Thursday, January 23, 2025

-->

उपनिर्वाचन–वार्ता
कीर्तिपुरका उम्मेदवारसँग नगर विकासका के–के छन् अजेन्डा?

कीर्तिपुरको मेयरमा नौ दलसहित ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। सडक सुधार, सर्वसुलभ स्वास्थ्य, संस्थागत भ्रष्टाचार अन्त्यसहितका चुनावी अजेन्डा लिएर उम्मेदवार घलदैलोमा व्यस्त छन्।

कीर्तिपुरका उम्मेदवारसँग नगर विकासका के–के छन् अजेन्डा

आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा अरू स्थानभन्दा धेरै चर्चामा छ काठमाडौँको कीर्तिपुर नगरपालिका। संघीय राजधानी काठमाडौँभित्रको यो नगरपालिकामा प्रमुख (मेयर) पदकै लागि उपनिर्वाचन हुँदैछ। यसबाहेक वडा नम्बर १ र ४ मा वडा अध्यक्षका लागि पनि निर्वाचन हुँदैछ।

मेयर पदका लागि नौ राजनीतिक दलका साथै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै, वडा नम्बर १ को अध्यक्षका लागि ६ वटा राजनीतिक दल र तीन स्वतन्त्र तथा ४ को अध्यक्षका लागि आठ दल र चार जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारको दबदबाले कीर्तिपुरको उपनिर्वाचनलाई अन्यत्रको भन्दा रोचक बनाएको हो। कीर्तिपुरको उपनिर्वाचनमा प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका र स्वतन्त्र उम्मेदवारसँग उकालोकर्मी बीपी अनमोलले गरेको चुनावकेन्द्रित कुराकानी:

१५ दिनभित्रमा सडक सुधारको काम थाल्छौँ : एमाले, सुरेन्द्र मानन्धर

चुनावको तयारी कस्तो भइरहेको छ?
आसन्न चुनावका लागि हामीले आजसम्ममा घरदैलो सक्छौँ। अप्रत्यक्ष रूपमा मतदातासँग कुराकानी भइरहेको छ। मौन अवधि शुरू हुनु अघिसम्म पनि हामीले भेटघाट र संवादलाई अगाडि बढाइरहेका छौँ। अहिलेसम्मको तयारी हेर्दा सन्तोषजनक देखिएको छ। 

२०७९ को चुनाव कांग्रेसले जितेको थियो? यो उपनिर्वाचनमा कस्तो नतिजा आउने अपेक्षा छ?
अघिल्लो निर्वाचनमा व्यवस्थापकीय कमीकमजोरीले हामीले चुनावमा नतिजा ल्याउन सकेनौँ। अहिले त्यो कुरालाई ध्यानमा राखेर हामीले तयारी गरेका छौँ। हरेक मतदातासम्म हामीले नेकपा एमालेले विगतमा गरेका कामका बारेमा जानकारी दिने र सुझाव लिने काम गरेका छौँ। त्यसैले पनि यसपटक हामी चुनाव जित्नेमा विश्वस्त छौँ।  

कीर्तिपुर नगरपालिकाको विकासका लागि तपाईंले अघि सारेका अजेन्डा के हुन्?
कीर्तिपुर नगरपालिकामा पछिल्लो दुई वर्ष प्रभावकारी काम हुन सकेन। अहिले नेतृत्व नै नभएकाले उपनिर्वाचन भइरहेको छ। नेतृत्वको अभावले नगरपालिकाले गति लिन नसकेका बेला समृद्ध नगर बनाउन हामीले योजना अघि सारेका छौँ। जनतालाई पनि त्यही भनेका छौँ। यस पटक नगरपालिकाको नेतृत्व गर्दै सम्पूर्ण जनप्रतिनिधिलाई साथमा लिएर समृद्ध नगर बनाउने नै हामीहरूको प्रमुख अजेन्डा हो।

