Friday, February 14, 2025

-->

राजनीति गर्नेका सनातनी आकार र गतिशील इतिहास

नेपाली राजनीतिक दलका नेताहरूका सनातनी अनुहार हुनुमा तिनको कमजोरी मात्र भयो भन्ने पक्षमा म छैन। तर प्रदीप गिरिले भनेजस्तो तिनका कर्म भने निष्ठावान् हुनुपर्छ।

राजनीति गर्नेका सनातनी आकार र गतिशील इतिहास

मलाई राजनीति र राजनीति गर्नेका बारेमा लेख्ने विषयले त्यति आकर्षित गर्न छोडेको छ। त्यसका एकाध कारण छन्। पहिलो, म राजनीतिबारे चिन्तन गर्ने र लेख्ने मानिस होइन। दोस्रो हो, त्यसको प्रेरणा दिने सामर्थ्यमा आएको कमजोरी। त्यसो त आफूले लेखेर प्रकाशन भएका दर्जनौँ लेखलाई फर्केर हेर्दा अहिले लाग्छ, मैले सायद राजनीतिकै विषयमा पो धेरै लेखेँ कि! नेपालमा राजनीतिलाई मैले या हामीले कसरी लिएका रहेछौँ भन्ने विषयलाई पनि यसले उठाउँछ। जे होस्, सोझै नेपालमा अहिले राजनीति एउटा स्थूल र सूक्ष्म छलफल र चिन्तनको विषय भएको छ। मन लागेर या नलागेरै भए पनि मानिसहरू राजनीतिलाई चिन्तन र छलफलको विषय बनाउँछन्। त्यसका अनेकौँ कारण छन्। तर नेपाली मिडिया र कतिपय सभा/सेमिनारमा छलफल गरिने र चिन्ता गर्ने विषय भएको छ राजनीति, नेता र दलको विषय। 

यसो हेर्दा, राजनीतिलाई दुई किसिमले छलफल गर्ने गरिन्छ नेपालमा। पहिलो विषय जान्नेले गरेको छलफल, तिनले लेखेका शोधपूर्ण लेखहरू। त्यो प्राज्ञिक अभ्यास हो। ती लेखहरू नेपालको राजनीतिले उठाएर उत्पात चर्चा गरेका पक्षहरूसँग जोडिँदैनन्। ती विद्वानका अभ्यास हुन्। त्यति नपढिन पनि सक्छन्। नेपालमा राजनीति भनेपछि अहिलेको समयमा 'सनातनी राजनीतिक अनुहारहरू' आउँछन्। तिनले गरेका कर्महरू आउँछन्। सनातनी राजनीतिक अनुहारहरू चर्चित हुन्छन् किनभने तिनले यो समय र युग कब्जा गरेका छन्। तिनले गरेको राजनीतिले हाम्रो जीवन सपार्ने र बिगार्ने काम गर्छ। 

सबैभन्दा वाचाल पक्ष तिनले रचना गरेका भाष्यमा देखिन्छ। त्यसले भने यो समाज, चेतना र प्रजातान्त्रिक संस्कार बनाउने हाम्रा प्रयासहरूलाई सोझै प्रहार गरेको देखाउँछ। हिजो राति मात्र एउटा चल्तीको टिभी च्यानलमा समाचार सुनिरहेको थिएँ। एक जना सनातनी अनुहार त्यहाँ प्रमुख वक्ता भएर बोलिरहेका थिए। ती रोइरहेका थिए कि, कसैलाई श्राप दिइरहेका थिए कि, बिलौना गरिरहेका थिए या आफ्नो राजनीतिको योजना सुनाउन लागेका थिए, खुट्ट्याउन सकिनँ। किञ्चित धरमराएँ। यसको पनि कारण खोल्दै तलका अनुच्छेदमा म मेरा केही विचार राख्न चाहन्छु। 

