Monday, March 24, 2025

-->

‘झिम्रुकले नबगाएकी’ मनमाया र आधुनिक नारी

मनमाया नजन्मिँदै, संयुक्त राष्ट्रसंघले सन् १९९३ को आफ्नो मानव अधिकार सम्मेलनमा महिलामाथि हुने कुनै पनि हिंसा मानव अधिकारको उल्लंघन हो भनेको थियो।

‘झिम्रुकले नबगाएकी’ मनमाया र आधुनिक नारी

'सोसल वर्क' विषयको विद्यार्थी भएका कारण महिलासम्बन्धी हुने हिंसाबारे अध्ययन गर्ने क्रममा एक संघर्षशील महिलासँग केही महिनाअघि भेट हुन पुग्यो। उसो त नेपाल, भारतलगायत तथाकथित तेस्रो विश्वका जुनसुकै सडकमा पुग्दा उत्पीडन र हिंसा भोगेका महिला जहाँसुकै सहजै भेटिएलान्। नलेखिनु अलग कुरा, यहाँ उल्लेख गर्न लागिएकी मनमायाको जस्तै जीवन धेरै नेपाली आमा र काकीहरूको बितेको छ: 

पाँच दशकअघि मध्यपश्चिम नेपालको कुनै सामान्य परिवारमा जन्मिएँ। मेरा बुवा गाउँको स्कुलमा शिक्षक थिए। बाउ नै शिक्षक हुनु धेरै अर्थमा विशेषाधिकारयुक्त हुनु हो, तर प्रशस्त सन्तान भएको परिवार भएकाले हामीले आफूलाई त्यस्तो विशेष महसुस गर्न पाएनौँ। बाले स्कुल पढाउने भनेपछि आमाको दैनिकी घरायसी काम, खेतीपाती र गाईबस्तुको हेरचाहमा बित्थ्यो। हामी सबै दाजुभाइ-दिदीबहिनी सरकारी विद्यालयमा पढ्थ्यौँ। उसो त उतिखेर 'बोर्डिङ' भनेर चिनिने प्राइभेट स्कुल देशमा थोरै संख्यामा थिए र अलि धनीमानीले मात्र ती स्कुलमा पढ्न पाउँथे। हामी विद्यालय छुट्टी हुनेबित्तिकै मिलेर घरायसी काम गर्थ्यौं।

समय बित्दै जाँदा स्कुले जीवन सकियो। एसएलसी सकेलगत्तै अर्को गाउँबाट मलाई माग्न केटा र केटा पक्ष आए। त्यसको केही महिनामै मेरो विवाह भयो। अहिलेझैँ त्यस समय बिहे गर्नुपूर्व वरवधूबारे खासै खोजीनिती गर्ने अभ्यास खासै थिएन। सञ्चारका कारण अहिलेझैँ धेरै कुरा जान्नबुझ्न सहज पनि थिएन। त्यसमाथि 'रजस्वला नभई कन्यादान गरे स्वर्गको ढोका खुल्छ' भन्ने समाजले छोरीलाई बोझ ठान्थ्यो। अहिले पनि ठान्छ र गर्भमा छोरी भएको थाहा पाउँदा भ्रूण हत्या गर्नेहरू छन्। त्यसो हुँदा, 'छोरीलाई जति छिटो घरबाट पन्छायो, उति नै सजिलो!' मेरो विवाह धूमधामसँग भयो, बाजागाजासहित सयभन्दा बढी जन्ती आए र म 'कर्मघर' पुर्‍याइएँ।  

विवाहपछिको जीवन मेरा लागि धेरै कोणबाट सहज भएन। घर (ससुराल) पुगेकै केही दिनबाट "भिखारीकी छोरी" भनेर परिवारमा गिज्याउन थालियो। तर माइतीमा बाआमा दुखी होलान् भन्ने ठानेर आफूमाथि हुने गरेको गालीगलौज र अपमानबारे उहाँहरूसँग कहिल्यै कुरा गरिनँ।

कस्तो आइपर्‍यो भने, विवाह भएको त्यस्तै एक वर्ष नपुग्दै मेरा देवरमा मानसिक समस्या देखियो। त्यसो भएपछि पढाइ छाडेर उनी घरमै बस्न थाले।

सासूले धामीझाँक्री बोलाएर उनको 'उपचार' गर्न खोजिन्। धामी न थियो, 'बोक्सीको  कारण छोराको मानसिक समस्या निम्तिएको' भनेर देखाइदियो। मलाई काल्पनिक बोक्सी ठहर गर्दै सासूले ममाथि शारीरिक र मानसिक हिंसा सुरु गरिन्। देवर बिरामी भए, त्यही निहुँमा मलाई परिवारले मानसिक रूपमा प्रताडना दिएर बिरामी बनाउन थालियो। नभएको, अदृश्य शक्तिमाथिको विश्वासले म साँच्चै शक्ति भएको, जिउँदो व्यक्तिलाई शक्तिहीन बनाउने अभ्यास थालियो। 

