Wednesday, April 17, 2024

-->

मतगणनामा धाँधली : न्याय खोज्दा नौ वर्षदेखि उत्तर पाइनँ

२०७० सालको संविधानसभा निर्वाचनमा ‘प्रचण्डलाई जिताउन’ मतगणनाका क्रममा भएको धाँधलीविरुद्ध नौ वर्षअघि सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा खारेजबारे मैले अझै जानकारी पाएको छैन।

मतगणनामा धाँधली  न्याय खोज्दा नौ वर्षदेखि उत्तर पाइनँ

म पहाडे मूलको भए पनि सिरहा बसेर राजनीति गरेँ। यहाँको माटोमा मेरो रगत पसिना बगेको छ। २०३५ सालदेखि सक्रिय भएर राजनीतिमा लागेँ। यहाँका जनताको सुखदुःखमा सधैँ साथमा रहेर काम गरेको छु।

सिरहाका जनताले पनि मलाई विश्वास गर्दै आएका छन्। जनताले विश्वास गरे पनि कहिलेकाहीँ षड्यन्त्रको सिकार भइँदोरहेछ। मेरो राजनीतिक जीवनमा नौ वर्षअघि त्यस्तै घटना भयो, जसमा मैले अहिलेसम्म न्याय पाउन सकेको छैन। 

२०७० सालको निर्वाचनमा म सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवार थिएँ। संविधानसभाका लागि त्यसबखत सिरहालाई पाँच वटा निर्वाचन क्षेत्रमा बाँडिएको थियो।

मेरै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्न आउनुभएको थियो। उहाँ काठमाडौँ–१० मा पनि उम्मेदवार हुनुहुन्थ्यो। २०६४ सालको संविधानसभा निर्वाचनमा त्यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको भए पनि जित्ने अनिश्चय भएको हुँदा दुई क्षेत्रबाट उम्मेदवार बन्नुभएको हुनसक्छ।

सिरहासँग उहाँको सम्बन्ध खास केही पनि थिएन। म यहींको रैथाने र जनताको हरेक सुखदुःखमा साथ दिएका कारण मेरो पक्षमा पहिलेदेखि नै माहोल थियो। 

मेरो चुनाव प्रचारप्रसारका लागि तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालदेखि पार्टीका शीर्ष नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल पनि मेरो क्षेत्रमा आउनुभयो। यो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूको नजरमा परेको थियो।

अवस्था यस्तो पनि हुँदो रहेछ, कहिलेकाँही जनताले मत दिएर पनि पराजित हुनु पर्दोरहेछ। मैले पनि त्यो नियति भोग्नुपर्यो।

प्रचण्डलाई जिताउने मतदानका  क्रममा विभिन्न बुथहरूमा फर्जिमत खसालेको पनि सुनियो। तर, त्यति गर्दा पनि मतगणनाका क्रममा मेरो अग्रता कायम रहेपछि षड्यन्त्र भयो। मतगणना चलिरहेको समयमा जिल्ला न्यायाधीश मतगणना स्थगित गएर बाहिरिए। उनलाई पहिलेदेखि तारान्तार फोन आइरहेको थियो। 

न्यायाधीश मतगणनास्थलबाट हिँडेसँगै षड्यन्त्र हुँदैछ भन्ने मेरो अनुमान थियो। प्रचण्डले हारे भने फेरि जंगल जान्छन् भन्ने हल्ला चलाइएको थियो। त्यसकारण, उनलाई जसरी पनि विजयी घोषणा गर्ने सल्लाह भएको एउटा बैठकमा भएछ। मेरो स्रोतले त्यसविरुद्ध तयारी गर्न खबर गरेको थियो।

त्यसपछि मैले पार्टी अध्यक्षलगायत उच्च नेतृत्वलाई जानकारी गराएँ। पहिला उठेर हिँडेका जिल्ला न्यायाधीश एक घण्टापछि आएर मतगणना स्थगित भएको घोषणा गरे। 

१८ घण्टापछि पुनः मतगणना शुुरू गरियो। के कारणले मतगणना स्थगित गरिएको थियो। फेरि किन शुरू गरियो केही भनिएन। तर, जब मतगणना शुरू गरियो, एमालेको राम्रो पकड भएका क्षेत्रमा अनेपेक्षित रूपमा बदर मत निकालियो। त्यसलाई षडयन्त्रका रूपमा लिएर हामीले मतगणना बहिस्कार गरेर हिंड्यौं। एकपक्षीय रुपमा प्रचण्डलाई विजयी भएको घोषणा गरियो। 

निर्वाचनमा धाँधली भएको विषयलाई लिएर मैले सर्वोच्च अदालतमा मुद्दा दायर गरेँ। अदालतमा मैले निर्वाचनका क्रममा मृत्यु भएका र विदेश गएका मानिसहरुको नाममा मतदान गरिएको प्रमाणसमेत पेश गरेको थिएँ। मेरो तर्फबाट ३० जना वकिल राखेको थिएँ। 

तर, २०७७ सालमा अदालतबाट मेरो मुद्दा खारेज गरियो। किन र के कारणले मुद्दा खारेज गरियो भन्ने जानकारी मलाई कसैले पनि दिएन। अदालतले समेत मुद्दा खारेज गरेको बारे मलाई जानकारी दिएको छैन। मेरा वकिलले पनि त्यसबारे केही भनेका छैनन्।


सम्बन्धित सामग्री