Thursday, April 25, 2024

-->

निर्वाचन र नतिजाका ५ सन्देश

नेपालको संविधान, यसका मूलभूत विशेषता, सरकारको संरचना आदिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण के हो? यसलाई उसले प्रस्ट पार्न बाँकी छ।

निर्वाचन र नतिजाका ५ सन्देश

संविधानसभाबाट संविधान जारी भएपछि देशले दोस्रोपटक संघीय संसद्को निर्वाचन सम्पन्न गरेको छ। निर्वाचन सम्पन्न भएर मतपरिणाम आउनेक्रम जारी छ। यसपालिको संघीय संसद् निर्वाचनले केही फरक रुझान देखाउँदै भिन्न सन्देशहरू पनि प्रवाह गरेको छ। आइरहेको चुनावी परिणामले देखाएका सङ्केत र सन्देशहरूलाई बुँदागत रुपमा चर्चा गरौँ।

१. शान्तिपूर्ण निर्वाचन र नेपाल: आवधिक निर्वाचन सबै कुरा होइन, तर लोकतन्त्रलाई जीवन्त राख्ने प्रमुख आधार भने हो। राज्यको नयाँ संरचना र लोकतान्त्रिक प्रणाली अन्तर्गत दोस्रो आमनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु र यसमा सहभागी राजनीतिक दल र उम्मेदवारले नतिजा स्वीकार गर्नु गौरव गर्न लायक कुरा हो। नेपाललाई मात्र हेर्दा यो कुनै ठूलो विषय नलाग्न सक्छ तर, शान्तिपूर्ण निर्वाचन र यसको नतिजाको आम स्वीकार्यता चानचुने कुरा होइन। संसारका अन्य मुलुकमा निर्वाचनका क्रममा हुने हिंसा र किचलोलाई हेर्ने हो भने नेपालको यो अनुभव रहरलाग्दो छ। यसले नेपालमा लोकतन्त्रको उज्ज्वल भविष्य सङ्केत गरेको छ।

२. मतदाताको विवेक: सर्वसाधारण जनताले मत खसाल्ने बेलामा विवेक पुर्‍याउँदैनन् र लोभ लालचमा परेर गलत उम्मेदवारलाई भोट दिन्छन् भन्ने 'थ्यौरी' यस पटकको निर्वाचनको नतिजाले फेरि गलत प्रमाणित गरेको छ। अहिलेसम्मको परिणाम हेर्दा ढुक्कसँग के भन्न सकिन्छ भने नेपालको मतदाता राजनीतिक रूपमा सचेत छ र उसले आफ्नो मतको शक्तिलाई राम्रोसँग बुझेको छ। निर्वाचनका क्रममा आम मानिसका टिप्पणी र उनीहरूका प्रतिक्रिया हेर्दा राजनीतिप्रति वितृष्णा त देखिन्थ्यो नै, तर सँगसँगै आम मानिसले देशका घटनाक्रम र राजनीतिक पार्टीको भूमिकालाई राम्रोसँग नियालेको पनि भान हुन्थ्यो। यो प्रवृत्ति निर्वाचनको परिणामबाट प्रस्ट भएको छ। मतदाता कसैका पेवा हुन्नन् र हुनु पनि हुँदैन भन्ने कुरा निर्वाचनले प्रस्ट पारिदिएको छ। त्यसैले आशा गरौँ, ‘मेरो प्रभाव क्षेत्र’, ‘मेरा मतदाता’ भनेर राजनीतिक दलहरूले औँला भाँचेर भोटको हिसाबकिताब गर्ने सामन्ती चलन अब अन्त्य हुनेछ।

३. दोस्रो पुस्ताको अन्त्य: निर्वाचनको प्रारम्भिक नतिजा हेर्दा ठूला दलमा रहेका शीर्ष नेताको टेको मानिने ‘दोस्रो पुस्ता’ले निकै ठूलो धक्का बेहोर्नेछ। दोस्रो पुस्ता पहिलोका तुलनामा नवीन र पृथक सोच बोकेको थिएन। यसको चरित्र अवसरवादी र भ्रष्ट थियो। यसले आफ्नो स्वार्थका लागि ‘शीर्ष’ नेतालाई भरथेग गर्थ्यो र उनीहरूका आडमा आफ्नो भ्रष्टाचारको साम्राज्य चलाउँथ्यो। दलाल र बिचौलियाका रूपमा क्रियाशील यस पुस्ताले नेपाली राजनीतिमा पुस्तान्तरणको चाहनालाई पनि शिथिल बनाएको थियो- दोस्रो पुस्ताका नेताका अनुहार हेरेर आम मानिस देशको भविष्यप्रति निराश थिए। यसपटकको निर्वाचनबाट दोस्रो पुस्ताको बोलवालामा ठेस लागेर पुस्तान्तरणको बहसले नयाँ कोण लिने आशा गर्न सकिन्छ।

