परिवारका सदस्य, नजिकका आफन्त, चिनेका व्यक्तिबाट नै किशोरी तथा महिला दुर्व्यवहारको जोखिममा बढी छन्। किन?
घट्ना एक
केही समयअघि सिन्धुलीमा दुई छुट्टाछुट्टै अपराध भए। यीमध्ये एउटा थियो, १८ वर्षका काकाले ११ वर्षकी भतिजीलाई बारम्बार बलात्कार गरेको घटना। अर्काे थियो, १३ वर्षकी छोरीलाई आफ्नै बुवाले बलात्कार गरेको भन्दै किशोरीकी आमाले आफ्नो लोग्नेविरुद्ध प्रहरीमा उजुरी गरेको घटना।
घटना दुई
केही हप्ताअघि गुलाबी संवाद टिम विभिन्न तालिमका दौरानमा तराईका केही जिल्लामा किशोरकिशोरीसँग साक्षात्कार गर्न पुगेको थियो।
जनकपुरको कमला नगरपालिकामा भएको एउटा तालिमको तेस्रो दिन साँझ क्लास सकिइसकेको थियो। हामी तेस्रो दिनको तालिम कस्तो रह्यो भनी समीक्षा गर्दै थियौँ। त्यत्तिकैमा तालिमकी एक जना सहभागी अलि हतासिँदै टुप्लुक्क ढोकामा देखा परिन्। उनी डराएकी, हतासिएकी र केही कुरा भनौँ कि नभनौँ को अन्योलमा देखिन्थिन्। उनको केही समान कक्षामा छुटेको होला भन्ठान्यौँ हामीले। तर, उनी धेरै बेर ढोकामै उभिइरहिन्। त्यसपछि हामीले उनलाई भित्र बोलाएर सोध्यौँ ‘के भयो आस्था (नाम परिवर्तन)?’ हामीसँग बोल्न नपाउँदै उनका आँखाका डिलबाट आँसु तप्प खस्न तयार थिए। हामी एक अर्कासँग मुखामुख गर्यौँ र उनलाई के भएको हो बुझ्ने प्रयास गर्यौँ।
‘‘एउटा कुरा भन्छु, कसैलाई नभनिइदिनुस् है’’ भन्दै उनी हिक्क हिक्क गर्न थालिन्। हिक्क हिक्कपछि केही बेर कोठामा सन्नाटा छायो। सन्नाटा चिर्दै आस्था बोल्न थालिन्, ‘‘म्याम म १५ वर्ष भएँ, मेरो मामाको छोराले मलाई बारम्बार शारीरिक सम्पर्क राख्न दबाब दिइरहन्छ। मैले मेरो उमेर भएको छैन यस्तो गर्ने भनेर टार्न थालेको तीन वर्ष भइसक्यो। अरू के भनेर उसलाई सम्झाउनुपर्छ, मलाई थाहा छैन। उमेरको कुरा गर्यो भने हुन्छ कि जस्तो लागेर उमेर भएको छैन भनिरहेको छु। तर अहिले त १५ वर्ष भइसकिस्, अब त उमेर भइसक्यो भन्छ। जब ऊ काठमाडौँबाट चाडबाड मनाउन कमला आउँछ, तब मलाई एकदमै डर लाग्छ म्याम। यो कुरा आमालाई पनि भन्न सक्दिनँ। उहाँको भदा हो। मेरो कुरा आमाले पत्याउनु पनि हुन्न। मलाई डर लाग्छ।’’ उनी फेरी रुन थालिन्।
हामीहरू अक्सर यस्ता घटनाका साक्षी बनिरहेका हुन्छौँ। कहिले कानूनी सहायताको बाटो देखाइदिन्छौँ त कहिले तत्कालको लागि कसरी बच्न सकिन्छ? पीडितलाई तत्काल कसरी सुरक्षित राख्न सकिन्छ भनेर सुझाउँछौँ। क्षमताअनुसार परामर्श दिन्छौँ। आस्थालाई पनि हामीले तत्काल कसरी आफूलाई सुरक्षित राख्न सकिन्छ, आमा या परिवारका सदस्यको सहयोग कसरी माग्ने भन्ने कुरा बुझाउने प्रयास गर्यौँ। तालिमको तेस्रो दिनदेखि पाँचौँ दिनको साँझसम्म पनि हामीले उनलाई सम्झाउने प्रयास गरिरह्यौँ।
