यो क्षमादानको कथा हो। ती व्यक्तिलाई दिएको क्षमादान, जसले १० वर्षीय आफू र आफ्नी जुम्ल्याहा बहिनीलाई प्रयोगशालाको वस्तु बनाए। जो लाखौँ यहुदी जुम्ल्याहाका ‘काल’ थिए। जो व्यक्ति उनको परिवारको हत्यारा र उनका जातिका ६० लाख मानिसको हत्यासँग सम्बन्धित थियो। के ती अपराधीहरू क्षमायोग्य थिए? यो कुरा बुझ्न इभा मोजेस कोरको कथा बुझ्नुपर्छ। उनका दुई किताब –‘आइ विल प्रोटेक्ट यु’ र ‘द पावर अफ् फर्गिभनेस’बाट उनको कथा र व्यथा बुझौँ। सिकौँ जिन्दगीको फरक अर्थ।
बाल्यकाल र यातना शिविरको यात्रा
‘म तिमीलाई बचाउनेछु’ इभा मोजेस कोरको बाल्यकाल र हिट्लरको यातनागृह (कन्सन्ट्रेसन क्याम्प)मा बस्दाको सम्झना हो। दोस्रो विश्वयुद्ध र हिट्लरको जातीय विनाशले त्रस्त युरोपियन देश रोमानियाको एउटा सानो गाउँ ‘पोर्ट’मा सन् १९३४ मा जन्मिन् इभा। करिब एक सय जनसंख्या रहेको उक्त गाउँमा उनको मात्रै परिवार यहुदी थियो। उनीसहित परिवारमा ६ जना थिए– बुवा आमा, दुई दिदी, उनी र उनकी जुम्ल्याहा बहिनी। योबाहेक उनका दिदीहरूलाई पढाउने एक यहुदी ‘ट्युटर’ पनि उनकै घरमा बस्थे। इभाका बुवा निष्ठावान् यहुदी किसान थिए भने उनकी आमा पढेलेखेकी गृहिणी थिइन्।
१२ महिनाका इभा र उनकी जुम्ल्याहा बहिनी।
इभाका स्कुलमा साथीहरू इभा र उनकी बहिनीलाई ‘डर्टी जिउस’ (फोहोरी यहुदी) भन्दै घृणा गर्थे। त्यति बेलाको पाठ्यक्रम पनि यहुदीविरोधी थियो। इभा उदाहरण दिँदै भन्छिन्, “हाम्रो स्कुलको पाठ्यक्रम यहुदीविरोधी विचारले भरिएको थियो। एक दिन गणितको कक्षामा त्यस्तै एउटा प्रश्न सोधियो– यदि तिम्रो छेउमा पाँच जना यहुदी छन्, तिनीहरूमध्ये तिमीले तीन जना मार्यौँ भने अब भन कति जना यहुदी बाँकी रहन्छन्? त्यो प्रश्नको जवाफ त दुई थियो, अर्थात् ‘टु’। तर यहुदीविरोधी पाठ्यक्रमले दिन खोजेको गोप्य अर्थ अर्कै थियो। त्यो हो- टु अर्थात् टु मेनी (दुई जना त धेरै पो हुन्!)”
