अप्रिल २, २००८। उनी सरासर यमनको अदालतभित्र पस्छिन्, जहाँ आफूले टिभी स्क्रिनमा देख्ने गरेजस्तो कालो कोट लगाएका मान्छेहरू उनी देख्दिनन् र अक्कबक्क भएर केहीबेर उभिइरहन्छिन्।
आफूले भोगेको नरक र भागेको बाटोतर्फ उनी अब फर्किन चाहन्नन्, किनकि सो बाटो नाघेर अदालतसम्म आउन उनले आफ्नो उमेरभन्दा ठूलो साहस जुटाएकी छन्। बाल सुलभ सरमका साथ धुलो टाँसिएको लुगामै अदालत कक्षमा यताउति डुल्न थाल्छिन् र एक जनालाई सोधिहाल्छिन्, ‘‘सुन्नुस् त महोदय, मलाई जज् (न्यायाधीश) भेट्नु छ।’’
उनीतर्फ नहेरीकनै कसैले जवाफ दिन्छ, ‘‘भर्याङ चढेर माथि जाऊ।’’ उनी एउटी महिलाको पछि लागेर न्यायाधीश अब्दोको कार्यकक्ष पुग्छिन्। जुँगा पालेका पातलो शरीरका न्यायाधीश अब्दो छक्क पर्दै उनलाई सोध्छन्, ‘‘तिमीलाई के चाहियो नानी?’’
उनी भन्छिन्, ‘‘मलाई डिभोर्स चाहियो।’’
अब्दो सोध्छन्, ‘‘तिमी डिभोर्स चाहन्छौ?’’
‘‘हजुर।’’
‘‘तिमी विवाहित हौ?’’
‘‘हो, म विवाहित हुँ।’’
उनको कुरा अपत्यारिलो लागेर अब्दो थप सोध्छन्, ‘‘तिमी डिभोर्सचाहिँ किन चाहन्छौ त?’’
‘‘किनकि, मेरो श्रीमानले मलाई पिट्छ।’’
एउटी १० वर्षीया बालिका न्यायाधीशको अगाडि उभिएर डिभोर्स मागिरहँदा कुनै संवेदनशील मान्छेको हृदय कस्तो होला? उतिखेर न्यायाधीश अब्दोमा पनि पक्कै बेचैनी भयो होला। तर न्यायाधीश हुनुका कारण उनी धीरताका साथ सानी नानीलाई प्रश्न गर्छन्:
“तिमी कुमारी छौ?’’
‘‘हैन, मेरो रगत आइसक्यो।’’
‘विश्वकै सानो उमेरमा डिभोर्स लिने बालिका’ नुजूद अलीको जीवनको अत्यन्त महत्त्वपूर्ण क्षणको छोटो व्याख्या हो यो, जुन उनको किताब ‘आइएम् नुजूद, एज १० एन्ड डिभोर्स्ड’बाट लिइएको हो। किताब ती साहसी बालिकाको ‘न्यायिक खोज’को विवरण हो, जसले १० वर्षकै उमेरमा आफ्नो लोग्नेसँग सम्बन्ध विच्छेद गरिन्।
नुजूद यमन देशकी नागरिक हुन्। उनको जन्म सन् १९९८ जून १७ मा भएको उल्लेख छ। (तर उनी ८ वा ९ वर्षकी पनि हुन सक्छिन्, किनकि उनको यकिन जन्म साल परिवारलाई थाहा छैन भनिएको छ।) यसरी '१० वर्षको उमेर'मा ३० वर्षीय फैज अलि थमरसँग उनको विवाह हुन्छ।
एक छिन 'रिक्याप' गरौँ र दुई महिना अगाडिको नुजूदको जिन्दगीतिर फर्किऊँ, फेब्रुअरी २००८ तिर।
उनकै गाउँमा घर भएर शहरमा डेलिभरी ब्वाइको काम गरिरहेको फैज अलि थमर नुजूदका बुवासँग ‘सम्बन्ध’को प्रस्ताव राख्छन् र उनका बुवाले स्विकार्छन् पनि। बेलुका नुजूदकी दिदी मोना बुवासँग झगडा गरिरहेको नुजूद सुन्छिन्। उनका बुवा भनिरहेका हुन्छन्, ‘‘नुजूदलाई सुरक्षित राख्ने, एउटै उपाय अब उसको विवाह हो, नत्र यो पनि तिमी र जमिला (नुजूदका दुई दिदी) जस्तै कुनै परपुरुषको बलात्कारको सिकार हुन्छे। यो केटो मलाई राम्रो लागेको छ र यसले वचन दिएको छ कि नुजूद ठूली नहुन्जेलसम्म उसलाई छुनेछैन।’’
