Friday, April 26, 2024

-->

अन्तर्वार्ता
मैले पाएको महेन्द्ररत्न छात्रवृत्ति महेन्द्र र रत्नको निजी सम्पत्ति थिएन : खगेन्द्र सङ्ग्रौला

लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनमा आधारित पुस्तक ‘एक बागी’लाई केन्द्रमा राखेर उनको जीवन किस्सा, अनुभव एवं विचारसँगको साक्षात्कारः

मैले पाएको महेन्द्ररत्न छात्रवृत्ति महेन्द्र र रत्नको निजी सम्पत्ति थिएन  खगेन्द्र सङ्ग्रौला
तस्वीर: अमित मचामसी/उकालो

झण्डै पाँच दशकदेखि प्रगतिशील साहित्य लेखनमा सक्रिय नाम हो खगेन्द्र सङ्ग्रौला। पछिल्लो अढाइ दशक धारिलो अखबारी लेखनमार्फत आफूलाई बेजोड ‘बागी’का रूपमा चिनाएका उनी कसैसँग सम्झौता नगर्ने लेखकका रूपमा चिनिन्छन्। उनको जीवनलाई केन्द्रमा राखेर उज्ज्वल प्रसाईले भर्खरै 'एक बागी' पुस्तक लेखेका छन्। सोही पुस्तकको सेरोफेरोमा रहेर सङ्ग्रौलासँग उकालोका लागि प्रकाश अजातनवीन तिवारीले गरेको कुराकानीको सम्पादित अंश : 

तपाईंलाई मुख्य विषय बनाएर बजारमा भर्खरै ‘एक बागी’ पुस्तक आएको छ। हामीले चिनेको खगेन्द्र सङ्ग्रौला र किताबको पात्र खगेन्द्र सङ्ग्रौलाबीच कत्तिको तारतम्य छ?
मैले किताबको सार्वजनिकीकरण कार्यक्रममा बोल्दा भनेको थिएँ– हरेक मान्छेले आफूलाई ‘राम्रो म’ को दृष्टिले हेर्छ। हरेक मान्छेमा अलिकति ‘नार्सिसिजम’ या आत्मसम्मोहन हुन्छ। भाषाको आवरणभित्र आफ्ना कमजोरीहरूलाई लुकाउँदै आफूलाई सुन्दर रूपमा प्रक्षेपण गराउन खोज्छ मान्छे। खासमा मानव स्वभाव हो यो। यस्तो स्वभावको अंश ममा पनि अवश्य होला। म आफ्ना विचार र कर्महरूलाई जति सुसंगत, कम विवादास्पद र सुंगठित ठान्थेँ, उज्ज्वलले आलोचनात्मक दृष्टिले मेरो विशद् र सूक्ष्म चित्रण गर्दा त्यहाँ मेरो अर्कै स्वरूप देखा पर्‍यो। र, मेरा यावत् असंगति र अन्तर्विरोधहरू प्रकट भए। मलाई लागेको मुख्य फरक यही हो। उज्ज्वलीय दृष्टिमा म जस्तो देखिएँ, त्यो न्याय–अन्यायको सवाल होइन। त्यो त गहन उत्खनन् र मिहिन शोधमार्फत उजागर गरिएको मेरो जीवन–व्यवहारको यथार्थपरक  चित्र हो। 

तपाईंले विसं २०२० को दशकबाट लेख्न थाल्नुभयो। अहिले ७० को दशकको उत्तरार्धबाट आफ्नो लेखन यात्रालाई फर्केर हेर्दा के-कस्ता उतारचढाव देख्नुहुन्छ? 
म एक सामान्य मान्छे हुँ। कुनै असामान्य प्रतिभायुक्त मान्छे होइन। न त हुँ म असामान्य विद्वता र सिर्जनशीलता भएको मान्छे। म केवल मेहनती हुँ, ‘स्कलर’ होइन।  घर्षणयुक्त जीवन–पथमा मैले जहाँजहाँ यात्रा गरेँ, जे जे लेखेँ, बोलेँ र आफ्ना पदचिह्नका जे जस्ता छापहरू छाडेँ, मेरो सामर्थ्य र यत्नको सीमाभित्र मैले ठिकठिकै गरेँजस्तो लाग्छ। पछि फर्केर हेर्दा, मैले अलिक व्यवस्थित बन्न चेष्टा गरेको भए मेरो लेखन सम्भवतः योभन्दा राम्रो हुन्थ्यो। सायद मेरा सार्वजनिक अभिव्यक्ति र क्रियाकलापहरू पनि किञ्चित् सुसंगत हुन्थे। लेखन यात्रामा मैले मुख्यतः दुई कुरामा नित्य संघर्ष र आत्मसंघर्ष गनुपर्‍यो। पहिलो हो, पर्माबद्ध वनाम निर्बन्ध चिन्तन र सिर्जना। दोस्रो हो, राष्ट्रवाद वनाम मानवतावाद। सिर्जनशील जीवन सूत्रबद्ध वा फर्माबद्ध भएर बाँचिदैन, स्वतःस्फूर्त रूपमा बाँचिन्छ। पछि फर्केर हेर्दा अहिले लाग्छ, जीवनको दुर्भाग्य के हो भने बितिसकेकाे, कमी, त्रुटि र भूलहरूले भरिपूर्ण जीवनलाई दोहोर्‍योएर जीवनभरि आर्जन गरिएको अनुभवका आधारमा पुनः बाँच्न पाइँदैन।