नगरवासीले भोगिरहेका मुख्य समस्या के–के हुन्। तिनको समाधान कसरी गर्नुहुन्छ?
कीर्तिपुर सांस्कृतिक पहिचानका हिसाबले उत्कृष्ट शहर हो। यसबाहेक यहाँ विकास गर्नुपर्ने धेरै कुरा छन्। जस्तो कि खानेपानीको समस्या छ। सडक अस्तव्यस्त छन्। यहाँका मानिसको आर्थिक उपार्जनका कुरा छन्। रोजगारी सिर्जना गर्नु छ। जनताको नगर सरकारप्रति गुनासो छ। यसमा ध्यान केन्द्रित गरेर उनीहरूलाई नतिजा दिनु छ। त्यसका लागि मैले काम गर्ने हो। म जितेर आइसकेपछि देखिने गरेर काम गर्छु। तपाईंलाई भनौँ दुई हिसाबले कामको विभाजन गर्नुपर्छ। दुई वर्ष चार महिनामा के काम गर्न सकिन्छ त्यो गर्नुपर्छ भनेका छौँ। हामीले समय तालिकासहित योजना बनाएर अघि बढ्छौँ। निर्वाचित भएको १५ दिनभित्रमा सडकका खाल्डाखुल्डी पुर्ने कामको शुरूआत गरिने छ। अबदेखि जथाभाबी सडक निर्माण हुँदैन। कीर्तिपुर सडक बोर्ड बनाएर अघि बढ्ने छौँ। नगरपालिका चलाउँदा पनि सबैको सहभागितामा चलाउने हो। 

कीर्तिपुर नगरपालिका क्षेत्रभित्र नै पर्ने देशकै ठूलो त्रिभुवन विश्वविद्यालय छ। त्यहाँ धेरै खालका समस्या व्याप्त छन्। त्यसको समाधान कसरी हुन्छ?
हो तपाईंले भनेझैँ विश्वविद्यालयमा समस्या छन्। तिनको समाधान गर्न सकिन्छ। नगरपालिका भनेको आफैँमा एक तहको सरकार हो। यसले धेरै काम गर्न सक्छ। यहाँको शिक्षाको गुणस्तर सुधार्नेदेखि लिएर विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि संघ र प्रदेश सरकारसँग पनि समन्वय गरेर काम अघि बढाउनुपर्छ। विश्वविद्यालयलाई नितान्त प्राज्ञिक थलोका रूपमा विकास गर्नुपर्छ। संविधानले प्रदान गरेको नगर सरकारको अधिकारलाई भरपूर प्रयोग गरेर अघि बढ्ने हो। 

चुनावी मैदानमा यसपटक धेरै स्वतन्त्र उम्मेदवार पनि छन्। उनीहरूबाट कतिको चुनौती महसुस गर्नुभएको छ?
संविधानले निर्वाचनमा उम्मेदवार बन्न सबैलाई अधिकार दिएको छ। राजनीतिक दल होस् वा स्वतन्त्र व्यक्ति चुनावी मैदानमा आउन कुनै अवरोध छैन। यो नै लोकतन्त्रको राम्रो पक्ष हो। चुनावमा उम्मेदवार बनेका सबै नै हाम्रा प्रतिस्पर्धी हुन्। कसैलाई बलियो र कमजोर भन्ने हुँदैन। प्रतिस्पर्धा गर्ने हो कसलाई चुन्ने भन्ने त जनताको अधिकारको विषय हो। हामी बहुलवादमा विश्वास गर्छौं त्यसैले पनि हरेकको उम्मेदवारीलाई स्विकार्छौं। हामीलाई  विगतको कामको आधारमा जनताले भोट दिन्छन्। 

