४२ वर्षे सरकारी कार्यकालको दौरान सँगै काम गरेका सबैभन्दा सजिला हाकिम थिए डा. मनमोहन सिंह। उनी शान्त, दयालु र विचारशील थिए। फरक विचार र तर्कसंगत बहसलाई उनी स्वागत गर्थे। तर उनीसँग बहसका लागि तपाईंले पर्याप्त गृहकार्य गरेको र बहसमा के भनिरहनुभएको छु भन्नेबारे थाहा पाउनु आवश्यक हुन्थ्यो। उनको तीक्ष्ण दिमागले कसैमा रहेको अज्ञानता या अस्पष्टता जाँच्न सक्थ्यो। आफ्नो आँखामा धुलो हाल्न खोज्नेहरूको कडा प्रतिवाद गर्न उत्तिकै सक्षम थिए।
उनीसँग मेरो काम प्रायः विदेश र सुरक्षाबारे हुने गर्थ्यो। संसार कसरी चल्छ भन्नेबारे उनमा थोरै मात्र भ्रम थियो। उनी धेरै स्पष्टसँग बुझ्थे। विश्वसँगको लामो अनुभवका कारण उनीसँग स्पष्ट दृष्टिकोण थियो। विश्वका जटिलता जान्दाजान्दै पनि उनमा निराशा थिएन। उनी बुझ्थे कि कूटनीतिमा विश्वसनीयता नै सबै कुरा हो। इमानदारी वास्तवमै उत्तम नीति हो। आफ्नोबारे पूर्ण खुलासाचाहिँ होइन, तर इमानदारी! किनभने कूटनीतिमा बाह्य मुलुकका कर्ताहरूसँग काम गरिन्छ। उनीहरू मुलुकको नियन्त्रणबाहिर हुन्छन्, जसका आफ्नै स्वतन्त्र जानकारीका स्रोतहरू हुन्छन्।
मुलुकको कानूनले देशभित्र काम गर्छ तर अन्तर्राष्ट्रिय कूटनीतिमा त्यसले गर्दैन। र, भरपुर विश्वसनीयता थियो डा. मनमोहन सिंहसँग। विश्वले उनको बौद्धिकता र इमानदारीको कदर गर्थ्यो र उनले त्यसलाई भारतको हितमा प्रयोग गरेका थिए। विश्वका नेताहरूले उनको सल्लाहलाई कस्तो सम्मानसाथ लिएका थिए र उनले जी २० र पूर्वी एशियाली सम्मेलनजस्ता अवसरमा उनको कस्तो प्रभाव थियो भनेर मैले देखेको छु। यो कुनै सामान्य कुरा थिएन कि अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उनलाई आफ्नो गुरु भनेका थिए।
उनीसँगको प्रत्येक भेटमा उनीभित्रको शिक्षक भेट्न पाइन्थ्यो। डा. मनमोहन सिंहसँगको भेटपश्चात् जोकोही प्रत्येकचोटि थप ज्ञान र राम्रो दृष्टिकोणसाथ बाहिर निस्कन्थ्यो। सधैँ केही न केही सिक्न पाइन्थ्यो। सरकारी काम गर्नेहरूलाई पक्कै थाहा छ कि यो कति दुर्लभ कुरा हो।
तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हुन्थ्यो कि उनीसँग काम गर्दा एक असाधारण नेतासँग काम गरिरहेको महसुस हुन्थ्यो: एक राजनीतिज्ञ जो तात्कालिक लाभमा ध्यान दिँदैनथे। बेइमानहरूका बीच उभिएका एक इमानदार व्यक्ति थिए उनी। सीप, ज्ञान र प्रयासले कतिसम्म प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनको जीवनले देखाएको थियो। उनी यस्ता नेता थिए, जो प्रचार, भाषण वा बल प्रयोगमा भर पर्दैनथे।
मलाई के कुराले अचम्मित बनाएको थियो भने उनका लागि बिलकुलै नयाँ मुद्दामा समेत उनमा स्पष्टता थियो। पछि मैले बुझेँ कि उद्देश्यमा भएको उनको प्रष्टता नै त्यसको कारक हो। विदेश नीतिको राजनीतिक अर्थतन्त्रबारे उनमा फराकिलो ज्ञान थियो। उनी विदेश नीतिको उपयोग गर्दै भारतलाई आधुनिक, समृद्ध र सबै नागरिकको लागि सुरक्षित देशका रूपमा परिवर्तन गर्ने कुरामा जोड दिन्थे। यस्तो मापदण्डले उनलाई खतरा र अवसर (दुवै)को महत्त्व मूल्यांकन गर्ने र एउटामा अर्को देख्ने क्षमता प्रदान गर्थ्यो।