पुस्तकमा उल्लेख भएअनुसार तपाईंले राजारानीका नामको महेन्द्ररत्न छात्रवृत्ति पाएर स्नातक तह पढ्नुभएको रहेछ। तर, तपाईं आफैँमा खुंखार गणतन्त्रवादी हुनुहुन्छ, राजतन्त्र त तपाईंलाई कुनै पनि हालतमा स्वीकार्य छैन। यो अन्तरविरोध किन? 
यो धेरैअघिको कुरा हो। अहिले सम्झँदा म आफैँलाई यो बडो चाखलाग्दो लाग्छ। महेन्द्ररत्न छात्रवृत्ति नपाएको भए मेरो पढाइ आईएमै टुंगिन्थ्यो। मेरो घरबाट काठमाडौँमा पैसा आउने कुनै सम्भावना थिएन। काठमाडौँमा दैनिक फाटफुट ट्युसनबाहेक मेरो अर्को आर्जनको स्रोत थिएन। मलाई भरणपोषण गर्ने र आश्रय दिने धनपति दाता पनि कोही थिएन। त्यही छात्रवृत्ति हो जसले मलाई बीए पूरा गर्न सघायो। पछि म जुद्धोदय पब्लिक हाइस्कुलको मास्टर भएँ। र युनिभर्सिटीमा पनि पढेँ। अझ पछि रेड बुकको झोला बाकेर म गाउँमा गएँ। छोटोमा, महेन्द्ररत्न छात्रवृत्तिले मेरो अगाडिको जिन्दगीको द्वार नै खोलिदियो। 

आयो कुरा अब अन्तर्विरोधको। महेन्द्र र रत्नको नाममा मैले पाएको छात्रवृत्ति महेन्द्र र रत्नको निजी सम्पत्ति त थिएन नि! नेपाली नागरिकले खाइनखाइ राज्यलाई तिरेको करको एउटा अंश मैले पाएको हुँ। यसमा म कुनै अन्तरविरोध देख्दिनँ। त्यो मैले आफ्नो योग्यताले पाएको हुँ। मैले बिन्तीपत्र हालेर पाएको होइन। त्यो महेन्द्रले करुणा प्रदर्शन गरेर दिएको पनि होइन। आईएमा म टप भएँ। मेरो त्यही टपले छात्रवृत्तिलाई खिचेर ल्यायो। टप सेकेन्डमा काठमाडौँकी शीला श्रेष्ठ परेकी थिइन्। देशभरिमा महेन्द्ररत्न छात्रवृत्ति पाउने हामी दुईजना भयौँ।

राजतन्त्रसँग मेरो विमति र विरोधको सन्दर्भ बेग्लै हो। महेन्द्ररत्न छात्रवृत्तिसँग त्यसको के साइनो छ र?

'जुनकिरीको संगीत’ तपाईंको चर्चित र विवादास्पद पुस्तक पनि मानिन्छ। प्रचण्डले त सो पुस्तक लेखेबापत घुमाउरो भाषामा भौतिक कारबाही गर्ने धम्की दिएका थिए। पछि प्रचण्डसँग तपाईंको भेट हुँदा सोबारे कुनै चर्चा परिचर्चा भएन। लेखक उज्ज्वल प्रसाईले चाहिँ सो विषयमा छलफल भएर एउटा निचोडमा पुगेको भए राम्रो हुनेथियो भनेका छन्। यसमा तपाईं किन मौन?
परिवर्तनको ऐतिहासिक अभियानमा लागेको पात्रको कुनै एक उत्तेजक अभिव्यक्तिलाई जीवनभर मनमा लिएर हिँड्नु, मेरो विचारमा, बुद्धिमानी होइन। कसैले आवेग, उत्तेजना वा आक्रोशमा कसैप्रति कोही व्यक्त गर्छ, गतिमान् समयमा त्यो स्थायी कुरा हुँदैन। जीवनको केवल एउटा क्षणको कुरा हो त्यो। प्रचण्ड परिवर्तनको संग्रामी अभियानका नायक थिए। त्यसैले मैले उनीप्रति कुनै द्वेषभाव राखिनँ। प्रचण्ड नेतामात्र होइन, अभिनेता पनि थिए। भेटमा मेरा अनुवादहरूप्रति उनले कृतज्ञता प्रकट गरे, “तिमीले अनुवाद गरेका माओका रचना पढेर हामीले जनयुद्ध गर्‍यौँ। यी अनुवाद नभएका भए हामीलाई सामग्रीको अभाव हुनसक्थ्यो होला।”

