Monday, February 17, 2025

-->

दार्जिलिङमा च्याउझैँ पार्टीका बीचमा समेत अपेक्षा

‘मुद्दा न सुद्दा, यसैउसै हुद्दा’मा हुर्रिने हाइसन्चो छ पहाडका जनतालाई। गोर्खाल्यान्ड राज्य गठनको मुद्दा यति बेला विकासतिर मोडिएको छ। यता केही पार्टीलाई दिल्ली प्यारो लाग्छ भने केहीलाई कोलकत्ता।

दार्जिलिङमा च्याउझैँ पार्टीका बीचमा समेत अपेक्षा

घरीघरी यस्तो लाग्छ, नानीहरूले गर्ने बर्थ डे पार्टी र दार्जिलिङमा नेताले पार्टी खोल्ने विषय उस्तैउस्तै हो। मुद्दा छैन, मजा मात्रै छ।

भएका मुद्दाचाहिँ उठाउन सक्दैनन्। नभएको मुद्दा उठाउँदा जनताले पत्याउने होइनन्। दार्जिलिङमा पार्टी खोल्नुको भिजन भने आउन लागेको चुनावमा उठ्नुसम्मको मात्र हुन्छ। त्यहाँबाट उता त फुट्न थालिहाल्छन् दल/नेताहरू। राम्ररी जुटिसकेका हुँदैनन्, छुट्टिइहाल्छन्। उसै पनि पहाडमा एउटै पार्टी 'वान' र 'टु' हुन्छ। त्यसपछि त्यही पार्टीका नेताहरू गुटुटु नयाँ पार्टीमा छिर्छन्। पार्टी भएपछि नेतैनेता। भैरव अर्याल लेख्थे, ‘दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा पातालबाट पनि नेता बर्सन्थे।’

यति बेला दार्जिलिङमा यस्तै छ। जनता घट्दै गए, नेता बढ्दै गए। जनता त केवल कार्यकर्ता पो हुने भए। नेताहरू कता गए गए, कस्तोसम्म भए, तर दार्जिलिङचाहिँ जहाँको त्यहीँ।

नयाँ पार्टी खोलिन्छ किन? नयाँ पार्टीको अभ्युदय हुनुमा नेतासित मात्रै नभएर दार्जिलिङको जनतासित पनि गुत्थीगाँठो जोडिन्छ। इन्द्रबहादुर राई रचित ‘आज रमिता छ’मा भूदेव भन्ने पात्रले जनता जनार्दनलाई त्यति बेला औँला ठड्याएर भन्छ- 'दार्जिलिङका नेताहरू मात्रै होइन, जनता पनि मौकाबाज छौ।' यति बेला पनि साजबाज त नेता र जनता दुवैको मिलेकै छ। जुनै तालमा जतिखेरै नाचिदिन तम्तयार छन् जनता। त्यसैले पनि सुवास घिसिङले उसबेला भनेका होलान्, बजाउँदै जानुपर्छ, मिल्दै जान्छ। तर अहिलेसम्म मिलेको भने यहाँ केही छैन, कोही छैन।

विधानसभा चुनावलाई हेरेर नयाँ पार्टीको उद्भव हुने प्रक्रिया पहाडमा जहिल्यै झरी च्याउझैँ शुरू हुन्छ। झ्यार्र झरी छ फुत्त, छैन झरी फेरि सुत्त। फुत्त-सुत्त पार्टी पोलिटिक्सले दार्जिलिङ सधैँ दलदलमा छ। जुनै राजनीतिक दल भए पनि एउटै गन्थन हुन्छ, 'अब नयाँ पार्टी गठन कहिले?' पार्टीभित्रै रहेर नयाँ पार्टीबारे सोचमग्न दार्जिलिङे नेताहरूको सोचाइको मदानी भने दार्जिलिङमा होइन, कोलकातातिरै हुन्छ। उतैबाट घ्यार्रघुर्र पारेपछि यता नेताहरूको फाइँफुर्ती बढ्ने हो।

