रक्तचन्दन तस्कर वरिपरि घुम्ने ‘पुष्पा–२’को कमाइले भारतमा कीर्तिमानउपर कीर्तिमान कायम गरिरहेको छ। दुई वर्षअघि रिलिज भएको ‘पुष्पा’मा रक्तचन्दन तस्करका लागि रूख काट्दिने दिहाडी मजदुरबाट तस्करहरूको ‘सिन्डिकेट’ सदस्यसम्म बनेका पुष्पा (अल्लु अर्जुन) यसको ‘सिक्वेल’मा रक्तचन्दन तस्करीबाट आर्जित छेलोखेलो पैसा बगाएर सरकारै परिवर्तन गर्न सफल हुन्छन्। सत्ता परिवर्तन पनि किन त भन्दा, तस्करीको पैसा चल्ने मुख्यमन्त्रीलाई तस्करसँग फोटोचाहिँ नचल्ने भएपछि।
मुख्यमन्त्रीलाई भेट्न निस्किँदा पुष्पाकी श्रीमती (रश्मिका मण्दाना)ले घरमा सजाउन मुख्यमन्त्रीसँग उभिएको फोटो खिचेर ल्याउन भन्छिन्। मुख्यमन्त्रीले फोटो खिच्न ठाडै इन्कार गर्छन्। मुख्यमन्त्रीसँग उभिएको फोटो घरमा सजाउने श्रीमतीको धोको पूरा गर्न पुष्पा आफू निकटका विधायकलाई मुख्यमन्त्री बनाउन पैसाको खोलो बगाइदिन्छन् र सफल पनि हुन्छन्। अनि श्रीमतीको इच्छा पूरा गर्छन्।
२०६० सालको दशकमा रक्तचन्दन तस्करीको ‘ट्रान्जिट’ बनेको नेपालमार्फत यो धन्दा जारी रहिरहेको भए रक्तचन्दन तस्करले आफू अनुकूल सत्ता फेरबदल गरेको सम्भवतः वास्तविकतामै देख्न पाइने थियो। २०५१–२०५६ सालबीच सरकार फेरबदलका लागि सांसद किनबेचमा त्यसबखत सुन तस्कर समूहले पनि लगानी गरेकै हुन्।
२०६७ भदौमा माओवादी नेता कृष्णबहादुर महराले हङकङ बस्ने एक चिनियाँ व्यापारीसँग माओवादी नेतृत्वमा सरकार बनाउने प्रयोजनार्थ सांसद किन्न ५० करोड मागेको अडियो टेप बाहिरिएको थियो। ती व्यापारी रक्तचन्दन तस्करीकै नाइके थिए भन्ने अडकलबाजी गरिएको थियो।
तत्कालीन गृहसचिव लीलामणि पौडेलको सरुवा (२०६८ साल) मन्त्रिपरिषद् सचिवालयमा भयो। रक्तचन्दन तस्करी नियन्त्रण गर्न खोजेकै कारण तस्करहरूको प्रभावमा उनको सरुवा भएको चर्चा चलेको थियो।
“मेरो सरुवा किन गरियो भन्ने मलाई थाहा छैन,” उति बेलै पौडेलले भनेका थिए, “रक्तचन्दनमा छुट दिइयो भने यसका कारोबारीले सरकार ढाल्ने हैसियत बनाउँछन् भन्नेचाहिँ मलाई थाहा छ।” (रक्तचन्दन तस्करीको जालो, कान्तिपुर, २०६८ असोज ६, सुजित महत, प्रतिमा बास्कोटा, मनोज बस्नेत)
गृहसचिव बनेलगत्तैदेखि रक्तचन्दन तस्करीमा आँखा चिम्लिदिन दबाब र अनुरोधको सामना उनले गर्नुपरेको थियो। “चिनेजानेकै नेताहरू आएर भारतबाट आउने चीन पुग्ने वस्तुको ओसारपसार गृह प्रशासनको टाउको दुःखाइको विषय होइन भनेर तर्क गर्थे,” पौडेल भन्छन्, “कसैले पैसाको प्रलोभन दिने आँटचाहिँ गरेनन्।” (उही)
धन्दा उहिल्यैदेखि
