काठमाडौँ— यो स्वाभाविक हो, जरैसँग हल्लाएर ठाउँसारी गरिएको बिरुवा उम्रिन, पलाउन र झाँगिन लामै समय लाग्न सक्छ। अथवा त्यो बिरुवा नबाँच्न पनि सक्छ।
दक्षिण एशियाली एउटा कुनोमा करिब तीन दशकयता शुरू भएको भुटानी शरणार्थी समस्याको उल्झन अहिले अमेरिका–युरोपसम्म फैलिएको छ। भुटानले भारतीय बाटो हुँदै नेपालतिर लखेटेकामध्ये एक लाख १३ हजारजति शरणार्थी पुनर्बासमा अमेरिका, अस्ट्रेलिया, बेलायतसहितका आठ मुलुकमा पुगेपछि सधैँ के भनियो र, भन्न सिकाइयो भने ‘शरणार्थी समस्या त समाधान भइसक्यो’। जबकि समाधान पाउनै नसकेका (घरफिर्ती न पुनर्बास) ६ हजार ५०० जति शरणार्थी त अहिले पनि झापा र मोरङका शिविरमा बसेकै छन्।
यसरी आँकडामा समाधान पाइसकेका भन्दै संख्या हिसाबमा एक लाख (प्लस) मानिसको टाउको गिन्ती भए पनि यसभित्रको पीडा, असहाय कथानक र आर्तनाद यति धेरै छ कि यसको नापतौल असम्भव छ। यही असाध्य हिसाबभित्रको एउटा सूत्रलाई समातेर निर्देशक विनोद पौडेलले बुनेको ‘भूठान’ यस्तै एउटा कथा हो जहाँ सतहमा देखिनेभन्दा नदेखिने आर्तनाद र गुम्फनहरू लुकेछिपेका छन्।
हाल अमेरिकाको ओहायो राज्य, एक्रोन शहरमा बस्ने विष्णुबहादुर केसी भुटानको चिराङमा जन्मे–हुर्केका हुन्। भुटान छँदाका राष्ट्रिय फुटबल खेलाडी र प्रतिष्ठित पात्र हुन्, विष्णुबहादुर, जो आफ्नै बाटो–माटोबाट लखेटिएर नेपालमा शरणागत हुन आएका थिए। र नेपालबाट पनि फेरि पुनर्बसोबासका निम्ति अमेरिका आइपुगेका छन्। उनको नाता–सम्बन्धको घेरामा छोरा–बुहारी, नातिनी र दुई श्रीमतीसमेत छन्। तर, बुढ्यौलीमा जाँदै गरेका यी पात्रको मनोदशा र मनोविज्ञानमा भने नितान्त ‘एक्लोपना’ छ। आफ्नो माटो–बाटो, सिमलका रूख, आमा, बारीपाखा आदिको स्मरण यस्तो चर्को छ कि यसले भोक न निन्द्रा बनाएको छ।
विष्णु पात्र तन्द्रामा झैँ बोलिरहन्छन्, चिराङ सम्झेर, “सिमलका रूख जहाँ फागुन लागेपछि लटरम्म फूल फुल्छ। म बिमार हुँदा मेरो आमाले कहिल्यै मलाई डाक्टरकहाँ लगिनन्। त्यो फूलमा के छ कुन्नि, मेरी आमा भन्थिन्, यो तेरा लागि अमृत हो। मेरो याद आउँदा मेरी आमा घन्टौँ त्यही रूख मुन्तिर आएर बस्थिन् रे। मलाई त्यहाँ आउनु छ, त्यो फूल टिप्नु छ, त्यसको रस निचोरेर पिउनु छ। अनि आफ्नै बारीपाखामा ज्यूनु छ।”
***
उठेको भू–भागको स्वपरिभाषामा जन्मिएको भूठान कुनै अजेन्डा–बेस फिल्म होइन। एक लाखभन्दा बढी भुटानी ल्होत्साम्पा नेपालसम्म कसरी आए? यता आएर माई बगरदेखि बेलडाँगी वा पथरी शिविरे झुप्रासम्म के–कति दुःख पाए भन्ने विषयको कथानक हुँदै होइन, भूठान। (बरु निर्देशक प्रकाश आंगदम्वेले प्रायः एक दशकअघि निकालेको ‘देश खोज्दै जाँदा’मा भने यता शिविरभित्रको व्यथा र मेची पुलसम्मको भिडन्तलाई पर्दामा ल्याउने प्रयत्न गरेका थिए।)