नेपालमा राजनीति गर्नेका सनातनी अनुहारहरूको विषयमा छलफल गर्नुभन्दा पहिला राजनीति र राजनीति गर्नेका कर्म विषयमा केही छलफल गर्नुपर्छ। राजनीतिमा सनातनी  अनुहारहरू आउनु एउटा नियति र स्वाभाविक प्रक्रिया हो। तिनै परिचित अनुहारहरू आइरहनु, तिनीहरू नफेरिनु हाम्रो नियति हो। नेपालमा केही अनुहारहरू दोहोरिएर आइरहेका हुनाले हामी तिनलाई सनातनी अनुहारहरू भन्न सक्छौँ। तर ती किन फेरिँदैनन् भन्नेचाहिँ अलिक जटिल विषय हो। राजनीति गर्नेका अनुहारहरू केही समय-कालसम्म दोहोरिइरहन्छन्। नेपालका राजनीति गर्नेहरूमा किन तिनै अनुहार दोहोरिन्छन् भन्ने प्रश्नमा आउनु पहिले अरू एकाध कुरा ल्याउन चाहन्छु। 

कसै कसैले राजनीति गर्नेका अनुहारहरू फेरिन्छन्, तर तिनका स्वभाव उस्तै हुन्छन् भन्ने गरेको पाइन्छ। कतिसम्म भने जोन सदरल्यान्ड भन्ने विश्लेषकले द गार्डियन पत्रिकामा २०१५ अगस्त ७ मा एउटा लेख लेखे। त्यो कहिलेकहीँ पढेर विचार गर्छु र हाँस्छु। त्यसमा तिनले अमेरिका, चीन, ब्रिटेन, रुस, उत्तर र दक्षिण कोरियाका नेताहरूका सनातनी अनुहार पनि राखेका छन्। उनले ती नेताहरूका अनुहारमा मिल्ने चरित्र भेटेका छन्। उनी त अझ भन्छन्– विश्वका अरू ठाउँका नेताका अनुहारहरू अनौठोसँग उस्तै देखिन्छन्। राजनीति गर्नेका अहम्, तिनका शक्ति-सपना र तिनका हठीपनबाट बनिएको चरित्र हो, सायद त्यो। 

जोनले सो लेख लेखेको बेला माओवादी, कांग्रेस र एमालेका यिनै नेता थिए। हामी नेताहरूमा केही प्रेरक चरित्र र फरक स्वभाव पाइनसक्छन् भन्ने धारणा लिएर केही नाटक गर्न लागेका थियौँ। बीपी कोइरालाको अदालतको बयान, उनको जेल जर्नल र उपन्यास ‘मोदी आइन’ अनि उनको जीवनका केही चाखलाग्दा पक्षलाई लिएर एउटा नाटक लेख्ने मेरो जिम्मा थियो। मैले ‘सान्दाजुको महाभारत’ (२०७२) भन्ने नाटक लेखेँ।  भिलेज थिएटरमा विमल सुवेदी र दिल्लीको नेसनल् स्कुल अफ् ड्रामाकी उनकी सहयोगी सरिका पारिकको निर्देशनमा त्यो प्रस्तुत भयो। त्यसमा हामीले नाटकको माध्यमले बीपीको व्यक्तित्वमा सनातनी राजनीति गर्नेभन्दा भिन्न चरित्र खोज्ने प्रयास गर्‍यौँ। त्यो त नाटक थियो। तर यथार्थमा नेपाली राजनीतिमा संलग्न नेतृत्व गर्नेहरूले सामना गरेका समस्या थिए। नेपालको प्रजातान्त्रिक गणतन्त्र संविधान लागू भएपछि असन्तुष्ट 'बिजेपी भारत'ले उतिखेर नेपालमाथि लगाएको ‘इम्बार्गो’का कारण त्यो नाटक केही हप्ता मात्र चलाउन सक्यौँ।

