Saturday, April 20, 2024

-->

संसद्‍मा श्रीमान्–श्रीमती, ससुरा–ज्वाइँ–बुहारी र फुपू–भदा

प्रतिनिधिसभामा नातागोताको लामो श्रृङ्खला चल्नुको पछाडि ‘विरासत’को राजनीति मात्र छैन, पुरानो पुस्ताले ओगटिरहन खोज्ने र नयाँ पुस्ताले चुनौती दिने क्रम पनि शुरू भएको छ।

संसद्‍मा श्रीमान्–श्रीमती ससुरा–ज्वाइँ–बुहारी र फुपू–भदा

बाल्यकालको एउटा धूमिल स्मृति छ। तर साल नै याद छैन, महिना/गतेको कुरै भएन। सर्लाहीमा पूर्व–पश्चिम राजमार्गको नवलपुर चोकमा खेलिरहँदा एउटा रातो प्लेटको कार घ्याच्च रोकियो। निजी कारमा सवार हुने मान्छे यसै पनि ठूलाबडा नै हुन्थे, जोकोही रोकिँदा गाडीको नजिक पुगेर झोलाझ्याम्टा निकाल्न सघाउन स्थानीय तत्पर रहन्थे। भुराभुरीको त झन् कुरै भएन। गाडीमा छुन खोजिहाल्थे।

कारबाट ओर्लिएका तीनजना पान पसलतिर लम्किए। सफारी सुटमा सजिएका श्याम वर्णको हट्टाकट्टा मान्छेले सबैको ध्यान खिचिरहेका थिए। कार छेउछाउ भेला भएकामध्ये कसैले हट्टाकट्टाको पहिचान गरे, माननीय शरतसिंह भण्डारी। 

भण्डारी सर्लाहीकै छिमेकी महोत्तरीबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्थे। २०३८ सालमै राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित उनी अहिलेको आमनिर्वाचनबाट पनि व्यवस्थापिकामा निर्वाचित भएका छन्। यसपालि भण्डारीका छोरी–ज्वाइँ विराजभक्त श्रेष्ठसमेत राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई काठमाडौं–८ बाट प्रतिनिधिसभा पुगेका छन्।

भण्डारीले पहिलोपटक व्यवस्थापिकाको चुनाव जित्दा विराजभक्त जन्मिएकै थिएनन्। यसलाई संयोग मात्र भनौँ, विराजभक्त ससुराबाको राप, ताप र प्रतापमा सांसद भएका होइनन्। विवेकशील पार्टीबाट राजनीति शुरू गरेका उनी २०७४ सालको चुनावमा साझा विवेकशीलको समानुपातिक सूचीबाट बागमतीमा प्रदेशसभा सदस्य थिए।

ससुरा–ज्वाइँको जुगलबन्दीलाई डा. चन्दा कार्कीको प्रवेशले ‘ट्रोइका’ बनाइदिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको खस–आर्य महिलाको पहिलो नम्बरमा रहेकी डा. चन्दा भण्डारीकी फूपू हुन्, जसको प्रतिनिधिसभा प्रवेश सुनिश्चित छ। 

कार्कीद्वय डा. चन्दा र ललितपुर–३ बाट निर्वाचित डा. तोसिमाको पेशा र थर उही छ। तर, डा. तोसिमा चिकित्सा शिक्षा सुधारका लागि गोविन्द केसीको सत्याग्रहमा सहभागी हुन्थिन् भने, काठमाडौँ मेडिकल कलेजमा स्वामित्वसमेत रहेका कारण डा. चन्दा विपरीत ध्रुवमा थिइन्। अलिअघि उनीसहितको एउटा समूह सुनिल शर्मालाई सेयर बिक्री गरी काठमाडौँ मेडिकल कलेजबाट बाहिरिएको छ। डा. चन्दाको अहिले काठमाडौँ नोबेल अस्पतालमा ‘मालिकाना’ हक छ। 

डा. चन्दाको सेयर खरिदकर्ता सुनिल शर्मा चाहिँ मोरङ–३ बाट कांग्रेस उम्मेदवारका रूपमा प्रतिनिधिसभामा निर्वाचित भए। सार्वजनिक अस्पतालमा मात्रै उपचार गर्ने वाचा गरेका पार्टी सभापति रवि लामिछाने, चिकित्सा शिक्षा सुधारमा गोविन्द केसीको ध्रुवमा रहेकी डा. तोसिमा अनि स्वास्थ्य व्यवसायी डा. चन्दाको ‘ट्रोइका’ पनि प्रतिनिधि सभामा रोचकै हुनसक्छ।    

