Friday, April 19, 2024

-->

ब्लग
कर्णालीः नेता फर्किँदैनन्, दुःख फर्कीफर्की आउँछ

मायादेवीका चार छोरा कामका लागि भारत गएका, अहिलेसम्म फर्किएनन्। उब्जाएको अन्नबालीले वर्षभरि खान पुग्दैन। दुःख त कति हो कति। नेता चुनाव जितेर फर्किँदैनन्, कसलाई सुनाउने हो र?

कर्णालीः नेता फर्किँदैनन् दुःख फर्कीफर्की आउँछ

राजनीतिक बिटमा कलम चलाउने पत्रकारलाई चुनावी रिपोर्टिङमा जस्तो ‘चार्म’ अरू केमा पो होला र! यसपालि काठमाडौँ मात्र होइन, देशै चुनावमय बनिरहँदा मलाई पनि यस्तै हुटहुटी जाग्यो। तर, यो हुटहुटी अरू बेलाभन्दा भिन्न थियो। आफ्नै पेशाका साथी, सहकर्मीहरू यो चुनावका  ‘हटस्पट’ छान्दै ठूला शहर, सुगम जिल्ला र तीव्र प्रतिस्पर्धा भइरहेका क्षेत्रको माहोल के छ भनेर म्यापिङ गर्न पुगिरहेका थिए।

‘हटस्पट’ छान्ने तौरतरिका पनि रोचक थिए। हेभिवेट नेताहरूबीच भिडन्त हुने क्षेत्र सबैजसोको रोजाइमा थिए। फिल्डबाट तिनै समाचार आइरहेका थिए। मलाई भने यसपालि सम्भवतः कसैको नजर नपुगेको हिमाली जिल्लाको चुनावी माहोल हेर्न मन थियो। एक भोट दिन त्यहाँका मतदाताले घण्टौँ होइन, उस्तै परे दुई–तीन दिन लगाएर गरेका संघर्ष नियाल्न मन थियो। मैले सम्पादकसँग जुम्ला गएर चुनावी रिपोर्टिङ गर्ने असाइनमेन्ट स्वीकृत गराएँ।

तर, जुम्ला पुग्न सहज थिएन। यात्राको तारतम्य मिलाउन जुम्ला–काठमाडौं ओहरदोहर गरिरहने एक मित्रलाई सम्पर्क गरेँ। “नेपालगन्जबाट जहाजमा आउनू। ज्यानै माया मार्ने हो भने चाहिँँ सडकबाट आउँँदा हुन्छ”, उनको यस्तो जवाफले मेरो मन चिसो भयो।

उनी त्यतिमा रोकिएका थिएनन्। “जहाजमा आउने भए समयमै टिकट लिनू। भनसुन नगरी टिकट पाइन्न। टिकट पाएपछि पनि ढुक्कले नबस्नू। एयरलान्सका कर्मचारीलाई आफूले टिकट लिएको भन्नेबारे जानकारी गराइरहनू।” 

त्यसपछि मैले नेपालगञ्जबाट जुम्ला जहाज उडाइरहेका एयरलाइन्सका कर्मचारीहरूलाई निरन्तर सम्पर्क गरेँ। उडान नै निश्चित नहुने भन्दै उनीहरूले टिकट ‘बुक’ गर्न मानेनन्। लामो जोडबलपछि समिट एयरलाइन्सका एक कर्मचारीले २४ गते नै नेपालगञ्ज आउन र सकेसम्म २५ मा नभए २६ मा जुम्ला उडाउने भरोसा दिलाए। 

कथा कालिकोटको
त्रिभुवन विमानस्थलमा थामी नसक्नुको भिड थियो। त्यही भिडमा नेपालगन्ज जान लागेका एक युवा हतास मुद्रामा फोनमा कुरा गरिरहेका थिए। “अब आत्तिनु पर्दैन। म आउँदैछु। तिमीहरूलाई काठमाडौं ल्याएर राख्छु”, उनी भन्दै थिए। उनको फोन संवादले मेरो ध्यान खिच्यो। तर, भिडभाड र समय अभावले उनीसँँग कुरा हुन पाएन। संयोगले उनी मेरै छेउको जहाजको सिटमा बस्न आइपुगे। 