त्यो घटनापछिको चरित्र उल्लेख गरौँ। 

त्यो परिवर्तनको वर्ष, काल थियो। त्यसको रचना गर्नेमा लगभग अहिलेकै राजनेताका अनुहारहरू थिए। सबै प्रमुख दलका नेताहरूका कर्म दोहोरिए। चुनाव भए, सरकार परिवर्तन भए। सबैभन्दा महत्त्वपूर्ण कुरा, चुनावहरूमा कुनै एक दलले बहुमत नल्याएको हुनाले संयुक्त सरकारहरू बनिए अनि भत्किए। सबैभन्दा महत्त्वपूर्ण कुरा, संयुक्त सरकार, गठबन्धन बनिने र भत्किने क्रम चलिरह्यो। अर्को मुख्य कुरा भनेको राजनीति गर्नेमा तिनै सनातनी अनुहारहरू दोहोरिएर आइरहनु थियो। त्यो क्रम अहिलेसम्म दोहोरिइरहेको छ। त्यो दोहोरिने क्रममा चरित्रहरू बद्लिए। गम्भीर चरित्रबाट उपहासपूर्ण हास्य चरित्रहरू जन्मे। ती जन्मिरहेका छन्। सनातनी अनुहारहरू तिनै हुन् तर तिनका कर्म फेरिँदै छन्। 

कार्ल मार्क्सले 'अठारौँ ब्रुमेर' शीर्षकको प्रसिद्ध लेखनमा भनेका छन्, ‘कविता विगतबाट होइन, भविष्यबाट उघाएर ल्याउनु पर्छ।’ मार्क्सले हेगेलको इतिहास-विश्लेषणलाई माने। हेगेलले भनेका छन्, ‘सबै विश्वमै परिचित ऐतिहासिक व्यक्तित्वहरू दुई पटक देखा पर्छन्।’ तर मार्क्स भन्छन्, ‘हेगेलले थप्नुपर्थ्यो, एक पटक ती त्रासदी भएर आउँछन् तर अर्को पटक तिनै जोकर भएर आउँछन्।’ नेपाली सनातनी मुख्य राजनीतिक  व्यक्तित्वहरू एक पटक अथवा पहिलो पटक गम्भीर, सिद्धान्तवादी र ऐतिहासिक मिसन बोकेर आए। तर तिनै व्यक्तित्वहरू पछिल्लो समयमा गम्भीरता छोडेर सनातनी भएर आए। यसलाई यसो भनौँ–तिनका बोली र नीति-परिवर्तनलाई लिएर हेर्दा अलिक विदूषक व्यक्तित्व भएर आएजस्तो देखिएको छ। ती विदूषकका अनौठो वेशभूषाको रूपमा उनका बोली र व्यवहारहरू हेर्नुपर्छ। तर यो विषयको अर्को पक्ष पनि छ। 

राजनीतिक नेताहरू कति छिटोछिटो परिवर्तन हुन्छन्? यो विषयमा त्यति बहस भएको मैले पढेको छैन। मेरो अध्ययनको क्षेत्रभित्र नपरेका कारण पनि हुनसक्छ। तर राजनीति गर्नेहरू विचार वा आइडिओलोजीले चल्ने हुनाले तिनको परिवर्तन अलिक जटिल नै विषय हो। भारतका महात्मा गान्धी राजनीतिमा कुनै एक पार्टी वा कांग्रेसका नेता थिएनन् तर तिनको विचार, जीवनशैली, आनीबानी, आफै बनाएका लुगा अनि तिनको विद्रोह गर्ने शैलीले भारतका स्वतन्त्र संग्राम र पछि पनि आएका नेताका चरित्र बनिएका थिए। तिनले भारत मुक्ति आन्दोलनमा सबभन्दा प्रभावकारी नेताको काम गरे। 

