२०२७ वैशाख महिनाको अन्ततिर हामी सानो विमानबाट जुम्लाको हवाई–अड्डामा ओर्ल्यौं। हामी थियौँ— सत्यमोहन जोशी, बिहारीकृष्ण श्रेष्ठ, स्थिर जंगबहादुर सिंह, प्रदीप रिमाल र म चुडामणि बन्धु। पौने दुई घण्टामा जुम्ला पुगियो। जुम्लामा बस्नका लागि अञ्चलाधीशको अफिसबाट प्रबन्ध थियो। अञ्चलाधीश बद्रीविक्रम थापाको सहयोग थियो। टाढैबाट चन्दननाथ र भैरवनाथका गेरुवा रंगका झन्डाहरू फहराइरहेका देखिए। हामी सबै त्यही झन्डाको नजिकैबाट गुज्रेर जुम्लामा आउने हाकिमहरू बस्ने दरबारमा पुगी डेरा गर्यौँ। दोस्रो दिनदेखि नै काम सुरु भयो। सबैको बेग्लाबेग्लै काम थियो।
ढिलोगरी (आइतबार) मात्रै मित्र बिहारीकृष्ण श्रेष्ठको निधनबारे खबर पाएँ, जब म विराटनगरमा एक साहित्यिक समारोहमा व्यस्त थिएँ। अनि सम्झनामा आए, मेरो (हाम्रो) ५५ वर्ष पुरानो साथ र सम्झना, जसबारे म लेख्दै–भन्दै आएको छु।
उमेरमा ३० आसपासको ऊर्जा र सपना रहेका बेला ०२७–२८ सालतिर हामीले जुन तन्मयतामा विषयगत सोधखोज गर्यौँ, आज मानवशाश्त्र–समाजशास्त्रको विधाको इतिहासमा निकै अर्थको काम गरिएछ भन्ने बोध हुन्छ। (अध्येता बिहारीकृष्ण श्रेष्ठको ८८ वर्षको उमेरमा गत माघ २५ गते शुक्रवार ललितपुरको चाकुपाटस्थित आफ्नै निवासमा निधन भएको थियो। श्रेष्ठको जन्म १९९३ साउन १० गते काठमाडौँ, प्याफलमा भएको थियो।)
त्यही संयुक्त सोधखोजमा ‘कर्णाली लोकसंस्कृति’ पुस्तक प्रकाशित भएपछि र २०२८ सालमा यसले मदन पुरस्कार पाएपछि हामीले गरेको गाउँ–गाउँको गवेषणा (सोध–अनुसन्धान) को महिमा अझ चिनिन थाल्यो। समवयी बिहारीकृष्ण श्रेष्ठ काठमाडौँ वृत्तका अध्येताझैँ लागे पनि त्यो बेला बिहारीजीले सहयोग र सदाशयतापूर्वक कर्णाली (जुम्ला) बसाइका २ महिनामा त्यहाँको सामाजिक पक्ष (दियारगाउँका ठकुरीहरू) माथि गरेको सोध हाम्रा निम्ति पनि सिकाइको खुराक बनेको थियो।
तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका सह–सदस्य सत्यमोहन जोशीको संयोजकत्वमा कर्णाली अध्ययनको समूह बनेको थियो। संयोगले त्यो बला त्रिभुवन विश्वविद्यालयमा जर्मनीको सहयोगमा स्थापित भाषाशास्त्रीहरूको एउटा केन्द्र थियो–समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स। यो केन्द्रले आफ्नै सानो हवाईजहाज पनि ल्याएको थियो। त्यसमै चढेर हामी काठमाडौँबाट जुम्ला (खलंगा) गएका थियौँ, त्यहाँबाट पैदल सिंजा उपत्यका पुगेका थियौँ। त्यो जुगमा अरू सूचना सम्पर्क थिएन, आकाशवाणी भने थियो।
यतिका वर्षपछि ‘कर्णाली लोकसंस्कृति’ पुस्तक (५ खण्ड) को हालै दोस्रो संस्करण आउँदा र त्यहाँ बिहारीकृष्णजीेले लेखेको त्यो बेलाको यात्रा संस्मरण (समीक्षा) ले कतिपय वैचारिक–प्राज्ञिक दृष्टिकोण पनि बाहिर आएका छन्।
