Friday, April 19, 2024

-->

गगन थापासँग अन्तर्वार्ता
‘मेरो पुस्ताको प्रधानमन्त्री बन्ने ‘कट अफ डेट’ शुरू भो, अब पाँच वर्ष कुर्न सकिन्न’

“यो पटक हाम्रो वेगलाई रोक्न मिल्दैन। प्राविधिकरूपमै मिल्दैन। वेग रोक्नखोज्दा परिणाम के आउँछ सबैलाई थाहा छ। हाम्रो नेतृत्वले यो कुरा बुझ्न जरूरी छ।”

‘मेरो पुस्ताको प्रधानमन्त्री बन्ने ‘कट अफ डेट’ शुरू भो अब पाँच वर्ष कुर्न सकिन्न’

प्रतिनिधिसभा निर्वाचनको पूर्ण नतिजा आइनसक्दै नयाँ सत्तासमीकरणको चर्चा तीव्र बनेको छ। वर्तमान सत्तागठबन्धन सामान्य बहुमतनजिक पुग्ने लगभग निश्चित देखिँदा यही गठबन्धन सत्तामा रहन्छ या यसलाई भत्काएर अर्को गठबन्धन बन्छ भन्ने तस्वीर प्रष्ट भइसकेको छैन। यसकाम लागि गठबन्धनभन्दा बाहिर रहेका पार्टी र स्वतन्त्र सांसदहरूलाई मिलाउने आन्तरिक रस्साकस्सी र बाह्य चलखेल दुवै बढ्न थालेका छन्। यसमा सबभन्दा रोचक परिदृश्य चाहिँ प्रतिनिधिसभामा पहिलो दल बन्नलागेको नेपाली कांग्रेसमा देखिन्छ। 

कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा आफैँ दोहोरिन प्रयत्न गरिरहेका बेला महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री बन्ने लक्ष्यसहित कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी तीव्र पारेका छन्। निर्वाचनअघि नै यस्तो घोषणा गरेका थापाले काठमाडौँ–४ बाट निर्वाचित भएपछि अघि बढाएको तयारीले कांग्रेस भित्र मात्र होइन, राजनीतिक वृत्तमै तरंग ल्याएको छ। कांग्रेसभित्र त गगनलाई ‘टार्गेट’ गरेर देउवाको बचाउ गर्ने र आफूलाई प्रधानमन्त्रीको दाबेदार घोषणा गर्ने प्रतिस्पर्धा नै देखापरेको छ। कांग्रेसबाहिर भने संसदीय अंकगणितमा निर्णायक देखिएका शक्तिहरूले पनि ‘गगनलाई अगाडि सारे सोच्न सकिने’ बताउन थालेका छन्। प्रधानमन्त्रीमा गगनको दाबी र त्यसपछाडिका उनका तर्क–दाबी, त्यसका लागि कांग्रेसभित्रको प्रतिकूलता चिर्ने उनका योजना, रणनीतिलगायत विषयमा उकालोका लागि रामेश्वर बोहरादिपा दाहालले गरेको संवादः

यसपालिको निर्वाचनको जस्तो नतिजा आयो/आउँदैछ, यो तपाईंका लागि अपेक्षित थियो? 
यसलाई म दुई किसिमले अर्थ्याउँछु। एउटा, मेरो आफ्नै क्षेत्रका हिसाबले। अर्को, समग्रमा मेरो पार्टीको हिसाबले। नेपाली कांग्रेसका लागि मेरो निर्वाचन क्षेत्र कहिले पनि सुरक्षित होइन। यसपटक मूलधारका दलसँग धेरै ठूलो आक्रोश थियो। त्यो मतिर पनि सोझिएको थियो। हामी सहजै जित्ने अवस्थामा थिएनौँ। एकदम चुनौतीपूर्ण अवस्था भएपनि मेरो कुरा मतदातासम्म पुर्‍याउन सके त्यसलाई चिर्न सकिन्छ भन्ने लाग्यो। त्यसैले म हरेक मतदातासम्म पुगेँ। 

यसपटक मलाई जसले धेरै ठूलो सहयोग गर्नुपर्थ्यो, उनीहरूले नै संगठित ढंगले असहयोग गरेका थिए। त्यो हुँदाहुँदै पनि मैले राम्रै मतान्तरले जितेँ। किनभने मैले जे कुरा मतदातासमक्ष राखेँ, त्यहीकारण उहाँहरूले मलाई सांसद बनाउन मात्र नभएर नेपालको राजनीति र सत्ता सञ्चालनमा हस्तक्षेप गर्न पठाउने निधो गर्नुभो। एमालेकै मतदाताले पनि मलाई मत दिनुभो। व्यक्ति हेरेर मत दिने मनस्थिति बनाएकाहरूले पनि मत दिनुभो। मेरो क्षेत्रमा ३३ बुथ छन्। यसपटक म एउटा बुथमा पनि चुनाव हारिनँ। नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो मात्र भयो, यसलाई बदल्नुपर्छ भन्ने सोच र संकल्पसहित म जसरी अघि बढेको छु, मतदाताले त्यसैलाई अनुमोदन गर्नुभयो। तर, समग्रमा कांग्रेसका लागि नतिजा राम्रो छैन। मत पनि राम्रो छैन। समानुपातिकमा हामी एमालेभन्दा पछि पर्‍यौँ। गठबन्धनको यसको एउटा मुख्य कारण हो। 

