Wednesday, March 19, 2025

-->

‘उर्वशी’ भन्छिन्, “यौनकर्मीहरू क्रान्तिकारी हुन्”

यौन कार्य/श्रमलाई मर्यादित कामको रूपमा स्थापित गर्दै संलग्न व्यक्तिको स्वास्थ्य अधिकार  र मानवअधिकारको सुनिश्चितता यौनकर्मीको मूल माग हो।

‘उर्वशी’ भन्छिन् “यौनकर्मीहरू क्रान्तिकारी हुन्”
एआईको सहयोगमा तयार पारिएको तस्वीर

“इतिहासदेखि पितृसत्ताले महिलाको आवाज, योनी, शरीर र यौनिकतालाई नियन्त्रण गरिरहेको छ। तर, यौनकर्मी महिलाको रूपमा त्यस्तो बन्धन तोड्न र आफ्नो योनी तथा शरीरमाथिको स्वायत्तता हासिल गर्न सफल भएको महसुस गर्छु,” उर्वशी (नाम परिवर्तन) को यो भनाइले यौनिक दासताको युगौँ लामो अन्धविश्वासमा प्रहार गर्छ। पुरानो विश्वासले यौन श्रम आफैँमा उत्पीडन र घिन ठान्छ।

समाजका विविध सीमान्तकृत सवाल र समुदायसँग काम गर्ने क्रममा उर्वशीसँग २०२० मा साक्षात्कार भयो। उर्वशीका अनुसार उनको बालापन भारतमा बित्यो। त्यहाँ कक्षा १० सम्मको पढाई सकेर नेपाल आई स्नातकसम्म पढाइ गरिन्। सन् २०१६ यता काठमाडौँ उपत्यकामा रहेर यौन पेसामा संलग्न उनी भन्छिन्, “आज मैले दाबी गरेको पहिचान कुनै बेला आफैँ स्विकार्नसम्म कठिन थियो। तर यसलाई आज मैले एक शारीरिक/मानसिक श्रमका रूपमा यसलाई स्विकारेको छु। भलै, अधिकांश मेरा ग्राहक मेरो कुरा नबुझ्लान्।”

उर्वशी आफूलाई यौनकर्मी महिला तथा अधिकारकर्मी भनेर चिनाउन रुचाउँछिन्। अन्य यौनकर्मीसँग नभेट्दासम्म आफूले एक्लो महसुस गरेको र बुझाइको सीमितताले गर्दा यौन कार्यबारे आफूमा पहिले गलत अनुभूति भएको उनी बताउँछिन्।

नेपाल, भारतलगायत दक्षिण एशियामा पितृसत्ताले यौनलाई संकुचित रूपमा बुझेको छ। समाज र मिडियालगायत मूलधारे भाष्य छ-यौनकर्मी हुनु तुच्छ, घिनलाग्दो र दयनीय हो। जबकि, यस्तो भाष्य बनाउनेका दिमागमा प्रशस्त यौन र यौनजन्य फेन्टसी (यौनजन्य रोचक कल्पना/चाहना) छ। यस्ता भाष्य बनाउनेका फेन्टसीहरूको यदि फोटो खिच्न मिल्थ्यो भने यिनीहरू तत्क्षण यौनकर्मीमाथि यिनले बनाउने भाष्य बदल्थे। 

विडम्बना! समाज र मिडियाका यिनै भाष्यका कारण स्वतः र सहजै यौनकर्मीको अस्तित्व र अधिकारको मागलाई अवैध बनाएको छ। यौनकर्मी समुदायको लागि यस प्रकारको एक्लोपन साझा अनुभव हो।

इन्टरनेट प्रविधिका कारण एक्लोपनबाट आफू मुक्त हुने सकेको भन्दै उर्वशी भन्छिन्, “फेसबुक चलाउन थालेपछि थाहा पाएँ कि यो पेसामा म मात्र नभई हजारौँ र लाखौँ रहेछन्। नेपाल मात्र नभई संसारभर यौनकर्मी छन्। यौन श्रम विश्वकै पुरानो पेसा हो भन्ने पनि इन्टरनेटबाटै थाहा पाइयो। युट्युबमा मेरो समुदायसँग सम्बन्धित समाचार सामग्री पनि भेट्टाएँ। समुदायबारे धेरै कुरा बुझेँ। थाहा पाउँदै गएँ कि यौनकर्मी महिलाले पनि अन्य मानवकै हैसियत राख्छन्। अन्य झैं हामीलाई पनि शीर उच्च राखेर बाच्ने र निर्णय गर्ने अधिकार छ भन्ने थाहा पाएँ।”