हामी यस्तो बेलामा भेट भयौँ, पुराना कुरालाई त्यसरी गम्भीर रूपमा समीक्षा गर्ने परिवेश र मनोदशा थिएन। माओवादी संग्राम न हार न जितको अक्करमा अड्किएको थियो। त्यो आफ्नो शक्ति र ख्यातिको अस्त्र लिएर शान्तिपूर्ण राजनीतिमा फर्कियोस् भन्ने मेरो चाहना थियो। र, भएको पनि त्यस्तै थियो। त्यसैले प्रसन्नतायुक्त त्यो भेटमा विवादको पुरानो कुरो कोट्याउन मलाई मन लागेन। बरू बाबुरामले पहिले तपाईंहरूको कुरा मिलाउनोस् भनेर सांकेतिक रूपमा उज्ज्वलको जस्तै अभिप्रय प्रकट गरेका थिए। प्रचण्डले हाम्रो कुरा मिलिसक्यो भनेर कुम र भुँडी हल्लाए। बस्, तैँ चुप् मै चुप्।

तपाईं आफूलाई वामपन्थी लेखक भन्नुहुन्छ। संसारमा वामपन्थी आन्दोलनहरू एउटा उत्कर्षमा पुगेसँगै सर्वसत्तावादी बने। पार्टी नै प्रमुख हुने र पार्टीलाई पनि एउटा नेताले मात्रै सञ्चालन गर्ने अभ्यास भए। यो खालको अभ्यास हुँदै ९० को दशकमा सत्ता पतन भयो। विश्वभर आज केबल ५ वटा देशमा वामपन्थी सत्ता छ। यसो भइरहँदा नेपालमा त्यसपछि माओवादी 'जनयुद्ध' भयो। अहिले पनि नेपालमा वामपन्थको ह्विम छ। तपाईंहरूले खोजेको सत्ता कस्तो हो? 

मार्क्सवादी दर्शनले दिग्दर्शन गरेको जुन साम्यवाद छ, यसले मानव जातिको सुनौलो भविष्यको परिकल्पना गर्छ। त्यो यस्तो व्यवस्था हो जहाँ राज्य नामको संस्था, परिवार नामको संस्था वा विवाह नामको संस्था रहँदैन। यी तीनै संस्था विभेदकारी र दमनकारी संस्था हुन्। त्यो समाजमा निजी सम्पत्ति पनि रहँदैन। वर्ग नभएको, विभेद नभएको सामुदायिक भावनामा आधारित एउटा समाज नै साम्यवाद हो। त्यो आदर्श त सदा अमर छ। ऐतिहासिक अनुभवले के संकेत गर्‍यो भने कुनै पनि दर्शन जब संगठनमा प्रवेश गर्छ, त्यसले धेरै अथवा थोरै कर्मकाण्डी रूप धारण गर्छ। मार्क्सवादी दर्शन बोल्शेभिक संगठनमा प्रवेश गर्दाखेरि दर्शनका धेरै कुरा छुटे। कर्मकाण्डतर्फ विस्तारै लाग्यो त्यो। आखिरीमा स्टालिनको सर्वसत्तावादमा त्यो टुंगियो। चीनमा पनि माओको सत्ता आखिरमा व्यक्तिकेन्द्रित सर्वसत्तावादमा नै टुंगियो। चीनको अहिलेको भनिएको समाजवाद त खासमा ‘क्रुर पुँजीवाद’ हो। समाजवादको नाममा यो एउटा विडम्बना हो। नेपालको हकमा पनि माओवादीको त्यत्रो जनयुद्ध भयो। जनयुद्धले जे जे आदर्शहरू परिकल्पना गरेको थियो, मानिसहरूले जेको लागि आत्मबलिदान गरेका थिए, भुइँमान्छेहरूका वास्तविक जीवनमा ती कुरा साकार भएनन्। 

