Thursday, April 18, 2024

-->

प्रदीप दाइका केही प्रेमिल किस्सा

प्रदीप दाइ सधैँ कांग्रेस पार्टीमा रहनुभयो। बीपीसँग कटु सम्बन्ध हुँदा पनि पार्टी छाड्नु भएन। जीपीले भिटो लाएर ०४८ को चुनावमा टिकटबाटै वञ्चित गर्दा पनि पार्टीसँग मोहभंग भएन।

प्रदीप दाइका केही प्रेमिल किस्सा

सन् ६० दशकको मध्यतिर। बनारसी गर्मीले असिनपसिन एक युवक छहारीमा रिक्सा कुर्दै बसिरहेको छ। रिक्सामै त्यही बाटो गुज्रिरहेकी एउटी नेपाली युवती रोकिँदै युवकलाई आफूसँगै जान निम्तो गर्छिन्। एकाध पटक मात्रै भेट भए पनि युवकका लागि युवती परिचित भएकाले युवकले निम्तो अस्वीकार गर्ने कुरै थिएन। केही असहजता भने पक्कै थियो। बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा भर्खरै सम्पन्न नेपाली छात्र परिषद्को चुनावमा युवती पराजित भएकी थिइन्। कांग्रेस परिवारको हुँदाहुँदै पनि युवतीलाई भोट नदिएको आरोप युवकमाथि लागेको छ। रिक्सामा सँगै बसिसकेपछि युवक कुरा कोट्याउँछन्, “भोट त तपाईंलाई नै दिएको हुँ नि!” युवती फिस्स हाँस्दै भन्छिन्, “त्यो मलाई थाहा छ।”

काठमाडौँमा बेलायती महारानी एलिजाबेथलाई कालो झण्डा देखाएर, सोही काण्डमा तीन वर्षे जेल सकाएर बनारसमा एमए पढ्दै गरेकी युवती र बिएचयुमै बिए पढिरहेको अत्यन्तै पढैया युवकबीच बाटोमै राजनीतिक बहस शुरू हुन्छ। “साम्यवादले अरू केही नगरे पनि त्यस व्यवस्थामा गरिबले पेट भर्न पाउँछन्”, युवक तर्क गर्छन्। “जेलमा सरकारले खान मनग्य दिएको थियो”, युवती जिकिर गर्छिन्, “तर हामी बाहिर कहिले जान पाइएला भनेर छट्पटिन्थौँ। छुटेको दिनको खुशी शब्दमा व्यक्त गर्न सक्तिनँ।” युवतीको तर्क क्षमताले युवक कायल हुन्छन्। बनारसका गल्छी/गल्छेडा घुम्दै रिक्सा युवतीको डेरामा पुग्छ। युवक–युवतीबीच सम्बन्धको ‘टर्निङ प्वाइन्ट’ भैदिन्छ त्यो यात्रा। कक्षा सकिएपछि युवतीको डेरा पुगी राजनीतिक बहस गर्ने उपक्रम आकस्मिक होइन, अब नियमितसरह हुन थाल्छ। ‘घनिष्ठ मित्रता’मा परिणत हुन्छ त्यो रिक्सा यात्रा। अहिले त समस्या छ, साढे पाँच दशक पहिलेको त्यो बनारसी समाजमा युवतीको डेरामा युवक गइरहनु पाच्य हुने कुरै थिएन। अब युवती विश्वविद्यालयकै छात्रावास सर्छिन्।

‘तिमी त मेरा भाइ’
तीन वर्ष जेल बिताएर र एमए पढ्दै गरेकी युवती पक्कै पनि बिएमा अध्ययनरत युवकभन्दा जेठी छन्। फेरि युवतीको नजिकका भाइ नै युवकका घनिष्ठ साथी हुन्। “तिमी त मभन्दा सानो छौ, फेरी भाइको साथी पनि,” युवती भन्छिन्, “म तिमी भन्छु है।” युवकलाई चित्त त बुझ्दैन तर ‘मेरा नाम जोकर’ हेरिसकेको युवक फिल्मको नायक उसको किशोर उमेरमा शिक्षिकाप्रति आकर्षित भएको सम्झिँदै मखलेल हुन्छन्। पुरै फिल्मी शैलीमा अघि बढिरहेको यो कहानी नेपाली राजनीतिका दुई स्मरणीय नेताहरू शैलजा आचार्य र प्रदीप गिरिको हो। त्यस कहानीले दशकीय रोमाञ्चक पारी खेल्यो, अनि ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ’ भन्दै आ–आफ्नै बाटो तताउने नियति खोलिदियो। दशकहरू कटिसकेपछि प्रदीप दाइ ‘सन्ध्याकालीन बैठकी’मा सीमित मान्छेबीच पुराना किस्सा/कहानी सुनाइरहनुहुन्थ्यो। “प्रेमावेगका यस्ता स्मरणहरू अखबारमा लेख्दिनुपर्‍यो, लौन दाइ” भन्दा “लेख्दिहाल्छु, चिन्तै नलिनुस्” भन्दिनुहुन्थ्यो। तर, आफ्नो जीवनकालमा उहाँले आफ्ना जीवनका प्रेमकथाहरू सीमित व्यक्तिबाहेक अन्यत्र सार्वजनिक गर्नुभएन। आफ्ना नितान्त निजी किस्सा–कहानीदेखि ‘ननभेज् चुट्किला’सम्म सुनाउन पछि नपर्ने भएको हुँदा दाइको ‘सन्ध्याकालीन बैठकी’मा अपरिचित वा मन नपरेकाको प्रवेश पाच्य थिएन।