दुर्व्यवहारमा परे पनि उनलाई यौनजन्य अन्य धेरै दुर्व्यवहारबारे राम्ररी थाहा छैन। कस्ता व्यवहार दुर्व्यवहार हुन्, कसले दुर्व्यवहार गर्न सक्छ, कस्ता कस्ता ठाउँमा दुर्व्यवहारमा परिन्छ भन्नेमा उनी अझै जानकार छैनन्। आफ्नै घरको आँगन जोडिएको मामाघर र त्यही घरका मामाका छोराबाट बारम्बार दुर्व्यवहारमा परिरहेकी उनी आफ्नै आमा र परिवारलाई आफ्नो पीडा बताउन सक्दिनन्। कारण, एउटा त उनको कुरालाई उनी छोरी भएकै कारण पनि विश्वास गरिँदैन। अर्काे, यही कुराले उनको छिट्टै बिहे गरिदिन सक्छन् (बलपूर्वक गरिने विवाह आफैँमा यौन हिंसा हो)। यस्तै कुराले गर्दा तीन वर्षयता आफ्नै मामाको छोरा (दाइ) ले खुलेआम शारीरिक सम्पर्कको लागि प्रस्ताव राख्दा, मौका मिल्दा स्तन र यौनांगमा हात पुर्याउँदा पनि उनी चुप छिन्।
आस्था सानी छिन्, उनलाई थाहा छैन–कसरी प्रतिकार गर्ने, कसरी आफ्नो कुरा भन्ने र कसरी सहयोग माग्ने! तर, तपाईँ विश्वास गर्नुहुन्छ, जो यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रमा काम गर्छ, गाउँ गाउँ गएर ससाना भाइ बहिनीलाई दुर्व्यवहारबारे सिकाउँछ, सही र गलत छुवाइको फरक बताउँछ, तर ती आफै आफूले भोगेका दुर्व्यवहारका शृङ्खलाबारे अरूलाई भन्न र प्रतिकार गर्न सक्दैनन्।
त्यस्तो व्यक्तिलाई हामीले अर्काे तालिममा भेट्यौँ। उनले यौन तथा प्रजनन स्वास्थ्य, यौन दुर्व्यवहारको क्षेत्रमा काम गर्न थालेको लामो समय भइसक्यो। उनेले आफ्नो कार्यक्षेत्रमा रहेका किशोर किशोरीलाई यौन दुर्व्यवहारबारे बुझाउने, सही छुवाइ र गलत छुवाइको फरक सिकाउने, कसैले दुर्व्यवहार गर्यो भने कसरी प्रतिकार गर्ने, कसरी सहयोग माग्ने भनेर सिकाउनुहुन्छ। तर आफूमाथि भएको यौन दुर्व्यवहारबारे आजसम्म कसैलाई भन्न सक्नु भएको छैन। हामीलाई उहाँले आफ्नो आवाजसमेत परिवर्तन गर्ने सर्तमा आफ्नो कुरा अडियोमा शेयर गर्नुभयो।
तालिमको नेतृत्व गरेर २० जना किशोर किशोरीको जिम्मेवारी लिएर आउनुभएकी ३० वर्ष हाराहारीकी उहाँ आफ्नै काकाले गरेको यौन दुर्व्यवहारका श्रृंखला हामीलाई सुनाइरहँदा सानो बच्चाझैँ रोइरहनु भएको थियो। ‘‘जब मैले मेरो कुरा अरू कसैलाई भन्नेछु, मेरो परिवारलाई सुनाउने छु, कसैले मेरो कुरा विश्वास गर्नेछैन। अहिले विश्वास गर्ने, मलाई इज्जत-सम्मान दिने मेरो परिवार र समाजले मलाई नराम्रो नजरले हेर्नेछ, मलाई चरित्रहीन युवतीको संज्ञा दिने छ। त्यसैले यो कुरा म अरूसमक्ष भन्न सक्दिनँ। तर आज तपाईँहरूमार्फत यो कुरा भनेँ, जसले गर्दा मजस्तै यौन दुर्व्यवहार भोगिरहेका भाइबहिनीलाई थोरै भए पनि बोल्ने हिम्मत आओस्, प्रतिकार गर्ने हिम्मत आओस्,’’ रुँदै उहाँले हामीलाई आफ्नो भोगाइ सेयर गर्नुभयो।