दैनिक जसो अन्यसँगै बोक्सीको आरोप झेल्नुपरेपछि म आजित भएँ। खोलामा गएर बगेपछि सबै दुःख भाग्छन् भन्ने ठान्दै एक रात झिम्रुक नदीमा छिरेर मर्न खोजेँ। तर, हिउँदे खोलाले मलाई बगाएन। अरू उपायले जीवन त्याग्ने ममा हिम्मत पनि पलाएन, त्यसैले भिजेकै कपडामा माइती पुगेँ।

म माइती पुगेको थाहा पाएपछि ससुराले मलाई ससुराल (घर) फर्काउने प्रयास गरे। श्रीमानलाई पनि म 'चाहिएको' थियो।  त्यसैले 'अबदेखि दुःख नदिने' वाचा गरी माइतीबाट लिएर आए। तर मलाई घर फर्कन मन लागेन। बरु, घरभन्दा अलि टाढा रहेको गोठमा बस्न थालेँ। गोठमा घरमा झैँ न ओढ्ने लुगा थियो, न खाने भाँडाकुँडा। घरबाट जसोतसो ल्याएका सामानले काम चलाएर जीवन धान्न थालेँ। बेलाबेला ससुरा आएर भरथेग गर्थे, उनमा मप्रति थोरै दयाभाव थियो।

गोठमै बस्दाबस्दै चार वर्षका बीच मेरा दुई छोरी भए। पहिलो छोरी हुँदा कसैले नकारात्मक प्रतिक्रिया दिएनन्, तर दोस्रो छोरी हुँदा उनलाई "छोरी मात्र जन्माउने अभागी" भनेर गाली गर्न थाले। कतिसम्म भने दोस्रो छोरीको पालामा गाउँको कुनै व्यक्तिले यतिसम्म भन्यो, "ए दाइ, फेरि छोरी जन्मिछ। बाँसको घारीमा फ्याँकिदेऊ।"

मेरा श्रीमान् अब नियमित रक्सी सेवन गर्न थाले, आफू काम नगर्ने उनी मलाई भने शारीरिक तथा मानसिक दुवै हिंसा गर्ने गर्थे। कस्तो खालका हिंसा गर्थे भनेर व्याख्या गर्न मलाई अप्ठ्यारो लाग्छ।

जीवन झनै कष्टकर बन्दै जाँदा आफ्नो सानी छोरीलाई माइत पठाएँ। मसँग अरू कुनै विकल्प पनि त थिएन। अनि आफूचाहिँ गाउँको विद्यालयमा 'प्रौढ शिक्षा'मा स्वयंसेवक शिक्षक भएर काम गर्न थालेँ। प्राण धान्न मात्रै भरथेग गर्थ्यो, त्यसबाट प्राप्त हुने केही पैसाले।

पहिले छोरी जन्माएकै कारण हिंसा भोगेकी मैले पछि छोरा पाएँ। छोरा जन्मेपछि समाजको मुख बन्द भए, तर रक्सीको कुलतमा परेका लोग्ने झनै हिंस्रक बन्दै गए। तर सन्तानकै खातिर पनि मैले जीवनबाट हार मान्नु थिएन।

पशुपालन आदि गरेर, खनीखोस्री गरेर मेरा बच्चालाई पनि पढाउनु थियो। पढाएँ। चार छोराछोरीमध्ये एक छोरी बितिन्। बाँकी सबैले स्नातकोत्तरसम्मको अध्ययन सकेर प्रतिष्ठित संस्थाहरूमा जागिर खाएका छन्। सन्तानहरू सक्षम हुँदै गएपछि अहिले तिनको साथले म बलियो भएको छु भने श्रीमान् पनि ममाथि हिंसा गर्न सक्ने आर्थिक/शारीरिक सामर्थ्यमा छैनन्। संयमित छन्।

मेरो बिहे भएकै ३० वर्ष पुगिसकेको छ। अचेल मान्छेहरू विवाह वार्षिकोत्सव (एनिभर्सरी) मनाएको देख्छु, तर मेरा जीवनमा यस्तै कुनै उत्सव कहिल्यै जुरेनन्, न बालबच्चाको जन्मदिन नै मनाइयो। समाजदेखि परिवारले गर्ने व्यवहार खप्दै र खेप्दै, अनेकौँ हन्डर खाँदै जीवनका झन्डै ५० शिशिर बिताएँ। वसन्त त मैले विरलै देखेँ। धेरै गह्रुङ्गा भारी बोकेको भएर होला, अझै केही दशक जतिसुकै कष्ट पनि भोग्न सक्छु कि भन्ने ठानेको छु।

अहिले भारी हलुका हुँदै गएका छन्। तर कहिलेकाहीँ लाग्ने गर्छ–यौवन घर्केपछि ज्यान हलुङ्गो भएको छ। पहिले नै यति सहज भइदिएको भए जीवन कति उल्लासमय हुँदो हो?

