२०४२ सालमा निजामती सेवा प्रवेश गरेका जयराम श्रेष्ठले नागरिक उड्डयन, पर्यटन र संस्कृति मन्त्रालयमा एक दशक काम गरे। २०७४ सालमा उनी राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख नियुक्त भए। ३९ वर्षको सरकारी सेवापछि उनले माघ २ गतेबाट अवकाश प्राप्त गरेका छन्। छाउनी संग्रहालयको विगत र वर्तमान तथा चुनौती र भविष्यबारे श्रेष्ठसँग उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीः
संग्रहालय प्रमुखको रूपमा आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ?
म प्रमुख भएर आउँदा संग्रहालयको अवस्था राम्रो थिएन। यसको अर्थ संग्रहालयका पूर्वप्रमुखहरूले काम गरेका थिएनन् भन्न खोजेको होइन। त्योबेला स्थिति नै त्यस्तै थियो। बजेट यति थोरै थियो कि, कर्मचारीको तलब मात्र पुग्ने अवस्था थियो। संग्रहालयको अवधारणा भनेको पुराना वस्तु ल्याएर थुप्रार्नेमा सीमित थियो।
पहिलो एक हप्ता मैले संग्रहालयको अन्तरकुन्तर पूर्णरूपमा निरीक्षण गरेँ। संग्रहालय आउने अवलोकनकर्ताका लागि आवश्यक पर्ने आधारभूत सुविधामा शौचालय, बाटो, संग्रहालयका सामग्रीको सुरक्षालगायत पाटोमा गर्नुपर्ने सुधारलाई नोट गरेँ। शुरूको एक महिना भौतिक सुदृढीकरणमै बित्यो। त्यसपछि चरणगत रूपमा योजना बन्यो।
हामीले प्रशासनिक खर्च, खाजाखानाको खर्च कटाएर संग्रहालयका चित्रकलालगायत अन्य संवेदनशील वस्तुको संरक्षणमा लाग्यौँ। यस्ता वस्तुका लागि उपयक्त हुने लाइटधको व्यवस्था गर्यौँ। यो सबै एक्लैले होइन समूहमा गरिएका काम हुन्।

एक वर्षको अवधिमा अवलोकनकर्ताबाटै हामीले राम्रो प्रतिक्रिया पाउन थाल्यौँ। संग्रहालय घुम्न आउने विद्यार्थी हाम्रो प्रचारक बने। त्यसपछि संग्रहालयमा रहेको सम्पूर्ण सामग्रीको फोटो–भिडियोमा अभिलेख राखी पुरातत्व विभाग हुँदै संस्कृति मन्त्रालयका सचिवहरूको सहायतामा अर्थ मन्त्रालयसम्म पुग्यौँ। त्यस वर्ष शतप्रतिशत बजेट पारित भयो।
२०७४–७५ सालमा वर्षायाममा पानीको निकास थिएन, डुंगा चलाउनु पर्ने अवस्था थियो। पानीको निकासा नहुँदा वरपरका घरमा पनि पानी पस्थ्यो। स्थानीय लठ्ठी लिएर झगडा गर्न आइपुग्थे। स्थानीयसँगकै सहमतिमा ह्युमपाइप राखेर समस्या समाधान गर्यौँ।
मेरो लागि कमेन्ट बुकमा अवलोकनकर्ताले दिने प्रतिक्रियामार्फत आफ्नो कामको समीक्षा गर्न रूचाउँछु। पहिले कमेन्ट बुकमा गाली मात्र लेखिएको हुन्थ्यो। अहिले संग्रहालय सुधार भएको र अझ गुणस्तरीय बनाउनु पर्छ भन्ने प्रतिक्रिया हुन्छ।
तपाईंको विचारमा संग्रहालय के हो र के होइन?
संग्रहालयको अवधारणा व्यक्तिपिच्छे फरक छ। जनसाधारणले बुझ्ने भाषामा पुराना हातहतियार, मूर्ति, पूर्खाले भेट्टाएका र सिर्जना गरेका सामग्री राख्ने स्थान हो। यद्यपि, संग्रहालयको परिभाषा यतिमै सीमित छैन। खासमा संग्रहालय हाम्रो जीवन पद्धति हो। हाम्रो संस्कृति हो। हाम्रो जीवन पद्धति, सभ्यता, जान्न बुझ्न संग्रहालय दर्पण हो।
राष्ट्रिय संग्रहालयको स्थापना कहिले र कसरी भएको थियो?