प्रकाशक फाइनप्रिन्टसँग सम्झौता गरी उहाँले लेख्न थालेको आत्मकथामा शैलजासँगको सम्बन्धबारे खुलेर लेखिएको हुनुपर्छ। ०३६ सालसम्मको घटनाक्रम लेखिसकेर उहाँले थन्क्याउनु भएको पाण्डुलिपी मात्र होइन, आफ्ना अप्रकाशित सबै कृति प्रकाशनको सर्वाधिकार एकजना सहयोगीलाई लिखित रूपमै दिई कृति प्रकाशनको बाटो खोल्दिएर जानु भएको छ। भूषिता वशिष्ठले अंग्रेजीमा लेख्नुभएको बायोग्राफीमा पनि प्रदीप–शैलजा सम्बन्धबारे काफीकुछ लेखिएको हुनुपर्छ, जुन उहाँले मरणोपरान्त मात्र प्रकाशन गर्न भन्नुभएको सुनिएको हो। दाइका जीवनका कतिपय सार्वजनिक नभएका तथ्यहरू यथाशीघ्र पाठकहरूको पहुँचमा पुग्ने नै भएकाले नितान्त निजीजस्तो पनि सुनिन सक्ने किस्साकहानी यहाँ लेख्ने धृष्टता गरिएको हो। फेरि एउटा उचाइमा रहेर सार्वजनिक जीवन व्यतीत गरेका उहाँहरूजस्ता व्यक्तिको निजी जीवन पनि निजी रहिरहन सक्तैन।

सार्वजनिक जीवनमा खुला किताबसरह बाँच्नुभएका गिरिका कतिपय किस्सा उहाँलाई नभेट्दै पनि बजारमा सुनिएकै थिए तर उहाँकै मुखारविन्दुबाट सिंगलमल्ट ह्विस्की वा त्यस्तै कुनै प्रिय पेयसँगै उहाँका ‘जीवन रहस्यहरू’ पोयो खोलिए झैँ खुल्नु खास रोचक हुन्थ्यो। त्यहीताका हो, दाइ र शैलजा भारतीय समाजवादी नेता जयप्रकाश नारायणलाई भेट्न जयप्रकाशको देहाती घरतिर हानिनुहुन्छ। रेलबाट उत्रँदा रातको १० बजिसकेको हुन्छ। बिहानीको प्रतीक्षा गर्दै स्टेसनकै प्रतीक्षालयमा उहाँहरू भररात गफिएर बिताउनुहुन्छ। भोलिपल्ट पैदल हिँड्ने क्रममा शैलजा “हिजो राति के-के कुरा गर्‍यौ, थाहा छ?” भनेर कुरा उप्काउनुहुन्छ। 

रेलको छुकछुक, दिलको धकधक
उमेरमा कान्छो अनि भाइ निरञ्जन कोइराला (शेखर कोइरालाका दाजु) का साथी भएको हुँदा शैलजाले प्रदीप दाइलाई पहिले ‘भाइ भन्छु’ भन्नु भएको थियो र ‘शैलजादी/प्रदीप’को सम्बोधन शुरू भएको थियो। कतिसम्म भने बिएचयुको छात्रावासमा शैलजालाई भेट्न जाँदा गेटको रजिस्टरमा दाइ ‘भाइ’ उल्लेख गर्नुहुन्थ्यो। शैलजाले रातिको कुरा कोट्याएपछि प्रदीप दाइको गहुँगोरो अनुहार रातो हुन थाल्छ र कुरा अन्तै मोड्न खोज्नहुन्छ। खासमा ‘सेक्सपियरकी श्रीमती उनीभन्दा नौ वर्ष जेठी थिइन्, मार्क्सकी श्रीमती उनीभन्दा तीन वर्ष जेठी थिइन्’ भन्दै प्रदीप दाइले एक प्रकारले आफ्नो प्रेमलाई आधिकारिक करार गर्न खोजेका थिए। घुँडा मारेर हात फैलाउँदै ‘आइ लभ यु’ भन्न, त्यो पनि रेलवे स्टेसनमै–आखिर जमाना त्यस्तो नै कहाँ थियो र!