उनको नाम सहदेव हमाल। वर्ष ३१। ठेगाना, कालिकोटको तिलागुफा–३ । गत असोज १९ गते उनको गाउँमा नचिताएको पहिरो गएको थियो। पहिरोमा परी चार जनाको मृत्यु हुँदा चार जना घाइते भएका थिए। १६ जनाको त अझैसम्म पनि नामोनिसान भेटिएको छैन। २७० परिवार विस्थापित भएछन्। हमालको पूरै परिवार बाढीपहिरोमा परेको रहेछ।

शुरूमा मैले देखेको उनको हतास अनुहारको कारण बल्ल खुल्यो। “परिवारको मात्रै उद्धार गर्न पाए आफूलाई भाग्यमानी ठान्ने थिएँ। घर, जायजेथा र जग्गाजमिन सोत्तर भइसक्यो,” पत्रकार भन्ने थाहा पाएपछि उनले पीडाको पोयो खुलाउन थाले।  उनी घरका जेठा छोरा थिए। दुई छाक गर्जो टार्न पनि मुश्किल भएपछि पाँच वर्षअघि पाँचै भाइलाई साथ लाएर भारत गएका रहेछन्। स्वास्थ्यले साथ नदिएपछि उनी गाउँ फर्किएका रहेछन्। गाउँमा काम नपाए पछि काठमाडौँ लागेछन्। 

कर्णालीमा कहाँँबाट रोजगारी मिलोस्! सरकारी तथ्यांकले भन्छ– मुलुकको कुल गार्हस्थ उत्पादनमा कर्णालीको योगदान सबैभन्दा न्यून ४ प्रतिशत मात्र छ। त्यसको सोझो अर्थ कर्णालीमा आर्थिक गतिविधि न्यून र रोजगारीका अवसर पनि सीमित छ। 

कालिकोट मानव विकास सूचकांकमा सबैभन्दा कमजोर पाँच जिल्लामध्येमा एक हो। नेपालीको औसत आयु करीब ७३ वर्ष पुगिसक्दा कालिकोटबासीको ६४ वर्ष मात्र छ। महिलाको विवाह औसत उमेर नै २० वर्ष मात्र छ। पर्याप्त स्वास्थ्य पूर्वाधार नहुँँदा ५० प्रतिशतभन्दा बढीले घरमै बच्चा जन्माउने गरेका छन्। अधिकांश विवाहित महिला कुपोषण, पाठेघर खस्ने जस्ता समस्याबाट ग्रस्त छन्। 

पहिरोले गाउँमा बस्नै नसक्ने बनाएपछि काठमाडौँको भाडाको एउटा कोठामा परिवारका ६ जना बस्ने योजना बनाएका रहेछन्। त्यसैका लागि उनी नेपालगन्ज हुँँदै कालिकोट हिँडेका थिए। 

बाढीपहिरो पीडितका लागि स्थानीय जनप्रतिनिधिले सुरक्षित बास र राहत मिलाएको खबर काठमाडौंमा सुनिए पनि यथार्थ त्योभन्दा फरक रहेछ। “जनप्रतिनिधि झूटो प्रचारप्रसार गर्न सिपालु छन्। मेरो परिवार आफन्तको शरणमा छ। आफन्त पनि दुई छाक खान दिएपछि पन्छिए रे। परिवार भोकै भएको सुन्दा मलाई के बितिरहेको होला?” बोल्दा बोल्दै उनी रोकिए। आँखा टिल्पिलाए। त्यहीबेला जहाज नेपालगन्ज ओर्लियो।