आर्थिक वर्ष २०८१/८२ फागुनसम्म नेपाल प्रहरीमा दर्ता भएका अपराधका मुद्दा केलाउँदा प्रहरीले नाता सम्बन्धको आधारमा अभियुक्तको विश्लेषण गर्ने क्रममा महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाएको हो, जसमा १ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन्। बाहिरका व्यक्तिबाट भएका बलात्कारका घटनाहरू बाहिर ल्याउन केही हदसम्म सजिलो भएता पनि परिवारका सदस्यबाट हुने घटना बिरलै सार्वजनिक हुन्छन्। आफ्नै बुवा, दाइ, भाइ, काका, मामाबाट भएका बलात्कारका घटनाहरू बाहिर ल्याउन समस्या हुने र यसले गर्दा यौनजन्य हिंसा तथा बलात्कारका घटना बाहिर ल्याउन चुनौती सिर्जना भइरहेको छ।
नेपालमा यौन दुर्व्यवहार तथा बलात्कारसम्बन्धी भएका विभिन्न अनुसन्धानहरूले के देखाउँछ भने नचिनेको अनजान व्यक्तिबाट भन्दा चिने जानेका, नजिकका व्यक्तिबाट दुर्व्यवहारमा पर्नेको संख्या धेरै छ। कति घटना प्रहरीसम्म आइपुग्छन् त कति पीडित व्यक्ति समाज र परिवारको डरका कारण चुप बसिदिन्छन्। लामो समययता पर्सा जिल्ला अदालतमा बालबालिका वा किशोर–किशोरी (सामान्यतया १८ वर्षमुनिका) द्वारा गरिएका आपराधिक मुद्दा हेर्दै आउनु भएकी सुश्मा शर्माका अनुसार तराईमा परिवारका सदस्यबाट हुने यौनजन्य हिंसाको श्रृंखला निकै लामो छ। विशेष गरी चाडबाडको समयमा आउने आफन्त, भिनाजु, ज्वाइँ, मामा र काकाहरूबाट यौनजन्य हिंसा हुने गरेको छ। तर, अधिकांश घटना बाहिर आउँदैनन्। चार वर्षकी बालिकाको बलात्कारको घटना अदालतमा आइसकेपछि पनि त्यसलाई मिलाउने प्रयास गरिएको एक घटनाबारे उहाँले बताउनुभयो। शर्माका अनुसार निम्न आयस्रोत भएका परिवार यस्ता घटना बाहिर ल्याउन चाहँदैनन्। अलि अलि पैसा लिएर घरमै मिलाउँछन्।
आखिर किन त? के कारणले गर्दा मानिसले आफ्नै छोरी र बहिनीलाई यौन हिंसा गर्छ? समाजशास्त्री निर्मला ढकालका अनुसार आपराधिक मानसिकता भएका, दिमागमा नै अपराध बोकेका व्यक्तिले ‘‘यो मेरो परिवारको सदस्य हो, मेरो छोरी हो, बहिनी हो, श्रीमती हो भन्ने नै सोच्दैन। यस्ता कुकर्म र अपराध गर्ने व्यक्तिले न त नाताको न त उमेरको सीमा नै हेर्छ, उनीहरूलाई कसैको डर पनि हुँदैन। जसलाई त्यस्तो व्यवहार गर्दैछ, उसलाई आफ्नो नियन्त्रण/दबाबमा राख्न सक्छु भन्ने भावना आउने कारणले पनि व्यक्तिले आफ्नै नजिकको व्यक्तिमाथि यस्तो आपराधिक कार्य गर्छ।’’