२०६२ साउन २ गते भन्सार अधिकृत अच्युत शिवाकोटी तातोपानी भन्सारमा हाजिर भएको दुई दिनमात्रै भएको थियो। एक ट्रक ‘रेडवुड’ चीन निकासीका लागि प्रज्ञापनपत्र उनको टेबुलमा आइपुग्यो। वन विभागले दिएको ‘भारतबाट पैठारी भई आएकाले निकासी गर्न कानूनले रोकेको छैन’ भन्ने ब्यहोराको सिफारिस प्रज्ञापनपत्रसाथ संलग्न थियो। अर्कोतिर, नेपाल चेम्बर अफ कमर्सले चाहिँ वस्तु नेपालमै उत्पादित भएको प्रमाणित गर्ने कागजात उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो।
मतलब, सरकारी निकायले वस्तु आयातित हो भन्थ्यो, निजी क्षेत्रको संस्थाले स्थानीय उत्पादन भनेर ठोकुवा गर्थ्यो। यो विरोधाभाषको कारणले मात्र होइन कि कारोबार प्रतिबन्धित भएको रक्तचन्दन ‘रेडवुड’को नाममा भारतबाट पैठारी भई चीन निकासी भइरहेको कुरा भन्सार विभागमै रहँदा–बस्दा शिवाकोटीले थाहा पाएका थिए। रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन गर्ने अभिसन्धि (साइटिस–२)को संकटापन्न अनुसूचीमा रहेको पनि उनले थाहा पाएका थिए।
जाँचपास गर्न अस्वीकार गरेपछि अफिसमै हल्लीखल्ली मच्चियो। साइटिसको लोपोन्मुख प्रजातिको वनस्पतिमा पर्ने रक्तचन्दन खरिददार र बिक्रेता देशबीच परिमाण निर्धारण गरी सम्झौता गरेपछि मात्रै कारोबार हुनसक्छ। “रक्तचन्दन कारोबार गर्ने तिब्बती महिलासँग बिहे गरेको भनिने ती व्यवसायी त यो सामान पास गराउन नसके मलाई श्रीमतीले छाड्दिन्छे भन्दै बिलौना गर्न आइपुगेका थिए,” सरकारी सेवाबाट अवकाश पाइसकेका शिवाकोटी सम्झिन्छन्, “त्यसपछि तातोपानी भन्सारबाट रक्तचन्दन जाँचपास हुन छाड्यो।”
तातोपानी भन्सारबाट तीन महिनामै शिवाकोटीको सरुवा भएको थियो।
उतिबेला कान्तिपुर सिन्धुपाल्चोक जिल्ला संवाददाता रहेका ऋषिराम पौडेलले त्यसैताका तातोपानी नाकाबाट निकासी हुने रूखका गोलिया प्रतिबन्धित रक्तचन्दन हो भन्ने थाहा पाएका थिए र रिपोर्टिङ पनि गरेका थिए। तिब्बती महिलासँग विवाह गरेका थापा थरका तिनै व्यवसायी रक्तचन्दन तस्करका रूपमा पहिचान भएका थिए। अलिपछि तातोपानीबाट काठमाडौँ आउनेक्रममा बाह्रबिसेनेर ती थापासहित तीनजना खोलामा खसेको र जलेको कारमा मृत फेला परे। “त्यो दुर्घटना थियो कि हत्या भन्ने आज पनि रहस्यमै छ,” पौडेल भन्छन्, “कारमै जलेका नोटका बिटाहरू फेला परेका थिए।”
नेपाल रक्तचन्दनको ट्रान्जिट कहिलेदेखि थियो यकिनसाथ भन्न सकिएन। २०६१/६२ सालतिर मेची भन्सारमा अधिकृत रहेका रामप्रसाद रेग्मीका अनुसार मेची भन्सारको राजस्व संकलनमा रक्तचन्दन पैठारीको योगदान सबैभन्दा बढी थियो, करिब आधाउधी राजस्व रक्तचन्दन पैठारीले दिन्थ्यो। दक्षिण सीमानाकाबाट भित्रिएर काठमाडौँ आइपुग्ने रक्तचन्दन यहाँबाट वन विभागको सिफारिस र चेम्बर अफ कमर्सको उत्पत्तिको प्रमाणपत्र बनाई तातोपानी नाकाबाट निकासी हुन्थ्यो। कारोबारै अवैध भए पनि रक्तचन्दन नेपालको भन्सारमार्फत भित्रिएर भन्सारमार्फतै निकासीको धन्दा पञ्चायतकालदेखिकै थियो कि भन्ने रेग्मीको अनुमान छ।