भूठानमा गजब के छ भने, घर हराएको कथाको ‘प्रोटागोनिस्ट’ बनेका छन्, हास्य कलाकार हरिवंश आचार्य। हाम्रै समाजका बेथिति–कुरीतिमाथि वर्षौवर्षसम्म हँसाएरै सम्बोधन गरिरहेका तिनै पात्र हरिवंश गहिरो अर्कै समाजको दुःखान्तमा यसरी डुबेका छन्, केही छिन पत्याउनै गाह्रो हुन्छ। यो दुःखको कथामा मनोरञ्जन खोज्ने कुरा पनि भएन, आएन। मुस्किल के भइदियो भने एउटै खाका र संरचनाको फिल्म हेर्ने बानीमा रमेका दर्शकका निम्ति भूठान भने अलिक नयाँ खेमाको सिर्जना भयो नै।
भूठान सपाट कथा भएको उही सूत्रको फिल्म हुँदै होइन। पप–कर्न र पेप्सीको स्वादमा फिल्म हेर्ने वा हाफ–टाइमको प्रतीक्षा गर्दै अधीर ‘टाइमपास’ गर्ने दर्शकका निम्ति भूठान कुनै फिल्म बन्न सक्ने छाँट देखिन्न जहाँ कोही हिरो–हिरोइन छैनन्, बरु मन–मस्तिष्क हल्लाउने कथा मात्रै छ। ‘मान्छेले मान्छे हुन नपाएको’ यो सूत्रकथा फिल्मी पर्दामा नचल्न सक्छ, तर यो कथा सधैँ बाँचिरहने कथा हो। भूठानभित्र कला शिल्पी(क्राफ्ट) विशिष्ट छ, कलाकारहरूमा कलाको गहिरो छाप छ, देखिन्छ ।
कतिपय कथाभित्रको ‘कथानक’ सधैँ बाँचिरहन्छ, जस्तो; ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ कथामा जयमाया बाँचेकी छिन्। आईबी राईको आधा शताब्दी पुरानो यो कथाकी जयमाया अझै पनि लेखापानी आइरहेकै छिन्, कहिले रोहिंगिया बनेर, कहिले बर्मेली बनेर। जस्तै, अहिले प्रदर्शनीमा आउन लागेको ‘जार’ (भएकै एउटा कथा)मा पनि लेखक आईबी राईले नेपाली समाजमा आधा शताब्दीअघि प्रचलित यस्तै कथानक उधिनेका छन्। शायद यो पनि भूठानझैँ कहिल्यै नमर्ने कथा भनेर चिनिन सक्छ जसले वाहवाही पनि पाउनेछ तर, भनेजति दर्शक पाउन मुस्किल छ।
***
एक लाखभन्दा बढीको संख्यामा शरणार्थी भएर र त्यही पहिचानमा आज अमेरिका (वा अन्यत्र) पुगेका नेपालीभाषी भुटानीको एउटै चित्त बुझाइको आधार छ, ‘कन्ट्री अफ ओरिजिन’। जतिसुकै हाम्रा नागरिक होइनन् भने पनि त्यहाँबाट लखेटिएका सबैको पहिचान कागजातमा मूलथलो भनेर भुटान उल्लेख गरिएकै छ। शरणार्थी पुनर्बासको योजनामा बाँधिएर अमेरिका पुगेको २० वर्ष बितिसक्दा पनि अझै कतिपय शरणार्थी ‘स्टेटलेस’ अवस्थामै छन्, न ग्रिनकार्ड, न सिटिजनसिप। एक महिनाअघि अमेरिकी सरकारले ‘डिपोर्ट’ गरेका केही भुटानी शरणार्थीलाई नियमानुसार उत्पत्तिको थलो भुटान (पारो) पुर्याइएको खबर त्यति पुरानो भइगएको छैन। तर, भूठान कथाका मुख्य पात्र विष्णुले १० पटकसम्म आवेदन दिँदा पनि भुटानले भिसा नदिएको छटपटीमा मनोवैज्ञानिक संवेग र संवेदनाको डुबुल्की बनेर यो फिल्म टुंगिएको छ।

कतिसम्म भने भूठानका निर्देशक विनोद पौडेलका अनुसार, अमेरिकामा पुगेका कतिपय पाका पुस्ताका भुटानी शरणार्थीले अझै पनि चिराङ, गेलेफु वा लामिडाँडाको आफ्नो जन्मथलोको एक मुठी माटो गोजीमा बोकेरै हिँडेका भेटिन्छन्। यो अन्तर्आत्माको कथालाई फिल्ममा कसरी उतार्ने र? मान्छेलाई न ‘मान्छे’ भएर बॅाच्न दिइयो, न स्वच्छन्द बस्नै दिइयो। आफू भएर बाँच्नै पाइएन। यो बीचमा धर्म, राजनीति