४. स्वतन्त्र पार्टी र सांसद: पुराना राजनीतिक दलबाट वाक्क भएको ठूलो जनमानसले ‘स्वतन्त्र’ शब्दप्रति ठूलो अभिरुचि राखेको छ। त्यसैले, 'स्वतन्त्र पार्टी'बाट निर्वाचित प्रतिनिधिहरूले यसपटकको निर्वाचनलाई रोमाञ्चक बनाएका छन्। स्वतन्त्र पार्टीबाट चुनाव जितेका उम्मेदवारहरू क्षमता र जाँगरका हिसाबले पुराना र अन्य पार्टीका उम्मेदवारका तुलनामा उम्दा भएकाले पनि उनीहरू लोकप्रिय छन्। यस सन्दर्भमा दुई कुरा महत्त्वपूर्ण होलान्। पहिलो, स्वतन्त्र भनिएका निर्वाचित जनप्रतिनिधि पनि एउटा राजनीतिक पार्टीमा आबद्ध सदस्य नै हुन्। पार्टीको नाम स्वतन्त्र हो, तर सांसदहरूले त फेरि पनि निश्चित पार्टीलाई नै प्रतिनिधित्व गर्ने हुन्। त्यसैले, 'स्वतन्त्र पार्टी'का प्रतिनिधिले अब पार्टीको संरचना र प्रणाली पनि तय गर्नुपर्ने हुन्छ।

दोस्रो हो, पार्टीको वैचारिक धार। राष्ट्रिय स्वतन्त्र पार्टीले देश र प्रणालीका बारेमा स्पष्ट दृष्टिकोण बनाइसकेको छैन। देशको संविधान, यसका मूलभूत विशेषता, सरकारको संरचना आदिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण के हो? यसलाई प्रस्ट पार्न बाँकी छ। यो असजिलो काम उसले प्रशस्त बहस र छलफलबाट शुरू गर्नुपर्नेछ। स्वतन्त्र पार्टीका सांसदको भूमिकामा पार्टीको नीति र दृष्टिकोणले प्रभाव देखिने छ। त्यसैले, सक्षम स्वतन्त्र उम्मेदवारले चुनाव जितेको खुसीयाली मनाउँदै गर्दा उनीहरू वैचारिक रूपमा पनि प्रस्ट हुनुपर्ने आवश्यकतालाई बिर्सन मिल्दैन।

५. पुस्तान्तरणको अवरोध: निर्वाचनको प्रारम्भिक परिणामले धेरैलाई खुसी बनाएको छ। यो खुसीको केन्द्रमा पुस्तान्तरण होला कि भन्ने आशा छ। प्रधानमन्त्री र मन्त्री पदलाई आफ्नो नैसर्गिक अधिकार ठान्ने र आफूबाहेक अरू कसैलाई पनि योग्य नदेख्ने देउवा, ओली, नेपाल, प्रचण्ड अनि उनीहरूका आसेपासे अब राजनीतिबाट सदाका लागि बिदा गर्न पाए हुन्थ्यो भन्ने चाहना प्राय सबैमा छ। तर, यो त्यति सजिलो छैन। यसमा बृहत् स्वार्थ जोडिएका छन्। ती स्वार्थले कहिलेकाहीँ देशका सिमाना पनि पार गर्छन्। त्यसमाथि, माथि नाम लिएका मानिसहरू आफ्नो सम्पूर्ण समय सत्ता र पदका लागि अनेकन् तिकडममा पोख्त हुन्। यस पटक पनि उनीहरूको तिकडमबाजीको अन्त्य हुनेछैन, बरु निर्वाचनको पूर्ण नतिजा आउनासाथ नयाँ र थप परिष्कृत तिकडमको क्रम शुरू हुनेछ। यसका लागि सक्षम युवा पुस्ताले सशक्त प्रतिरोध गर्न र आफ्नो भूमिका दाबी गर्न आवश्यक छ। यसका लागि पार्टीका कोठे बैठकमा मात्र सीमित नभई आम जनतामा पनि जानुपर्ने हुनसक्छ। निर्वाचनले त्यो वातावरण र अवसर दिएको छ। अवसरहरू सधैँ फर्केर आउन्नन्।


सम्बन्धित सामग्री