प्रसंग महोत्तरीका भण्डारीकै छ। पञ्चायतको प्रत्यक्ष बालिग मताधिकारवाला दुवै चुनाव (२०३८, २०४३ ) जितेका उनी २०४६ को व्यवस्था परिवर्तनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बाट २०४८ को चुनाव लडेका थिए। महोत्तरी–५ मा उम्मेदवार बनेका उनी पराजित भए। त्यसपछि कांग्रेस रुखको छहारीमा सरे पनि २०५१ सालको चुनावमा टिकट पाउन सकेनन्, तर स्वतन्त्र उम्मेदवारका रुपमा जित दर्ज गरे। पुनः कांग्रेसै छिरे। २०५२–२०५५ का सरकार बनाउने/गिराउने खेलमा पूर्वपञ्चहरूको राप्रपा (थापा) र राप्रपा (चन्द) मा उनको पुरानो चिनजानको फाइदा कांग्रेसले उठायो।

भण्डारी २०५६ सालमा पुनश्चः महोत्तरी–३ बाट कांग्रेसको टिकटमा निर्वाचित भए। कांग्रेस विभाजनका बेला शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस प्रजातान्त्रिकपट्टि लागेका उनले २०६४ सालको मधेश विद्रोहपछि फेरि ‘गुलाटी मारे।’ मधेशी जनअधिकार फोरमको टिकटमा पुनश्चः निर्वाचित भए। पहिलो संविधानसभामै फोरमको टुटफुट शुरू भयो, शुरूमै विजय गच्छदारको नेतृत्वमा फोरम फुट्दा उनी गच्छदारतिरै गए। पछि राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरी चुनावमा गए, २०७० को चुनावमा आफ्नै पार्टीको नेतृत्वमा गएका उनी पराजित भए। उनको पार्टीको ‘सुपडा साफ’ हुनेथियो, समानुपातिक सूचीमा ‘थ्रेसहोल्ड’ नभएका कारण उनले आफ्नै ‘घनिष्ट साथी’ निर्जला राउतसहित दुईजनालाई संविधानसभामा पुर्‍याइछाडे।

२०७४ सालको आमनिर्वाचनअघि टुक्रा–टुक्रामा विभाजित मधेशी पार्टीहरू मिलेर राष्ट्रिय जनता पार्टी बन्यो, जसमा भण्डारी नेतृत्वको पार्टी पनि थियो। चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन भएपछि मधेशको सबैभन्दा ठूलो शक्तिको रूपमा गठबन्धनको उदय भयो। भण्डारी महोत्तरी–३ बाट अत्यधिक मतले विजयी भए। 

यसपालि लोसपा निकै कमजोर हुँदा भण्डारी विजयी हुन कठिन थियो। फेरि पनि उनकै हातमा लड्डु आइहाल्यो। लोसपाको कांग्रेससँग गठबन्धन भइदियो, फलतः भण्डारी महोत्तरी–३ बाट विजयी भए। ज्वाइँ र फूपूसहित भण्डारी प्रतिनिधिसभा पुग्ने भए पनि ‘थ्रेसहोल्ड’ नपुग्ने करिब–करिब प्रष्ट भएकाले लोसपाबाट खस/आर्य महिला क्लष्टरको पहिलो नम्बरमा रहेकी निर्जला राउतका लागि संघीय संसद्को ढोका फिलहाल बन्द भएको छ।   

महोत्तरीसँगै जोडिएको धनुषामा चाहिँ ‘अनुहार’ त पञ्चायतकालीन बासी होइनन्, तर पञ्चायतकालीन हेमबहादुर मल्लको प्रत्यक्ष चुनावमार्फत स–पत्नी व्यवस्थापिकामा ‘एन्ट्री’ मार्ने रेकर्ड बराबर गरिछाडे, रघुवीर महासेठ–जुली महतोले। रघुवीर र जुली क्रमशः धनुषा–३ र धनुषा–४ बाट निर्वाचित भए। 

