Thursday, April 25, 2024

-->

र्‍यालवाला भाइरल भिडियो र भाउजूद्वयले घटाएको कांग्रेसको भोट

मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई दुत्कारिरहेको थियो।

र्‍यालवाला भाइरल भिडियो र भाउजूद्वयले घटाएको कांग्रेसको भोट

दाङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तुफानी चुनावी यात्रा शुरू गरेका सभापति रवि लामिछाने कात्तिक २२ गते साँझ रौतहटको चन्द्रपुर (साबिक चन्द्रनिगाहपुर)मा भात खान रोकिँदा कांग्रेसीहरूको एउटा बथानै भेट्न आइपुगेको थियो। बथानमा चिनजानका पनि भएकाले मज्जैले बात मार्न थालियो। 

कांग्रेसका उम्मेदवार देवी तिमिल्सिनाको घरदैलोमा बिहानदेखि हिँडेर साँझ स्वतन्त्र पार्टीका सभापतिलाई भेट्न आएका उनीहरू समानुपातिकमा घण्टीमा ‘मोहर लगाउने’ टुंगोमा पुगिसकेको सुनिए। एकजना त रविको अवस्था बुझ्न चितवन–२ मा दुई दिन बसेर ‘अब कुनै माइकालालले हराउन सक्तैनन्’ भनेर ढुक्क भई फर्किएका रहेछन्। भोलिपल्ट चिनजानकै कांग्रेसी (क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, पालिका इकाईमा रहेका आदि) सँग सर्लाहीको हरिवनमा भेट हुँदा त्यही कोणबाट सोधपुछ गर्न थालियो। सबै ‘समानुपातिकमा घण्टी बजाउने’ भनिरहेका थिए। कारण, उही म्याडमद्वय राणा र खाँणलाई जिताउन किन रुखमा भोट दिने? पार्टीका शुभेच्छुक भनेका त यसै पनि ‘स्विङ भोटर्स’ हुन्छन् नै, यसपालि त पार्टीमा आबद्धहरू नै विद्रोह गर्ने मुडमा सुनिए।

"आफूलाई ‘टेकन फर ग्रान्टेड’ लिएकोमा कांग्रेसका परम्परागत मतदाता (शुभेच्छुक) मात्र होइन कार्यकर्ता तहमै विद्रोह देखियो", मार्टिन चौतारीका अनुसन्धाता लोकरञ्जन पराजुलीले चुनावपछि ट्विट गरेका छन्। कास्की–२ का मतदाता रहेका उनले पोखरामा जे देखियो त्यही ट्विट गरेका हुन्। रविलाई पछ्याउने क्रममा पूर्व–पश्चिम राजमार्गको बर्दिबासमा त डा. आरजु देउवा राणाभन्दा मञ्जु खाँणप्रति झन् आक्रोश कांग्रेसीजनमा देखिनु स्वाभाविकै थियो। 

स्थानीय चुनावमा प्रह्लाद क्षेत्रीले प्रदेश कांग्रेसबाट पाइसकेको बर्दिबास नगरपालिका मेयरको टिकट मञ्जुले खारेज गराई चिरञ्जीवी हमाललाई दिलाएकी थिइन्। त्यसविरुद्ध क्षेत्रीले बगावत गरेर आफूमात्रै उम्मेदवारी दिएनन्, उपमेयरसहित वडामा समेत प्यानल बनाएर ‘मञ्जांग्रेस’ विरुद्ध प्रतिस्पर्धामा उत्रिए। जिते पनि। रुख चुनाव चिह्न पाएर के गर्नु, ‘मञ्जाङ्ग्रेस’ का मेयर उम्मेदवारको जमानत जफत भयो। 

“म जितेर गएपछि गगन थापालाई संसदीय दलको नेताको प्रस्ताव गर्छु”, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ मा चुनावी अभियानको शुरूआतमै भने, “गगनलाई प्रधानमन्त्री बनाउन मलाई भोट दिनुस्।” शर्मा दिनदिनै यो कुरा भनिरहेका थिए, दिनमै दोहोर्‍याइरहे, तेहर्‍याइ रहे। गगनको जितमा उनले ‘जसलाई मैले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरे। 