२०५७/५८ तिर तातोपानी भन्सारमा अधिकृत रहेका निर्मलहरि अधिकारीका अनुसार उतिबेलै रक्तचन्दनको ओसारपसार हुन्थ्यो। शिवाकोटी पनि सुषुप्त रहेको रक्तचन्दनको पैठारी–निकासीले त्यही बेलातिर मन्त्रालय/विभाग हल्लाउन थालेको बताउँछन्। तैपनि ‘भारतबाट भित्रिने, चीन पुग्ने, हामीलाई राजस्व आउने, टाउको किन दुःखाउने’ भन्ने मान्यता सर्वस्वीकृत थियो।
अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको वस्तु यसरी ओसारपसार भइरहेको विषयमा पुलिस बेखबरजस्तै थियो। राजमार्गमा ढाट राखेर चेकजाँचका नाममा खुद्रा असुली गर्ने प्रहरीले योचाहिँ प्रतिबन्धित वस्तु हो भनेर ठूलो मुख बाएको सुनिएन। हरेक मालवाहक गाडीबाट लिइने सौ–पचासमै चित्त बुझाइरहेका थिए। नेपाल प्रहरीले पहिलोचोटी २०६३ पुस २ गते मेचीबाट भित्रिएको ६ टन रक्तचन्दन बरामद गरेको थियो।
जनआन्दोलन–२.० को सफलतासँगै शान्ति प्रक्रियामा आएको माओवादीले वाईसीएल गठन गरी असुलीधन्दा शुरू गरेको समय थियो। अन्तर्राष्ट्रिय रूपमै प्रतिबन्धित काठको कारोबार हो भन्ने थाहा पाई तिनले ठूलो मुख बाएर सडकमै अवरोध गर्न थाले। वनमन्त्री मातृका यादव नै यसविरुद्ध सक्रिय भएपछि रातो काठको कारोबारबारे सबै सुसूचित भए।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०६३ चैत १८ गते वनमन्त्री भएका यादवका अनुसार तलदेखि माथिसम्मै सेटिङ गरी तस्करी भइरहेको सूचनाहरू आए। फेरि लेनदेन नमिल्दा रक्तचन्दन बरामद हुने पनि भइरहेको थियो। प्रतिबन्धित वस्तु निकासी गर्न वनले नै सिफारिस गर्ने काम पहिले बन्द गराइयो र तस्करी रोक्न फिल्डमै उत्रिइयो। “अनि त ठूल्ठूला रकम अफर गरेर लोभ्याउन थालिहाले नि,” यादव सम्झिन्छन्, ‘प्रतिट्रक १० लाखको दरले लिई बोरामा पैसा कोचेर बस्न प्रस्ताव आएको थियो।” एकजना कारोबारी कलंकीबाट पक्राउ परेपछि रकम आफै भर्नेगरी खाली चेक लिन पनि प्रस्ताव आयो।
दलमा आबद्ध/नआबद्ध लाउके, गुण्डा आदि इत्यादी सबै पैसा असुल्न सडकमा उत्रिन थालेपछि कारोबारीले प्रहरीका साथै गुण्डा समूहहरूको मद्दत लिन थालेका थिए। गुण्डाहरू पनि ‘मै इधर किसीके फट्टेमे टाङ अडाने नही आया, राज करने आया मै, झुकेगा नही’ (पुष्पाको संवाद) कै शैलीमा अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा विगतमा सुषुप्त अवस्थामा भइरहेको धन्दा माछाबजार बन्न पुगेको थियो।