गठबन्धनभन्दा कांग्रेसलाई आफ्नै कारणले क्षति भयो भनिन्छ नि? 
म निर्वाचनअघिको गठबन्धनको पक्षमा थिइनँ। तर, मेरो कुरामा नेतृत्व सहमत भएन। पार्टीले गठबन्धनमा जाने निर्णय गरेपछि मैले त्यसलाई इमानदारीपूर्वक स्वीकार गरेँ। कांग्रेसको मत सजिलै अरूलाई ट्रान्सफर हुने खालको होइन, भोलि एकअर्कालाई दोष थोपर्ने काम हुन्छ भन्ने मेरो बुझाई थियो। अहिले आएर कैयौँले कांग्रेसको मत ट्रान्सफर भएन भन्दै हुनुहुन्छ। त्यसमा दोष कांग्रेस मतदाताको होइन, तालमेल गर्नेहरूको हो। तर, तालमेल गर्दा हामीलाई भन्दा अरू पार्टीलाई फाइदा भएको छ। कांग्रेसको मत ट्रान्सफर नभएको भए समाजवादीले यति धेरै सिट जित्न सम्भव नै थिएन। 

कतिपय स्थानमा कांग्रेसको मत माओवादीमा नगएको पनि सत्य हो। समाजवादीको मत पनि माओवादीलाई ट्रान्सफर भएको छैन। यो स्वाभाविक हो। मतदाताको जिम्मा कसैले लिन सक्दैन। गठबन्धन गर्दा हामीले सोचेजस्तो मत नआउन पनि सक्छ। हामीले अंकगणित हेरेर दाबी त दुई तिहाइको गरेका थियौँ। तर, गठबन्धनले प्राप्त गरेको परिणाम हेर्दा बहुमतका लागि पनि केही सिट नपुग्ने देखिन्छ। हाम्रो अनुमान, दाबी, अपेक्षामा धेरै ठूलो ग्याप देखिएको छ। परिणाम सोचेको भन्दा धेरै फरक आएको छ। 

भनेपछि चुनावी गठबन्धन कांग्रेसका लागि लाभदायी बन्न सकेन? 
नेपाली कांग्रेसको समानुपातिकमा ३१/३२ प्रतिशत मत हो। सँगै हामीले निर्वाचनमा कुनैपनि बेलामा कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन हुनसक्छ भन्ने हेक्का पनि राख्नुपर्छ। तीबाहेकका पार्टीबीच पनि गठबन्धन हुनसक्छ भन्ने आकलन गर्नुपर्छ। कांग्रेसलाई ४० प्रतिशतको पार्टी बनाउने, अहिले भएको मतमा ७/८ लाख मत थप्ने, त्यसका लागि पार्टीको मुद्दा, सक्षम नेतृत्व, भविष्यमुखी कार्यक्रम लिएर जनतासमक्ष जाने हो। जबसम्म मतदाता थपिँदैनन्, कांग्रेसलाई यस्तै मुस्किल परिरहन्छ। 

मधेश प्रदेशमा अहिले अरूलाई गएको मत कुनैबेला कांग्रेसकै थियो। त्यसलाई फेरि कांग्रेसमा फर्काउन सकिन्छ। महाधिवेशनलगत्तै हामीले यस्तो प्रस्ताव राखेपनि त्यसरी काम गर्न सकेनौँ। निर्वाचन नजिकिएपछि कोहीसँग तालमेल गरेनौँ भने क्षति बेहोर्नुपर्छ भन्ने मात्र सोच्यौँ। हामीले नगरे अरूले गरिदेलान् भन्ने ठान्यौँ। त्यसकारण पनि गठबन्धनले फाइदा गरेन। यसअघि कांग्रेसलाई मत दिएकाहरूले यसपालि अर्कै दललाई रोजे। 

निर्वाचनले मतदातालाई पार्टीसँग जोडने काम गर्छ। हामीले पहिलो पटक मतदान गर्न आउनेलाई शुरूआतमै रूखमा मत हाल्न लगाएनौँ, किनभने हामी गठबन्धनमा थियौँ। शहरीया मध्यमवर्ग त्यसै पनि कांग्रेस हुन्छ, हाम्रो मुख्य आधार त्यही थियो। यसपालि त्यो जग नराम्ररी हल्लियो। देशैभरि हाम्रा मतदाता हामीसँग रिसाएका छन्। कतिपय मतदान गर्नै गएनन्। यसको अर्थ हामीले लिएका निर्णय उनीहरूलाई मन परेनन्।  

यसपटक हाम्रो मत घट्नुमा डेढ वर्षयता सरकारको प्रस्तुति पनि हो। हामीले गठबन्धन नगरी बहुमतको सरकार दिन्छौँ भनेको भए मतदाताले पत्याउँथे होला। गठबन्धन गरेपछि पत्याएनन्। यो सरकारले राम्रो काम गर्‍यो भन्ने कमै छन्। चुनावका गरेकै कामको पनि हाम्रा उम्मेदवारले प्रचारप्रसार गर्न सकेनन्। त्यसको भारी पनि कांग्रेसले बोक्नुपर्‍यो। निष्कर्षमा कांग्रेसले लिएका निर्णय, सरकारमा रहँदा गर्न नसकेका राम्रा काम, भविष्यप्रति आशा र उत्साह जगाउन नसक्नु र आफ्नै मतदातालाई टाढा पुर्‍याउनुको परिणाम यसपटक कांग्रेसलाई कम मत आएको हो। पुरानो नेतृत्वले अब हामी विश्राम लिन्छौँ, युवापुस्ताको नेतृत्वमा सरकार दिन्छौँ भनेको भए कांग्रेसले धेरै मत पाउँथ्यो। कम्तीमा अहिलेभन्दा ५/६ लाख बढी मथ आउँथ्यो। हामीले निर्वाचनमा जाँदैगर्दा त्यसो पनि भन्न सकेनौँ। 

