विश्वमा परम्परागत उपचार पद्धति वा विधि (ट्रेडिसनल मेडिसिन) र लोक उपचार पद्धति (फोक मेडिसिन) सदियौँयता चलिआएका छन्। यस्ता उपचार पद्धतिलाई वैकल्पिक उपचार पद्धति पनि भन्ने गरिन्छ। यी पद्धति निश्चित सिद्धान्त, विश्वास र अनुभवका आधारमा विकास भएका हुन्छन्। वैकल्पिक उपचार पद्धतिले आधुनिक उपचार प्रणालीमा प्रयोग हुने एलोप्याथिक औषधिबिना भिन्न तरिकाले शारीरिक र मानसिक समस्याको पहिचान, रोकथाम र उपचार गर्ने गर्छन्। यिनीहरू कुनै धर्म वा निश्चित जातजातिको संस्कार र संस्कृतिसँग सम्बन्धित पनि हुन्छन्।
विश्व स्वास्थ्य संस्थाका अनुसार संसारभर १७० देशले कुनै न कुनै रूपमा वैकल्पिक उपचार पद्धतिको प्रयोग गर्छन्। विकसित मुलुकले आफ्नो स्वास्थ्य सेवा प्रणालीमा वैकल्पिक उपचार पद्धतिको प्रयोग गर्दा औषधिको गम्भीर गुणस्तर जाँच र आधुनिकीकरण गरेको पाइन्छ। सन् २०१२ को तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकामा कुल जनसंख्याको ४२, अस्ट्रेलियामा ४८, फ्रान्समा ४९, क्यानडामा ७०, चिलीमा ७१, कोलम्बियामा ४० र केही अफ्रिकी देशमा ८० प्रतिशतले वैकल्पिक उपचार पद्धतिको केही अंश उपयोग गर्ने गर्छन्।
नेपालमा भने यकिन तथ्यांक नभएको हुँदा वैकल्पिक औषधि प्रयोग गर्नेहरू ७० प्रतिशतभन्दा धेरै नै हुनुपर्छ भन्ने अड्कलबाजी छ। संसारभर व्याप्त धेरै किसिमका व्यवस्थित वैकल्पिक उपचार पद्धतिमध्ये नेपालमा आयुर्वेद, प्राकृतिक, योग, होमियोप्याथी, युनानी, अक्युपङ्चर, सोवारिग्पा (आम्ची) उपयोग भएको पाइन्छ।
वैकल्पिक उपचार पद्धति
करिब पाँच हजार वर्षपहिले अथर्ववेदको लेखनसँगै शुरू भएको हो, आयुर्वेद उपचार पद्धति। पौराणिक कथाअनुसार ब्रह्माबाट ज्ञानप्राप्त गरेका देवताका चिकित्सक धन्वंतरीले यो पद्धतिको शुरूआत गरेका हुन्। आयुर्वेदका अनुसार मानव शरीरको सन्तुलन त्रिदोषहरू (वात, पित्त र कफ), सात धातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) र तीन मल (मूत्र, पुरिष र स्वेद) मा निहित हुन्छ। यी दोष, धातु र मलमध्ये कुनैको असन्तुलनले रोग उत्पन्न हुन्छ। यसका साथै स्वास्थ्य सन्तुलन राख्न मन र आत्माको उत्तिकै भूमिका हुन्छ। आयुर्वेद पद्धतिका अनुसार रोगको निवारण गर्न जडीबुटीको मिश्रण, धातु, खनिजको प्रयोगका साथै आहार, योग र उचित जीवनचर्याको पनि उत्तिकै महत्त्व हुन्छ।
युनानी उपचार पद्धति ग्रिक चिकित्सक हिप्पोक्रेट्स र ग्यालेनले शुरू गरेका हुन्। ग्रिक ज्ञान अरबी भाषामा अनुवाद भएपछि अरबीले युनानी उपचार पद्धतिलाई व्यवस्थित प्रायोगिक प्रक्रियाद्वारा परिष्कृत गरेका हुन्। मध्यपूर्वबाट दक्षिण एशियासम्म फैलिएको यो पद्धतिलाई अरबी वा इस्लामिक उपचार पद्धति पनि भनिन्छ। यसमा व्यक्ति र वातावरण बीचको सम्बन्धलाई ध्यानमा राख्दै मस्तिष्क, शरीर र आत्माको स्वास्थ्यलाई पनि जोड दिइन्छ। रोग निको पार्न रोगीको स्वभावका साथै आहार र जीवनशैलीले पनि महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने मानिन्छ। यस पद्धतिमा उपचार गर्न जडीबुटी, पशु र खनिजबाट बनाइएका औषधिको प्रयोग हुन्छ।
