विगत केही हप्तादेखि हामीले सामाजिक सञ्जालमा भारतको दिल्ली र पाकिस्तानको लाहोरमा बढेको प्रदूषणबारे लगातार सुन्दै आएका छौं। मंसिर महिना शुरू हुनुअगाडि देखि नै यी दुई शहर प्रदूषणको चपेटामा परिरहेका छन्। लाहोरमा नोभेम्बर १४ (कात्तिक ३०) मा पीएम २.५ को मात्रा ६०० µg/m3 नाघेको थियो, जुन डब्ल्यूएचओले निर्धारण गरेको २४ घण्टाको औसत सीमाभन्दा ४० गुणा बढी हो। धुलोको कणलाई अंग्रेजीमा पार्टिकुलेट म्याटर (पीएम) भनिन्छ र २.५ माईक्रोमिटरभन्दा सानो कणलाई पीएम २.५ भनिन्छ। पिएम २.५ श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारक तत्त्व मानिन्छ। यसले फोक्सोसम्बन्धी समस्या, मुटु रोग, दमलगायत कम तौल भएको बच्चा जन्मिने समस्या निम्त्याउँछ।
प्रदूषणकै कारण भारतको दिल्ली र लाहोरमा स्कुल र क्याम्पस बन्द गरिएका छन् भने प्रदूषण उत्सर्जन गर्ने मुख्य उद्योगहरू सीमित अवधिका लागि सञ्चालनमा रोक लगाइएका छन्। अस्पतालमा श्वासप्रश्वासका बिरामी बढेका छन्। हरेक वर्ष कार्तिक-मंसिरमा प्रदूषणको चपेटा दोहोरिइरहनु निरन्तर प्रक्रियाझैँ भएको छ। भारतको पंजाब र हरियाणामा, पाकिस्तानको पंजाबमा नयाँ बाली लगाउनुपूर्व पहिले रहेका बालिका अवशेष ठुटा आदि जलाइँदा त्यसबाट निस्कने धुवाँको प्रदूषण ठूलै समस्याको रूपमा रहेको छ।
यिनै समाचार दिनदिनै सुन्दै गर्दा नेपाल यस्तो अवस्थामा नपुग्ला भनेर हामी भन्न सक्दैनौं। वायुसँगै बहने हुनाले उत्सर्जन हुने स्थानमा मात्र प्रदूषण सीमित रहँदैन। विगत केही दिनयता काठमाडौँको रत्नपार्क र खुमलटारमा रहेको वायु प्रदूषण मापन यन्त्रले पि एम २.५०को मात्रा बढेको देखाएको छ। हरेक वर्ष दशैंतिहार सकिएलगत्तै नेपालमा पनि प्रदूषणको चाप बढ्न थाल्छ। कार्तिक मंसिरबाट पानी कम पर्न थालेसँगै प्रदूषण बढ्छ।
नेपालमा पनि देशका विभिन्न भागमा अवशेष बाली जलाउन शुरू गरिन्छ र त्यसबाट निस्किने धूवाँ देशभर फैलिन्छ। काठमाडौँको अवस्था निकै अस्वस्थकर हुन्छ। सडकमा गुड्ने गाडी, खुला रूपमा जलाइने फोहर, इँटा भट्टा आदिबाट निस्कने धूवाँ, थुप्रै साना तथा मझौला उद्योगबाट निस्कने धूवाँ र सडकमा उड्ने धुलो काठमाडौँ उपत्यकामा प्रदूषणका आन्तरिक स्रोत हुन्। कचौरा आकारको संरचना भएको कारणले तापक्रम कम हुँदा वायुको ठाडो तहीय प्रसार हुन पाउँदैन र काठमाडौँ उपत्यकाभित्र सतह नजिकको प्रदूषण त्यहीँ थिग्रिन्छ। यस्तो अवस्थामा बाह्य प्रदूषणसमेत भित्रँदा जटिल अवस्था सिर्जना हुन्छ। काठमाडौँ उपत्यकाको जनघनत्वको कारण पनि वायु प्रदूषणको प्रभाव व्यापक हुन्छ।