वा अनेक खालका वाद आइपुग्छन्। ‘आफू’ हुन नदिनका लागि उभिएका तगारा कति छन् कति। भूठानमा देख्न सकिन्छ, जिउँदोमा त आफू भएन नै, मरेपछि पनि आफू हुन दिइएन। मरेको बाबु वा आमालाई जलाउने कि गाड्ने भनेर शुरू भएको विवाद अहिले पुनर्बासमा गएका कतिपय भुटानी–अमेरिकी शरणार्थीका घरघरमा छ। साढे तीन दशकअघि भुटानले भाषा–संस्कृतिका नाममा लखेट्यो, अहिले धर्म र राजनीतिले लखेटिरहेको छ। मान्छेलाई ‘मान्छे’ मात्रै बन्न दिएको अवस्था छैन, सामुमा कि छ कुनै परिबन्द कि त चेपुवामा पारिएको मनोदशा!
***
सिंगो देश, जाति र संस्कृति खोसिएको कथा भूठानलाई कतिपय आलोचकले सिनेकाव्य भनेका छन्। सिनेकाव्य जहाँ प्रतीक/विम्ब बढी हुन्छ, कथानकभन्दा। कतै सिमलको रूखमा उभिएर कमिलालाई चिनी ख्वाउँदै गरेको ‘मेटाफोर’, कतै सन्देशबाहक काग कराइरहेको ‘सिम्बोल’! कतै मृत्युञ्जय पाठ गर्दै गरेको विस्मित पात्र, कत बुख्याचाको आकृतिले बाटो नाप्दै गरेको दृश्य! र अन्त्यमा आफ्नै कफिन बोकेर कतै अनन्त यात्रामा निस्किएको 'एब्स्ट्रयाक्ट चिन्तन: भूठान' फिल्ममा देख्न सकिन्छ।
विशेषतः क्यामेराम्यान सुसन प्रजापतिको काम गजबको देखिएको छ। अहिले चर्चा गरिने पुस्तान्तरणको अर्थमा ‘जेन–जी’ पुस्ताकी नातिनी अदिति प्याकुरेलको अभिनय उम्दाको लाग्छ। प्रोडक्सन–डिजाइनरसमेत रहेका विमल सुवेदीको धर्मगुरु अवतार किन लम्बेतान रह्यो, यसको कारण पुष्टि हुन गाह्रो छ। भूठानमा स्वयं विष्णु पात्र किन धर्मान्तरणमा गए, यसको कारण र भाष्य प्रमाणित भएको छैन। देश/माटो केही होइन, बरु प्रभु सबैथोक हुन् भनेर चित्त बुझाउने कारण पनि गतिलो भइदिएको भए हुन्थ्यो।
पक्कै पनि आज अमेरिका–युरोप पुगेका शरणार्थीमा मात्रै होइन, तल झापा–मोरङ शिविरमै बस्ने भुटानी शरणार्थीमध्ये ३० प्रतिशतको हाराहारीमा यही ‘कन्भर्जन’को लतमा फसिसकेका छन्। तर, यसको कारण भने भूठानले पनि चित्त बुझ्दो गरी दिन सकेको छैन। पादरी सुवेदी एकोहोरो जिसस–व्याख्यान (झन्डै मिसकास्ट)मा छन् जसको कारण र प्रभाव दुवै देखिन्न। कोही किन क्रिश्चियन हुन्छ(?), यसको कारण कतै प्रमाणित हुँदैन।
विगतका ‘बुलबुल’ निर्देशक पौडेलले भूठानमा देखिएको संवेगात्मक र यौनजन्य दृष्यलाई फिल्म–मेकरको क्राफ्ट भनेका छन्। त्यसमा पनि मर्नुअघि जेठी श्रीमतीसँग यौन सम्बन्ध राखेको दृष्यमा त्यस्तो ‘अपनत्व’ देखिन्न, जसबारे कुनै मनोवैज्ञानिक तुष्टिको तर्क राखेर ‘यो सही हो’ भन्दै दाबी गर्न सकियोस्।
भूठानको दोस्रो संस्करणमा मात्रै आउन सक्ने अमेरिकी भुटानी समाजभित्रका विग्रह, लोग्ने–स्वास्नी सम्बन्ध, गे–लेज्बियन पुस्ताको अन्तर्य यो घर हराएको मान्छेभित्र अहिल्यै आइदिँदा दर्शक रनभुल्लमा पर्छन् नै। भुटानी ‘ग्रस नेसनल ह्यापिनेस’लाई उछितो काढ्ने ध्याउन्नमा बनेको भूठानको स्टोरी लाइनमा लेज्बियन बन्दै गएकी गुनगुन–मनोदशा एकाएक किन जोडिएको होला?
