हामी अचेल जलवायु परिवर्तनबारे धेरै सुनिरहेका छौँ। आजको युगको वातावरणीय समस्याको एउटा मात्र हिस्सा/भाग हो जलवायु परिवर्तन। जलवायु परिवर्तनसँगै अरू थुप्रै समस्या मानवजातिले अहिले भोगिरहेका छन्। अझ कहालिलाग्दा दिन आउने अनुमान छ।
वायु प्रदूषण जलवायुसँगै जोडिएको समस्या हो। यससँगै जल प्रदूषण, माटो प्रदूषणका विषय छन्। प्लास्टिकका कारण पानी र माटो दुवैमा विकराल प्रदूषण छ। हामीकहाँ तुलनात्मक रूपमा कम भए पनि वन विनाशको समस्या संसारभर बढेकै छ। कृषिमा प्रयोग हुने विषादीका कारण जैविक विविधता नास भइरहेको छ।
पृथ्वीले थेग्न नसक्ने रूपमा मान्छेले गरिरहेको उपभोग या दोहन नै यी सबै समस्याका कारण हुन्। जुन परिमाणमा हामीले प्राकृतिक स्रोतसाधनको उपभोग गर्नुपर्ने हो, त्योभन्दा तीव्रदरमा गरिरहेका छौँ। स्रोतसाधन निकाल्न, प्रशोधन गर्न र उत्पादन गर्दा जसरी पनि प्रदूषण निस्कने नै भयो। अनेकन् सामग्री बनाउनदेखि खाद्य उत्पादन र प्याकेजिङका लागि समेत पनि जमिन र खानी खन्नुपर्छ। प्राप्त कच्चा पदार्थ प्रशोधन गर्नुपर्छ। मेटल र मिनरलका लागि वनजंगल काट्नेदेखि, पहाड खन्ने काम हुने गर्छ। यसरी पृथ्वीमा अनेक तरिकाबाट विध्वंस हुँदैछ।
सेकेन्ड ल थर्मडाइनामिक्सको कन्सिक्वेन्स (परिणाम) हो यो। जीवाश्म इन्धन (पेट्रोलियम तथा कोइला) बालेरै धेरै काम गरिन्छ। त्यस क्रममा कार्बनडाइअक्साइडलगायत हानिकारक ग्यास वायुमण्डलमा उत्सर्जन हुन्छ र यिनै कारण जलवायु परिवर्तनको समस्या बढेको बढ्यै छ।
हाम्रो आजको अर्थतन्त्र पुँजीवादी हो। प्राकृतिक स्रोतसाधनको दोहन गरेर, उत्पादनहरू बनाएर 'आर्थिक समृद्धि' हासिल हुन्छ। जति धेरै आर्थिक कारोबार, उति धेरै आर्थिक समृद्धि! नीति बनाउने र प्रमुख निर्णय गर्ने तहमा बसेकाहरूले एकदमै संकुचित सोच/दृष्टिले एकदुई वटा समस्यालाई 'आइसोलेटेडेड' तरिकाले हेर्ने अभ्यास/चलनका कारण मनपरी उत्पादन र प्राकृतिक स्रोतको कहालीलाग्दो दोहन भएको हो।
प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन या कुनै पनि वस्तुको उपभोगको सीमा नाघ्नुलाई यहाँ 'इकोलोजिकल ओभरसुट' भनिन्छ।
प्रकृतिमा अनेक जनावर छन्। हामी मानव पनि जनावर नै हौँ। सबै जनावरले प्राकृतिक स्रोतसाधन उपयोग गरेर आफ्नो जीवन चलाइरहेका हुन्छन्। त्यसमा सन्तुलन कायम राख्नु आवश्यक हुन्छ। प्राणी जुन वातावरणमा बाँच्छ, त्यो वातावरणको पुनरुत्पादन (रिजनरेट) गर्न सक्ने क्षमता नाघ्दा 'ओभरसुट' हुन्छ। ओभरसुट भइसकेपछि त्यस पारिस्थितिक प्रणाली (इकोसिस्टम)को पहिलाकै अवस्थामा फर्कने (रिकभर) क्षमता नै घट्छ।
