Monday, March 24, 2025

-->

महिलाको सत्त्व स्विकार्न कति गाह्रो!

सके पनि नसके पनि, मन लागे पनि नलागे पनि छोराले नै रेखदेख गर्नुपर्छ भन्ने मान्यताले पीडित छ समाज। यही मान्यताका कारण पीडित छन् वृद्धवृद्धा।

महिलाको सत्त्व स्विकार्न कति गाह्रो

सबेरै आफन्तको निम्ता कार्ड खस्यो मोबाइलमा। उनको आमाको ‘चौरासी पूजा’ हुँदै रहेछ। त्यसैका लागि विदेशबाट आएका छोराले निम्ता पठाएका रहेछन्। कार्ड हेर्दै गएँ अन्तसम्म। छोरीहरूको नाम भेटिन। दोहोर्‍याएर हेरेँ, चित्त बुझेन। सोही मेसेन्जरमा कल गरेँ। सामान्य औपचारिकतापछि भनेँ, “दाइ, मेरो त चित्त नबुझेको कुरा भनिहाल्ने बानी छ। निम्ता कार्ड बनाउनुभएको रहेछ, तर छोरीहरूको नामचाहिँ नदेखेर फोन गरेको। हजुरहरूको बहिनीले साँझबिहान जहाँ जे गर्न परे पनि आमाका लागि आफ्नो हजार काम बिताएर गरिरहेकी हुन्छिन्, तर हजुरहरूलाई दिदीबहिनीलाई इत्ति ठाउँ दिन पनि कति गाह्रो के!” 

उताबाट भने, “हुन त हो, भाउजू, विदेशमा छिन् र पनि उसको नाम छ।” मैले  ‘ओभरटेक’ गरेँ, “भाउजूले पनि आफ्नो ठाउँमा राम्रै गर्नुभएको छ, तर दिदीबहिनीका लागि अलिकति मन ठूलो पार्दा के जान्थ्यो र भन्न मात्र खोजेकी।”

“तिम्रो कुरा एकदम सही हो, तर बहिनीहरूको राख्दा कसको राख्ने र कसको नराख्ने, अलि अप्ठ्यारो भएर हो” भन्दै टार्न खोजेपछि फेरि थपेँ, “राख्न सबैको पर्थ्यो, राख्ने -राख्ने हजुरहरूको कुरा, तर कन्जुस्याइँ गर्नुपर्ने ठाउँचाहिँ हैन है यो।” “पछि कुरा गरौँला नि” भन्दै कुराकानी टुङ्ग्याउन खोजेँ। उहाँ भन्दै हुनुहुन्थ्यो, “तिम्रो कुरा जायज छ, दाइसित भन न है यही कुरा।” 

पढेलेखेको भए पनि दाइ अझै पुरातन सोचका। दाइसँग कुरा राख्ने आँट नपुगेझैँ लाग्यो र आफै राखून् दाइसित कुरा भन्ने लागेर, “हजुरहरू सल्लाह गर्नुस्, जे ठीक लाग्छ त्यै गर्नूस्, अहिले राखेँ है त” भन्दै कुरा टुङ्ग्याएँ।

संवाद त टुङ्ग्याएँ तर मनमा अनेकन् प्रश्न उब्जिए। बहिनी आफै सक्षम छे। दाजुभाइको आस गर्ने खालकी पनि छैन। कतै स्कुटरमा त कतै गाडीमा आमालाई लिएर कुदिरहेकी हुन्छे। उसले हेरचाह गरेकीले दाजुभाइ आफूखुशी हिँड्न पाएका छन्। जाबो कागजको कुनोमा समेत दाजुभाइहरू ठाउँ दिन सक्दैनन्। यिनले दिदीबहिनीलाई अंश नै दिन परे के गर्दा हुन्? कहिले तन्किएला छोरीको कर्तव्यझैँ छोराको मन? कहिले फराकिएला चित्त? केले पखालिएला मगजमा जमेको पितृसत्तात्मक लेउ? 

पकाइतुल्याइएसँगै थुप्रै उब्जेथे प्रश्न, तर कुकरमा लागेको सिट्ठीले उडाइदियो कति त। के मैले नचाहिने कुरा गरेँ र? आफैलाई प्रश्न गरेँ। छैन त नि! देशविदेश घुमेका, देखेका, बुझेका र अनेक एनजीओमा काम गरेका, महिला हकहित र सशक्तीकरणका प्रतिवेदनहरू बनाउने दाजुहरूको व्यवहार त यस्तो छ। यस्तोमा पनि नभने कस्तोमा भन्ने? अझै नभने कहिले भन्ने? आ... जे सुकै ठानून्। मैले गलत भनेकी छैन क्यारे! 

