मानवले आदिकालदेखि वनस्पतिको उपयोग गर्दै आएको छ। अधिकांश आहार उत्पत्तिदेखि नै वनस्पतिजन्य हुन्थे। अन्न, फलफूल र तरकारी सबै वनस्पतिजन्य आहार नै हुन्। आहारबाहेक, यी वनस्पतिलाई रोगव्याधी निवारणका लागि संसारका अनेकौँ ठाउँका मानिसले पहिल्यैदेखि जडीबुटीका रूपमा प्रयोग गर्थे। यस लेखमा प्राथमिक रूपमा पूरै प्रमाणित नभइसकेका विभिन्न रोगमा सहयोगी भूमिका खेल्ने वनस्पतिका रसायनको चर्चा गरिने छ।
प्रमाणित औषधि
पहिले चर्चा गरौँ, प्रमाणित औषधि के हो भन्नेबारे। कुनै पनि रसायनलाई औषधिका रूपमा पहिचान गर्ने प्रक्रिया लामो र खर्चालु छ। मानवमा औषधिको परीक्षण हुनुभन्दा अगाडि रसायनले काम गर्छ/गर्दैन, कसरी काम गर्छ भनेर प्रयोगशालामा परीक्षण गर्नुपर्छ। यस परीक्षणमा खरो उत्रेपछि मात्र सो रसायन (केमिकल) कुनै जनावरमा सुरक्षित भए नभएको र रोगविरुद्ध उपयोगी भए/नभएको जान्न अर्को परीक्षण गर्नुपर्छ। यी सबै परीक्षणमा खरो उत्रेपछि मात्र मानवमा परीक्षण गरिन्छ र त्यसको पनि तीन चरण हुन्छन्।
पहिलो चरणमा स्वस्थ मानिसलाई औषधिका विभिन्न मात्रा दिई औषधि सुरक्षित भए/नभएको जाँच गरिन्छ। औषधि सुरक्षित भएको ठहर भए दोस्रो चरणमा औषधि रोगविरुद्ध उपयोगी भए/नभएको परीक्षण गरिन्छ। दोस्रो चरणमा पनि खरो उत्रे तेस्रो चरणमा ठूलो रोगीको समूहमा औषधि सुरक्षित र उपयोगी भए/नभएको जान्न परीक्षण गरिन्छ। यस परीक्षणमा खरो उत्रे मात्र औषधि अब वैज्ञानिक तवरले प्रमाणित हुन्छ।
वैज्ञानिक तवरले कैयौँ वनस्पतिका रसायन औषधि ठहरिएका छन्। लोठ सल्लामा पाइने ट्याकसोल क्यान्सरविरुद्ध औषधि प्रमाणित भएको छ। एलडोपा भन्ने वनस्पतिमै पाइने रसायन पारकिनसन्सविरुद्ध प्रयोग हुन्छ। रोगविरुद्ध औषधि प्रमाणित भइसकेका रसायनको लामो सूची छ। वनस्पति र औषधि विज्ञहरू वनस्पतिका नयाँ अथवा पुराना थाहा भएका रसायनलाई औषधिका रूपमा प्रमाणित गर्न लागि परेका हुन्छन्।
औषधि प्रमाणित भइसकेकाबाहेक वनस्पतिमा अरू कैयौँ रसायन हुन्छन्। जीव (सबै प्राणी र वनस्पति)मा पाइने रसायनलाई साधरणतया दुई वर्गमा वर्गीकरण गरिन्छ। प्राथमिक रसायन सबैजसो जीवमा पाइन्छन्। दोस्रो प्रकारका रसायन कुनै-कुनै जीवमा मात्र पाइन्छ। दोस्रो प्रकारका रसायन मात्र वनस्पतिमा ५० हजारभन्दा बढी हुने अनुमान छ। यस्ता रसायनको धेरैजसो स्वरूप जटिल हुन्छ। यिनीलाई शुद्ध रूपमा निकाल्न पनि जटिल हुन्छ। धेरैजसो दोस्रो प्रकारका वनस्पतिजन्य रसायनलाई चारपाँच वर्गमा विभाजन गर्न सकिन्छ। यी रसायन वनस्पतिले आफ्नो प्रतिरक्षाका लागि धेरैजसो उत्पादन गरेको हुन्छ। मानव, अरू जनावर र कीराले यिनको सेवन गर्छन्। कति रसायन फाइदाजनक हुन सक्छन्। अरू कति रसायन हानिकारक मात्र नभई कहिलेकाहीँ विष नै पनि हुन सक्छन्।
