Wednesday, April 24, 2024

-->

अन्तर्वार्ता
विश्वप्रकाश भन्छन्– गगन थापा प्रधानमन्त्रीका लागि सुयोग्य भइसके

बेलायतले भख्खरै ४२ वर्षका प्रधानमन्त्री पाएको छ। अनि नेपालमा ५० वर्ष मुनिको नेताले प्रधानमन्त्रीमा दाबी गर्दा के अचम्म? गगनजीमा के योग्यता पुगेन, के क्षमता छैन? उहाँ प्रधानमन्त्रीलायक हो भनेको छु।

विश्वप्रकाश भन्छन्– गगन थापा प्रधानमन्त्रीका लागि सुयोग्य भइसके

आफू उपविजेता भई विजेतालाई आफ्नै घरमा उनेका माला लगाइदिने मामिलामा चर्चित छन् विश्वप्रकाश शर्मा। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालालाई माला लगाइदिएका शर्माले २०७४ सालको निर्वाचनमा चाहिँ वाम गठबन्धनका राम कार्कीलाई विजयी माला पहिर्‍याइदिनु परेको थियो। यसपालि पनि झापा–१ मा उम्मेदवार बनेका कांग्रेस महामन्त्री शर्मा मेची नगरपालिका–७ मा घरदैलोका क्रममा भेटिँदा उकालोले गरेको कुराकानी।

यसपालि पनि घरमा माला उन्नपर्ने त हैन?
यसपालि त लाइदिने होइन विजयी माला लगाइमाग्ने हो। संघ÷प्रदेश दुवैतिर जित सुनिश्चित छ। संघमा म भइहालें, प्रदेशतर्फ (क)मा कांग्रेस र (ख) मा माओवादीका उम्मेदवार हुनुहुन्छ। गठबन्धन साझेदारबीच कुनै असन्तुष्टि छैन, ‘इन्ट्याक्ट’ छ। हामी तिनैजनाले क्षेत्रकै कोही जेष्ठ नागरिकको हातबाट विजयी माला पहिरिने छौं। तीनवटा चुनावको अनुभव हेर्दा मतदाताको  मनोविज्ञान परिवर्तन भएको छ। यसअघि वाम गठबन्धनले मतदातामा आकर्षण पैदा गरेको थियो, स्थिरता र समृद्धि प्राप्तिमा उल्लेख्य फड्को मारिने आशा पलाएको थियो। तैपनि यसअघि स्थानीय चुनावको १४ हजारको फासलालाई आमचुनावमा २८ सयमा खुम्च्याएको थियो। यसपालि नजित्ने कुरै छैन। 

पार्टीमा त कमजोर गुटको उम्मेदवारका रूपमा महामन्त्रीमा प्रतिस्पर्धा गरी जित्नुभयो। आमचुनावमा यसपालि पनि हारे ‘हारको ह्याट्रिक’ हुनेछ। डर लाग्दैन, कतै ह्याट्रिक पो हुन्छ कि भनेर? 
विल्कुल त्यस्तो हुँदैन। पहिलो चुनाव परीक्षण भयो, दोस्रोले अनुभवी बनायो। तेस्रोले परिणाम दिँदैछ। 

तपाईंले चुनाव जितेपछि संसदीय दलमा गगन थापाको प्रस्तावक बन्छु भनेर घोषणै गर्नुभएको छ। हुन त ‘विश्वप्रकाशलाई जिताएर के गर्नु प्रधानमन्त्री त शेरबहादुर देउवा बन्ने हुन्’ भन्ने भावना मतदातामा रहेकाले तपाईंले आफूतिर आउने सम्भावित मत विकर्षित होला भनेर पनि त्यसो भनेको हुनसक्छ। तैपनि विश्वप्रकाश शर्मा र गगन थापाबीच एकजनाले सरकार चलाउने, अर्कोले पार्टी भनेर सहमति भएको छ भनेर पनि खासखुस हुनेगर्छ। कुरा के हो?
बेलायतले भख्खरै ४२ वर्षका प्रधानमन्त्री पाएको छ। अनि नेपालमा ५० वर्ष मुनिको नेताले प्रधानमन्त्रीमा दाबी गर्दा के अचम्म? गगनजीमा के योग्यता पुगेन, के क्षमता छैन? उहाँ प्रधानमन्त्रीलायक हो भनेको छु। उहाँ प्रधानमन्त्री बन्नका लागि सुयोग्य भइसक्नुभएको छ। यसको मतलब उहाँ र मबीच त्यस्तो कुनै सहमति वा सेटिङ छैन। कुनै लेनादेना छैन। अहिले हामी खोला तरिरहेका छौँ। त्यो खोला गगनको नेतृत्वमा तर्ने भनिरहेका छौँ। त्यसपछि महाधिवेशनको रुपमा उकालो आउने हो। अहिले खोलामै छौँ, त्यसपछि पहाडको उकालो चढ्ने योजनाको अहिल्यै के कुरा गर्नु!

