यस्तै चुनावी अभियानले मात्रै प्रधानमन्त्री मार्क कर्नीजस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्थ्यो। शान्त र प्राविधिक स्वभावका यी पूर्वबैंकरले खास गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभूतपूर्व धम्की र उपहास सामना गर्दै लाखौँ क्यानडालीलाई आफू नै राष्ट्रको नेतृत्व गर्न उपयुक्त व्यक्ति रहेको विश्वास दिलाएर प्रधानमन्त्रीमा निर्वाचित भए।
क्यानडालीलाई तिनको मतपत्रमा रहेका कुनै पनि उम्मेदवारभन्दा पनि आफ्नो पक्ष लिन आग्रह गर्दै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको दिन सन्देश पठाएका थिए, ‘क्यानडाका महान् जनतालाई शुभकामना।’
स्न्याप इलेक्सन (आकस्मिक निर्वाचन) अभियानको अन्तिम घडीमा ह्वाइट हाउसबाट आएको ट्रम्पको यस्तो (आक्रोशपूर्ण) सन्देशले क्यानडालीलाई फेरि एक पटक धैर्यता र योग्यतालाई नै सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने कुरा याद दिलायो।
ह्वाइट हाउस पुनः फर्किएपछि भन्सार शुल्क बढाउँदै र क्यानडा कब्जाको कुरा गरेर ट्रम्पले क्यानडालीलाई उत्तेजित पार्दै तिनमा देशभक्तिको भावना उकास्न भूमिका खेले।
जस्टिन ट्रुडोले गत जनवरीमा आफ्नो अलोकप्रियताबीच राजीनामा घोषणा गर्दासम्म कार्नी राजनीतिज्ञ भइसकेका थिएनन्। तर मार्चसम्म त लिबरलहरूले उनलाई नेता र प्रधानमन्त्रीको रूपमा चुने। लाखौँ क्यानडालीले यी अनुभवी बैंकरलाई ट्रम्पको प्रतिरोध गर्न सक्ने नेताका रूपमा सोमबार चुनेका हुन्।
“प्रत्येक क्यानडालीलाई मेरो यही सन्देश छ,” मंगलबार बिहान मतगणना जारी रहँदा कार्नीले भने, “तपाईं जहाँ बसे पनि, तपाईंले जुनसुकै भाषा बोले पनि र जसरी भोट दिए पनि क्यानडालाई आफ्नो घर मान्ने सबैको प्रतिनिधित्व गर्न म सधैँ सक्दो प्रयास गर्नेछु।”
'बोरिङ म्यान'को छलाङ
कार्नीमा व्यक्तिगत आकर्षणको चमक छैन। ट्रुडोको आश्चर्यजनक बहिर्गमनको घोषणापछि पार्टी नेतृत्वमा कार्नीको उम्मेदवारीलाई समर्थन गर्ने पहिलो लिबरल सांसदले भने सोही कुरा महत्त्वपूर्ण भएको बताएका थिए।
“हामी आकर्षक व्यक्तित्वको खोजीमा छैनौँ, हामी योग्य र वास्तविक व्यक्तिको खोजीमा छौँ,” अली एहसासीले टोरन्टोमा आफ्नो प्रचार कार्यालयमा निर्वाचनको दिनअघिको अन्तिम सप्ताहन्तमा पोलिटिकोलाई बताएका थिए।
एहसासीको कार्नीसँग डेढ वर्षअघि मात्र भेट भएको थियो। गत अप्रिलमा कार्नीले टोरन्टोको एक होटलमा आयोजित ‘थिंक ट्यांक कार्यक्रम’मा महत्त्वपूर्ण भाषण गर्दा एहसासी त्यहीँ थिए।
त्यसपछि एहसासीले मार्कलाई प्रचारक नभई व्याख्याताका रूपमा बुझे। “उनको राजनीतिक भाषा थिएन। नाराबाजी पनि थिएन। त्यसो हुँदा, त्यो विशेष कार्यक्रममा साँच्चै भन्नुपर्दा, अलिकति चिन्ता लागेको थियो,” एहसासीले भने।
प्रचारप्रसारका क्रममा भएका भाषणको समयमा, मार्क कार्नीको आवाज कहिलेकाहीँ अलि चर्को हुन्छ, तर उनको बोल्ने तरिका र लय हरित वित्तसम्बन्धी विश्व सम्मेलनमा उनले दिएको प्रस्तुतिझैँ हुन्छ। उनको त्यस्तो भाषण सामान्य व्याख्यानभन्दा अलिकति बढी इङ्गेजिङ (रोचक) हुन्छ।
“मलाई लाग्छ, जानाजानी नै उनले त्यसो गर्छन्,” एहसासी भन्छन्।