सिनेमामा पुष्पाले रक्तचन्दन सिण्डिकेटकै एकजना सदस्यले टनको दुई करोडमा तामिलनाडुका कारोबारीलाई माल आपूर्ति गरिरहे पनि आन्ध्र प्रदेशको सिण्डिकेटलाई चाहिँ ५० लाख रूपैयाँ मात्र दिइरहेको पत्ता लगाउँछन् र आपूर्तिको जिम्मा आफै लिन्छन्। त्यस्तै यता पनि भएको थियो। तातोपानी नाकामार्फत पास गराउन गाह्रो हुँदा रसुवागढी र लामाबगर (दोलखा) नाका प्रयोग भएका थिए।
यादवले ‘जिहाद’ छेडे पनि वाईसीएल मात्रै होइन माओवादीका नेताहरू नै रक्तचन्दनमा मुछिएका थिए। सिन्धुपाल्चोकको कोदारी गाउँमा सशस्त्र प्रहरीले १४ सय किलो बरामद गरेपछि अग्नि सापकोटा पक्षले सो रक्तचन्दन तत्कालीन सांसद राजकुमार श्रेष्ठको भएको आरोप लगायो। भौतिक योजना राज्यमन्त्री रहेकी श्रेष्ठकी श्रीमती देवी खडकाले उजुरी गरेपछि माओवादीले अमिक शेरचनको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो। रक्तचन्दन ओसारपसारमा नेताहरूको संलग्नता पुष्टि नभएको रिपोर्ट शेरचन समितिले दिएको थियो। (रक्तचन्दन तस्करीको जालो)
भक्तपुर पुरानो ठिमीका नेत्रबहादुर श्रेष्ठ अपरहण अनुसन्धानका क्रममा रक्तचन्दनको कारोबारमा माओवादीको संलग्नताका साथै रकमलाई लिएर तिनीहरूबीच मच्चिएको विवाद खुलासा भएको थियो। बेलायतबाट आश्विन श्रेष्ठले भाइ नेत्र अपहरणमा परेको जानकारी २०६८ साउन १ गते तत्कालीन अपराध महाशाखा (अहिले उपत्यका अपराध अनुसन्धान कार्यालय)मा गराएपछि प्रहरी सक्रिय भयो। त्यस क्रममा रक्तचन्दन लुकाएर पैसा मागेका कारण अर्को समूहले अपहरण गरेको निष्कर्षमा प्रहरी पुगेको थियो। प्रहरीले अपहरणमा संलग्न कृष्ण श्रेष्ठलाई पक्रेपछि यस्तो खुलासा भएको थियो। अपहरणमा संलग्न समूह र अपहरित दुवै पक्ष माओवादीमा आबद्ध थिए।
कोदारीका चार घरमा लुकाइएको रक्तचन्दन सशस्त्र प्रहरीले बरामद गरेपछि एउटा पक्षले सुराकी गरेको आरोप लगाउँदै अर्को पक्षले बुटवलका दिनेश यादवबाट किनेर चितवनमा लुकाएको चार हजार ८०० किलो रक्तचन्दन गायब गरी ३० लाख रूपैयाँ मागेको थियो। उक्त रक्तचन्दन नवलपरासीको महाराजा सामुदायिक वनमा फालेको अवस्थामा प्रहरीले साउन ५ गते बरामद गरेको थियो। (रक्तचन्दन तस्करीको जालो)
रक्तचन्दनमा पुलिसदेखि सेनासम्मै
२०६४ सालकै कुरा, वनले बरामद गरेको एक ट्रक रक्तचन्दन सुरक्षाको कारण सेनाको ब्यारेकमा राखियो, तर बाह्रबिसेको ब्यारेकबाट रातारात रक्तचन्दनको ठाउँमा उत्तिसका गोलिया सट्टापट्टा गरियो। सुनेपछि ‘आगबबुला’ भएका वनमन्त्री यादव घटनास्थलमै पुग्न कस्सिए, पुलिसले सुरक्षा दिन नसक्ने जनायो।