जहाजको टिकटमाथि ‘राजनीति’
नेपालगन्ज पुगेपछि समिट एयरबाट खबर आयो, ‘आज हाम्रो जहाज जुम्ला जाँदैन।’ टिकटबारे बुझ्न विमानस्थलस्थित कार्यालयमै पुगेँ। त्यहाँको दृश्य देखेर अवाक भएँँ। यात्रीको थामिनसक्नु भिड। मैले भेट्न खोजेका कर्मचारी यात्रुहरूले घेरिएका थिए। कोही यात्रु त ती कर्मचारीलाई कुटुलाझैँ गरी पाखुरा सुर्किरहेका थिए। “हाम्रो टिकटमा तपार्ईंले नेतालाई किन उडाएको? हामीलाई यहाँ किन अलपत्र पारेको?” यात्रु उनलाई प्रश्नैप्रश्न बर्साइरहेका थिए। 

कतिपय यात्रुको गन्तव्य मुगु, हुम्ला र कालिकोट पनि थियो। टिकट लिएर तीन दिनदेखि उड्न नपाएकाहरू पनि थिए। जुम्ला र हुम्ला पुग्नु पर्ने यात्रीको नेपालगन्ज बसाइ लम्बिरहेको थियो। होटल र खाना खर्चले उनीहरूमा तनाव थपिएको थियो । त्यही भिडमा थिए, सुर्खेतका प्रकाशबाबु ऐडी। 

उनलाई थुनछेक बहसका लागि हुम्ला पुग्नुपर्ने थियो। तर, ऐडी तीन दिनदेखि नेपालगन्जमा अलपत्र थिए। “हामी जान नपाउने हो भने समयमै भनिदिनु पर्ने हो। टिकट लिएर उड्न नपाउने, टिकट नलिएका नेता तत्कालै उड्न पाउने कस्तो सिस्टम हो मैले बुझ्न सकेको छैन,” उनले दुखेसो पोखे। 

मलाई पनि एयरलाइन्स्का कर्मचारीले ढाँटेका रहेछन्। त्यो दिन समिट एयरलान्सको जहाज चार्टड गरेर जुम्ला उडाइएको रहेछ। त्यही भएर मलाई कर्मचारीले ‘फ्लाइट छैन’ भनेका रहेछन्। जुम्ला जाने अरू यात्रु पनि थिए। हातमा टिकट भएर पनि उड्न पाएका थिएनन्। 

नेपालगन्ज पुगिसकेपछि जुम्ला जानका लागि प्रयास जारी राख्नु पर्छ भन्ने लाग्यो।  भिड छिचोल्दै एयरलाइन्सका कर्मचारीसामु पुगेर आफ्नो कुरा राखेँ। भिडका कारण अत्तालिएका उनले शुरूमा त मेरो कुरा सन्दैसुनेनन्। मैले अनुरोध गर्न छोडिनँ। लामो अनुरोधपछि ती कर्मचारीले भोलिपल्ट (२६ कात्तिक)को टिकट थमाए। तर, मैले जुम्लाबाट फर्कने टिकट पनि निश्चित गर्नु थियो। त्यसो नगरे अलपत्र पर्ने नियमित यात्रुहरूले मलाई सुझाइरहेका थिए। तर, ती कर्मचारीले शुरू फर्कने टिकट दिनै मानेका थिएनन्। अन्तिममा ती कर्मचारीले तीन दिनपछि भए मात्र फर्कने टिकट दिने भए। म बसाइ छोट्याएर तीन दिनमै फर्कनँ तयार भएँ। 

जुम्लातर्फको यात्रा एक दिन पर धकेलिँदा पश्चिमको आर्थिक नगरी नेपालगन्जका ‘राजनीतिक खेलाडी’द्धय धवलशमशेर राणा र मोहम्मद इस्तियाक राईबीचको प्रतिस्पर्धाको रिपोर्टिङ गर्ने अवसर मिल्यो। उनीहरू बाँके–२ का उम्मेदवार हुन्। यो निर्वाचन क्षेत्रका सबैजसो स्थानमा मतदाताको ‘मुड’ बुझ्ने प्रयास गरँे। मुस्लिम र हिन्दू समुदाय मिश्रित यो निर्वाचन क्षेत्रमा रिपोर्टिङ गर्दा फरक अनुभव बटुल्ने मौका पाएँ।