धेरैजसो राजनीतिक पर्यवेक्षकहरूले राजनीतिक ज्ञान नभएका र केबल नम्बरसँग खेल्ने व्यक्तिले पार्टीको भाग्य बदल्न सक्दैनन् भन्ने ठानेका थिए। ट्रुडोले बल्लतल्ल आफ्नो राजीनामा घोषणा गरेलगत्तै मत सर्वेक्षणहरूमा लिबरलहरूको अवस्था निराशाजनक स्तरमा पुगेको थियो।
उतिखेर कन्जरभेटिभ नेता पियरे पोइलियभ्रे २५ अंकले अगाडि थिए, र आउँदो प्रयासमा उनको जित लगभग निश्चितझैँ थियो। लिबरलका कर्मचारी महिनौँयता पार्टी छोड्दै थिए र बाँकी रहेकामध्ये धेरैले पार्टी फेरि बौरिन्छ भन्ने आशा गुमाइसकेका थिए।
“बैंकर एकदमै चनाखो स्वभावका हुन्छन्,” एहसासीले भने, “तर सबैले स्पष्ट रूपमा देखेका चुनौतीका बाबजुद ...उनमा चुनौती झेल्ने हिम्मत थियो।”
जनवरीमा, परिवर्तनकारी घटना झनै आश्चर्यजनक ढंगमा अघि बढे।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले क्यानडासँगको भन्सार शुल्कको लडाइँ तीव्र बनाए र क्यानडालाई आफ्नो नियन्त्रणमा लिने कुरालाई थप जोड दिए। कार्नी उतिखेर पार्टी नेतृत्वमा पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डसँग प्रतिस्पर्धा गरिरहेका थिए, जसले डिसेम्बरमा अर्थमन्त्रीबाट दिएको राजीनामाले ट्रुडोको बहिर्गमनको मागलाई तीव्र बनाएको थियो।
कार्नीले फ्रिल्यान्डलाई पछाडि पार्दै फन्ड संकलन गरे र समर्थन जुटाए र मार्च ९ मा सबै मत गणना हुँदा नेतृत्वमा स्पष्ट रूपमा विजय हासिल गरे। नौ दिनपछि, युरोपको छोटो भ्रमण र ट्रुडो युगका उच्च-प्रोफाइल-नीतिहरू उल्टाउने शृंखलापछि, कार्नीले निर्वाचनको घोषणा गरे।
कार्नीले प्रचारप्रसारका लागि तयार आफ्नो बसमा पाइला राखिसक्दा, लिबरलहरूले सन् २०२३ यता, पहिलो पटक मत सर्वेक्षणमा अग्रता हासिल गरेका थिए। उनलाई भोलिको योजना बनाउनेसमेत फुर्सद मिलेको थिएन, अभियानका लागि स्वयंसेवक-कर्मचारी भर्नाको त कुरै छाडौँ।
मत सर्वेक्षणका परिणाम झनै राम्रो देखिँदै गए। झनै रोचक प्रवृत्ति देखा पर्यो, जब प्रोग्रेसिभ न्यू डेमोक्रेटिक पार्टीका मतदातासमेत आफ्नो समूह छोडेर मध्यमार्गी बैंकरतर्फ लागे। क्यूबेकका फ्रान्सेली मतदातालाई पनि कार्नीको 'कच्चा फ्रान्सेली भाषा'प्रति कुनै आपत्ति रहेन।
एकैचोटि सबै कुरा कार्नीकै पक्षमा गएझैँ देखिन्थ्यो। तर यसलाई केवल संयोग/भाग्य भन्न नहुने ठान्छन्, सिमस ओ’रिगन, जो पूर्वमन्त्री हुन् र निर्वाचनअघि नै राजनीति छोडे।
“उनलाई धेरै कुराले एकैचोटि साथ दियो भन्नेमा कुनै शंका छैन। तर त्यसलाई बिगार्ने अवसर पनि सधैँ हुन्थ्यो,” ओ’रिगनले पोलिटिकोलाई भने, “उनले गल्ती गर्न सक्थे, तर गरेनन् र आफूलाई शुरूमा मानिसले जति विश्वास गरेका थिए, त्योभन्दा धेरै खुद्रा राजनीति र रणनीतिमा कुशल साबित गरे।”
‘अस्तित्वगत आर्थिक खतरा’
पार्टीको नेतृत्वमा कार्नीको उदयले क्याबिनेट मन्त्री अनिता आनन्दलाई राजनीतिमा फर्कनुपर्छ भन्नेबारे कन्भिस गरायो, जबकि गत जनवरीमा उनी राजनीतिबाट बाहिरिने बाटोमा थिइन्।
मार्चको अन्त्यमा पोलिटिकोसँगको अन्तर्वार्तामा, टोरन्टो विश्वविद्यालयको कानूनकी यी पूर्वप्राध्यापकले जोड दिइन् कि शैक्षिक जीवनमा फर्कने घोषणाको दुई हप्तापछि पुनः निर्वाचनमा उठ्ने उनको निर्णय निर्वाचनमा हुने सम्भावनाको सुधारबाट प्रभावित थिएन।
चुनावी अभियानको पहिलो हप्ता, घरदैलोमा उनले मतदातासँग फरक अनुभव गरिन्।
