ‘स्टोरी लाइन’, ‘स्टोरी टेलिङ स्टाइल’जस्ता विषयमा उतिकै जोड दिनुपरेको थियो। एक्लो लेख्न सकसभन्दा बढी ‘एन्जोय’ गरेँ। तर, समयको हिसाबमा कर्नाली ब्लुज र फिरफिरे तीन वर्षमा लेखिसकेको थिए भने, एक्लो लेख्न मलाई चार वर्ष लाग्यो।

शहरका विभिन्न अनुभूतिलाई एकत्रित गरी उपन्यासको ‘फर्म’मा ल्याउने चेष्टा न्यायपूर्ण हुन्छ वा हुँदैन?
मैले उपन्यास पढ्न पठाएको साथीभाइबाट राम्रो प्रतिक्रिया पाएको छु। उपन्यास पढ्ने क्रममा आफूलाई पाएको, ‘रिलेट’ गरेको अनुभव उहाँहरूबाट पाएको छु। काठमाडौँका आदिवासीभन्दा पनि बाहिरका संघर्ष गर्ने व्यक्तिहरूको कथा भएकाले धेरैले कहीँ न कहीँ आफूलाई पाउनुहुन्छ भन्ने मलाई लाग्छ। पाठकले मलाई ‘ग्रो’ गरेको, परिष्कृत भएको महशुस गर्नुहुन्छ भन्ने मलाई लाग्छ। यसमा मैले मेरो ‘नेचुरल राइटिङ’ अनुभव गरेको छु। 

काठमाडौँमा बस्ने बाहिरका मानिसको संघर्षका विषयमा यसअघि पनि पुस्तक लेखिएका छन्। भिन्न परिवेशमा उपन्यास लेख्दै गर्दा तपाईंको शैलीसँग अभ्यस्त पाठकले एक्लो नरुचाउने पो हुन् कि भन्ने चुनौती महशुस गर्नुभएको छ?
मेरा अघिल्ला दुई पुस्तकभन्दा एक्लो परिवेश र कथावस्तुले भिन्न छ। अघिल्ला दुई पुस्तकमा गाउँको कथा थियो, यसमा शहरको। तर, मेरो शैलीमा भने परिवर्तन भएको छैन। यसकारण मलाई खासै गाह्रो लागेको छैन। हरेक लेखकको आफ्नो लेख्ने शैली हुन्छ, त्यो छुटेको छैन। मलाई मेरो पाठक पुस्तक पढ्ला नपढ्ला भन्ने चिन्ता छैन, बरू नयाँ पाठक बढ्नेमा आशावादी छु। मेरो शैली उही हो तर, मेरो शैलीको ‘रिभाइज भर्सन’पाउनु हुनेछ।

तपाईंको लेखनमा 'डिटेलिङ' बढी हुन्छ। कतिलाई त्यो शैली मन परे पनि कतिलाई खासै रुचि लाग्दैन। यसपटकको तपाईंको पुस्तक पनि मोटै देखिन्छ। यसको अर्थ आफ्नो शैलीलाई छोड्नु भएको छैन भन्ने बुझ्न सकिन्छ?
मलाई कथावस्तुभन्दा पनि कथाको डिटेलिङ प्राथमिक लाग्छ। अघिल्ला दुई पुस्तकमा अवश्य पनि डिटेलिङ धेरै थियो। तर, यसपटक मैले डिटेलिङलाई अझ अर्थपूर्ण बनाउने काम गरेको छु। बोरिङ डिटेलिङभन्दा पनि अर्थपूर्ण डिटेलिङमा धेरै जोड गरेको छु। डिटेलिङहरू अनावश्यकभन्दा पनि कहीँ न कहीँ, कतै गएर जोड्ने काम भएको छ। त्यसैले त मैले भने नि, पाठकले मेरो शैलीको ‘रिभाइज्ड भर्सन‘ पाउनुहुनेछ भनेर।

तपाईंले कविता र बालसाहित्य पनि लेख्नुभयो। तर, केही समययता आख्यानमै केन्द्रित हुनुहुन्छ, किन?
म कविता विधाबाट आएको हुँ। मैले देख्ने, भेट्ने पात्रलाई ‘ग्लोरोफाइ’ गर्ने गर्छु। कविता विधामा केही दायर हुने हुँदा आफूले सोचेजसरी वर्णन गर्न सम्भव हुँदैन रहेछ। साथै, मैले लेखेको कुरा धेरै मानिसले पढून् भन्ने मलाई लाग्छ। यसका लागि आख्यान कविताभन्दा राम्रो माध्यम हो। म मेरा पात्रलाई आख्यानमा धेरै रिलेट पनि गर्छु। यसकारण पनि होला केही समययता उपन्यासमा मेरो जोड भएको। यद्यपि कविता पनि उत्तिकै मन पर्छ। 

तेस्रो उपन्याससम्म आउँदा आफ्नै लेखाइ पनि ‘ग्रो’ भएको भन्नुभयो यसको अर्थ के होला?
सामान्यता, मेरो लेखाइ डिटेलिङ शैलीको हुने हुँदा उपन्यास ५–६ सय पेज बढी हुने गर्छ। यसो हुँदा पहिले डिटेलिङमा आवश्यकभन्दा बढी लाइन अथवा शब्द राखे होला जसलाई सीमित वाक्यमा बुझाउन सकिन्थ्यो। त्यस्ता विषयलाई यसपटकको उपन्यासमा ‘इम्प्रोभाइज’ गरेको छु। डिटेलिङ त गरेको छु तर, ती अर्थपूर्ण छन्। यसलाई नै मेरो हुर्काइ मानेको छु।

गैरआख्यान पढ्नेको लागि तपाईंको पुस्तकले कस्तो महत्त्व राख्ला?
गैरआख्यान डाटा हो भने आख्यान भावना हो। आख्यानको महत्त्व दर्साउन हामीले काम्बोडियाको बनाना म्यासेक्रे भन्ने एक महत्पूर्ण उदाहरण छ। बनाना म्यासेक्ररेमा काम्बोडियाको केरा ‘प्लान्टेसन’ गर्ने मजदुरहरू र त्यहाँ उनीहरूलाई दमन गरिएको, शोषण गरिएको कथा हो। जब त्यहाँका मजदुरहरूले यसको विद्रोह गरे उनीहरूको निर्ममतापूर्वक हत्या भयो। सोही घटनालाई लेखक ग्याब्रेल मार्खेजले सोधखोज गरी लेखेका छन्। गाउँका मानिसको कुराकानीमा आधारित रही कसरी र कति मानिस मारिए त्यो उनले निकालेका छन्। उक्त घटनाको यकिन तथ्यांक नहुँदा कोलाम्बियाको संसद्ले उक्त आख्यानलाई नै आधार मानी मृतक संख्या पास गरेको थियो। आख्यानको शक्तिको व्याख्या गर्न यो काफी होला। गैरआख्यानमा तथ्यांक हुन्छ, यो ‘कन्क्रिट’ हुन्छ। जसको आफ्नै महत्त्व छ तर, आख्यान भावना हो, जसले मानिसलाई आफैँलाई महसुस गर्न, चिन्न सघाउँछ।


सम्बन्धित सामग्री