२०८० भदौ तेस्रो साता। त्यति बेला म आबद्ध सञ्चारमाध्यम स्वास्थ्य खबर पत्रिकाको वार्षिक उत्सवको पूर्वसन्ध्या थियो। सोही कार्यक्रमलक्षित विशेषांक निकाल्ने मेसो थियो। विशेषांकका लागि सन् २०३० सम्ममा दिगो विकास लक्ष्यअन्तर्गत स्वास्थ्यतर्फ हासिल गर्ने लक्ष्य प्राप्ति र तत्कालीन अवस्था विषय छानिएको थियो।
मैले सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका प्रयासबारे रिपोर्टिङ गर्नु थियो। त्यसका लागि संयुक्त राष्ट्रसंघले २०२० सेप्टेम्बरमा पारित गरेको सडक सुरक्षासम्बन्धी प्रस्ताव र त्यसका परिणामको स्थिति पत्ता लगाउनु थियो।
उक्त प्रस्तावले सन् २०३० सम्ममा सवारी दुर्घटनाबाट हुने क्षतिलाई कम्तीमा ५० प्रतिशतले कम गर्ने महत्त्वाकांक्षी लक्ष्य तय गरेको थियो। राष्ट्रसंघको महासभाबाट अनुमोदन भएर दिगो विकास कार्यक्रमअन्तर्गत रहेको उक्त लक्ष्य हासिल गर्न नेपाललाई चुनौती रहेका तथ्य हात लाग्यो। म तिनै तथ्यलाई थप प्रमाणित गर्न लागेँ।
भदौको उक्त दिन, मैले पत्रिकाका लागि लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो शीर्षकको समाचार (पछि अनलाइनमा पनि प्रकाशित) बुझाएर चिया पिउन बाहिर निस्किएँ। आवश्यक सम्पादनपछि समाचार प्रकाशनमा गयो।
चिया पिउन निस्किएका बेला मेरो मोबाइलमा बारम्बार फोन आउन थाल्यो। मोबाइल बज्दै गर्दा मैले विशेषांककै लागि सम्पादकले थप सामग्री तयारीका लागि ‘असाइन’ गर्न वा अनुवादका लागि दिइएका केही सामग्रीको ताकेताका लागि घण्टी बजाएको अनुमान गर्दै थिएँ। तर नचिनेको 'ल्यान्ड लाइन नम्बर' भएको कारण वास्ता गरिनँ।
करिब आधा घण्टाको चिया सेसनपछि अफिसतिर फर्किँदै गर्दा फेरि मोबाइल बज्यो। यसपटक भने मोबाइलको हरियो बटन थिचेँ। फोन उठाउने बित्तिकै उताबाट प्रश्न आयो, 'तपाईं फलानाको श्रीमान् हो?'
मैले 'हो' भनिनसक्दै तुरुन्त मेडिकेयर हस्पिटल चाबहिल आउन भनेर फोन फ्याट्ट काटियो।
मेरो मन एकतमासको भयो। के गर्ने-गर्ने? एकछिन गमेपछि पुनः सोही नम्बरमा फोन घुमाएँ। उताबाट विस्तारले जवाफ पाएँ। श्रीमती चुच्चेपाटीमा दुर्घटनामा परेकी रहिछन्।
फोन गर्ने ट्राफिक प्रहरी रहेछन्। 'स्थिति के छ?' मैले हतारमा सोधेँ। "टाउकामा चोट छ, तर ठूलो चाहिँ होइन। तपाईं झट्टै गरेर आउनू," उनले भने।
अलि हल्का अनुभूति भयो, तर खुट्टा कामेकै थिए। त्यहाँसम्म पुग्ने कसरी! मनमा अनेक तर्कना गर्दागर्दै अफिस पुगेँ। सधैँ ५ मिनेटमा तय गर्ने त्यो दूरी निकै लामो लागेको थियो। अफिस पुगेर कार्यकारी सम्पादक दुर्गा दुलाललाई सुनाएँ। उनैले बाइकमा मेडिकेयर अस्पताल पुर्याइदिए।
ओहो, त्यो समय कति लामो लामो!