चुनाव जिते कांग्रेस संसदीय दल नेतामा गगनको उम्मेदवारीको प्रस्तावक विश्वप्रकाश शर्मा हुने उनीहरूको द्विपक्षीय सहमति नै होला। दुवैले जितिसके, शर्मा प्रस्तावक हुने नै होलान्। तर, उनले चुनावअघि बारम्बार ‘गगनलाई प्रधानमन्त्री बनाउन मलाई भोट दिनुस्’ भन्नुको खास कारण चाहिँ झापा–१ मा एकाध घण्टा उनको घरदैलो अवलोकन गरेपछि बुझियो। झापा–१ का मतदातामा ‘विश्वप्रकाश मान्छे ठिक हो, यसपालि नजिताई हुन्न’ भन्ने थियो, लगालग दुई चोटि (दोस्रो संविधानसभा निर्वाचन २०७० र आमनिर्वाचन २०७४) हारिसकेका शर्माप्रति सहानुभूतिको उभार पनि थियो। सँगसँगै ‘यिनलाई जिताए उही शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हो, देउवाभन्दा त केपी ओली नै ठिक छन्, आफ्नै जिल्लाका पनि हुन्’ भन्ने भावना थियो। 

लुम्बिनीमा गत चैत ३० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा एउटा भिडियो भाइरल भएको थियो– कार्यक्रम चल्दै गर्दा निद्रामा उँघिरहेका प्रधानमन्त्री देउवा तालीको गडगडाहटले झल्याँस्स ब्युँझिन्छन्, मुखबाट चुहिरहेको र्‍याल हातले पुछ्दै ताली बजाउँछन्। सुदूरपश्चिमका मतदातामा के थियो कुन्नि, देशका धेरैतिर कांग्रेसलाई मत दिइआएका मतदातालाई त्यो दृश्यले झस्काइरहेको थियो। अरू पार्टीका समर्थकले टिकटकजस्ता माध्यमबाट त्यो भिडियो भाइरल बनाउन भरमग्दुर कसरत गरे। मानसपटलमा गढेको देउवाको उही र्‍याले तस्वीरले मतदाता बिच्किनेमा सायद शर्मा सशंकित थिए। त्यही टड्कारो तस्वीर धूमिल पार्न बारम्बार भन्न बाध्य थिए, “गगन थापालाई प्रधानमन्त्री बनाउन मलाई जिताउनुस्।”

समानुपातिकको मतगणनाअनुसार कांग्रेसको मत खस्किँदै छ। राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको आधाउधी भोट शुरूदेखि यो लेखुन्जेलसम्म आफूसँगै कायम राखेको छ। कांग्रेसलाई मत दिँदै आएकाका मतदाताको उल्लेख्य हिस्सा घण्टीतिर घिच्याउन राणा र खाँणको नाम यथेष्ट भइदियो। “समानुपातिक मतपत्रमा रुखमा छाप लगाइसकेपछि भाउजूको अनुहार सम्झिएँ, अनि पाँच ठाउँमा स्वस्तिक छाप ठोकेर मत बदर गराएँ”, रोहिणीले ट्विट गरेका छन्। यसरी नकारात्मकताको विम्ब बनाइएका थिए नेतृद्वय। 

भोट कटुवा भएर देखा परे अर्का पात्र, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत। चुनावकै मुखमा महामन्त्री थापाप्रति लक्षित ‘हाम्रो शेरबहादुर दाइ छँदाछँदै प्रधानमन्त्रीमा दाबी ठोक्ने तँ को होस्’ शैलीमा मिडियासमक्ष महत प्रस्तुत हुँदा मात्रै पनि कांग्रेसको समानुपातिक भोट घटेको हुनुपर्छ। सामाजिक सञ्जालमा डा. महतको उक्त वक्तव्यले भोट कटाएको टिप्पणी भइरहेको छ। 

शेरबहादुर देउवा, बालकृष्ण खाँड, प्रकाशशरण महत, डा. आरजु राणा, मञ्जु खाँड, ज्ञानेन्द्रबहादुर कार्की आदिको भिडमा धन्न महामन्त्रीद्वय थापा र शर्मा पनि भएकाले कांग्रेस शुभचिन्तक आशावादी सुनिए, र अहिले पाएको/पाइरहेको मत रुखमा परेको छ। नत्र, गठबन्धनका बाबजुद कांग्रेसको कन्तबिजोग हुनेवाला थियो।  