होमियोप्याथिक उपचार पद्धति सन् १७९६ मा जर्मनीका क्रिश्चियन फ्रेडरिक स्यामुएल हनिम्यानले प्रतिपादन गरेका हुन्। यो पद्धति आकस्मिक रोगीभन्दा विशेषगरी दीर्घरोगीको उपचारमा ज्यादा प्रयोग हुन्छ। होमियोप्याथिक उपचार जर्मनीबाट शुरू भई बेलायत र फ्रान्स हुँदै दक्षिण एशियामा आएको हो।
नेपालमा यो पद्धति राणाकालमै भित्रिए पनि सरकारीस्तरमा विसं. २०१० मा मात्र शुरूआत भएको हो। यस पद्धतिमा औषधि बनाउन व्यापक रूपमा पानी र रक्सीको उपयोग हुन्छ, जसमा समरूपताको सिद्धान्त प्रयोग गरिन्छ। समरूपता भन्नुको अर्थ के हो भने जे कारणले रोग लाग्छ, त्यस्तै कुराले रोगको निवारण गर्न सकिन्छ। उदाहरणका लागि प्याजको रसले आँसु आउँछ र उक्त रस छालाको रोग एलर्जीमा प्रयोग गर्न सकिन्छ।
औषधिको सेवन नगरी उपचार गरिने विधि हो योग तथा प्राकृतिक उपचार। यो पद्धति करिब पाँच हजार वर्षपहिले महर्षि पतञ्जलिले शुरू गरेका हुन्। यो पद्धति पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) मा आधारित छ। यस पद्धतिअनुसार यिनै वस्तुको सम्मिश्रणबाट रोगको उपचार गर्ने गरिन्छ। यस उपचार पद्धतिमा योग, ध्यान, मालिस, अकुप्रेसर, जल तथा माटोको प्रयोग, उपवास, शारीरिक कसरत, भोजन परामर्शलगायत विभिन्न विधिद्वारा रोगको उपचार गरिन्छ।
अक्युपङ्चर लगभग तीन हजार वर्ष अघिदेखि शुरू भएको प्राचीन चिनियाँ उपचार विधि हो। यसमा शरीरको कुनै निश्चित भागमा मसिनो सुइले घोचेर उपचार गरिन्छ। त्यसो गर्दा शरीरभित्रको गतिशील सन्तुलनको अवस्थालाई पुनर्स्थापित गर्दै सामान्य र जटिल रोग निको पार्ने ठानिन्छ।
तिब्बती वा भोटे भाषामा सोवारिग्पाको अर्थ उपचारको विज्ञान वा उपचारको ज्ञान हो। सोवारिग्पा उपचार पद्धतिमा उपचार गर्ने व्यक्तिलाई आम्ची वा आम्जी भनिन्छ। तर पनि सोवारिग्पा र आम्ची पर्यायवाची शब्दका रूपमा प्रयोग हुन्छन्। सोवारिग्पा वा आम्ची पद्धति नेपालका हिमाली जिल्लामा १३औँ शताब्दीदेखि नै शुरू भएको विश्वास गरिन्छ। वायु, कफ र पित्तको अवस्था हेरेर उपचार गरिने यो पद्धतिमा वायु बिग्रेको बेला शरीर हल्का हुन्छ, कफ बिग्रेको बेला गह्रुँगो हुन्छ भने पित्त बिग्रेको बेला तातो हुन्छ भन्ने गरिन्छ। लक्षण हेरेर मुख्यतः जडीबुटी र आंशिक रूपमा जनावरका साथै धातुबाट तयार पारिएका औषधिको यसमा प्रयोग हुन्छ।
वैकल्पिक उपचार पद्धतिको वर्तमान अवस्था
