Sunday, July 13, 2025

-->

यसकारण हुनैपर्छ शिक्षणको केन्द्रमा संगीत

संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौँ। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौँ।

यसकारण हुनैपर्छ शिक्षणको केन्द्रमा संगीत

यस वर्ष अप्रिलमा जब नेपाली शिक्षकहरू आफ्नो पेसागत अधिकार र प्रतिष्ठाका लागि सडकमा उत्रिए, उनीहरूको आन्दोलन केवल नारामा सीमित थिएन—त्यो आत्मा र अभिव्यक्तिले भरिएको कदम थियो। आन्दोलनको क्रममा काठमाडौँका सडकका छेउछाउ उनीहरू गीत गाइरहेका, नाचिरहेका र कला प्रस्तुत गरिरहेका देखिन्थे। यो कुनै उनीहरूको आन्दोलन भ्रमित गर्ने कार्य थिएन, बरु शिक्षकमाथि थोपरिएको सरकारी मौनतालाई भङ्ग गर्ने सिर्जनात्मक प्रयास थियो। तर केही राजनीतिज्ञहरूले यसलाई गम्भीर रूपमा नलिएर शिक्षकमाथि व्यंग्य गरे। उनीहरूले नाचगानलाई कमजोरीको संकेत ठाने, तर त्यो त मौन प्रतिवाद थियो—संघर्षकै बीचमा पनि शिक्षकहरू मानव आत्माका कलाकार हुन् भन्ने कुरा सम्झाउने काम गरे।

कहिलेकाहीँ, जब म टिकटकमा स्क्रोल गर्छु, देशका विभिन्न स्थानमा केही शिक्षक र विद्यार्थीहरूलाई नयाँ लोक धुन र लोकप्रिय गीतमा नाचिरहेको, गाइरहेको देख्छु। उनीहरूले स्कुलमा, कक्षाकोठामा, डाँडामा, नदी किनारमा, धान बालीका खेतमा—जताततै यसो गरिरहेका हुन्छन्। ती दृश्य स्वतःस्फूर्त, रमाइलो, र गहिरो गरी नेपालीपनसँग जोडिएजस्ता लाग्छन्। यी भिडियोहरू केवल मनोरञ्जन दिनका लागि मात्र होइनन्—यी हाम्रो पहिचान झल्काउने झ्यालजस्तै हुन्। चुनौतीहरूले भरिएको देशमा संगीत नै मानिसहरूलाई एक सूत्रमा बाँध्ने तत्त्वजस्तो लाग्छ। संगीतले आत्मा/भावनालाई उठाउँछ, पुस्ताहरू जोड्छ, र साधारण पलहरूलाई अर्थपूर्ण बनाउँछ। कहिलेकाहीँ त यस्तो लाग्छ—संगीत नेपालीहरूले गर्ने कुरा मात्र होइन, हामी नेपालीहरू जो हौं, संगीतकै अभिव्यक्ति हौं ।

हाम्रो जनजीवनसँग यति घनिष्ठ रूपमा जोडिएको संगीत—के यसलाई शिक्षाको मूल अङ्ग बनाउन सकिँदैन? अवश्य सकिन्छ। संगीत हाम्रो जीवनशैलीमा यति गहिरो रूपमा बसेको छ कि यसलाई शिक्षाको मूल अङ्ग बनाउनु केवल सम्भव मात्र होइन, आवश्यक पनि छ ।

वर्तमान समयमा, कृत्रिम बौद्धिकता (एआई) ले हामीले पढाउने र सिक्ने तरिकाका नियमहरूलाई द्रुत रूपमा परिवर्तन गरिरहेको यो युगमा, हाम्रा कक्षाहरूमा एउटा सबैभन्दा पुरानो, सबैभन्दा मानव-केन्द्रित उपकरण वा कला—संगीतको - प्रयोग भने गहिरो रूपमा ओझेलमा पर्दै गएको छ। प्रविधिको चमत्कारहरूले शिक्षालाई सहज बनाइरहेका छन्, तर कहिलेकाहीँ हामी बिर्सिन्छौँ कि ज्ञानको यात्रामा भावना, सम्बन्ध, र सांस्कृतिक पहिचान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। संगीत केवल मनोरञ्जनको साधन होइन; यो शिक्षामा संलग्नता, रचनात्मकता, स्मरण शक्ति, र भावनात्मक सम्बन्धको विकास र बिस्तारको सशक्त माध्यम बन्न सक्छ।