वायु प्रदूषणका तीन प्रमुख कारक तत्त्व छन्: वायु प्रदूषणका स्रोत, मौसमको अवस्था र भौगोलिक अवस्था। मौसम र भौगोलिक अवस्था हाम्रो नियन्त्रण बाहिरको कुरा भएकाले वायु प्रदूषण कम गर्न स्रोतमै नियन्त्रण गर्नुपर्छ। वायु प्रदूषण नियन्त्रणको पहिलो कदम वायु प्रदूषण मापन हो। वातावरण विभागले देशभरको वायु प्रदूषण मापनका लागि देशका ३० स्थानमा वायु प्रदूषण मापन केन्द्र जडान गरेको छ। वायु प्रदूषण मापन जति सटिक हुन्छ, त्यति नै यसका स्रोत पहिचानमा मद्दत पुग्छ।
हुनलाई महँगा उपकरणले वायु प्रदूषणको अझ सही आँकलन/मापन गर्छ, तर ती उपकरण निकै जटिल प्रविधियुक्त भएकाले महँगा पनि छन् र उपकरणका बिग्रिएका पुर्जा फेर्नसमेत विज्ञ आवश्यक पर्छ। त्यस्ता उपकरण संचालनमा केही न केही जटिलता बेलाबेला आइरहन्छ। तथापि, वातावरण विभाग वायु प्रदूषण मापनमा लागिरहेको छ। बेलाबेला सार्वजनिक सूचना जारी गरी जनमानसलाई सुसूचित गराउने कार्य विभागले गरिरहेको छ।
त्रिभुवन विश्व विद्यालयअन्तर्गत वातावरण विज्ञान केन्द्रीय विभागले पनि अमेरिकाको ड्युक विश्व विद्यालयको सहायतामा २०२२ देखि नेपालका विभिन्न स्थानमा वायु प्रदूषण मापनको लागि सस्तो विधि प्रयोग हुने सेन्सरहरू जडान गरी वायु प्रदूषणको अध्ययन गरिरहेको छ। कतिपय स्थानीय तह त्यत्तिकै सजग भएर वायु प्रदूषण नियन्त्रणको अभियानमा जुटेका छन्। काठमाडौँका कतिपय स्थानीय तहले पनि सस्तो विधि प्रयोग हुने सेन्सरहरू आफ्नो कार्यालयमा जडान गरेका छन्। यस्ता सेन्सरको आयु करिब तीन वर्षको हुन्छ र यसले दिएको तथ्याङ्क सही छ भनेर जाँच्न 'क्यालिब्रेसन' भएको उपकरण चाहिन्छ। एउटा उपकरण क्यालिब्रेसन भएपछि त्यसलाई एक अर्कासँग भिडाएर तथ्याङ्कको शुद्धता जाँच्न सकिन्छ।
सरकारी, गैरसरकारी निकाय र अध्ययनहरू वायु गुणस्तर मापन र व्यवस्थापनमा लागेका छन्। वातावरण विभागको पहलमा नेपाल सरकारले काठमाडौँ उपत्यकाको वायु प्रदूषण न्यूनीकरणको लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ लागु गरेको छ। प्रदूषण गर्ने उद्योग, कलकारखाना, अस्पताल, सवारी साधन आदीको वातावरण विभागले अनुगमन गर्छ भने अन्य निकायलाई वायु गुणस्तर व्यवस्थापनका लागि झकझकाउने काम पनि गरिरहेको छ।
काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रण मापदण्ड २०८१ जारी गरी सवारी साधनको आकस्मिक चेक जाँच शुरू गरेको छ र महानगरभित्र मापदण्ड विपरीतका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउने गरेको छ। 'यूएसएड क्लिन एयर नेपाल'ले वातावरण विभागको सहकार्यमा वायु प्रदूषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले वातावरण विभागको वायु प्रदूषण अनुगमन निरीक्षण क्षमता अभिवृद्धिमा विशेष सहायता प्रदान गरिरहेको छ। के बुझ्नुपर्छ भने वायु प्रदूषण नियन्त्रणमा विभिन्न निकायले हातेमालो गरेर मात्र पुग्दैन, सर्वसाधारणले पनि त्यति नै जिम्मेवारीसाथ कर्तव्य निर्वाह गर्नुपर्छ।