ल है, कहानी पूराका पूरा फिल्मी छ–ढंगको वेब सिरिज बनाउन सके ब्लकबस्टर हुने खालको छ। एकचोटी शैलजा र नोना कोइराला बनारसबाट विराटनगरतर्फ आउनका लागि निस्किनुहुन्छ। बिदा गर्न रेल स्टेसन पुगेका प्रदीप दाइ रेलमा चढेर शैलजासँग गफिन थाल्नुहुन्छ। सिट्ठी बज्छ, रेल चल्न थालिसक्छ तर गफ सकिने होइन। शैलजा त ‘अब प्रदीप हामीसँगै विराटनगर हिँड’ भन्न थाल्नुहुन्छ। ‘टिकट नभएका प्रदीपलाई नउक्साऊ’ भनेर नोनाले भनेपछि दाइ अर्को स्टेसन सारनाथमा ओर्लिने गरी गफलाई निरन्तरता दिनुहुन्छ, तर अझै गफ सकिँदैन। सारनाथमा रोकिएको रेल फेरि अघि बढ्छ। अर्को स्टेसनमा रोकिएपछि बल्ल दाइ ओर्लिनुहुन्छ। 

दुवै पक्षबीच अति आकर्षणले तानिएको यो सम्बन्ध अन्ततः वियोगान्तमा टुंगिन्छ। निरञ्जन कोइराला (दाइको प्रिय निरु, कनिष्ठहरूका निरुदा) को आमा नोना कोइरालालाई प्रदीप दाइले पनि न ‘नोना आमा’ नै भनेर सम्बोधन गर्नुहुन्थ्यो। जबकि बीपीलाई भने दाइ ‘बीपी’ नै भन्नुहुन्थ्यो। पछि बीपीले नै ‘मलाई सान्दाजु’ भन्नु र ‘म तिमी भन्छु’ भनेपछि नै प्रदीप दाइले ‘सान्दाजु’ भन्न थाल्नुभएको थियो। शैलजा र प्रदीपबीच बिहे नै होस् भन्ने चाहनुहुन्थ्यो नोना। बनारसमा सँगै सिनेमा हेर्न जाने आदि ‘लीला’हरू त छँदै थिए, एकचोटी निरञ्जन कोइरालाले ‘प्रदीपको घर जान्छु’ भन्दा नोनाले ‘जा जा, भोलि हाम्रो शैलजाले बिहे गर्लिन्, घर त हेर्न पर्‍यो नि!’ भन्नु भएको थियो। एकाउन्न सालको चुनावमा सिराहाबाट कांग्रेस उम्मेदवार बनेका दाइलाई नोनाले चुनाव खर्चबापत ५० हजार दिएको तर दाइले सो रकम गिरिजाबावुविरुद्ध बागी बनेका दुर्गा सुवेदीलाई नै पठाइदिएको किस्सा सार्वजनिक भैसकेकै छ।

बिहेविरुद्ध बीपी 
शैलजाका बुवा पिनाकीप्रसाद कट्टर ब्राह्मण थिए। पढाइका सिलसिलामा तेह्र वर्ष लन्डनमा बस्दा समेत ‘स्वयम्पाक्य’ रहे उनी। ग्यासले खाना बनाउन शुरू भैसकेको अवस्थामा बेलायतमा समेत दाउरामा दाल, भात पकाएर गुजारा गरी स्वदेश वापस आएका थिए। विराटनगरमा शैलजाले ‘म अब बिहे गर्ने हो’ भन्दा पिनाकीप्रसादले ‘नानीको जात के?’ (शैलजाले मन पराएको व्यक्तिको जात के हो) भनेर सोधेका थिए। बुवासँग त सायद शैलजा विद्रोह गर्नुहुन्थ्यो होला, उहाँले अति नै आदर गर्ने सान्दाजु (बीपी) नै दुईको विवाहको खिलाफ भैदिनुभयो।

कोइराला परिवारकै नातेदारले भने अनुसारचाहिँ ‘प्रदीप र शैलजा दुवै विवाह भन्ने संस्थाको लागि हुँदै नभएकाले’ बीपीले ‘विवाह विफल हुने’ ठोकुवा गर्नुभएको थियो र त्यसैले त्यसको खिलाफमा हुनुहुन्थ्यो। नत्र एक समय शैलजाले विवाहकै सपना देख्न थाल्नुभएको थियो। बीपी सुन्दरीजल जेलमा रहँदा ‘सान्दाजु जेलमुक्त भएपछि राजनीति छाड्ने, मास्टरी गर्ने र दाइलाई राजनीति खर्च दिने’ कुरा गर्नुहुन्थ्यो रे शैलजा। तर जेलमुक्त भई बनारसमा निर्वासित भएपछि क्रान्ति सम्पन्न नभएसम्मका लागि आफैँले ‘अल्पकालीन अन्तरिम आदेश’ आफैँलाई दिनुभएछ। पछि बिहेको च्याप्टर यो जुनीका लागि क्लोज्ड भयो, राजनीतिले जीवनपर्यन्त निरन्तरता पायो।

दाइ पहिलोचोटी जेल पर्दा शैलजा काठमाडौँ आएर महिनौँ बस्नुभएको थियो। चाबेलबाट नियमित दाइलाई भेट्न नख्खु पुग्नुहुन्थ्यो। किशुनजीले त्यतिबेला पहिरनका कारण शैलजालाई ‘प्रदीपकी मिराबाई’ भन्नुहुन्थ्यो