बालबालिकाको परिस्थितिले उनीहरूको स्वभावमा प्रभाव पार्नु स्वाभाविक हो। घर, स्कुल, देश र पुरै महादेश यहुदीविरोधी भएको समयमा जन्मिएका इभा र उनका साथीहरूको मनोदशा फरक थियो। एकातिर इभाहरूलाई डराउनुपर्छ र विरोध गर्नुहुन्न भनेर घरपरिवारले सिकाइराखेको थियो भने अर्कातिर उनका आर्यन साथीहरूचाहिँ 'यहुदी भनेका फोहोरी हुन्, यिनीहरू घृणालायक छन्' भन्ने मनोसामाजिक स्थितिमा हुर्किरहेका थिए। फलस्वरूप: आफ्नै उमेरका साथीहरूबाट इभा र बहिनी मरियम प्रताडित थिए। साथीहरू उनीहरूलाई नभएको आरोप लगाउँथे र शिक्षकहरूबाट पिटाइ खुवाउँथे, गोल्भेडा र ससाना ढुंगाले हिर्काउँथेँ। उनको घरको सिसा र छतसम्म आइपुग्यो गोल्भेडा र ढुंगा।
बच्चाहरूबाट शुरू भएको यस्तो कृत्यपछि छिमेकका ठूलाहरूले पनि दोहोर्याउन थाले। इभाको परिवार एक्लो यहुदी थियो, सिंगो गाउँको घृणा इभाकै परिवारमाथि पोखिन्थ्यो। टीभीमा इभाहरू ‘यहुदी’हरूमाथि भएको बर्बरता देखेर तर्सिन्थे। उनका बुवा उनीहरूलाई सम्हाल्दै भन्थे– यो सानो गाउँमा, एउटा परिवारको ६ जना यहुदी र उनीहरूको घरमा बस्ने एउटा शिक्षक खोज्दै आउँदैन हिट्लर।
तर अवस्था उल्टो भयो।
एक रात इभा र उनकी बहिनीलाई उठाउँदै उनका बुवाले भने, “छिटो तयार होऊ, तर बत्ती नबाल, हल्ला नगर। हामी जाँदैछौँ।” मध्यरातमा इभाको परिवार घर छोडेर निस्किन्छ। रेलको लिगछेउमा पुग्नासाथ उनीहरूलाई केही युवाले रोके र भाग्न दिएनन्। उनीहरू घरै फर्कन बाध्य भए। आफ्नै घरमा बन्दी बनेका इभा र उनको परिवार सन् १९४४ मा समातिए। उनीहरूलाई त्यसपछि सोमल्योचेही नामको 'गेटो' (लखेटिएका यहुदीहरूका लागि बस्ने एक विशेष क्षेत्र)मा लगियो। उनीहरूका लागि त्यहाँ कुनै आवास थिएन, अरू यहुदी परिवारझैँ इभाका परिवारले पनि त्रिपाल (टेन्ट) हाले र बस्ने ठाउँ बनाए।
केही दिनमै उनका बुवालाई हिट्लरका आर्मीहरूले लिएर गए र मरणासन्न हुनेगरी कुटे र गेटो क्षेत्रमा ल्याएर फ्यालिदिए। यहुदीका सुनचाँदीलगायत बहुमूल्य सामान माग्थे आर्मीहरू। इभाका बुवासँग प्रशस्त जमिनबाहेक अरू केही थिएन। आफूसँग केही नभएको र चाँदीको नाममा एउटा क्यान्डल स्ट्यान्ड मात्र भएको बताएपछि उनले पिटाइ खाए। उनका औँलाहरू पोलिए। गेटोमा बसेको पाँच हप्तापछि, त्यहाँका यहुदीहरूलाई आउसिज यातना शिविर लगियो। उनी किताबमा सम्झिन्छिन् क्षेत्रीय गेटोबाट आउसिज यातना शिविरसम्मको यात्रा। चार दिन लामो सो यात्रामा मान्छेहरू भेडाबाख्राझैँ कोचिएका थिए। खानलाई खाना थिएन। पानी माग्दा आर्मीहरू एक बाल्टी पानीको सट्टा पाँच वटा सुनका घडी माग्थे र पानी फालिदिन्थे। भित्रबाट यहुदीहरूले अर्को बाल्टी थाप्थे र एक एक घुट्को पानी पिउँथे। मरेका लास, मलमूत्र र बिरामी वृद्धवृद्धासँगै खाँदिएर उनीहरू यातना शिविर पुगे।