दलहरूले गर्दै आइरहेका कामलाई लिएर त जनतामा असन्तुष्टि छ नि, होइन?
दलले गरेका काममा जनता चिन्तित छन्। संविधानले देखाएको बाटोतर्फ अघि बढ्न अब ढिलाइ गर्नु हुँदैन। संविधानले एउटा कुरा गरेको छ तर काम त्यसअनुसार भइरहेको छैन। त्यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। जनतामा वितृष्णा देखिएको विषयलाई स्वाभाविक रूपमा लिनुपर्छ।


सर्वसुलभ स्वास्थ्य प्राथमिकतामा : कांग्रेस, कृष्णमान डंगोल

चुनावी तयारी कस्तो छ?
मतदान गर्ने दिन नजिक आइसकेको छ। अब प्रचारप्रसारको समय पनि धेरै छैन। तर आजसम्म जे जति प्रचारप्रसारमा हिँड्यौँ जनताबाट राम्रो साथ पाएका छौँ। मैले विगतमा गरेको काम र मेरो इमानदारीलाई जनताले राम्रोसँग बुझेकाले हामी उत्साहित छौँ। घरदैलो लगायतका काम सक्दै गर्दा जनताको साथ र सहयोग धेरै मिलेको छ।

प्राथमिकताका आधारमा हेर्दा यहाँका समस्या के के हुन? निर्वाचित भइसकेपछि समाधान कसरी गर्नुहुन्छ?
पहिले धेरै समस्या थिए, अहिले अधिकांश समस्या समाधान भइसकेका छन्। गर्नुपर्ने काम पनि धेरै छन्। मैले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता राखेको छु। कीर्तिपुर सांस्कृतिक ठाउँ पनि हो। यसअघि निर्वाचित मेयरले धेरै काम गर्नुभएको छ। मेरो आफ्नो अजेन्डा पनि छ। सबैलाई समेट्ने गरी सर्वसुलभ शुल्कमा उपचार गर्नका लागि कीर्तिपुर नगर अस्पताल खोल्ने योजना छ। यसअघि बजेट विनियोजन भएको पनि छ। मैले बागमती प्रदेश सरकारसँग पनि अहिलेदेखि नै योजनाका बारेमा कुराकानी गरिरहेको छु। खानेपानीको विषयमा मेलम्ची आइसकेपछि केही सहज भएको छ। वर्षामा केही समस्या छ। पानीको स्रोत छ त्यसलाई व्यवस्थित गरेर ल्याउन नसकेको मात्रै हो। अब त्यो अभाव हुँदैन। शिक्षाको सुधार, खेलकुद लगायतका क्षेत्रमा काम गर्नु छ। व्यावसायिक खेलाडी उत्पादन गर्ने र त्यसका लागि पूर्वाधार तयार पार्नुपर्ने छ त्यो मेरो लक्ष्य पनि हो।

दलीय प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। त्यसले तपाईंहरूलाई कतिको चुनौती थपिएको छ?
यो राष्ट्रियस्तरकै विषय हो। महानगर र केही उपमहानगरमा उम्मेदवार जितेर आउनुभएको छ। कसैलाई होच्याउने विषय होइन। स्वतन्त्र आएका छन् त्यसले केही असर गर्दैन जस्तो लाग्छ मलाई। विगतमा दलप्रति वितृष्णा थियो। हिजो स्वतन्त्र रूपमा जितेकाले पनि दलसँग नजिक रहेका मतदाताले नै मत दिएपछि जितेको अवस्था हो। कीर्तिपुरको हकमा कुनै चुनौती देखिँदैन। हामीसँग प्रतिस्पर्धी गर्ने भनेको नेकपा एमाले नै हो। दुई वर्ष यसअघिका मेयरले नै काम गर्नुभएको छ। उहाँले अघि सारेका कामलाई निरन्तरता दिने छौँ। केन्द्र सरकारदेखि बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ। संघीय सरकारमा पनि विकास निर्माणको काम गर्ने मन्त्रालय कांग्रेसकै छ त्यसले पनि सहज हुने भएकाले कीर्तिपुरमा कांग्रेसकै नेतृत्व आउँदा सहज हुन्छ। स्वतन्त्रले सपना बाँडेर भए न नि बजेट कहाँबाट आउँछ। केन्द्रसँग समन्वय र सम्पर्क त उहाँहरूको छैन नि।