वैकल्पिक उपचार पद्धतिका लागि आर्थिक वर्ष २०८१/८२ को बजेटको स्वास्थ्य तथा जनसंख्या शीर्षकको १८८औँ बुँदामा २४ करोड विनियोजन गरेको देखियो। विनियोजन गर्नुको मुख्य उद्देश्य भनेको माथि उल्लेखित उपचार पद्धति विस्तार गर्ने र काठमाडौँको बूढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माणका साथै सिंहदरबार वैद्यखाना पुनर्संरचना गरी क्षमता विस्तार गर्ने अनि सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन, गुणस्तरको मापन र नियमन सुदृढ गर्ने उल्लेख छ।
सरकारीस्तरबाट बर्सेनि बजेट विनियोजन हुने तर उक्त बजेट या त कर्मचारीको तलबभत्तामा वा आंशिक रूपमा पूर्वाधार खडा गर्नेगरी छुट्याइएको देखिन्छ। धेरै कामका लागि न्यून बजेट व्यवस्था हुनु आफैँमा उदेकलाग्दो हो। दुःखको कुरा, यस्ता उपचार पद्धतिको आधुनिकीकरणमा राज्यले कुनै पनि चासो दिएको देखिँदैन। आधुनिकीकरणको नाममा केही गोष्ठी र तालिमबाहेक थप काम भएको पनि देखिँदैन। अध्ययन–अनुसन्धानमा त बजेट शून्यप्राय: नै छ।
यी विभिन्न उपचार पद्धतिमा मुख्यतः अप्रशोधित जडीबुटीको प्रयोग गर्ने गरिन्छ। खासगरी किताबमा उल्लेख गरेका वनस्पति संकलन गर्ने, सुकाउने, कुट्ने, पिस्ने र निश्चित पाठ्य निर्देशनबमोजिम मिसाएर प्रयोग गर्ने गरिन्छ। विभिन्न औषधालयले प्रयोग गर्ने कच्चा पदार्थ टेन्डर आव्हान गरेर खरिद गरिने हुँदा उत्पत्ति, प्रशोधन र गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गर्छ। सरकारको स्वामित्व रहेको सिंहदरबार वैद्यखानाले १२० प्रकारका औषधि उत्पादन गर्ने दाबी गरेको भए तापनि ती अधिकांश रूपमा परम्परागत किसिमका छन् र उत्पादन क्षमता क्रमशः घट्दै गएको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वैद्यखानाले औषधि उत्पादनको लक्ष्य पूरा गर्न सकेको छैन। सरकारी वैद्यखानाले समेत राम्रो उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस/जीएमपी) लागू गर्न सकेको छैन। यसले गर्दा वैद्यखानाले उत्पादन गरेका विभिन्न औषधिको निर्यातमा समस्या हुने गर्छ।
‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तो जुन सरकारी निकाय, संस्था र विश्वविद्यालयदेखि विषयगत संकायका प्रमुखसम्म प्राय: कुनै न कुनैका पार्टीका मान्छे सेटिङमा नियुक्ति हुने र उनीहरू आफू नियुक्त भएको ठाउँमा प्रगति उन्नतिभन्दा पनि आफ्नो पार्टीको वा आफ्नो नियुक्तिमा सघाउने नेताको चाहनाअनुसार काम गर्ने हुनाले पनि सम्बन्धित निकाय वा संस्था वा विश्वविद्यालयका स्तर दिनानुदिन खस्कँदै गएका छन्।
विगतमा भएका कमीकमजोरी हटाउँदै नयाँ दिशातिर अग्रसर हुनुको सट्टा सधैँ उल्टो पुरानाको कुरा काट्ने र आफ्नालाई विभिन्न पदमा नियुक्ति गर्नेबाहेक केही काम हुँदैन। त्यस कारण उनीहरूको जहिले पनि ‘बजेट पुगेन’ भन्ने मात्र गुनासो हुन्छ। यस्ता राजनीतिक नियुक्ति लिनेहरू फेरि आफ्नो अर्को नियुक्ति भविष्यमा कता लिन सकिन्छ भनेर खुराफात गर्नमै ज्यादा समय बिताउने प्रवृत्तिले पनि अरूजस्तै वैकल्पिक उपचारसँग सम्बन्धित ठाउँहरूको विकास हुन नसकेको हो।
