राम्रो कमाइ र सम्मानित पेसा सबैको सपना हो। तर देशमा चरम बेरोजगारी छ। जीविकोपार्जनका लागि सहज रोजगारीको अवसर मागअनुरूप छैनन्। देशका मुख्य शहरमा डान्स बार, मसाज पार्लरलगायत अनौपचारिक मनोरञ्जन क्षेत्रले दैनिक करोडौँको व्यापार गरिरहेको छ। खासगरी कतिपय ‘मसाज पार्लर’ तथा सडक/सार्वजनिक क्षेत्रमै पुगेर यौन पेसा अपनाउनेको संख्या दिनानुदिन बढ्दो छ। यस पेसामा महिला मात्र नभई पुरुष र यौनिक/लैंगिक अल्पसंख्यक समुदाय पनि सक्रिय छन्। उमेरका हिसाबले कलिला किशोर/किशोरीदेखि ७० वर्षसम्मका व्यक्ति यस पेसामा संलग्न पाइन्छ।
सरकारको तथ्यांकअनुसार नेपालमा यौन व्यवसाय गर्ने महिलाको संख्या ५५ हजार छ। यूएनएड्सको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा ६७ हजार महिला यौनकर्मी छन्। यौन व्यवसायलाई सामाजिक संस्कृति भड्काउने अनैतिक कार्य र अश्लील कर्मका रूपमा समाजले चित्रण गरेको छ। अन्य सामाजिक, कानूनी अवहेलना र अपराधीकरणका कारण पनि जिउनकै लागि यो पेसा गर्नेहरू आफ्नो पहिचान खुलाउन चाहँदैनन् या सकिरहेका छैनन्। यस कारण पहिचान नखुलेका यौनकर्मीको संख्या अझै धेरै हुन सक्ने अनुमान गर्न सकिन्छ।
इटहरीकी एक यौनकर्मी भन्छिन्, ‘म एकल महिला हुँ। ममाथि एक सन्तान र आमाबाबुको हेरचाहको जिम्मेवारी छ। महिनामा एक हप्ताजस्तो काम गर्दा यही पेसाको भरले आफ्नो पारिवारिक जिम्मेवारी पूरा गरिरहेकी छु, मजस्तो गरिब परिवारको मान्छेले अन्य काम गरेर सो गर्न सम्भवै थिएन।’ तीन वर्षदेखि यस पेसामा रहेकी उनी आफू कसैको बल वा करकापले नलागेको बताउँछिन्। उनी बाध्यताले मात्रै यस पेसामा लागेको सहजै बुझिन्थ्यो।
यौनकर्मी समुदाय र तिनका आन्दोलनले यौन पेसालाई कामका रूपमा स्थापना गर्न निरन्तर वकालत गरिरहेको छ। केही पहिले इटहरीमा भएको अन्तरक्रियामा यौन पेसामा प्रवेश गर्नु बाध्यता मात्र नभई रोजाइ र स्वनिर्णय भएको यौनकर्मीले बताएका थिए। उनीहरूमध्ये धेरैको कुरा यही थियो, ‘अन्य कामझैँ यौनसँग जोडेर गरिएको एक प्रकारको श्रम हो यो। यस काममा अर्को पक्षलाई यौन सेवा प्रदान गरेर अर्थोपार्जन गरिरहेका छौँ हामी।’
वयस्क व्यक्ति बीचको होसपूर्ण आपसी सहमतिमा यौन सेवा आदानप्रदान गर्ने र सोबापत पारिश्रमिक भुक्तान गरिने भएकोले यो श्रम नै हो। उनीहरूको तर्क सही छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले पनि 'यौन कार्य संसारकै पहिलो र प्रमुख आय आर्जनको गतिविधि थियो' भन्ने तर्क गरेको देखिन्छ। यद्यपि, यौन व्यवसायमा यौनकर्मीको सम्मान, सहमति र उचित पारिश्रमिकको पक्षमा आईएलओले सदैव जोड दिन्छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर)ले ‘सबैलाई स्वतन्त्र रूपमा रोजगारी छनौट गर्ने र काम गर्ने अधिकार छ’ भनेको छ।
नेपालमा पनि यौन व्यवसायमा संलग्न तथा तिनको हितका खातिर काम गरिरहेका संस्थाले अन्तर्राष्ट्रिय महासन्धिलगायत विभिन्न मानव गरिमाका मान्यता टेक्दै ‘यौन पेसालाई मान्यता प्रदान गरियोस्’ भनिरहेका छन्, तर सरकारले मौनता साँधिरहेको छ।