इभाका बुवालाई सायद आफू यो यातना शिविरबाट नबाँच्ने पूर्वाभास भइसकेको थियो। श्रीमती र छोरीहरूसँग आँखा जुधाउँदै उनी भन्छन्, “मसँग वाचा गर, तिमीहरूमध्ये जो कोही पनि बाँच्यौ भने तिमीहरू प्यालेस्टाइन जानेछौ, जहाँ तिम्रा काका आरोण बस्छन्। यहुदीहरूको सो भूमिमा यहुदीहरू शान्तिसँग बस्न सक्छन्।”
रेलबाट झरेपछि महिलाहरूलाई एकातिर र पुरुषहरूलाई अर्कोतिर लाइन लगाइयो। इभा र मरियमले त्यो समय बैजनी रङको लुगा लगाएका थिए। एक जना नाजी अफिसरले उनीहरूलाई देखेर ‘ट्विन्स’ (जुम्ल्याहा) भन्दै करायो। आमा र दिदीहरूबाट छुट्टिएर इभा र मरियम ‘डाक्टर जोसेफ मेङ्गले’को चिकित्सा प्रयोगशालामा राखिए। उनी सम्झिन्छिन्- “मेरी आमाले हामीलाई लान नदिन विरोध गरिरहेकी थियौँ, मैले आखिरी गुडबाइ पनि भनेकी थिइनँ।”
आखिर इभाका बुवा, आमा र दुई दिदी बर्कनिउको ग्यास च्याम्बरमा मारिन्छन्।
जुम्ल्याहा र नाजी चिकित्सा प्रयोगशाला
उनीहरूसँगै आइपुगेका २६ जना जुम्ल्याहा जम्मा गरेर एउटा घरमा पुर्याइयो, जहाँ उनीहरूजस्तै अरू जुम्ल्याहा बालिका थिए। उनीहरूकै उमेरका, ‘टिनएजर’ या भर्खर दूध चुस्दै गरेका जुम्ल्याहा मात्र। उनीहरूलाई लुगा खोल्न भनिन्छ र कपाल काटिन्छ। हजामले जर्मन भाषामा भन्छन्- तिमीहरू भाग्यमानी रहेछौ, तिमीहरूको यहाँ राम्रो व्यवस्था हुन्छ। त्यहाँ ‘लेबर क्याम्प’ र ‘एक्सटर्मिनेसन क्याम्प’ गरी दुई वटा शिविर रहेको कुरो पछि मात्रै इभाले थाहा पाइन्। काम गर्न सक्नेहरू लेबर क्याम्पमा राखिन्थे भने एक्सटर्मिनेसन क्याम्पमा महिला, केटाकेटी र वृद्धवृद्धा हुन्थे, जसलाई सिधै ग्यास च्याम्बरमा मार्न पठाइन्थ्यो।
१५ वर्षभन्दा कम उमेरका बालबालिका सिधै ग्यास च्याम्बरमा पुग्थे। इभा र मरियम जुम्ल्याहा भएकाले मात्रै त्यहाँबाट ‘बाँच्ने’ अवसर प्राप्त भएको थियो। यो अर्को ‘मेडिकल क्याम्प’ थियो, जहाँ जुम्ल्याहामाथि अध्ययन हुन्थ्यो, अमानवीय चिकित्सा परीक्षण गरिन्थ्यो। उनीहरूलाई नुहाउन पठाइयो र त्यसपछि शुरू भयो, ट्याटु खोप्ने काम। इभा र मिरियमको पाखुरामा क्रमशः ए-७०६३ एन्ड ए-७०६४ नम्बरको ट्याटु खोपियो। अब उनीहरूको परिचय यही थियो।
ती जुम्ल्याहाहरू डाक्टर जोसेफ मेङ्गेलेका निजी सम्पत्तिझैँ थिए। ऊ जसरी र जे चाहन्थ्यो, जुम्ल्याहाहरूमाथि परीक्षण गर्थ्यो। विशेषतः ऊ जुम्ल्याहामाथि आनुवंशिक र तुलनात्मक अध्ययन गर्थ्यो। जुम्ल्याहामाथिको अध्ययनबाट ‘जेनेटिक गुण’ थाहा हुनेछ र त्यसलाई हेरफेर गरेर हिट्लर र नाजीहरूको लक्ष्यअनुरूप शुद्ध आर्यन वंश वृद्धि गर्न सकिन्छ भन्नेमा ऊ विश्वास गर्थ्यो। यो परीक्षणका लागि उसले जुम्ल्याहामध्ये एक जनामाथि ‘परीक्षण’ गर्थ्यो र अर्कोलाई ‘कन्ट्रोल’मा राखेर हेर्थ्यो। समान डीएनए भएका र सँगै जन्मिएकामध्ये एक जनामाथि परीक्षणको असर पर्दा अर्कोमाथि त्यसको असर हुन्छ कि हुँदैन भनेर ऊ बुझ्न चाहन्थ्यो।