ढुक्क बनाएँ आफैलाई। 

तर कहाँ छन् र छोरीहरू ढुक्क! कहिले बाँचे र ढुक्कले। 

आमा भन्नुहुन्छ, “छोरीहरूले कहिले डरले त कहिले करले काम गर्नुपर्छ।’’

म भन्छु- किन रहरले काम गर्ने वातावरण छैन छोरीहरूलाई? छोरीहरूले रहरै गर्दा पनि किन ढुक्कले बस्न सक्दैनन् छोरीको घरमा बाआमा? छोरीहरू परनिर्भर हुँदाको समय बेग्लै थियो, तर अहिले त कतिपय छोरीहरू छोरासरह काम गर्न सक्ने भएका छन् र पनि छोरीको घरमा बस्न हच्किनुपर्ने किन? यी सबै प्रश्नको एउटै उत्तर छ–हाम्रो संस्कार!

यदि परम्परा/संस्कार नै बाधक हो भने छोरीहरूलाई सन्तान नै नमान्ने परम्परा सकीनसकी किन घिसारिरहने? छोराहरूलाई मात्र प्रौढ बाआमाको जिम्मेवारीको बाध्यतामा बाँध्ने संस्कारको पछि कति लाग्ने? जबकि, त्यही बाध्यताका कारण बोझ बनिरहेछन् बाआमा। आपसमा भाग लगाइरहेछन् बाआमाका बाँकी दिन। “मैले यति महिना पालेँ, अब उसको पालो’’ भन्दै पन्छाउँदा कस्तो हुन्छ होला पाका बाआमाको मन? 

सुन्दा दिक्क, देख्दा विक्षिप्त!  

छिमेकमा ९० काटेका वृद्ध थिए। कान कम सुन्थे। जाडो महिना, बरन्डामा थिए। “सुन्तला खानूस् बा’’ भनिसकेपछि छोराले भने, “आज …कोमा जाने।’’ बाबुले बुझेनन्/सुनेनन्। अलि चर्कोसँग थपेर भने, “यहाँ बस्नु भएको एक महिना भयो, आज भाइकोमा जाने।"

वृद्ध बोलेनन्।

मेरो मन भने बोल्यो– धिक्कार छ! हड्डी र छाला मात्रै बाँकी ज्यानले गाँसबास खोज्दै लुगाको पोको सार्दै हिँड्नुपर्ने यो कस्तो बाध्यता? कसले सिर्जना गर्‍यो यो अवस्था?

बरन्डाको घाममा किताबसँगै थिएँ। पाना आँखामै टाँसेर मन अन्तै उड्यो। पुँजीवाद र पुँजीवादले निर्माण गरेको एकल परिवारको संस्कृति! कतिपय समस्या अहिलेभन्दा धेरै जटिल पनि थिए, तर बाआमाको पालामा सानो घरभित्र ठूला मन हुन्थे। सबै अटाउँथे। सगोलमै जन्मिन्थे, सगोलमै मर्थे तर अहिले ठूल्ठूला घरभित्र साना मनहरू छन्। आँखा नदेख्ने र कान नसुन्ने बाबु आमालाई बिरालाले बच्चा सारेझैँ अँचेट्दै सारिरहेछन् छोराहरू! सके पनि नसके पनि, मन लागे पनि नलागे पनि छोराले नै रेखदेख गर्नुपर्छ भन्ने मान्यताले पीडित छ समाज। यही मान्यताका कारण पीडित छन् वृद्ध-वृद्धा। 

एक बजे बागबजार पुग्नु थियो। मनमा कुरा खेलाउँदै निस्किएँ। बिहानको निम्तो कार्ड, फोनका कुराकानी, छिमेकको घरायसी कुरा आदि इत्यादिसँगै जोडिए राज्य व्यवस्था, वृद्ध-वृद्धाको कहालीलाग्दो अवस्था! परम्परा र मान्यताद्वारा सिर्जित समाजको समस्या तत्कालै टुङ्गिने विषय थिएनन्। वनस्थलीबाट हिँडेको माइक्रो बसमा बालाजु चोकबाट तीन जना यात्रु चढे। बा अगाडि सिटमा बसे। आमा मभन्दा अगाडि सिटमा र छोरी म पछाडि सिटमा।

लैनचौर पुगेपछि छोरीले चालक सहयोगीलाई सयको नोट दिइन् र भनिन्– ‘तीन जना’। तर आमाले हतारहतार झोला खोतल्दै भन्न थालिन्- ‘हुन्न बाबु त्यो फिर्ता दिनूस्, यी यो लिनू।’ सहचालक अलमलमा परे। छोरीले भनिन्, ‘त्यै कटाउनूस्!’

आमाले कर गर्न छाडिनन्। ‘हुन्न, काँ छोरीको पैसामा गाडी चढ्नु! हुँदैन, यही लिनूस् बाबु!’ केशर महलको जाम कट्दासम्म आमाको जिद्दीले नै जित्यो। अरू यात्रीले के ठाने कुन्नि! मैलेचाहिँ छोरीको अपमान ठानेँ।

हाम्रो संस्कारको कुरूपता ठानेँ र अबको पुस्तामा यो रोग नसल्कियोस् भन्ने कामना गरेँ।

कवि देवकोटा सामाजिक न्यायको क्षेत्रमा सक्रिय छिन्। (उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)


सम्बन्धित सामग्री