Wednesday, April 24, 2024

-->

अन्तर्वार्ता
सरकार बनाउन स्वतन्त्र पार्टी र राप्रपाको साथ खोज्दैनौँ, प्रधानमन्त्रीमा देउवा निर्विकल्प: कांग्रेस प्रवक्ता

स्वतन्त्र पार्टीमा एउटा पात्र मात्रै नायक देखिएका छन्। अरू को–को छन्? कार्यकारी को हो? नीति, सिद्धान्त के हो? कुन जगमा उभिनु भएको छ? कतै उहाँहरू परिचालित त हुनुहुन्न? त्यसको कुनै स्पष्टता छैन।

सरकार बनाउन स्वतन्त्र पार्टी र राप्रपाको साथ खोज्दैनौँ प्रधानमन्त्रीमा देउवा निर्विकल्प कांग्रेस प्रवक्ता
तस्वीर: किसन पाण्डे/उकालो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। शुक्रवार बिहानसम्मको परिणामले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसले धेरै सिट जित्ने देखिएको छ। समानुपातिकतर्फको गणनामा भने प्रतिपक्षी नेकपा एमालेले अग्रता हासिल गरिरहेको छ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजामा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन बहुमत उन्मुख छ। 

मत परिणाम आउँदै गर्दा सम्भावित सत्ता समीकरणको जोडघटाउ पनि शुरू भएको छ। कांग्रेसबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापालगातय नेता पनि प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिइरहेका छन्। महामन्त्री थापाले चुनावअघि नै आफू प्रधानमन्त्रीको दौडमा रहेको बताएका थिए। आमनिर्वाचनको परिणाम, सरकार गठनको सम्भावित समीकरणलगायत विषयमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानीः

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम आइरहँदा कांग्रेस ठूलो पार्टी बन्ने देखिएको छ। हालसम्मको निर्वाचन परिणामलाई कसरी लिनु भएको छ?
यो परिणाम हाम्रो अपेक्षाअनुसार आएको छैन। नयाँ जन्म भएको पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फको मत लिएको छ। यसले एउटा भिन्दै सन्देश दिएको छ। यो मत नेपाली कांग्रेसलगायत मूलधारका पार्टीले खासगरी शहरी युवाको अपेक्षाअनुसार काम गर्न नसकेको सन्देश हो। युवामा अधैर्य, अर्थात् छिटोछिटो परिणाम आउनुपर्छ भन्ने भावना देखिएको छ। अहिलेको युग सामाजिक सञ्जालको हो। मोबाइलमै संसार देख्न सकिन्छ। संसारभरि काम छिटो–छिटो भइरहेको युवाले देखेका छन्। तर, नेपालमा त्यही रफ्तारमा किन काम हुन सक्दैन भन्ने प्रश्न जन्मिएको छ। त्यो स्वाभाविक पनि हो। यसमा कतै दल नै जिम्मेवार होइनन् भन्ने उनीहरूलाई परेको छ। 

सामाजिक सञ्जालका कारण पनि ‘देशमा केही भएन’ भन्ने युवालाई लागेको छ। यसपटक मत विभाजित हुनुमा त्यसको पनि प्रभाव छ। जबकि, कैयौँ युवाले मान्छे पनि नचिनेको अवस्थतामा मत हालेका छन्। कसको कस्तो विचार छ, कस्तो सिद्धान्त छ, कसरी काम हुन्छ भन्ने जानकारी नभए पनि जिताएका छन्। यद्यपि, यो चुनावी परिणामलाई हामीले गम्भीरताका साथ लिएका छौँ। पुराना दलहरूको कमिकमजोरीको समीक्षा हुन आवश्यक छ। हामीले आफूलाई पनि सुधार गर्न जरूरी छ। युवाको भावनाको सम्मान गर्न जरूरी छ।