काठमाडौँ उपत्यकाको हकमा, सवारी साधनलाई प्रदूषणको प्रमुख स्रोत मानिन्छ। सरकारले समय समयमा सवारी छड्के जाँच पनि गर्ने गरेको छ। त्यस जाँच पासमा करिब ३४ प्रतिशत सवारी फेल हुने गरेको छ। तिनै सवारी साधन नियमित सर्भिसिङ गराएर गुडाउने हो भने त्यसबाट उत्सर्जन हुने पि एम २.५० करिब ६० प्रतिसतले कम हुन्छ। मान्छेको झैं सवारीसाधनको स्वास्थ्यको समेत हामीले नियमित जाँच र उपचार गर्नुपर्छ। दिनानुदिनको कामको चपेटाका बाबजुद पनि सवारी साधन मर्मत गर्नुपर्छ, नत्र आफूसँगै समाजका अन्य सदस्यलाई पनि प्रदूषणको चपेटामा पारेर हामीले गलत कर्म गरिरहेका हुन्छौं।
अर्को प्रदूषणको स्रोत हाम्रो भान्छाकोठामा हुने उत्सर्जन र निस्कने फोहर पनि हो। चुलो बाल्न अब सकेसम्म बिजुली प्रयोग गरौँ, ग्याँस कम गरौँ या छाडौं। घरबाट निस्किने जैविक फोहोरलाई सकिन्छ घरमा नै व्यवस्थापन गरौँ, नत्र कम्तीमा वर्गीकरण गरौँ। समाजका सबै मिलेर फोहोर जलाउने कामलाई निरुत्साहन गरौँ।
जाडो बढ्दै छ। आगो वरवर बसेर गफिन रमाइलै हुन्छ, तर आगोबाट निस्कने धुवाँसँगै निस्कने अन्य तत्त्वले वरपरका सबैलाई असर गर्छ। जाडो याममा जमिनको सतह नजिकको हावा छिटो चिसिन्छ, घाम मधुरो हुन्छ र हावाको बेग पनि कम हुँदै जान्छ। तापक्रम घट्दै जाँदा वायुको ठाडो तहीय प्रसार हुन पाउँदैन। अंग्रेजी भाषामा यसलाई 'टेम्परेचर इन्भर्जन' भनिन्छ। सतह नजिकको प्रदूषण त्यहीँ थिग्रिने हुँदा वरपरको प्रदूषण ह्वात्त बढ्छ, जसले गर्दा स्वास प्रश्वासको बिरामीको संख्या बढ्छ।
हामी सबै मिलेर वायु प्रदूषणको नकारात्मक प्रभावबारे पैरवी गरौँ। घर वरपर बोटबिरुवा रोपौँ। कतै कुनै उद्योगले धूवाँ फालेको देख्नेवित्तिकै वातावरण विभागमा उजुरी गरौँ। वातावरण विभागको वेबसाइटमा वायु प्रदूषणसम्बन्धी जानकारीसहित दैनिक वायु प्रदूषणको जानकारी राखिएको छ। मौसमको जानकारी लिएजस्तै वायु प्रदूषणको अवस्थाको जानकारी लिने बानी बसालौँ। वायु प्रदूषणको इन्डेक्स १०० भन्दामाथि पुग्दा भरपर्दो मास्क सही तरिकाले लगाएरमात्र घर या भवनबाहिर निस्कौँ। सानो प्रयासले प्रदूषणबाट जोगिन सकिन्छ भने हामीले किन त्यसबाट पछि हट्ने?
(श्रेष्ठ वातावरण विभागमा वातावरण निरीक्षकका रूपमा कार्यरत छिन्।)