विश्व मानव समुदायको आजको 'इकोलोजिकल फुटप्रिन्ट' हेर्दा, तीन वटा पृथ्वीले उपलब्ध गराउने स्रोतसाधन हामीले उपभोग गरिराखेका छौँ। धान्ने तह (सस्टेनेबल लेबल) भन्दा तीन गुणा उपभोग भइरहेको छ पृथ्वीका स्रोतसाधनको। जलवायु प्रदूषण हुनुको कारण पनि प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन नै हो।
प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहनलाई साथ दिएको चाहिँ जीवाश्म इन्धनले हो। यो इन्धन हुन्थेन भने अहिले हामीले भनिरहेको विकास सम्भव हुँदैनथ्यो। आधुनिक अर्थशास्त्र र आधुनिक विकाश अघि बढाउन धेरै ऊर्जा र स्रोतसाधन आवश्यक पर्छ/परिरहेको छ। ती सबै ऊर्जा आखिर प्रकृतिबाटै प्राप्त हुने हो। निकट विगत दशक र शतकमा जीवाश्म इन्धनको अत्यधिक उपभोगले आजको, आधुनिक अर्थतन्त्र प्रणाली बनाउन सम्भव भएको हो। तर त्यसको परिणामचाहिँ कहालीलाग्दो रूपमा वातावरण विनाश हो।
इकोलोजिक ओभरसुटलाई अझ सजिलो गरी बुझ्न बैंक खाताको उदाहरण लिन सकिन्छ। बैंक खातामा हामी आफ्नो पैसा राख्छौँ, त्यसलाई बचत या मौज्दात भनिन्छ। मौज्दातबाट ब्याज आउँछ। हामीले मौज्दात नचलाईकन ब्याज मात्रै उपयोग गरिरह्यौँ भने हाम्रो निजी अर्थव्यवस्था दिगो हुन्छ, टिक्छ। तर अहिले के भइराखेको छ भने प्रकृतिले दिएको मौज्दातबाट निर्मित ब्याज खानुको साटो सिंगो मानव समुदायले मौज्दात नै उपभोग गरिराखेको छ। र, त्यो मौज्दात नियमित रूपमा घट्दो छ।
त्यसैले आगामी वर्ष र दशकको ठूलो समस्या जलवायु परिवर्तन र इकोलोजिक ओभरसुटसम्बन्धी नै हुन्। भयानक रूपमा हामीले यी समस्याहरू झेल्नुपर्ने देखिन्छ।
वायु प्रदूषण त हामीले अहिले झेलिरहेकै छौँ। काठमाडौँदेखि दिल्लीमा समेत त्यस्तै छ। वायु प्रदूषणसँगै जलवायु परिवर्तनका कारण कृषि उत्पादन आगामी दिनमा ह्वात्तै घट्ने दिन पनि आउनेवाला छ। समस्या यति ठूलो भइसकेको छ कि त्यसका परिणामहरूबाट भाग्न कठिन हुँदै गइरहेको छ।
सफा पानीका मूल/स्रोतहरू घट्दै गएका छन्। काठमाडौँ उपत्यकादेखि तराईसम्मै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेको छ। यी समस्याहरूसँग जुझ्न समस्याका मूल कारणमै हामी पुग्नुपर्छ।