सामाजिक संरचनाले जन्माएका यौनकर्मी
बच्चा जन्मिनु केही घण्टासम्म पनि उनी 'यौन श्रम' गरिरहेको थिइन्। १३ दिनको सुत्केरी, उनलाई कामभन्दा आरामको आवश्यकता थियो। तर आर्थिक अवस्था कमजोर भएको कारण 'आलो सुत्केरी' उनी यौन कार्य गर्न गइन्। नभोग्ने/नदेख्नेलाई अतिशयोक्तिपूर्ण कथा लाग्ला यो तर भोको पेट र अन्य दैनिक आवश्यकतासँग जुध्नलाई उनीसँग अरू कुनै विकल्प थिएन। लेखकले भेटेकी एक पात्रको कहालीलाग्दो कथा हो यो।
कोभिड१९ को लकडाउनपछि आफ्नो चिया पसलको कमाइले परिवार पाल्न सकिनन् र यो पेसा अपनाउन बाध्य भइन्। कोभिडयता पूर्वको इटहरी, धरान, विराटनगर र दमकलाई कार्यक्षेत्र बनाएर उनी यस पेसामा संलग्न छिन् र परिवार धानेकी छन्। यो अर्को कथा हो।
परिवारको कुनै सदस्य बिरामी हुँदा तिनको खर्च धान्न कोही यो पेसामा जोडिएका छन् भने कोही भाइबहिनी, छोराछोरी र आफ्नै शिक्षाका लागि खर्च जोहो गर्न यता आइपुगेका छन्। खासगरी उत्पीडित र सीमान्तकृत समुदायका महिला आधारभूत आवश्यकता पूर्तिकै लागि यस पेसामा लागेका छन्। समाजको आर्थिक असमानता र सामाजिक विभेदको राम्ररी सम्बोधन नभएका कारण एक खालको समुदाय विवश भई यौनकर्मी बनिरहेका छन्।
सीमान्त वर्गका यौन कर्मीको अवस्था
नेपाली शब्दकोशअनुसार सीमान्तको अर्थ सीमाको छेउ, दोसाँध (अन्तिम अवस्था) भन्ने रहेको छ। सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक अवसर तथा लाभबाट वञ्चित वर्ग-समुदाय हुन् सीमान्तकृत, जो आधारभूत सेवा, स्रोत तथा साधनको पहुँचबाहिर हुन्छन्। राज्यले प्रवाह गर्ने सेवासुविधा सबैका लागि समान अधिकारको विषय भनिए तापनि धार्मिक-सांस्कृतिक उपेक्षा, उत्पीडन, स्रोतको असमान वितरण, केन्द्रीकृत संरचनाका कारण खास समुदाय र वर्गका व्यक्ति सीमान्तमा पुग्छन्।
यस क्षेत्रमा शिक्षित, आर्थिक रूपमा सबल र अन्य पेसामा लाग्न सक्ने वर्ग/समुदायका व्यक्ति पनि छन्, तर तिनको संख्या कम छ। नचाहँदा जतिखेर पनि तिनले यो क्षेत्र छाड्न सक्छन् र उनीहरू कम जोखिममा छन्। आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा कमजोर र सीमान्तकृत वर्गका धेरै यौनकर्मी संरक्षण र सहयोगको अभावमा निरीह छन्।
सीमान्तकृत महिला न त हिंसाबाट सुरक्षित छन् न त श्रमअनुसारको पारिश्रमिक नै प्राप्त गर्न सक्छन्। स्वयंमा सुरक्षित यौन सम्पर्कको ज्ञानको कमी, तथा ग्राहकको असुरक्षित व्यवहारले स्वास्थ्य समस्या प्रमुख हो। ग्राहकले थोरै पैसामा काम गर्न दबाब दिने, सहमति भएअनुसार पैसा दिन नमान्ने, जबरजस्ती मनपरी गर्न खोज्ने, नमान्दा कुटपिट गर्ने, धम्की दिने मात्रै होइन, गोपनीयता भङ्ग गरिदिने धम्की दिँदै निःशुल्क यौन सम्पर्क गर्न खोज्ने जस्ता समस्या यौनकर्मीले भोग्ने गरेका छन्।