नुजूदको विवाह हुन्छ र 'लोग्ने'को गाउँ पुग्छिन्। त्यही रात उनको लोग्नेले उनलाई बलात्कार गर्छ। उनी चिच्याउँदै सहयोग माग्छिन्, तर, लोग्नेले बलात्कार गर्दा कसले छेक्न आउँछ?’’ लोग्ने हुनु स्वास्नीको शरीरमाथि र जिन्दगीमाथि नै अधिकार जमाउनु हो, हिजो पनि र आज पनि! यमनमा पनि हाम्रोमा पनि। नुजूद मुसलमान समुदायकी बालिका हुन्।
उनको शोषण ‘बलात्कार’मै मात्र सीमित रहँदैन। उनकी सासू उनलाई काम दलाउँछिन्, र 'काम बिगार्दा' कुट्छिन्। उनका लोग्ने उनलाई कुट्नुअघि एकरत्ति सोच्दैनन्। बलात्कार, शारीरिक मानसिक शोषण र हिंसा विवाहपछिको दुई महिनासम्म सहन्छिन् नुजूद।
बालविवाह, वैवाहिक बलात्कार, यौन र शारीरिक/मानसिक हिंसाबाट १० वर्षीया बालिकाले मुक्ति पाउने अपेक्षामा नुजूद 'विवाह'को २ महिनापछि अदालत पुग्छिन् आफ्नी कान्छीआमाको सल्लाहमा। न्यायाधीश मोहम्मद अल गाधाले नुजूदलाई अस्थायी शरण दिन्छन्। वकिल शादा नसेर नुजूदको पक्षबाट नि:शुल्क मुद्दा लड्छिन्। नुजूदले वैवाहिक नरकबाट सन् २००८ अप्रिल १५ मा मुक्ति पाउँछिन्।
उनको जीवनकथा यति चर्चित हुन्छ कि उनको पत्रिकामा छापिएको फोटो देखेर घर छाडेर गएका उनका भाइ फेयरु साउदीबाट यमन फर्किन्छन्। 'आइएम नुजूद एज १० एन्ड डिभोर्स्ड' किताब नुजूदको जीवनकथा समेटिएको पुस्तक हो।
उनी सन् २००९ मा आफ्नो वकिल शादा नसेरसँगै 'ग्लेमर उमन अफ् द यर २००८' घोषित भएकी थिइन्। किताबको अन्त्यमा अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा उनी स्कुल गएको र उनले आफू भविष्यमा वकिल बन्न चाहेको कुरा खुल्छ। उनको जीवनीमा आधारित फिल्म पनि बनेको ‘आएएम नुजूद एज १० एन्ड डिभोर्स्ड’ पनि बनेको छ।
‘अति गर्नु अत्याचार नगर्नु’ भनिन्छ। अत्याचारले सीमा नाघेपछि सानी नानी नुजूद हिम्मतिलो बनेर उभिएको कथा हो यो। उनको कथा पढिरहँदा, यमनबाट टाढा रहेको नेपालको राजधानीको एउटा कोठामा म दाह्रा किटिरहेकी छु, शरीरमा काँडा उम्रिरहेको छ र म आफैलाई प्रश्न गरिरहेकी छु खै त तैँले आफ्नै र 'आफ्नैहरू'का लागि न्याय’ खोजेको?
किताब पढिसकेपछि नुजूदबारे थप जान्ने चाहनाले इन्टरनेटमा उनीबारे खोजेँ। खोजबिनबाट थाहा लाग्यो कि नुजूद अहिले विवाहित छिन् र उनका दुई छोरी छन्। तेस्रो विवाह गरेका उनका बुबाले नुजूदको किताबबाट आउने रोयल्टी लिएको र बलजफ्ति अन्य पैसासमेत नुजूदसँग मागेको बुझिन्छ। पछिल्लो पटक उनले आफूले भनेझैँ पढ्नसमेत नपाएको बताएकी थिइन्। अन्तिम पटक २०१६ मा, नुजूदले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना कुरा राखेकी थिइन्, ‘म डिभोर्सपश्चात् स्वतन्त्र छु भनेर अदालतमा कानूनले भन्यो। तर सम्बन्ध विच्छेदले सामाजिक मान्यता पाउने र समाजले पनि मलाई स्वतन्त्रता दिने दिन पर्खिरहेकी छु।’
उनको माथिको भनाइबाट पनि थाहा हुन्छ, महिलाको स्वतन्त्रता र सार्वजनिक जीवन वास्तवमै कठिन छ, त्यो पनि कठोर नियमले बाँध्ने यमनको धार्मिक समाज!