“विवाह गरेको मितिबाट आजसम्म श्रीमान‍्ले रक्सी नखाएको दिन मलाई थाहा छैन। मलाई मात्र नभई छोरालाई समेत माया गरेको थाहा छैन। तर मैले यही काम गरेर श्रीमान‍्को सहयोगबिनै बच्चाको शिक्षा, स्वास्थ्य र लालनपालन गर्न सकेको छु। व्यक्तिगत विकास गर्न सफल भएको छु।”

यौन श्रमको सम्बन्धमा विविध प्रभुत्वशाली कथनमध्ये “यौनकार्य बाध्यता हो, न कि छनौट” भन्ने एक हो, जसले यौन श्रमिकको अभियान कमजोर बनिरहेको छ। यस्तो बुझाइले गर्दा यौन कार्यको फराकिलो बुझाइ र सम्बन्धित बृहत् अवसरलाई खुम्च्याइदिएको छ भने यौन श्रमिक समुदायले प्राप्त गरेको आर्थिक स्वावलम्बन, शारीरिक तथा यौनिक स्वतन्त्रता र आत्मबल वृद्धिका अनुभवहरू सधैँ अवमूल्यन हुने गरेका छन्।

त्यसो हुँदा, यौन कार्यलाई मर्यादित कामको रूपमा स्थापित गर्दै संलग्न व्यक्तिको स्वास्थ्य अधिकार  र मानवअधिकारको सुनिश्चितता यौनकर्मीको मूल माग हो।

श्रमसम्बन्धी ऐन-२०७४ मा 'श्रम'लाई पारिश्रमिक लिएर शारीरिक वा बौद्धिक रूपमा गरिने काम भनेर गरेको व्याख्या उद्धृत गर्दै उर्वशी भन्छिन्, “एउटा डाक्टरले शारीरिक, मानसिक र  भावनात्मक लगानी गरेर पैसा कमाउँछ। योग शिक्षक र व्यायाम शिक्षकले योग-व्यायाम सिकाएर, मसाज गर्नेले आफ्नो हात गोडाको प्रयोग गरेर पैसा कमाउँछन्। यौन कार्यमा हामी आफ्नो शरीर प्रयोग गर्छौँ। ग्राहकको यौनान्दलाई केन्द्रमा राखेर काम गर्छौं। कतिपय अवस्थामा ग्राहकका अनेकन् वेदनाका कुरा सुनेर तिनको मानसिक शान्तिका लागि काम गर्छौँ र त्यसको निश्चित पारिश्रमिक लिन्छौँ। समाजले अन्यलाई पेसा मान्छ, तर यौन कार्यलाई मान्दैन, जबकि यौन श्रमिकको खोजीमा राज्य र प्रशासनका ठूलाठूला भनिनेहरू पनि अँधेरीमा हामीसँग शरीर र मानसिक सुख खोज्न आउँछन्।”

आफूहरूको श्रमसँग यौन जोडिएकै कारण यसलाई श्रमभन्दा अपराधको रूपमा गलत व्याख्या गरिएको भन्दै उर्वशी आपत्ति जनाउँछिन्। यौन श्रम र बेचबिखन एकै हो भन्ने गलत बुझाइ समाजमा रहेका कारण यौन श्रम सहमति, स्वनिर्णय र छनौट हो भन्ने तथ्य दबिन गएको उनको बुझाइ छ। उनी भन्छिन्, "यौन श्रम र बेचबिखन फरक हो। वयस्क व्यक्तिको स्वेच्छा हो यौन श्रम, जहाँ पारिश्रमिकमा उनीहरूको पूर्ण अधिकार हुन्छ। मानव बेचबिखन भने जबरजस्ती हो, त्यसमा स्वनिर्णय हुँदैन र आफ्नो पारिश्रमिकमा व्यक्तिको नियन्त्रण पनि शून्य हुन्छ। समाजका सम्पूर्ण व्यक्तिले आफ्नो सोच फराकिलो नगराउने हो भने गलत बुझाइ कहिल्यै बदलिँदैन। यौनकर्मी समुदाय र यौन कर्म सधैँ सामाजिक र कानूनी अपराध बनी नै रहन्छ।"