बकिङघम राजदरबारमा भारतको मुक्तिको वार्ता गर्न बेलायतका महाराजसँग कुरा गर्न टोली लिएर गए ती। जाँदा बेलायतको जाडोमा आफैँले बुनेको बाक्लो खाँडीका लुगा लाएका थिए। साथमा उनले खाने दूधको स्रोत–बाख्री पनि हममम गर्दै उनका मानिससँगै गएको थियो। राजालाई भेटेर फर्किँदा सैनिक अफिसरले किन महाराजलाई भेट्दा पनि यति थोरै लुगा लाएर जानुभएको थियो भनेर असहमति जनाउँदै सोध्दा उनले भने, ‘हामी दुई जनालाई पुग्ने पहिरन महाराजले नै पहिरिबक्सिएको थियो।’ अराजकतावादी, विद्रोही र अत्यन्त मौलिक शैली भएका गान्धी राजनीतिक नेता नै थिए। तिनको अनुकरण गर्ने धेरै नेताहरू कति सफल भए भन्न सकिँदैन, तर तिनीहरूका व्यक्तित्व सनातनी बन्दै गए। 

गान्धीको शैली नेताहरूका पहिरनमा खादीको प्रयोगजस्ता कुरामा देखियो। त्यो प्रभावको प्रयोग गर्नेमा राजेन्द्र प्रसाद, जवाहरलाल नेहरू, बल्लभभाइ पटेल, लालबहादुर शास्त्री, विनोवा भावे, राममनोहर लोहिया, जयप्रकाश नारायण र अरू अनेकौँ नेता थिए। समग्रमा भारतीय नेताहरूको निकै कालसम्म आदर्श र व्यक्तित्वमा गान्धीको प्रभाव संस्कार र शैली रह्यो। एक प्रकारले भारतीय दलीय पद्धतिमा त्यो सनातनी व्यक्तित्वको रचना नै थियो। नेताहरू निकै समयसम्म जिम्मेवारीमा रहेपछि तिनले आफ्नो प्रभाव/ शैली बनाउँछन्। चुनाव जित्ने प्रपञ्च गर्छन्। पार्टीभित्र र बाहिर प्रभाव जमाउने कोसिस र कर्म गर्छन्। 

यसो गर्दा कोही कोही निकै समयसम्म टिक्छन्। दलभित्र शक्ति-सङ्घर्ष गर्छन्। नाम कमाउँछन्। कोही कोही शक्ति वा सरकारमा आउँछन्। सिद्धान्त र आइडियोलोजीको प्रयोग गर्छन्। तिनको नैरन्तर्य हुन सक्छ। तिनले मानिसहरूलाई दिक्क पनि पार्न सक्छन्। राजनीतिमा फटाफट नित्य परिवर्तन हुन नेताहरू सक्तैनन्। त्यसैले तिनको अवस्था, राजनीतिभित्रको छनौट प्रक्रिया अनि चुनाव र शक्तिमा आउने प्रक्रियाले गर्दा ती सनातनी अनुहार लिएर निकै समय रहन्छन्। हाम्रा सनातनी नेताहरूको नैरन्तर्यलाई त्यसरी पनि हेर्नुपर्ने हुनसक्छ। सनातनी अनुहार लिएर हाम्रा नेताहरू आउने अवस्थाबारे मेरो भनाइ यस्तो छ।

प्रदीप गिरिको एउटा वाचाल लेखबाट केही विचार उद्धरण गरेर नेपाली राजनीतिका सनातनी अनुहारको छलफल गर्न चाहन्छु। २०७७ कात्तिक ६ को नयाँ पत्रिकामा प्रकाशित ‘अगाडिको बाटो’ भन्ने लेखमा गिरिले कालिक चेतना र चेतावनीका शब्दहरू लेखे। त्यो लेखको आधार सनातनी अनुहारहरूले गति लिन नसकेका कारण निम्त्याउन सक्ने परिस्थिति थियो। एउटा अनुच्छेद उद्धरण गर्छु–