औपचारिक शिक्षाको सन्दर्भमा हामी प्रायः संगीतलाई एउटा "अतिरिक्त" विषय वा क्रियाकलापका रूपमा सोच्छौं— मूल विषयहरू जस्तै गणित, विज्ञान वा भाषा शिक्षणको "वास्तविक" काम सकिएपछि गरिने एउटा रचनात्मक गतिविधि। यसलाई एउटा अतिरिक्त क्रियाकलाप, एउटा विलासिता, र कहिलेकाहीँ त शिक्षण-सिकाइ विचलित पार्ने कुराका रूपमा लिइन्छ। तर के हुन्छ यदि हामीले सोचिरहेका यी सबै कुरा उल्टो साबित भइदिए भने?

के हुन्छ जब हामी सङ्गीतलाई औपचारिक शिक्षा भन्दा बाहिरको अनावश्यक वा अतिरिक्त विषयको रूपमा मात्र नभएर सिकाइको केन्द्रीय विषयका रूपमा हेर्छौं?

बच्चाहरूमा बिछ्यौनामा राखेर निद्रा बोलाउन आमाहरूले गाउने मर्मस्पर्शी 'लोरी' को सुमधुर धुनदेखि लिएर सिम्फोनीका जटिल तालसम्म, संगीत मानिसहरूको लागि आफ्नो अनुभव, भावना र परिवेश बुझ्ने आधारभूत माध्यम हो। यसले मस्तिष्कका लगभग सबै क्षेत्रहरूलाई एकैसाथ सक्रिय बनाउँछ, जसमा स्मृति, भावना, भाषा, मोटर कार्य (शरीरले हिँड्न, बोल्न, लेख्न, उठ्न-बस्न जस्ता गतिविधि गर्ने क्षमता) र कल्पनालाई संलग्न हुन्छन्। स्नायु वैज्ञानिकहरूले पनि, शिक्षक र विद्यार्थीहरूले पुस्तौँदेखि सहजै थाहा पाएको कुरालाई निरन्तर पुष्टि गरिरहेका छन्: संगीतले सिकाइलाई दिगो बनाउँछ। यसले मनोरञ्जन मात्र दिँदैन—यसले सिकाइलाई बढाउँछ, गहिरो बनाउँछ र रूपान्तरण गर्दछ।

तैपनि, अधिकांश विद्यालयहरूमा—विशेष गरी कम स्रोत भएका शिक्षा प्रणालीहरूमा—संगीत अझै पनि छुट्टै, ऐच्छिक वा कम बजेटको विषयका रूपमा हेरिन्छ । नेपालमा अतिरिक्त क्रियाकलापका रूपमा वा विशेष महोत्सव वा घटनाहरूमा सांगितिक क्रियाकलाप हुने गरेता पनि शिक्षण-सिकाइको अभिन्न अंगका रूपमा संगीतलाई लिने प्रचलन भने छैन l  हामीले एउटा महत्त्वपूर्ण अवसर गुमाउँदै छौँ।

संगीतको निको पार्ने शक्ति
संगीतमा मानिसलाई कुनै रोग वा पिडामा निको पार्ने अद्भुत क्षमता हुन्छ—केवल शारीरिक रूपमा होइन, भावनात्मक र आध्यात्मिक रूपमा पनि। संसारका सबै सभ्यता र संस्कृतिहरूले संगीतलाई चिन्ता कम गर्न, दुःखसँग जुध्न, खुसी मनाउन, र जीवनसँग गहिरो रूपमा जोडिन सदैव प्रयोग गर्दै आएका छन्। संगीत एउटा सार्वभौमिक भाषा हो, जसले सिधै हृदयसँग संवाद गर्छ। प्रयोगशालामा वा कक्षामा अध्ययन हुनु भन्दा धेरै पहिले नै संगीतको प्रयोग उपचारको रूपमा हुने गर्थ्यो। 

वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरिरहेका छन् कि असल संगीतले तनाव घटाउने, मुड सुधार गर्ने, रक्तचाप कम गर्ने, निद्रा सुधार्ने, र शल्यक्रिया वा आघातपछि स्वास्थ्य सुधारमा सहयोग गर्ने क्षमता राख्छ। अस्पतालहरूमा, सङ्गीतचिकित्सकहरूले बिरामीको पीडा, सम्झनाको कमी, र मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्न सहयोग पुर्‍याउँछन्। अब विज्ञानले प्रमाणित गरेको छ कि संगीतले मस्तिष्कको लचिलोपन (न्युरोप्लास्टिसिटी) बढाउँछ, र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ।

संगीतको उपचार शक्ति भावनात्मक गहिराइमा बस्छ। कुनै एउटा धुनले घरको सम्झना दिलाउन सक्छ, बिर्सिएका स्मृतिहरू फर्काउन सक्छ, वा शब्दले व्यक्त गर्न नसक्ने भावना प्रकट गर्न सक्छ। एक्लोपन वा पीडाको क्षणमा, संगीतले साथ र आशाको अनुभूति दिन सक्छ।

बालबालिकाका लागि संगीतले सिकाइ, ध्यान, र भावनात्मक विकासमा सहयोग पुर्‍याउँछ। वृद्धहरूका लागि संगीतले आफ्नो सुखद स्मृति र पहिचानलाई जोगाइराख्न सघाउँछ। र हामी सबैका लागि, संगीत एक यस्तो माध्यम हो—जसले सान्त्वना, साहस, र शान्ति दिन सक्छ, कहिलेकाहीँ त्यो बेला पनि जब अरू कसैले केही गर्न सकेको हुँदैन । हामीले सुन्न सक्ने हो भने सौन्दर्य र सान्त्वना टाढा हुँदैनन्, हामी सँगै हुन्छन्।

पाठ्यक्रमको अभिन्न अंग संगीत
कला रणनीति मात्र होइन, सिकाइ रणनीति पनि हो । शिक्षामा संगीतलाई एकीकृत गर्नुको अर्थ प्रत्येक शिक्षकलाई संगीत शिक्षकमा रूपान्तरण गर्नु होइन। हरेक शिक्षक गायक वा संगीतकार बन्नै पर्छ भन्ने छैन। तर संगीतका प्राकृतिक शक्तिहरू—लय, धुन, भावना, संरचना—को प्रयोग गरेर हरेक विषयमा सिकाइलाई अझ प्रभावकारी र समावेशी बनाउने सिप शिक्षकसँग भएमा उत्तम हुन्छ।

भाषा कलामा, लयबद्ध श्लोकहरूले प्रारम्भिक पाठकहरूका लागि ध्वनि विज्ञान ( फोनिक्स) र हिज्जेलाई अझ बलियो बनाउन सक्छन्। विद्यार्थीहरूले गीतका शब्दहरूको विश्लेषण गर्दा साहित्यिक व्याख्या कौशल विकास गर्छन्—सम्भवतः एआई-सञ्चालित उपकरणहरू प्रयोग गरेर पनि गीतको गहिरो अर्थ पत्ता लगाउन सक्छन्। कवितालाई तालमा लेख्नु वा उपन्यासको चरित्रका लागि "साउन्डट्र्याक" सिर्जना गर्नुले रचनात्मकता र बुझाइका नयाँ मार्गहरू खोल्न सक्छन्।

