Thursday, April 25, 2024

-->

अन्तर्वार्ता
सिटौला भन्छन्– वामपन्थी मतदाताले राजावादीलाई भोट हाल्ने परिस्थिति देख्दिनँ

म हारेको बेला यो क्षेत्र रित्तै थियो। जतिबेला म जितेको थिएँ, केन्द्रीय सरकारको नजर थियो क्षेत्रमा, विकासको योजना काफी आएको थियो। त्यहीकारणले मलाई मत दिन्छन् भन्ने विश्वास हो।

सिटौला भन्छन्– वामपन्थी मतदाताले राजावादीलाई भोट हाल्ने परिस्थिति देख्दिनँ

२०४८ सालको आमनिर्वाचनदेखि अनवरत उम्मेदवार बनिरहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विजय गच्छेदार, हृदयेश त्रिपाठी  सातौंचोटी प्रतिष्पर्धामा रहँदा कृष्णप्रसाद सिटौलाचाहिँ आठौं पटक चुनावी मैदानमा छन्। ०४८ सालको चुनावमा उनैलाई पराजित गरी प्रतिनिधिसभामा पुगेका एमालेका द्रोणाचार्य क्षेत्रीको निधनका कारण रिक्त स्थानका लागि भएको उपचुनावमा पुनः सिटौला नै उम्मेदवार भई एमालेका लिला उदासी खनालविरुद्ध जित निकालेका थिए। प्रतिस्पर्धा गरेका सातवटा चुनावमा एकचोटी हार्ने, एकचोटी जित्ने चक्र चलिरहेको छ। ०५१ को मध्यावधिमा एमालेका पुष्पराज पोखरेलसँग पराजित सिटौलाले ०५६ मा एमालेकै नारायणसिंह राजवंशीलाई हराए। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भए। ०७० मा राजेन्द्र लिङ्देनलाई पराजित गरेका उनी पछिल्लो चुनावमा उनै लिङदेनसँग पराजित भए। लिङदेन ०५६ सालदेखिनै सिटौलाको क्षेत्रमा उम्मेदवार भए पनि दोस्रो संविधानसभाको चुनावदेखि मात्र लिङदेन निकटतम् प्रतिस्पर्धी भएका थिए। झापा–३ बाट गठबन्धन उम्मेदवार कृष्णप्रसाद सिटौलासँग भद्रपुरमा उकालोका लागि सुजित महतले गरेको वार्ता।           

स्थानीय चुनावको आधारमा तपाईं उम्मेदवार भएको गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धन करिब १४ हजार मतले अघि हुँदाहुँदै कुन आशले चुनाव लड्नु भएको हो? कृष्ण सिटौलाले एकचोटी हारेपछि अर्कोचोटी जित्ने विगतका कारण यसपालि त जित्ने पालो हो भनेर जोखिम मोल्नु भएको त हैन?
शान्ति प्रक्रियामा नेतृत्वकारी भूमिका खेलेँ, संविधान लेखनमा पनि। अब संविधान जारी भएपछिको पहिलो चुनाव थियो, गत आमचुनाव। आफैंले गरेको त्यत्रो काम निश्कर्षमा पुगेपछि हुँदै गरेको चुनाव भएकाले वाम गठबन्धनमा राप्रपासमेत जोडिँदा पनि मैले जोखिम मोलेँ। गत आमचुनाव मेरो सैद्धान्तिक र वैचारिक लडाईं थियो। २०४६ र २०६२/६३ का दुवै जनआन्दोलनमा शहीद जन्माउने भूमी हो, यो क्षेत्र। २०४६ सालमा यो क्षेत्रमा शहीद भएको १३औँ दिनमा पञ्चायत गयो, बहुदल आयो। २०६३ साल वैशाख ६ गते यहाँ शहीद भएको हप्ता दिनमै राजा ज्ञानेन्द्रले आत्मसमर्पण गरे। यो क्षेत्रको आन्दोलनले मुलुककै आन्दोलनलाई उत्कर्षमा पुर्याउने गरेको छ। यो क्षेत्रले आधारशिलाको काम गरेको छ। २०४६ सालको जनआन्दोलनमा भूमिगत भएर काम गरेँ। २०६२/६३ मा त म १२ बुँदे समझदारीको डिजाइनदेखि केन्द्रीयस्तरमै रहेर काम गरेको थिएँ। क्रान्तिभूमी यो ठाउँबाट राजावादीलाई भोट हाल्नु भनेको क्षेत्रकै अपमान हो। गणतन्त्रको अपमान हो। सारा आन्दोलनको अपमान हो।   