विरोधाभास
प्रदीप दाइ सधैँ कांग्रेस पार्टीमा रहनुभयो। बीपीसँग कटु सम्बन्ध हुँदा पनि पार्टी छाड्नु भएन। जीपीले भिटो लाएर ०४८ को चुनावमा टिकटबाटै वञ्चित गर्दा पनि पार्टीसँग मोहभंग भएन। प्रदीप दाइ कहिल्यै कम्युनिस्ट हुनुभएन, तर सदाबहार कम्युनिस्ट रहनुभयो। कुनै बेलाका कांग्रेसको सिराहा जिल्ला सभापति रहेका आफ्नै बा मित्रलाल गिरिले समेत दाइलाई कांग्रेस बनाउन सक्नुभएन। काका रुद्रप्रसाद गिरिलाई राजाले जेल हाले पनि दाइ कांग्रेसतिर आकर्षित हुनुहुन्थेन। बीएचयुको छात्र परिषद्मा शैलजालाई भोट नदिएको आरोप मात्रै थिएन, सत्य थियो। कांग्रेस र कम्युनिस्टबीच प्रतिस्पर्धा भएको सो चुनावको रोजाइमा शैलजा पर्नुभएन। शैलजासँगको एकै पटकको रिक्सा यात्राले उहाँ कांग्रेस त बन्दिनुभयो तर कम्युनिस्ट नै भइराख्नुभयो। 

शैलजासँग “साम्यवादले अरू केही नगरे पनि भरपेट खान त दिन्छ नि!” भनेको प्रंसग त माथि उल्लेख भैसकेको छ। ‘नयाँ पत्रिका’को एक अन्तरवार्तामा उहाँले “सोभियत संघको विघटन विश्वको एउटा ठूलो प्रतिगमनको घटना हो। कम्युनिस्ट आन्दोलन खराब थियो भन्ने आम कांग्रेसीको भनाइलाई म मान्दिनँ”, भन्नुभएको थियो। अन्तर्वार्ताको उक्त लाइनलाई लिएर पत्रकार रमेशकुमारलगायतले ‘उहाँ कांग्रेसमा कसरी हुनुहुन्छ?’’ भनेर सामाजिक सञ्जालमा प्रश्न गरेका थिए। लेनिन र माओत्सेतुङको सशस्त्र क्रान्तिको प्रशंसक हुनुहुन्थ्यो दाइ। लेनिनबारे त किताबै लेख्नुभयो। कतिसम्म भने कम्युनिस्ट समर्थकबीच स्टालिनकै पनि तारिफ गरेर ताली खानसमेत पछि पर्नुहुन्थेन उहाँ।

उहाँ गज्जब गान्धीवादी पनि हुनुहुन्थ्यो। उधम सिंहले जालियावालाबाग नरसंहारका नाइके माइकल डायरलाई लन्डनमै पुगेर हत्या गरेको कथा सुन्दा दाइको मनमा आतंकवाद अंकुरित हुन्थ्यो। मुजफ्फरपुरमा सन १९०८ मा दुई अंग्रेज महिलाको हत्या गर्ने खुदीराम बोसलाई विशुद्ध आतंकवादीको बिल्ला लगाइदिने उहाँ आफैँचाहिँ सरोज कोइरालाको हत्यापछि उहाँले ‘त्यसको बदला लिएरै छाड्ने’ भन्दै पर्चा लेखेर छपाउनुभएको थियो। पारिबाटै निस्किने अखबारमा ‘बदला लिन्छौँ’ भनेर लेखै लेख्नुभएको थियो। फेरि बीपीले सशस्त्र क्रान्तिको कुरा गर्नासाथ उनको रौँ झर्किहाल्थ्यो। 

दाइ काठमाडौँको जेलमै रहँदा जेलमुक्त भई भारत निर्वासनमा पुगेका बीपीले विज्ञप्तिमार्फत सशस्त्र क्रान्तिको आह्वान गर्नुभएको थियो। जेलबाट छुटेर बनारस पुगेपछि दाइले बीपीको सशस्त्र क्रान्तिको नीतिमा विमति राख्न पुग्नुहुन्छ। झण्डै पाखुरा सुर्किने हदमा पुगेर बीपीसँग चर्काचर्की नै गर्नुभयो। समाजवाद ल्याउन हिंसासँग परहेज गर्नु हुँदैन भन्ने मान्यतामा रहेका दाइ ००७ सालको क्रान्तिको सफलतामा दाइ खुशी हुनुभयो तर त्यही क्रान्तिपछि पुँजीवाद भित्रिएको विस्मात् पनि उहाँमा उत्तिकै थियो। 

शाकाहारी ‘रक्स्याहा’
श्रद्धान्जलि व्यक्त गर्ने क्रममा उहाँको सादगीको तारिफ भैराख्या थियो। खादीका कुर्ता–पाइजामा र चप्पल उहाँका प्रिय वस्त्र थिए। खानामा पनि मधेशका तरुवा/भुटुवा शुद्ध शाकाहारी रुचाउनुहुन्थ्यो। तर उहाँ मदिरापानका सोखिन हुनुहुन्थ्यो, उच्चकोटीकै मदिरा सेवन गर्नुहुन्थ्यो। उतिसारो प्रविधिमैत्री नभए पनि किताब पढ्न पाइने भएपछि उहाँ किण्डलको अम्मली भैहाल्नुभयो। नेपालमा पनि उच्चकोटीका मदिरापान गर्नेबीच ‘सिंगल मल्ट’ सेवन गर्ने फेसन आएपछि त्यसकै सोखिन भैहाल्नु भयो। जति बढी पुरानो मदिरा भयो, उति नै उहाँको मुखमण्डल चम्किन्थ्यो। 