धेरैजसो सरकारी वैकल्पिक उपचार केन्द्रहरू रोजगारीका लागि मात्र संचालन भइरहेका छन्। एकाधबाहेक प्राय: सबैको स्थिति दयनीय छ। अझ निजी रूपमा सञ्चालित अधिकांश संस्था त कुनै न कुनै धर्म, जातजाति र केही शक्तिशाली धार्मिक व्यक्तिसँग बढी आबद्ध भएको पाइन्छन्। यस्ताहरूले प्रायः धार्मिक ग्रन्थ वा पौराणिक कथाहरूको सहाराले आफ्नो उत्पादनको विज्ञापन र बजारीकरण गरिरहेका हुन्छन्। प्रभावकारिता जस्तोसुकै होस्, आफ्नो औषधि अलौकिक भएको दाबी पनि गर्छन्। समग्रमा भन्ने हो भने वैकल्पिक उपचार विधि पुरातन शैलीमा चलिरहेको र तिनका सम्बन्धित संस्थाहरूको अवस्था समय अनुसार सुध्रँदै जानुपर्ने र अद्यावधिक हुँदै जानु पर्नेमा घिसिपिटी गरी चल्नको लागि मात्र चलेका छन्।
औषधिबारे ज्ञान र तिनको स्रोत
इतिहासको ज्ञानले विगतका घटना र परिस्थितिको जानकारी गराउँदै वर्तमान अवस्थालाई बुझ्न मद्दत गर्न सक्नुपर्ने हो। इतिहासबाट पाठ सिकेर विद्यमान गल्ती कमजोरीबाट सुधार्ने र न्यूनीकरण गर्दै जानुपर्ने हो। तर हामी इतिहासमै रमाउँदै केवल केही ऐतिहासिक ज्ञानलाई मात्र पुनः प्रकाशन गर्नुबाहेक केही गर्न सकेका छैनौँ। सिंहदरबार वैद्यखानाले केही भाग 'चन्द्र निघण्टु' मात्र प्रकाशन गरेको छ।
चन्द्रशमशेर जंगबहादुर राणा (सन् १९०१-१९२९) को शासनकालमा नेपालीमा लेखिएको 'चन्द्र निघण्टु'मा ८४० रङ्गीन चित्रसहित ७५० बिरुवा र ९० वटा जनावरबारे उल्लेख छ। एक हजारभन्दा बढी पृष्ठ भएको उक्त विवरण १० भागमा विभाजन गरिएको छ। आठ भागमा वानस्पतिक विवरण, एकमा प्राणी शास्त्रीय र अर्को एक भागमा खनिजसम्बन्धी ज्ञानको उल्लेख पाइन्छ। चन्द्र निघण्टुको सक्कल हाल विदेशीलाई बेचिसकिएको र नेपालमा नभएकाले पुनः प्रकाशन गर्न नसकिएको हो भन्ने कथन पनि छ।
हामी आफूले प्रयोग गर्ने परम्परागत ज्ञान धार्मिक ग्रन्थहरूमा सतही र समग्रमा जटिल संस्कृत, पुरानो तिब्बती, पाली र फारसी भाषामा लेखिएका हुन्छन्। त्यस्ता जटिल भाषालाई सरलीकरण गरेर नेपालीमा विरलै प्रकाशन भएका छन्। भई नै हालेका छन् भने पनि व्यक्तिगत वा कुनै निजीस्तरबाट केही अंश मात्र भएका छन्।
विभिन्न संकायअन्तर्गतका केही विषयगत विद्यार्थी वा अनुसन्धानकर्ताले तयार पारेका सीमित किताब वा सूचीबाहेक सरकारीस्तरबाट कुनै पनि आधिकारिक औषधिबारे ज्ञान र तिनका स्रोत भएका प्रकाशित कागजात पाइँदैनन्। सरकारी निकायले प्रकाशन गरिहाले पनि ती अपूरा र राम्रोसँग अद्यावधिक गरिएका हुँदैनन्।
