Friday, February 07, 2025

-->

नेपाली वनस्पतिबारे दुई किताब : रचनाका कथाव्यथा

धेरै प्रकाशनगृहले ‘हामी छाप्छौँ’ भनेर लामो समयसम्म झुलाए। प्रकाशनगृह खोज्ने क्रममा कैयौँसँग छलफल, ‘कफी र खाजा मिटिङ’ कति पटक भयो भनेर पछि त गन्न नै छोडियो।

नेपाली वनस्पतिबारे दुई किताब  रचनाका कथाव्यथा

नेपालमा पाइने वनस्पतिको अनुसन्धान गर्ने पहिलो व्यक्ति फ्रान्सिस बुकानन हुन्। सन् १८०२-१८०३ मा उनले काठमाडौँ वरपरका वनस्पतिका विभिन्न प्रजातिको संकलन र अध्ययन गरे। नेपाल आउँदाताक फ्रान्सिस बुकानन तत्कालीन कलकत्तामा रहेको इस्ट इन्डिया कम्पनीको बोटानिक गार्डेनका सुपरिटेन्डेन्ट थिए। 

फ्रान्सिसपछि नथानिएल वालिखले १८२० डिसेम्बर २० देखि १८२१ नोभेम्बर ७ सम्म काठमाडौँको भ्रमण गरे। उनी काठमाडौँको पश्चिममा रहेको नुवाकोटसम्म गए र केही व्यक्तिलाई गोसाइँकुण्डसम्म पठाएर विभिन्न वनस्पतिका प्रजाति संकलन गरी तिनको अध्ययन गरे।

जोसेफ डाल्टन हुकर अर्का प्रख्यात वनस्पतिविज्ञ र संकलक हुन्। उनले सन् १८४८ मा पूर्वी नेपालको तमोर-अरुण क्षेत्र र वालुङचुङगोलाबाट वनस्पतिका नमूना संकलन गरेका थिए। आफूले गरेको भ्रमणबारे सम्पूर्ण जानकारीसहित भूगोल, वनस्पति र जलवायुको विस्तृत विवरण जोसेफ डाल्टन हुकर सन् १८५४ मा प्रकाशित ‘हिमालयन जर्नल’मा उल्लेख गरेका छन्।

सन् १८१४-१८१६ को इस्ट इन्डिया कम्पनीसँग भएको युद्धमा नेपालले भोगेको पराजयपछि काठमाडौँ उपत्यकामा अनिवार्य रूपमा बेलायती प्रतिनिधि राख्नुपर्ने प्रावधान बन्यो। संसारका लागि नेपाल प्रतिबन्धित रहेता पनि बेलायतीका लागि भने अब आंशिक रूपमा खुला हुन पुग्यो। पछि सन् १९५१ मा राणाशासनको अन्त्य भएसँगै नेपाल सबैका लागि खुला भयो। त्यसपछि बेलायतसँगै जापान, फ्रान्स, अमेरिका, स्विट्जरल्यान्ड, जर्मनी, भारत, डेनमार्क, स्विडेन र चीन लगायत धेरै देशका वैज्ञानिकहरूले आजसम्म लगभग ४७१ पटक नेपाली वनस्पतिको संकलन, पहिचान र तिनको अध्ययन अनुसन्धानका निम्ति नेपालका विभिन्न ठाउँमा भ्रमण गरिसकेका छन्। आफ्नो अध्ययन अनुसन्धानबाट धेरैले लेख र किताब लेखेका छन्। 

नेपाल सपुष्पक वनस्पति प्रजातिको आधारमा विश्वमा २७औँ र एशियामा १०औँ स्थानमा रहेको छ। नेपालमा पाँच हजार ६०६ प्रजातिका सपुष्पक वनस्पति (एन्जिओस्पर्म), ५५० प्रजातिका उन्यु र उन्युजन्य वनस्पति (टेरिडोफाइट), २६ प्रजातिका कोणधारी वनस्पति (जिम्नोस्पर्म), एक हजार एक प्रजातिका लेउ (अल्गी), दुई हजार २५ प्रजातिका ढुसी र च्याउ (फंगी), एक हजार ७८ प्रजाति र ५१ उपप्रजातिका झ्याउ (लाइकेन), एक हजार २१५ प्रजातिका काइ (ब्रायोफाइट) र ५५९ प्रजातिका जंगली र खेती गरिएका बाली (वाइल्ड एन्ड कल्टिभेटेट क्रप) पाइन्छन्। 