गणितमा, संगीतले ढाँचा (प्याटर्न्स), भिन्न (फ्र्याक्सन्स) र क्रम (सिक्वेन्सेस) लाई स्पर्शयोग्य र श्रव्य पहुँच प्रदान गर्दछ। विद्यार्थीहरूले विभाजन बुझ्नका लागि तालमा ताली बजाउन सक्छन्, वा अनुपात र आवृत्तिलाई कल्पना गर्न स्केलहरू पत्ता लगाउन सक्छन्। एक आकर्षक धुनमा राखिएका गुणन तालिकाले घण्टौँको कण्ठ गर्ने अभ्यासभन्दा बढी प्रभावकारी र दिगो हुन्छन्।

विज्ञानमा, विद्यार्थीहरूले प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) वा मानव पाचन प्रणाली (ह्युमन डाइजेस्टिभ सिस्टम) जस्ता जैविक प्रक्रियाहरू कण्ठ गर्न गीतहरू रचना गर्न सक्छन्। ध्वनि तरंगहरूसँग प्रयोग गर्न डिजिटल अडियो उपकरणहरू प्रयोग गर्दा भौतिकशास्त्र (फिजिक्स) को प्रत्यक्ष प्रदर्शन हुन्छ—अमूर्त कुराहरू सुन्न सकिने बन्दछन्।

इतिहास तथा सामाजिक अध्ययनमा, संगीतले समय र स्थानसँग भावनात्मक सम्बन्ध प्रदान गर्दछ। नागरिक अधिकारका गानहरू, युद्धकालीन गीतहरू, विभिन्न संस्कृतिहरूका लोकगीतहरू—यी केवल श्रव्य कलाकृतिहरू मात्र होइनन्। तिनीहरू सहानुभूति, बुझाइ र स्मृतिका लागि भावनात्मक प्रवेशद्वार हुन्।

यी त केही सामान्य उदाहरण मात्र भए l

शैक्षिक साधनको रूपमा संगीत
संगीत केवल मनोरञ्जनको माध्यम होइन, यो एक प्रभावकारी शैक्षिक साधन हो, जसले सिकाइलाई सहज, रमाइलो र अर्थपूर्ण बनाउँछ। त्यसैले, शिक्षक तालिममा संगीतलाई एक अतिरिक्त सीपको रूपमा मात्र होइन, एक प्रभावकारी शैक्षिक र भावनात्मक उपकरणको रूपमा समावेश गर्नुपर्छ। जब शिक्षकहरूलाई संगीतलाई कक्षामा उद्देश्यपूर्ण रूपमा प्रयोग गर्न सिकाइन्छ, उनीहरू विद्यार्थीलाई आकर्षित गर्न, समावेशी सिकाइ वातावरण बनाउन, र भावनात्मक कल्याणमा सहयोग पुर्‍याउन सक्षम हुन्छन्। संगीतले कक्षा व्यवस्थापन, दिनचर्या निर्माण, र सिकाइको विषयवस्तुलाई सृजनात्मक र स्मरणीय बनाउने कार्य गर्छ।

प्राज्ञिक महत्वका अतिरिक्त, संगीतले कक्षाकोठाको भावनात्मक र सामाजिक वातावरणलाई सुदृढ आकार प्रदान गर्नमा एक शक्तिशाली भूमिका खेल्दछ, जसको प्रायः कम आकलन गरिएको हुन्छ।

कुनै कुनै शिक्षा प्रणालीमा शिक्षकहरूले प्रायः संक्रमणकालीन कार्यका लागि संगीत प्रयोग गर्छन्: परेड खेल्नको लागि संगीत, स्कुल सुरु हुने बेलामा प्रार्थना वा राष्ट्रिय गान, सरसफाइको गीत, केही कुरा सुरु गर्दा वा अन्त्य हुँदा बज्ने संगीत, ध्यान केन्द्रित गर्ने धुन, वा "स्वागत छ" भन्ने धुन। यी केवल चलाखीपूर्ण चालबाजी होइनन्—तिनीहरू पनि व्यवहारिक सिकाइ सिद्धान्तमा आधारित छन्। केही समयको धुन वा संगीत एउटा संकेत, एउटा संरचना, विद्यालयको दिनभरि एउटा कोमल, अशाव्दिक (ननभर्बल) मार्गदर्शक बन्छ।