“छ/आठ महिनाअघि, क्यानडा-अमेरिका सम्बन्धको यस्तो अवस्था थिएन, जुन अहिले छ, त्यस कारण मानिसहरूले उतिखेर सोच्न थालेका थिए, 'लिबरलहरूलाई मौका दिइसकियो, अब परिवर्तनको समय हो,” उनले भनिन्।
तर अहिले के परिवर्तन भयो? “खतरा। अस्तित्वगत आर्थिक खतरा।”
लामो समययताको प्रतीक्षा
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प निर्वाचित हुँदा, कार्नी अझै पनि आधिकारिक रूपमा राजनीतिक परिदृश्यबाट बाहिर थिए, ‘सधैँ तयार राजनीतिज्ञ’का रूपमा भनेर अवसरको प्रतीक्षा गरिरहेका थिए।
वर्षौंदेखि, निजी र सार्वजनिक दुवै क्षेत्रमा प्रशस्त अनुभव भएका यी बैंकरले प्रधानमन्त्री हुने रहर सुषुप्त रूपमा राखेकै थिए।
हल्लाहरू पहिलो पटक सन् २०१२ मै बाहिरिए, जतिखेर तत्कालीन बैंक अफ क्यानडाका गभर्नर (कार्नी)ले सहकर्मी बैंकर तथा एक प्रमुख लिबरल स्कट ब्रिसनको नोभा स्कोटिया कटेजमा गएर बिदा मनाएका थिए। तर ती हल्लाले कुनै परिणाम निकालेनन्।
तर जब उनी बैंक अफ इङ्ल्यान्डको सातवर्षे कार्यकाल पूरा गरी क्यानडा फर्के, राजनीतिमा प्रवेश गर्ने काम गम्भीर रूपमा थाले। सन् २०२० मा ट्रुडोले आफ्नो पहिलो अर्थमन्त्री बिल मोर्नोलाई हटाएपछि 'द ग्लोब एन्ड मेल'का स्रोतहरूले कार्नीले राजनीतिमा हाम फाल्ने सम्भावनाबारे चर्चा गरेका थिए।
सन् २०२१ मा एक पार्टी सम्मेलनमार्फत आफूलाई लिबरलका रूपमा कार्नीले सार्वजनिक गरे। उनले आफ्ना मुख्य भाषणमा आफ्नो मध्यमार्गी सन्देश तिखार्न थाले— तीमध्ये गत वर्ष एहसासीले एउटा भाषण सुनेका थिए, जसमा परिवर्तनको चाहना राख्ने, उत्सुक लिबरललाई व्यापक रूपमा मोहित पारिराखेको थियो। तैपनि, सधैँ-सम्भावित यी उम्मेदवारले ट्रुडोको स्थानका लागि खुल्ला रूपमा परीक्षण गर्न भने आफूलाई रोके।
गत गृष्म याममा, 'द ग्लोब'ले ट्रुडो र फ्रिल्यान्डबीच तनाव बढेको समाचार प्रकाशित गर्यो। तर दुवैले कुनै समस्या नभएको भन्दै समाचारको सत्यता अस्वीकार गरे, तर त्यस घटनाले ट्रुडोले कार्नीलाई मन्त्रिपरिषद्को भूमिकाका लागि लोभ्याइरहेको हल्लालाई पुनर्जन्म गरायो।
गत सेप्टेम्बरमा, कार्नीले पार्टीमा आर्थिक सल्लाहकारको भूमिका ग्रहण गरे। कठिन र उथलपुथलपूर्ण राजनीतिमा यो सानो कदम थियो, जुन शरद ऋतुमा पार्टीभित्रको विद्रोहको तयारीसँग मेल खान्थ्यो।
नोभेम्बरसम्म पनि पार्टीको आन्तरिक झगडाले ट्रुडोलाई पार्टी नेतृत्वबाट हटाउन असफल भयो। त्यसपछि त्यस्तो विस्फोटक घटना भयो, जसले क्यानडाली राजनीतिमा तुरुन्तै फेरबदल भयो।
डिसेम्बर १६ मा उपप्रधानमन्त्री क्रिस्टिया फ्रील्यान्ड आफ्नो सरकारको नयाँ आर्थिक योजना प्रस्तुत गर्नै लागेकी थिइन्। तर त्यसै दिन, केही घण्टाअघि उनले आकस्मिक रूपमा मन्त्रिमण्डलबाट राजीनामा दिइन्। फेरि, द ग्लोबले बतायो कि प्रधानमन्त्री ट्रुडोले मार्क कार्नीलाई अर्थमन्त्रीको पद अफर गरेका थिए।
तर केही हप्तामै ट्रुडोको प्रस्थान पनि तय भयो र कार्नीको प्रवेश भयो।
“कार्नी निकै राम्रोसँग नाच्नुहुन्छ,” ओ’रेगनले प्रधानमन्त्रीको राजनीतिक समझदारीबारे भने। “र, अवसर आउँदा उहाँले छोप्ने गर्नुभयो, तर त्यो सजिलो काम होइन।”
(द पोलिटिकोमा छापिएको लेखको भावानुवाद।)