Thursday, April 25, 2024

-->

अजेन्डा सकिएपछि हेलिकप्टरको धाक र फ्रिभिसाको भ्रम!

पार्टीहरूप्रतिको आक्रोशकै कारण  स्वतन्त्रको लहर आउन खाेजेझैँ देखिन्छ। भेलका रूपमा आउने त्यो लहरले सडेगलेका ठुटा मुढाहरू नै ल्याउने हुन्, तर कहिलेकाहीँ बलिया मुढाहरू पनि हेलिएर आउँछन्।

अजेन्डा सकिएपछि हेलिकप्टरको धाक र फ्रिभिसाको भ्रम

केही हप्ता पहिले चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेकी आरजु देउवाले 'हेलिकप्टर चढ्न सक्नेलाई पो चुनाव जिताउनुपर्छ' भन्दै आफ्ना पति शेरबहादुर देउवाका लागि मत मागिन्। उनकाे भनाइ निन्दायाेग्य हो, तर अनौठो होइन।

आरजु एउटा पात्र हुन्, मानव श्रमको दलाली गर्ने प्रवृत्तिको। शाही महिलावाद, सामन्तवाद तथा हिजोका राजशाहीकाे धङधङीबाट बाहिर ननिस्केको वर्गको प्रतिनिधि हुन् उनी। आरजुहरूकाे विभेदकारी चेतना, गैरजिम्मेवार सामाजिक दायित्व तथा गलत सांस्कृतिक मूल्य मान्यता भनेकै त्यति नै हो। त्यस कारण, हिजोको शाहीतन्त्र र शाही महिलावादको धङधङीमा अल्मलिइरहेका मान्छेहरूबाट धेरै अपेक्षा राख्ने कुरै गलत छ। सो प्रवृत्तिले जनतालाई आजका दिनमा पनि रैती, बेवकुफ, अज्ञानी र निम्छरो ठान्छ। 

आरजुकाे अभिव्यक्तिले जनता र जनमतलाई वस्तुकरण गर्न खोजेको छ। त्यस वर्ग-प्रवृत्तिका मान्छेले भन्ने र गर्ने त्यही हो। नेपाली काङ्ग्रेसजस्तो राजनीतिक परिवर्तनलाई ७०-८० वर्षदेखि नेतृत्व गरिरहेको प्रजातान्त्रिक पार्टीभित्र त्यस्ता व्यक्ति हुनु र उनीहरूका तर्फबाट त्यस्ता अभिव्यक्ति आउनुचाहिँ दुखद हो। आरजु काङ्ग्रेसको केन्द्रीय सदस्य मात्र नभएर पार्टीको वर्तमान सभापति र वर्तमान प्रधानमन्त्री पत्नीसमेत हुन्। अब आरजु या का‌ंग्रेसले यस अभिव्यक्तिलाई लिएर माफी माग्ने सम्भावना छैन। हामी यति मात्रै आशा गर्न सक्छाैँ कि गरिब जनताको अपमान गर्नेहरूलाई जनताले मतमार्फत नै उत्तर देलान्। 

अजेन्डाविहीन भएपछिको अभिव्यक्ति
अहिले युवा मतदाताको सङ्ख्या उल्लेख्य छ। हाम्रो समाजको चरित्र हेर्दा युवाहरूमा आलोचनात्मक चेत पहिलेभन्दा बढेको छ। २०४६ को जनआन्दोलन, २०५२ को 'जनयुद्ध' र २०६२-२०६३ को जनआन्दोलन तथा २०६३ र २०७२ सालका दुई वटा मधेश आन्दाेलनसमेत हेरेर र भोगेर हुर्केको पुस्ता हो याे। अर्को उल्लेख्य कुरा याे पनि हो कि, आरजुले जुन ठाउँमा गएर र जुन वर्गका समुदायसँग त्यस्तो लाजमर्दो कुरा बोलिन्, उनीहरू स्वयं आरजुकै वर्गले नेतृत्व गरेको सामन्तवादबाट पिल्सिएका छन्। यसलाई लिएर काङ्ग्रेसभित्रका नेता तथा कार्यकर्ताले मात्रै भए पनि त्यस्तो अभिव्यक्तिको निन्दा गर्नुपर्थ्यो। तर उनी नेपाली काङ्ग्रेसको सभापतिको श्रीमतीसमेत भएकाले 'मेरो राजनीतिक हैसियत गुम्ला कि' भन्ने डरले उनीहरूले प्रश्न  गर्न नसकेका होलान्। 