भौतिक स्वरूपमा गणतन्त्र आयो, संघीयता आयो, समावेशिता आयो, धर्मनिरपेक्षता आयो। तर भावनात्मक र सांस्कृतिक रूपमा, मान्छेमान्छेबीचका सम्बन्धमा यो भौतिक परिवर्तनले खासै परिवर्नन ल्याएन। 

एक समय थियो जब लाग्थ्यो, दश वर्षमा नेपालमा जनवाद आउँछ। भनिन्थ्यो, जनवाद आएपछि सबै कुरा साम्मेगाम्मे हुनेछ। त्यो व्यवस्थामा आर्थिक विभेद, लिङ्गगत विभेद, क्षेत्रगत विभेद  र जातिगत विभेद क्रमशः मेटिँदै जानेछन्।

सोभियत संघ ढल्यो। चिनियाँ समाजवादले बीचैमा बाटो बिरायो। र, युवा वयमा निकट रहेको साम्यवादको मेरो आदर्श परपर सर्दै गयो। तर समाजवादका एकाध प्रयोग विफल हुँदैमा साम्यवादी आदर्शको महत्ता किमार्थ घट्दैन। केही समाजवादी व्यवस्थाको पतनको कारण साम्यवादी आदर्शप्रतिको मेरो अनुराग र निष्ठामा कुनै कमी आएको छैन।

शुरूआती चरणमा तपाईंले बुझेको वामपन्थ र अहिले लामो समयपछि तपाईंको बुझाइको वामपन्थमा अन्तर के आयो? 
शुरूमा वामपन्थको आदर्शलाई निरपेक्ष समानताको अर्थमा बुझियो। साम्मेगाम्मे भन्ने बुझियो। खासमा कम्युनिजमको ठीक अनुवाद साम्यवाद होइन, समुदायवाद हो। कम्युनबाट आएको शब्दको त्यो अनुवाद नै गलत थियो। हामीलाई वामपन्थी पाठशालामा यस्तो सरलीकृत पाठ सिकाइयो मानौँ नौलो जनवादको माध्यमबाट समाजवादमा पुगेपछि मान्छे मान्छेबीच कुनै पृथकता रहँदैन। तर मान्छे मान्छेबीचको पृथकता त साम्यवादमा पनि रहन्छ। पृथकता नरहे मान्छेको निजत्वयुक्त पहिचान नै रहँदैन। पहिले मोटो र सरल गणितीय हिसाबले जनवाद र समाजवाद बुझिएको थियो। पछि समाज परिवर्ननका जटिलताहरू बुझ्दै जाँदा त्यस्तो बुझाइ एकदमै कखरा टाइपको रहेछ भन्ने लाग्यो। मेरो जीवनमा नेपाली वामपन्थले मलाई सिकाएको एउटा यस्तो रोग छ, त्यसबाट म अझै मुक्त छैन। 

नेपाली लाल वामपन्थमा दुईवटा कुरा घोलिएर आयो। एउटा हो, महेन्द्रीय राष्ट्रवाद, अर्को हिन्दुत्वको संकीर्णतायुक्त शुद्धता। यी दुई तत्वको प्रभाव वा कुप्रभावका कारण लामो अन्तरसंघर्षपछि पनि राष्ट्रवादका नाममा विभेदकारी गर्जन मैले थाहा नपाइ मेरो मुखबाट निस्कन्छ। र पितृसत्तात्मक अहंकार  पनि  अझै प्रकट हुन्छ। रूढ परम्परा र पाठ्यपुस्तकका माध्यमले सामन्तवादले मलाई सिकाएका यी चीजहरूबाट म सायद धेरै पहिले मुक्त हुँदो हुँ। तर सामन्तवादको सिको गर्दै गोर्खाली साम्यवादले ममाथि थोपरेका यी दुई चीजको दीर्घ रोगबाट म अझै आक्रान्त छु। 