दोस्रो प्रकारका वनस्पतिजन्य रसायन धेरैजसो एन्टाइअक्सिडेन्ट पनि हुन्। जीवले खानाबाट शक्ति निकाल्दा अक्सिजनको प्रयोग गर्ने गर्छ। अक्सिजनको प्रयोगले प्रतिक्रियाशील पदार्थको उत्सर्जन हुन्छ। यिनै प्रतिक्रियाशील पदार्थले विभिन्न रोगहरू लगाउने र आयु घटाउने अनुमान छ। यी पदार्थले डीएनए, प्रोटिन र फ्याटलगायत तत्त्वलाई ड्यामेज (हानि) गर्छन्। क्यान्सर, मधुमेह, रक्तचाप, मुटुरोग, एलजाइमर्स र पार्किन्सन्सलगायत रोग यिनै प्रतिक्रियाशील पदार्थ धेरै उत्सर्जन भएर लाग्ने अनुमान छ। धेरैजसो वनस्पतिका रसायनले यी प्रतिक्रियाशील पदार्थलाई कम मात्रामा निष्क्रिय पार्न मद्दत पुर्याउँछन्। धेरै मात्रामा केही रसायनले प्रतिक्रियाशील पदार्थको बढी उत्पादन गरेर कोषहरूलाई मार्न सहयोग पुर्याउँछन्। कोष मार्ने प्रक्रिया पनि क्यान्सर उन्मुलनमा काम लाग्न सक्छ।
वनस्पतिका रसायनले मानवको प्रतिरक्षा प्रणालीलाई पनि असर गर्छन्। मानवको प्रतिरक्षा प्रणाली प्राथमिक रूपमा जीवाणुसँग जुझ्न बनाएको हो। पहिला पहिला धेरै मानिस जीवाणुबाट संक्रमित भएर मर्थे। जीवाणुबाट बचाउने नै काम हुन्थ्यो प्रतिरक्षा प्रणालीको पनि। तर प्रतिरक्षा प्रणालीले धेरै काम गरेको पनि राम्रो हुन्न भने हालसालै पत्ता लागेको छ। क्यान्सर, मुटुरोग, सोरायोसिसलगायत धेरै रोग प्रतिरक्षा प्रणाली ज्यादा सक्रिय भएरै लाग्ने अनुसन्धानले देखाएका छन्। यस्ता रोगको रोकथाम गर्न पनि वनस्पतिका रसायनले काम गर्न सक्छन्।
मानवको प्रतिरक्षा प्रणालीमा विभिन्न कोषहरू सक्रिय हुन्छन्। रोगको रोकथाम हुने गरी वनस्पतिका रसायनले यी कोषहरूलाई असर गर्ने अनुसन्धानले देखाएका छन्। त्यस्तै, प्रतिरक्षा प्रणालीमा इन्फ्लेमासोम भन्ने प्रक्रिया हुन्छ, जुन विभिन्न रोगमा बढी मात्रामा सक्रिय हुन्छ। वनस्पतिका कैयौँ रसायनले यस प्रक्रियालाई मत्थर बनाउने अनुसन्धानले देखाएका छन्।