‘अगाडि के गर्ने त! नेतृत्व वर्गले अगाडिको बाटो पहिल्याउनुपरेको छ। बाटो पनि नपहिल्याउने, समाधान पनि नदिने, पद पनि नछाड्ने, तर नेताको पगरी गुथिरहने महानुभावहरूलाई उनीहरू जोसुकै भए पनि इतिहासले माफ गर्नेछैन। इतिहास रोकिएर बस्दैन। गतिशीलता उसको विशेषता हो। त्यस गतिशीलताले कुनै प्रधानमन्त्री, अध्यक्ष, सभापति वा कुनै राष्ट्रपतिलाई पनि टेरिरहँदैन। अहिलेको व्यक्तित्वको कलह र मुलुकको जडता र सरकारको अकर्मण्यताले एउटा भयावह भविष्यको संकेत दिएको छ। गतिशील र साहसी नेतृत्व वर्गले कि त बाटो देखाउनुपर्छ  कि त अराजकताका निमित्त तयार रहनुपर्ने अवस्था आएको छ। यसरी चल्दैन। यस्तो पाराले चल्दैन।’

यो चेतावनी र भविताको परिकल्पना गर्ने यी प्रजातन्त्रमाथि निष्ठा राखेर जीवन बिताएका गिरिका यी लगभग अन्तिम वाणी थिए। अहिले २०८१ मा आइपुगेर प्रदीप गिरिले भनेका मुख्य कुरा दोहोर्‍याएर हेर्दा सनातनी अनुहारहरूले के गरे र त्यसमा के कुराको होस पुर्‍याउनु आवश्यक छ भन्ने कुरा आउँछ। ती सनातनी अनुहारहरू अगाडिको बाटो पहिल्याउँदैनन्। समस्याका समाधान पनि दिँदैनन्, पदमा टाँसिएर बसिरहन्छन् अनि नेताको दर्जा कायम राखिबस्छन्। नेपाली राजनीतिमा सनातनी अनुहार भएका नेताको चरित्र यत्ति हो। यसमा प्रदीप गिरिले गतिशील इतिहासमा विश्वास गरेका छन्। उनको प्रलय वा एपोकालिप्सको परिकल्पना छैन तर अराजकता आउन सक्ने अवस्थाको चेतावनी भने छ। 

यो लेखको पुछारतिर एकाध चिन्तनहरू राख्न चाहन्छु। नेपालमा अहिले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार छ। अरू दलहरू–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,  जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्रको प्रतिनिधित्व छ संघीय संसद्मा। 

संसदीय समितिहरूमा यिनै छन्। एक अर्थमा सबै दलहरूले अहिलेको नेपालको राजनीतिक  कलेवर रचना गरेका छन्। त्यसो हुँदा सनातनी अनुहारहरू कुन दलमा बढी छन् त? यसको उत्तर सजिलो छ। जुन दल अहिले शासनमा छन्, तिनका मुख्य नेताहरूका अनुहार सनातनी हुन्। सानादेखि मझौला दल जो छन्, तिनमा धेरै वर्षदेखि नेपालको राजनीतिमा हाबी सनातनी नेताका अनुहार छन्। यी दलहरूको फुट्ने र जोडिने क्रमको इतिहास छ। त्यसो गर्नेमा सनातनी अनुहारहरू नै छन्। जो नयाँ अनुहार छन्, तिनीहरू हिजोदेखिका सनातनी अनुहारहरूको अनुकृति गर्छन्। फ्रान्सेली दार्शनिक जाक डेरिडाले स्पेक्टर अफ् मार्क्स (मार्क्सको प्रेत) भन्ने किताबमा राजनीतिमा विचार र अनुहारहरू कसरी कायम रहन्छन् र दोहोरिन्छन् भन्ने गहिरो विश्लेषण गरेका छन्। 