किताबमा तपाईं र केपी ओलीबीचको एउटा किस्सा उल्लेख छ। तपाईं आफूलाई वामपन्थी लेखक भन्नुहुन्छ, केपी ओली देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष। प्रगतिशील लेखक संघले तपाईंलाई अभिनन्दन गर्ने त्यस कार्यक्रममा ओली प्रमुख अतिथि थिए। त्यतिखेर तपाईं कार्यक्रम भइरहेको हलबाहिर हुनुहुन्थ्यो। ओलीले कार्यक्रम छाडेर हिँडेपछि मात्रै तपाईं भित्र छिरेर अभिनन्दित हुनुभयो। तपाईंहरूबीच तारतम्य किन मिल्दैन? 
यो विषय बडो रोचक छ। मेरो दृष्टिकोण र बुझाइमा खड्कप्रसाद शर्मा ओली कहिल्यै वामपन्थी कम्निस्ट भएनन्। नक्साली आन्दोलनको नक्कल गर्दै झापामा युवा आवेगमा खुकुरीको मार हानेर पक्राउ परे। जेलमा उनी के-कस्ता थिए, सहजेलबासी आरके मैनालीका टिप्पणीहरू पढे पुग्छ। उखानटुक्का झिक्ने र चुरोट, दारु पिउने सिवाय ओलीले गरेका अन्य कृत्य मलाई थाहा छैन। जेलबाट छुटेपछि ओली जबजमार्गी भए। जबज कुनै सैद्धान्तिक अवराधरणा होइन, यो केवल एक कार्यनीतिक विचार हो। जबज कुरो घुमाएर संसदीय पुँजीवादका अलंकारहरूको अनुमोदन हो। ६२/६३ को गणतन्त्रमुखी आन्दोलनमा ओली बयलगाडे सिद्धान्तको प्रतिपादन गर्दै थिए। अब भन्नोस्त, ओली कहिले वामपन्थी कम्निस्ट थिए? मेरो दृष्टिमा केपी शर्मा ओली न कहिल्यै मार्क्सवादी भए न साम्यवादी। अनि जहाँसम्म त्यो घटनाको कुरा छ, मेरो विचारमा कुनै चिन्तक वा सिर्जनशील लेखकले आफू र  सत्ताको बीचमा नित्य केही दूरी कायम गरेन भने ऊ सत्ताको पेटमा बिलाउँछ। र, ऊ सत्तासामू ‘जसैजसै बाहुन बाजे उसैउसै स्वाहा’ टाइपको अनुसारक बन्छ।

माथिको घटनामा ओली एक बद्नाम शासक थिए। त्यस्ता पात्रको उपस्थितिमा निजकै हातबाट अभिनन्दित हुनु मेरा लागि निष्ठाच्यूत हुनु थियो। त्यसैले दुई अलग्गै कार्यक्रम भए।  ओलीले उखानटुक्का हाल्ने कार्यक्रम अलग्गै, मलाई अभिनन्दन गर्ने कार्यक्रम अलग्गै। 

एकथरि मान्छे ठान्छन् कि खगेन्द्र सङ्ग्रौलाले जसलाई पनि गाली गर्छ। अर्काथरिले तपाईंलाई सदाबहार बागीका रूपमा देख्छन्। तपाईंमाथि लेखिएको किताबको नामै 'एक बागी' छ। आफैँले आफैँलाई कसरी हेर्नुहुन्छ? 
यो समाज विभाजित छ। समाज स्वार्थमा विभाजित छ। विचारमा विभाजित छ। संस्कृतिमा विभाजित छ। विभाजित समाजमा कुनै पनि मान्छे सबैको प्यारो हुनसक्दैन। कि त त्यो शोषकको प्यारो हुन्छ कि त शोषितको प्यारो हुन्छ। सबैको प्यारो हुँदैन। त्यसैले लेखक जीवनको दशगजामा उभिन सक्दैन। त्यसैले मैले ज–जसको आलोचना गरेँ, त्यो कटु र कठोर थियो। आलोचना मैले कसको गरेँ? समाजका शोषकहरू, भ्रष्टहरू, दुष्टहरू, विभेदकारीहरू र दमनकारीको गरेँ। मेरो कुरो स्वतःस्पष्ट छ, मेरो आलोचना तिनीहरूलाई प्रितीकर लागेन। त्यसैले तिनको नजरमा मेरो आलोचना गाली हुनगयो। दुष्ट र भ्रष्टहरूको आलोचना दुष्ट र भ्रष्टहरूबाट पीडितहरूका लागि भने चहर्‍याइरहेको घाउमा मलहम लगाएजस्तो भयो। त्यसैले तिनका लागि म प्यारो भएँ। 