आफ्नै परिवारका सदस्यलाई यौनजन्य हिंसा गर्ने, बलात्कार गर्ने व्यक्तिको मानसिकता कस्तो हुन्छ त भन्ने प्रश्नमा ढकाल भन्नुहुन्छ, ‘‘यस्ता सवालमा हाम्रोमा कहिले पनि गहन अध्ययन भएको छैन, अपराध गर्दा पीडकको मानसिक अवस्था कस्तो थियो, किन उसले घटना घटायो भन्ने विषयमा अध्ययन भएको छैन। अन्य देशको कुरा गर्दा अपराध गर्दैगर्दा उसको मानसिक अवस्था कस्तो थियो, उसको पृष्ठभूमि कस्तो थियो भन्ने विषयमा अनुसन्धान हुन्छ। नेपालमा यस्ता अनुसन्धान अध्ययनको कमीका कारण उसको मानसिकता कस्तो थियो भन्ने बुझ्न गाह्रो हुन्छ। यद्यपि, डर-धम्की दिएर आफ्नो बहसमा राख्न सकिने, ललाइ फकाइ गर्न सकिने र आफूलाई कसैले केही गर्न सक्दैन भन्ने मानसिकता हुन्छ धेरैजसो घटनामा।’’
यहाँ उल्लेख दुई दुर्व्यवहारमा दुवै व्यक्ति नजिकको आफन्तबाट दुर्व्यवहारमा परेका छन्। तर, दुवै जना आफूले भोगेका कुरा अरूलाई भन्न सक्दैनन् र चाहँदैनन्। कारण–भोलि औँला आफूमाथि नै उठ्छ, आफ्नै ‘चरित्र’मा दाग लाग्छ।
दुःखको कुरो नेपाली/भारतीयलगायत कतिपय समाजमा घर र समाजको इज्जत छोरी मान्छेले धानिदिनुपर्ने अवस्था छ। अनि त्यो तथाकथित चरित्र/इज्जतलाई समाजले महिलाको शरीर र जनेन्द्रीयमा राखिदिएको छ। के 'चरित्र'मा दाग नलगाउने जिम्मा छोरी मान्छेको मात्रै हो? जो दुर्व्यवहारमा परेको छ, जो अन्यायमा परेको छ, उसैले चरित्रको जिम्मा लिनुपर्ने? यो कस्तो विडम्बना हो? परिवारभित्रै हुने यस्ता घटनाहरू इज्जत-प्रतिष्ठाको डरले परिवारले गुपचुप राख्न चाहन्छन्। कसैले थाहा पायो भने इज्जत जान्छ, प्रतिष्ठामा आँच आउँछ भनेर परिवारभित्रै गुपचुप राख्छन्, तर यस्तो कार्यले त अपराधलाई उल्टै बढावा दिन्छ, पीडितले झन् धेरै पिडा भोग्नुपर्ने हुन्छ।
यसका लागि यौनजन्य विषयमा समाजमा खुला बहस हुनुपर्छ। उमेर पुगेपछि हुने स्वस्थ यौन जीवनबारे निर्धक्क बहस थाल्नुपर्छ। यौनलाई लाज र घिनको विषय बनाइनु हुँदैन। अनि यौनजन्य अपराधमा परेका महिलालाई इज्जत र प्रतिष्ठाको भारी बोकाइने संस्कार-संस्कृति/मनोविज्ञान चिर्नुपर्छ। यसो गर्न सके नाबालक, बालिका, किशोरी, युवती, अधबैँसे महिला र वृद्धाहरू यौनजन्य हिंसा र बलात्कारमा पर्दा तिनले सहजै कानूनी सहायता खोज्नेछन्। आफन्तलाई भन्नेछन् र अपराधीलाई दण्ड भोग्न बाध्य पार्नेछन्।
नत्र 'कसैमाथि यौनजन्य हिंसा गर्नु, बलात्कार गर्नु अपराध हो, त्यसको विरुद्ध कानून छ' भन्ने थाहा हुँदाहुँदै पनि लाजकै कारण यिनीहरूले घटना कसैलाई बताउँदैनन् भन्ने आडमा अपराधीहरूले महिलालाई हिंसा र अपराध गरिरहनेछन्।
(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)