यिनै कारणले गर्दा यौनकर्मी समुदाय कहिल्यै खुलेर आउन नसक्ने र सदा उत्पीडनमा पर्नुपर्ने अवस्था रहेको उनको मत छ। सहमतिबिना नै ग्राहकले गोपनीयता सार्वजनिक गरिदिने, ग्राहक तथा बिचौलियाबाट हिंसा तथा आर्थिक ठगीमा पर्ने जोखिम हुनुको कारण पनि उल्लेखित संरचना भएको उनको मत छ।

सही हो, संरचनागत बहिष्करणको उदाहरण हो–यौनकर्मी समुदाय र समुदायको अभियान। यौनकर्मी समुदायको अधिकार अभियन्ताको रूपमा काम गरिरहँदा उर्वशीलगायतले विविध महिला अधिकार आन्दोलन र सरकारी संयन्त्रबाट नमिठो अनुभव महसुस गरेका छन्। भन्नुको अर्थ 'अधिकार'कै लागि कार्यरतहरूले उत्पीडनमा परेका महिलाको भावना छाम्न सकेका छैनन्।

ठिक विपरीत, यौनकर्मी समुदाय र अभियानभित्र प्राप्त गरेको स्वअस्तित्वको स्वीकारोक्ति आफ्नो सफलता भएको उर्वशीको भनाई छ। संगठनमा बसेरै मुद्दाबारे बोल्न सक्ने, आफू र अरूमाथि भएको हिंसाविरुद्ध लड्न सक्ने भएका कारण आफूजस्तै अन्यलाई धेरै हदसम्म साथ दिन सकेको उर्वशी बताउँछिन्।

साझा उत्पीडन र सुखदुख इन्टरनेटका कारण साटासाट साट्न  सहज भएपछि, यौनकर्मीहरूको द्रोही आवाज इन्टरनेटमा सक्रिय हुन थालेपछि समाज डराएको छ। उर्वशी भन्छिन्, “पितृसत्ताले बनाएका नियम कानुन र रीतिरिवाज चिरेर स्वायत्त रूपमा आफ्नो सत्ता चलाउने यौनकर्मी समाजका द्रोही/क्रान्तिकारी हुन्। त्यसकारण इन्टरनेटमा हामीमाथि पनि नियन्त्रण, निगरानी र हिंसा बढेको छ।” 

नेपालमा मात्रै लगभग असी हजारभन्दा बढी यौनकर्मी छन्। पेसाकै कारण मूलतः शक्ति, स्रोत, पहिचान र मुद्दाका हिसाबले यो समुदाय बहिष्करणमा छ। सामाजिक तथा कानूनी हिसाबले पनि यस पेसा र समुदायलाई अपराधीकरण गरिएको छ। यौनकर्मीसँग रमाउनेहरू नै यौन पेसाकर्मीको अस्तित्व स्वीकार गर्दैनन्। अश्लीलता, विकृति, अभद्रता तथा छाडापनको संज्ञा दिँदै यौनकर्मी समुदायको अधिकार र यौनलाई सम्मानित पेसा वा श्रमको रूपमा स्थापित गराउने प्रयासलाई सधैँ नै समाप्त पार्न खोजिएको छ। मृत्युदण्डकै व्यवस्था भएको समाजमा समेत टिक्ने यो पेसामा संलग्नको गरीमा र अधिकारप्रति चाहिँ किन निर्दयी बनेका शासक? किन यो निर्लज्जता?     

पेसाका रूपमा अपनाइने यौनले सामाजिक, नैतिक, धार्मिक र कतिपय अवस्थामा कानूनी बन्देजलाई नाघेको हुँदा यसलाई अन्य पेसाझैँ पूर्ण अधिकार दिने या प्रतिबन्ध लगाउने भन्नेबारे पक्ष र विपक्षमा सधैँझैँ यसरी बहस हुने गरेको छ:
पक्ष
कतिपय भन्छन्–यौनकर्मीलाई वैध बनाउँदा उनीहरू अझै सुरक्षित हुन्छन्। आम रूपमा यौनकर्मी भेदभाव, शोषण र कलंकको सिकार हुने गरेका कारण यस पेसालाई वैध बनाइँदा तिनले शोषण र उत्पीडन भोग्नुपर्दैन। न्युजिल्यान्ड र अस्ट्रेलियाका केही क्षेत्रमा यौन पेसालाई निरपराधीकरण गरेको छ, जसका कारण कानूनी डरबिना यौनकर्मीहरू अधिक स्वतन्त्रता र सुरक्षित रूपमा काम गर्न सक्छन्। 