व्यक्तिगत काम गर्दा शान्त वाद्य संगीतले चिन्तित मनलाई शान्त पार्न सक्छ। विश्रामको समयमा उत्साहजनक गीतहरूले बेचैन कोठालाई ऊर्जावान् र एकीकृत गर्न सक्छन्। सामूहिक गीत गाउने वा साधारण ड्रमिङ सर्कलले विद्यार्थीहरूबीचको सम्बन्धलाई गहिरो बनाउन सक्छ, जसले समुदायको भावना वा स्पिरिट सिर्जना गर्दछ र एक्लोपन कम गर्छ।

बढ्दो स्क्रिन समय, महामारी, साथीहरूबाट हुने दबाब, स्कुलको कामले गर्दा हुने चिन्ता लगायत सामाजिक, आर्थिक, मनोवैज्ञानिक तथा अन्य कारणहरूले युवाहरू बढ्दो मानसिक स्वास्थ्य चुनौतीहरूसँग जुझिरहेका बेला संगीतले मनमस्तिष्कलाई शान्त पार्ने र समर्थन गर्ने एउटा अशाव्दिक, भावनात्मक बौद्धिक उपकरण प्रदान गर्दछ। यसलाई ग्रहण गर्न कुनै पनि भाषामा दक्षता वा जटिल उपकरणहरूको निपुणता चाहिँदैन। यसलाई केवल कान, खुलापन र अभिप्राय  चाहिन्छ।

संज्ञानात्मक विज्ञान स्पष्ट छ
यो केवल किस्सा मात्र होइन। ठोस अनुसन्धानमा आधारित छ र यसको सकारात्मक पक्षमा प्रमाण निरन्तर बढिरहेको छ।

संगीतले मधुर धुन र लयबद्ध संकेतहरू प्रदान गरेर स्मरण शक्ति बढाउँछ। यसले मस्तिष्कमा योजना (schema) नेटवर्कहरू सक्रिय गर्दछ, जसले नयाँ ज्ञानलाई इन्कोड गर्न र पुनः प्राप्त गर्न सजिलो बनाउँछ। यसले डोपामाइन (dopamine) को उत्सर्जनलाई उत्प्रेरित गरेर एकाग्रता र प्रेरणामा सुधार गर्छ। संगीतले प्रसिद्ध अमेरिकी विकासात्मक मनोवैज्ञानिक हावर्ड गार्डनरले  प्रतिवादन गरेको बहु-बौद्धिकता सिद्धान्त (मल्टीपल इन्टेलिजेन्स थेरी) अन्तर्गत संगीत-लयबद्ध बुद्धि (म्युजिकल-रिदमिक इन्टेलिजेन्स) भनेर नामकरण गरेको क्षमतालाई शक्तिशाली रूपमा विकास गर्दछ  । यो सिकाइको एक आधारभूत माध्यम हो जुन धेरै विद्यार्थीहरूमा स्वाभाविक रूपमा हुन्छ । विशेष गरी परम्परागत व्याख्यानमा आधारित शिक्षणबाट लाभान्वित हुन नसक्ने विद्यार्थीहरूका लागि यो अत्यन्त उपयोगी हुन सक्छ।

शारीरिक अनुभूति अनुसन्धानले अर्को आकर्षक आयाम थप्छ: जब विद्यार्थीहरूले चाल, लय र अनुभूति—जस्तै ताली बजाएर, नाचेर वा साथमा ताली बजाएर—सिकाइ गर्छन्, तब उनीहरूले निष्क्रिय सिकाइको तुलनामा गहिरो स्नायु सर्किटहरू संलग्न गर्छन्, जसले बलियो बुझाइ र स्मरण शक्ति बढाउँछ।

छोटकरीमा भन्नुपर्दा, संगीतले सम्पूर्ण मस्तिष्कलाई सक्रिय बनाउँछ । यति हुँदाहुँदै पनि हामी यसलाई किन किनारामा राख्छौं?