उहाँले त्यो बेलाको कर्णाली समाजको चित्र कोरेर लेख्नुभएको छ—“पाँच दशक पहिले कर्णाली लोक संस्कृतिको अध्ययन गरेका बेला कर्णाली समाजको कथा अर्कै थियो। अहिले फर्केर हेर्दा त्यो समाज सदियौँ पहिले अर्कै राजनीतिक र सांस्कृतिक परिवेशमा सञ्चालन हुँदै आएको देखिन्छ। पछि गोर्खा राज्यमा विलीन भएपछि लगभग २ सय वर्ष एक किसिमको सांस्कृतिक यथास्थिति र निश्चितताको अवस्थामा रह्यो। त्यति बेला कर्णाली समाज यथास्थिति परित्याग गरी दूरगामी महत्त्व र प्रभावको संक्रमणमा पदार्पण गर्नै लागेको थियो। त्यसैले प्रस्तुत ‘कर्णाली लोकसंस्कृति’ ग्रन्थ सो ऐतिहासिक संक्रमणको संघारमा उभिएको कर्णाली सभ्यताको तत्कालीन यथास्थितिको एउटा अभिलेखका रूपमा प्रस्तुत हुन आएको छ।”
कर्णाली सभ्यता र संस्कृतिको उद्बोधनमा लागिपर्ने विषय पनि आफैमा रोचक थियो। म भर्खरै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको नेपाली विभागमा पढाउन थालेको थिएँ। त्यस बेला भर्खरै नेपाली भाषाको उत्पत्तिबारे मेरो पुस्तक पनि प्रकाशनमा आएको थियो। त्यस बेला केदारमान व्यथित प्रज्ञा प्रतिष्ठानमा कुलपति र सत्यमोहन जोशी सहसदस्य हुनुन्थ्यो। भर्खरै चीनबाट रेडियो पेकिङमा नेपाली भाषाबिदका रूपमा काम गरेर घर फर्कनुभएका अन्वेषक जोशीकै हुटहुटीमा कर्णाली सोधको योजना आएको रहेछ। नेपाली भाषा उत्पत्तिको थलोमा गएर ठोस केही काम गरौँ भन्दै जोशीले कर्णालीको भाषिक, सांस्कृतिक र जातीय अध्ययनमा लागि पर्न सुझाएपछि म पनि उहाँको नेतृत्वमा जुम्ला जान तयार भएको थिएँ। जोशी स्वयमले पनि डोरबहादुर विष्ट, मोहम्मद मोहसिनलगायतका मित्रहरूसँग परामर्श गर्दै कर्णाली जाने टुंगो बनाउनुभएको रहेछ। म पनि नाइँनास्ति नगरीकन त्यो नयाँ-नौलो कामका पछि लागेको थिएँ।
हुन त मेरा हकमा, यस्तै सोध–अनुसन्धानको काम कर्णाली अघि पनि भएको थियो। २०२५ सालमा प्राध्यापक बल्लभमणि दाहालसँग मिलेर चेपाङ जातिको अध्ययन गर्दा सोध प्रक्रियामा धेरै प्रकारका विषयगत जानकारी मैले लिएको थिएँ। तर, कर्णालीको अध्ययन भने अर्कै भूगोलमा गरिएको सोधखोजझैँ निकै अलग थियो, त्यसमाथि बिहारीकृष्णजीजस्ता सहयोगी, मिजासिला र सरकारी संयन्त्र (तत्कालीन गृह पञ्चायत मन्त्रालय) बाट आएका अधिकारीसँगको सहकार्य स्वभावतः विविधताले भरिएको थियो नै। कर्णालीको ऐतिहासिक पक्षमा सत्यमोहन जोशी, भौगोलिक अनुसन्धानतर्फ स्थिर जङ्गबहादुर सिंह र लोक साहित्य, कला–संगीतमा प्रदीप रिमालले अध्ययन केन्द्रित गरेका थियौँ।
हामी नेपाली भाषाकै प्राचीन थलो सिंजा उपत्यका जाने लक्ष्य लिएर त्यता गएका थियौँ। मेरा हकमा भने कर्णाली भेगको भाषा र भाषिका अध्ययन गर्ने जिम्मेवारी परेको थियो। तर, म त्यसताक वर्णनात्मक भाषा विज्ञानतिर आकर्षित भएकाले मैले सिंजाली ध्वनि व्यवस्था, नेपाली र सिंजालीको विभाजन, बोधगम्यता परीक्षण, आदरार्थी तथा सर्वनामका प्रयोगहरू र प्रयोगमा रहेका शब्दहरूको सङ्कलन गरें। वर्णनात्मक भाषा विज्ञानका आधारमा मैले पहिलो पटक नेपाली भाषाको मूल थलोमा बसेर अध्ययन गर्ने मौका पाएँ। मैले अध्ययन गरेको भाषिकाको नाम सिंजाली राखेँ।