यो नेपालको पहिलो संग्रहालय हो। बोलीचालीमा छाउनी संग्रहालयसमेत भनिन्छ। यस संग्रहालयको स्थापनामा थोरे विवाद छ। कोही यो ऐतिहासिक भवन प्रधानमन्त्री भीमसेन थापाले आफै बस्न बनाएको भन्छन्। कोही सुक्खा र गर्मी छाउनीमा जताजतै लथालिंग रहेको हातहतियार व्यवस्थापन गरी राख्न स्थापना गरिएको भन्छन्।
चन्द्र शमशेरको युरोप भ्रमणपछि उनले यो भवनलाई हातहतियार, राजा रजौटाका सामग्री, नेपालको मौलिक सम्पदा आदि ल्याएर राख्न लगाए। जुद्ध शमशेरले यसलाई सिलखाना (फौजी हतियार राख्ने सुरक्षित भवन)को रूपमा व्यवस्थित गरे। १९९५ सालमा उनै जुद्ध शमशेरले ‘नेपाल म्युजियम’ भनी सर्वसाधारणका लागिसमेत खुला गरे। त्यसअघि सिलखानामा राणाहरूको मात्र प्रवेश हुन्थ्यो। नजिकै उनले ‘जुद्धजातीय कलाशाला’ नाम दिएर अर्को नयाँ भवन बनाउन लगाए। विभिन्न स्थानमा पाएका ढुंगा र टेराकोटाका मूर्ति संकलन गरेर यहाँ राखिन्थ्यो।
२०५७ सालमा जापान सरकारको सहयोगमा बुद्ध आर्ट ग्यालरी पनि थपियो। बुद्धकालीन समयका कलावस्तु, शास्त्रीय ज्ञानका खजाना यस ग्यालरीमा छन्। ऐतिहासिक भवन, युद्धका हातहतियार, जफत गरिएका सामग्री, वीरभद्रले युद्धमा प्रयोग गरेका बारूद, गेहेन्द्र शमशेरले बनाएको फलामको बारूदको मेसिनलगायत ऐतिहासिक सामग्री यहाँ छन्।

पछिल्लो समयमा संग्रहालय अवलोकन गर्न आउने बढेका छन्?
केही वर्षअघिसम्म पनि संग्रहालयका भनेको फुर्सद हुँदा र कहीँकतै जाने ठाउँ बाँकी नहुँदा जाने स्थल हो भन्ने मानसिकता थियो। प्रायः चिडियाखाना पहिलो रोजाइ हुन्थ्यो।
पछिल्लो समय विशेषगरी नयाँ पुस्ताले काम गर्न, पढ्न देश छाडेर जाँदा त्यहाँ आफ्नो पहिचानको अभाव महसुस गरे। त्यसैको प्रभावले उनीहरू फर्केर आउँदा अथवा परिवारमा पहिचानको महत्त्व बुझाउन संग्रहालय अवलोकन हुन थाल्यो। अहिले संग्रहालय घुम्ने चलन बढिरहेको छ। गत आर्थिक वर्ष एक लाख हाराहारीमा अवलोकनकर्ता आए।
संग्रहालय व्यवस्थापनका चुनौती के छन्?
संग्रहालयका लागि बजेट अभाव छ। स्रोतसाधान र दक्ष जनशक्तिको पनि अभाव छ। वैकल्पिक व्यवस्था नहुँदा बत्ती जाँदा समस्या हुन्छ। संग्रहालय भ्रमणमा आएका विदेशी अवलोकनकर्ता झगडा गर्थे। पैसा तिरेपछि सहजसँग अवलोकन गर्न नपाएको गुनसो हुन्थ्यो। अहिले बत्ती जाँदा वैकल्पिक व्यवस्था गरेका छौँ।
संग्रहालयमा १५५ सिटको एउटा हल बनाएका छौँ। हल विभिन्न संस्थालाई कार्यक्रम गर्न दिन सकिन्छ। त्यहाँबाट थप आम्दानी हुने थियो। तर अर्थ मन्त्रालयको स्वीकृति नमिल्दा उपयोग गर्न सकिएको छैन। हल संचालनको कार्यविधि बनाएर सम्पूर्ण योजना पेश गर्दा पनि स्वीकृति मिलेन। न त हामीलाई पुग्ने बजेट छ, न भएको संरचना चलाएर आम्दानी गर्न दिइन्छ। यसमा भने बिडम्बना लाग्छ।
फोटो, भिडियो सुटका लागि पनि सोही कार्यविधिमा समावेश गरिएको थियो। फोटो सुट गर्नेहरू पैसा तिर्न तयार छन्, तर कार्यविधि स्वीकृत भएको छैन। नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्रालयको सचिवस्तरबाट पारित भएको कार्यविधि अर्थ मन्त्रालयका उपसचिवले रोकिदिएको हुन्छ। यो कस्तो निति हो।
संग्रहालयलाई उचित महत्त्व नदिइएको हो त?