वनस्पतिका कुरा गर्ने हो भने सन् १९८४ मा एसबी मल्ल र पीआर शाक्यले ‘मेडिसिनल प्लान्ट्स’मा तयार गरेका सूचीअनुसार नेपालमा ६३० प्रजातिका औषधिजन्य बोटबिरुवा रहेको उल्लेख छ। सन् २००२ मा एनपी मानन्धरले लेखेको पुस्तक ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’मा एक हजार दुई प्रजाति, सन् २००२ मा केके श्रेष्ठ र उनका साथीहरूले तयार पारेको सूचीमा एक हजार १४ प्रजाति, सन् २००६ मा प्रकाशित किताब ‘ए कम्पेन्न्डिएम अफ मेडिसिनल प्लान्ट्स इन नेपाल’ मा एक हजार ७९२ प्रजाति, सन् २००८ मा एसके घिमिरे र साथीहरूले लेखेका लेखमा एक हजार ९०० पचास प्रजाति र सन् २०१२ मा प्रकाशित मेरो लेखमा दुई हजार ३३१ प्रजाति रहेको उल्लेख छ। सन् २०१६ मा सरकारी निकाय वनस्पति विभागले अद्यावधिक गरेर प्रकाशन गरेको ‘मेडिसिनल प्लान्ट्स अफ नेपाल’ मा जम्मा ८१९ प्रजाति मात्र उल्लेख छ।
विभिन्न लेखहरूमा १०० भन्दा धेरै प्रजातिका जीवजन्तु औषधिमा प्रयोग हुने गरेको उल्लेख छ। कति खनिज औषधिमा प्रयोग हुन्छन् भन्ने यकिन नभए पनि सोवरिग्पाका पुस्तकमा वर्णन गरिएअनुसार १२० प्रकारका खनिज औषधिमा प्रयोग हुन्छन्। यी वनस्पति, जीवजन्तु वा खनिजमा पाइने रासायनिक तत्त्वको विवरण मेहनत गरी खोज्यो भने कहीँ कतै पाइने भए तापनि सबैको विस्तृत विवरण भने भेटिँदैन।
विभिन्न प्रजाति पहिचान गर्न आवश्यक पर्ने पहिचान पुस्तिकादेखि स्रोत विश्लेषण र बजारीकरणबारे ज्ञान समेटिएका पुस्तकको पनि हामीकहाँ उत्तिकै अभाव छ। ‘हामी जैविक विविधतामा धेरै धनी छौँ’ भनेर गौरव गर्छौं तर यहाँ न्यूनतम तथ्यांकको अभाव छ। हामीलाई प्रकृतिका विभिन्न स्रोतको वर्तमान अवस्थाबारे थाहा छैन।
धेरैजसो पुराना तथ्यांक प्रयोग गरिरहेका छौँ। हामीलाई आवश्यक पर्ने रसायन निकाल्ने आधुनिक प्रविधिको पनि हामीकहाँ उत्तिकै अभाव छ। वर्तमान अवस्थामा नेपालमा सरकारीस्तरबाट जे जति अनुसन्धान हुन्छन्, ती सामान्यता आफ्ना कार्यालयका कर्मचारीलाई एक–केही हप्ताका लागि फिल्डमा पठाएर वा विभिन्न सरकारी अनुसन्धान कार्य सञ्चालनका लागि अस्थायी रूपमा परामर्शदाता नियुक्ति गरेर गर्ने गरिन्छ।
परामर्शका माध्यमबाट हुने अधिकांश अनुसन्धान सरकारी कार्यालयका उच्च पदस्थ अधिकारीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिन्नेलाई सेटिङसहित दिने परम्परा विद्यमान छ। खुला प्रतिस्पर्धाको रूपमा परामर्शदाता छनोट गरिएको देखाए पनि मुख्यतः सबै जसोले आफू छानिँदा हाकिमलाई कमिसन दिने र अन्तिममा सबै बिल फर्छ्यौट गर्दा सातदेखि १५ प्रतिशतसम्म लेखापाल शाखामा रकम बुझाउने चलन छ।