‘जेसुकै होस्’ भन्दै मन्त्री सिन्धुपाल्चोकतिर सोझिएपछि कोटेश्वरबाट पुलिसको एउटा गाडी पछुवा लाग्यो। “सडक अचम्मका दृश्यहरूले भरिएका थिए,” यादव सम्झिन्छन्, “राजमार्गका ठाउँ–ठाउँमा पैसा असुल्न तरबार/खुँडा बोकेका केटाहरू देखिन्थे।” बाह्रबिसेमा पुग्दा ‘मन्त्री–सन्त्री चाहिँदैन, रक्तचन्दन लान पाइँदैन’ भन्दै नाराबाजी भइरहेको थियो।
२०६८ सालकै असार १६ गते रक्तचन्दन हालिएको जिपलाई पाँचखाल चेकपोस्टमा रोकिएपछि स्कर्टिङमा गएका प्रहरी सिद्धी कार्कीले पैसाको प्रलोभन दिएर पास गराउन खोजे। काभ्रेका तत्कालीन प्रहरी प्रमुख सुरेन्द्र मैनालीको आदेशमा नियन्त्रणमा लिइएका कार्कीले दोलालघाट पुर्याएर सशस्त्र प्रहरीको स्कर्टिङलाई बुझाउनेगरी आफू खटिएको बयान दिएका थिए। रक्तचन्दन बरामद गर्ने पाँचखाल प्रहरी चौकीका नायब निरीक्षक बच्चुराम फुयाँल, हवल्दार तीर्थविक्रम सिलवाल, जवानद्वय फुर्वा लामा र रमेश महतारालाई पुरस्कृत गरिएको थियो।
२०६८ सालकै वैशाख अन्तिम साता एक ट्रक रक्तचन्दन चीन पुर्याउन लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेना संलग्न देखिएपछि सैनिक मुख्यालयले अनुसन्धान गरी अह्रिदमन गणका प्रमुख (प्रमुख सेनानी) रामजी थापालाई बर्खास्त गर्नुका साथै दुई वर्ष कैद सजाय सुनाएको थियो। उक्त रक्तचन्दन ओसारपसारको चाँजोपाँजो मिलाउने भनिएका प्रहरीको रसुवा प्रमुख डीएसपी ओमबहादुर रानालाई प्रहरी प्रधान कार्यालय झिकाए पनि कारबाही गरेन। “एकचोटी रक्तचन्दन लगिरहेको ट्रकलाई सिन्धुपाल्चोकको बोर्डरल्यान्डमा अवरोध गरेपछि पौडेल थरका कारोबारीले पेस्तोलबाट फायरै खोले,” हाल कान्तिपुरको प्रधानकार्यालयमै कार्यरत ऋषिराम सुनाउँछन्, “घटना सुनेपछि चौताराबाट निस्केको प्रहरी टोली घटनास्थलमा पुग्न पनि चाहेन।”
देशभरिका १८ जिल्लामा गरी करिब २०० टन रक्तचन्दन बरामद भए पनि यसको माथिल्लो तह त परको कुरा, ओसारपसार गराउने नाइके (क्यारियर) पनि खासै पक्राउ परेनन्। लागूपदार्थ, हातहतियारलगायत कारोबारजस्तै गरी एउटा बिन्दुमा पुगेपछि सम्पर्क तोडिने शैलीमा यसको कारोबार भएको थियो।
२०६८ साउन १५ गते पाँचखालमा बरामद भएको रक्तचन्दन काठमाडौँको जडीबुटीमा लोड गरी काभ्रेको मंगालस्थित पेट्रोल पम्पमा पुर्याएपछि गाडी परिवर्तन गरिएको थियो। गाडी चालकको मोबाइलबाट सिम झिकेर रक्तचन्दन लोड गराउनेले आफ्नो सिम लगाइदिएका थिए। अर्को घटनामा, जगातीमा रक्तचन्दन बरामद गरेपछि पुलिसले रक्तचन्दन लोड गराइदिनेलाई फोन गरी ‘गाडी बिग्रियो, अर्को गाडी पठाइदिनू’ भन्न लगाउँदा लोड गराउनेले ‘यस्ता वाहियात कुरा नगर्नू’ भन्दै मोबाइल अफ गरेका थिए। (रक्तचन्दन तस्करीको जालो)