मनमायाको यो कथा नेपाललगायत विश्वभरका महिला हिंसाको एउटा हिस्सा हो। मनमाया नजन्मँदै, संयुक्त राष्ट्रसंघले सन् १९९३ को आफ्नो मानव अधिकार सम्मेलनमा महिलामाथि हुने कुनै पनि हिंसा मानव अधिकारको उल्लंघन हो भनेको थियो।

नेपालको संविधानको धारा ३८ मा महिलामाथि हुने कुनै पनि सामाजिक, आर्थिक, शारीरिक र मानसिक हिंसाविरुद्ध उचित सजायको व्यवस्था छ। तर एक (सापकोटा २०२४) को रिपोर्ट हेर्दा नेपालमा १३ प्रतिशत महिलालाई मात्र आफूमाथि भइरहेका अत्याचारहरू 'महिला हिंसा' हुन् र अत्याचारीलाई अपराधको व्यवस्था छ भन्ने थाहा नभएको देखिन्छ। भन्नुको अर्थ हिंसा भोग्नुलाई अझै पनि धेरै महिला स्वाभाविक ठान्छन्। उत्पीडन मेरो नियति भन्ने ठान्छन्। त्यसैले तिनको विवाह टिकिरहन्छ।

आफूमाथि भएको अत्याचार महिलाले सहनुको अर्को कारण कथित इज्जत हो। अधिकांश महिला 'माइती र आफ्नो इज्जत जोगाउन'कै लागि हिंसा सहेर बस्छन्। आफूमाथिको अपराधबारे प्रहरीमा रिपोर्ट गर्दा परिवार र आफ्नै 'इज्जतमा दाग' लाग्छ भन्ने ठान्छन्। यसै कारण पनि छोरी मान्छे सानैदेखि शिक्षादीक्षाभन्दा पनि घरेलु काम र धर्मकर्ममा बढी जोड दिने गर्छन्। समाजले पनि छोरीलाई सानैदेखि 'सभ्य, सुशील र इज्जतिलो' बन्न सानैदेखि सुझाउँछ। झुक्न, खाना बनाउन र घरायसी सरसफाइलगायत काममा सिपालु बन्न प्रेरित गर्छ।

महिला हिंसाका अनेकन् कारण  होलान्, तर मूल रूपमा पितृसत्तात्मक समाज, विश्वास, मूल्यमान्यता र धार्मिक विश्वास नै हो। रामायणमा 'राम सीता विवाह'को समयमा सीताकी आमा भन्छिन्, ''महिलाको पति नै उनको भगवान् हो, आफ्नो पतिबाहेक अरू कुनै ऋषि, सन्न्यासी, महान् आत्मा वा देवताको आज्ञा पालन गर्नुपर्दैन। महिलाको एक मात्र कर्तव्य आफ्ना स्वार्थी उद्देश्यहरू त्याग्नु र आफ्नो पतिको उत्थानको लागि मात्र काम गर्नु हो। जुन नारी आफ्नो पतिको लागि हरेक तरिकाले पवित्र र सच्चा हुन सक्छिन्, उनलाई कसैको आशीर्वादको आवश्यकता पर्दैन। भगवान् पनि उनको डर मान्छन् र भगवान् उनको वचनमा बाँधिएका छन्। राजा र पतिलाई उसको मनोदशाअनुसार बोल्नुपर्छ।''

आमाको उपदेश सीताले जीवनभर मानिन्, तर उमेरमा जंगलमा बसेकी सीता कथा अन्ततः वियोगान्तमा टुंगियो। उनको अग्निपरीक्षा लिइयो। 'राज्य र रघुकूलको इज्जत जोगाउन' दुई कलिला सन्तानकी आमा उनी घरबाहिर लखेटिइन्।

यो त भयो कथाको कुरा, तर अहिले पनि धेरै महिलाहरू पितृसत्ताको उत्पीडन सहेर बसेका छन्।  एक पल्ट मात्र प्राप्त हुने जीवन केबल विवाह, शरीर सुख, सन्तानोत्पादन र अभिभावको भूमिकामा मात्र सीमित नहोस्। माथि भेटिएकी मनमायाझैँ अभिसप्त जीवन नबाँचौँ। तिनको जीवन संघर्ष बुझेर शिक्षित बनौँ, मेहनत गरौँ। असैह्य हुँदा विद्रोह गरौँ। गरीमा र आत्मसम्मानपूर्वक उन्मुक्त जीवन बाँचौँ। नयाँ युगको चेतना, शिक्षा  र प्रविधि हाम्रा पखेटा हुन्। यिनको उपयोग गरौँ।

(गिरी एक गैरसरकारी संस्थामा कार्यरत छिन्। उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका व्यक्तिगत हुन्।)


सम्बन्धित सामग्री