अमेरिकी अभियोजनकर्ताहरूले गत हप्ता भारतीय अर्बपति गौतम अदानी लगायतलाई २५० मिलियन अमेरिकी डलरभन्दा बढी घुस भारतीय अधिकारीहरूलाई तिर्ने योजनामा संलग्न भएको आरोप लगाएको छ। यस विषयमा 'इकोनोमिस्ट'को अडियो विभागकी वरिष्ठ सम्पादक रोसी ब्लाउ र एशिया कूटनीतिक सम्पादक जेरेमी पेजबीच सोमबार प्रसारित ‘पोडकास्ट’को भाषिक रूपान्तरण यहाँ प्रस्तुत छ:
रोसी: यो हप्ता भारतको महाराष्ट्र राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले ठूलो चुनावी जित हात पार्यो। भारतको सबैभन्दा धनी राज्यमा भएको यो निर्वाचनलाई मोदीको प्रतिष्ठा/समर्थनको रूपमा हेरिएको थियो। यस सालको राष्ट्रिय निर्वाचनमा स्पष्ट बहुमतप्राप्त गर्न नसकेका मोदीलाई यसले बलियो राजनीतिक बल मिल्दै थियो। तर भाजपाको जित अर्को एउटा स्क्यान्डलका कारण अहिले छायामा परेको छ।
जेरेमी: भारतको विशाल व्यापारिक समूह, अदानी समूह दुई वर्षमा दोस्रो पटक विश्वको अर्को कुनाबाट आपराधिक गतिविधिको आरोप खेपिरहेको छ।
अदानी समूहका संस्थापक र अध्यक्ष गौतम अदानी भारतका दोस्रो धनी व्यक्ति हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीका लामो समयदेखिका सहयात्री हुन्। गत हप्ता अमेरिकी संघीय अभियोजनकर्ताहरूले अदानीलाई लगाइएको आरोपले अहिले भारतलाई हल्लाएको छ र प्रधानमन्त्रीका विरोधीलाई भने यसले विरोधको राम्रो अवसर दिएको छ।
रोसी: अभियोगतर्फ अघि बढ्नुअघि, गौतम अदानी कति प्रभावशाली हुन् भनेर बुझाउनुहोस्।
जेरेमी: लगभग 'मोदीको भारत'को पर्यायवाचीझैँ छन्, अदानी। उनी बन्दरगाह र विमानस्थलदेखि लिएर रक्षा, सिमेन्ट र ऊर्जा उद्योगसम्म समेट्ने विशाल व्यापारिक साम्राज्य चलाउँछन्। उनको कम्पनी ऊर्जा उद्योगको सबैभन्दा ठूलो निजीमध्ये एक हो, जसले ६ वटा कोइलाआधारित विद्युत् उत्पादन केन्द्र चलाउँछ। नवीकरणीय ऊर्जा क्षेत्रमा पनि यो धेरै सक्रिय छ। जुन अहिले आरोप खेपिरहेको छ, नवीकरणीय ऊर्जा व्यवसायकै एक हिस्सा हो।
रोसी: अदानीलाई, अझै विस्तृतमा भन्दा अदानी समूहलाई के आरोप लगाइएको छ?