आधुनिक सभ्यताले अपनाएको आर्थिक प्रणाली नै आजका समस्याको मूल कारण हो, जसलाई हामी आर्थिक वृद्धि भन्छौँ। प्रगति र विकास भनेकै सडक र भवनहरू निर्माणलाई बुझिरहेका छौँ। तर त्यो प्रतिमान/विकासको मोडल नै समस्यायुक्त देखिएको छ। विगत एकदुई दशकदेखि एकदुई शतकयताको विकाशको मोडल नै वातावरणीयदेखि सामाजिक न्यायका दृष्टिले समस्यायुक्त छ। आधुनिक विकासका मोडलहरूलाई पुनः परीक्षण (रिएक्जामिन) गरेर यी समस्याको समाधान गर्नुपर्छ। आजको आर्थिक मोडलको विकल्प खोज्नुपर्छ।
…
विश्वव्यापी रूपमा एकदमै सम्पन्न र सम्भ्रान्तको स्वार्थ र चासो सम्बोधन हुने गरी शहरहरूको डिजाइन गर्ने गरिएको छ। काठमाडौँ उपत्यकाको सडक र बाटोघाटोको निर्माण हेर्दा पनि यो एकदमै निजी सवारी (कार) केन्द्रित छ। सबैको शहर हो भन्ने भुलेर खास वर्गका लागि शहर र सडकहरूको डिजाइन गरिनु समस्यापूर्ण छ।
अर्को, शहर आफैमा अरूप्रति निर्भर रहनुपर्ने प्रणाली हो। यहाँका निवासीलाई अत्यावश्यक सामग्री शहरमा बाहिरबाट ल्याउनुपर्छ। त्यसो हुँदाहुँदै पनि विश्वव्यापी रूपमा शहरको जनसंख्या बढेको बढ्यै छ। एकदुई वर्षअगाडि विश्व जनसंख्याको ६० प्रतिशतचाहिँ बस्ने बताइन्थ्यो, अहिले त्यो निरन्तर बढ्दो छ।
तेस्रो, त्यससँगै शहरहरू अत्यन्त स्रोतसाधन दोहनयुक्त हुन्छन्। शहरको निश्चित क्षेत्र हुन्छ, त्यो जमिन-क्षेत्रमा बस्नेहरूको जीवन टिकाउन/सञ्चालनका लागि धेरै सामग्री र साधन चाहिन्छ। एक मुठो साग पनि यहाँ गाडी चढेरै आइपुगेको हुन्छ। त्यसमा ऊर्जाको खपत भएकै हुन्छ। खेती गर्ने जमिन, भवन निर्माणका लागि चाहिने गिट्टी, बालुवा र सिमेन्टदेखि प्राविधिक सामग्री उत्पादनको सबै जमिन जोड्दा शहरलाई चाहिने सामाग्री उत्पादनका लागि शहरको जमिन क्षेत्रभन्दा दुई सयदेखि हजार गुणा ठूलो जमिन उपयोग भएको हुन्छ।
त्यसो हुँदा, शहरी जीवनको 'कार्बन फुटप्रिन्ट' विशाल हुन्छ। त्यति मात्रै होइन, शहरहरू आफैँमा असुरक्षित (भल्नरेबल) हुन्छन्। बाहिरतिर कृषि उब्जनी घट्यो भने शहरमा आपत् पर्छ। जसरी हाम्रो संसार अहिले चलेको छ, सधैँ चल्दैन। जसरी अहिले हामी बाँचिरहेका छौँ, दश बिस वर्षपछि सम्भव हुनेछैन। हामीले धेरै दुःख पाउनेछौँ। त्यो दिन आउँदै छ।
परम्परागत समाजहरू सामूहिक रूपमा बसोबास गर्थे। आत्मनिर्भर हुन्थे ती बस्ती। स्थानीयवासीको लागि आवश्यक कृषि उपज र धेरैजसो सरसामग्री त्यहीँ उत्पादन हुन्थ्यो। कृषि औजारहरूसमेत बनाइन्थ्यो। त्यस्तो समाजमा विभेद र असमानता पक्कै थियो, तर अहिलेझैँ व्यापक परनिर्भरता हुने गर्थेन।