तपाईंसहित कांग्रेसका दुईजना महामन्त्री जो देशव्यापी चुनावी क्याम्पेन हाँक्न सक्ने भूमिकामा हुनुहुन्थ्यो, तपाईंहरू आफ्नै निर्वाचन क्षेत्रभित्र खुम्चिँदाको घाटा पनि कांग्रेसलाई भयो होला नि? 
स्थानीय निर्वाचनलाई हेर्ने हो भने मेरो निर्वाचन क्षेत्र हामीले जित्न सक्ने अवस्थामा छँदै थिएन। करिब ८ हजार मतले हामी पछि थियौँ। तर, मतदाताले मलाई सांसद बनाएर पठाए संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्छ, प्रधानमन्त्री हुन सक्छ भनेर जिताएर पठाए। यहाँका मतदातासँगै बाहिरबाट अरू पनि मलाई जिताउन लागे। मैले प्रदीप पौडेलको कार्यक्रममा मात्रै गएर बोलेँ। युवालाई अवसर दिनुपर्छ, उनीहरूले काम गरेर देखाउँछन् भनेर अपिल गरेँ। विश्वप्रकाश शर्माले आफ्नो क्याम्पेनमा मेरो कुरा उठाउनुभयो। कांग्रेसले जित्न निकै कठिन अवस्थामा रहेका यी तीनवटै क्षेत्रबाट हामी तीनै जनाले जित्यौँ, त्यो पनि शानदार मतसहित। 

यो त एकखालको अजेण्डा नै बन्ने रहेछ नि। यो कुरालाई नेपाली कांग्रेसले आधिकारिक अभियान बनाएको भए हाम्रो मत पक्कै पनि बढी आउँथ्यो। हामी क्याम्पेन चलाउन कतै पनि जान पर्दैनथ्यो। पार्टी सभापतिको पुस्ताले हामी अभिभावक बनेर बस्छौँ, युवा पुस्ताका नेताहरू गगन, विश्वप्रकाश, प्रदीपहरूले सरकार चलाउँछन् भनेको भए हाम्रो निकै राम्रो मत आउने रहेछ। बरू हामी एकापसमा प्रतिस्पर्धा गरेरै अघि बढ्ने थियौँ। अहिले मैले जसरी प्रधानमन्त्री बन्नका लागि संघर्ष गर्नु परेको छ, त्यो सायद गर्नुपर्ने नै थिएन। 

अर्को कुरा, मलाई अन्य निर्वाचन क्षेत्रमा जान समय पनि पुगेन। आफ्नै निर्वाचन क्षेत्रका मतदातासँग संवाद गर्न समय पुगेन। निर्वाचन आयोगले हामीलाई प्रचारप्रसारका लागि जम्मा १२–१३ दिन समय दिएको थियो। त्यो भन्दा पहिले अलिअलि गतिविधि गर्दा आचारसंहिता उल्लंघन गर्‍यो भनेर आयोगले स्पष्टीकरण पत्र काटेको काट्यै गर्‍यो। यसले गर्दा आफ्नै मतदाताको घरमा पुग्न पनि भ्याइनभ्याइ भयो।  

अर्को कुरा, म मेरो निर्वाचन क्षेत्रमा एउटा कुरा र अर्को निर्वाचन क्षेत्रमा गएर अर्को कुरा गर्न सक्दिनथेँ। तपाईं निर्वाचित गरेर पठाइदिनुस्, पठाइदिनुभयो भने निर्वाचित भएर आएको साथीले संसदीय दलमा मलाई मत हाल्नुहुन्छ भन्न म त तयार थिएँ । तर, उम्मेदवार साथीलाई गाह्रो पर्थ्यो। नेपाली कांग्रेसले ८/९ लाख थप मतदाता आकर्षित गर्न सक्ने अवस्था थियो, अवसर थियो। त्यो भनेको कांग्रेसको नेतृत्वमा, कांग्रेसका नयाँ अनुहारको नेतृत्वमा देशमा नयाँ सरकार बन्छ भन्ने नारा थियो। हाम्रो पार्टीले त्यसो गर्नै सकेन।  

कांग्रेससँग गठबन्धन गरेका दलहरूले कांग्रेसकै कारण आफूहरूले हार्नुपरेको दोष लगाएका छन्। के भन्नुहुन्छ? 
हामीले तथ्यमा टेकेर, समानुपातिकमा आएको मतलाई हेर्‍यौँ भने उहाँहरूलाई बेफाइदा भएको छैन। एकीकृत समाजवादी १० ठाउँमा निर्वाचित भएको छ। नेपाली कांग्रेसको मत ट्रान्सफर भएर नै त्यो नतिजा आएको हो। माओवादीको अवस्था पनि त्यस्तै हो। दाङ, सिन्धुली जस्ता ठाउँमा माओवादीले जितेको छ। त्यो जितमा कांग्रेसको बलियो साथ छ। काभ्रेमा पनि त्यही भएको हो। काठमाडौँलगायत कतिपय ठाउँमा सबैले क्षति बेहोरेका छौँ। शहरी क्षेत्रका हाम्रा मतदाताको मूड बदलिएको देखियो। उनीहरू हामीसँग रिसाएको देखियो। हामीले फेरि उनीहरूसँग संवाद गर्न सक्यौँ भने अर्कोपटक हामी उनीहरूकै हुनेछौँ।

गुनासो त सबैले सबैसँग गर्न मिल्छ। मैले ताप्लेजुङदेखि पाँचथर, इलामसम्म संवाद गरेको छु। त्यहाँ गठबन्धनकै साथीहरूले कांग्रेसलाई सहयोग गर्नुभएन भन्ने गुनासो सुनेको छु। प्रायः सबै ठाउँमा गठबन्धनका साथीहरूले इमानदार भएर सहयोग गर्नुभएन भन्ने छ। मत प्राप्त गर्न आफूले पनि मतदातामा के कस्तो प्रभाव पारेको छु भन्ने कुरा आउँछ। गठबन्धन गरेर चुनावमा होमिँदा जोखिम उठाउनै पर्छ। हामीले गठबन्धन गर्दा मतदाताको चाहना र समस्याबारे छलफल गरेनौँ। बालुवाटारमा बस्ने, सिट बाँडफाँटमै समय सक्ने काम भयो। मतदाताले आफ्नो स्थिति हेर्छन् र त्यसैअनुसार निर्णय गरेर मत हाल्छन्। त्यसकारण सिट कम आयो भनेर कांग्रेसलाई आरोप लगाउने ठाउँ म देख्दिनँ।