वनस्पतिका विविध पक्ष समेटेर म र सालिक राम सिग्देलको सम्पादनमा ‘फ्लोरा एन्ड भेजिटेसन अफ नेपाल’ छापिएको छ। म, सालिक राम सिग्देल, सरोजकुमार कसजू र ला दोर्चे शेर्पाको सहलेखनमा ‘प्लान्ट्स अफ काठमाडौँ भ्यालिस् ए पिक्चोरिएल गाइड’ सन् २०२४ मा प्रकाशन भएका छन्।  

फ्लोरा एन्ड भेजिटेसन अफ नेपाल
विभिन्न प्रकारका वनस्पतिबारे छरिएर रहेका जानकारी एकत्रित गरी फ्लोरा एन्ड भेजिटेसन अफ नेपाल पुस्तकमा जम्मा १५ अध्याय समावेश छन्। किताबको प्रथम अध्यायमा नेपालको भौगोलिक स्थिति, हावापानी, नदी प्रणाली, माटो, जैविक विविधता र भूउपयोग ढाँचाबारे लेखिएको छ भने दोस्रोमा फ्रान्सिस ह्यामिल्टनका पालादेखि सन् २०२४ सम्म वनस्पति अध्ययन अनुसन्धानका लागि गरिएका भ्रमण, वनस्पतिको फैलावट र उत्पत्तिका साथै वनस्पतिका आधारमा नेपाललाई कसरी विभाजन गरिएको भन्ने जानकारी दिइएको छ।

नेपाल सानो भए तापनि यहाँ पाइने समग्र वनस्पति (भेजिटेसन) र वनका विभिन्न प्रकार छन्। सन् १९५७ मा यु स्वाइनफर्थले नेपाली वनस्पतिको नक्सांकन सुरु गरे र उनीपछि धेरैले अध्ययन गरी अहिले आएर नेपालमा ६९ प्रकारका भेजिटेसन, ५४ प्रकारका वन, ६ प्रकारका झारपात र झाडीयुक्त जमिन र नौ प्रकारका घाँसे मैदान छन् भन्ने कुराको विस्तृत जानकारी अध्याय तीनमा छ।

नेपालको शिवालिक निक्षेपहरूमा मध्य मियोसिनदेखि प्रारम्भिक प्लेइस्टोसिन अवधिसम्म वनस्पति (पेलियोफ्लोरिस्टिक) र हावापानी (पेलियोक्लाइमेटिक) भएका परिवर्तनहरूको अद्यावधिक विवरणले जीवाश्म वनस्पतिको बुझाइलाई फराकिलो पारिदिएको छ (अध्याय चार)।

अध्याय पाँचले लेउबारे गरिएका अनुसन्धानका प्रवृत्ति र ढाँचाहरूको सारांशको चित्रण गर्छ भने अध्याय ६ ले नेपाली ढुसी तथा च्याउ प्रजातिको अवस्था, महत्त्व, विषाक्तता र केही रसायनबारे भएका विभिन्न अनुसन्धानबारे प्रकाश पारेको छ। अध्याय सातमा काइ, आठमा च्याउ, नौमा उन्यु र उन्युजन्य प्रजाति, १० मा कोणधारी वनस्पति, ११ मा सपुष्पक वनस्पतिबारे विस्तृत जानकारी दिइएको छ।

यसैगरी, १२ अध्यायमा आर्थिक रूपमा महत्त्वपूर्ण वनस्पतिको परिचय, १३ अध्यायमा मिचाहा र विनाशकारी झारबारे, १४ अध्यायले विश्वमा बढिरहेको तापक्रमले कसरी वनस्पतिलाई असर गरिरहेको छ भन्ने जानकारी दिएका छन्। अन्त्यमा, अध्याय १५ मा नेपालमा वनस्पति र जैविक विविधताको संरक्षणका निम्ति व्यवस्थापन गरिएका कानून र उक्त कानूनको कार्यान्वयनको अवस्थाबारे उल्लेख छ। यसमा नेपालको संविधान, ऐन, नीति, रणनीति, योजना र नीतिगत कागजातहरूबारे विस्तृत जानकारी समावेश छ।  

