गत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ३३औँ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि अनेकौँ कार्यक्रमसाथ मनाइयो। हरेक दिन फरक ‘थिम’मा आधारित भएर कार्यक्रम भए। त्यहीबीच पश्चिमको यात्रामा थिएँ। यात्राकै बीचमा मानव अधिकारलाई नै चुनौती पेश गर्ने अभ्यास र हरकत केही दृष्टान्त भेटिएँ:
एक–कैलालीको एउटा कार्यक्रमका जातीय विभेदबारे यहाँहरूको भोगाइ कस्ता छ भनी प्रश्न गरिहालेँ, उमेरले ५० काटेकी एक आमाले भनिहाल्नुभयो, ‘घरबाट बाहिर कतै जाँदा हामीले कसैलाई विभेद गर्न मिल्दैन, तर मेरो घरको भान्सामा कसलाई लैजाने–नलैजाने भन्नेमा अरूले बल गर्न हुँदैन। म पनि जो पायो उहीलाई लैजान्नँ।’ सहभागी अर्की महिलाले कुरा थप्न भ्याइहाल्नुभयो, ‘हो त नि, कोही व्रत बसेको हुन्छन्, त्यस्तो अवस्थामा छोइदिएर पाप गर्न त मिल्दैन नि!’
संरचनात्मक लाभांश पाएका समुदायको मस्तिष्कभित्र गढेर रहेको विभेदको प्रकटीकरण हो माथिको अभिव्यक्ति। यी दुईको अभिव्यक्ति सतही रूपमा हेर्दा ठीकै लाग्छ, तर सारमा यी अभिव्यक्तिले विभेद र छुवाछुतलाई प्रश्रय दिन्छन्। पाप-धर्म (सत्कर्म/गलत कर्म) अलि बृहत् दार्शनिक विषय हो, त्यसमा फरक बहस हुनसक्छ, जसको ल्याकत यी अभिव्यक्ति दिनेले राख्दैनन्, तर हाम्रोमा धार्मिक कर्मकाण्ड र रुढीवादका केही नियम तोडिनुलाई पाप ठानिने गरेको छ। सोही कारण यिनलाई लाग्छ–तथाकथित तल्लो जातका आफ्नो घर पस्दा घर बिटुलिन्छ। भान्सामा त पस्नै मिलेन!
दुई–सडक यात्राकै क्रममा हाम्रो चारपाँच जनाको समूह कञ्चनपुरकै एउटा चिया पसलमा रोकियौँ, चिया पसलमा संयोगले गोरखाकी एक दिदी भेटिनुभयो। आफू पनि गोरखाकै भएकाले दिदीसँग केही कुराकानी भयो तर हामीले एक अर्काको नाम थर सोध्ने लेठो गरेनौँ। दिदी अवकाशप्राप्त शिक्षक हुनुहुँदो रहेछ। कञ्चनपुरमा धेरै वर्ष अध्यापन गराउनु भएकाले त्यस ठाउँसँग भावनात्मक सम्बन्ध रहेकाले वर्षमा एकचोटि जाने आउने गर्नु हुँदो रहेछ। गफगाफकै क्रममै मसँगै गएकी अर्की दिदीले हाँसी मजाकमा ‘तम्रो घर पनि यतै बनाउन पर्यो’ भन्नुभयो। मैले पनि जिस्किँदै ‘मेरो चौधरी साथीले चौधरी नै खोजिदिने बाचा गर्नुभएको छ’ भनेँ। अवकाशप्राप्त शिक्षकले ‘चौधरी किन? फस्ट क्लास नै पाइन्छ नि!’ भन्न भ्याइहालिन्।
उनको उत्तरसँग असहमति जाहेर नगरी बस्न सकिनँ र भनेँ, ‘फस्ट क्लास चाहिँ को हो र? चौधरी फस्ट क्लासमा किन पर्दैनन् र?’ यस प्रश्नमा उनी अलि मलिन भइन् र भनिन्, ‘त्यस्तो त होइन।’ आफ्नै जिल्लाकी ती दिदीसँग अब जमेर कुरा गर्न मन लागेन र म त्यहाँबाट उठेँ। म उठेलगत्तै मलाई चिन्ने अर्कै स्थानीय दिदीले मेरो नाम/थरबारे पूरै जानकारी शिक्षकलाई दिइराखेको मैले पछाडिबाट सुनेँ।
त्यसपछि निवृत्त शिक्षक-गोर्खाली दिदी र मबीच कुरै भएन तर मनमा प्रश्न भने उब्जिए–उनले स्कुले विद्यार्थीबीच लक्ष्मीप्रसाद देवकोटाको 'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन' भन्ने कवितांश विद्यार्थीमाझ सुनाइन् त होला, तर त्यसको मर्म कसरी प्रस्ट पारिन् होला? आफ्नो गाउँका र पश्चिमका सीमान्तकृत समुदायका व्यक्तिसँग तिनले कस्तो व्यवहार गरिन् होला? शोषण, छुवाछुत र विभेदको पत्रैपत्र भएको समाजका विद्यार्थीलाई कस्ता पाठ पढाइन् होला?