पोखरामा भएको ‘नेपाल लिटरेचर फेस्टिबल’का क्रममा म बाउन्सर झैँ उहाँको अघिपछि थिएँ। आयोजकले निम्ता गरेको कक्टेल–डिनरमा पुगेपछि उहाँले मलाई सोध्नुभयो– “यिनीहरूले रक्सी के खुवाउँछन्?” भनेँ, “दादा, कमसल रैछ भने त दादाको लागि ब्यागमै बोकेरै हिँडेको छु।” खुशी हुँदै उहाँले भन्नुभयो– “त्यसो भए त ठिक छ, नत्र रक्सी खानु साह्रै खराब काम हो, त्यसमा पनि घटिया रक्सी पर्‍यो भने त बर्बादै हुन्छ।” दलित, अतिविपन्न, अल्पसंख्यक आदिप्रति उहाँमा अपार प्रेम थियो। अतः उहाँ सिमान्तकृतका अधिकारका लागि सधैँ बोल्नुभयो, लड्नुभयो। मधेशमा जमिन्दार परिवारमा जन्मिए–हुर्किएका उहाँमा जमिन्दारी शैली भने विरासतमा कायमै थियो। काठमाडौँ खाल्डोबाहिर निस्कँदा दाइ दुईचार जना सहयोगी साथमा नलिई निस्किन हुन्नथ्यो। औषधिको पोकोबाट कुन समयमा कुन औषधि खाने भनेर निफनी निफनी औषधि ख्वाउनपर्ने एकजना सहयोगी त उहाँलाई अपरिहार्य थियो तर एक जनामात्रले उहाँको चित्त बुझ्थेन। कार्यक्रममा आयोजकले उहाँको मात्रै खर्च बेहार्नेवाला छन् भने पनि उहाँ आफ्नै खर्चमा कृष्ण, बालकृष्ण, कमल, रामपल्टनलगायतका सहयोगीहरूको ‘पल्टनै’ लिएर पुग्नुहुन्थ्यो।

मान्छे बटुलेर हिँड्न र बस्नुपर्ने स्वभावका दाइ। खर्चको सधैँ ताना। यही विषयमा बीपीले दाइलाई कटाक्ष गर्नु भएको रहेछ–‘‘चारपाँचजना पालेर बसेपछि कसरी खर्च पुग्छ त?’’ अति मितव्ययी स्वभाव र आफ्नो खास कमाइ आधारबिनै (सुवर्ण शमशेरको वित्तीय प्रतापबाहेक) परिवर्तनकारी आन्दोलन हाँकेका बीपीले प्रदीप दाइको बेपर्बाह र मनमौजी शैलीलाई व्यंग्य गर्नु नौलो पनि थिएन।

रक्सीमा रुचि भएपनि उहाँ शाकाहारी हुनुहुन्थ्यो। आमाभन्दा पनि हजुरआमासँगको ज्यादा निकटताले उहाँ आजीवन शाकाहारी हुनुभयो। ‘घनिष्ठ मित्रता’का दिनमा शैलजा आचार्यले मांसाहारी बनाउन खोज्दा समेत उहाँ मांसाहारी हुनुभएन। स्कुलको वादविवाद प्रतियोगितामा जितेको इनामले हजुरआमालाई एउटा चोलोको कपडा किनिदिएको बाहेक अभिभावकलाई कमाएर केही दिएको उहाँलाई सम्झना थिएन। बरु उहाँका पिता मित्रलाल गिरिले मुखकै भरमा बेचिदिएको खेत अरूले जोतेको टुलुटुलु हेर्नुपर्‍यो दाइले। 

कटुता र निकटता 
लेनिनलाई उद्धृत गर्दै सत्तामा अन्तर कलह चलेका बेला सशस्त्र क्रान्ति सफल नहुने तर्क गर्नुहुन्छ दाइ। उहाँले माओवादी विद्रोहलाई माओवादीले भनेबमोजिम नै जनयुद्ध नै भनिरहनुभयो/लेखिरहनुभयो। दाइका लागि त्यो अभूतपूर्व संघर्ष थियो, त्यसमा भएको मानवीय क्षति बलिदानको उदाहरण  थियो। तर सशस्त्र  विद्रोह गर्नै नहुने अडानका बाबजुद गिरिजाबाबुको योजना र बीपीको स्वीकृतिमा भएको टिम्बुरबोटे (ओखलढुंगा) काण्डको सदासर्वदा कट्टर आलोचक रहिरहनु भयो। ‘कोइरालाहरूले आफ्ना कुनै दुरदुरतकका रिश्तेदारलाई समेत नपठाई सोह्र जनालाई मरवाए’ भनिरहनु भयो। ओखलढुंगा कब्जा गर्ने अभियानका योजनाकार जीपी र सहमति दिने बीपीलाई अभियुक्त र मतियार नै ठान्नुभयो। पक्राउ परी फाँसीको सजाय पाएका क्याप्टेन यज्ञबहादुर थापाको नाममा  त लहानमै प्रतिष्ठानै  स्थापना गर्नुभयो। तर ‘प्रचण्ड–बाबुरामले आफ्ना छोराछोरीलाई सुरक्षित राखेर विपन्न नेपालीका छोराछोरी मरवाए’ भनेर सायदै भन्नुभयो/लेख्नुभयो।