परामर्शदाताले जेजस्तो रिपोर्ट बनाए पनि सहजै पास हुने गर्छ। आफ्नो व्यक्तिगत स्वार्थअनुसार बनाइएका अनुसन्धान कार्यक्रम बजेट कुम्ल्याउन र आफूले केही काम गरेको देखाउनबाहेक अध्ययनका नतिजा न नीतिनियम बनाउन काम लाग्छन्, न त गहन अध्ययन-अनुसन्धानका लागि सन्दर्भ सामग्रीका रूपमा नै प्रयोग हुन्छन्। ‘जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा’ भनेझैँ ‘जस्तो जस्तो हाकिम, उस्तै उस्तै कार्यक्रम र अध्ययन-अनुसन्धान’को परिस्थिति हुने गर्छ।
वनस्पति र जीवजन्तुका प्रजातिको पहिचानको ठूलो महत्त्व हुने गर्छ। विभिन्न बोलिने भाषामा धेरै प्रजातिको एउटै नाम हुनसक्छ। तर वैज्ञानिक रूपमा नाम दिँदा संसारभर एउटा प्रजातिको एउटै मात्र नाम हुन्छ। विभिन्न प्रजातिको वैज्ञानिक रूपले वर्गीकरण र नामकरण गर्न पढिने विषयलाई ‘ट्याक्सोनोमी’ भनिन्छ। विशुद्ध ट्याक्सोनोमी विषय पढ्दा अत्यन्त गाह्रो हुनुका साथै जागिर पाउन मुस्किल हुने गरेकाले धेरैको चासो घट्दै पनि गएको छ।
औषधिमा प्रयोग हुनुपूर्व वनस्पति र जीवजन्तु प्रजातिको सही पहिचान किन पनि आवश्यक छ भने कुनै एउटा प्रजातिको सट्टा अर्कै पर्यो भने त्यो विषालु पनि हुन सक्छ। अनजानमा विषालु प्रजाति प्रयोग गरियो भने स्वास्थ्यलाई नै नकारात्मक असर पार्न सक्छ। कोभिडताका सुनेको भरमा र बिनापहिचान गुर्जोको फाइदाजनक प्रजाति टिनोस्पोरा कार्डिफलिया र टिनोस्पोरा साइनेन्सिसको सट्टा विषालु प्रजाति टिनोस्पोरा क्रिस्पा प्रयोग गर्दा धेरैलाई नकारात्मक असर परेको मात्र नभई ज्यानै समेत गएको भन्ने प्रशस्त समाचार नआएका होइनन्।
वैकल्पिक उपचार पद्धतिमा प्रयोग हुने औषधि ज्ञान र तिनका स्रोतबारे धेरै नै अभाव भए तापनि कैयौँ प्रजातिको उल्लेख्य रूपमा विभिन्न देशमा अध्ययन अनुसन्धान भई विशुद्ध वैज्ञानिक लेख प्रकाशित छन्। त्यस्ता ज्ञान ठूला र भरपर्दा अन्तर्राष्ट्रिय प्रकाशक एल्सेभियर, स्प्रिंगर, जोन विले एन्ड सन्स, टेलर र फ्रान्सिसले जर्नल, पुस्तक, मोनोग्राफ आदिका रूपमा प्रकाशन गर्ने गरेका छन्।
ठूला प्रकाशकका त्यस्ता ज्ञान सामान्यता किन्नुपर्ने हुन्छ। धेरैजसो देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा ती लेख, पुस्तक, मोनोग्राफ आदि सजिलै उपलब्ध हुने गर्छन् किनकि उनीहरूले त्यस्ता सामग्री समग्र रूपमा किनेका हुन्छन्। नेपालमा भने त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयलगायत कुनै ठाउँमा त्यस्ता सामग्री हेर्न सकिने भए तापनि तिनको व्यापक उपयोग गरिएको पाइँदैन। अर्को कुरा के भने कहिलेकाहीँ पदमा बसेकाले नै ‘अरूले गरेको काममा हामी किन भर पर्ने? हाम्रै धार्मिक ग्रन्थहरू उत्कृष्ट छन्’ भन्ने आडम्बर देखाइदिँदा नयाँ ज्ञानको उपयोग गर्न हामी सकिरहेका छैनौँ।
वैकल्पिक उपचार पद्धतिको दुरुपयोग