कांग्रेसले विगतमा भन्दा धेरै सिट जित्यो, यो परिणाम तपाईंहरूको लागि उपलब्धिमूलक होइन?
प्रत्यक्षमा राम्रो परिणाम आएको छ। तर, हाम्रो अपेक्षाभन्दा कम हो। हामीले ७० भन्दा बढी सिट ल्याउने अपेक्षा गरेका थियौं। पछिल्लो मत परिणाम केलाउँदा हामीले ६० मात्रै सिट जित्ने देखेका छौँ। समानुपातिकतर्फ मत घट्ने देखिएको छ। यस हिसाबमा हाम्रो समानुपातिक सिट पनि घट्ने छ। समानुपातिकामा कम मत पाउनुको एउटा मुख्य कारण हामीले अहिलेको भन्दा धेरै काम गर्न सक्थ्यौँ, गरेनौँ भन्ने हो। अब ‘त्यो काम गर’ भन्न खोजिएको हो। 

म फेरि पनि दोहोर्‍याउँछु, युवामा नकारात्मक प्रभाव परेको छ। शहरी क्षेत्रमा माओवादीको प्रभाव राम्रो नपरेको देखिएको छ। काठमाडौँमा कांग्रेसले एक ठाउँमा मात्रै सिट गुमायो। हामीसँग सहकार्य गरेको दल माओवादी र एकीकृत समाजवादीलाई काठमाडौँका मतदाताले पत्याएनन्। अर्थात्, समग्रमा गठबन्धनको पक्षमा जति सिट आउनु पथ्र्यो, आएन। त्यसमा हामीलाई दुःख लागेको छ। स्वाभाविक रूपमा सिट बाँडफाँड  व्यवहारिक भएन। हाम्रो मतभार हुँदाहुँदै पनि सहयोगी दललाई सिट दिएका  थियौँ। तर, हाम्रा मतदाताले हाम्रो सहयोगी दललाई स्वीकार गर्नु भएन। 

समानुपातिकतर्फ कांग्रेस दोस्रो दल बन्ने शुरूआती रुझानले देखाएको छ। किन कांग्रेस पछि पर्‍यो?
त्यस्तो पनि होइन। शहरी क्षेत्रका युवाबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई बढी मत गयो। युवाले नयाँ पार्टीलाई मत दिएको कुरालाई हामीले खबरदारीको रूपमा लिएका छौँ। यसपटक मत धेरै दलमा विभाजित भयो। त्यसको असर हामीलाई पनि परेको हो। तर, हरेक चुनावमा मत विभाजित हुनु राम्रो होइन। यसले झन् कठिनाइ निम्ताउँछ। हामीले फराकिलो बहुमत पाएका हुन्थ्यौँ भने अबको पाँच वर्षमा अझै सशक्त भएर काम गर्ने थियौँ। युवाको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण भूमिका खेल्ने थियौँ। तर, वर्तमान गठबन्धनले झिनो भए पनि बहमुत ल्याएर सरकार बनाउँछ। 

प्रत्यक्षमा आकलनअनुसार सिट नजित्ने र समानुपातिकमा पनि घट्ने किन भयो?
यसपटक हाम्रा लागि थुप्रै चुनौती थिए। आफ्नो पक्षमा जित हासिल गर्न कुनै पनि दलले मिहिनेत गर्छ नै। हामीले पनि हाम्रोतर्फबाट सबैभन्दा धेरै काम गर्ने कोशिश गरेकै हो। तर, हाम्रा लागि नयाँ पार्टीहरू पनि प्रतिश्पर्धीका रूपमा आए। उनीहरूले विभिन्न माध्यमबाट युवा मतदाताको मन छुने कोशिश गरेका छन्। तर, त्यो दिगो हुन्न भन्ने लाग्छ। हामी मुलुकको प्रजातन्त्र बचाउन लागि परेका छौँ। हामीलाई संविधानको पिर छ। संविधानको संरक्षण हुनसकेमा मात्रै अन्य सामाजिक, आर्थिक र राजनीतिक सुधार गर्न सकिन्छ। 