सन् २००९ मा श्रीलंकन सरकार तत्कालीन 'एलटीटीई'लाई एक प्रभावकारी सैनिक शक्तिबाट कमजोर बनाएर सिद्ध्याउँदै थियो। त्यसले भारतमा अनेकन् राजनीतिक जटिलतासमेत ल्याएको थियो, सिंहले त्यसलाई श्रीलंकाली सरकारलाई भारतीय सुरक्षा सीमारेखाको सम्मान गर्न बाध्य बनाउने अवसरका रूपमा देखे। विदेशी पनडुब्बीलाई हाम्रो बन्दरगाहमा नबोलाउने विषयलाई कार्यान्वयन गराउन हामी सन् २०१४ सम्म सफल भयौँ।
उनको उद्देश्यको स्पष्टताले नै उनलाई त्यस्ता मुद्दामा अघि बढ्न शक्ति दिएको थियो र उनी राष्ट्रिय स्वार्थमा विश्वास गर्थे। अमेरिकासँगको आणविक सम्झौता र 'एनएसजी वेभर'मा उनको दृढता नै त्यसको कारक बन्यो, जबकि भारतीय राजनीतिक प्रक्रियामा यस्ता सम्झौताका सम्भावना उज्ज्वल थिएनन्। आफ्नो सरकारको भविष्य नै दाउमा पारेर ती मुद्दा अगाडि बढाउनुले उनको सौम्य प्रकृतिभित्र लुकेको दृढ इच्छाशक्तिको अनुमान लगाउन सकिन्छ।
पेसागत धर्म अब्बल ढंगले निर्वाह गर्ने उदाहरण थिए उनी। वस्तुनिष्ठ हुने र भावनालाई आफ्नो पेसागत कामभन्दा बाहिर राख्न सक्ने क्षमता थियो सिंहमा। एक पटक पाकिस्तानको 'गाह' (जुन भारत र पाकिस्तान छुट्टिँदासम्म सिंहको मूलघर थियो) बाट आएर उनलाई धेरै भावुक मनसाथ भेट्न चाहिरहेका मान्छेहरू आए। त्यसपछि सिंहले मलाई आफ्ना परिवारले विभाजनको समयमा भोगेका कठिनाइबारे भनेका थिए, जसमा परिवारका सदस्य उनले गुमाएका थिए र त्यस दुःखद व्याख्याले मलाई त्रस्त तुल्यायो।
त्यही सन्दर्भमा उनीसँग सोधेँ, ‘उसो भए पाकिस्तानसँग शान्ति र मैत्री खोज्न कसरी सम्भव छ?’ उनको जवाफ सरल थियो, ‘भावनाले जस्तो सुझाए पनि पाकिस्तानसँगको मैत्री आखिर भारतको हितमा छ।’ त्यसपछि उनले पाकिस्तानसँग गरेका मैत्रीका प्रयासबारे जायज तर्क प्रस्तुत गरे। मलाई विश्वास छ कि भविष्यका सरकारले उपयुक्त समय आउँदा तिनको अनुसरण गर्नेछन्। म अहिले पनि आश्चर्यचकित हुने गर्छु कि त्यस्तो भोगेर आएको मान्छे कसरी 'पाकिस्तान नीति'का सन्दर्भमा तर्क र विवेक पच्छ्याउन सक्छ?
मनमोहन सिंह आफूलाई प्रदर्शन गर्ने खालका व्यक्ति थिएनन्। र त्यसैले पनि उनले जर्ज बुस र वेन जिबाओजस्ता नेतासँग राम्रो सम्बन्ध बनाए, जो अत्यन्तै फरक पृष्ठभूमि, शिक्षा र अनुभवबाट आएका थिए। मन्थन र विचारको जीवनले सिंहलाई उत्साहित पार्थ्यो। आफ्ना महत्त्वपूर्ण भाषण उनी आफैँ तयार पार्थे र २०१४ मे १७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै गर्दाको बिदाइ भाषण संक्षिप्तताको उत्कृष्ट उदाहरण हो, जसमा उनीभित्र स्थापित गहिरो विश्वासलाई व्यक्त गरिएको छ।
यसको मतलब यो होइन कि सिंहसँग हाँसीमजाकको भावना नै थिएन। व्यक्तिगत जीवनमा उनी खुलेर हाँस्न सक्थे। बाँकी संसारले उनको त्यो पक्षसमेत देखोस् भन्ने मलाई लाग्थ्यो, तर उनी दिलैदेखि गोप्य व्यक्ति थिए।
मानवता आधारित उनको प्रेम र वफादारी प्रेरित गर्ने क्षमता सबैभन्दा धेरै उनको याद आउने विषय हो। शालीनता र नैतिकताले राजनीतिमा स्थान पाउन र सफल हुन सक्छ भन्ने कुरा उनीसँग काम गर्दा तपाईंमा विश्वास जाग्थ्यो। उनले सही भनेका थिए कि समकालीन मिडिया र विपक्षी दलहरूको तुलनामा इतिहासले उनको राम्रो मूल्यांकन गर्नेछ।
(बिहीबार राति भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भयो। २०१० जनवरीदेखि २०१४ मेसम्म उनकै राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा काम गरेका शिवशंकर मेननले उनको स्मृतिमा लेखेको श्रद्धाञ्जली लेखको भावानुवाद हो यो। मेनन २००६ देखि २००९ सम्म भारतका विदेश सचिव थिए।)