प्लान्ट्स अफ काठमाडौँ भ्यालिस् ए पिक्चोरिएल गाइड
काठमाडौँ उपत्यका लगभग ११ हजार वर्षपहिले एउटा ताल थियो। तालको संकुचन दक्षिण-उत्तर दिशाबाट बढ्दै गएर अन्ततः सुक्न गई यो उपत्यका मानव बसोबासका लागि उपयुक्त भयो। सबैभन्दा पहिले बसोबास गर्ने गाईपालक (९९०० देखि ७०० ईसा पूर्वसम्म) को पालादेखि अहिलेसम्म आइपुग्दा पनि उपत्यका जैविक विविधतामा सम्पन्न छ। उपत्यकामा २२ भन्दा बढी स्तनधारी जनावर, १२९ ढुसी प्रजाति, २५६ चरा प्रजाति, र एक हजार ३१२ सपुष्पक वनस्पति प्रजाति, १६९ उन्यु र उन्युजन्य प्रजाति र १०० भन्दा धेरै सुनाखरीका प्रजातिले समृद्ध जैविक विविधताको प्रतिनिधित्व गर्छन्।

म चेक गणतन्त्र र अर्का लेखक सालिकराम सिग्देल चीनमा बसी वनस्पति अध्ययन अनुसन्धानमा संलग्न भएकाले हाम्रो सम्बन्ध पुरानो हो। सेवानिवृत्त जीवन बिताइरहेका सरोजकुमार कसजू र आफ्नै व्यवसायमा व्यस्त ला दोर्चे शेर्पाको भेट भने फेसबुकमार्फत भएको हो। दुवै जनाले बोटबिरुवाको फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने हुनाले हाम्रो भेट सम्भव भएको हो।

म र सालिक बर्सेनि अध्ययन अनुसन्धानको कामले नेपाल आउने-जाने हुनाले समय मिलेसम्म आफ्नै व्यक्तिगत खर्चमा काठमाडौँ उपत्यका वरपरका धेरै ठाउँ चाहर्न झन्झट मानेनौँ। हामीसँगै सरोजकुमार कसजू र ला दोर्चे शेर्पाले पनि आ–आफ्नो व्यक्तिगत खर्चमा घुम्न र फोटो खिच्न कहिल्यै कन्जुस्याइँ गरेनन्। निरन्तर घुमिरयौँ, फोटो खिचिरह्यौँ। सन् २०१९–२०२१ मा कोभिडले कोठामा थुनिनु पर्दा गम्भीर रूपमा फोटो केलाउने कामले मूर्त रूप लियो। हजारौँ फोटो हेरियो, राम्रा छानियो, फोटोमा भएका वनस्पतिको उपयुक्त पहिचान गरियो। 

उपत्यकामा पाइने विभिन्न वनस्पतिको फ्रान्सिस बुकाननका पालादेखि अहिलेसम्म धेरै अध्ययन अनुसन्धान भएका छन्। तर पनि वनस्पतिका राम्रा चित्रसहित पूर्ण विवरण भएका किताबको भने अभाव थियो। त्यसैले त्यस्तो किताबको परिकल्पना हामीले सन् २०१०/१२ तिर गरेका थियौँ। लगभग १२/१३ वर्षको निरन्तर प्रयासले अन्ततः हामीले वनस्पतिसँग सम्बन्धित व्यक्तिका लागि मात्र नभई सर्वसाधारण, पर्यटक, प्रकृति प्रशंसक, पारिस्थितिकीविद्, संरक्षणविद् र अन्य व्यक्तिका लागि उपयोग हुने किताब प्रकाशन गर्न सफल भयौँ। 

यो किताबको पहिलो अध्यायले उपत्यकाको भौगोलिक स्थिति, इतिहास, हावापानी, यहाँका बासिन्दा र उनीहरूको संस्कृतिबारे बुझ्न आवश्यक पृष्ठभूमि पेश गरेको छ। अध्याय दुईले उपत्यकाको वनस्पति र जैविक विविधताको अवस्थाबारे प्रकाश पारेको छ। मुख्य अध्यायका रूपमा प्रस्तुत गरिएको अध्याय तीनमा जम्मा ८८५ प्रजातिका वनस्पतिको चित्रसँगै तिनका वैज्ञानिक वर्गीकरणमा प्रयोग हुने वानस्पतिक परिवार, वैज्ञानिक नाम, स्थानीय भाषाका विभिन्न नाम, वनस्पतिको विवरण, फूल फुल्ने र फल लाग्ने समयावधि, वासस्थान, वनस्पतिको फैलावटको दायरा र मानिसले तिनको प्रयोग कसरी गर्छन् भन्नेबारे जानकारी समावेश गरिएका छन्। 