चुनावी नतिजाकै कारण गठबन्धनका अरू दलले कांग्रेससँगको सहकार्य तोड्ने अवस्था आउँदा तपाईंको प्रधानमन्त्री बन्ने दौडलाई पनि प्रभावित गर्दैन र? 
मलाई त्यस्तो पटक्कै लाग्दैन। म पनि गठबन्धनका दलहरूसँग कुराकानी गरिरहेको छु। सिंगो गठबन्धनले यो निर्वाचनमा करिब दुइतिहाई बहुमत ल्याउला भन्ने लागेको पनि थियो। त्यो अवस्थामा सामान्य बहुमत पनि नपुग्दा हामी सबैको मन खिन्न हुने नै भयो। तर, चुनावी नतिजाकै कारण गठबन्धनबाट कुनै दल बाहिरिन्छ भन्ने मलाई लाग्दैन। माओवादी, एकीकृत समाजवादी कुनै पनि पार्टी, अरू वैकल्पिक मोर्चाका बारेमा सोच्ने ठाउँमा पुग्नुहुन्छ भन्ने लाग्दैन। वैकल्पिक मोर्चा २०७४ सालमा बनाएकै हो। त्यो असफल भएर, त्यसबाट घाउ लागेर, चोटपटक लागेर बेहोर्नुपर्ने क्षति बेहोरेर यो ठाउँमा आइपुगेको हो। अहिले निर्वाचनमा सोचेको जस्तो परिणाम आएन भन्दैमा उहाँहरूले अरू कुनै मोर्चाको बारेमा सोच्नुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन। 

तपाईंमाथि राष्ट्रिय स्वतन्त्र पार्टीसँग साँठगाँठ गरेर गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाउँदै एकथरीले बालुवाटारमै पुगेर उजुर गरे भन्ने समाचार पनि आएका छन्। एउटा उम्मेदवारले आफूले जित्न आवश्यक उपाय अवलम्बन गर्नुलाई अस्वाभाविक मान्न नसकिएला। तपाईंमाथि नै यस्तो आरोपचाहिँ किन लागेको होला? 

मलाई त्यस्तो आरोप लगाउनेको अनुहार चिन्न मन छ। म सञ्चारमाध्यमहरूलाई पनि यस्तो ‘फेसलेस’ अभियानलाई बढवा नदिन अनुरोध गर्छु। कसले मलाई यसो भन्दैछ? सार्वजनिकरूपमा कसैले बोल्ने हिम्मत गर्छ? को हो मलाई यस्तो आधारहीन आरोप लगाउने? 

दोस्रो, घण्टी चुनाव चिन्ह भएको स्वतन्त्र पार्टीको उम्मेदवार थिएन, त्यसकारण साँठगाँठ गर्‍यो भन्ने हो भने हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको क्षेत्रमा पनि घण्टी चिन्ह भएको उम्मेदवार थिएन। त्यसो भए पार्टी सभापतिलाई पनि साँठगाँठ गरेको आरोप लगाइदिने? पार्टी सभापति पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्नुभएको रहेछ भन्दिने?  

वास्तवमा हामी अझै पनि मतदातालाई हेपिरहेका छौँ। हजारौँ मतले जित्नुपर्ने ठाउँमा हामी हजारौँ मतले चुनाव हारिरहेका छौँ। बाहिरबाट हेर्दा चमत्कार भएको जस्तो स्थिति देखिन्छ। तर, हामी अझै मतदातालाई हेपेर ‘यो मेरो भोट थियो, कहाँ गयो’ भन्ने कुरा गरिरहेका छौँ। गल्ती यहीँनेर भइरहेको छ। मेरो निर्वाचन क्षेत्रमा (प्रदेशमा) उम्मेदवार रहेका मेरा दुई जना टिममेटमध्ये एकजना हार्नुभयो, मैले चार हजार मतले जितेको ठाउँमा मेरो टिममेट मुस्किलले पाँच सय मतले जितेर आउनुभएको छ। 

राप्रपाले आजसम्म कहिले नपाएको मत मेरै निर्वाचन क्षेत्रमा प्राप्त गरेको छ। अहिलेसम्म कहिल्यै समानुपातिकमा पहिलो नभएको कांग्रेस मेरै क्षेत्रमा समानुपातिकमा पनि पहिलो भएको छ। मलाई हराउन निकै ठूलो अभियान चलाइयो, तर मैले त्यसलाई अस्वाभाविक मानिनँ। किनभने मतदाताले के चाहिरहेका छन् भन्ने मैले थाहा पाएको थिएँ। मतदाता के सोचिरहेका छन् भन्ने मलाई थाहा थियो। हाम्रो समानुपातिक सूची हेरेर मतदाता कति रिसाएका छन् भन्ने मलाई थाहा छ। नेपाली कांग्रेसको समानुपातिक सूचीका कारणले कति लाख मतदाताले हामीलाई मत हालेनन् भन्ने सर्भे नै गरेर हेरौँ न त एकपटक। त्यसकारण यस्ता आधारहीन कुरा गरेर अझै पनि मतदातालाई हेप्ने काम गर्‍यौँ भने हामीले थप क्षति बेहोर्नुपर्नेछ। 