यस्तै स्तरको भाषण माधवकुमार नेपालले रौतहटमा गरे। आफू र आफ्नो दललाई जिताए पैसा नितिरिकन वैदेशिक रोजगारीमा लैजाने भन्दै भ्रम छरे। जबकि, वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा जाँदा पैसा तिर्नु पर्दैन। अन्य देशमा सरकारकै तर्फबाट जाँदासमेत कामदारले पैसा तिर्नुपर्छ।

माधव नेपालका पार्टीमा रहेर श्रम र आप्रवासनमा काम गर्ने साथीहरूसँग मैले उनको अभिव्यक्तिलाई लिएर कुरासमेत गरेँ। नेपाललाई गलत सूचना दिइएका कारण त्यस्तो भ्रमपूर्ण कुरा गरे कि भन्ने उहाँहरूको भनाइ थियो। त्यसो भएको पनि हुनसक्छ, किनकि हाम्रा सबैजसो राजनीतिक पार्टीहरूमा 'मानव तस्कर' गर्ने दलालहरूकै दबदबा छ। 

तर, देशका प्रगतिशील परिवर्तनहरूलाई नेतृत्व गरेको त्यत्रो पार्टीको नेता र प्रधानमन्त्री भइसकेको मान्छे तथा अहिले पनि एउटा जिम्मेवार पार्टीको अध्यक्षले त्यसो भन्नु अत्यन्त दुखद हो, लाजमर्दो हो। र, माधव नेपालले पनि एउटा प्रवृत्तिको प्रतिनिधित्व गरेको जस्तो लाग्छ। सबै ठूला पार्टीहरूको स्थिति यही हो। 

आरजुले पनि २३ असोजमा आफ्ना पतिको मनोनयन दर्ता गराउन जाने क्रममा आफ्ना पतिलाई जिताए विदेश जान फ्रि भिसा र फ्रि टिकटको व्यवस्था हुने भाषण गरेकी थिइन्। यी दुवै जनाले श्रम आप्रवासनका सन्दर्भमा दिएको भ्रमपूर्ण अभिव्यक्तिलाई नेपालका राजनीतिक दलहरूले श्रम आप्रवासन तथा श्रमिकप्रति राख्ने प्रतिनिधिमूलक सोचका रूपमा लिँदा हुन्छ।

हाम्रा राजनीतिक पार्टीहरू अजेन्डाविहीन भएको दृष्टान्त पनि हुन् यस्ता अभिव्यक्ति। समग्र सामाजिक धरातल छाडी सिंहदरबार केन्द्रित राजनीति गर्न थालेपछि पुगिने त्यहीँ हो। त्यस्तो सत्ता केन्द्रित राजनीतिले जनता र समाजको दु:ख बुझ्दैन। केवल कुनै पनि हालतमा चुनाव जित्नुपर्छ भनेर बुझ्छ। त्यसो भइसकेपछि रौतहटजस्तो ठाउँका जनता माझ, जहाँ अधिकांश घरधुरीका मान्छेहरू या त भारत या मध्यपूर्वमा श्रम आप्रवासनमा गएका छन्, त्यहाँ गएर गैरजिम्मेवार आश्वासन बाँड्ने आवश्यकता आइपर्छ। कुनै पनि तरिकाले आफ्नो ढ्वाँङमा भाेट खस्ने माहौल बनाउनै पर्छ। याे भनेकै अजेन्डाविहीन हुनु हो। 

यिनीहरूले गरिब, उत्पीडित, महिला र सीमान्तकृतका मुद्दा बिर्से। भौगोलिक जटिलतालाई, त्यहाँभित्रको सामाजिक चरित्रलाई कस्तो किसिमको नेतृत्व र प्रतिनिधिले सम्बोधन गर्न सक्छ भन्ने पनि बिर्से। यता, समानुपातिकलाई यिनीहरूले नातावादमा लगेर जोडे। पारिवारिकीकरण गरे।   

