Saturday, April 20, 2024

-->

रवि लामिछानेसँग अन्तर्वार्ता– ‘सरकारमा जान तयार छौँ, पहिले नेतृत्व कसको भन्ने टुंगो लागोस्’

हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ।

रवि लामिछानेसँग अन्तर्वार्ता– ‘सरकारमा जान तयार छौँ पहिले नेतृत्व कसको भन्ने टुंगो लागोस्’
तस्वीरहरू : अमित मचामसी/उकालो

पहिलो चुनावी प्रतिस्पर्धामै चमत्कारिक नतिजा हात पारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछाने चर्चामा छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी नै छ, तर रास्वपाले प्रतिनिधिसभामा कम्तिमा २० सदस्य पठाउने लगभग निश्चित जस्तो देखिन्छ। यो संख्या नयाँ सरकार गठनका लागि समेत निर्णायक हुने संख्या हो।

यहीकारण पनि रास्वपा सरकारमा जान्छ कि जाँदैन, जान्छ भने कसलाई (वर्तमान सत्ता गठबन्धन या विपक्षी गठबन्धनलाई) सघाउँछ भन्नेबारे चासो बढेको छ। यसपालिको निर्वाचनबाट पहिलो र दोस्रो दल हुने नेपाली कांग्रेस र नेकपा एमालेले स्वाभाविक रूपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने सक्रियता बढाउँदा रास्वपा पनि तरंगित हुन थालेको देखिन्छ। के रास्वपा अब बन्ने सरकारमा सहभागी हुन्छ? सहभागी हुन्छ भने उसले वर्तमान सत्ता गठबन्धन वा विपक्षी गठबन्धन कसलाई सघाउँछ? पहिलोपटक संसद्‍मा प्रवेश गर्दै गर्दा रास्वपाका प्राथमिकता के हुन्? रास्वपाका सभापति रवि लामिछानेसँग उकालोका लागि दिपा दाहालले शनिबार गरेको कुराकानीको सारसंक्षेपः

तपाईंको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको धेरै भएको छैन। छोटो समयमै पनि ठूलै सफलता पाउनुभो नि?
हामीले निर्वाचन हुनुअघि नै त्यस्तो काम गरेका थियौँ जुन काम एउटा राजनीतिज्ञले निर्वाचन जितेपछि गर्छ। त्यो भनेको नागरिकको सेवा हो। आमनागरिकको सेवामा हामी शुरूदेखि नै संलग्न भएकाले हामीलाई यो सफलता मिलेको हो। हामीले नागरिकका मुद्दा जसरी उठाएका थियौँ, चुनावका बेला आफूलाई चिनाउन भिन्नै परिचय दिनै परेन। हामी को हौँ भन्नेबारे आमनागरिकले पहिल्यै थाहा पाउनुभयो।

हाम्रा मुद्दा पनि जनतासामु नौला थिएनन्। त्यहीकारण उहाँहरूले विना शंका अनुमोदन गर्नुभयो। हो, समय निकै छोटो थियो। धेरै दलहरू चुनावी मैदानमा हुनुहुन्थ्यो। धेरै उम्मेदवारहरू चुनावमा होमिनु भएको थियो। प्रतिस्पर्धा कडा थियो। हामीले धेरै मतदातासँग गहन अन्तरक्रिया गर्न पाएनौँ। त्यसो गर्न पाएको भए अझैँ धेरै सफलता प्राप्त गर्ने थियौँ भन्ने लाग्छ। तर, जे जस्तो मत प्राप्त गरेका छौँ, त्यो हाम्रा लागि विशेष छ। यो मतको सम्मानमा हामी काम गरेर देखाउने छौँ।

यो मत तपाईंको पार्टीप्रतिको आशाभन्दा पनि पुराना दलहरूप्रतिको असन्तुष्टि र आक्रोशको मत हो पनि भन्ने गरिन्छ। तपाईं के भन्नुहुन्छ?
तपाईंले भने झैँ हामीले पाएको मत अलिकति ठूला दलहरूप्रतिको आक्रोश पनि हो। वितृष्णा पनि होला। तर, त्योभन्दा धेरै हामीप्रतिको आशा र भरोसा नै हो। आशा कति हो, आक्रोश कति हो, त्यो त म भन्न सक्दिनँ।