यस्तै गुमनाम ‘बालिका बेहुली’का कथा र व्यथा हामीसँग पनि छन्। तपाईं र हामी यस्तै हिंसा भोगेर हुर्किएका आमाका सन्तान हुन सक्छौँ, किनकि बालविवाह नेपाल र भारतीय समाजका लागि नौलो होइन। मासिक धर्म शुरू हुनुअगावै ‘कन्यादान गरेपछि तरिन्छ’ भन्ने मान्यताअनुरूप विवाह बन्धनमा बाँधिएका हाम्रा हजुरआमाहरू हामीसँग अझै जीवित हुनुहुन्छ। उहाँहरूले भोग्नुभएका व्यथा ‘नुजूद’का भन्दा कम छैनन्। यत्ति हो, उहाँहरू गुमनाम हुनुभयो, बलियो हुनुभएन, र श्रीमानको 'हक' आफूमाथि उफ्रिन दिइरहनुभयो। सम्बन्ध निर्वाह गरिरहनुभयो।
मैले सुनेका केही उदाहरण
'उहाँ त्यतिखेर ११-१२ वर्षकी हुनुहुन्थ्यो। सासूसँग सुत्नुहुन्थ्यो। एक दिन घाँस काट्न जाँदा श्रीमान् पछिपछि लागेर गए, जबरजस्ती गरे र आफ्नो प्यास मेटाएर फर्किए। पछि घरका मान्छेहरूले रगतपच्छे उहाँलाई भेटेर ल्याए।' यो कथा भनिरहँदा कथाकी पात्र हजुरआमाको अढाई वर्षीय नाति काखमा खेलिरहेको थियो।
'९ वर्षको उमेरमा २५ वर्षको मान्छेसँग उहाँको विवाह भयो। विवाहको पहिलो रात नै उहाँमाथि जबरजस्ती भयो। लोग्ने बाँचुन्जेल उहाँले श्रीमान्बाट हिंसा भोग्नुभयो, सम्बन्ध निर्वाह गर्नुभयो।'
'दिनभर काम गरेको शरीर र महिना लागेको गर्भावस्था। श्रीमान्ले शारीरिक सम्पर्क राख्न खोज्दा उहाँले मान्नुभएन। त्यसपछि कुटाइ र जबरजस्ती करणी। त्यसको १२ घण्टा नबित्दै उहाँले छोरो पाउनुभयो।'
तीन जना नेपाली आमाको कथा हो यो, जो 'बालिका वधू' थिए। यस्ता 'लाजलाग्दा' कथा व्यथा आमाहरू यसै सुनाउँदैनन्, सहजै शेयर गर्दैनन्। ‘लोग्नेको जात यस्तो हुन्छ’ भनेर बेलामौकामा मात्र फुत्काउँछन् यस्ता उत्पीडन कथा। त्यस्तो बेला म उहाँहरूको अनुहारको भाव पढ्न सक्दिनँ। मेरो चेतनाले त्यसलाई बलात्कार मान्छ र उहाँहरूको सोचले त्यसलाई ‘लोग्नेको अधिकार’। म उहाँहरूलाई ‘प्राइभेट इज् पोलिटिकल’ (निजी विषय राजनीतिक पनि हो) भनेर बुझाउन सक्दिनँ।
महिलावादी (समतावादी) हरूलाई एउटा आरोप प्राय: लाग्ने गरेको छ, ‘तिमीहरू आफ्ना बाले बलात्कार गरेर म जन्मिएको हुँ भन्न पनि पछि पर्दैनौं।’ कुरा स्पष्ट छ-म, तपाईँ र हामी 'अन्डरएज' (आमा हुने उमेरभन्दा अघि नै) आमाबाट जन्मिएका सन्तान हौँ भने हाम्रा आमामाथि पक्कै बलात्कार भएको थियो र हामी त्यसका उपज हौँ।
यो कटु यथार्थ हामी स्विकार्न चाहँदैनौँ। हामीभित्र प्रत्यारोपण गरिएको मनोविज्ञानले त्यस्तो सत्य पत्याउने ‘छुट’ दिएको छैन। हामी त ‘वैवाहिक बलात्कार’ शब्द नै समेत सुन्न चाहँदैनौँ। वैवाहिक सम्बन्धभित्र बलात्कार हुन सक्छ भन्ने 'सोच'सम्म हाम्रो दिमागमा आउँदैन। बरु ‘बलात्कार’कै 'भिजुअल इन्टरप्रिटेसन' खोजिरहेका हुन्छौँ र बलात्कृतहरूमाथि नै प्रश्न तेर्स्याइरहेका हुन्छौँ।
‘वैवाहिक बलात्कारलाई निस्तेज पार्ने समाज’मा बालविवाह ढुक्कले अझै प्रचलित छ। 'रिसर्च रिपोर्ट अन द स्टेटस अफ् चाइल्ड, अर्लि एन्ड फोर्स्ड म्यारिज एन्ड इम्प्याक्ट अपन गर्ल्स’को २०२१ को रिपोर्टअनुसार सो वर्ष ४ हजार ६५६ वटा 'चाइल्ड अर्लि फोर्स्ड म्यारिज' (आमाबुवाको दबाबमा इच्छा विपरीत बालबालिकाको कम उमेरमै विवाह) को घटना भएका थिए।