दशक दशकमा आउने असन्तुष्टि 
आजका मतदाता ४० का दशकका होइनन्। ७०-८० को दशकका मतदाताले थोरै भए पनि विचार पुर्‍याउनेछन्। सङ्केतहरू पनि त्यसतर्फ छ। किनकि, अहिले युवा मतदाता धेरै छन्। स्वतन्त्रको लहरले पनि जबर्जस्त त्यस चेतनातर्फ लैजान्छ कि भन्ने ठान्छु। मतदानको दिन आउन एक हप्ता मात्रै बाँकी रहँदा स्वतन्त्र उम्मेदवारहरूका पर्याप्त चर्चा हुनथालेकाे छ। नेपालको इतिहासमा १०-१० वर्षको अन्तरालमा थोरबहुत उथलपुथलहरू भएका छन्। कहिले ठूला परिवर्तन त कहिले सामान्य संशोधनहरू भएका छन्। 

२०६२, २०६३ र २०६४ पछि जुन खालका मुद्दाहरू उठेका थिए, तीमध्ये केहीकाे अवतरण भयो, केही मुद्दा पार्टीहरूले बिर्से। केही अहिले असान्दर्भिक हुँदै गएका छन्। अहिलेका मूल पार्टीहरू मुद्दाविहीन भएका छन्। यस्तो अवस्थामा नयाँ पार्टीहरू खोलेर मुद्दा स्थापित गर्ने कि अहिलेकै पार्टीहरूले आफूलाई रूपान्तरण गर्ने भन्ने आजको यक्ष प्रश्न हो। 

यस्तोमा दोस्रो विकल्प नै सही छ। अहिलेका स्थापित पार्टीहरूले कठोर समीक्षा गरेर आफूलाई बदल्नुको विकल्प छैन। किनकि, आजसम्म नेपालमा भएका ठूला उथलपुथलको नेतृत्व तिनैले गरेका हुन्। तर, दलहरू अहिलेको नेपालको सामाजिक चेत, मतदाताको प्रकृति, प्रवृत्ति र भूराजनीतिक स्थिति तथा निर्वाचन प्रणालीको कठोर समीक्षा गरेर सुध्रन जरुरी छ। पार्टीहरू परिमार्जित र पुनर्गठित हुन र उथलपुथल भएर समसामयिक अजेन्डातर्फ जान आवश्यक छ। हिजोका दिनमा ठूला आन्दोलन र युद्ध गरेर परिवर्तनको नेतृत्व गरेका प्रमुख पार्टीहरूमै त्यो खालको सुधार आवश्यक छ। खास गरी एमाले, कांग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्र र जसपाजस्ता पार्टीहरूले गम्भीर समीक्षा गर्नुपर्छ। 

पार्टीहरूप्रतिका आक्रोशकै कारण  स्वतन्त्रको लहर आउन खाेजेझैँ देखिन्छ। एउटा भेलका रूपमा त्यो आउँदैछ। भेलले प्राय: सडेगलेका ठुटा मुढाहरू नै ल्याउने हुन्। तर, कहिलेकाहीँ बलिया मुढाहरू पनि हेलिएर आइपुग्छन्। अतः जनताले स्वतन्त्र छान्दा पनि प्रगतिशील तथा दुरदृष्टि राख्ने, देशभक्त, प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्नेलाई चुन्नुपर्छ। याे चुनावमा जनताले पार्टीभित्रका कम खराब मान्छेलाई पनि चुन्नुपर्नेछ। थाेरै मात्रै भए पनि असल दृष्टिकोण भएका मान्छेलाई मतदान गर्नुपर्नेछ। यसो गर्दा दलहरूले सबक सिकुन् र आफूलाई सुधार्नेतर्फ अघि बढुन्। 

(श्रम तथा आप्रवासनबारे काम गरिरहेकी पौडेलसँग गरिएको  कुराकानीमा आधारित।)


सम्बन्धित सामग्री