जेरेमी: अमेरिकी अभियोजनकर्ताहरूले गत हप्ता दायर गरेको अभियोगपत्रमा अदानी र अन्य सात व्यक्तिहरूलाई २५० मिलियन अमेरिकी डलरभन्दा बढी घुस भारतीय अधिकारीहरूलाई तिर्ने योजनामा संलग्न भएको आरोप छ। यो रकम भारतीय सरकारी स्वामित्वको सौर्यऊर्जा कम्पनीसँग ठेक्का लिनका लागि तिर्ने योजना थियो। अभियोग पत्रका अनुसार, अदानीले एक पटक स्थानीय सरकारी अधिकारीसँग यो विषयमा छलफल गर्न भेटघाटसमेत गरेका थिए।
अदानी र अन्यले अमेरिकी लगानीकर्ता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई अदानी समूहको भ्रष्टाचारविरोधी अभ्यासबारे गलत सूचना दिएको पनि आरोप छ। अदानी समूहले यी सबै आरोप अस्वीकार गरेको छ।
यी दुई वर्षमा अदानी समूहलाई ठगीको आरोप लागेको यो दोस्रो पटक हो। जनवरी २०२३ मा अमेरिकाको एक सर्ट-सेलर (एक प्रकारको लगानी फर्म वा वित्तीय संस्था)ले उतिखेरको प्रकरणलाई व्यापारिक इतिहासकै सबैभन्दा ठूलो षड्यन्त्र भनेको थियो। अदानी कम्पनीले आफ्नो मूल्य बढाउन अस्पष्ट ‘अफसोर कोष’हरूको प्रयोग गरेको र देखिएभन्दा कम्पनीको वित्तीय अवस्था धेरै कमजोर रहेको आरोप थियो। अहिलेझैँ अदानी समूहले उतिखेर पनि ती दाबीलाई अस्वीकार गरेको थियो र भारतीय बजार नियामकले त्यस प्रकरणमा गरेको अनुसन्धानले कुनै गल्ती, प्रमाण फेला पारेन।
रोसी: अदानीलाई यहाँले मोदीको भारतको पर्याय भन्नुभएको छ र अदानी मोदीका निकट सहयोगी। अहिलेको प्रकरणले मोदीलाई कसरी असर पार्ला?
जेरेमी: ठ्याक्कै भविष्यवाणी गर्न गाह्रो छ, तर उनीहरू धेरै निकट मित्र हुन्। अदानी पश्चिमी राज्य गुजरातका हुन्, जहाँ मोदी स्वयं जन्मेका मात्र होइनन्, सन् २००१ देखि २०१४ सम्म गुजरातका मुख्यमन्त्री रहे। धेरै वर्षदेखि उनीहरू सँगै काम गरिरहेका छन्।
यो अभियोगले मोदीलाई प्रत्यक्ष रूपमा आरोपित गरेको छैन, तर संसद्को हिउँदेसत्र शुरू हुँदै गर्दा यसले भारतको विपक्षीलाई ताजा राजनीतिक शक्ति दिएको छ। अहिले नै संसद्का बहसहरूमा अदानी प्रकरण चर्को रूपमा उठ्न थालेको छ। विपक्षी नेता राहुल गान्धीले गत हप्ता अदानीलाई गिरफ्तार गर्न माग गरे। उनी अब यसै विषयमा संसदीय अनुसन्धानको माग पनि गरिरहेका छन्।
जेरमी: गान्धी भन्दैछन्– प्रधानमन्त्री मोदी सतप्रतिशत यस व्यक्ति (अदानी)लाई जोगाइरहेका छन्। अदानीले भ्रष्टाचारमार्फत सरकारी सम्पत्तिहरू हासिल गरेका हुन् र सोही कारण अदानीले भाजपालाई समर्थन गरेका हुन्।
अदानी भने यी आरोप अस्वीकार गर्छन्। यो काण्डले भारतको न्यायालय र नियामक निकायहरूमा समेत दबाब सिर्जना गरेको छ। सरकारी बजार नियामकले सर्ट-सेलरबाट आएका पहिलेका आरोपहरूको 'व्यवस्थापन'लाई लिएर अब सर्वोच्च अदालतमा नयाँ मुद्दा दायर हुँदैछ। सरकारी नियामक निकाय पनि अहिलेको अमेरिकी घुसकाण्डका आरोपमा छानबिन गर्ने कि नगर्ने भन्नेबारे सोचिरहेको छ।
रोसी: यसले मोदीलाई नै दबाब पर्छ?