यी दुई पुस्तक जसमा जुम्ल्याहा दिदीबहिनीको संघर्ष उल्लेख छ।
सँगै बसिरहेका अरू जुम्ल्याहाहरूबाट त्यहाँको मेडिकल परीक्षण, ग्यास च्याम्बर र भट्टी र त्यहाँबाट निस्किरहेका धुवाँ र ज्वाला देखेपछि इभा मनमनै कसम खान्छिन्, “म बाँच्नेछु, मरियम बाँच्नेछे, यो मेरो प्रण हो।” इभाले आफ्नी बहिनीलाई जसरी पनि बचाउनेछु भनेर आफैसँग गरेको वाचा हो ‘आइ विल प्रोटेक्ट यु’। दिदीबहिनीबीचको अमर प्रेम कथा पनि हो यो। उनीहरूको बसाइँ कति दर्दनाक थियो भन्ने कुरा एक/एक लाइनबाट थाहा हुन्छ।
एक रात इभा र मिरियम ट्वाइलेट जान हिँडे। ट्वाइलेटमा तीन जना बच्चाहरूको लास लडिरहेको थियो। खासमा ती बालक उनीहरू सुतेकै ठाउँमा मरेका थिए र 'लाससँग को सुत्छ?' भन्दै सँगै सुतेका साथीहरूले अर्को साथी मरेपछि त्यसरी लगेर फालिदिने रहेछन्। बाँचेका बच्चाहरूले मरेकाहरूको लुगा निकालेर आफूसँग राख्ने रहेछन्, किनकि मरेकालाई नभएर जिउँदालाई कात्रो चाहिने सत्य तिनले राम्ररी बुझ्न पाएका थिए। यो दृश्य देखेपछि इभा आफ्नी बहिनीलाई च्यापेर सुत्न थालिन्, आफ्नी बहिनी कहिल्यै आफूबाट नछुटून् भनेर।
नाजी डाक्टरहरूले मरियम र उनको टाउकोको नाप लिए र केही लेखे। एकदम ससाना कुरा उनीहरू ध्यानपूर्वक हेर्थे। विशेषतः आँखाहरूमा उनीहरूको रुचि थियो। घण्टौँ लामो शारीरिक नापजाँच गर्थे र हरेक कुरा टिप्थे। नाजी डाक्टरहरू उनीहरूको एउटा पाखुराबाट रगत निकाल्थे र अर्को पाखुराबाट ‘केमिकल’युक्त इन्जेक्सन लगाउँथे। इभा र मरियम आइडेन्टिकल ट्विन्स (उस्तै अनुहारका) भएका कारण इभालाई जुलाइको एउटा शनिबार इन्जेक्सनमार्फत कुनै केमिकल (सम्भवतः प्याथोजेन) दिइयो र मरियमलाई ‘कन्ट्रोल्ड अब्जरभेसन’मा राखियो।
त्यस रात इभा बिरामी परिन्, ज्वरोले सतायो। त्यसपछि उनलाई मरियमबाट छुटाएर ‘हस्पिटल ब्यारेक’ नम्बर २१ मा राखियो, जुन ग्यास च्याम्बरनजिकै थियो। त्यहाँ उनलाई खानापानी र औषधिमुलो केही दिँइदैनथियो। दिनको तीन पटक मेङ्गेलेलगायत अरू डाक्टर आउँथे र तापक्रम नापेर जान्थे। यो नारकीय हस्पिटल-ब्यारेकमा ल्याइएका जुम्ल्याहाहरू ‘कहिले मर्छन्’ भनेर मात्र हेरिन्थ्यो। एक दिन डाक्टर मेङ्गेलेले हाँस्दै भने, “यिनी सानै छिन्, तर पनि यिनीसँग दुई हप्ताभन्दा बढी आयु छैन।”
इभालाई मर्न मन्जुर थिएन, उनलाई बाँच्नु थियो, आफ्नी बहिनी बचाउनु थियो। उनी घिस्रिँदै दोस्रो तल्लामा झर्थिन् र ट्वाइलेटको पानी पिएर फर्किन्थिन्। यस्तै केही दिन बितेपछि उनकी आमाकी साथी लुकेर रोटीको टुक्रा लिएर आइन् र दिइन्। त्यो रोटी ‘इभा’कै भागको थियो, इभा बिरामी भएदेखि उनकी बहिनीले सो ‘एक्स्ट्रा’ पाइरहेकी थिइन्। खाना र पानीको जोहो भएपछि इभा बाँचिन्। उनीसँगै बिरामी भएर बसेका अरूहरूले थर्मोमिटर हल्लाएर तापक्रम कम देखाउने जुक्ति सिकाएपछि करिब १५ दिनमा मेडिकल ब्यारेकबाट निस्किन सकिन् इभा।