रक्तचन्दन कारोबारमा खास लगानीकर्ता चिनियाँहरू नै थिए, सुन तस्करीमा भारतीय भएजस्तै। कारोबारीजस्ता देखिने नेपाली व्यवसायी धेरैजसो ओसारपसार गरिदिने ‘क्यारिअर’ मात्रै थिए। ०६८ सालमा किलोकै औसत ९ हजार रूपैयाँ चिनियाँ व्यापारीलाई डेलिभरी भइरहेकोमा २०६८ तिर गुण्डाराज र पुलिसराजबीच आपूर्ति प्रभावित भई किलोकै १३ हजार रूपैयाँसम्म पुगेको थियो।
सबैभन्दा धेरै आन्ध्र प्रदेश, त्यसपछि कर्नाटक, तामिलनाडु र केरलका जंगलमा रक्तचन्दन पाइन्छ। थोरथोरै मध्यप्रदेश, महाराष्ट्र र राजस्थानका जंगलमा पनि उपलब्ध छ। २००८ सेप्टेम्बर २४ को ‘इण्डिया टुडे’मा लखनउ डेटलाइनमा प्रकाशित सुभाष शर्मा बाइलाइनको रिपोर्ट ‘अन द रेडस्यान्डलवुड ट्रेल’का अनुसार आन्ध्रप्रदेश, तामिलनाडु र केरलबाट सडकमार्गबाटै काठमाडौँ पुगिरहेको रक्तचन्दन त्यहाँबाट चीन, जापान र सिंगापुरसम्म ढुवानी भइरहेको छ।
भारतमै दुई हजार किलोमिटरभन्दा लामो सडकमार्गमा वन र सुरक्षा निकायका अनेकन चेकपोष्ट पार गर्दै रक्तचन्दन नेपालमा प्रवेश गराइराखिएको रिपोर्टमा उल्लेख छ। दक्षिणपूर्वी एशियाली देशहरूमा यसको उच्च माग छ, जहाँ धार्मिक कार्यका साथै कस्मेटिक्स उत्पादनमा यसको प्रयोग हुन्छ। “यसअघि समुद्री बाटोबाट जापान र सिंगापुरमा निकासी भइरहेको थियो,” रिपोर्टमा भनिएको छ, “चाइनिजहरूले उच्च मोल अफर गरेपछि सडकमार्गबाट नेपाल हुँदै चीन जान थालेको हो।”
चिनियाँ नवधनाढ्य वर्गमा रक्तचन्दनको बिलासी फर्निचरमा आकर्षण बढेपछि यसको माग र मोल अकासिएको थियो। परम्परागत ‘म्युजिकल’ उपकरण शामिसेन बनाउन रक्तचन्दन नै चाहिने भएकाले जापानमा यसको सदाबहार उच्च माग रहन्छ। साथै, फर्निचरमा पनि प्रयोग हुन्छ।
युनियन अफ कन्जरभेसन अफ नेचर (आईयूसीएन)ले सन् २०१८ देखि लोपोन्मुख वनस्पतिको सूचीबाट हटाएको रक्तचन्दन विसं. २०६० को दशकको अन्त्यतिर काठमाडौँबाट तातोपानी, रसुवागढीतिर लैजान बन्द भएको देखिन्छ। २०६८ चैतमा बझाङको रिठापाटा बारिलबाट प्रहरीले ३५ क्विन्टल रक्तचन्दनसहित ८६ जना भरिया पक्रेको थियो। असोजमै १५० जति भरियामार्फत ५० क्विण्टल रक्तचन्दन तिब्बत पुर्याइएको खुलासा भएको थियो।
२०७४ कात्तिक २२ को नेपाल म्यागेजिनमा प्रकाशित वसन्तप्रकाश सिंहको रिपोर्टअनुसार तातोपानी र रसुवागढीमा कडिकडाउ भएपछि यो नाका प्रयोग हुन थालेको हो। असोज २५ गते पश्चिम बंगालको जयगाउँ प्रहरीले एक हजार किलो रक्तचन्दनसहित दुई भुटानी र एक भारतीयलाई पक्राउ गरेको थियो। उनीहरूले भुटान छिराई चीन निकासी गर्ने लक्ष्यका साथ रक्तचन्दन लगिरहेका थिए। (रक्तचन्दन तस्करीमा फेरिएको रुटः चीन पुर्याउन भुटान ट्रान्जिट, ई–कान्तिपुर, पर्वत पोर्तेल)