त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक शक्ति हो भन्न खोज्नुभएको हो?
हामी वैकल्पिक शक्ति नै हौँ। हामीले शुरूआतदेखि नै भिन्न काम गर्दै आएका छौँ। अब पनि अरू दलले गरिरहेको काम भन्दा हाम्रो फरक प्रस्तुति हुने छ। परम्परागत राजनीतिक दलहरूले जे गरिरहेका छन्, त्यो गर भनेर हामीलाई नागरिकले अनुमोदन गरेको होइन। अगाडि अरूले के-के गरे र उनीहरूलाई जनताले कसरी सम्बोधन गरे भन्ने एउटा समीक्षाको पाटो होला। तर, हामी भिन्नै रहने प्रयास गर्ने छौँ। हामीलाई मत दिनेलाई निरास बनाउने छैनौँ। आक्रोशित बन्ने अवस्था आउन दिने छैनौँ।

तपाईंहरूले प्रदेशसभामा उम्मेदवारी दिनुभएन, तपाईंले प्रदेशसभामा मत पनि दिनुभएन। संघीयताको विरोध पनि नगर्ने, समर्थन पनि नगर्ने खालको विरोधाभाष देखिन्छ। चुनावका बेला भोट तान्नलाई मात्र यसो गर्नुभएको हो कि संघीयताबारे तपाईंहरूको नीति नै यस्तै हो?
हामीले संघीयताको विरोध गरेको होइन। यसभित्रको प्रदेश संरचनाबारे प्रश्न उठाएको हो। प्रदेश संरचनाको व्यवस्था गर्दै गर्दा पनि कानूनहरू बनेका छैनन्। बनेका कानून कार्यान्वयन भएका छैनन्। बरु शक्तिको दुरुपयोग गर्ने माध्यम बनाइएको छ। प्रदेशलाई पार्टीहरूका नेता कार्यकर्ता व्यवस्थापन गर्ने माध्यम बनाइएको छ। पार्टीहरूले आफ्नो भारलाई राज्यको भारमा परिणत गरेका छन्। त्यसैले यो प्रवृत्तिलाई सुधारौँ भनेर हामी प्रदेशको चुनावमा सहभागी भएनौँ। उम्मेदवार उठाएनौँ। यो सबै हामीले सुधारका लागि भनेको हो।

यो प्रवृत्ति सुधार गर्नका लागि हामीले एउटा मोडेल अगाडि सारेका छौँ। त्यसमा बहस गरेर अघि बढ्न आवश्यक छ। अझै यसलाई काम लाग्ने बनाउन आवश्यक छ। प्रभावकारी बनाउन जरुरी छ। यो व्यवस्था खर्चिलो छ। यसलाई कम लागतमा प्रभावकारी बनाउन सकिन्छ।  केही काम दोहोरिएका छन्, तिनलाई कम गर्न सकिन्छ।

यसलाई प्रभावकारी बनाउन हामीले मैदान खुला राखेका छौँ। नयाँ भए पनि राजनीतिक दलको एउटा जिम्मेवारी हुन्छ। सुधारका सम्भावना हरेक ठाउँमा हुन्छन्। सुधारका सम्भावनाको कुरा गर्दा आशंका गर्नुपर्दैन। हामी व्यवस्थाभित्रै अवस्था परिवर्तनका लागि आएका हौँ।

जितपछि तपाईंको पार्टी सरकारमा जान खुट्टा उठाइसकेको देखिन्छ। सरकारमा जाने तयारीमा लाग्नुभएको हो?
अब सरकारमा जाने या प्रतिपक्षमा रहने भन्ने विषयमा हाम्रा साथीहरूले सञ्चारमाध्यममा दिएका प्रतिक्रिया सरसर्ती हेर्दा आफ्नै किसिमको व्याख्या गर्न सकिएला। तर, मूल कुरा के हो भने देशमा अहिले प्रतिपक्ष छैन। हामीले चाहेको जिम्मेवार प्रतिपक्षको भूमिका हो। तपाईंले देखि हाल्नुभयो, चुनावको नतिजा आइसकेको छैन तालमेलको शुरुआत भइसकेको छ। राजनीति शक्ति आर्जन गर्नका लागि नै गरिन्छ। तर, आर्जन गरेको शक्ति आफ्ना लागि प्रयोग गर्ने कि जनताका लागि भन्ने महत्त्वपूर्ण हो।

त्यो शक्ति त जनताबाट लिइएको हो नि। किन लिइएको हो भने फेरि जनतालाई फिर्ता दिनका लागि हो। त्यो नभएपछि प्रतिपक्ष भएन। त्यसैले हाम्रो ध्यान प्रतिपक्षमै रहन्छ। तर, यसो भनिरहँदा एउटा जिम्मेवार दलले भोलि मुलुक अनिर्णयको बन्दी बन्ने अवस्थामा त्यसो गरिरहन सक्दैन। त्यो अर्थमा नयाँ टिम र नयाँ प्रतिबद्धतासहित केही सम्भावना भयो भने हेरौँला।