औषधिका रूपमा प्रमाणित नभए पनि १० वटा जति वनस्पतिका रसायनको व्यापक प्रयोगशालामा परीक्षण तथा केही मानवमा परीक्षण भएका छन्। यस्ता रसायनमा गोलभेँडामा पाइने लाइकोपिन, हरियो चियामा पाइने क्याटेचिन, अंगुरमा पाइने रेसभरेटोल, गेडागुडीमा पाइने आइसोफ्लाभोन, चकलेटमा पाइने केरेसिटीन, बेसारमा पाइने कुरक्युमिन र ब्रोकाउलीमा पाइने सलफोराफेन पर्छन्। यी रसायनले प्रयोगशाला अनि जनावरको परीक्षणमा रोगविरुद्ध एकदम राम्रो नतिजा देखाएका थिए। तर विस्तृत मानवीय परीक्षण गर्दा भने नतिजा सन्तोषजनक आएको छैन। त्यसो हुँदा, अहिले नै यी रसायनलाई औषधिको संज्ञा दिन मिल्दैन। विभिन्न देशका खाना र औषधिसम्बन्धी संस्थाहरूले पनि यिनलाई औषधि मानेका छैनन्।
यी रसायनलाई लिएर प्रयोगशालामा धेरै अनुसन्धान भने भएका छन्। मानव कोष र शरीरमा लगभग २० हजार विभिन्न प्रकारका प्रोटिन हुन्छन्। यीमध्ये कति प्रोटिनसँगै काम गरेर सञ्जाल बनाउँछन्। धेरैजसो औषधिको रूपमा काम गर्ने रसायनले एउटा प्रोटिन अथवा एउटा सञ्जाललाई मात्र असर गर्छ। तर यी वनस्पतिमा पाइने रसायनले १०-१५ वटा सञ्जाललाई असर गरेको अनुसन्धानले देखाएको छ। एउटा वनस्पतिमा सय जति रसायन भए र एउटै रसायनले १०-१५ सञ्जालमा असर गरे अनुमान लगाउन सकिन्छ, एउटै खानाले मानवीय शरीर र कोषमा व्यापक असर गर्छ।
अझ यस्तो खालको असरको प्रयोग रोग लाग्नबाट रोक्नका लागि गर्न सकिन्छ। यस्तो प्रयोगलाई किमोप्रिभेन्सन भन्ने गरिन्छ। विशेष गरी मुटुसम्बन्धी रोग लाग्नुभन्दा अगाडि विभिन्न लक्षण देख्न सकिन्छ। कोलेस्टोरोल तथा रक्तचाप उच्च हुनु मुटुको रोगका कारक हुन्। विभिन्न औषधिको सेवनबाट यी लक्षणको नियन्त्रण गर्दा मुटुको रोग लाग्नबाट बच्न सकिन्छ। त्यस्तै, वनस्पतिजन्य रसायनको सेवनले पनि विभिन्न सञ्जाललाई असर गर्दै मुटुको रोग र क्यान्सर लाग्नबाट बचाउन सक्छ। अहिलेसम्म विभिन्न मानव परीक्षण भए पनि कुनै पनि रसायनले क्यान्सर अथवा मुटुरोग लाग्नबाट बचाउने प्रमाणित भइसकेको छैन। शायद एउटा मात्र रसायन नभएर विभिन्न खानामा पाइने विभिन्न रसायन एकै पटक प्रयोग गर्दा रोग लाग्नबाट बचाउँछ कि? यो कुरा परीक्षण गर्न बाँकी नै छ।
भनेपछि वनस्पतिका रसायन तीन तरिकाका हुन्छन्। पहिलो प्रकारका प्रमाणित औषधि हुन्। यिनलाई औषधि होइन कसैले भन्दैन। दोस्रो प्रकारका रसायन प्रयोगशालामा अब्बल ठहरिएका छन्। तर मानवीय परीक्षणमा खरो उत्रिन सकेका छैनन्। यिनलाई औषधि भन्न मिल्दैन। तर कतिले स्वास्थ्यलाई फाइदा हुन्छ भनेर प्रचारप्रसार गर्छन्। तेस्रा खालका धेरैजसो रसायनमा एन्टाइअक्सिडेन्ट र एन्टाइइन्फ्लामाटोरी गुण हुन्छन्। यिनीलाई प्रयोगशाला र मानवमा खासै परीक्षण गरिएको छैन। तर जनमानसमा यिनी पाइने वनस्पतिको औषधीय गुण हुन्छ भनेर कतिले प्रचारप्रसार गर्छन्।