तपाईंले प्रधानमन्त्री बन्ने अभियान अघि बढाउँदै गर्दा कांग्रेसमै तपाईंलाई असहयोग गर्न एकपछि अर्को नेता खडा भइरहेको देखिन्छ। यत्रो चुनौती कसरी सामना गर्नुहुन्छ?  
यसका दुइटा पक्ष छन्। हाम्रो पार्टी सभापति, वरिष्ठ नेताहरूलगायत पहिलो पुस्ताका जो नेताहरू हुनुहुन्छ उहाँहरूले मलाई साथ दिनुपर्छ। आमनेपाली कसरी सोचिरहेका छन्, त्यो कुरा यसपटक मतमा कसरी अभिव्यक्त भयो भनेर उहाँहरूले बुझिदिनु पर्‍यो। उहाँहरूले यो कुरा बुझिदिए मेरो अगाडिको बाटो एकदम सहज छ। यो पंक्तिले बुझिदिएन भने अगाडिको बाटो संघर्षपूर्ण हुन्छ। 

मैले कुनै व्यक्तिगत कुरा गरेको होइन। यो कुरा को प्रधानमन्त्री बन्ने, को नबन्ने भन्ने पनि होइन। नेपाली कांग्रेसले देशलाई नयाँ नेतृत्व दिने कि नदिने भन्ने सवाल हो। २०५१/५२ सालदेखि जुन नेतृत्व नेपाली कांग्रेसले देशलाई दियो, आज ८० साल लाग्दैगर्दा पनि त्यही छ। ३० वर्षपछि पनि कांग्रेसले देशलाई नयाँ नेतृत्व दिन नसक्ने हो त? हाम्रासामु यस्ता कैयौँ प्रश्नहरू तेर्सिएका छन्। देशले नयाँ नेतृत्व खोजेको छ। त्यसैले यो जिम्मा म लिन्छु भनेको हुँ। म काम गरेर मतदातालाई खुसी बनाउँछु भनेको हुँ। मलाई आशा छ, हाम्रो पार्टीको नेतृत्वले यो कुरा बुझ्छ।

मैले अघिल्लोपटक संसदीय दलको नेतामा प्रकाशमान सिंहलाई मत दिएको थिएँ। त्यो बेला म उहाँभन्दा फरक गुटमा थिएँ। २०७४ सालमै कांग्रेसलाई देशले नयाँ तरिकाले जाऊ भनिसकेको थियो तर हामीले त्यसलाई स्वीकार गरेनौँ। मेरो पहिलो अपेक्षा मेरो सभापति, वरिष्ठ नेताले बुझ्नुहुन्छ भन्ने हो। दोस्रो अपेक्षा निर्वाचित भएर आएका सांसदहरूसँग गरेको छु। निर्वाचित भएर आएका सांसदले पनि त आफ्ना मतदातासँग कुरा गर्नुभएको होला। मतदाताले उहाँहरूलाई केही नयाँ गर भन्नु नै भएको होला। मैले उहाँहरूसँग प्रधानमन्त्री बन्न मत माग्ने हो। म संसदीय दलको नेता भएपछि गठबन्धनलाई पनि मिलाउँछु, अरू पार्टीलाई पनि मिलाउँछु। नेपाललाई बहुमतको सरकार दिन्छु, कांग्रेसले टिकाउने बहुमतको सरकार बनाउँछु भन्ने आफ्नो अजेन्डा लिएर जान्छु। मलाई मत नदिए जसलाई मत दिने हो, किन मत दिएको भनेर आफ्नो मतदातालाई त उत्तर दिनुपर्ला नि। त्यो प्रश्न त आउँछ आउँछ, त्यो प्रश्न त सोधिन्छ सोधिन्छ। 

तपाईंको आफ्नै पार्टी तपाईंलाई प्रधानमन्त्री बनाउन तयार छ जस्तो लाग्छ? 
म कांग्रेसलाई तयार बनाउने कोशिश गर्छु। यो काम सहज छैन, तर म यो लडाइँ जित्छु भन्नेमा म आशावादी छु। निर्वाचन लड्दैगर्दा गठबन्धन भनेर गयौँ, अंकगणितका हिसाबले गठबन्धनका उम्मेदवार हजारौँ भोटले माथि थिए। तर, प्रत्येक साथीले निर्वाचनको बेलामा संघर्ष गर्नुपर्‍यो। निर्वाचनका बेला नागरिकसँग भेट्नुभयो, संवाद गर्नुभयो। निर्वाचनमा जानुभन्दा अगाडि उहाँहरूले जुन मन लिएर जानुभएको थियो, निर्वाचित भएर आउँदा अर्को मन लिएर आउनुभएको छ। मैले उहाँहरूसँग निरन्तर कुरा गरिरहेको छु। अब उहाँहरूले गुट मात्र हेर्नुहुन्न। जबजब हामी देशको, देश विकासको कुरा गर्छौं त्यसमा गुट हेरेर बस्नुहुन्न। मेरो यो लडाइँ समग्र नेताहरूका लागि पनि सन्देश हो जसले यो क्षेत्रमा लामो समय संघर्ष गर्नुभयो तर, काम गर्ने अवसर पाउनु भएन। 

अहिले गठबन्धनभित्र, गठबन्धन बाहिर पनि सत्तासमीकरणका अभ्यास शुरू भएका छन्। तपाईंको प्रधानमन्त्रीमा दाबीले कांग्रेस नै सत्ताको नेतृत्व गर्नबाट वञ्चित हुने अवस्था पनि आउन सक्छ नि?  
मलाई त्यस्तो पटक्कै लाग्दैन। मलाई गठबन्धनका साथीहरूले साथ दिनुहुन्छ भन्ने लागेको छ। हिजोका दिनमा मैले उहाँहरूलाई गरेको सहयोग पनि उहाँहरूले भुल्नुहुन्न भन्ने लाग्छ। 

एकातिर माओवादी केन्द्रलाई गठबन्धनबाट अलग्याएर एमालेसहितको गठबन्धन बनाउने प्रयत्न पनि चलिरहेको छ भनिन्छ। अर्कोतर्फ बाह्य शक्तिहरू कुनै न कुनै रूपले तपाईंले भन्दै आउनुभएको ‘पूर्वप्रधानमन्त्रीहरूको क्लब’लाई नै दोहोर्‍याउन लागिरहेको भन्ने चर्चा पनि छ। तपाईंमाथि चुनौती धेरै छैनन् र? 