नयाँ टिम र प्रतिबद्धता भनेर मैले व्यक्तिको कुरा गरेको होइन, प्रवृत्तिको कुरा गरेको हो। तर, अहिले हाम्रो चाहना सरकारमा जाने होइन। यद्यपि कुनै पनि दल सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा राजनीतिमा सधैँ सम्भावनाभित्रको कुरा हो। त्यो स्वाभाविक रूपमा हुने ‘बाइ डिफल्ट’ जस्तै कुरा हो। तर, यही सत्ताको लुछाचुँडी, यही तालमेल, यही बेथिति, यही खेलमा सहभागी हुने इच्छा हामीलाई छैन।

भनेपछि अहिले नै तपाईंहरू सरकारमा जानुहुन्न?
अहिले बेढंगको सरकार चलिरहेको छ। यस्तो सरकारमा हामी सामेल हुन्नौँ। मैले भन्न खोजेको के हो भने पहिले सरकार कसको नेतृत्वमा बन्छ, हामी त्यो हेरिरहेका छौँ। अनि त्यो सरकारले कस्तो काम गर्ने प्रतिबद्धता व्यक्त गर्छ, त्यो पनि हेर्नेछौँ। अनि मात्र सरकारमा जाने निर्णय गर्नेछौँ।

भन्नुको अर्थ हामी सरकारमा जाँदा त्यो सरकारको नेतृत्व कस्तो हुन्छ, त्यसलाई ध्यानपूर्वक हेर्नुपर्छ। हामी यसमा सचेत छौँ। अबको सरकारमा जाँदा जनतालाई हामीले के भन्ने, त्यो कुरा महत्त्वपूर्ण हुन्छ। अहिलेसम्म भएका बेथितिबारे बोल्नुपर्ने छ। जनताले त देखाइसकेका छन् कि यो देशमा परिवर्तनको खाँचो छ। यसमा सत्ता साझेदार दलहरूको स्पष्ट अडान भएको खण्डमा हामी सरकारमा जाने छौँ। सरकारमा गएमा हामीलाई विकृतिविरुद्ध काम गर्न पनि सहज हुनेछ। 

सरकारमा तपाईंले भनेजस्तै नयाँ नेतृत्वका लागि कांग्रेसभित्र गगन थापालाई अघि सारिनुपर्छ भन्ने चर्चा चलिरहेको छ। त्यस्तै व्यक्ति हुँदा सहभागी हुन्छौँ भन्नुभएको हो?
त्यस्तो हामीले कहीँ भनेका छैनौँ। हामीले अहिले नै कसैलाई समर्थन गर्ने भनेका छैनौँ। कुनै पनि नेता अहिले संसदीय दलको नेताको रूपमा चिनिनु भएको छैन। संसदीय दलको नेतामा निर्वाचित भइनसकेको नेतालाई हामीले समर्थन गर्छौैं भन्नु व्यावहारिक पनि नहोला। समय आएपछि यसबारे बोल्छौँ। 

तपाईंलाई रास्वपामा सर्वाधिकार सम्पन्न सभापतिका रूपमा प्रस्तुत गरिएको देखिन्छ। एमालेमा केपी शर्मा ओली र माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तै शक्तिशाली बन्दै त हुनुहुन्न?
मलाई कसले सर्वमान्य बनायो मलाई थाहा छैन। हाम्रो पार्टीभित्र त्यस्तो प्रवृत्ति छैन। मलाई कसैले देवत्त्वकरण गर्न आवश्यक पनि छैन। यो कुनै कोणबाट कसैले गर्‍यो होला। तर, पार्टीभित्र यस्तो काम भएको छ जस्तो मलाई लाग्दैन। एउटा ‘पोलिटिक ट्रेन्ड’ त्यस्तो भएर पनि मलाई त्यसो गर्न खोजिएको होला। राजनीतिक दलमा अलिकति शक्ति हुनेबित्तिकै त्यसको पछि लाग्ने चलन छ। त्यसको प्रभाव कतै देखियो होला तर, म त्यसको विरोधी हुँ। मलाई विशेष मान्छे भनेर व्यवहार नगर्न म मेरा शुभचिन्तकलाई अनुरोध पनि गर्छु।