वाम गठबन्धनले पाँच वर्षअघि पाएजस्तै सफलता यसपालि वाम–लोकतान्त्रिक गठबन्धनले पाउने सम्भावना देखिएन त? यसपालि त नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले केही ठाउँमा प्रत्यक्ष तर्फ नै र समानुपातिकमा देशैभरि उत्साहजनक मत पाउने  सम्भावना देखियो नि?  
झापा–१ मा संघमा कांग्रेस, प्रदेशको (क) मा कांग्रेस र (ख) मा माओवादीले जित्ने माहोल बनेको छ। गठबन्धनले पनि बहुमत ल्याउने कुरामा शंका छैन। 

दलहरुले चुनावी घोषणा पत्रमा हाम्रो स्रोत–साधनले नभ्याउने ठूल्ठूदा योजनाको कुरा गर्छन्। हरेकजसो दलले, हरेकचोटी रासायनिक मलको कारखाना खोल्ने गफ दिन्छन्, नागरिकले खेतीको समयमा बजारमा मल पाउँदैनन्। सग्लो सडक भेटिन मुस्किल पर्छ, घोषणापत्रमा बुलेट रेल, पानीजहाजका गफ जोतिन्छ। तपाईं यसपालि कांग्रेस घोषणापत्र लेखनको संयोजक, के भन्नुहुन्छ? 
एमालेको घोषणापत्रजस्तो छैन यसपालि हाम्रो घोषणापत्र। प्रशासनिक झमेला र झन्झटबाट सर्वसाधारणलाई राहत दिने संकल्प हाम्रो घोषणापत्रमा छ। मलको कुरामा पनि कारखानै खोल्ने मात्र कुरा छैन, निजीक्षेत्रसँग साझेदारी गरी आपूर्ति गर्ने संकल्प पनि छ। 

गठबन्धन भनिएको त छ, घोषणापत्र हेर्‍यो भने कोही प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षधर कोही के। अनि १० तिर मुख फर्काएको दलहरूबीचको गठबन्धनले स्थिर सरकार दिन्छ भनेर कसरी पत्याउने? 
शासकीय स्वरुपबारे संविधान लेखनका क्रममा दलपिच्छेका फरक विचार थिए। तथापि, सहमतिमै संविधान बनाइयो। सारमा व्यवस्थामा होइन अवस्था बदलौँ भन्ने सहमति छ। यसको मतलब हिजोको सहमतिविरुद्ध बोल्नै नपाइने भन्ने त होइन नि। माओवादी त प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनिआएको हो, भन्न नछाड्ला। यसमा अनौठो लाग्दैन। ‘अजेन्डा छोडेको छैन है,  जित्यौँ भने त शासकीय स्वरुप परिवर्तन गर्न पछि पर्दैनौँ’ भन्ने अर्थमा भनिएको होला। अब दुइटा कम्युनिष्ट पार्टीबीचकै गठबन्धन त टिकाउ किफायती भएन, अब झन् कसरी होला र भन्ने सन्दर्भमा यसमा गठबन्धन साझेदारबीच पृथकतालाई स्वीकारिएको छ। हिजो बहुदलीय जनवाद र नौलो जनवादको फ्युजन गरेर पार्टी नै एकीकरण जुन गरियो, गल्ती त्यही भयो। हामी मोर्चामात्रै बनाउने हुँदा सफल हुन्छ। छिमेकमा पनि तीन दशकदेखि मोर्चाको सरकार चलिरहेको छ।


सम्बन्धित सामग्री