कोइराला परिवारसँग उहाँको सम्बन्ध पनि उस्तै। राजनीतिक सम्बन्ध कटुतापूर्ण नै थियो। किशुनजी सक्रिय हुन्जेल उहाँकै गुटमा रहेर प्रदीप दाइ कोइरालाहरूसँग भिड्नुभयो। पछि किशुनजीको उत्तराधिकारीका रूपमा शेरबहादुर देउवालाई अघि सार्नमा पनि उहाँको भूमिका महत्त्वपूर्ण छ। तर, कोइराला परिवारका सबैजसोसँग सौहार्दपूर्ण–व्यक्तिगत सम्बन्ध रह्यो भने केहीसँग घनिष्टतम् नै। पोहोर मात्रै बितेका ‘निरु’सँग कोइराला परिवारसँगको कटुताको छाया कहिल्यै परेन। दिल्ली उत्रिएपछि पहिलो फोन नै निरुदालाई गरेर दाइले ‘सन्ध्याकालीन बैठकी’को कार्यक्रम फाइनल गरिहाल्ने गरेको सुनिन्थ्यो। उहाँ शेखर र शशांक कोइरालालाई पनि प्रेम गर्नुहुन्थ्यो।

प्रदीप दाइ एकबाजी निरञ्जन कोइरालालाई लिएर राममनोहर लोहियाकहाँ पुग्नुभयो। बीपीको भतिजो भन्ने थाहा पाउनासाथ लोहिया जंगिए। “कोइरालाहरूको खुनमै खराबी छ, आफ्ना परिवारबाहेक कसैलाई मान्छे देख्दैनन्”, लोहियाले झपारेछन्, ‘‘अब यसलाई नेता बनाउन बोकेर हिँडेका छौ।’’ 

पछिल्लो समय उहाँ कांग्रेस नेताभन्दा बढी समाजवादी चिन्तक भनेर चिनिनुभयो, आफूलाई पनि समाजवादीकै रूपमा चिनाउन चाहनुहुन्थ्यो। तर आफू कस्तो खालको समाजवादी भन्नेमा आफैँ स्पष्ट हुनुहुन्थेन। दुई वर्षअघि उहाँको अन्तर्वार्ता गर्ने क्रममा ‘तपाईंले भन्ने गरेको समाजवादको प्रारूप के हो? राजनीतिक/आर्थिक प्रणाली कस्तो?’ भन्ने जिज्ञासा पटक–पटक राख्दा पनि उहाँले प्रस्ट भन्न सक्नुभएन। कुरा घुमाउनु भयो या ‘कृषिलाई प्राथमिकता नदिई हुँदैन’ जस्तै कुरा गर्नुभयो, जुन डा. स्वर्णिम वाग्ले र डा. विश्व पौडेलजस्ता पुँजीवादी धारका अर्थशास्त्रीहरूले भनिआएकै कुरा हुन्। उहाँले सदैव पुँजीवादको घनघोर आलोचना गरिरहनुभयो।

उन्मुक्त
प्रदीप दाइले मन्त्री खान नरुचाएको कुराको बहुत चर्चा भयो, हुनेछ। एकचोटी पाँच–छजना आमन्त्रितबीचको ‘सन्ध्याकालीन बैठकी’मा दाइले भन्नुभयो, “मैले चाहेको भए शेरबहादुरले मन्त्री पद त दिइहाल्थे नि, म किन मन्त्री बन्न नचाहेको थाहा छ?” सबैले ‘किन त’ भन्ने भावमा मुखामुख गरे। दाइले त्यसपछि भन्नुभयो, “एकाबिहानै उठ्नुपर्ने भएकाले।” “मन्त्री हुँदैमा एकाबिहानै किन उठ्नु पर्‍यो त? दश बजे मन्त्रालय पुगे त भैगो नि दाइ!”, कसैले प्वाक्क थप्यो। दाइले भन्नुभयो, “कहाँ त्यस्तो हुन्छ? प्रधानमन्त्रीले बिहानै क्याबिनेट राख्देलान्, बिहानै रिबन काट्न कुद्नुपर्ला।” 

दाइको कुरा किशुनजीको ‘रक्सी खाने पैसाका लागि सांसद हुन खोज्या’ टाइपको हँसिमजाक झैँ सुनिए पनि उहाँको कुरामा दम थियो। राति अबेरसम्म पढ्ने, सिनेमा हेर्ने र बिहान अबेरसम्म सुत्ने चर्या थियो उहाँको। फकिर टाइपको उहाँ अनुशासनमा बाँधिएर निश्चित जिम्मेवारी फत्ते गर्ने स्वभावकै हुनुहुन्थेन। उहाँ सांसद त बन्न चाहनुभयो, तर मन्त्रीमा लोभिनुभएन। पार्टीको केन्द्रीय सदस्य छोड्नु भएन, पदाधिकारीमा अरुचि देखियो। अन्तर्वार्ताकै क्रममा यो प्रश्न तेर्स्याउँदा उहाँले ‘पदको आकांक्षीले बोल्नैपर्ने कुरा पनि बोल्न नसक्ने’ भन्दै ‘पार्टी जाए भाँड मे’ भनेर “लागेको कुरा पार्टी अनुशासनको डर नमानी बेधक बोल्ने आफूजस्तै मान्छे देशमा चाहिएको छ”, भनेर भन्नुभयो।