हरेक उत्पीडित समुदायका व्यक्तिले खोजेको अधिकार निर्धक्क सास फेर्न पाउनुपर्छ भन्ने हो। यता छोइन्छ कि उता र मेरो उपस्थितिलाई लिएर कसैले मेरै अपमान गर्छ कि भन्ने त्रास र हिनतावोधबाट मुक्ति तिनको उत्कट चाहना हो। तर तीन चार हजार वर्ष पुरानो कुशिक्षा/संस्कृतिको जरो समाजमा गहिरोसँग गाडिएका कारण कतिपय मान्छे त्यो अमानुष संस्कृतिबाट मुक्त हुन सकेका छैनन्। आफू त असभ्य छँदैछ, अरूलाई उत्पीडन पनि थोपरिरहेछ।
गत वर्ष दशैँ मनाउन गोरखा गएँ। लगभग ८-९ वर्षपछि गाउँमा गएर दशैँ मनाउने संयोग जुर्यो। अनुभव भने रमाइला र नरमाइला दुवै भए। शहरमा भन्दा गाउँमा म कमजोर, असुरक्षित र एक्लो महसुस गर्छु। त्यसको जातीय जरो छ। यसपालिको दशैँ अनुभवले फेरि सोच्न बाध्य बनायो, समानता र परिवर्तन कहाँ छ? शब्दमा मात्रै?
असोज २३ गते बिहान घर नजिकको पसलमा कपडा धुने साबुन किन्न गएँ। त्यहाँ केही पुरुष सदस्य उही सनातनी शैलीको चिया गफमा मग्न थिए। पसले बालाई धेरैजसो गाउँलेले 'ठूल्बा'को सम्बोधन गर्छन्। उनको पसल छिर्दै गर्दा उनी पसल सँगैको खम्बामा अडेस लागेर चिया पिउँदै थिए। मलाई देख्नासाथ पल्लोछेउ पुगे। मसँग छोइन्छ भनेर तिनी पल्लोछेउ पुगेको आभास मलाई भयो। अघिल्लो दिन मेरो घरमा मलाई भेट्दा भने 'छोरी' भन्दै अंकमाल गर्न पुगेका थिए। पाका ठूल्बाको ताल विचित्र लाग्यो।
चाखलाग्दो के छ भने केही समय अगाडीसम्म तिनै ठूल्बाको छोरी (दिदी) हाम्रो घरमा आइरहन्थिन्। घरको खानाभन्दा हाम्रो घरको मिठो भन्दै धेरैजसो बेलुकाको खाना हाम्रैमा खान्थिन्। यो कुरा ठूल्बा र परिवारलाई पनि थाहा थियो। मन मिल्ने साथी आफ्नो घरमा आएर खाना खाएको कुरा सार्वजनिक नगर्दा पनि हुन्थ्यो, तर ठूल्बा तर्केपछि मन अमिलो भएर नलेखिरहन सकिनँ।
छनलाई गाउँघरतिर अचेल 'अहिले त सबै समान भइसक्यो, केको विभेद छ र?' भन्ने गफ पनि गरिटोपल्छन्। हुनलाई पहिलेका तुलनामा विभेद केही कम पक्कै भएको हो, तर सबै समान भएको कुराचाहिँ फिटिक्कै होइन। त्यही बेला यो पनि सुनेँ जैसी-बाहुन-क्षेत्री समुदायको छोरीका बिहेको तयारीमा दलित समुदायका कोही पनि व्यक्तिलाई विवाहमा सहभागी नबनाउनेबारे छलफल र कार्यान्वयनसमेत भयो। तर छोरीका बिहेमा दलित नबोलाएका सज्जनले मंसिर महिनाको धान काट्ने काममा दलित समुदायको दिदीबहिनीलाई खेतालाका रूपमा बोलाएको देख्न भने पाइयो।
सानोमा स्कुल जाँदा साथी र शिक्षकहरूले हामीप्रति गर्ने व्यवहार देखेर म किन यो परिवारमा जन्मिएँ हुँला भन्ने लाग्थ्यो। तर बुझ्दै गएपछि थाहा लाग्यो-हाम्रा पुर्खाको चाहनाले हामी उत्पीडनमा परेको होइनौँ, हामीलाई उत्पीडनमा पार्ने शासक समुदाय र संस्कृतिबारे बुझ्न थालेँ। त्यो संस्कृति गहिरोसँग मान्छेको दिमागभित्र प्रत्यारोपण गरिएको छ भन्ने बल्लबल्ल यस्तै उदाहरणबाट बुझ्दै छु। यो विभेदकारी सोच समाजबाट कहिले पखालिने हो, त्यसको कुनै हिसाब निकाल्न सकिन्न।