एउटा बिरुवाको प्रजातिलाई सही रूपमा पहिचान गर्न उक्त बिरुवाको प्रकार (झार, झाडी वा रुख), जरा, डाँठ, पात, पातको प्रकार, फूलको रङ्ग, प्रकार, फूलका विभिन्न पत्र अनि तिनका प्रकार, फल, फलका प्रकारको ठूलो महत्त्व हुन्छ। त्यसैले प्राविधिक रूपमा कुनै बिरुवाको वर्णन गर्नुपर्‍यो भने यी सबै कुरा समेट्न जरुरी हुन्छ। यसो गर्दा बिरुवाको सही पहिचान गर्न सहयोग पुग्छ। हामीले देख्दै आएको र खाँदै आएको ऐँसेलु रातो, कालो र पहेँलो खालका मात्र हुन्छन्, तर मिहिन किसिमले हेर्दा नेपालमा ऐँसेलुका जम्मा ३३ प्रजाति छन्।

यसरी, वैज्ञानिक हिसाबले अध्ययन गर्दा एउटा बिरुवाको नाम संसारभर एउटा मात्र हुन्छ। उक्त नाम ल्याटिन भाषामा राखिन्छ र त्यसलाई वैज्ञानिक (साइन्टिफिक) नाम भनिन्छ। उदाहरणको लागि आलुको नाम विभिन्न देशमा फरक भए तापनि यसको वैज्ञानिक नाम ‘सोलानम ट्युबरोसम’ हो। यस्ता कुरा ध्यानमा राखेर लेखिएको हाम्रो किताबले काठमाडौँमा पाइने सपुष्पक वनस्पति प्रजातिको सहज पहिचानमा सहयोग पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।

केवल वनस्पतिको फोटो र वर्णन पढ्दा निरस हुन्छ भनेर यो किताबमा सकेसम्म प्रत्येक बिरुवाको प्रयोगबारे विस्तृत रूपमा उल्लेख गरेका छौँ। यस्ता प्रयोगबारे सकेसम्म विभिन्न स्रोत-सामग्रीबाट संकलन गरी जानकारी कहाँबाट लिइएको हो भनेर सन्दर्भ सामग्रीको नाम पनि उल्लेख गरेका छौँ। 

बाधा-अड्चन र प्रकाशकको अभाव
हाम्रा दुवै किताबको विषय वनस्पतिसँग सम्बन्धित र भाषा मुख्यतः प्राविधिक हुने भएकोले किताब अंग्रेजीमा लख्ने निधो गर्‍यौँ। अंग्रेजीमा लेख्नुको अर्को फाइदा भनेको अन्तर्राष्ट्रिय रूपमा धेरै मानिसले खरिद गर्नु पनि हो। 

सन् २०२२ ताका जब फ्लोरा एन्ड भेजिटेसन अफ नेपाल किताबको खाका तयार परियो, त्यही बेलादेखि नै हाम्रो उद्देश्य भनेको राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा धेरैभन्दा धेरै पाठकमा हाम्रो किताब पुर्‍याउनु थियो। त्यसैले सुरुदेखि नै हामीले सकभर अन्तर्राष्ट्रिय प्रकाशकको खोजी गर्न थाल्यौँ। हामीले अन्तर्राष्ट्रिय अनि प्रसिद्ध प्रकाशक स्प्रिंगरलाई सम्पर्क गर्‍यौँ। स्प्रिंगरले पूरा किताब हामी दुई जनाले लेख्ने कि अरूले पनि लेख्छन् भनेर सोध्दा प्रत्येक अध्याय आफैँ लेख्दा विज्ञता कतै नपुग्ने हो कि भन्ने भयले हामीले विज्ञलाई इमेलबाट अध्यायहरू लेखिदिन अनुरोध गर्‍यौँ। 