साहसको कथा हो इभाको। इभा ठीक हुँदै गएको देखेपछि डा. मेङ्गेलेले अब मरियमलाई केमिकलको डोज दिन थाले, जसबाट मिरियम थला परिन्। इभाजस्तै तरिका अपनाएर मिरियम पनि बाँच्न सफल भइन्। ती साहसी दुई दिदीबहिनीको कथा, जो सिंगो नाजीहरूको षड्यन्त्रविरुद्ध उभिएर बाच्न सफल भए।
१५ वर्षको उमेरमा लिइएको इभा र उनकी जुम्ल्याहा बहिनीको तस्वीर।
इभा सम्झिन्छिन्– “डाक्टर मेङ्गेले जेनेटिक अध्ययनमा मात्र सीमित थिए। उनी बालबालिकामाथि डरलाग्दो परीक्षण गर्थे, जसले गर्दा कैयौँ बालबालिकाले आफ्नो आवाज गुमाए, कैयौँ अशक्त भए। उनी 'केटालाई केटी र केटीलाई केटा बनाउने' परीक्षणसमेत गर्थे।”
नाजी मेडिकल क्याम्पमा करिब नौ महिना बिताएपछि उनीहरूलाई रसियन आर्मीले स्वतन्त्र पार्छन्। उनीहरू गाउँ फर्किँदा घर रित्तो हुन्छ। नरसंहारमा बाँचेकी फुपूसँगै बस्छन् अब इभा र मिरियम। बुवासँगको अन्तिम वाचा याद गर्दै उनीहरू सन् १९५० मा १६ वर्षको उमेरमा इजरायल जान्छन्। आफ्नो रित्तो घरमा फेला परेको केही जोर लुगा र केही पारिवारिक तस्वीरहरू बोकेर इजरायल पुग्छन्।
हस्पिटल–ब्यारेकमा बसिरहँदासमेत आफू मर्न सक्छु भन्ने एक पटक पनि नलागेको बताउने इभा बहिनीको हात समातेर कुनै दिन ‘कन्सन्ट्रेसन क्याम्प’बाट बाहिरिइरहेको कल्पना गर्थिन्। त्यो बेला उनलाई थाहा थिएन कि कुनै दिन नारकीय जिन्दगी बाँच्न बाध्य पार्ने र आफूजस्ता लाखौँ यहुदी मार्ने तिनै नाजीलाई माफी दिएर ‘मानवता’को एउटा अर्को अध्याय दुनियाँलाई पढाउनेछिन्। प्रेमको मशाल जलाउनेछिन्। उनले आखिर डाक्टर मेङ्गेलेलाई माफी दिइन्।
उनले माफी दिइन्…
विवाहपछि इभा पतिसँगै अमेरिका गइन्। त्यति बेला पनि उनलाई आफ्नो अतीतले पीडा दिइरह्यो। उनले त्यहाँ नयाँ गीत तयार गरिन् 'एबीसीडी'। गीतमा नरसंहारको बेला उनका अनुभव समेटिएका थिए। उनको सानो छोरा एलेक्स सोधिरहन्थे, “आमा, हाम्रा हजुरबुबा र हजुरआमा किन छैनन्?” इभालाई यस्ता कुराले चिमोटिरहन्थ्यो। उनी घृणा गर्थिन् नाजी र जर्मनीलाई। अमेरिकामै पनि हालोइन पर्वको समयमा बच्चाहरूले ‘स्वस्तिक’ चिन्ह बनाएर प्र्याङ्क (मजाक) गर्दा उनी अत्तालिन्थिन्।
सन् १९९३ मा आफ्नी बहिनीको मृत्युपछि उनी जर्मनप्रति घृणाले ग्रस्त हुन थालिन्। त्यसको केही समयपछि ‘बोस्टन विश्वविद्यालय’को एक सम्मेलनमा जाँदा उनले डाक्टर मेङ्गेलेसँगै काम गर्ने अर्का नाजी डाक्टर हान्स मुन्चबारे पत्ता लगाइन्, जो सम्मेलनमा उनीसँगै हुने कार्यक्रम थियो। त्यहाँ डाक्टर मुन्च नआएपछि इभा उनलाई भेट्न जर्मनी नै गइन्। उनको उद्देश्य डाक्टर मेङ्गेलेको परीक्षणबारे थाहा पाउनुथियो। मुन्चबाट उनले डाक्टर मेङ्गेलेबाहेक अरू कसैलाई परीक्षणबारे थाहा नहुने थाहा पाइन्। तर मुन्चबाट ग्यास च्याम्बरबारे धेरै कुरा थाहा पाइन्।