कात्तिक २७ गते निर्धारित समयमा नै विमानस्थल पुगेँ। तर, विमानस्थल अघिल्लो दिनभन्दा भद्रोगल थियो। तोकिएको समयभन्दा करिब एक घण्टापछि मात्रै लगेज जाँच शुरू भयो। त्यसपछि पनि उडानका लागि करिब एक घण्टा कुर्नुपर््यो। तर, उडान ढिलो हुनुको कारण बताउने त्यहाँँ कोही थिएनन्।

धिपधिप बलेका बत्ती
नेपालगन्जबाट उडेको आधा घण्टामा जहाज जुम्ला विमास्नथलमा अवतरण गर्यो। चिसो सिरेटोले हिमाली भूगोलको आभाष गरायो। “केही सातापछि हामी यहाँ आफ्नै आंगनमा हिँउ पन्छाउँदै काम गर्न बाध्य हुन्छौँ। चिसोका कारण कति बालबालिका र वृद्धवृद्धा कठ्याङग्रिएरै मर्छन्”, एक जनाले सुनाए। विमानस्थलबाट बाहिरिँदै गर्दा भेटिएका स्थानीयहरूमध्ये अधिकांशको हातखुट्टा, ओठमुख पट्पटी फुटेको देखेँ। 

सदरमुकाम खलंगामै विकासका पूर्वाधार अत्यन्त कमजोर पाएँ। बिजुली, सडक, खानेपानीको अभाव। भौतिक संरचनाको कमी, भएका सडक पनि कच्ची। लामो संघर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुले पनि जटिल किसिमका रोग र शल्यक्रियाका लागि नेपालगन्ज र काठमाडौँ धाउनुपर्ने बाध्यता। दुरसञ्चार सेवा पनि अनियमित। 

बिजुली भएका घर पनि अँध्यारा थिए। “बत्तीको पावर कम छ यतातिर,” मलाई सहयोग गरिरहेका एक स्थानीय सुनाउँदै थिए।

‘सदरमुकामै यस्तो समस्या!” मेरो आश्चर्य सुनेर स्थानीय ४४ वर्षीय प्रेम रोकाय झोक्किए। उनले भने, “के तपाईं जुम्लाको सदरमुकाम विकास भएको छ भनेर हेर्न आउनु भएको हो र?”

सदरमुकामका केही स्थानीयका गुनासा सुनेपछि जुम्लाका गाउँहरूसँगै कालिकोट र मुगु छिर्ने निधोमा पुगेँ।

जोखिमपूर्ण यात्रा
चिसो सिरेटो। कतै हिलाम्मे त कतै धुलाम्मे सडक। कहीँ नदिले काटेको, कतै पहिरोले पुरेको, कतै ढुंगैढुंगा, कतै हिलाम्य। पहरोको बाटो मोटरसाइकलपछाडि बसेर यात्रा गर्नुभन्दा हिँड्नै ठीकजस्तो। कयौँ घण्टा पैदल हिँड्नु पर्दा मोटरसाइकल नै ठीकजस्तो। केही गरी सुख थिएन। 

म जुम्लाका सबै गाउँपालिकामा पुग्न सफल भएँ। कालिकोटका केही गाउँपालिका पुगेँ। मुगुको सीमानासम्म पुगेँ।  तर, मोटरसाइकल बिग्रियो। बनाउने ठाउँ भेटिएन। त्यसमाथि रात परिसकेको थियो। त्यसैले मुगुको सदरमुकाम पुग्ने चाहाना पूरा भएन।