विभिन्न अध्याय लेख्न अनुरोध गर्दा हामीले चार किसिमका व्यक्ति भेट्यौँ। पहिलो प्रकारका लेखकले हाम्रो अनुरोध सहजै स्वीकारे। दोस्रो प्रकारकाले आफ्नो सहभागिता देखाउन नचाहेर आलटाल गरे। तेस्रोले ‘तिमीहरू हामीभन्दा कम उमेरका हौ, कहाँ हामीले तिमी सम्पादक भएको किताबमा लेख लेख्ने?’ भनेर अनिच्छा प्रकट गरे। चौथो प्रकारकाले हाम्रो इमेलको जवाफ नै फर्काएनन् र पुनः अनुरोधका लागि फोन गर्दासमेत कल उठाएनन्। जसोतसो मेलोमेसो मिलाएर सबै अध्यायका लेखका विस्तृत विवरणसहित किताबको प्रारम्भिक प्रस्ताव प्रकाशकलाई पठायौँ। अध्ययनपछि स्प्रिंगर स्विट्जरल्यान्ड शाखाले हाम्रो प्रस्ताव स्वीकारे। त्यसपछि सुरु भयो, तोकिएको समय सीमा पूरा गर्नुपर्ने कामको तालिका।

पछि केही लेखकले आफूले वाचा गरेका अध्याय समयमै बुझाए, केही लेखकले बारम्बार अनुरोध गर्दा पनि लेखेनन्। मुख्यतः मैले त्यस्ता अध्याय अरू सहयोगी खोजेर पूरा गर्न पर्‍यो। हामी सम्पादकले सम्पादन गरेका विभिन्न अध्यायका पाण्डुलिपि प्रकाशकलाई बुझाएपछि तीन-चार पटक ‘प्रुफ रिडिङ’ गर्‍यौँ र अन्ततः पाण्डुलिपि बुझाएको ६-७ महिनापछि किताब प्रकाशन भयो।  

स्प्रिंगरजस्ता ठूला प्रकाशकले किताब प्रकाशन गर्दा उनीहरूले गुणस्तरीय पाण्डुलिपि खोज्ने गर्छन्। पाण्डुलिपिको गुणस्तर आफूले पूरा गर्न सके लेखक वा सम्पादकले किताबको छपाइको गुणस्तर, मार्केटिङ र वितरणबारे चिन्ता लिनु पर्दैन। प्रकाशक आफैँ गर्छन्। यद्यपि किताबको मूल्य भने अत्यन्त महँगो हुने हुँदा सर्वसाधारणकहाँ किताब नपुग्न सक्छ। जम्माजम्मी ४७० पृष्ठको फ्लोरा एन्ड भेजिटेसन अफ नेपालको मूल्य १८१.९९ युरो (आजको नेपाली मूल्य २७ हजार ३०९) ले कति जनाको किताबको तख्तामा ठाउँ पाउने हो? यद्यपि, अनलाइन जानकारीअनुसार आजसम्म तीन हजारभन्दा धेरैले पूरा किताब वा आंशिक रूपमा केही अध्याय डाउनलोड गरिसकेका छन्।

प्लान्ट्स अफ काठमाडौँ भ्याली: ए पिक्चोरिएल गाइड किताबको प्रारम्भिक प्रारूप तयार पार्दा विभिन्न फोटो खिच्न जति सजिलो हुन्छजस्तो लागेको थियो, पछि सो काम अत्यन्त गाह्रो रहेछ भन्ने थाहा भयो। विशेषतः काठमाडौँ वरपर पाइने वनस्पतिको विवरण सन् १९८६ मा हालको वनस्पति विभागले प्रकाशन गरेको किताब फ्लोरा अफ काठमाडौँ भ्यालीमा पाइने तर उल्लेख गरेको ठाउँमा पुग्दा एक त बिरुवा नचिनिने अर्को उल्लेख भएको ठाउँमा बिरुवा नपाइने समस्याका कारण निक्कै दुःख पाइयो। त्यस्तो समस्याको निराकरण गर्न जुन वनस्पतिमा फूल फुलेको वा फल लागेको छन्, तिनको राम्रोसँग फोटो खिचेर ल्याउने र विभिन्न किताब प्रयोग गरेर बिरुवाको सही पहिचान गर्ने काम गर्‍यौँ।