अहिले संसारको अर्को कुनामा बनेको सामग्री हाम्रो चोटाकोठामा आइपुग्न थाल्यो। उति लामो दुरीबाट सामान यहाँसम्म ल्याइपुर्याउन लामो दुरीको यातायात चाहियो। यातायातका साधनले धेरै इन्धन खपत गर्छन्। धेरै इन्धन खर्च हुनु प्रदूषण बढ्नु र वातावरणीय क्षति हुनु हो।
त्यसमाथि, अहिले पश्चिमी मुलुकबाट फैलिएको व्यक्तिवाद (इन्डिभिजुअलिजम्) विश्वभर फैलँदो छ। त्यसको प्रभावका कारण कतिपय हाम्रा राम्रा सामाजिक मान्यता पनि कमजोर हुँदै गए। सामूहिक प्रयत्नबाट जीवन बाँच्नेभन्दा पनि बजारका सामान किनेर, एक्लै एकै छिन रमाउने अभ्यास हाबी हुन थाल्यो।
यसो ध्यानपूर्वक मनन गर्ने हो भने हामीले अहिले उपभोग गरिरहेका धेरै सामग्री हामीलाई आवश्यक पनि छैनन्। एउटा मान्छेलाई कति जोर लुगा चाहिन्छ? अहिले त एउटै व्यक्तिका दर्जनौँ लुगा दराजमा थन्किरहेछन्। फेन्सी ड्रेस पार्टीहरूसमेत हुन थालेका छन्। चाडबाडपिच्छे नयाँ लुगा लगाउन थाले मान्छे। 'फास्ट फेसन'का नाममा एकै पटक लगाएर लुगा फ्याँक्ने अभ्यास पनि थालिएको छ। यस्तो आधुनिक संस्कृतिका कारण कतिले एकदमै दबाब पनि महसुस गरिरहेका छन्।
खासमा भन्ने हो भने हामीले प्रयोग गरिरहेका ग्याजेट र इलेकट्रोनिक्स डिभाइसमध्ये धेरै अनावश्यक छन्। आधारभूत सञ्चारको कुरा एक ठाउँमा छ, तर यो स्तरमा हामीलाई डिभाइसहरू पक्कै आवश्यक थिएनन्, त्यसमाथि यिनको निर्माणका लागि धेरै खनिज र साधन स्रोत आवश्यक पर्छ। यस्ता सामग्रीको निर्माणमा धेरै प्राकृतिक विनाश मात्रै होइन, मानवअधिकारको समेत हनन भइरहेको हुन्छ।
उपभोक्तावाद आफैँमा पृथ्वीका लागि हानिकारक छँदैछ, सांस्कृतिक समस्याका रूपमा पनि यो उदाएको छ। यसबाट हामी कसरी मुक्त हुने भनेर सोच्न ढिला भइसकेका छौँ। किनभने अहिलेको वातावरणीय विनाशको जड नै अति उपभोग हो। र, यो प्रणालीको नेतृत्व गर्ने ठूलाठूला कर्पोरेसन छन्, सर्वसाधारणले तिनका सामान र सेवा किनिदिएका कारण ती झनै धनी र शक्तिशाली हुँदै गएका छन्। हाम्रो जीविकाको नियन्त्रण नै उनीहरूको हातमा पुग्दै छ।
हामीले चुनावमार्फत आफ्ना प्रतिनिधि चुने पनि काम गरिराखेका र नीति पनि कर्पोरेसनकै हितमा गरिराखेका छन्। कर्पोरेट संस्कृतिकै कारण आम नागरिकको राजनीतिक शक्ति पनि घटेको छ। त्यसो हुँदा अहिलेको पर्यावरणीय संकट राजनीतिक र सांस्कृतिक मुद्दा पनि हो।
(लेखक जोशी नेदरल्यान्डको डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीमा 'क्लाइमेट चेन्ज एन्ड सोसल जस्टिस' विषयमा विद्यावारिधि गरिरहेका छन्।)