बंगालमा सन् २०२६ मा विधानसभा चुनाव हुनेछ। यसैको मेलोमेसोमा अधिकांश पार्टीहरूको उद्भव उद्यम भनेको 'बङ्ग भङ्ग होबेना' (बंगाल भंग हुनेछैन) भन्नेहरूकै उद्देश्य पूर्तिको निम्ति मात्र हो। उसै पनि उतैबाट छरेको बीउबीजनले पहाडमा पार्टीहरूले हाँगाबिँगा हाल्ने हुन् त कुनैले फल्नेफूल्ने मौका पनि पाउने हुन्। यस्तो अभ्यासबाट अब जन्मन लागेका पार्टी कति अछुतो छन्, रहलान्? जनताले आफ्नो जाँचकी-जुक्ति लगाउनै पर्छ।

बालकृष्ण सम भन्थे– ‘जोस भन्ने कुरा आफैँमा छ,चोर्नु पर्दैन।’

पार्टी मात्र नयाँ! पद्धति र मति भने उही पुरानै पाउने दार्जिलिङे पुर्पुरो छ। अटोमटाइज्ड अभिव्यक्तिको अनुसरण छ। आफैले आफैलाई तिरिखिरी खेलाउने दार्जिलिङे नेतागिरी सधैँ थिगिरीमै छ। कहिले ठमठम दम राखेर आफै हिँड्ला दार्जिलिङको राजनीति? आगामी वर्षको मार्चभित्र दार्जिलिङ पहाडमा नयाँ पार्टीको नाम घोषणा गर्ने कुरा बाहिर आइसकेको छ। नीतिमा होइन, नारामा मात्रै चल्ने उही पुरानो दार्जिलिङको राजनीतिक प्रणालीमै नयाँ पार्टीको पनि जग बसेको देखिन्छ। विचारक रुसोको विभाजनअनुसार भन्ने हो भने 'रियल विल'भन्दा 'एक्च्वल विल'तिर उन्मुख, जसले केवल जनताको भन्दा आफ्नै निजी सपना बटुल्ने तिकडम गर्छ।

हाल पहाडमा एउटा विद्यमान पार्टीलाई नै नयाँ नाममा ल्याउने र अर्को नितान्त नयाँ पार्टी खोलिने चर्चा पनि चुलिएको छ। पहाडमा वर्तमानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो), गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो), गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र हाम्रो पार्टीलगायत केही क्षेत्रीय पार्टी छन् भने पहाडको सत्तासीन पार्टीको रूपमा भागोप्रमो रहेको छ, जुन राज्यको सत्तासीन पार्टी तृणमूल कांग्रेससितको गठबन्धनमा छ। राष्ट्रिय दल भाजपाको पहाडमा एक सांसद र दुई विधायक छन्। कंग्रेसको ग्रेस पहाडमा उस्तो छैन। यद्यपि, बंगालको सत्तासीन पार्टी तृणमूल कंग्रेसको फूल भने पहाडको केही थुम्कामा फूलेकै छ।

नयाँ पार्टीको मुद्दा के हो? यस्तो प्रश्न सोधी बस्ने र खोजी बस्ने दार्जिलिङे जनताको चनाखो चुस्ती कहिल्यै बढेन। 'मुद्दा न सुद्दा, यसैउसै हुद्दा'मा हुर्रिने हाइसन्चो छ पहाडका जनतालाई। गोर्खाल्यान्ड राज्य गठनको मुद्दा यति बेला विकासतिर मोडिएको छ। यता केही पार्टीलाई दिल्ली प्यारो लाग्छ भने केहीलाई कोलकत्ता। नेताहरूको दिल्ली-कोलकाता दस्तुरले चुचुरोमा रहेको एक्लो चरोजस्तो बिचरो दार्जिलिङचाहिँ सधैँ अधमरो बन्ने गरेको छ। 