मलाई अप्ठ्यारो छ, मेरो लागि समय प्रतिकूल छ। तर, प्रतिकूलतासँग म डराएको छैन। संघर्ष गर्न तयार छु। मैले जे सोचिरहेको छु, मेरो पार्टीका सदस्यहरूले पनि सोचिरहनु भएको छ भन्ने लाग्छ। सत्तागठबन्धनमा रहेका साथीहरूलाई पनि मेरो अभियानबारे थाहा छ। उहाँहरूले पनि साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ। किनकि क्षति त सबैले बेहोरेका छौँ नि। डेढ वर्ष भयो होला यो सरकार गठन भएको। सातैवटा प्रदेशमा हाम्रो सरकार छ। के हामी अर्को पाँच वर्ष पनि हामी यही ढाँचामा काम गर्ने हो? 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, अब त हामीले सरकार बनाउन स्वतन्त्रहरू पनि मिलाउनुपर्ने छ। एउटा पार्टीको भागमा ६/७ वटा मन्त्री पर्ला, त्यहाँभित्र पनि गुट मिलाउनु पर्‍यो। पुरानो र नयाँ मिलाउनु पर्‍यो। सबै मिलाउने चक्करमा केन्द्रमा एउटालाई दिएपछि तल आलोपालो भनेर प्रदेशमा मिलाउन पर्‍यो। सरकार केका लागि भन्दा सरकारका लागि भन्ने हुने भो। यस्तो गर्दा हामी सिद्धिन्छौँ। मेरो मनमा यही कुराको डर छ। अरू नेताहरूमा पनि यस्तो डर पाएको छु। 

तपाईं कांग्रेसको संसदीय दलको नेता चयन हुनुभयो भने पनि त्यसरी नै सबैलाई मिलाएर, सबैको चित्त बुझाएर गठबन्धन सरकार बनाउने हो। त्यहाँ तपाईं अर्थात् व्यक्ति मात्र नयाँ हुनेवित्तिकै हिजोको भन्दा आमूल परिवर्तन के हुन्छ? 
हाम्रो पार्टीले निर्वाचनपूर्वको गठबन्धनमा जाने निर्णय गर्‍यो। मैले सिट भागबन्डा वा बाँडफाँट नगरौँ भनेको थिएँ। पाँच वर्षका लागि सरकार मागौँ भनेको थिएँ। पाँच वर्षका लागि हाम्रो नेतृत्वमा गठबन्धनको सरकार बनेपछि हामी के गर्छाै भन्ने कुरामा छलफल गरौँ भनेको थिएँ। कतिपय कुरामा मतभेद हुन्छ, त्यो मतभेदको विन्दुलाई पनि स्वीकार गरौँ भनेको थिएँ। १०/१५ दिन त्यसमै लागौँ भनेको थिएँ। तर, त्यहाँ यस्ता कुरै भएनन्। स्वास्थ्यका, शिक्षाका कुरा भएनन्। खालि सिट भागबण्डामै समय खर्चिनुपर्ने अवस्था आयो। मतदातासमक्ष लैजाने गठबन्धनको मुख्य अजेण्डा के हो भन्नेमा छलफल नै भएन। जनताका मुद्दामा केन्द्रित भएर अजेण्डा बनाएको भए हाम्रो मत अर्कै हुन्थ्यो। मेरो कुरा शुरूमा सुनुवाइ भयो, सानो समिति पनि बन्यो, तर त्यसमा पछि कसैको रुचि भएन। 

हाम्रो निर्वाचन प्रणालीको कारण हामीले जताबाट जोसँग मिले पनि मिलीजुली सरकार नै बनाउनुपर्छ। तर, मिलीजुली सरकार बनाउँदै गर्दा पनि त्यो सरकार प्रारम्भ गर्ने ठाउँ हुन्छ। त्यो सरकार के को लागि आएको हो, हामीले गर्न खोजेको कामहरू के के हो, हाम्रो प्राथमिकताहरू के के हुन्, हामी काम कसरी गर्छाैँ भन्ने कुरामा एकपटक पनि छलफल नगरीकन त्यसमा कुनै समझदारी नगरीकन सिधा शक्तिको बाँडफाँटमा मात्रै लाग्छौँ। अनि आलोपालो वा त्यस्ता कुरा दुई जना बसेर गोप्य कोठामा सहमति गर्छौं। यो ‘प्रि–इलेक्सन अलायन्स’को कल्चर पनि होइन, ‘पोस्ट इलेक्सन अलायन्स’को कल्चर पनि होइन। 

नेकपाको सरकार हुँदा केपी ओली र प्रचण्डबीच आलोपालोको कुरा बिग्रेको गोप्य सहमति गरेकाले होइन? संविधान बन्दा सुशील कोइराला र केपी ओलीबीच बिग्रेको आलोपालोबारे गोप्य सहमति गरेकाले होइन? जब अलायन्सबाट सरकार बनाइन्छ, चलाइन्छ, कुनै पनि कुरा गोप्य हुनुहुँदैन। सबै कुरा खुला र पारदर्शी हुनुपर्छ। यो कुरा दुई जना नेताबीचको प्राइभेट बिजनेस जस्तो हुनुहुँदैन। सबै कुरा पारदर्शी हुनुपर्‍यो, एकापसमा विश्वास हुनुपर्‍यो र एउटा लक्ष्य हुनुपर्‍यो। त्यो केका लागि भन्ने निश्चित हुनुपर्‍यो। 