२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य चुनावमा धनुषाबाट मल्लका साथै श्रीमती शारदा पनि निर्वाचित भएकी थिइन्। धेरै मतदाता भएका जिल्लाबाट राष्ट्रिय पञ्चायतमा सबैभन्दा धेरै मत ल्याउने दुई जना निर्वाचित हुने व्यवस्था थियो। धनुषाको कोटामा दुई जना पथ्र्यो। त्यसकै फाइदा उठाएर मल्लले श्रीमतीलाई पनि राष्ट्रिय पञ्चायत पुर्‍याए।

मल्लले बनाएको रेकर्ड बराबरी गर्ने सकसक त अरूलाई पनि थियो होला, तर उपेन्द्र महतोको धनको रापताप एमालेलगायतका पार्टीहरूमा परेका कारण रघुवीरले पटक–पटकको ‘अटेम्प्ट’ पछि ‘अचिभ’ गरिछाडे। दोस्रो संविधानसभा (२०७०) मा पनि धनुषाबाट जुली र रघुवीर दुवैले प्रत्यक्षमा प्रतिस्पर्धा गरेका थिए। तर, दुवै जना ‘चारो खाना चित’ हुनपर्‍यो। जुली तत्कालीन धनुषा–४ मा कांग्रेसका विमलेन्द्र निधिसित पराजित भएकी थिइन् भने रघुवीरलाई तत्कालीन धनुषा–५ मा कांग्रेसकै चन्द्रमोहन यादवले पछि पारेका थिए।

अहिले प्रत्यक्ष निर्वाचित यो जोडी यसअघि प्रत्यक्ष–समानुपातिकको बाटोबाट एकैचोटी व्यवस्थापिकामा चाहिँ पुगिसकेकै थिए। पहिलो संविधानसभा (२०६४) मा जुली समानुपातिकको ‘रेड कार्पेट’बाट पुगिन्। त्यही चुनावको प्रत्यक्षमा तत्कालीन धनुषा–४ मा सञ्जयकुमार साह ‘टकला’सँग पराजित रघुवीर, डा. रामवरण यादव राष्ट्रपति भई रिक्त धनुषा–५ को उपनिर्वाचनमार्फत संविधानसभामा पुग्न सफल भए, जहाँ श्रीमति जुली अघि नै उपस्थित थिइन्।

यस्तै, २०७४ मा जुली समानुपातिकको रेड कार्पेटमार्फत प्रतिनिधिसभा पुगिन् भने रघुवीरले प्रत्क्षबाट अहिलेकै धनुषा–४ मा जित हासिल गरेका थिए। जुलीका माइला दाइ वीरेन्द्र महतोले पनि सिराहा–४ बाट जनता समाजवादी पार्टी (जसपा)को टिकटमा प्रतिनिधिसभाको ढोका खोलिसकेका छन्। दोस्रो संविधानसभामा सिराहा–४ मा तत्कालीन मधेशी जनअधिकार फोरमबाट उम्मेदवारी दर्ता गरिसकेका वीरेन्द्रलाई सो क्षेत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी परेपछि दाजु उपेन्द्रले नै फिर्ता गराएका थिए। फोरमले समानुपातिकमार्फत वीरेन्द्रलाई दोस्रो संविधानसभामा पुर्‍याएको थियो।  

यसपटकको प्रतिनिधिसभामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीमती डा. आरजु राणा देउवाको जोडी पनि देख्न पाइने छ। शेरबहादुर डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने आरजु समानुपातिक सूचीमा छिन् र उनी सांसद् बन्ने पक्कै छ। कांग्रेसले उनलाई खस–आर्यको तीन नम्बरमा राखेको छ।

यो जोडीलाई २०६४ र २०७० सालको संविधानसभामा पनि देख्न पाइएको थियो। ती दुवै निर्वाचनमा शेरबहादुर प्रत्यक्ष र आरजु समानुपातिकमार्फत चुनिएका थिए। तर, २०७४ सालको आमनिर्वाचनमा पहिलोपटक प्रत्यक्ष चुनाव लड्न कैलाली–५ पुगेकी आरजु पराजित भएपछि शेरबहादुर मात्र संसद् भवन पस्न पाए।

यसपटक गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि स–पत्नी संसद् भवन प्रवेशको प्रयास गरेका थिए। रुपन्देही–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका खाँणले श्रीमती मञ्जुलाई समानुपातिकमा राखेका छन्। तर, बालकृष्ण पराजित भए। मञ्जुको सम्भावना पनि प्रबल छ।
यसअघि २०७० सालको दोस्रो संविधानसभामा पनि श्रीमान्–श्रीमती नै पुग्ने प्रयास असफल भएको थियो। त्यतिबेला बालकृष्ण प्रत्यक्षमा निर्वाचित भएका थिए। समानुपातिकको सूचीमा रहेकी मञ्जुले भने मौका पाएकी थिइनन्।