सम्पर्कमा रहेका पुराना मात्र होइन, नयाँ–नयाँ पात्रलाई पनि उहाँ प्रेम गर्नुहुन्थ्यो। आफूले रुचाएका जोकोहीलाई ‘मलाई भन्दा बेसी माया त कसलाई पो गर्नुहोला?’ जस्तो पार्दिने बानी थियो उहाँको। कृष्णज्वाला देवकोटा त ‘उहाँले प्रेम गर्ने मान्छे नै पाँच सय होलान्’ भन्नुहुन्छ। प्रत्येक वर्ष दाइको सिराहास्थित उहाँको बगैँचाबाट काठमाडौँ आएको आँप पाउनेहरूको सूची सम्भवतः ठुलै हुनुपर्छ। 

हाँसीमजाक
दाइको अध्ययन र ज्ञानको गहिराई भनिरहनै परेन तर उति गम्भीर अध्येतालाई हमेशा हल्का हँसिमजाकचाहिँ गरिरहन पर्ने! र, आफ्नै सहृदयीहरूलाई समेत उडाउने बानी थियो उहाँको। एकचोटी एकजना व्यवसायीलाई सबैको अघिल्तिर परिचय गराउँदै भन्दिनुभएछ, ‘उहाँ व्यापारी हुनुहुन्छ, तस्करी पनि गर्नुहुन्छ कि भन्ने मेरो गम्भीर आशंका छ।’ अनि ती व्यापारी निलोकालो भएछन्। दाइका यस्तै अनेकन् हर्कत देखेभोगेकी श्रीमती भारती गिरि सिलवाल भन्नुहुन्छ, “मान्छे त प्रदीप बदमास हो नि!”

दशकअघिदेखि दाइको एकदम निकटस्थमध्येका एक हुन् जुगल दाइ (भुर्तेल)। जुगल दाइलाई पनि कतिचोटि प्रदीप दाइले मुख निलोकालो हुने बनाइदिनु भएको थियो। एकचोटी दाइ र जुगल दाइ डा. देवेन्द्रराज पाण्डेकहाँ पुग्नुभएछ। 

पाण्डेकहाँ पुगेपछि प्रदीप दाइ– “डाक्साब्, तपाईंले जुगलजीलाई चिन्नु हुन्छ?” 

डा. पाण्डे– “जुगलजीलाई किन नचिन्नु नि।”

प्रदीप दाइ– “तपाईंले उहाँलाई चिन्नु भएकै छैन। उहाँले तपाईंलाई खासै मन पराउनु हुन्न है। माओवादीप्रति उदार भयो भनेर आलोचना गरिरहनुहुन्छ।” 

प्रदीप दाइ साथीहरूमाझ यस्ता मजाकहरू गर्नुहुन्थ्यो, जसबाट उहाँका अत्यन्त प्रियजनलाई समेत असहज हुन्थ्यो। 

अर्को एउटा प्रसंग छ- एकचोटी दाइले जुगल दाइलाई भारतीय दूतावास पुर्‍याइदिन भन्नुभएछ। जुगल दाइले दूतावासको ढोकैमा छाडेर फर्किन खोजे पनि दाइले ‘राजदूतसँग एक कप चिया पिएर फर्किनु न!’ भन्नुभएछ।

राजदूतसँग भेट भएपछि प्रदीप दाइ– “एम्बेस्डर साहब, जुगलजीलाई चिन्नुहुन्छ?”

राजदूत रणजित रायले जुगल दाइलाई भेटेकै थिएनन्, ‘चिन्दिनँ’ भनिहाले।

प्रदीप दाइ– “अनि तपाईं जुगलजीलाई त चिन्नुहुन्न भने नेपालमा आएर फेरि कसलाई चिन्नुभयो त? नेपालबारे के थाहा पाउनु भयो?” 

बस्तीपुरका उत्पीडित डोम–मुसहरदेखि प्रधानमन्त्री हुन् वा प्रधानमन्त्री नै बनाउने/हटाउने ल्याकत राख्ने ठानिने भारतीय राजदूतलगायत सबैसँग कुरा गर्ने यस्तै शैली थियो दाइको।

आफूलाई प्रिय लागेका या आफूसँग हिँड्नेहरूको अरूलाई चिनजान गराउँदा बढाइचढाइ भन्दिने अर्को बानी थियो दाइको। जुगल दाइलाई नै अरूसँग चिनजान गराउँदा कहिले ‘उपेन्द्र महतोको व्यापारिक साझेदार’ भन्दिनुहुन्थ्यो त कहिले ‘हाइड्रो पावर कम्पनीको धन्दासेठ’ भन्दिनुहुन्थ्यो दाइ। जबकि, जुगल दाइ एउटा हाइड्रो पावर कम्पनीको प्रमुख कार्यकारी मात्र हो। एकचोटी दुई तीन दिन वीरगन्ज बसाइँ सकेर काठमाडौँ फर्किँदा एयरपोर्टमा लिन आएका सहयोगीहरूसँग मेरो परिचय गराउँदा दाइले भनिदिनुभयो, ‘‘उहाँ नयाँ पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ।’’ मैले ‘दाइ, तपाईं मेरो जागिर खोसवाई दिनुहुन्छ’ भन्दा ‘‘यिनीहरूलाई भन्दिए फरक पर्दैन के’’ भन्नुभयो। प्रदीप दाइ मजाक गर्नुहुन्थ्यो, उहाँ यस्तै हुनुहुन्थ्यो।