अहिलेसम्म यस्तो कुरामा कसैले ध्यान दिएको छैन। गोप्य सम्झौता गरिन्छ, आलोपालो सरकार चलाउने भनिन्छ। त्यसो गर्दा विश्वास रहन्न। मैले मौका पाएँ भने सबै कुरा पारदर्शी बनाउँछु। उच्चस्तरीय विश्वसनीयता निर्माण गर्छु। के को लागि भनेर स्पष्ट गर्छु। सबै विषयमा भिन्नाभिन्नै काम गर्छु। स्रोतको त्यसैगरी परिचालन गर्छु। कानुन बदल्ने बेला कानुन बदल्छु। पारदर्शी रूपमा काम गर्‍यो भने सरकारले रिजल्ट राम्रो दिन्छ। 

अहिलेसम्म नभएको काम तपाईंले पनि गठबन्धनकै सरकारमा रहेर गर्न सक्नुहुन्छ त? 
मैले छोटो समय मन्त्रालय चलाएँ। त्यसको पनि अनुभवका आधारमा मलाई के लाग्छ भने सरकार चलाउन तीनवटा कुरा थाहा हुनुपर्छ– मसँग समय एकदमै सीमित छ, मसँग शक्ति एकदमै सीमित छ र मसँग स्रोत एकदम सीमित छ। तर, सरकार चलाउनेले यसमा ध्यान दिएको देखिन्न। सीमित शक्तिको प्रयोग कसरी गर्ने? प्रधानमन्त्री सर्वशक्तिमान् हो भनेर कहिले अदालत चलाउन पुग्छ। कहिले ऊ संवैधानिक निकाय र जताततै चलाउन पुग्छ। आफूले गर्नुपर्ने काम गर्दैन। आफ्नो संवैधानिक अधिकारभन्दा बाहिर गएर काम गर्न खोज्छ। घोषणापत्र लेख्दैगर्दा नसोचे हुन्छ तर, सरकार चलाउँदा त सोच्नुपर्‍यो नि। त्यसकारण यी तीन कुरा मनन गरेर, सन्तुलन मिलाएर काम गर्नुपर्छ भन्ने मैले बुझेको छु। यो सिस्टमबाटै डेलीभर गर्न सकिन्छ। रिफर्म ल्याउन सकिन्छ। 

सिस्टम परिवर्तन गर्न, त्यसलाई डेलीभर गर्न सक्ने बनाउन सत्तामै जानुपर्छ कि प्रतिपक्षमा रहेर पनि त्यो काम गर्न सकिन्छ? 
प्रतिपक्षमा बसेर पनि काम गर्न सकिन्छ। तर, प्रतिपक्षमा बस्दाको सीमा हुन्छ। जति सीमा छ त्यति नै गर्न सकिन्छ। प्रतिपक्षमा बसेर सरकारको कामको जाँच गर्न सकिन्छ। सरकारको आलोचना गर्न सकिन्छ। सरकारलाई सच्याउन सकिन्छ। तर, अग्रसरता लिएर काम गर्न सकिन्न। हस्तक्षेप गर्ने अधिकार पनि हुन्न। अथोरिटी लिएर काम गर्दा दिगो पनि हुन्छ। सरकारसँग स्रोत, साधन हुन्छ। त्यसको उचित बाँडफाँट गर्ने क्षमता सरकारसँग हुन्छ। काम गर्न व्यवधान आउँदा कानून बदल्न सकिन्छ। फेरि हामी अमेरिका जस्तो प्रेसिडेन्सियल सिस्टम भएको देश पनि होइनौँ जहाँ राष्ट्रपति एउटा पार्टीको सिनेट अर्को पार्टीको हुने अवस्था रहन्छ।

यसपटक नयाँ पार्टी र अनुहार उदाएका छन्। यसको संकेत र भाषा बुझ्न सक्यौँ भने कांग्रेसका लागि, सबैका लागि एउटा अभूतपूर्व अवसर पनि बन्न सक्छ। के अर्थमा भने, ती मतदाता छन्, जसले नेपाली कांग्रेस पार्टीभित्र हामीले बदलाव ल्याउँछौँ भन्यौँ भने हामीलाई मत दिन्छन्। उनीहरूले अप्ठेरो ठाउँमा पनि मत दिएका छन्। उनीहरूलाई कांग्रेसलाई मत किन नहालेको भनेर सोध्यौँ भने चार पाँचवटा उत्तर आउँछन्। उनीहरूको नेतृत्वसँग गुनासो छ। केही हाम्रा निर्णयहरूसँग गुनासो छ। न कांग्रेसको इतिहाससँग गुनासो छ, न कांग्रेसको सिद्धान्तसँग। यति सानो विषयमा पनि हामीले उनीहरूसँग राम्रो संवाद गर्न सकेनौँ। अब हामीलाई मौका छ। हामीले स्थिर सरकार दिन सक्छौँ। सुशासन सक्छौँ। सरकार र जनताबीचको खाडल अन्त्य गर्न सक्छौँ। 

त्यसो भए राजनीति गर्ने तपाईंको पुस्ताको लागि ‘कट अफ डेट’ आइपुगेको हो? अब पाँच वर्ष कुर्न सकिँदैन भन्न खोज्नु भएको हो? 
अवश्य पनि हो। मेरो पुस्ताका लागि यो समय सर्वाधिक महत्त्वपूर्ण छ। प्रजातान्त्रिक मुलुकमा यो महत्त्वपूर्ण घडी हो। अब हाम्रो उमेरको पुस्ताबीच नै प्रतिस्पर्धा हुनुपर्छ।  शेरबहादुर देउवा, केपी ओली, झलनाथ खनाललाई ‘फस्ट’ नेता भन्छौँ।  हामी उहाँहरूभन्दा दोस्रो, तेस्रोमा पर्छौं। अब ५–१० वर्ष हाम्रो तहको नेताले राज्य सञ्चालनको जिम्मेवारी लिनुपर्छ। यसबाट नै नेपालको प्रजातन्त्रले राम्ररी फक्रने र फुल्ने मौका पाउँछ। नेपाली नागरिकले पनि नयाँपन पाउँछन्। हामीले केही नयाँ कुरा गर्नेछौँ। ८–१० वर्ष पछि हामीले पनि छोड्नुपर्छ। किनभने नयाँ पुस्ताको सोचले गति पाउनु पर्छ। तर, यो पटक हाम्रो वेगलाई रोक्न मिल्दैन। प्राविधिकरूपमै मिल्दैन। वेग रोक्न खोज्दा परिणाम के आउँछ सबैलाई थाहा छ। हाम्रो नेतृत्वले यो कुरा राम्ररी बुझ्न जरुरी छ। 