तमाम उत्पीडनसँगै उनीहरू प्रहरीबाट समेत अनावश्यक तनाव तथा हिंसा भोग्छन्। यौन श्रममा संलग्न भएकै कारण प्रहरीले मरणासन्न हुने गरी कुट्ने र गालीगलौज गर्ने गरेका छन्। त्यस्तो हिंसाको उजुरी दिँदा प्रहरीले गर्दा गर्नै मान्दैन। त्यस्तै, यौन सम्पर्कको भिडियो बनाउने/फोटो खिचेर साथी सर्कलमा शेयर गर्दै दुःख दिने ग्राहकका कारण पनि यौनकर्मीहरू पीडित हुने गरेका छन्।
बलात्कारजस्तो गम्भीर अपराधमा समेत ‘फलानो केटी पहिल्यै किन सचेत भइन त?’ भन्दै बलात्कारीलाई संरक्षण गर्ने हाम्रो समाजमा यौनकर्मीमाथि हुने हिंसालाई जायज ठानिँदै/मानिँदै आएको छ। यसो भन्दैमा सबै पुरुष ग्राहक हिंस्रक हुँदैनन्। यौनकर्मीहरूका अनुसार केही ग्राहक आफ्नो यौन सहकर्मीलाई सामान्य व्यक्तिलाई झैँ व्यवहार गर्छन् र यौनकर्मलाई सुरक्षित र मर्यादित बनाउने प्रयास गर्छन्। यस्ता ग्राहक अक्सर नियमित ग्राहकका रूपमा आइरहने ती यौनकर्मी बताउँछिन्।
मौन सरकारहरू
प्रत्येक वर्ष स्थानीय तहको विकासका लागि स्थानीय तहले बजेट निर्माण गर्छ। कतिपय स्थानीय तहका प्रतिनिधि यसकै लागि जनताको घरघर र टोलटोलसमेत पुगेर सुझाव संकलन गर्छन्। सचेत जनता यसमा सहभागी हुन्छन् तर यौनकर्मीहरू सम्बन्धित वडा तथा जनप्रतिनिधिसम्म पुग्नै सक्दैनन्। उनीहरू सार्वजनिक मञ्चमा पुगेर आफ्नो आत्मसम्मान, गरिमा र सुरक्षाबारे बोल्न सक्ने अवस्था छैन। यौनकर्मी समुदायविरुद्ध नराम्रो नजरियाकै कारण यौनकर्मीले आफ्नो पहिचान खुलाउने आँट गर्न सकेका छैनन्।
विश्वकै पुरानो यस व्यवसायलाई फिनल्यान्ड, न्युजिल्यान्ड, क्यानडा, बेल्जियमलगायत थोरै देशले निश्चित शर्त तोकेर पेसाको रूपमा कानूनी मान्यता दिएका छन्। कानूनी मान्यता प्रदान नगरिएका देशमा पनि यो व्यवसायले आर्थिक कारोबारको निकै ठूलो हिस्सा ओगट्ने गरेको पाइन्छ। कठोर नैतिकता, पवित्रता र शुद्धताको वकालत गर्ने धार्मिक मुलुकमा समेत यौन पेसा व्यापक छ। नेपालमा पनि व्यवसायकै रूपमा कतिले यसलाई अपनाएका छन् तर कानूनी मान्यता प्रदान गर्नुको साटो अपराधीकरण गरेको छ।
कानूनी मान्यता नदिएका कारण यौनकर्मीलक्षित योजना निर्माण गरी तिनको हितका लागि काम गर्न संघीयदेखि स्थानीय सरकारसमेत हिचकिचाइरहेका छन्। यो विषयलाई उठाउने हिम्मत जनप्रतिनिधिसमेत गर्न सकिरहेका छैनन्। यस्तो विषय उठाउँदा जनमत र जनविश्वास गुम्ने डर छ तिनलाई। जसका कारण दिनानुदिन यो पेसाभित्र हिंसा, शोषण र भेदभाव झनै जटिल र विकराल बन्दै गइरहेको छ।
यो समस्याको सम्बोधन गर्ने मुख्य माध्यम समुदाय तथा तिनको कामको पहिचान, सम्मान र निरअपराधीकरण हो। यौन व्यवसाय, समाजमा यौनकर्मीको उपस्थिति र उनीहरूसँग यस्ता गम्भीर विषयलाई सरकारले नजरअन्दाज गर्न पटक्कै मिल्दैन। राज्यमा रहेका गम्भीर र संवेदनशील राजनीतिज्ञ र जनप्रतिनिधिले यसबारे तदारुकता देखाउनै पर्छ। उत्पीडित समुदायका आमा, दिदीबहिनी र छोरीहरूका लागि काम गर्न अबेर भइसक्यो।