जेरमी: गत जुनको आमनिर्वाचन परिणामबाट सिर्जित अझै जटिल राजनीतिक परिदृश्यको सामना मोदी पहिल्यै गर्दै थिए। त्यसो हुँदा अब उनले आफ्नो गठबन्धन साझेदारहरूसँग थप सम्झौता गर्नुपर्नेछ। भारतको अर्थतन्त्र सुस्ताउँदै गर्दा उनी आफ्नै राजनीतिक शिविरबाट समेत दबाबमा परेकै छन्। पछिल्ला केही महिनामा, अलि अप्रत्यक्ष रूपमा आरएसएसले मोदीको नेतृत्वको आलोचना गर्दै आएको छ, जबकि त्यही हिन्दू राष्ट्रवादी संगठन-आरएसएसबाट भाजपा उदाएको हो। यो अवस्थाले मोदीका सम्भावित उत्तराधिकारीहरूबीच शान्त प्रतिस्पर्धा तीव्र बनाएको छ।
भारतकै धनी राज्य महाराष्ट्रमा भाजपाले ठूलो जित हासिल गरेसँगै भाजपा नेताहरू खुशी छन् कि उनीहरूको चुनावी अभियान पहिलेकै लयमा फर्किएको छ। तर यो जितको श्रेय मोदीलाई खासै दिइएको छैन। उनी आफै पनि महाराष्ट्रमा खासै चुनावी प्रचारमा जुटेका थिएनन्। बरु, जितको बढी श्रेय स्थानीय सरकारले प्रदान गरेका सुविधा र आरएसएसद्वारा नै गरिएको मतदाता भेटघाटलाई दिइएको छ। अदानी प्रकरण बढ्दै गर्दा मोदीको राजनीतिक सम्भावना अझ समस्याग्रस्त देखिन थालेको छ।
रोसी: अमेरिकी अभियोगकर्ताबाटै घुसकाण्डको आरोप लागेको हुनाले यस प्रकरणले अमेरिका र भारतबीचको सम्बन्धलाई कसरी प्रभाव पार्ला?
जेरमी: पक्कै भन्न सकिन्छ कि यसले बाइडेन प्रशासनसँग केही तनाव उत्पन्न गर्नेछ। डोनाल्ड ट्रम्पले कुनै न कुनै रूपमा यो मुद्दा टुंग्याउलान् वा कम्तीमा पनि भारतीय सरकारलाई सहयोग गर्न (अदानीलाई सुपुर्दगी गर्न) अत्यधिक दबाब नपर्ला भनेर सम्भवतः मोदी र अदानी दुवै आशा गर्दैछन्। उनीहरूको त्यस्तो आकलन सही हुनसक्छ। तर ट्रम्पको राष्ट्रपति शपथ समारोह समयावधिसम्म धेरै कुरा हुन सक्नेछ। आधिकारिक र अनौपचारिक माध्यमबाट थप जानकारी बाहिर आइसक्न सक्छ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि पनि केही कुरा चुहिन सक्छ। आरोपहरू बाहिर आइसकेपछि अन्य प्रभावित पक्षहरूले पनि आफ्नो पक्षबाट कानूनी कदम चाल्न सक्ने सम्भावना छ।
यो मुद्दाले विशेष गरी भारतको समग्र व्यावसायिक वातावरणलाई निकै गम्भीर रूपमा जाँच-पडताल/सूक्ष्म परीक्षण हुने स्थितिमा ल्याउनेछ। विदेशी कम्पनीहरूले भारतमा लगानी गर्न अप्ठ्यारो मान्ने सम्भावना छ। भारतीय कम्पनीहरूले अमेरिकाभित्र कोष जुटाउन गाह्रो हुने पनि बनाउन सक्छ। अमेरिकी ऊर्जा र पूर्वाधार क्षेत्रमा १० अर्ब डलर लगानी गर्नेजस्ता अदानीका व्यक्तिगत परियोजना पनि प्रभावित हुन सक्छन्।
अदानीले केन्यामा एउटा विमानस्थल सञ्चालन गर्ने सम्झौता गरेका थिए। एक रिपोर्टअनुसार, अदानीमाथि पछिल्लो आरोप सार्वजनिक भएपछि केन्याका राष्ट्रपतिले गत हप्ता सम्झौता रद्द गरेका छन्।
मलाई लाग्छ, यस मुद्दाले ‘मोदी ब्रान्ड’का केन्द्रीय महत्त्वपूर्ण आधारहरूबारे अति गम्भीर प्रश्न खडा गरेको छ, जबकि मोदीले भारतलाई कम भ्रष्ट र व्यापार गर्नका लागि राम्रो स्थान बनाएको भनिने गरेको थियो। यस प्रकरणले मोदीको छवि देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा क्षतिग्रस्त बनाइरहेकोमा कुनै शंका छैन। ट्रम्पको शपथ ग्रहण समारोहपछि यो क्षतिको परिमाण अझ स्पष्ट हुनेछ।