मोन्टेसरी शिक्षा
संगीत मोन्टेसरी शिक्षाको अभिन्न अङ्ग हो, जुन बालबालिकाको समग्र विकाससँग जोडिएको हुन्छ। मोन्टेसरी दर्शनअनुसार, संगीत बालकको प्राकृतिक अभिव्यक्ति हो—यो भाषा, गति, भावना र सांस्कृतिक पहिचानसँग नजिकको सम्बन्ध राख्दछ। कक्षामा प्रयोग गरिने बेल, रिदमिक उपकरणहरू र टोन बारहरू बालबालिकालाई ध्वनि, स्वर, ताल, र मौनतालाई छुट्याउने क्षमतामा निखार ल्याउन मद्दत गर्छन्। गीत, कविताहरू र तालबद्ध अभ्यासहरूले भाषा सिकाइ, श्रवण क्षमता र शब्द भण्डार विस्तारमा सहयोग पुर्‍याउँछन्। यस्तै, संगीतसँग जोडिएका गतिविधिहरूले बालबालिकाको समन्वय, अनुशासन, र शरीरको सन्तुलन विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। संगीत मोन्टेसरी शिक्षामा बालबालिकालाई विभिन्न संस्कृतिहरूसँग परिचित गराउने माध्यम पनि हो, जसले उनीहरूमा सांस्कृतिक विविधताप्रति सम्मान र जिज्ञासा विकास गर्न सहयोग गर्छ। सृजनशीलता र भावनात्मक अभिव्यक्तिको माध्यमका रूपमा संगीतले बालबालिकालाई आफ्ना भावनाहरू व्यक्त गर्न र रमाइलो गर्न प्रेरणा दिन्छ। समूहमा गीत गाउनु वा सँगै वाद्यवादन गर्नुले सामाजिक सीप, सहकार्य र सामूहिक खुसीको भावना पनि विकास गर्छ। डा. मारिया मोन्टेसरीको विश्वास थियो कि संगीत पनि भाषाजस्तै मानव प्रवृत्तिको अभिन्न हिस्सा हो, र यसलाई बाल्यकालमै सघन रूपमा अभिवृद्धि गर्नुपर्छ।

प्रविधिले सजिलो 
"हरेक शिक्षक संगीतकार हुँदैन" भन्ने भनाइ अब पहिलेभन्दा कम सान्दर्भिक छ। प्रविधिले संगीत सिर्जना र शिक्षामा संगीतको एकीकरणलाई सहज र सुलभ बनाएको छ। अब त हामी सबै हात-हातमा संगीत बोकेर हिँडेको हुन्छौं।

शिक्षक र विद्यार्थीहरू दुबैसँग संगीतका सहज प्लेटफर्महरू को पहुँच छ, र अब त अत्याधुनिक एआई-सहयोगी संगीत सिर्जना उपकरणहरू पनि प्रयोग गर्न सक्छन्। सौरमण्डल (सोलर सिस्टम) बारे गीत बनाउन चाहनुहुन्छ? त्यसका लागि एप छ। विद्यार्थीहरूले कुनै ऐतिहासिक भाषणलाई आधुनिक बिटहरूमा रिमिक्स गर्न चाहन्छन्? उनीहरूले निश्चित रूपमा गर्न सक्छन्।

हामी परियोजना-आधारित, व्यक्तिगत, बहु-मोडल सिकाइको युगमा छौँ। संगीत यो प्रयोजनका लागि पूर्ण रूपमा उपयुक्त छ—पहुँचयोग्य, अनुकूल र गहिरो रूपमा।

सायद संगीतको सबैभन्दा ठूलो उपहार यसको विश्वव्यापकता हो—हरेक संस्कृति, हरेक समुदाय, हरेक कक्षाकोठामा संगीत हुन्छ। विविध परम्पराहरूबाट संगीतलाई एकीकृत गर्दा—चाहे त्यो नेपालको नेवारी गीत होस्, मैथिली लोकगीत होस्, तामाङ सेलो, दोहोरी, सोरठी, देउडा, झ्याउरे, थारू नृत्य, वा दक्षिण भारतको तमिल भक्ति भजन, वा जीवन्त अफ्रो-क्यारिबियन ताल—विद्यार्थीहरूलाई आत्म-दृश्यता (visibility), गर्व, र सम्बन्धको अमूल्य भावना प्राप्त हुन्छ ।