कांग्रेसका शुभचिन्तकले अत्यन्तै विवेकपूर्ण निर्णय गरेका छन्। तिनको पार्टीप्रति प्रेम महामन्त्रीद्वय थापा र शर्माका साथै प्रदीप पौडेलको जितमा छचल्किन्छ। जबकि, तीनैजना स्थानीय चुनावमा कांग्रेस एमालेभन्दा पछि परेको क्षेत्रमा चुनाव लड्दै थिए। बालकृष्ण खाँण हारे। धाँधली भएको आरोप लगाउँदै मतगणनै रोकाएका ज्ञानेन्द्रबहादुर कार्की हार्ने अनुमान गर्न सकिन्छ। देउवा दम्पती सम्झिएर मतदाता बिच्किने अवस्थामा ‘देउवाजस्ता नेताप्रति गर्व गर्नुपर्छ’ भन्दै केन्द्रीय समितिमा आलोचकहरूमाथि बम्किने ज्ञानेन्द्रहरूले जित्न सकस नै थियो। मतदाताले गगन थापालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नुहुन्छ कि हुन्न भनेर मतदाताले सोध्दा तनहुँ–१ मा शंकर भण्डारीले ‘म सकारात्मक छु’ भन्नुपरेको थियो। 

मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई एमाले, घण्टी आदि भनेर दुत्कारिरहेको थियो। सामाजिक सञ्जालको प्रयोगको मामिलामा पनि कांग्रेस सम्भवतः पछि नै पर्‍यो। 

राष्ट्रिय स्वतन्त्र पार्टीले 'डा. आरजु र श्रीमती खाँणलाई सांसद बनाउन मतदाताले किन कांग्रेसलाई भोट हाल्ने' भन्ने सन्देश दिने सामग्री फेसबुक र टिकटकमार्फत भाइरल बनाएको थियो। देउवाको मुखबाट र्‍याल चुहिएको भिडियोले मतदाता झन् बिच्किएका थिए। कांग्रेसले महिला नेतृत्वको आइकन बनाइएका महिला नेतृद्वयको कारण कति भोट घट्यो भन्ने अध्ययन नै गरे हुने हो। तर, अहिलेको नेतृत्वबाट यस्तो अपेक्षा गर्नु भनेकै यिनैबाट मुलुकमा सुशासन खोज्नुसरह हो। तैपनि महामन्त्रीद्वयले यस्तो अध्ययनको माग गरून्। यदि, ती कांग्रेसको महत्त्वपूर्ण पदाधिकारीमा नभइदिएको भए अरू कति भोट घट्थ्यो भनेर सर्भे गराए हुन्छ। लेखक केदार शर्माले चुनावपछि आजन्म रुखमा छाप लगाएका आफ्ना बाआमाले यिनै दुई नेतृका कारण कांग्रेसप्रति वितृष्णा जागेर ‘घण्टी बजाउन’ बाध्य भएको ट्विट गरेका छन्।    

एमालेले टिकटकको खुबै प्रयोग गर्‍यो। आममानिसमा पुग्न एकदम प्रभावकारी मानिएका यी सामाजिक सञ्जालको प्रयोगमा कांग्रेस पछि नै पर्‍यो। कांग्रेसका केही साइबर स्वाँठ ट्विटरतिरै ट्वारट्वार गर्दै रहे। सम्भावित मतदातालाई बिच्काउनमै व्यस्त रहे। ट्विटर आफैँमा पहुँचका हिसाबले सबैभन्दा कम प्रभावकारी प्लेटफर्म हो। युट्युब, फेसबुक र टिकटक एकदमै प्रभावकारी देखिएको नेपालमै भएका सर्भेहरूले पनि देखाएका छन्।