जहाँँ पुगियो, त्यहाँँका नागरिकको जीवन अनिश्चयको घेरामा कैद देखिन्थ्यो। शिक्षा, सडक, स्वास्थ्य, खाद्य, सबैकुराको अनिश्चितता। त्यसमाथि धनी र गरीबबीचको खाडल। जातीय छुवाछुत उस्तै। महिला र पुरूषबीच पनि चरम विभेद। देशको व्यवस्था बदलियो तर, कर्णालीका नागरिकको व्यथा फेरिएको थिएन। स्थानीयमा केन्द्रले नहेरेको भन्दा पनि कर्णालीबाट चुनेर पठाएका आफ्नै जनप्रतिनिधिले दुःख र पीडा बिर्सने गरेकोमा बढी चित्त दुखाइ रहेछ। 

नाग्मा–मुगु सडकको यात्रा गरिरहेका बेला सिञ्जा गाउँपालिकाका वडाध्यक्ष चढेको गाडीले पैदल हिँडिरहेका यात्रुलाई हिलो छ्याप्दै अघि बढ्यो। आफैँले चुनेको जनप्रतिनिधिको गाडीले अनुहारभरि हिलो छ्यापेपछि पैदल यात्रु हिमा गाउँपालिकाका–२ का ५५ वर्षीय कृष्ण उपाध्याय आक्रोशि भए। “ज्यानमारा बाटो छ। नदीले आधा भाग लगिसक्यो। माथिबाट पहिरो आइरहेको छ। गाउँ जोखिममा छ। यही बाटोमा कालो सिसाभित्र हाम्रा जनप्रतिनिधि सररर जान्छन्। उनलाई यो बाटो कस्तो भन्नेसमेत थाहा छैन”, गाडी पर पुगुन्जेल उपाध्याय बोलिरहेका थिए।

दुःख छ, सुनिदिने छैनन्
कर्णालीका गाउँमा पुगेर स्थानीयको दैनिकी नियाल्दा लाग्यो, उनीहरू यो देशको दोस्रो दर्जाका नागरिक हुन्। उनीहरूलाई अन्य ठाउँका नागरिकसरह बाँच्ने अधिकारसमेत छैन। 

गाउँँ चहार्ने क्रममा हामीहरू कालिकोटको कनकासुन्दरी गाउँपालिका–३ की ६१ वर्षीया मायादेवी कामीको घरमा बास बसेका थियौँ। अत्यधिक चिसो हुने भएकाले पहाड खोपर बनाइएको ढुंगामाटोको घर। घरमा चामल थिएन। हामीले केही खुवाउन पर्दैन भन्दाभन्दै पनि छिमेकीसँग पैँचो मागेर मकैको रोटी बनाइन्। 

श्रीमान् दमका रोगी भएकाले यो उमेरमा पनि उनले नै भातभान्सा गर्नुपर्ने बाध्यता रहेछ। मायादेवीको घरसम्म बाटो पुगेको थिएन। लाइन जोडेको भए पनि बिजुली नियमित रहेनछ। खानेपानी लिन पनि हरेक दिन कम्तीमा एक घन्टा उकालो र ओरोलो गर्नुपर्ने। चारजना छोरा सबै कामका लागि भारत गएका। चार वर्षमा एकपटक पनि फर्केर आएका रहेनछन्। तिनीहरूमध्ये एकजनाको त कुनै खोजखबर नै नभएको उनले सुनाइन्। 

वर्षभरि खान पुग्ने जमिनसमेत छैन मायादेवी र उनका श्रीमानसँँग। विगत केही वर्षयताको बेमौसमी वर्षाले केही महिनासम्म पुग्ने अन्नबाली पनि माटोमा मिसिन थालेको उनले गुनासो गरिन्। 

कुराकानी चलिरहँदा छिमेकी ५३ वर्षीया सरस्वती दमाई आइपुगिन्। उनको पाठेघरमा समस्या रहेछ। तर, उपचार कसले गरिदिओस्? “शहर झरेर औषधि गर्ने पैसा भएन। गाउँमा कोही उपचार गर्न आएन। अब यतिकै जाने भयो प्राण”, सरस्वतीले भनिन्। 