नेपालीको एउटा विशिष्ट गुण के छ भने– यदि कुनै पनि जमघट भएको ठाउँमा ‘मलाई यस्तो रोग लाग्यो’ मात्र भन्नुपर्छ त्यहाँ उपस्थित सबै जसोले एक न एक उपचार विधि सिकाएकै हुन्छन्। शायद दक्षिण एशियाभर नै यस्तै गरिन्छ कि! तर यी सबै उपचारको विधि सुन्दा यस्तो लाग्छ मान्छेले बेकारमा चिकित्साशास्त्र पढिरहेछन्। अझ युट्युब र विभिन्न सामाजिक सञ्जालमा बाँडिने अधिकांश हावादारी उपचारका त के कुरा गर्नु? देशै विशेषज्ञमय भएजस्तो लाग्छ।
कोही व्यक्ति कुनै बिरुवा देखाउँदै भन्छ– ‘यो बिरुवाले त्यो रोग च्वाट्टै निको हुन्छ। कुनै पनि डाक्टरले उपचार गर्न नसकेको रोक म निको पार्छु।’ कोही आफ्नो भाषणमा टुटेफुटेको अंग्रेजी घुसाउँदै आफूलाई ज्यादा जानकार देखाउँदै भन्ने गर्छ– ‘पञ्चगव्यको प्रयोग गर्नुहोस्, किनकि गाईले दिनमा २-३ सय जडीबुटी खान्छ, त्यसैले तपाईं स्वस्थ र जवान बन्नुहुन्छ।’ हुँदाहुँदा कोही ‘वायु–विद्वान’ त यस्तो पनि भन्छन्– ‘राइस कुकरमा खाना पकाएर खायो भने मिर्गौला खराब हुन्छ, क्यान्सर लाग्छ। मुला र मासुसँगै पकाएर खायो भने खतम भो, त्यसले मिर्गौला फेल हुन्छ। दूधमा कहिल्यै सक्खर हालेर नखानूस्।’ यसैगरी अर्का थरीका भाइरल र अन्तर्वार्ताप्रेमी डाक्टर भन्छन्– ‘मासु खानूस्, प्रोटिन खानूस्, सबै छोड्नूस्, डाइबेटिजजस्ता जटिल रोग निको पार्नूस्।’
अझ बेलाबखत दक्षिणी छिमेकबाट ‘अलौकिक बाबा र माता’हरू आएर धर्मको नाममा देशका प्रमुख पत्रपत्रिकामा लाखौँ खर्च गरेर जस्तासुकै उपचार निको पार्ने दाबी गर्दै विज्ञापन छाप्ने पनि गर्छन्। मंसिर १४ गते नयाँ पत्रिकामा ‘ज्याकेट विज्ञापन’ गरी चिकित्सा विज्ञानले समाधान गर्न नसकेका भयानक रोगको निवारण गर्ने दाबी गर्ने र आफूलाई दैविक गुरु बताउने ‘महाब्रह्मर्षि श्रीकुमार स्वामी’ पनि यही वर्गमा पर्छन्।
भाइरल विशेषज्ञ र आफूलाई अलौकिक भन्नेहरू कोही धर्मको आड लिँदै धर्मअनुसारका भेसमा हुन्छन् भने कोही आधुनिक र सज्जन देखिन सुटमा समेत ढल्केका हुन्छन्। यिनीहरूले कुनै जादुगरझैँ ठाउँका ठाउँ बिरामीलाई उपचार गरी सन्चो गरेको दाबी पनि गर्छन्। बेलाबखत यिनीहरूले समाजमा प्रतिष्ठित नागरिकदेखि कुनै पेसाकर्मी, सरकारी कर्मचारी र नेताजस्ता सार्वजनिक छवि भएका व्यक्तिको मुखबाट समेत आफ्नो गुणगान गाउन लगाउँछन्। फेरि ‘आफैँ भाइरल हुने दाउमा हो या आफूले रकम कुम्ल्याउन हो’ केही नाम चलेका पत्रकार र पोड्कास्टवाला पनि तारनतार आफ्नो कार्यक्रममा तिनै भाइरल 'वायु विशेषज्ञ', दैविक गुरु र मातालाई अन्तर्वार्ताका लागि आमन्त्रण गरी उनीहरूलाई झनै भाइरल बनाइदिन्छन्।