सन् २०१६ मा म र ला दोर्चे शिवपुरी स्थित गुर्जे भन्ज्याङबाट उत्तरबाट मैदानतिर जाने बाटोमा वनस्पतिको फोटो खिच्न र घुम्न जाँदा ३ ओटा सम्भावित नयाँ प्रजाति भेट्यौँ। पछि सरोजकुमार कसजूसँग पहिलो भेट हुँदा उक्त जानकारीको आदानप्रदान भयो। उहाँलाई पनि हाम्रो किताब लेखनको यात्रामा सहभागी हुन आग्रह गर्‍यौँ। पछि उहाँ एक्लै नगरकोटतिर फोटो खिच्न जाँदा हामीले भेटेको लहरे बिरुवा भेट्नु भएछ। बेलायतमा काम गर्ने भास्कर अधिकारीको समूहलाई दिएपछि उहाँहरूले पहिचान गरी त्यो प्रजाति संसारकै लागि नयाँ प्रजाति भएको पत्ता लगाएछन् र उक्त प्रजातिलाई सरोजकुमार कसजूको बोटबिरुवासँगको लगावको कदर गर्दै ‘थुनबर्गिया कसजुआना’ नामकरण गरेछन्।

हामीले भेटेका तीनमध्ये अर्को एक ऐंसेलुको प्रकारको बिरुवाको नाम मैले ला दोर्चे शेर्पाको बोटबिरुवासँगको लगावको कदर गर्दै ‘रुबस दोर्ची’ नामकरण गरेँ। समय अभावका कारण तेस्रो प्रजातिबारे अध्ययन गर्न पाइएको छैन र यकिनसाथ भन्न सकिएको छैन–यो नयाँ प्रजाति हो या पहिले नै पत्ता लागिसकेको कुनै प्रजाति हो।   

पुनः दहचोकबाट एउटा अर्को लहरे प्रजाति सरोजकुमार कसजूले मलाई पहिचान गर्न दिनुभयो र उक्त प्रजाति नेपालका लागि नयाँ भएको र त्यसको नाम ‘होया पोलिनेउरा’ हो भनी किटान गरेँ। वनस्पतिसँग सम्बन्धित प्रविन भण्डारीले फुलचोकीबाट पत्ता लगाएका जमिनमा उम्रने सुनगाभाको नेपालको लागि नयाँ प्रजाति ‘सेफलान्थेरा इरेक्टा’ र वनस्पतिसँग सम्बन्धित रासिका काफ्लेले बुढानीलकण्ठमा पत्ता लगाउनुभएको ‘स्टेलेरिया पालिडा’को राम्रो फोटो हाम्रो किताबमा प्रयोग गर्न अनुमति दिएर ठूलो गुन लगाउनु भएको छ। साथसाथै वासुदेव न्यौपाने र प्रा. डा. रामप्रसाद चौधरीले केही फोटोहरू दिएर ऋणी बनाइदिनु भयो।

प्लान्ट्स अफ काठमाडौँ भ्यालीस् ए पिक्चोरिएल गाइडमा प्रयोग भएका सबैभन्दा धेरै फोटो सरोजकुमार कसजू, त्यसपछि क्रमशः मेरा र ला दोर्चे शेर्पाका छन् भने प्रत्येक प्रजातिको विवरण सालिक राम सिग्देल र मैले लेखेका हौँ। सबै काम आफ्नै व्यक्तिगत स्रोतबाट गरेको हुनाले अन्ततः टाइपिस्ट र किताबको डिजाइनर आफैँ बन्नुपर्‍यो।

वनस्पतिको सही पहिचान र वर्गीकरणबारे पढाइने विधालाई ‘ट्याक्सोनोमी’ र उक्त विषय पढ्ने विद्यार्थीलाई ‘ट्याक्सोनोमीस्ट’ भनिन्छ। ट्याक्सोनोमी विषय अत्यन्त गाह्रो, यसमा दक्खल राख्न निक्कै मेहनत गर्नुपर्ने र पूर्ण ट्याक्सोनोमीस्टको लागि रोजगारीको न्यून अवसर हुने भएकोले आजकल यो विषय पढ्ने विद्यार्थीको आकर्षण घट्दै गएको छ। किताबमा प्रत्येक वनस्पतिको आकर्षक फोटो दिनुको मुख्य हाम्रो आशय नयाँ विद्यार्थीलाई ट्याक्सोनोमीस्ट बनाउने मुख्य उद्देश्य हो। 