पञ्चायतको प्रत्यक्ष बालिग मताधिकारवाला पहिलो चुनाव (२०३८) मार्फत राष्ट्रिय पञ्चायतमा प्रवेश गरेका अर्जुननरसिंह केसी सूर्यबहादुर थापा नेतृत्व सरकारमा स्वास्थ्य राज्यमन्त्री भएका थिए। स्वास्थ्य राज्यमन्त्रीको रूपमा केसी हाम्रो स्कुल नवजीवन विद्याश्रम, जुटपानी (सर्लाही) आउँदा पिटी खेलेर देखाउने म सायद तीन कक्षामा पढ्दै थिएँ। उनै केसी यसपालि नुवाकोट–१ बाट प्रतिनिधिसभामा जितेका छन्। 

केसी पहिलोचोटी तत्कालीन व्यवस्थापिकामा पुग्दा ताका जन्मिएका ऋषी सुनक बेलायतको प्रधानमन्त्री भएको केहीपछि केसी फेरि नेपालको व्यस्थापिकामा पुगेका छन्। उनी पनि ज्वाइँसहित प्रतिनिधिसभामा पुगेकाले संघीय संसद्‍मा कम्तीमा दुई जोडी ससुरा–ज्वाइँ हुने भएका छन्। ससुरा केसी र ज्वाइँ गगन थापाको जोडी दोस्रो संविधानसभामा पनि प्रत्यक्ष चुनावमार्फत् नै पुगेका थिए। २०७४ मा चाहिँ पराजित भएका कारण ससुरा छुटे, ज्वाइँ मात्र प्रतिनिधिसभा प्रवेश गरे। 

२०७४ सालको आमनिर्वाचनमा राजपाको टिकटमा जेलबाटै अत्यधिक बहुमतले जितेका रेशम चौधरीको यसपालि उम्मेदवारी नै रद्द भए पनि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रहेकी श्रीमति रञ्जिता श्रेष्ठ चौधरी कैलाली–१ तथा स्वतन्त्र उम्मेदवार भएका पिताजी लालवीर चौधरी बर्दिया–२ बाट प्रतिनिधिसभा पुगेका छन्। रेशमले चुनाव रद्द हुने सम्भावना देखेरै बर्दिया–२ बाट नागरिक उन्मुक्तिको टिकटमा आफ्नो उम्मेदवारी दर्ता गरी बुवा लालवीरलाई ‘ब्याकअप’मा स्वतन्त्र उम्मेदवारी दिलाएका थिए। नभन्दै रेशमको उम्मेदवारी खारेज भयो, लालवीरलाई नागरिक उन्मुक्तिले समर्थन गर्‍यो। नागरिक उन्मुक्ति पार्टी गठनको तीन महिनापछि स्थानीय चुनावमा कैलालीका तीनवटा पालिकामा मेयर–उपमेयर तथा एउटा नगरपालिकामा मेयर जितेर काठमाडौँको ध्यान खिचेको थियो।

सुनसरी–१ बाट अशोक राईको जितसँगै उनको स–पत्नी प्रतिनिधिसभा प्रवेशको मार्ग प्रशस्त भएको ठान्न सकिन्छ। जसपाको आदिवासी/जनजाति महिला क्लस्टरको पहिलो नम्बरमै रहेकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकमार्फत संघीय सांसद बन्ने सम्भावना छ। शक्ति बस्नेतले जाजरकोटबाट जितिसकेका छन्, उनकी बहिनी ज्ञानु बस्नेत माओवादी केन्द्रको समानुपातिक सूचीमा छिन्। सम्भावना त तीन महिनाअघि मात्रै पार्टी खोलेर चुनावमा चमत्कार गरेका रवि लामिछानेको पनि ससुरासहित प्रतिनिधिसभा पुग्ने थियो, तर राप्रपाको खस/आर्य क्लस्टरको चौथो नम्बरमा रहेका ससुरा उद्धव पौडेलको संघीय संसद्‍मा एन्ट्री सहज देखिँदैन।


सम्बन्धित सामग्री