प्रदीप दाइ पढाइको भोको हुनुहुन्थ्यो। बोल्न उहाँले अल्छी मान्नुभएन तर लेख्नमा चाहिँ अल्छी हुनुभयो। श्रीमती भारती सिलवालले अस्पतालमा सुनाएअनुसार ‘आज मलाई लेख्नु छ, भेट्न आउनेहरूलाई म बाहिर गएको छु भन्दिनु है’ भन्नुहुन्थ्यो। तर घरमा मान्छेहरू आएपछि सफा कुर्ता–पाइजामामा रिटिक्क परेर बाहिर निस्किनुहुन्थ्यो र गफगाफ गरेरै दिन बिताइदिनुहुन्थ्यो। तर पछि ‘आज पनि केही लेख्न पाइनँ’ भन्दै झोक्किनुहुन्थ्यो। वातावरणविद् उत्तमबाबु श्रेष्ठले ‘अरू ठूला काम गर्न नसक्नेलाई ग्रन्थ/गाथाले सम्झाउँछ’ भन्दै ‘भीन्चीलाई मोनालिसाले, मार्क्सलाई पुँजीले, डार्बिनलाई इभोलुसन (उद्विकास)ले सम्झाइरहेको’ लेखेका छन्। त्यस्तै, उनले प्रदीप गिरिलाई ‘अध्ययनशील, सादगी र शक्ति/सत्ताको भोक नभएको पाएँ’ भनेर लेखेका छन्। वास्तवमै ग्रन्थ/गाथाबाट सम्झिने बनाउन सक्ने खुबी प्रदीप दाइको थियो तर उहाँले अल्छी गर्दिनुभयो। उहाँले युवावयमै केही कृति त लेख्नुभयो, जुन उहाँलाई सम्झिइरहने बनाउने ल्याकत राख्दैनन्। उहाँले आफैँले लेख्न छाडेको त दशकौँ बितिसकेको थियो। उहाँका पछिल्ला लेखहरू त उहाँले बोलेको–रेकर्ड गरी उतारिएका हुन्।

‘धर्म’ र धर्मसंकट 
मधेसमै पुस्ता–दरपुस्ता बसेर मधेशकै भाषा/संस्कृतिको अभ्यास गरेकाहरू पनि मधेस आन्दोलनपछि मधेसीको आत्मबल बढेकामा असन्तुष्ट सुनिन्छन्। पहाडिया भएकै कारण मधेसीबाट अतिरिक्त सम्मान नपाएकामा खिन्न सुनिन्छन्। तर प्रदीप दाइको मधेस/मधेसीप्रतिको प्रेम निःस्वार्थ थियो, भोटको स्वार्थ थिएन। मधेसीको राष्ट्रप्रेममा शंका गरेको सुनेपछि उहाँ झर्किहाल्नुहुन्थ्यो। श्रीमती भारतीका अनुसार मेडिसिटीमा एकदिन उनका सहयोगी रामपल्टन साह अस्पतालबाहिर गएका थिए, दाइले भन्नुभयो, ‘तिमी पहाडियाहरू मधेसीलाई के देखिसहन्थ्यौ, लखेटिछाड्यौ होइन?’ भन्नुभयो।

नख्खु जेलमा बस्ने क्रममा किशुनजीसँग नजिकिएपछि प्रदीप दाइ बीपीसँग क्रमशः टाढिँदै जानुभयो। जीपीसँग त दाइको कहिल्यै र्‍याङठ्याङ मिलेको होइन, आजीवन आलोचक रहनुभयो। शेरबहादुर देउवाको सदावहादर समर्थक रहनुभयो, ‘सात खुन माफ’ गरिरहनुभयो। यदाकदा हाँसिमजाकमा उडाउनेबाहेक देउवाको आलोचना गरेको थाहा पाइएन। प्रजातन्त्रविरुद्ध ‘कू’ गर्ने योजनाको तहत् देउवालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाउँदा पनि उहाँ सरकारको पक्षमा माहोल बनाउन दिल्ली पुग्नुभएको थियो। कांग्रेसको पछिल्लो महाधिवेशनमा चाहिँ विमलेन्द्र निधि पार्टी सभापति बनून् भन्ने उत्कट अभिलाषाका कारण दाइ ‘देउवा नदोहोरिउन्’ भन्ने चाहनुहुन्थ्यो। देउवाविरुद्ध निधिको पक्षमा सक्रिय हुन उहाँलाई सजिलो थिएन, क्यान्सरको उपचारकै क्रममा रहेकाले उहाँको त्यो धर्मसंकट यसै टर्‍यो। अब त सबै कुरा टरी नै गए। 


सम्बन्धित सामग्री