सिद्धान्त र विचारलाई च्यूत गरेर राजनीति गर्नुको औचित्य छैन। राजावादीलाई भोट हाल्नु भनेको अनैतिकताको पराकाष्ठा हो। मेरो भनाइ पनि यही हो र मेरो पार्टीको पनि। विगतमा पनि राजावादीलाई भोट हाल्नु हुँदैन भनेर भन्दै आएको छु।  कांग्रेस यो क्षेत्रमा बलियो भएर आएको छ। अहिले २८ वटा वडामध्ये कांग्रेसले १७ वटामा जितेको छ। मेरो अडानका कारण कांग्रेस यो क्षेत्रमा बलियो छ। यसपालिको चुनाव मेरा लागि सिद्धान्तको लडाईंमात्र होइन, जित्नको लागि पनि हो। जित्छु भन्नेमा पूरा विश्वास छ। 

म एकबाजी हार्ने, अर्कोबाजी जित्ने हुनु संयोगमात्र हो। पाँच वर्षअघि हारेकाले यसपालि जित्छु भनेको होइन, खासगरी वामपन्थी मतदाताले राजावादीलाई भोट हाल्ने परिस्थिति देख्दिनँ। विगतमा एमालेले राजावादीलाई जिताएकै कारण आज एमालेले ठूलो क्षति बेहोर्न परेको छ। क्षेत्रमा कहिले नहारेको एमाले आज राप्रपाको पुच्छर बन्न पुगेको छ। ०४८ सालदेखि कुनै चुनाव नहारेको वडामा एमाले हार्नपुग्यो। र जित्यो, राप्रपाले। एमाले र अरु वामपन्थी धारवालाले यसपालि पनि  राजावादीलाई जिताएर गल्ती दाहोर्‍याउछन् भन्ने लाग्दैन। कार्यकर्ताभन्दा पनि यहाँ मतदाताको कुरा छ। मतदाता के चाहन्छन्? राजतन्त्र ब्युँताउन सम्भव छ? राजतन्त्र चाहिन्छ भन्ने विचार विकृत विचार हो, विसंगती हो। गणतान्त्रिक संविधान प्रयोग गरेर राजतन्त्रको वकालत गर्नु भनेको विकृति नभएर के हो? नागरिकलाई भुलभुलैयामा राख्ने तथा ढलेको दरबार र दरबारियाहरूको स्रोत लिएर सक्रियता बढाउनलाई मात्र हो भन्ने लाग्छ मलाई। मतदाताले कुरा बुझिसके।

संघीय संसद् भनेको राष्ट्रियस्तरको राजनीति गर्नुपर्ने थलो, कानून बनाउने थलो हो– तर हाम्रा सांसदहरू त एकदमै संसदीय क्षेत्र केन्द्रित हुँदै गए। कानून बनाउनेभन्दा पालिका, अझ वडा तहका झिनामसिना निर्माणमा प्राथमिकता दिन थाले। यसरी नै चल्ने/चलाउने हो त?
हो, संसद् कानून बनाउने ठाँउ हो। तर, मतदातालाई आफ्नो कुन प्रतिनिधिको के काम हो भन्ने मतलबै भएन। विदेशमा पढालिखा, अझ उतै जागिर खाइरहेकाधरी बाटाघाटाका खाल्डाखुल्डीका फोटा राखेर सांसदको खोजी गर्छन्। सांसदको जे जिम्मेवारी हो, त्यसैमा सीमित हुने हो भने त्यो सांसदको खैरियत छैन। म झापा जिल्लाको ‘ग्रास रुट’बाट काम गर्दै नेता बनेको हुँ। ०४८ सालमा कांग्रेस नील हुनेगरी हारेपछि झापामा कांग्रेसलाई नजिताई हुन्न भनेर नयाँ ढंगबाट काम शुरू गरेँ। केन्द्रीय राजनीतिमा सक्रिय भएपछि यो क्षेत्रमा मेरो उपस्थिति एकदमै न्यून रह्यो। किन आइदिएन भनेर कतिपय साथीहरू रुष्ट छन, अहिले। मुख्य समस्या नै यही हो। विश्वप्रकाश र म त निस्किन्छौं। अन्त त भन्न सकिन्न। जनताले सधैं विकल्प खोज्छ।