शुरूआती चरणमा तपाईं पनि एक तरिकाको राष्ट्रवादी हुनुहुन्थ्यो, तर समयक्रममा तपाईं आफूले त्यसमाथि पुनः मूल्यांकन गर्दै आदिवासी, जनजाति, महिला र मधेशीका पक्षमा लेख्दै र बोल्दै जानुभयो। एक तप्काका राष्ट्रवादी आज पनि छन्। राष्ट्रवादीहरू महिला, जनजाति र वञ्चितहरूका पक्षमा कहिल्यै पनि उदार भएर बोल्दैनन्। के कारणले यस्तो हुन्छ? 
राष्ट्रवाद, मेरो विचारमा, एक मनोरोग हो। राष्ट्रवाद कहाँबाट पैदा हुन्छ? ‘हाम्रा पुर्खाले कत्रा दुःखले आर्ज्याको देश’ भन्ने आत्मकेन्द्रित अहंकारयुक्त भाष्यबाट पैदा हुन्छ राष्ट्रवाद। कसैका पुर्खाले देश आर्जन गरिरहेका बेला के बाँकीहरू चाहिँ जुम्रा मारिरहेका थिए? कि जाँड खाएर सुतिरहेका थिए? कि भर्खरै आदिम गुफाबाट निस्किरहेका थिए? मलाई लाग्छ, कुनै पनि नश्ल अथवा जाति निरपेक्ष रूपमा बुद्धिमान वा मूर्ख हुँदैन। हरेक विभाजित समाजमा असल मान्छे पनि हुन्छ, खराब मान्छे पनि हुन्छ। त्यसैले ‘राम्रो म’को हुंकार गर्ने यो राष्ट्रवाद मनोरोग हो। त्यसैगरी पितृसत्ता मनोरोगको मुहान हो। पितृसत्तात्मक चिन्तन मनोरोग हो। नेपाली कम्युनिस्टहरूले संकुचित मनको झोलीमा बोकेको चुनावमा बेच्दै हिँडेको जुन राष्ट्रवाद छ, त्यो खसोखास मनोरोग हो। 

राष्ट्रवादले व्यक्तिलाई अन्यकरण गर्छ, शत्रु खोज्छ। आन्तरिक शत्रु र बाह्य शत्रु। नेपालका कम्युनिस्ट–राष्ट्रवादीहरूका आन्तरिक शत्रु मधेसी हुन्, बाह्य शत्रु दिल्ली हो। आफ्ना यावत् कमजोरीहरूलाई ढाकछोप गर्न र आफ्ना यावत् अहंकारलाई तुष्टि दिन ऊ दुई थरीमा शत्रु खोज्छ। यस्तो मनोरोगी राष्ट्रवादले नेपाली समाजलाई भावनात्मक रूपमा खण्डित गर्छ। भावनात्मक रूपमा खण्डित भएको कुनै पनि समाजले कहिल्यै प्रगति गर्न सक्दैन। कारण समाजमा धेरै समय र ऊर्जा राष्ट्रवादका कारण उत्पन्न द्वन्द्व र कलहमा नाश हुन्छ। मैले जिन्दगीमा गरेको ठूलो आत्मसंघर्ष वंशतन्त्रीय महाराजको महेन्द्रीय राष्ट्रवादविरुद्ध भन्दा पनि कम्युनिस्टको महेन्द्रीय राष्ट्रवादविरुद्ध हो। यो मनोरोगविरुद्ध लड्दैमा मेरो सारा जीवन बित्यो। घरिघरि बल्झिरहने राष्ट्रवादको मेरो मनोरोगबारे अनुभव अजितलाई सोध्नुभए हुन्छ। यत्रो लामो संघर्षपछि पनि त्यो रोग अझै बल्झिरहन्छ। 

तपाईंले आफ्नो आमाको किरिया नगरेको सन्दर्भ पनि पुस्तकमा छ। आमा र यमदूत नामको अर्को पुस्तकमार्फत तपाईंले पहिले नै त्यसबारे उजागर गराउनुभएको पनि हो। कर्मकाण्डीहरू भन्छन्, एक जनाले व्यक्तिले उरेन्ठेउलो काम गरेर समाजमा सकारात्मक परिवर्तन कसरी हुन्छ? कर्मकाण्ड त्यागेर समाज कसरी परिवर्तन हुन्छ? समाज रूपान्तरण गर्ने कसरी? 
परिवर्तनकामी र यथास्थितिवादी दुईवटा विचारहरू तपाईंको प्रश्नसँग जोडिएर आउँछन्। यथास्थितिवादीहरू भन्छन् ‘विस्तारै विस्तारै, समाजमा ठूलो चोट नलाग्नेगरी, समाजिक सद्भाव नबिथोलिने गरी। कोही रुनु नपर्ने गरी। विस्तारै बिस्तारै। बसिबसी। सुतीसुती। आनन्दले।’ यो यथास्थितिमुखी रुग्ण चिन्तन हो। तर परिवर्तनकामी चिन्तन भन्छ, रुढीग्रस्त चिन्तन, भावना, संस्कार र संरचनाविरुद्ध कठोर विद्रोह नगरी त्यो यसै फेरिन्न। विद्रोहका क्रममा कतिपय मोडमा हामीलाई अत्यन्त अप्रिय लाग्ने हिंसा गर्नुपर्ने आवश्यकता समेत हुनसक्छ। हिंसा प्रीतिकर कुरा किमार्थ होइन। इतिहासले हामस्माथि थोपर्ने बाध्यात्मक कुरा हो। आयो कुरा अब व्यक्ति–विद्रोहको। शुकरातले विद्रोह गरे, ब्रुनोले विद्रोह गरे, डार्बिनले विद्रोह गरे, ग्यालिलियोले विद्रोह गरे, मार्क्सले विद्रोह गरे। आखिर ती एकएक जना मान्छे न थिए। तिनको विद्रोहपछि लागेर एकैचोटी हुल त आएको थिएन।