समानुपातिकतर्फ कांग्रेसले कम मत ल्याउनुमा पार्टीको समानुपातिक सूचीमा रहेका अनुहारलाई पनि प्रमुख कारण मानिएको छ नी?
यो बलजफ्ती गरिएको प्रचार हो। हामीले ११० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा दिएका छौँ। सबै समूह मिलाएर दिएका हौँ। एक–दुई जना नातेदार परे भन्दैमा सबैलाई एकै रूपमा तुलना गर्न मिल्दैन। नाता पर्नेहरूले काम गर्न नसक्ने पनि होइन। उनीहरू क्षमतावान् भएरै पार्टीले छानेको हो। समानुपातिकमा कम मत आउनुमा गठबन्धन गरेकाले पनि हो। कतिपय स्थानमा हामीले आफ्ना उम्मेदवार बनाउन पाएनौँ। त्यसको पनि प्रभाव हो। 

तपाईं आफैँ प्रत्यक्षमा लड्न सक्नुहुन्थ्यो, किन समानुपातिक रोज्नुभयो?
हो, मैले चुनाव लडेको भए जित्थेँ। म नुवाकोटबाट लड्न चाहन्थेँ, तर आफ्नो क्षेत्रबाट लड्न पाइनँ। गठबन्धनका कारण जान नपाएको हुँ। अन्य क्षेत्रबाट पनि चुनाव लड्न प्रस्ताव आएको थियो, मैले चाहिनँ। समानुपातिकमा मेरो नाम हुँदा कसैलाई आपत्ति छैन।

अब बन्ने संसद्‍मा स्वतन्त्र पार्टी निर्णायक शक्ति हुनेजस्तो देखियो। ६ महिनाअघि बनेको दलले यति ठूलो सफलता हात पार्नुलाई कसरी हेर्नुहुन्छ?
युवाको नेतृत्वमा पार्टी बनेको छ, यो सकारात्मक कुरा हो। तर यो पार्टी र नेतृत्वप्रति भरोसा गर्ने ठाउँ छैन। हामीले लामो संघर्ष गरेपछि मात्रै कैयौँ उपलब्धी हासिल भएका छन्। तर, हामीले केही पनि गरेनौँ भनेर हामीलाई नै खत्तम देखाउँदै यो पार्टी अगाडि आउने कोशिश गर्दैछ। यो पार्टी कतै संविधानको खिलापमा त आएको होइन भन्ने हामीलाई शंका लागेको छ। 

स्थापित दलहरूसँग मात्रै असन्तुष्टि पोखेर कसरी राम्रो काम गर्न सकिन्छ? पार्टीमा एउटा पात्र मात्रै नायक देखिएका छन्। अरू को–को छन्? त्यो पार्टीको कार्यकारी को हो? उहाँहरूको नीति के हो? सिद्धान्त के हो? सिद्धान्तअनुसार काम गर्नुहुन्छ कि हुन्न? उहाँहरू कुन जगमा उभिनु भएको छ? कतै उहाँहरू परिचालित त हुनुहुन्न? ‘हामीले कार्यकर्ता पाल्न पर्दैन’ भन्ने अभिव्यक्ति दिइरहनु भएको छ, किन? मुलुकको वर्तमान अवस्थालाई स्वीकार गर्नुहुन्छ कि हुन्न? त्यसको कुनै स्पष्टता छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तालमेल देखिएको छ। के आधारमा यो तालमेल भइरहेको छ? आधार के हो? हामीले संघर्ष गरेर स्थापित अधिकार उहाँहरूले प्रयोग गर्नु भएको छ। 