आज पछाडि फर्केर हेर्दा, त्यो त्याग र समर्पणमा अध्ययन–अनुसन्धान गर्ने पुस्तामा जोडिन पाएकोमा आफूलाई भाग्यमानी भन्ठानेको छु। पछि उनै अध्येता बिहारीकृष्णले ल्याएका सामुदायिक बनको विकास र संरक्षण अवधारणा तथा आमा समूहमार्फत साझा बचतको प्रभावकारी योजना तथा मातृ शिशु स्वास्थ्यका क्षेत्रमा भएका कार्य योजनालाई निकै अनुकरणीय कामका रूपमा हेर्ने गरिएको छ।
अध्ययन–अध्यापन र सोधका हिसाबमा म भने राउटे, चेपाङ, गन्धर्व, कुसुन्डा, गन्धर्व आदि जातीय र भाषिक सर्वेक्षण–गवेषणामा तल्लीन रहें। जुम्ला, सिंजामा फेरि पनि अध्ययन गर्ने मनसाय लिएर अध्येता बिहारीकृष्ण भने ४७/४८ सालतिर कर्णाली भ्रमणमा जानुभएको रहेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को पहलमा बिहारीकृष्ण जुम्लाकै हाडसिन्जा गाउँमा पुग्नुभएको रहेछ, त्यसबारेमा उहाँ आफैले पनि लेख्नुभएको छ। उक्त भ्रमणको आधार र अन्तर्यबारे इसिमोडले ‘अ हिमालयन एन्क्लेव इन ट्रान्जिसन’(सन् १९९३) नाममा पुस्तक प्रकाशित गरिसकेको छ।
बिहारीकृष्णले ‘कर्णाली लोकसंस्कृति’ पुस्तकको दोस्रो संस्करणमा लेख्नुभएको छ—“त्यो अध्ययन पनि यथास्थितिकै अवधारणामा भएता पनि के देखाएको थियो भने त्यहाँ यातायातको समस्या झन्डै दुई दशक पहिलेकै (२७/२८ सालतिर) जस्तै रहे पनि सो अवधारणात्मक परिकल्पनाभन्दा विपरीत त्यहाँ महत्त्वपूर्ण, व्यापक, दूरगामी र अपरिवर्तनीय प्रकृतिको संक्रमणले जरा गाडिसकेको थियो। नेपालगन्जदेखि सुर्खेतसम्म जाने सडक निर्माण भइसकेको थियो भने जुम्ली गरिबलाई हाट जान अर्थात् आयआर्जनका निम्ति हिउँदमा सालाना केही महिना परदेश जानका निम्ति सुर्खेतसम्म पुग्न अझै ६ दिन पैदल हिँड्नुपर्ने बाध्यता छँदै थियो।”
यसरी अध्येता बिहारीकृष्णसँग फेरि दोहोर्याउँदै सोध–अनुसन्धान वा समाजशास्त्र–मानवशास्त्रको बहस–विवेचनामा सँगै हिँड्न मौका नमिले पनि उहाँसँगको ५५ वर्षअघिको त्यो सानिद्यता सधैँसधैँ स्मरणीय छ। दृष्टिकोणका हिसाबमा पनि कर्णाली भेगमा पुग्दा र विशेषतः हाडसिन्जा गाउँमा पुगेर गरिएको सोधकर्ममा बिहारीकृष्णजीको मिहिन रुचि तथा रौंचिरा विश्लेषणका कारण कर्णाली लोकसंस्कृति पुस्तकलाई अझ बढी मानवशास्त्रीय अध्ययनको मानक बनाउन सकिएको हो। स्वयम बिहारीकृष्णले निकाल्नुभएको यो निचोडमा असहमत हुने ठाउँ थिएन र, छैन पनि।
उहाँले आफ्नो भूमिकामा लेख्नुभएको छ—“जुम्लाको तत्कालीन यथास्थितिमा त्यहाँको समाज उच्च संस्कृतियुक्त, सजीव तथा अन्तर्मुखीभन्दा पनि स्वाभिमानी देखिन्छ। बाह्य जगतले हेर्दा आधा शताब्दी पहिलेको जुम्ली समाजमा व्यापक गरिबी भए पनि, जातहरूप्रति विभेद गरिने भए पनि र अन्य भौतिक विपन्नताले गर्दा पिछडिएजस्तो देखिए पनि वास्तवमा त्यो समाज त्यस्तो कठिन परिवेशमा पनि सुसंस्कृत, सुसंगठित, आत्मनिर्भर र बाहिरका मान्छेका बुझाइमा, आफैमा सीमित रहन रुचाउने अन्तर्मुखी पनि देखिन आउँछ। वास्तवमा कर्णाली लोक संस्कृति ग्रन्थमा निहित तत्कालीन कर्णाली समाजको ‘यथास्थिति’को सारसंक्षेप यही हो।”
(डा. बन्धु त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान विभागका अवकाशप्राप्त प्राध्यापक हुन्। उनी नवलपरासीको गैंडाकोटमा बस्दै आएका छन्।)