स्थानीय सरकार प्रदेश र संघको छायामा परेको गुनासो हुने गरेको छ। तपाईं कसरी समन्वय गर्नुहुन्छ?
संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्ने हो। त्योभन्दा बाहिर गएर काम गर्दैन। बजेटका लागि संघ र प्रदेशलाई आग्रह गर्ने नै हो। त्योभन्दा बाहेक म आफ्नो अधिकार प्रयोग गरेर नै काम गर्ने हो।


संस्थागत भ्रष्टाचार अन्त्य गर्छौं : माओवादी केन्द्र, प्राडा. शिवशरण महर्जन

तयारी कस्तो भइरहेको छ?
घरदैलो सकेका छौँ। जनताको राम्रो साथ र सहयोग छ। यसपटक नतिजा हात पार्न सकिन्छ भन्ने आशा छ।

नगरमा तपाईंले देखेका समस्या के हुन्?
मुख्य विषय त नगर क्षेत्रमा सुशासन कायम गराउनु छ। व्यवस्थित कीर्तिपुर बनाउने मेरो योजना छ। भ्रष्टाचारमुक्त नगर बनाउनका लागि नै मेरो भूमिका केन्द्रित हुनेछ। त्यसैअनुसार विकास निर्माणलाई प्राथमिकता दिने हो। समस्याको पहिचान गरेर त्यसको योजना बनाएर कामलाई गति दिनुपर्छ भन्ने मेरो मान्यता हो। म निर्वाचित भएर आए भने त्यसैअनुसार काम अघि बढाउँछु। खेलकुदका लागि विकास गर्नुपर्ने छ। बाटोघाटो, खानेपानी लगायतका समस्या समाधान गर्नु छ। शिक्षा, स्वास्थ्यको अवस्था सुधार्नु छ। यी सबै समाधान गर्ने मसँग योजना छ त्यसैअनुसार अघि बढ्छु।

यी समस्याको समाधान कसरी हुन्छ?
सुशासन र व्यवस्थित नगरपालिका हुनेबित्तिकै विकास निर्माणको कामलाई गति दिन सकिन्छ। त्यसका लागि निर्मम रूपमा काम गर्नैपर्छ। जब नगरपालिकामा आर्थिक सुशासन लगायतका काम हुन्छन्, समयमा योजना छनोट हुने र सम्पन्न हुन सक्छन्। त्यो भयो भने नतिजा देखिनलाई समय लाग्दैन। योजना र कार्यक्रम बनाउँदा सर्वपक्षीय रूपमा सबै वडालाई समान बजेट विनियोजन गरेर नीति निर्माण गरेर जानुपर्छ।

स्वतन्त्र उम्मेदवारले कतिको चुनौती हुन्छ?
कीर्तिपुरमा मैले त्यो चुनौती देखेको छैन। ११ जना स्वतन्त्र उम्मेदवार छन्। ती स्वतन्त्र उम्मेदवारमध्ये जनताले कसलाई राम्रो भन्ने उनीहरूको स्पष्ट भिजन के हो त्यो छुट्टाउन मुस्किल हुन्छ। धेरै भएकाले जनतालाई नै असहज हुन्छ। भोट विभाजन त हुन्छ होला तर उहाँहरू प्रतिस्पर्धामा आउन सक्नुहुन्न। मैले स्वतन्त्र उम्मेदवारबाट कुनै चुनौती महसुस गरेको छैन।