सत्ता सञ्चालनमा भएको तपाईंहरूको कमजोरी र मौलाउँदै गएको भ्रष्टाचार विरुद्ध जनताको जवाफ होइन र स्वतन्त्र पार्टीको जित?
हामीले सत्ता सञ्चालनमा कुनै कमजोरी गरेका छौँ जस्तो लाग्दैन। जे जति कमजोरी भए, त्यो केपी ओली नेतृत्वको सरकारले गर्यो। उसको पालामा भ्रष्टाचार भए। उसैका पालामा जनता प्रताडित हुन पुगे। हामीले त ओली सरकारले भताभुङ्ग पारेको राज्य संयन्त्रलाई व्यवस्थित गर्ने कोशिश गरेका थियौँ। आगामी दिनमा पनि हामी जनताका हितसँग जोडिएका मुद्दाहरूमा काम गर्ने छौँ। जनतालाई निराश पार्ने छैनौँ। तर, युवा मतदाताले हाम्रो गल्ती भएझैँ हामीलाई दोष दिएर मत अर्कैलाई हाल्नुभयो।

सरकार निर्माणको साँचो अब स्वतन्त्र पार्टी र माओवादी केन्द्रको हातमा पुग्ने देखियो। कांग्रेसले सरकार निर्माणका लागि कसरी पहल गर्छ?
त्यस्तो हो जस्तो मलाई लाग्दैन। अबको सरकार कांग्रेसको नेतृत्वमा बन्छ। अहिलेकै गठबन्धनले निरन्तरता पाउँछ। सरकार निर्माणमा स्वतन्त्र पार्टीमा हामी भर पर्दैनौँ। न राष्ट्रिय प्रजातन्त्र पार्टीमा भनै भर पर्छौँ। तर, सरकार निर्माणमा सहभागी हुन हामीले औपचारिक आग्रह त सबैलाई गर्नुपर्ने हुन्छ। संसदमा आएका सबै दललाई हामीले सम्मान त गर्ने नै छौँ। नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्ने मामिलामा सम्झौता गर्दैन। 

एमालेसँग मिलेर सरकार बन्ने सम्भावना छ कि छैन?
त्यो सम्भावना छैन। अहिले गठबन्धनकै सरकार बन्छ। 

तपाईंहरू माओवादी केन्द्रको भर परिरहनुभएको छ। तर, सरकार गठनलाई लिएर एमालेले माओवादीसँग संवाद अघि बढाइसक्यो नि?
राजनीतिमा यो स्वाभाविक हो। हामीले पनि स्वाभाविक रूपमा लिएका छौँ। हामीले पनि हाम्रो मतपरिणाम अन्तिम अवस्थामा पुगेपछि सहकार्यका लागि दलहरूलाई आव्हान गर्ने छौं। 

कांग्रेस महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री बन्ने कुरा सार्वजनिक गर्नुभएको छ। त्यसमा अर्का महामन्त्रीले समर्थन जनाउनु भएको छ? के अबको प्रधानमन्त्री गगन थापा नै हो?
उहाँ (गगन थापा)ले आफू प्रधानमन्त्री बन्ने भनेर सार्वजनिक रूपमा दिएको अभिव्यक्ति पार्टीको आधिकारिक होइन। हालसम्म (पार्टीमा) कुनै पनि छलफल भएको छैन। एउटा सांसदले प्रधानमन्त्री बन्ने इच्छा देखाउनु नराम्रो होइन। तर कुनै पनि पदमा नियुक्तिका लागि निश्चित विधि र प्रक्रिया हुन्छ, जसमा सहभागी भएर मात्र पद प्राप्ति हुने हो। उहाँले प्रधानमन्त्रीका लागि संसदीय दलमा आफूलाई परीक्षण गर्न सक्नुहुन्छ। पास हुने वा नहुने भन्ने सांसदहरूको मतमा निर्धारण हुन्छ। त्यतिन्जेल हामीले धैर्य हुन जरूरी हुन्छ। जहाँसम्म हाम्रो समर्थनको कुरा छ, अबको प्रधानमन्त्री स्वाभाविक रूपमा शेरबहादुर देउवा हो। उहाँको विकल्प खोज्न सक्ने अवस्था छैन। उहाँले पार्टी निर्माण र मुलुकको हितका लागि जुन योगदान पुर्‍याउनु भएको छ, त्यो बिर्सन हुँदैन।


भिडियो


सम्बन्धित सामग्री