प्लान्ट्स अफ काठमाडौँ भ्यालिस् ए पिक्चोरिएल गाइड अन्तर्राष्ट्रियभन्दा पनि देशभित्रकै कुनै प्रकाशन गृहले किताब छापी दिउन् भन्ने हामी चाहन्थ्यौँ। यसो गर्दा मूल्य सस्तो हुने र सर्वसाधारणमा पनि सहजै पुर्‍याउन सकिने हाम्रो व्यक्तिगत स्वार्थ थियो। किताब छाप्न तयार भएका केही प्रकाशन गृहलाई नजिककाले नै ‘त्यस्तो किताब बिक्री हुन्न, छाप्न हुन्न’ भनेरसमेत भड्काए। धेरै प्रकाशन गृहले ‘हामी छाप्छौँ’ भनेर लामो समयसम्म झुलाए। प्रकाशन गृह खोज्ने क्रममा कैयौँसँग ‘छलफल’ र ‘कफी मिटिङ र खाजा मिटिङ’ कति पटक भयो भनेर पछि त गन्न नै छोडियो। कसैले ‘सचित्र किताब छाप्दा महँगो हुन्छ’ भने, कसैले छाप्न लाग्ने लागतको ५/६ गुणा ज्यादाको हिसाब देखाए, कसैले ‘अंग्रेजीमा लेखेको किताबको नेपालमा कामै छैन, के गर्नु?’ भने र ‘कसैले किन यस्तो किताब लेखेर समय बरबाद गरेको?’ समेत भन्न भ्याए। केही सरकारी कार्यालयमा छपाइ खर्च पाइन्छ कि भनेर जाँदा ‘बजेट नै नभएको’ भन्ने कुराको गुनासो गरे भने केही महानगरपालिका र नगरपालिकालाई सम्पर्क गर्दा ‘तपाईंहरू कुन पार्टीको हो?’ भन्ने प्रश्न झेलेर निराश भई फर्कनु पर्‍यो। 

अन्ततः कीर्तिपुरस्थित काठमाडौँ अनुसन्धान शिक्षा केन्द्र, चिनियाँ विज्ञान प्रतिष्ठान- त्रिभुवन विश्वविद्यालयको आंशिक सहयोग अनि बी तिम्सिना र बीएम शर्माको थप सहयोगले हामी किताब प्रकाशन गर्न सफल भयौँ। जम्माजम्मी ५०८ पृष्ठको किताबको मूल्य ३१ सय मात्र राखियो। पछि किताब बेच्न विभिन्न पसललाई भारी कमिसन दिनुपर्ने भएकाले बजारीकरणमा विद्यमान रहेको सिन्डिकेटको मजबुत जालोबारे राम्रैसँग थाहा भयो। मुख्यतः हाम्रो दोस्रो किताबमा झेल्नुपरेको व्यवधानपछि ‘लेखकलाई किताब लेख्नै गाह्रो, लेखेपछि छाप्नै गाह्रो र छापिसकेपछि बिक्री गर्ने गाह्रो रहेछ’ भन्ने तत्त्व ज्ञान प्राप्त भयो। जे होस्, प्लान्ट्स अफ काठमाडौँ भ्याली: ए पिक्चोरिएल गाइड ५ सयप्रति छापिएको र यो लेख लेखिसक्दासम्म ३ सय प्रति बिक्री भइसकेको छ।  

अन्तर्राष्ट्रिय प्रकाशक खोज्दा किताब छाप्न सजिलो हुने र राष्ट्रिय रूपमा छाप्दा प्रकाशक पाउनै गाह्रो हुने रहेछ भन्ने कुराको राम्रो अनुभव भयो। किताब बजारमा गएपछि केहीले किताबको समीक्षा गरिदिएर ठूलो गुन मात्र लगाएनन्, किताबमा विद्यमान रहेका त्रुटि र कमजोरी औँल्याइदिएर पुनः संस्करण छाप्दा सच्याउने मौका दिएका छन्। 

आफूले पढेको र जानेको कुरा किताबको रूप परिणत गर्न पाउँदा आइपरेका बाधा अड्चन सहजै बिर्सेका छौँ र निकट भविष्यमा नै प्लान्ट्स अफ काठमाडौँ भ्याली: ए पिक्चोरिएल गाइडको दोस्रो भाग बजारमा ल्याउने छौँ। 

(रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा वनस्पतिविद्का रूपमा कार्यरत छन्।)


सम्बन्धित सामग्री