दिल्ली-कोलकातातिर नेता मन्त्रीहरूसित फोटो खिचाउन फोन अघि बढाउने र कोसेलीमा चिया रङ थमाउनेसम्मको दार्जिलिङे राजनीतिक रोइलोबाट अलग्गिएर आफ्नो अडानमा अडिग बन्दै जनताको ठिकठिक कुरा राख्ने पार्टीको पदार्पण कहिले होला? कि उही राजनीतिक रिले? कि उही 'लिगेसी'को लिगलिगे समाउने हुन्? प्रश्नको बेँड त ठडिन्छ नै।

प्राध्यापक शान्तिराज शर्मा लेख्थे, 'गोर्खाका नेता ती हुन्, जो कुनै प्रलोभन र स्वार्थमा पनि गोर्खा हितलाई तिलाञ्जली दिन सक्दैन। तिनका विवेक र भावना आदर्श छाम्न हामीले धेरै केलाइरहनै पर्दैन।' उनी अझ लेख्थे, 'भाँडाको भात पाकेको बुझ्न एउटै सिता थिच्नु काफी छ।' यतिखेर सिता छाम्ने काम भनेको दार्जिलिङका जनताको हो! 'टू नो एन्ड टू रियलाइज' (थाहा पाउनु र महसुस गर्नु) दुई फरक कुरा हुन्। जनताले जानेका छन्, बुझेका छैनन्।

नयाँ पार्टी खोल्नेहरूको खसखस अन्तमा कोलकत्ताकै उपासक बन्ने हुन् कि भन्ने डर जहिल्यै हुन्छ। कारण, यहाँको राजनीतिक परम्पराले त्यही बताउँदै आएको छ। नयाँ पार्टीले पुरानो परम्पराबाट माझिएर नयाँ परम्परा सुरु गर्ला? हिमालसितै रहनेहरूको राजनीतिक हिम्मत हेर्न पाइएला-नपाइएला, धुकचुक छँदैछ। दार्जिलिङ-पहाडले नेताहरू धेरै पाएको र गुमाएको छ। तथापि नवागंतुक नेताहरूबाट वर्तमानमा दार्जिलिङले परिपक्व, धैर्यशील नेतृत्व चाहेको हो, जसले पहाडको वर्षौंदेखि दबिएको र दबाइएको जनकांक्षालाई उकासेको होस्। एकार्कामा नै कुटाकुट गर्ने नेता/नीतिभन्दा राज्यसित स्वविवेकमा कूटनीति गर्न सकेको होस्। जुन पार्टीले जातिको पहिचानका लागि केन्द्रसित बौद्धिक व्यवहार निर्वाह गरेर आफ्नो मुद्दा पार लाउन डटोस्। जसले स्पष्टसित आफ्नो लक्ष्य, रणनीति निर्धारण गर्न अघि बढोस्।

पहाडमा पोलिटिक्स इज् अ डर्टी गेम' भन्ने धारणा बिस्तारै तोडिँदै छ, जसका कारण राजनीतिमा युवाहरूको अग्रसरता देखिँदै छ। तर यस्तो अग्रसरता लिनेहरूमा पपुलिजम हाबी देखिन्छ। पपुलिजमले राजनीतिक चेत र दुर्दृष्टि राख्दैन। यसका निम्ति युवाहरूको सचेत र गम्भीर तदारुकता अपेक्ष्य अपेक्ष्य छ। नयाँ पार्टीहरूमा युवा नेतृत्वको विशेष अग्रसरताले दार्जिलिङको पोलिटिकल प्रोग्रेस होला, नहोला, यसै भन्न सकिन्न। यद्यपि, राजनीतिमा युवाको प्रवेशका कारण आशा र सम्भावना सम्मुख रहेको समय भने पक्कै छ।


सम्बन्धित सामग्री