झापा–३ मा हजारौंहजार यस्ता मतदाता होलान, जसले सातचोटि तपाईंलाई भोट दिइसके। हजारौं मतदाता पहिलोचोटि मताधिकारयोग्य भएका युवा होलान्। सातचोटि तपाईंलाई भोट हालिसकेका मतदाताले आठौंचोटि पनि किन भोट दिने? अनि भर्खर मताधिकार पाएका युवाले तपाईंमा के देखेर भोट दिने?  
म हारेको बेला यो क्षेत्र रित्तै थियो। जतिबेला म जितेको थिएँ, केन्द्रीय सरकारको नजर थियो क्षेत्रमा, विकासको योजना काफी आएको थियो। त्यहीकारणले मलाई मत दिन्छन् भन्ने विश्वास हो। दोस्रो संविधानसभाको कार्यकालमा यो निर्वाचन क्षेत्रमा १० अर्बभन्दा बढीका आयोजना आएको थियो। म जितेको बेला यो क्षेत्रमा धेरै विकास भएको छ। जब–जब म हारेँ केन्द्रीय सरकारबाट कुनै योजना आएन, पछिल्लो पाँच वर्षमा १ करोडको पनि आएको छैन। कृष्ण सिटौला जित्दा केन्द्रको नजरमा यो क्षेत्र पर्‍यो, हार्दा झापा–३ केन्द्रको नजरमै छैन भन्ने मतदाताले बुझिसके। विकास निर्माणका लागि जनताले यसपटक फेरि मलाई भोट हाल्छन्। जनतालाई सेवा र सहयोगको दृष्टिकोणले पनि कांग्रेस पार्टी नै चाहिन्छ। राप्रपाको प्रभाव यसपालि १ प्रतिशत पनि छैन।

राष्ट्रिय राजनीतिमा तपाईंको भूमिका अहम् छ, स्वघोषित ‘किङमेकर’ पनि हुनुहुन्छ। यो चुनावपछि कसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ त ?
अहिले सत्तासीन गठबन्धन आउने वर्ष चल्नुपर्छ भन्ने मेरो मान्यता हो। गठबन्धन चुनाव जित्नका लागि मात्रै होइन, अगामी पाँच वर्ष स्थिर सरकार बनाउनका लागि पनि हो। 

सत्तारूढ गठबन्धनको बहुमत पुगे प्रधानमन्त्री प्रचण्ड बन्ने अडकलबाजी पनि छ, के लाग्छ? 
जो होला, कांग्रेस होला वा माओवादी होला। भोलिका दिनमा यो छलफलको विषय बन्ला। अब हामी देशलाई व्यवस्थितसँग अगाडि बढाउँछौं। हामी यो गठबन्धनलाई भत्किन दिन्नौं। देशलाई स्थिर सरकार दिन्छौं। विगतमा कम्युनिस्ट गठबन्धन भत्कियो, किनभने नचाहिँदो एकीकरण भयो एमाले र माओवादीको। हुनै नसक्ने, बढ्नै नसक्ने एकता थियो त्यो। हामी त्यस्तो गर्दैनौं।  अलगअलग पार्टी नै रहन्छौं, तर मिलेर जान्छौं। त्यसैले आगामी पाँच वर्ष सजिलै गठबन्धन अगाडि बढ्छ। कांग्रेस र माओवादीको आफ्नो–आफ्नो विचारधारा रहन्छ, पार्टी एक हुँदैन। नीति सिद्धान्त आफ्नो होला तर एकै पार्टी नभए पनि हामी मिलेर जान्छौं। 