स्वतन्त्र र सार्वभौम हुनुको अर्थ यौनसम्पर्कमा बेलासमेत निर्धक्क ग्राहकसँग आफ्नो स्वास्थ्य सुरक्षाबारे कुरा गर्न सक्नु हो। सुरक्षित साधन प्रयोग गर्न सक्नु हो। त्यति मात्र नभई आफ्नो हितका लागि संगठन खोलेर, आफ्नो पक्षमै वकालत गर्न सक्नु हो, सरकारलाई आफ्नो पक्षमा नीति नियम बनाउन दबाब दिन सक्नु हो,  जबकि भारत, नेपाल र पाकिस्तानजस्ता रूढीवादले ग्रस्त देशमा देशमा अझै त्यस्तो सम्भव छैन। 

विपक्ष 
कतिपय मान्छे ठान्छन् कि यौन कर्म स्वाभाविक रूपमा शोषणकारी हुन्छ र यसले विशेष गरी महिलाको 'वस्तुकरण'लाई बढावा दिन्छ। यौनकर्मले समाजको नैतिक तन्तु कमजोर बनाउँछ र मानिसको शरीरलाई पैसाको लागि वस्तुका रूपमा प्रयोग गराउँछ भन्ने नैतिकवादीहरूको तर्क हुनेगर्छ। 

मानव शोषण र यौन उद्योगमा हुने बेचबिखनको विषयलाई अघि सार्दै उनीहरू भन्छन्: यौन क्षेत्रलाई वैध बनाइँदा, यसलाई धेरै सामान्य धन्दा ठान्दै, आर्थिक दबाबका कारण  यस पेसामा प्रवेश गर्ने खतरा रहन्छ र बेचबिखन झनै कहालीलाग्दो हुन्छ।  

प्रश्न
यी सारा तर्क गरेर आफ्ना दिदीबहिनी या आफन्तलाई यौन श्रममा लगाउनुस् भनेको पक्कै होइन। सामान्य अवस्थामा, कसैको दबाबमा कुनै पेसा कसैले अपनाउने कुरा नै व्यक्तिको अधिकार हनन् हो। श्रमको छनौट नितान्त व्यक्तिगत हो। तपाईँले अहिले गरिरहेकै श्रम पनि तपाईंको रोजाइ/स्वतन्त्र चाहना नहुन सक्छ। त्यसलाई प्रभाव पार्ने धेरै आयाम छन्। 

तपाईँ माथिका सबै मतमा असहमत हुन पाउनुहुन्छ, त्यसो भए यौनजन्य श्रममा लागेकाहरूका लागि गर्नु पर्ने चाहिँ के हो त? तिनलाई आज जस्तै सधैँ त्रासमै र मानवअधिकारबाट वञ्चित रहिरहन बाँच्न दिने? के त्यो जायज छ?

विकल्प
यौन कर्मलाई अपराधमुक्त वा वैध गरिएका देशमा पनि कार्यान्वयनका चुनौतीहरू बाँकी छन्। गैरकानूनी यौनकर्मको व्यवस्थापन, सुरक्षित काम गर्ने अवस्थाको नियमन र उद्योग छोड्न चाहनेको व्यवस्थापन/पुनर्स्थापना सरकार/प्रशासन चुकेका छन्।

यस्तो अवस्थामा समाधानको विकल्पका लागि खासगरी यौन कार्यमा संलग्नहरूबाटै सुझाव लिइनुपर्छ। जति नै नियन्त्रण गरे पनि कुनै न कुनै रूपमा अपनाइने यौन पेसाको अपराधीकरण जायज छैन, अतः यसलाई वैध बनाएर नियमन गरिनुपर्छ। यसो गर्न सके यौनकर्मीको मानव अधिकारको रक्षा हुनेछ, शोषण र बेचबिखनबाट धेरै हदसम्म तिनले मुक्ति पाउनेछन्। अप्ठ्यारो पर्दा निर्धक्क आफ्नो अधिकारका लागि लड्न पाउनेछन्। आफ्नै लागि आवाज उठाउन नसक्ने आजको जस्तो कहालीलाग्दो अवस्था तिनको रहनेछैन। अतः समुदायले के भन्छ, सबैभन्दा प्रमुख प्रश्न हो।

(यसअघि लेखकको नाम र तस्वीर अन्यथा पर्न गएकोमा सच्याइएको छ।)


सम्बन्धित सामग्री