भन्नलाई साथीहरू भन्छन् र केही हदसम्म हो पनि–केही त बदलिएको छ। तर हालसालै एक जना पुराना कम्युनिस्ट नेता वामदेव गौतमले पुरानै भाष्य ओकले–शब्दकोश, संविधानबाटै दलित शब्द हटाऊँ। कतिपयलाई उनले भनेको कुरा सही पनि लाग्यो र उनको कुरा सामाजिक सञ्जालमा बाँडियो। उनले दलन निमिट्यान्नै पार्ने गफ दिए, तर शब्दका कारण खासखुस समुदाय उत्पीडनमा परेका हुन् र? विभेद शब्दका कारण सिर्जित कि विभेदका कारण खास शब्द आवश्यक परेको? आर्थिक समस्याका कारण गरिब र गरिबी शब्द प्रयोग भएका होइनन्? शब्द हटाउँदैमा अवस्था निर्मूल हुँदैन। समाजमा दलन र उत्पीडन रहेकै कारण दलित र उत्पीडित शब्द प्रयोग हो। गरिब र निमुखाका लड्छु भन्ने पाका नेताहरूको यस्तो कुतर्क/ताल देख्दा विरक्त लागेर आउँछ।
शब्द हट्दैमा विभेद अन्त्य हुने हो भने त २०६३ जेठ २१ मा देश छुवाछूतमुक्त राष्ट्र घोषणा भएकै हो। पञ्चायतमा पनि राजा महेन्द्रले 'छुवाछूतमुक्त राष्ट्र' भनेकै थिए। कुनै किताब खानाको किताब र घोषणाले शब्द हटाउँदै या घटाउँदैमा विभेद घट्ने/हट्ने होइन। त्यसो हुँदो त अनेकन् रोग, प्रकोप, गरिबी, यौन हिंसा, घरेलु हिंसा, मानसिक र शारीरिक हिंसालाई पनि हटाइदिए सारा टन्टा साफ हुँदा हुन्।
मूल कुरा समाजमा गडिएर बसेको छुवाछूत, घृणा र अपमानको मनोविज्ञान हो। युगौँदेखि समाजमा रहेको त्यस मनोविज्ञानकै कारण लाखौँ दलितहरू उत्पीडन र गरिबीमा परेको कुरा सामाजिक सत्य हो। र, उत्पीडनमा परेका लाखौँको जीवन उकास्न हर कोहीले सहानुभूतिका साथ सबैलाई व्यवहार गर्नुपर्छ। त्यसमा शिक्षित व्यक्तिले बढी हिस्सेदारी लिनुपर्छ। सबैभन्दा ठूलो भूमिका सरकारको हुन्छ। प्रतिपक्षमा हुँदा खुबै क्रान्तिकारी कुरा गर्ने दलहरूले सामाजिक रूपान्तरमा धेरै काम गर्नुपर्छ।
जातीय विभेदको जरा मानिसको सोच, व्यवहार र सामाजिक संरचनामा गहिरो रूपमा गाडिएको हुँदा सँगै चिया पिउने, एउटै टेबलमा बस्ने, घरभित्र या बाहिर पस्ने कुरामा मात्र सीमित छैन। समताको एक छेउको विषय त्यो पनि हो, किनभने आफ्नो घरमा शर्माजीको छोरी झुक्किएरै घर छिर्दा उपाध्याय परिवारको टाउको दुख्दैन, तर विश्वकर्मा या परियारका सन्तान छिर्दा 'मेरो घर मेरो मर्जी'को विषय उठ्छ। त्यसको अर्थ 'मेरो घरमा को लैजाने मेरै मर्जी' भन्दै सशङ्कित हुनेहरू वास्तवमै समताका विरोधी हुन्, तिनको भित्री आशय हो–छिर्न नहुने जातिहरू छिरेर मेरो घर बिटुलाउने भए! सामान्य अवस्थामा कोही पनि अरूका घरमा छिर्दैनन्। ठूला क्रान्ति, विद्रोह तथा हुलचालको बेला बेग्लै कुरा!
स्मरणीय छ, केही दलित समुदायका बच्चा र किशोरकिशोरी तथाकथित उच्च जातका घर खास अवसरमा छिर्दा तिनलाई निर्घात कुटिएका खबर अहिले पनि यदाकदा आउने गरेका छन्।
तर कसैको घरभित्र छिर्ने विषय समता आन्दोलनको ध्येय होइन। समता आन्दोलनको ध्येय छुवाछूत र यसकै आधारमा कोही धनी र कोही गरिब हुने विषय हो। दलनकै कारण उत्पीडनमा परेर गरिबीको जाँतोमा पिसिएकाको उत्थान हो। समता आन्दोलनको ध्येय कसैको चुल्हो या भान्छाकोठा प्रवेश होइन; तिनको माग समानता, सम्मान र मानवीय मर्यादासँग जीवनयापन गर्ने अवसरको हो। यो समानता न केवल कानूनी रूपमा, तर सामाजिक, सांस्कृतिक, र मनोवैज्ञानिक तहमा पनि संस्थागत हुनुपर्छ।