कूल ६०४ स्थानीय तहमा गरिएको अध्ययनअनुसार कोशी प्रदेशमा ७८, मधेशमा ३५९, बागमतीमा ७६१, गण्डकीमा ३२१, लुम्बिनीमा ७३८, कर्णालीमा १७७२ र सुदूरपश्चिम प्रदेशमा ६२७ वटा बालविवाह भएका थिए। यस्ता विवाह प्राय: कानूनको आँखा छलेर हुने गर्छ। कूल ४६५६ बालविवाहमध्ये जम्मा ३८२ बालविवाहको मात्रै ‘केस’ दर्ता भएको पाइएको छ।
'यूएनएफपीए-युनिसेफ ग्लोबल प्रोग्राम टु एन्ड चाइल्ड मेरिज' (२०१९) को तथ्यांकअनुसार नेपालमा बाल्यकालमा विवाह भएका ५० लाख महिला (बालवधु) अहिले पनि छन्, जसमध्ये १३ लाखको १५ वर्ष नपुग्दै विवाह भएको थियो।
राष्ट्रिय जनगणना २०७८ को रिपोर्टअनुसार २२.३ प्रतिशत महिलाको विवाह १५ देखि १७ वर्षको उमेरको बीचमा भएको छ भने १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको संख्या ०.३५ प्रतिशत छ।
नेपाल बालविवाहको सवालमा एशियाकै तेस्रो नम्बरमा रहेको छ। देशमा बालविवाह विरुद्धको कानून भए पनि र राज्यले सन् २०३० सम्म बालविवाहमुक्त देश बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा यसको फितलो प्रदर्शनी प्रस्ट देखिन्छ।
किन हुन्छ बालविवाह?
सामाजिक, आर्थिकदेखि धार्मिक कारण यसमा अन्तर्निहित छन्। बुवा आमाको गरिबीदेखि बालबालिकाको अशिक्षासम्म यसका कारक छन्। तुलनात्मक रूपमा कम पढेका, आर्थिक रूपले विपन्न र धेरै सन्तान भएका परिवारमा बालविवाह हुने गर्छ। कानूनले वर्जित गरे पनि समाजले बालविवाहलाई स्वीकृति दिनु बालविवाहको अर्को कारण हो। प्रविधिको बढ्दो प्रयोगसँगै बालिकाहरू आफै सानै उमेरमा ‘राजीखुशी भागेर विवाह गर्नु’ले समस्या झनै गहिरिँदो छ।
सानै उमेरमा विवाह हुने बालिकाहरू बहु आयामिक हिंसा र हानिको सिकार हुने गरेको छन्। यौन नै नबुझेको समयमा हुने बलजफ्ति यौन क्रिया स्वतः बलात्कार हुने नै भयो, सँगै घरेलु हिंसा, शारीरिक/मानसिक हिंसा, आर्थिक परनिर्भरता, शिक्षा स्वास्थ्यमा कम पहुँच बालिकाका भागमा पर्छन्। बालविवाह र प्रजनन स्वास्थ्यसम्बन्धी कम जानकारीका कारण धेरै बालिका कम उमेरमै गर्भवती हुने र असुरक्षित सुत्केरी गराउने बाध्यतामा छन्। किशोरी आमामा मातृ मृत्युदर तीन गुणा उच्च हुने जोखिम रहन्छ भने आङ खस्ने समस्याको कारक पनि बालविवाह र असुरक्षित सुत्केरी रहने गरेको छ।
हाम्रो समाजमा अझै पनि कैयौँ नुजूद छन्। ती गुपचुप र गुमनाम छन्। कानून छ, तर कानूनी व्यवस्थाको फितलो अवस्थिति र कानूनमाथि सामाजिक व्यवस्थाको अनास्थाका कारण बालविवाह मुक्त समाज बनाउन सकिएको छैन। नेपाल सरकारले सन् २०३० सम्म बालविवाह पूर्ण रूपमा हटाउने प्रतिबद्धता जनाए पनि व्यक्ति, समाज, स्थानीय र केन्द्रीय सरकारको हातेमालो बिना बालविवाहमुक्त समाज बनाउन सकिँदैन।
आजको आवश्यकता हाम्रा बालिकालाई ‘नुजूद’ बन्न नदिनु हो। ‘नुजूद’ हरूलाई गुमनाम हुन नदिनु हो।