कर्णालीमा पर्यटन, हिमाली कृषि उपजको प्रशस्त सम्भावना छ। तर, त्यसतर्फ राज्यको ध्यान गएको छैन। जुम्लामा गाउँहरू पुग्दा स्याउका बगान सरोबरी थिए। स्थानीय किसान र व्यापारी अधिकांशको एउटै गुनासो थियो, बजार पाइएन। पछिल्ला केही वर्षयता बौसमी वर्षाले उनीहरूको चिन्ता थप बढाएको छ।  

चन्दननाथ नगरपालिकाको माथिल्लो भेगमा स्याउ खेती गरिरहेका रामकृष्ण बुडथापाले केही वर्षअघि स्याउ फार्म खोलेका रहेछन्। एक त उत्पादन घट्दै गएको र बजार भाउ पनि नपाएको गुनासो उनको थियो। “मैले समाजसेवा पनि गरेँ। राजनीति पनि गरेँ। तर जताबाट पनि आफ्नो स्वाभिमानमाथि प्रहार भएझैं लाग्यो। त्यसपछि स्याउ खेती गर्न थालेको यसमा पनि नोक्सान भइरहेको छ”, उनले भने। 

समिट एयरको फेरि ‘बदमासी’
असोज २८ गते नेपालगन्ज फर्किने टिकट थियो। निर्धारित समयमा जुम्ला विमानस्थल पुगेँ। तर, जुन कुराको मलाई डर थियो, त्यही भयो। विमानस्थल सुनसान थियो। गेटमा सुरक्षार्थ रहेका एक सैनिकले नेपालगञ्ज जहाज नजाने बताए। 

नेपालगन्ज जाने यात्रु थोरै भएको भन्दै समिट एयरले उडान नै रद्द गरेछ। बरु, काठमाडौँ जाने यात्रु धेरै भएकाले उतै उडान भर्ने निश्चित गरेछ। मलाई नेपालगञ्ज हुँदै सुर्खेत झर्नु थियो। समय मिले दैलेख पनि पुग्नु थियो। तर, समिट एयरको ‘बदमासी’ सम्झेर दुःख लाग्योे।

हतारहतार नेपालगन्जमा मलाई टिकट दिलाएका कर्मचारीलाई फोन गरेँ। सबै घटनाक्रमबारे बताएँ। उनले भने, “सरी म्याम, आज नेपालगन्ज फ्लाइट हुन सकेन।” अनि यसबारे मलाई पहिल्यै किन जानकारी नगराएको त? मैले उनलाई सोधेँ। उनले भने, “भुलिएछ।” 

त्यसपछि समिट एयरका जुम्लाका प्रतिनिधिलाई मैले सोधेँ, “भोलि तपाईंहरूको जहाज नेपालगन्ज जान्छ त?” 

उनले निश्चित नभएको बताए। पर्सिपल्ट पनि निश्चित छैन रे। अथवा, कहिले हुन्छ निश्चित छैन। 

जुम्लाबाट सुर्खेत बसमा यात्रा गर्दा कम्तीमा १५ घण्टा लाग्छ, त्यो पनि पहिरो गएमा रोकिन्छ। बसको यात्रा सम्भव देखिनँ। अब कति दिन जुम्ला बस्ने होला? 

मलाई सहयोग गरिरहेका स्थानीयले मेरो तनाव देखेर सोधे, “तपाईं सिधै काठमाडौं जाने हो त?”

उनको प्रश्नले म झस्किएँ। “तपाईं जाने हो भने म मिलाउँछु”, उनले भने। 

मैले टिकट मिलाउन अनुरोध गरे। उनले आफन्त कर्मचारीको माध्यमबाट पाइलटसँग कुरा गराए। म सिधै काठमाडौँ जाने भएँ।

जहाज उड्यो। पहाड र खोँचहरू नाघ्दै गएको जहाज बेस्सरी हल्लिरहेको थियो। कतिबेला काठमाडौँ पुगिएला भनेर मत अत्तालिइरहेको थियो।


सम्बन्धित सामग्री