म अस्पताल पुग्दा उनी अर्धबेहोस थिइन्। त्यही अर्ध बेहोसीमै बडो यत्नसाथ मेरो नम्बर फुत्काउन सकेछन्। करिब पाँच वर्षको प्रेमपछि भएको हाम्रो घरबारमा उसलाई तन्द्रामा पनि याद रहने त्यही मेरो मोबाइल नम्बर थियो।
केही मेडिकल परीक्षणपछि मैले उनलाई एम्बुलेन्समार्फत गोकणेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याएँ। केही दिन डाक्टरहरूको निगरानीपछि १० दिनमा घर आयौँ। त्यसपछि करिब ६ महिना निरन्तर ओखती र त्यसयता तीन-तीन महिनामा 'फलोअप' गर्नु पर्ने तालिका डाक्टरहरूले हात लगाइदिएका छन्।
......
मेरी श्रीमतीको स्कुटर थियो। दुर्घटनामा भने पैदल हिँड्ने क्रममा परेकी थिइन्।
त्यो दिन उनले चुच्चेपाटीस्थित भाटभटेनीमा स्कुटर पार्क गरेकी रहिछन्। अनि पैसा झिक्न चाबहिलतर्फको एउटा बैंक जाँदै रहिछन्। त्यही बेला द्रूत गतिमा अनियन्त्रित ढंगले आएको मोटरसाइकलले पछाडिबाट दाहिने पाटोमा ठक्कर दिएछ।
उनी सिमेन्टमा बज्रिन पुगिछन्। उनको टाउकोमा रगत जम्न पुगेछ। दुर्घटनाको डेढ वर्षपछि पनि त्यसको उपचार र परीक्षण जारी छ। दाहिने कुमको हड्डी छुटेकोले जोडिन करिब ६ महिना लाग्यो। उनी अझै ५–६ किलोको सामग्री पनि उचाल्ने सक्दिनन्। अब यस्तो काम उनले आजीवन गर्न सक्दिनन्।
एक प्रकारले भन्दा सो दुर्घटनाको परिणाम उनले आजीवन बहन गर्नु पर्ने छ।
......
सवारी दुर्घटनासम्बन्धी समाचार फाइल गरेकै दिन आफ्नै परिवारको सदस्य मृत्युको मुखमा पुगेको सो घटनाले मेरो दिमाग साह्रै खल्बल्याउँछ। मन अमिलो हुन्छ। अझ तथ्याकंमा हेर्ने हो भने यो कति कहालीलाग्दो छ भन्नै परेन।
सडक सुरक्षामा सम्बन्धित निकायको चुस्त तथा प्रभावकारी नियमन टिठलाग्दो छ। सडक सुरक्षा शिक्षा र संस्कृति बेपरवाह छ। यो सबैको नतिजा व्यक्ति, समाज र राष्ट्रले चुकाइरहेको छ।
साथी किरण दहालले उकालोका लागि सवारी दुर्घटनासम्बन्धी 'इन्डेप्थ' समाचार तयार पारेपछि मेरो राय थियो, सवारी दुर्घटना न्यूनीकरणका लागि कानूनी, व्यावहारिक, शैक्षिक रूपमा सुधार गर्नु पर्ने हुँदा सञ्चारमाध्यमले निरन्तर लेख्नुपर्छ। अहिले पनि मेरो यही जोड हो, सडक सुरक्षालाई प्राथमिकता दिन राज्यलाई घच्घच्याउनुपर्छ। सर्वसाधरणलाई चेतनशील बनाउनुपर्छ।
अहिले पनि मेरो यही जोड हो, सडक सुरक्षालाई प्राथमिकता दिन राज्यलाई घच्घच्याउनुपर्छ। सर्वसाधारणलाई चेतनशील बनाउनुपर्छ।
मलाई यो पनि थाहा छ आजको बहुसंख्यक पाठकले यस्ता बहसलाई गम्भीरतापूर्वक नलिन सक्छन्। तर उकालोजस्तो गैरनाफामूलक सञ्चारमाध्यममा सामग्री 'कन्ज्युम' भयो वा भएन भन्दा पनि समाजलाई के दिने भन्ने महत्त्वपूर्ण हो।
.....
मेरी श्रीमती दुर्घटना परेको करिब ६ महिनापछि स्कुटर चलाएर काममा फिरिन्। तर मेरो मन अहिले पनि एकतमास हुन्छ।
उनी घरबाट हिँडेपछि अफिस वा अन्य कतै मुकाम पुगेको खबरको प्रतीक्षा गरिरहन्छु। पुगेर फोन नगरुन्जेल फिट्फिट पर्छ।
मनमा उही दुर्घटनाको खत गढेर जो बसेको छ।