त्यसैले समाजमा, मान्छेको रगतका कणकणमा जरो गाडेर रहेका रूढी र अन्धविश्वास तथा अमानवीय चिन्तन र संस्कारविरुद्ध कसै न कसैले पहिलो औँलो त उठाउनै पर्छ। कालक्रममा समाजले त्यो विरोध वा विद्रोहको झण्डा बोक्छ। एउटा सरल प्रश्नः ग्यालिलियोले पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्दा प्रतिक्रिया के भयो ? धर्मान्ध भिउँटहरूले बृद्ध ग्यालिलियोलाई दिनुसम्म दुःख दिए। कालान्तरमा जताततै ग्यालिलियोका पदचिह्न पछ्याउने मान्छे देखापरे। आज एउटा दूधे बालकलाई सोध्नोस्– सूर्य पृथ्वीको वरिपरि घुम्छ कि पृथ्वी सूर्यको सूयको वरिपरि? जवाफ के आउँछ? आविष्कारको जगत्‌मा यस्तो जवाफ कसरी बन्यो?

सत्य हो, केवल एक व्यक्तिको विद्रोहबाट एकै झमटमा समाजको चिन्तन, संस्कृति संस्कार र सम्बन्ध फेरिने होइन। तर परिवर्तनको प्रारम्भ त एकबाटै हुन्छ। व्यक्ति–विद्रोहको महत्तालाई अस्वीकार गर्नुको अर्थ के हुन्छ? पहिले भनेझैँ विस्तारैविस्तारै, कसैलाई चोट नपुर्‍याई, कसैका आँसु नझारी, कसैको रगत नबगाई, सुतीसुती, आनन्दले समाजवादमा जाने कुरा हुन्छ।  

यदि तपाईं जुठे दमाईको छोरो हुनुहुन्थ्यो भने आजको जस्तो खगेन्द्र सङ्ग्रौला नामको रापतापसहितको लेखक हुन सम्भव थियो? अनि जीवनी लेखिन?
एकाध आहुतिहरू अपवाद हुन्। कठोर यथार्थ भन्छ- जुठे दमाईहरू लेखक बन्नै सक्दैनन्। कदाचित् जुठेहरूले लेखक बन्न यत्न गरे भने प्रकाशनको उज्यालो देख्नै नपाई ती बीचैमा विलुप्त हुन्छन्। म जुन हैसियतको लेखक भएँ, त्यो कसरी भएँ? शासक खलकको संरचनागत लाभ प्राप्त सदस्य भएर। मध्यमवर्गको सन्तति भएर। मातृभाषा नेपाली भएर। सरकारी कामकाजदेखि पाठ्पुस्तकसम्मको भाषा नेपाली भएर। अँ, जुठेहरूको जीवनी लेखिँदैन। जीवनी कसको लेखिन्छ ? राजाबास्साको, जर्नेल—अञ्चलाधीशको, कुबेरपति साहुको, यदाकदा फिल्मी सुन्दर–सुन्दरीको। मेरो जीवनी लेखिनु कुनै सनातन वा स्वाभाविक घटना होइन। यो एक अनपेक्षित घटना हो। यो एक बिछट्टको संयोगको परिणति हो। 