मतदाताले आशा मात्र होइन भरोसा पनि गरेका छन्, रवि लामिछानेमाथि। टेलिभिजन कार्यक्रममार्फत वैदेशिक रोजगारीमा ठगिएका हजारौँ हजार अनि अरू छिटपुट मिटरब्याज पीडितलाई न्याय दिलाउन अग्रसरता दिलाएबापत उनले विश्वास पाएका हुन्। तर, नेपालीका दुःख सकिएका छैनन्। कांग्रेस अधोगतिको सिलसिला पनि रोकिने छैन। वर्तमान गठबन्धनको यही नेतृत्वमा आगामी सरकार बन्ने सम्भावना टड्कारो छ। खुफिया जानकारी राख्ने भनिएकाहरूका अनुसार एक वर्ष शेरबहादुर देउवाकै नेतृत्वमा गठबन्धन सरकार चलाउने, तत्पश्चात् पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बन्नेछ। भारतको भरथेग यही गठबन्धनको निरन्तरतातर्फ छ भन्ने सुनिन्छ।

संसदीय दलको नेतामा चुनौती दिने देखेपछि महामन्त्री थापामाथि घेराबन्दी शुरू भैसकेको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग साँठगाँठ गरेर चुनाव हरायो’ भन्नेमा भीमसेन दास प्रधान, उमेश श्रेष्ठ जस्ता चुनाव हारेका मात्र छैनन्, चुनाव जितेका धनाढ्य विनोद चौधरीले धरी ‘हराउन खोजेको’ गुनासो पार्टी नेतृत्वसमक्ष गरेको गाइँगुइँ छ। तर, आफूले त्यस्तो कुनै गुनासो नगरेको भन्दै चौधरीले ट्विटरमार्फत आरोपको खण्डन गरेका छन्। तर, ट्विटरका भित्तामा यसैलाई लिएर आइतबार बिहानैदेखि व्यङ्ग्य/कटाक्ष जारी छ। ‘यदि गगन थापाले रवि लामिछानेसँग साँठगाँठ गरेर धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई जिताउन सक्छन्, घण्टी छापमा लाखौँलाख भोट गिरवाउन सक्छन् भने यत्रा शक्तिशाली थापालाई पार्टीको नेतृत्व नदिएर, रुखमा भोट हाल्ने मन बनाएर मतपत्र हातमा लिइसकेको मतदाता पनि नेताको अनुहार सम्झिन पुग्दा अन्यत्रै भोट जानसक्ने नेतृत्वलाई निरन्तरता किन दिने?

बालेन शाहको जित मेयरमा फगत जित मात्र थिएन, क्रान्ति नै थियो भन्ने पुष्टि हुँदैछ। शाह, हर्क साम्पाङ, गोपाल हमालहरूका लागि मतदाताले आफूले मत दिँदै आएको चुनाव चिन्हलाई क्रस गरे। एकचोटि पुलिस हिरासतमा पुगेपछि पटकपटक पुग्न डराउन्नन् भन्या जस्तै हो मत क्रस गर्ने कुरा पनि। एउटै पार्टीमा बफादार मतदाता एकचोटि क्रस गर्न निकै हिचकिचाउँछन्। कतिपयको छाती ढक्क हुनेगर्छ। एकचोटि क्रस गरेपछि कुरा खत्तम। 

बालेनका लागि रुख र सूर्य चिन्ह क्रस गरेका मतदाता अब फुक्काफाल भएका छन्। तिनैले यसपालि घण्टीमा मतदान गरे। अहिले त घण्ट बज्यो, ‘हम कभी नही सुधरेङ्गो’ भनिरहने हो भने मतदाताले टुउउउ शंख बजाउँदै ‘राम नाम सत्य हो’ भन्ने संकेत दिइसके। 

मत प्राप्त गर्न कुनै देशव्यापी संगठन ह्यानत्यान नचाहिने रहेछ। जनतामा आशा/भरोसा जगाउने जोकोहीले छोटै समयमा जनविश्वास जित्न सक्छ भन्ने प्रमाणित भैसक्यो। रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टी जनअपेक्षामा कामयाब हुन सकेन भने पनि यही तालमा रहे जनमत पुनः कांग्रेस, एमाले, माओवादी केन्द्रतिर नफर्किन सक्छ। भोलि अर्को ‘रवि लामिछाने’ अझ जनविश्वास जित्ने गरी आउनसक्छ। फेरि बालेन शाह त स्वतन्त्रै रहेर रिजर्भ फोर्सको रूपमा कायमै छन्।


सम्बन्धित सामग्री