अर्जुननरसिंह केसीले राष्ट्रिय पञ्चायत सदस्यमा जित्दा ताका जन्मिएका ऋषि सुनक बेलायतको प्रधानमन्त्री छन्, कृष्णप्रसाद सिटौला आफैँले समेत संघर्ष गरी ल्याएको बहुदलीय व्यवस्थामा २०४८ सालको चुनावताका जन्मिएका बालेन शाह काठमाडौं महानगरको मेयर भइसके। ८० नाघेका चित्रबहादुर केसी मैदानमै छन्। अब त अवकाश लिएको भए हुन्थ्यो नि, हैन र? थला नपरेसम्म अवकाश लिँदै नलिने, अवसर छाड्दै नछाड्ने प्रवृत्तिको सट्टा बेलैमा अवकाश लिने परिपाटी बसाउने बेला भएको छैन अझै?
यसमा दुईथरि मत छन। अनुभवसिद्ध नेताहरूको काम गराइ झनै उपयोगी हुन्छ। अनुभवसिद्धको क्षमताको मूल्यांकन हुनुपर्छ, नजरअन्दाज गर्न हुँदैन। उमेर भयो भन्दैमा मान्छे बूढो भयो भन्न मिल्दैन, राजनीतिमा। अनुभव आफैँमा एउटा देशका लागि चाहिने कुरा हो। युवासँग अनुभव कम हुन्छ। ज्ञान कम हुन्छ। उमेर भयो भन्दैमा अनुभव पनि हुन्छ भनेर भन्दिनँ। त्यो उसको सोचमा निर्भर गर्छ। अनुभव समाज र देशका लागि सम्पत्ति पनि हो। त्यो सम्पत्ति किन यतिकै खेर फाल्ने? तपाईंले सोधेका साथीहरूसँग कति अनुभव छ भन्ने कुरा म टिप्पणी गर्न चाहन्नँ।

गठबन्धन नगरिकन सरकारै बनाउन नसक्ने अवस्था सिर्जना भयो। गठबन्धन सरकारहरूले बेथिति, विकृति चौतर्फी बढाए। मिश्रित चुनाव प्रणालीकै कारण यस्तो बेथिति बढ्ने भएपछि त अन्ततः संविधानप्रति नागरिकको वितृष्णा जाग्ने भयो। फलतः संविधानको आयु पनि छोटिने भयो, होइन र? 
यो मिश्रित निर्वाचन प्रणालीमा हुने यस्तै हो। यो प्रणालीबाट एउटै पार्टीको पूर्ण बहुमत करिब–करिब असम्भव छ। संविधानको कार्यान्वयन नै भएन। राज्य सञ्चालक पनि कुशल भएनन्। यसैले मान्छे आजित छन्। अबको पाँच वर्षचाहिँ हामी संविधानको वास्तविक कार्यान्वयन गराउनतिर लाग्छौं। कार्यान्वयनका क्रममा केही बाधा अड्चन आउला तर हामी  परिमार्जित गर्दै अघि बढेको बढ्यै हुनेछौं। भारत स्वतन्त्र भएपछि एउटै कम्युनिस्ट पार्टी त थियो। त्यहाँ एकपछि अर्कोगरी  संविधान संशोधन हुँदै गयो। १० वर्षमै दर्जनौं संशोधन भएको छ। किनभने संविधान त विज्ञहरूले लेख्ने प्राविधिक टाइपको काम हुन्छ। अभ्यास गर्दै जाँदा अनेकन बाधा देखिन थाल्छ, संशोधन गर्न कञ्जुस्याईं गर्न हुँदैन्। हामीकहाँ संविधान आएपछि कार्यान्वयनका व्यवहारिक कठिनाइबारे छलफल भएकै छैन। संविधानको समिक्षा गर्न नचाहनु आफैमा ठूलो समस्या हो, यस्तो प्रवृत्तिले संविधानको आयुनै छोट्याउँ छ। आन्तरिक द्वन्द्व हुने डरले संविधानमा गम्भीर बहस गर्न चाहेका छैनन्। 

सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने मै हुँ। तपाईंले अघि किङमेकरको कुरा गर्नुभयो नि–ओलीकै समर्थनमा सुशील दाईलाई प्रधानमन्त्री बनाएको हो। पछि संविधान जारी भएपछि सुशिलदाले केपीलाई प्रधानमन्त्री बनाउने सहमति थियो। संविधान त जारी भयो निर्वाचन पनि भयो, तर संविधानको कार्यान्वयनको अरुचि देखाइँदा न संघीय व्यवस्थालाई बलियो पार्ने खाले कानून आयो, न शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने कुनै कानुन आयो। न परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्ने कुनै कानून नै आयो। राज्य सञ्चालकको अकुशलताका कारण संविधानप्रति किसानको गुनासो छ, श्रमिकको गुनासो छ, कर्मचारीहरूको गुनासो छ। गुनासोरहित मान्छे कोही पनि छैनन्। यसलाई चाहिँ तत्काल सम्बोधन गर्नुपर्छ भन्ने मेरो उहिल्यैदेखिको माग हो।

पाँच वर्षअघि वाम गठबन्धनले गरेजस्तो दिग्विजय त वाम–लोकतान्त्रिक गठबन्धनले यसै पनि गर्ने छाँट देखिएको थिएन, बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन् तपाईंहरूको हिसाबकिताब बिगारिदिने लक्षण छ। चुनावपछि माओवादी नै एमालेतिर बसाइँसराइ गर्छन् भन्ने अड्कलबाजी पनि चलिरहेकै छ। यो गठबन्धन रहिरहला कि भत्किएला त ?  
कम्युनिस्टहरूलाई लोकतान्त्रिक स्कुलमा लैजान नेतृत्व कांग्रेसले नै लिनुपर्छ। यिनीहरूलाई ‘अफ द ट्रयाक’ जान दिनुहुन्न। बिस्तारै लोकतान्त्रिक स्कुलिङमा रुपान्तरण गर्दै लैजानुपर्छ। यसैले देशमा कांग्रेसकै नेतृत्व अपरिहार्य छ। अभिभावकीय भूमिकामा कांग्रेस रहन्छ, रहनुपर्छ पनि। यही सूत्रमार्फत हामीले ०४६ सालको जनआन्दोलमा वाममोर्चासँग सहकार्य गर्‍यौं। यही सूत्रका आधारमा माओवादीलाई मूलधारको राजनीतिमा ल्याइछाड्यौं। बन्दुक बोक्ने पार्टीलाई राजनीतिमा ल्याउनु आश्चर्यको विषय भएन हामीलाई। देशलाई अझै नेतृत्व गर्ने हामीले नै हो। हामीले बोक्ने विचारधाराले नै हो, हाम्रो स्कुलिङले हो। तर, यी कम्युनिस्टहरूलाई साथ लिएर हिंड्नुपर्छ, ‘एकला चलो रे’ गर्ने अवस्था छैन। कुर्सीमा बसिसकेपछि छोड्नै नमान्ने मानसिकता कम्युनिस्टहरूमा काफी हुनेरहेछ। लोकतान्त्रिक मूल्य–विपरीत यस्तो प्रवृत्ति अमेरिकामा डोनल्ड ट्रम्प, भारतमा भारतमा इन्दिरा गान्धीले पनि देखाएका थिए। मस्त हसुर्ने बानी लागेपछि यदाकदा भोकै बस्नुपर्दा छट्पटाउँछन् नि– हो त्यस्तै हुन्छन् कम्युनिस्टहरू, कुर्सी छोड्नुपर्दा।

अन्त्यमा एउटा व्यक्तिगत प्रश्न, तपाईं तीन घण्टा मात्र सुतेर काम गर्नुहुन्छ भनेर सुनिन्छ नि बाहिर! साँच्चै हो?
साँच्चै हो। तर, अहिले त्यही बानीले गर्दा शरीर चैँ बिग्रिँदो रहेछ। कमजोर हुँदो रहेछ। अहिले ७३ वर्षको भएँׅ। ५–६ घण्टा चैँ सुत्नु पर्ने रहेछ राम्रो स्वास्थ्यको लागि, त्यो बल्ल बुझ्दैछु।


सम्बन्धित सामग्री