तपाईं आवेगी हुनुहुन्छ भनेर किताबमा उल्लेख छ। अलि बढी नै आवेगी पो भएँ कि भन्ने लाग्दैन? 
म आवेगी हुँ भनेर त जीवनी लेखक उज्ज्वल प्रसाईसँग मैले अनेकौँपटक भनेको छु। त्यो मेरो आत्मस्वीकृति हो। त्यसको व्याख्या गरिरहनुपर्दैन।  म आवेगी नभएको भए मैले जिन्दगीमा जे जति मूर्खतापूर्ण जोखिम उठाएँ ती, जोखिम उठाउने थिइनँ। जो नित्य तर्कशील र तथ्यसंगत हुन्छ, त्यसले हम्मेसी जोखिम उठाउँदैन। पौडी सिक्नुअघि जब डुबिने वा मरिने भयउपर ध्यान खिचिन्छ वा त्यसउपर सोच्न थालिन्छ पौडी खेल्न सिकिन्न। सिक्छ कसले ? म कि सिक्छु कि डुबेर मर्छु भन्ने आवेगीले। मेरो जीवनीमा मेरा सम्पादक नारायण वाग्लेको टिप्पणी छ, “कहिलेकाहीँ दाइले सूचना र तथ्यबारे गम्भीर विचार नगरीकन मनोगत रूपबाट धारणा बनाउनुहुन्छ। धारणा बनाएर कसैमाथि प्रहार गर्नुहुन्छ। त्यहाँ अन्याय भइरहेको हुन्छ। त्यस्तो भएको छ।”

हो, म आवेगी छु। श्री वाग्लेले भनेझैँ मेरो लेखनीमा यदाकदा त्यस्तो भूल नभएको होइन। तर म यसलाई यसरी  हेर्छु। आवेगी हुनु मेरो सबलता पनि हो, दुर्बलता पनि। सबलता किन भने आवेगी भएकै कारण स्वयंमाथि आइलाग्न सक्ने दुष्परिणामको पर्वाह नगरी विद्रोहको यात्रामा मैले जोखिम उठाएको छु। दमनकारी सत्ताले कहिले बेपत्ता पार्ने दुराशयवश मलाई एकलासको सुरुङमा थुन्यो। कहिले विद्रोहको नायकले भौतिक कारबाही समेत गर्न सकिने ध्वाँस जारी गर्‍यो। मेरो जीवनमा घटेका यी र यस्ता घटनाहरू आखिर मेरो आवेगी मनोरचनाले निम्त्याएका मेरा वचन र कर्मका नतिजा त हुन्। अनि दुर्बलताबारे नारायण वाग्लेले भनिसके त!

आफ्नो शेषपछि कस्तो मृत्युसंस्कार होस् भन्ने चाहनुहुन्छ? शरीरदानबारे यहाँको भनाइ के छ? 
मेरो चाहना छ, मेरो मृत्युपछि मेरा छोराले कपाल मुण्डन गरी किरिया नामक कर्मकाण्ड गर्नेछैन। मेरी पत्नी गुरुङ हुन्। तसर्थ उनलाई सिन्दुर पुछ‍्ने, चुरा फुटाउने र पोते छिनाउने लेठो हुनेछैन। मेरो शव सेतो होइन, नीलो कपडाले ढाकिने छ। मेरो मलामी यात्रामा शोकबर्द्धक शंख बजाइने छैन। मेरो शव ब्रह्मनालमा राखिने छैन। मेरो मृत्युको केही दिनपछि, शोकाकूल जनको मनोदशा हेरी, टोलछिमेकका बालबालिकालाई निम्त्याएर पुस्तक र मिठाइ वितरण गरिने छ। बस्!

मैले तिलगंगा आँखा अस्पताललाई आँखा दान गर्ने प्रतिबद्धता जनाएको छु। शरीर दान गर्ने आँट वा उदारता ममा छैन। मेरा प्रियजनहरूलाई दान गरिएको शरीरको के अवस्था भयो होला भन्ने चिन्ताले पिरोल्ला कि भन्ने मलाई चिन्ता छ।

आफ्नो शालिक खडा गरियोस् भन्ने इच्छा त होला नि?
म मूर्तिपूजा विरोधी हुँ। बुद्ध मूर्तिपूजा विरोधी थिए। विडम्बनावश, आफू बुद्धमार्गी हुँ भन्नेहरू बुद्धका मूर्ति खडा गरिरहेका छन्। मार्क्स मूर्तिपूजा विरोधी थिए। विडम्बनावश, आफू मार्क्सवादी हुँ भन्नेहरू मार्क्सका मूर्ति खडा गरिरहेका छन्। बुद्धमार्गीहरूलाई बुद्धका सद्विचारहरूको उत्रो पर्वाह छैन। मार्क्समार्गीहरूलाई मार्क्सका सद्भाविचारहरूको उत्रो पर्वाह छैन। पर्वाह छ त केवल बुद्धका मूर्ति खडा गर्ने लालसाको, मार्क्सका मूर्ति खडा गर्ने लालसाको।


सम्बन्धित सामग्री