तालुकवाला मन्त्रालय र विभागले त महत्त्व दिने भए, तर बजेट र जनशक्तिमा काम हुन सकेन। राष्ट्रिय संग्रहालयले सम्बन्धित निकायलाई पटकपटक घच्घचाएको कारण अलिकति राम्रो व्यवस्था भएको छ। काठमाडौँबाहिरका संग्रहालयको स्थिति भने राम्रो छैन। तथापि, राष्ट्रिय संग्रहालयलाई सार्कअन्तर्गतका विभिन्न संग्रहालयसँग दाँज्ने हो भने यहाँका सामग्री संख्यात्मक हिसाबमा धेरै छन्। तर प्रदर्शन गर्ने हिसाबमा अझै पनि सुधार हुन सकेको छैन।

पछिल्लो समय विदेशबाट फिर्ता भएका मूर्ति र कलावस्तु राख्ने स्थानबारे चर्चा र विवाद छ। त्यस्ता सामग्री पहिला हराएकै ठाउँमा लैजाने कि संग्रहालयमा राख्ने?
चोरिएर विदेश पुगेका मूर्ति फिर्ता आउँदा पुरातत्व विभागबाट यसै संग्रहालयमा राखिने गरिन्छ। सम्बन्धित व्यक्ति, टोल, निकाय, गुठी, समुदायलाई फर्काउँदा हामीले सकारात्मक भाइब्स महसुस गरेका छौँ। पुर्खाको नासोलाई सोही स्थानमा फर्काएर धर्म संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइरहेको छ।
यद्यपि, दुःख गरेर फिर्ता ल्याएका मूर्ति जुन एकदमै महत्त्वपूर्ण र मास्टरपिस हुन्, तिनीहरूलाई सम्बन्धित ठाउँमा फिर्ता राख्दा जवाफदेहिता, पर्याप्त सुरक्षा राख्ने विषयमा विचार गर्नुपर्छ। कस्ता मूर्तिलाई संग्रहालयमा राख्ने, कस्तालाई फिर्ता पठाउने भन्ने विषयमा बहस हुनु आवश्यक छ।
फिर्ता भएका मूर्ति राख्ने स्थान राष्ट्रिय संग्रहालय भइरहदा यस्ता मूर्ति संरक्षण कतिको चुनौती छ?
फिर्ता आएका मूर्तिहरू विभिन्न किसिमका हुने रहेछन्। कतिलाई तुरून्तै संरक्षण गर्नुपर्छ। अमेरिकाबाट आएका काठको टुँडालमा बीचबाट किल्ला ठोकिरहँदा कुहिसकेको अवस्थामा थियो। त्यसमा हामीले तत्कालै सुधार गर्यौँ, नभए त्यो नासिन्थ्यो।
यस्ता सम्पदाको स्वरूप तन्दुरुस्त राख्न दक्ष जनशक्ति छैन। म्युजोलोजी पढेका मानिस छैनन्। रिसर्च गर्ने अध्येता छैनन्। पछिल्लो समय मूर्ति फिर्ताका विषयमा आवाज उठिरहेको छ, तर यस्ता सम्पदाको संरक्षणका लागि दक्ष जनशक्ति र प्रविधि पर्याप्त छैन। त्रिवुभन विश्वविद्यालयमा संस्कृति विभगमा ५० नम्बरको पाठ्यसामग्री छ। त्यसले सारांश अवधारणा मात्र बुझाउँछ।
धेरै त समस्या र निराशाकै कुरा भए। संग्रहालय भविष्यमा राम्रो बनाउन आशावादी हुने ठाउँ पनि त होला?
समृद्ध देशका संग्रहालयजस्तो हामीले विकसित गर्न नसके पनि जुन स्रोत र साधनले यो स्थितिमा छ, त्यसबाट विदेशी पनि प्रभावित छन्। यहाँ आइसकेपछि उनीहरू नेपालको संग्रहालयको स्थिति र सीमित स्रोतसाधनमा पनि धानिरहेको स्थितिलाई मध्यनजर गर्दै नेटवर्किङ गर्ने बारे पनि छलफल गर्छन्। बजेट र दक्ष जनशक्तिको तदाम्यता मिले नेपालका संग्रहालय पर्यटकको गन्तव्यस्थल बन्न सक्छन्।