आफ्नो अतीत कोतर्दै हिँडेकी इभासँग ‘घृणा’बाहेक केही बाँकी हुँदैन। सन् १९९५ मा उनले डाक्टर मुन्चलाई आउसिज यातना शिविर गएर आफूले देखेका र गरेका सबै कुराहरूलाई शपथ पत्रमा लेख्न र हस्ताक्षर गर्न भनिन्, जुन मुन्चले बिनाहिचकिचाहट गरे।
यहीँबाट शुरू हुन्छ इभाको ‘क्षमादान’को नौलो अध्याय। करिब चार महिनासम्म डाक्टर मुन्चलाई कसरी 'एप्रिसियट’ गर्ने भनेर सोचेकी इभाले अन्त्यमा उनलाई क्षमादान दिँदै पत्र लेख्छिन्। आफूलाई अंग्रेजी सिकाउने शिक्षकलाई त्यो पत्रको अंग्रेजी 'भर्सन' हेर्न दिँदा शिक्षकले भन्छिन्, “इभा, तिम्रो अपराधी मुन्च हैन रहेछन्, डाक्टर मेङ्गेले हुन्। तिमी घर गएपछि मेरो यत्ति कुरा मानिदेऊ, मेङ्गेलेसँग कुरा गर र ‘मैले तिमीलाई माफी दिएँ’ भन।”
इभा घर आउँछिन्, ढोका बन्द गर्छिन् र डायरी पल्टाएर शब्दकोशबाट अनेकन् तुच्छ शब्दहरू निकाल्दै टिप्छिन्। अन्त्यमा आफैसँग फुसफुसाउँछिन्, “तैँले मसँग जेजस्तो व्यवहार गरिस्, त्यसको बाबजुद पनि तँलाई थाहा हुनुपर्छ कि मैले तँलाई माफ गरिदिएँ…।”
आफू अब पुरानै अवस्थामा नरहेको र आफू पनि शक्तिशाली भएको बताउँदै इभा भन्छिन्- “मसँग पनि शक्ति छ, त्यो हो- क्षमादानको शक्ति। म डाक्टर मेङ्गेलेलाई माफ गर्न सक्छु भने मलाई लाग्छ कि जो कसैलाई पनि माफ गर्न सक्छु।”
वर्षौंसम्म जातीय नरसंहारको घाउ बोकेर बाँचेकी इभाले नाजीहरूलाई माफ गरिदिएको कुरा बाहिरिएपछि सन् २००३ मा उनको अमेरिकास्थित सानो ‘क्यान्डल्स होलोकस्ट म्युजियम एन्ड एडुकेसन सेन्टर’ जलाइएको थियो। आगलागी भुईंतला जलेपछि सन् २००५ मा त्यसको पुनर्निर्माण गरियो। आफूले नाजीहरूको कुकृत्यलाई माफ गरेको नभई, वर्षौंसम्मको बोझिलो घाउ र भावनात्मक दुखाइबाट अन्त्य पाउने एक मात्र अस्त्रको रूपमा ‘क्षमा’ दिएको स्विकार्दै आफ्नै लागि तिनलाई माफी दिएको बताइन् उनले। माफी दिएर मात्रै आफू घृणा र क्रोधको दलदलबाट बाहिर निस्की पुनः शान्त जिन्दगी जिउन सक्ने उनको तर्क छ। नाजीहरूलाई क्षमादान दिनु आफ्नो व्यक्तिगत छनोट र मुक्तिको मार्ग भएको स्विकार्ने इभाको मृत्यु सन् २०१९ जुलाई ४ मा पोल्यान्डमा भयो। इभा मोज्सको जीवन र व्यक्तित्वभित्र गहिरो दर्शन लुकेको छ, त्यो हो क्षमाको दर्शन। आफै जातीय नरसंहारको चक्रव्यूहमा परेर बाँचेकी इभाले अन्ततः मान्छेलाई शान्ति चाहिने, क्रोध र घृणा लिएर कसैले पनि आनन्दसँग जीवन बिताउन नसक्ने सन्देश दिइन्। नाजीहरूलाई उनले दिएको क्षमादानको व्यक्तिगत छनौट संसारलाई युद्धबाट बचाएर उज्यालो भविष्य देखाउने बिन्दु हुनसक्छ।