नेपालको लोकतान्त्रिक इतिहासमा आवधिक निर्वाचन भयो। सरकार पनि नयाँ बन्यो तर, नागरिकले नयाँपन भने महसुस नै गर्न पाएनन्। उही पुरातन शैलीमा बालुवाटारमा गठबन्धनको बैठक बसिराख्यो। हामीले ३० वर्षदेखि देखिरहेको पाँच जना नेतामात्रै हो। सरकार र प्रतिपक्षको बीचमा संवाद भयो भने पनि उहाँहरू नै। झगडा भयो भने पनि उहाँहरू नै। ‘फस्ट बेन्च’मा देखिने अनुहार बदलिएन भने जनतामा नैराश्य छाउँछ। आक्रोश, छटपटाहट हुन्छ। अब त्यो हुन दिनुहुन्न।

यसको अर्थ अब पहिलो पुस्ताले डेलीभर गर्न सक्दैन भन्ने तपाईको निष्कर्ष हो?
पहिलो पुस्ताप्रति मेरो अनादर होइन। यो पुस्ता ‘पोलिटिकल मुभमेन्टको च्याम्पियन’ हो। यो पुस्ताले खोसिएको प्रजातान्त्रिक अधिकारलाई स्थापित गरायो। अझ फराकिलो बनायो। आज हामी जति कराउँछौँ, उफ्रिन्छौँ, त्यो सबै उहाँहरूले बनाएको जग हो। हाम्रो सन्तान, दरसन्तानले यही कुराको लागि उहाँहरूलाई सम्झने हो। प्राप्त कुरा स्मरणीय रूपमा रहनेछ। किनकि त्यो पुस्ताले हामीलाई दिएको हो। तर, यही टेकोमा टेकर समुन्नतिको यात्रा गरिदिनुपर्छ भन्ने अपेक्षा हाम्रो पनि बढी हो। समय पनि हुन्छ नि, कति गर्ने? 

हाम्रो प्रतिस्पर्धा गर्भनेन्समा हुनुपर्छ। डेलिभरीमा हुनुपर्छ। एकले अर्कालाई गाली गरेर मात्रै बस्ने समय सकियो। हाम्रा अग्रजले नेपाललाई एउटा चरणमा पुर्‍याए। अब उनीहरूले बनाएको कानून या संविधानमा आधारित भएर हामीले काम गरेर देखाउनु पर्ने छ। त्यसमा हामीलाई हाम्रा अग्रजले विश्वास गर्नुपर्छ। 

एउटा व्यक्तिगत प्रश्न। नेपाली कांग्रेस धर्मनिरपेक्ष राज्यमा प्रतिबद्ध पार्टी, तपाईं त्यसको महामन्त्री। यो चुनावी अभियानभर तपाईं हरेक दिन निधारमा रातो अक्षताको टीका, कानमा फूल सिउरेर सार्वजनिक कार्यक्रममा देखिइरहनुभो। यसलाई तपाईंको व्यक्तिगत आस्थाका रूपमा मात्र लिने कि पार्टीको महामन्त्रीले दिन खोजेको कुनै सन्देशका रूपमा बुझ्ने?

यो मेरो नितान्त व्यक्तिगत विषय र रोजाइ हो। म सनातन धर्ममा विश्वास राख्छु। यसैमा मेरो आस्था छ। मेरो आफ्नो आस्थामाथि कसैले प्रश्न गर्ने कुरा नगरिदिए हुन्थ्यो भन्ने लाग्छ। म पहिला पनि यसरी नै हिँड्ने गर्थें। मेरो आमाले बिहान हिँड्ने बेला मलाई सधैँ नै भगवानको टीका लगाएर गइदिए हुन्थ्यो भन्ने सोच्नु हुन्थ्यो। अनि म पनि हुँदैन भन्न सक्दिनथेँ। बिस्तारै आमाले टीका लगाइरहँदा मलाई पनि एकखालको आनन्द अनुभव हुँदै ग यो। मनको आनन्द बेग्लै हुने रहेछ। मेरो आस्थाको अभिव्यक्ति पनि हो यो। 

यो म केमा विश्वास गर्छु भन्ने अभिव्यक्ति पनि हो। तर, यसो भनिरहँदा अर्को साथीले समान रूपमा आफ्नो आस्था अभिव्यक्त गर्ने कुरामा मैलै जस्तै गर्न पाउँछ, पाउनुपर्छ भन्नेमा म विश्वास गर्छु। आफूले आफ्नो धर्मको विश्वास र आस्था राख्दा अर्कोलाई प्रभाव पार्ने वा बदल्ने कोसिस गर्नुहुन्न भन्ने मान्यता राख्छु। आमा नहुँदा मलाई श्रीमती अञ्जनाले टिका लगाइदिने गर्छिन्। मलाई त्यसले खुसी महसुस गराउँछ। तर, नेपालको संविधानको विषयमा म प्रतिबद्ध छु। नेपालको संविधानले जे कुरा कल्पना गरेको छ, त्यो कुरामा मेरो राजनीतिक सहमति र सोही अनुरूपको प्रतिबद्धता छ। जसलाई मानेर म यहाँसम्म आएको हुँ। 


सम्बन्धित सामग्री