संगीतलाई विद्यालय शिक्षामा अनिवार्य वा संरचित रूपमा समावेश गर्दा सिकाइ अझ प्रभावकारी, समावेशी, र रमाइलो बनाउन सकिन्छ।नेपालजस्तो सांस्कृतिक विविधता भएको देशमा, संगीतलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्नु भनेको हाम्रो मौलिक लोक परम्परा, भाषा, र जातीय ज्ञान प्रणालीको संरक्षण र प्रवर्द्धन पनि हो। हाम्रा धुनहरू हाम्रा सम्पदा मात्र होइनन्, सिकाइको प्रभावशाली माध्यम पनि हुन्।

यसले बढ्दो विश्वव्यापी र अन्तरसम्बन्धित समाजमा आवश्यक पर्ने महत्त्वपूर्ण अन्तर-सांस्कृतिक चेतना र सहानुभूति पनि विकास गर्दछ। सांस्कृतिक रूपमा उत्तरदायी-संगीत राम्रो शिक्षणकला मात्र होइन—यो न्यायको एक शक्तिशाली कार्य पनि हो।

आजभोलि बहुभाषिक कक्षाकोठामा, जहाँ बालबालिकाहरू धेरै थरी भाषाहरू बोल्छन्, संगीत प्रायः हाम्रो साझा भाषा बन्दछ। एउटा धुनले शब्दहरूले पार गर्न नसक्ने सीमाहरू पार गर्न सक्छ।

हामी शिक्षामा एक महत्त्वपूर्ण चरणमा प्रवेश गरिरहेका छौं—एआई, परिवर्तनशील श्रम बजार, जलवायु अनिश्चितता, राजनैतिक ध्रुवीकरण, प्रजातन्त्रका नाममा अधिनायकवादको उदय, र बढ्दो असमानताहरूले आकार दिएको चरण। यस्तो अनिश्चित भविष्यमा, रचनात्मकता, अनुकूलनशीलता, भावनात्मक बुद्धि, संचार, र सहकार्यजस्ता सिपहरू प्राविधिक ज्ञान जत्तिकै, वा त्योभन्दा बढी महत्त्वपूर्ण बन्दै गइरहेका छन्।

संगीतले यी सबै क्षमताहरू विकास गर्दछ। यसले मस्तिष्क र सम्बन्धहरू बनाउँछ। यसले कल्पना र पहिचानलाई बढाउँछ।

छोटकरीमा भन्नुपर्दा, संगीत समग्र शिक्षाको धुकधुकी हो।

यदि हामी केवल परीक्षा दिने वा परीक्षामा उच्च अंक ल्याउनेहरूलाई मात्र होइन, विचारक, स्वप्नदर्शी, नवप्रवर्तक, दयालु,  र परिवर्तन-निर्माताहरूलाई हुर्काउन गम्भीर छौं भने, हामीले हाम्रो शिक्षा प्रणालीमा संगीतका लागि स्थान बनाउनुपर्छ—केवल संगीत कक्षामा मात्र होइन, हरेक ठाउँमा।

हरेक विषयको गीत गाइयोस्। हरेक कक्षाकोठा गुन्जियोस्। विभिन्न विषयहरूको सामञ्जस्यता अहिलेदेखि नै सुरु होस्—भोलि होइन, आजैबाट ।

संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौं। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौं। अन्तरविषयगत सिकाइ केवल मानवीय शिक्षाको आधार होइन, प्राविधिक तथा व्यावसायिक शिक्षाको पनि अनिवार्य अङ्ग हो। एकीकृत, सर्वाङ्गीण शिक्षा संगीत विना पुरा हुन सक्दैन ।

 (अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका विष्ट कवि हुन्। उनले त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको प्राध्यापक तथा युनेस्कोमा शिक्षा विशेषज्ञ भई काम गरेका छन्।)


सम्बन्धित सामग्री