तपाईंले देख्नु पनि भयो, आज चितवनबाट काठमाडौं आउँदा म भीआइपी कक्षबाट आइनँ। अरू यात्रीसँगै बस चढेर आएँ। आगामी दिनमा पनि आम नागरिक झैँ यात्रा गर्नेछु। म आम नागरिककै रूपमा विशेष काम गर्छु। मलाई कसैले पनि विशेष व्यवहार गर्न जरुरी छैन। तर, समाजमा भएको यो चलन आजको भोलि हट्दैन। मलाई आशा छ त्यो चलन बिस्तारै हट्नेछ। म फेरि पनि सबैलाई अनुरोध गर्छु–मलाई सामान्य मानिससरह व्यवहार गरिदिनुहोला । म पार्टीमा पनि साथीहरूलाई त्यस्तो व्यवहार गर्न दिन्नँ र म माथि हुँ भन्ने भावना पनि देखाउन्नँ।

तपाईंले मत माग्दा भ्रष्टाचार, बेथितिमा खरो उत्रने वाचा गर्नुभएको थियो। प्रत्येक दिन विदेश गएका १० युवालाई स्वदेश फर्काउने घोषणा पनि गर्नुभएको थियो। डन्डीबियोको अन्तर्राष्ट्रियकरण गर्ने पनि भन्नुभयो। योभन्दा धरातलमा उभिएर तत्कालै गर्न सकिने र दीर्घकालमा गरिने कामका कुरा गर्न सकिन्न?
हाम्रो मूल मुद्दा नै भ्रष्टाचाररहित समाज कसरी बनाउने भन्ने हो। हामी त्यो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने छौँ। यसमा सबै नागरिकको साथ पाउने अपेक्षा पनि गरेका छौँ। हामीलाई नागरिकले भ्रष्टाचार अन्त्य गर भनेर जनमत दिएका हुन्। हामी यो जनमत भुल्ने छैनौँ। हामीले यो मुद्दालाई संसद्मा उठाने छौँ। सडकमा पनि उठाउने छौँ। अहिलेसम्म यो देशमा भएको बेतिथिको हिसाब नेपाली जनतालाई सुनाउनु छ। देखाउनु छ।

अब गठन हुने संसद्ले त्यो हिसाब आफ्नो थाप्लोमा लिने हो कि अन्त लगेर बिसाउने हो, त्यसको छिनोफानो गर्न हामीले हाम्रो आवाज बुलन्द बनाउने छौँ।

जहाँसम्म युवाको कुरा छ, मैले दिनदिनै विदेशमा गएका १० जना युवा फर्काउँछौँ भनेको होइन। सरकारमा रहँदा या हाम्रो सरकार बनाउँदा १०० दिनमा १०० जना क्षमतावान् युवालाई स्वदेश फिर्ता ल्याउँछौँ भनेको हो। त्यो हाम्रो देशका लागि अति आवश्यक कुरा हो। खाडीमा युवाको आँसु मैले राम्ररी देखेको छु। उहाँहरूको भावना मैले बुझेको छु। त्यति मात्र होइन, उहाँहरूले मलाई गरेको भरोसाबारे पनि जानकार छु।

हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। धैर्यसाथ बस्न म मेरा शुभचिन्तकलाई आग्रह पनि गर्छु। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ। 

तपाईं चुनावअघि नै नागरिकता विवादमा मुछिनु भयो। विदेशको नागरिकता स्विकार्दा र त्याग्दा पालना गर्नुपर्ने कानूनी प्रक्रिया पुरा गरेको देखिएन। कानूनको अनभिज्ञता क्षम्य हुँदैन नि, के भन्नुहुन्छ?
मैले यसबारे स्पष्ट जवाफ निर्वाचन आयोगलाई बुझाइसकेको छु। सम्मानित निर्वाचन आयोगले त्यसको छिनोफानो गर्नेछ। त्यो निर्णय अनुसार म चल्ने छु। कानुनी प्रक्रियालाई मैले सम्मान गर्नुपर्छ। मैले निर्वाचन आयोगले निष्पक्ष रूपमा यसको छिनोफानो गर्छ भन्ने भरोसा गरेको छु।

बजारमा स्वतन्त्र पार्टी कति पटक टुक्रिएला भन्ने अड्कलबाजी पनि हुन थालेको छ। यो पार्टीलाई एक बनाइराख्न सक्नुहुन्छ?
हाम्रो पार्टीका सबै साथीहरू आफैँमा क्षमतावान् हुनुहुन्छ। हामीबीच एकता छ। सहकार्य गरेर यो देशका ठूल्ठूला विकृतिविरुद्ध लड्न सामूहिक प्रतिबद्धता जनाएका छौँ। कुनै पनि बहानामा साथीहरू अलग हुनुहुन्छ भन्ने लाग्दैन। जनमतप्रति हामी सबैको उत्तिकै जिम्मेवारी र भूमिका रहन्छ।


तस्वीर: अमित मचामसी, भिडियो: किसन पाण्डे


सम्बन्धित सामग्री