एउटा कुरा हामी सबैले स्वीकार्नुपर्छ। बहुदलवादी प्रजातान्त्रिक पद्धतिमा राजनीतिक पात्रहरू उद्भव हुन्छन्। तिनको जन्म इतिहाससँग जोडिएको हुन्छ। म फेरि भारततिर फर्किन्छु। गान्धीदेखि अरू नेताका उदाहरण पनि ल्यायौँ। इतिहासमा संसदीय व्यवस्थाका आफ्नै धन्दा हुन्छन्। त्यो धन्दा गर्ने नेताहरू नै हुन्। भारतीय लोकतन्त्रमा ती नेताका इतिहास छन्। काम गर्दागर्दै, एकाध चुनाव लड्दालड्दै समय र तिनका उमेर जान्छन्। सनातनी अनुहार आउने क्रम अमेरिकामा पो कम छ र नेताको? त्यता नलागौँ। तर ती नेताहरूमाथि खेदो खन्ने काम सैनिक र डिक्टेटर वृत्तिका शासकले गरेका हुन्छन्। तैपनि ती दलका नेताहरू चलिरहेका हुन्छन्। तिनलाई मान्नुपर्छ। नेपाली राजनीतिक दलका नेताहरूका सनातनी अनुहार हुनुमा तिनको कमजोरी मात्र भयो भन्ने पक्षमा म छैन। तर प्रदीप गिरिले भनेजस्तो तिनका कर्म भने निष्ठावान् हुनुपर्छ। यसो भन्दा मलाई दिल्लीमा भएको सार्क साहित्य सम्मेलनको एउटा घटनाको सम्झना आउँछ। 

साहित्य सम्मेलनमा बोल्ने र रचना सुनाउने क्रम चलिरहेको थियो। अजित कौर दिदीले थोरै समयमा बोल्न सबैलाई कसेकी थिइन्। म भारतका दार्शनिक विचारक, प्राध्यापक आशिष् नन्दीसँगै बसेको थिएँ। उनी मसँग एक छिनअघि नेपाली राजनीतिक नेता र जनताको प्रशंसा गर्दै थिए। उनले हात उठाएर दुई मिनेट समय मागे। अनि भने – जुन बोली अहिले पनि मेरो कानमा गुन्जिन्छ– ‘नेपाल र पाकिस्तानका राजनीतिक  दलहरूको नाम गिनिज् बुक अफ् वर्ल्ड रेकर्ड्समा पठाउनु पर्छ। नेपालमा १९ दिनमा जनता र दलले राजनीतिक परिवर्तन ल्याए। पाकिस्तानमा सैनिकले सधैँ हस्तक्षेप गर्दा पनि दलहरू संघर्ष गरिरहेकै छन्। चुनाव गरिरहेका छन् र प्रजातान्त्रिक प्रणाली मर्न दिएका छैनन्।’ 

मैले आशिष् दालाई क्याबात भनेँ। राजनीतिक दलका कति सनातनी अनुहार थिए र छन् पाकिस्तानमा। नेपालमा पनि थिए र छन् ती अनुहारहरू। मेरो निष्कर्ष यस्तो छ– नेपाली राजनीतिको नेतृत्व गर्ने सनातनी अनुहारहरू छन्। त्यो आफैँमा राजनीतिको अवसानको संकेत होइन। बरु त्यो गति हो। तर यत्तिचाहिँ भनेर यो लेख अन्त गरौँ। अनुहारहरूका सनातनी र दिक्क लाग्ने अवस्थाको सिर्जना नगर तिमीहरू। अग्रगामी विचार नराख्ने, शक्तिलोलुप हुने, केही नेताले अरूलाई, खासगरी युवालाई आउन नदिने अनि देशमा केही अग्रगामी काम नगर्ने अवस्थाको सिर्जना गर्ने कर्म चलिरह्यो भने इतिहासले जतिसुकै तिमीलाई सहुलियत र मान्यता दिएको भए पनि तिम्रा अनुहारहरू सनातनी र दिक्क लाग्दा हुन्छन् र हुनेछन्। 

यत्ति भनौँ।


सम्बन्धित सामग्री