प्रतिस्पर्धा कोसँग हुन्छ त?
मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी नै हो। जो भए पनि समग्र कीर्तिपुरको विकासमा केन्द्रित हुने हो। त्यसका लागि जनताले बुझेका छन्। विगतको जस्तो अवस्था अहिले छैन। जनताले काम कसले गर्छ भन्ने बुझेका छन्। त्यसैअनुसार मतदान गरेर हामीलाई जिताउँछन् भन्नेमा आशावादी छौँ। प्रमुख दलहरूबीच नै यस पटकको निर्वाचनमा पनि प्रतिस्पर्धा हुन्छ।


दुई महिनाभित्रमा समस्या समाधानको खाका ल्याउछुः राजमान महर्जन, स्वतन्त्र उम्मेदवार

तपाईंको चुनावी तयारी कसरी अघि बढेको छ?
म जनताको विश्वासमा चुनावमा होमिएको हुँ। मेरो सबै तयारी जनताले नै गरिरहेका छन्। सबैको साथ र समर्थनले म निकै उत्साहित छु।

तपाईं किन चुनावी मैदानमा आउनुभएको हो?
लोकतन्त्र आएको यतिका वर्ष भयो। तर जनताले लोकतन्त्रको आभास नै गर्न पाएनन्। दलीय राजनीतिले जनतालाई केही दिएन। न विकास दियो न रोजगारी त न उनीहरूले परिवर्तनको आभास नै गर्न पाए। दलहरूका कारणले देश कहिले बन्दैन भन्ने भाष्य निर्माण हुँदै गइरहेको छ। उहाँहरूले काम नगर्ने र भाषण धेरै गर्न थाल्नुभयो। त्यसबाट जनता निराश भए। यही निराशा चिर्न र आशामा बदल्नका लागि केही गर्छु भनेर म चुनावमा होमिएको हुँ।

तपाईंलाई किन मतदाताले भोट दिने?
मैले विगतमा यस ठाउँका लागि गरेको र अहिले गर्दै आएको कामले नै मलाई जनताले भोट दिन्छन्। १६ वर्षदेखि सरसफाइ अभियानमा छु। कीर्तिपुरलाई विश्वमा चिनाउन मैले भूमिका खेलेको छु। मैले काम गरेर देखाउन सक्छु भन्ने सबैले बुझेका छन्। उनीहरूलाई विश्वास भएकाले मत दिएर निर्वाचित गर्नेछन्।

यहाँका समस्या के–के हुन्?

जे जति समस्या छन् ती समाधान गर्न सकिने छन्। दलका मानिसले मात्रै नबुझेका हुन्। मैले जितेँ भने ती सबै दुई महिनाभित्रमा समाधानको बाटोमा अघि बढ्छन्। मुख्य कुरा योजना र भिजन हो चाहिने, त्यो मसँग छ अरूसँग छैन। योजना बनाएर काम गर्न सक्नुपर्‍यो नि।

अरू पनि स्वतन्त्र छन्, दलीय प्रतिस्पर्धी छन् यस्तो परिस्थितिमा तपाईंलाई असर पार्दैन र?
मलाई जति स्वतन्त्र भए पनि फरक पार्दैन। अहिलेसम्म जनताले कांग्रेस, एमाले, माओवादीलाई भोट दिएका हुन्। अहिले जति भए पनि उनीहरूकै भोट काटिने हो नि। त्यसो हुँदा मलाई नै सहज हुन्छ। अरू पनि स्वतन्त्र उम्मेदवार छन् भनेर जनता अलमलमा पर्नुहुँदैन। यहाँ स्वतन्त्र भनेकै म हो। जसले रातदिन नभनेर यो क्षेत्रको विकासमा सहयोग गर्दै आइरहेको छ। यो कुरा त सबै जनतालाई थाहा छ नि। चुनावको बेलामा स्वतन्त्र भनेर आएर हुँदैन नि। दलका उम्मेदवारलाई पनि जनताले चिनेकै छन्।


सम्बन्धित सामग्री