विज्ञानले फड्को मारिसकेको भए पनि, अनि विभिन्न देश र संस्थाले खानासम्बन्धी निर्देशिका बनाइसके पनि व्यवहारमा वनस्पतिको रोग निवारण क्षमता विषयमा अझै पनि धेरै भ्रम समाजमा कायम नै छ। कसैले भन्छ घाँटी दुखेमा बोझोको टुक्रा मुखमा राख्नुपर्छ। अरूले भन्छन् खोकी लागे तुलसी पानी पिउनुपर्छ। ओलीले भन्थे कोरोनाबाट बच्न बेसारको प्रयोग गर्नुपर्छ। जब विज्ञान लाइकोपिनले प्रोस्टेट क्यान्सर रोक्न सक्छ भन्न तयार छैन, यी माथिका भनाइ मान्न पनि पक्कै तयार छैन।
आम नागरिक मात्र नभएर वैज्ञानिक पनि बेलाबखतमा लेख लेख्छन्: यी १० वटा वनस्पतिको सेवनले मुटुरोगबाट बचाउँछ। यस्तो किसिमको सन्देश गलत हो। जबसम्म वैज्ञानिक रूपमा पूर्ण प्रमाणित भइसक्दैन, कुनै पनि तथ्यलाई सत्य हो भन्न मिल्दैन। बरु मुटुको रोगबाट बच्ने जुनजुन तरिका प्रमाणित भइसकेका छन्, तिनको प्रचारप्रसार गर्नुपर्छ। जस्तै, नियमित व्यायाम गरे मुटुरोगबाट बच्न सकिन्छ।
विज्ञान दर्शन विपरीतका आयुर्वेद र होमियोप्याथी अहिले पनि हाम्रो समाजमा जरा गाडेर संस्थागत भएर बसेका छन्। प्रमाणबिना विभिन्न जडीबुटी मिसाएर त्यसलाई औषधि भन्नु विज्ञानविपरीत हो। होला, यस्ता औषधिले मानव स्वास्थ्यलाई खासै हानि नगर्लान्। तर पनि अन्तिम कुनै पनि उपाय नभएको अवस्थामा मात्र यिनको सेवन जायज हुन सक्छ।
कतिले परीक्षण भएको औषधिको अतिरिक्त हानिकारक प्रभाव हुने तर जडीबुटीको नहुने जिकिर गर्छन्। सो तर्क गलत छ। परीक्षण भएका औषधिको सबै हानिकारक प्रभाव अनुसन्धान भएर थाहा भएको र लेखिएको हुन्छ। तर जडीबुटीको हानिकारक प्रभाव अनुसन्धान नभएकोले थाहा नै हुँदैन। औषधि र जडीबुटीबीचको फरक यति मात्रै हो।
अन्तिममा औषधि प्रमाणित भइसकेका वनस्पतिका रसायन डाक्टरले दिएअनुसार सेवन गर्न कुनै पनि तरिकाले हिचकिचाउनु पर्दैन। प्रशोधन नगरिएका सकेसम्म धेरै प्रकारका वनस्पति आफ्नो खानामा प्रयोग गर्न विज्ञानले सबैलाई सिकाउँछ। त्यसो हुँदा धेरै प्रकारका रसायन खाइने सम्भावना हुन्छ, त्यसले मानव शरीरलाई हित गर्छ। माथि देखाइएका कारणले वनस्पतिजन्य अन्य रसायनले रोग निको पार्छन् अथवा रोक लाग्नबाट रोक्छन् भन्न सकिएन। यिनलाई औषधि मान्न अहिलेकै अवस्थामा मिल्दैन।
(लेखक काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप-प्राध्यापक हुन्।)