फेरि फिल्म आइसकेपछि यसको थप महत्ता झल्काउन अनुपम खेर वा नसिरुद्दिन शाहको रटना सुनाइरहनु पनि त्यत्ति उचित सुनिँदैन। (हरिवंशको भूमिकामा अमिताभ बच्चन नै खेलिदिएको भए अझ के–के हुने थियो नि !) बरु भूठान निर्देशक/निर्माताले अमर न्यौपाने (सेतो धर्ती)जस्ता कथावस्तुमा रुचि राख्ने प्राज्ञजनको राय–सुझाव पनि सुनिदिनुपर्ने हुन्छ।
अमर भन्छन्, “सिनेमा हेर्दा मेकिङ्गको हिसाबले हलिउड सिनेमा हेरेजस्तो लाग्छ। तर, मलाई लाग्छ—हाम्रो सिनेमा हेर्दा कथा मात्र होइन, मेकिङ्ग पनि हाम्रैजस्तो होस् अनि, दुनियाँलाई नौलो लागोस्। सोचून्— नेपालको सिने मेकिङ्गमा मौलिकता छ। जस्तो कि त्यो एउटा न्यूड सिन र लङ प्रौढ किसिङ–सिन नहुँदा पनि सिनेमा कतै ग्याप फिल हुँदैन। अनि सिनेमामा गजबगजब काव्यिक सिम्बोल प्रयोग गरिएको छ। कतिपय सिम्बोल बुझ्नै सकिन्नँ।”
मूल विषयभन्दा प्रकारान्तर लाग्ने कतिपय यस्तै सहकथाहरू जोडिएको भए पनि आज देश–दुनियाँले शरणार्थी समस्या समाधानको ‘नमूना घटना’ भनेर व्याख्या गरिरहेको भूटानी शरणार्थी मामलाको ‘खिल’ देखाउन सकेको छ, भूठानले। आफू ‘ट्राभल–एडभाइजरी’को प्रतिबन्धित ‘रेड–लिस्ट’मा परेपछि मात्रै आफ्ना नागरिक भन्दै स्वीकार गर्ने तर, एकपटक पर्यटक बनेरै भए पनि आफ्नो थातथलो छुन आउँछु भन्दा प्रतिबन्ध लगाइरहने गजबको मनोदशा छ भुटानसँग । यो ‘ग्रस नेशनल हिप्पोक्रेसी’ बोकेर विश्व रंगमञ्चलाई हँसाइरहेको भुटानका लागि भूठान एउटा ऐना हो जो ऊ हेर्नै चाहँदैन ।
जीवनको झन्डै आधा शताब्दी उमेर हास्यव्यंग्य विद्यामा भिजेका कलाकार तथा चिना हराएको मान्छे हरिवंश आचार्यले आफ्नो रूपाकृति, हाउभाउ र संवादमा जेजति शिल्पी देखाउन सकेका छन्, यो कुनै प्रशिक्षण लिएर मात्रै सम्भव थिएन। धन्यवाद, कवि नवराज पराजुली जसले भूठानको अन्तर्हृदय च्याप्प समातेर यी शब्द लेखिदिए। चर्चामा फिल्मको टाइटल–सङ भए पनि अन्त्यमा दर्शक हलबाट उठ्दै गर्दा मात्रै ‘फिल’ गर्न सकिन्छ यी शब्दलाई:
“यहाँ छु तर, यहाँले भन्छ
यहाँको होइन म
नभने पनि थाहा दिइरहन्छ
यहाँको होइन म
कसैले मलाई देख्तैनन् यहाँ
र पनि कोही हुँ
एकपल्ट त्यहाँ पुग्नु छ जहाँ
म पनि कोही हुँ।”