काठमाडौँबाट रक्तचन्दनको गोलिया नै बरामद भएको सुन्न छाडिएपछि पनि कहिले पाउडर त कहिले तेलको रूपमा चीन लैजान लागेको अवस्थामा बरामदीका समाचारहरू आए। भारतबाट भित्र्याई चीन निकासी गर्न भण्डारण गरिएको ९० लिटर रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टेका चन्द्र केसी र काभ्रे जैसीथोकका फणिन्द्र भट्टराईलाई पक्राउ गरेको थियो। (सेतोपाटी २०७३ कात्तिक २५)
साइटिसअनुसार बरामद रक्तचन्दन नेपालमा प्रयोग गर्न पाइदैन, उत्पत्तिस्थल (भारत)मै फिर्ता गर्नुपर्छ। भारतले फिर्ता नलगेका कारण बरामदमध्ये अधिकांश रक्तचन्दन यही सडेका/सडिरहेका छन्। २०६४ सालदेखि हालसम्म २ लाख ६० हजार किलो रक्तचन्दन बरामद भएको थियो।
सरकारले गत वैशाख २७ गते रक्तचन्दन फिर्ता गर्ने निर्णय गर्यो। भारत पनि आफ्नै खर्चमा लैजान तयार छ भनियो। १८ जिल्लामा एक लाख ७३ हजार किलो रक्तचन्दन छ। २०६५ सालमै त्यतिबेलासम्म बरामद ५४ हजार किलो फिर्ता गर्ने निर्णय भए पनि करिब ३७ हजार किलो मात्र भारतले लगेको थियो। २०७१ फागुन १२ को मन्त्रिपरिषदले २७ हजार किलो फिर्ता गर्ने निर्णय गरेको थियो। २०७६ पुस र २०८० साउनमा पनि रक्तचन्दन फिर्ता गर्ने निर्णय त भयो, भारतले लगेन। (भारतले लाने भयो रक्तचन्दन, २०८१ असार ७ गोरखापत्र, वीरेन्द्र ओली)
रक्तचन्दन तस्करीको दशकमा सिन्धुपाल्चोकका साथै काभ्रे र दोलखाका केही व्यवसायीहरूले खुब पैसा छापे। ऋषिरामका अनुसार अन्ततोगत्वा लगानीकर्ताभन्दा पनि ओसारपसारको ठेक्का लिने र गौँडा कुरेर पैसा असुल्ने गुण्डाहरू लाभान्वित सुनिए। किनकि लगानीकर्ताले पैसा छापे पनि रक्तचन्दन बरामद भएको एकै झट्काले स्वाहा भयो। उतिबेलै सीमापारि खासा बजारमा भण्डार गरिएको रक्तचन्दन चिनियाँ प्रहरीले बरामद गर्दिदा नेपाली व्यवसायीहरूले १० करोड रूपैयाँभन्दा बढी गुमाएका थिए।
गुण्डा नाइके भनेर चिनिने काभ्रेका एकजनाले रक्तचन्दन ओसारपसार गरिदिएर अकुत छापे नै, कांग्रेसको केन्द्रीय समितिमा स्थान बनाए। त्यतिबेला उनका ‘मुन्सी’चाहिँ सर्लाहीमा कांग्रेसबाट मेयर निर्वाचित भए। काभ्रेमा आफ्नै पाँचवटा ट्रक भएका एकजना पत्रकारले गुण्डा परिचालन गरी रक्तचन्दन ओसारपसार गर्दिएरै ‘अर्बपति क्लब’मा पुगे।
दोलखाका एकजना काठ व्यवसायीले रक्तचन्दनबाटै उडान भरे, एमालेमा स्थान पनि बनाए। रक्तचन्दन कारोबार ‘क्लाइमेक्स’मा रहेका बेला सिन्धुपाल्चोक प्रहरी प्रमुख (डीएसपी) रहेका थापा थरका प्रहरी अधिकृतले लामो बसाइमा यसरी मुद्रा छापे कि, त्यसपछि पछाडि फर्किन परेन। प्रहरी महानिरीक्षक नै बन्न विफल भए पनि अतिरिक्त महानिरीक्षकबाट अवकाश पाए।