वैकल्पिक उपचार पद्धतिको व्यापक दुरुपयोग हुनुको मुख्य कारण वैकल्पिक उपचार पद्धतिबारे पढेका र आफैँ स्वघोषित रूपमा विशेषज्ञ बनेकाले अपनाउने उपचार विधि उस्तै उस्तै भएकाले र उपचार विधि परम्परागत अनि समयानुकूल परिवर्तन नभएर नै हो। भाइरल विशेषज्ञ, 'दैविक गुरु र माता'हरूका बिरामी विशेषतः आफ्नै सम्प्रदायका मानिस, कट्टर धार्मिक अनुयायी, बूढाबूढी, बच्चाबच्ची, महिला र न्यून आय भएका व्यक्ति र दीर्घरोगी हुने गर्छन्। यस्ताकोमा उपचार गराइरहेका मध्ये दुईचार जनालाई भवितव्य नपर्दासम्म वा कसैको आँखा नलाग्दासम्म न त सरकारी स्तरबाट नियमनकारी अंग नै जुरमुराउँछन्, न त मान्छेको घैँटोमा घाम नै लाग्छ।
वैकल्पिक उपचार पद्धतिको विकासको बाटो
सबैभन्दा पहिला विद्यमान वैकल्पिक उपचार पद्धति अपनाउने केन्द्र र उपचारकर्मी पूर्णतः सरकारी निकायमा आबद्ध भई आवश्यक अनुमति लिएको हुनुपर्छ। कसैले कोही कुनै सेलिब्रिटी, नेता, राजनीतिक दल वा पैसाको प्रभावमा आफू विशेषज्ञ भएको दाबी गरी वैकल्पिक उपचार पद्धतिको दुरुपयोग गरेको छ भने यथाशीघ्र छानबिन गरी हदैसम्म कारबाही गर्नुपर्छ। वैकल्पिक उपचार पद्धतिलाई सरल रूपमा बीमाको व्यवस्था गरेको खण्डमा दुरुपयोगको न्यूनीकरण हुनुका साथै सबैखाले बिरामीले सहज र समान उपचार पाउन सक्छन्। यद्यपि, बीमाको स्वरूप अहिलेजस्तो नभएर मुख्यतः युरोपेली देशका प्रकार, कार्यान्वयन र अनुगमन प्रणालीको मोडल अपनाउनु उचित हुन्छ।
बिरामी आफू पनि ज्यादा सचेत हुन उत्तिकै जरुरी छ। सुनेको, भनेको र कुनै निश्चित कुराको विश्वास गरी जहाँ पायो त्यहीँ उपचार गराउँदा रोग निको हुनुको सट्टा झन् बल्झँदै जान्छ। स्वास्थ्य स्थिति जटिल भई बिरामीको मृत्युसम्म पनि हुन सक्छ।
हालसालै एक टिभी कार्यक्रममा ‘आफू निर्मला बलात्कारको प्रत्यक्षदर्शी’ भएको दाबी गर्ने व्यक्ति र उनको अन्तर्वार्ता लिने सञ्चारकर्मीलाई सरकारी निकायबाट शीघ्र बोलाई सचेत गराएझैँ पूर्ण पृष्ठभूमि नै राम्रोसँग जाँच नगरी अफवाह फैलाएर सार्वजनिक स्वास्थ्यमा हानि पुर्याउने खालका सामग्री प्रसारण गर्नेहरूलाई सचेत गराउनुपर्छ। आफू विशेषज्ञ, दैविक गुरु वा माता भएको दाबी गर्ने छद्मभेषीलाई सरकारले उजुरीबिना नै कारबाही गर्नुपर्छ।
राष्ट्रियस्तरका पत्रपत्रिकाले वैकल्पिक उपचार पद्धतिसँग सम्बन्धित समाचार र विविध जानकारीमूलक लेखका लागि सकभर साप्ताहिक नभए पाक्षिक रूपमा निश्चित स्पेस दिनुपर्छ। आफू देशको चौथो अंग भएको दाबी गर्ने सञ्चार जगत्ले वैकल्पिक उपचार पद्धति समयसापेक्ष विकास नहुनुको कारण आफ्नो भागमा कति प्रतिशत पर्छ भनेर पनि लेखाजोखा गर्नुपर्छ।
नेपालमा वैकल्पिक उपचार पद्धति पूर्णतः सबै भगवान् भरोसमा चलेका छन्। यी पद्धतिको समयानुकूल परिमार्जन र विकास गर्नुपर्छ। जसोतसो घिसार्दा त्यसले व्यापक जनस्वास्थ्यलाई उल्टै हानि पुर्याउँछ। यदि वैकल्पिक पद्धतिको समयसापेक्ष परिमार्जन गर्न सकिँदैन भने विद्यमान पद्धतिलाई नै बन्देज लगाउनुपर्छ।
(रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा कार्यरत छन्।)