मितव्ययिता र कन्जुस्याइँमा धेरै फरक छ तर नेपाली समाजमा मितव्ययी मानिसलाई प्राय: कन्जुसको उपमा जोड्ने गरिन्छ। थाहा छैन, अन्य समाजमा पनि यस्तो हुन्छ या हुँदैन। गुणस्तर र परिमाणमा सम्झौता नगरीकन विवेकपूर्ण र कमभन्दा कम खर्चमा जीवनयापन गर्नु मितव्ययिता हो। पर्याप्त स्रोतसाधन उपलब्ध हुँदाहुँदै पनि खर्च कम गर्ने नाममा आधारभूत र अत्यावश्यक सामान र सेवामा समेत खर्च नगर्नु, परिमाण र गुणस्तरमा सम्झौता गर्नुचाहिँ कन्जुस्याइँ हो।
यद्यपि, मितव्ययिता र कन्जुस्याइँको परिभाषा आफैँमा 'ट्रिकी' पनि हुन जान्छ। कति कमाइ या सञ्चितिलाई पर्याप्त स्रोतसाधन भन्ने र कुन विन्दुचाहिँ साँच्चै गुणस्तर हो भनेर बुझ्ने भन्ने कुरा चुनौतीपूर्ण हुन जान्छ। 'मौकामा हीरा फोर्नु, बेमौकामा कौडी नतोड्नु', अलि पुरानै उखान हो यो। आवश्यकता पर्दा हीरा पनि फोड्नु (धेरै खर्च गर्नु) तर कुनै कारण नपर्दा कौडी (सानो दरको पैसा) पनि जोगाएर राख्नु भन्ने यो उखानको मर्म हो।
केही दशक अघिसम्म, विशेषगरी पहाडी ग्रामीण क्षेत्रमा मितव्ययिताको अभ्यास लेखकले देखेको हो। अनावश्यक विलासिता त्यहाँ वर्जित थियो। आर्थिक अवस्थामा परिवर्तन र समाजका विभिन्न पाटोमा आएका नवीनतम बदलावले अब मितव्ययिता र खर्चको परिभाषामा धेरै भिन्नता ल्याएका छन्।
स्रोतसाधनको उपलब्धताका कारण एउटै खाले व्यवहार पनि कसैको निम्ति मितव्ययिता हुन्छ भने कसैको निम्ति कन्जुस्याइँ भइदिन्छ। तर पछिल्लो पुस्ताले यी दुवै शब्दलाई एउटै शब्दको रूपमा बुझ्न थालेकोझैँ बुझिन्छ। त्यसले राम्रो संकेत गर्दैन, किनकि जलवायुलगायत अनेकन् कारण मान्छे झनै मितव्ययी बन्न र कम सामानको उपभोग गर्नु आवश्यक छ। आकाश, धर्ती र पानीमा भएको प्रदूषण र विषाक्तताले हामीसँग त्यो माग गरिसकेको छ। तर अहिलेसम्म पनि थोरै मात्र मान्छेले यो कुरा बुझेका छन्।
नेपाली समाजमा देखिने धेरै खर्च, जसको कुनै औचित्य छैन, केवल सामाजिक प्रतिष्ठा र देखासिकीका कारण बढेका छन्। यसको प्रमुख कारण सामाजिक सञ्जाल, विज्ञापन र फिल्म आदिको प्रभाव हो। यी माध्यमबाट परेको देखावटी जीवनशैलीको प्रभावले मानिसलाई अनावश्यक र महँगो वस्तु तथा सेवा आदिमा आफ्नो रकम खर्च गर्न उक्साउँछ। परिणामस्वरूप, मितव्ययिता बिस्तारै पुरानो अवधारणाझैँ बनिरहेको छ।
बितेका केही दशकयता रोजगारीको अवसर सिर्जना नहुँदा र परम्परागत कृषि कर्मबाट जीवन सहज तरिकाले धान्न नसक्दा/राम्रो कमाइ गर्न नसक्दा लाखौँ युवा गाउँ छोडेर शहर तथा परदेशतिर हानिएका छन्। परम्परागत कृषि कर्म तथा ज्याला मजदुरीबाट भन्दा केही बढी आय-आर्जन गर्दै आएका उनीहरू मात्र नभएर तिनी आश्रित परिवारका सदस्यमा पनि पर्याप्त वित्तीय साक्षरता छैन।
वित्तीय साक्षरताले कसरी जिम्मेवारीपूर्ण ढंगले खर्च गर्ने भन्नेबारे हामीलाई सिकाउँछ। त्यसकै अभावका कारण फजुल खर्चमा तिनको लगाव बढ्दो छ। प्रियजनको परदेशको दुःखलाई आत्मसात् गर्न नसक्दा यताका आश्रित परिवार झिलिमिलीपूर्ण तडकभडकलाई बढवा दिँदै छन्। पसिनाको कमाइले दीर्घकालीन पुँजी निर्माणमा भने खासै प्रभाव पार्न सकेको छैन।
कृषिमा आश्रित जनशक्ति कम हुँदै जाँदा दैनिक उपभोग्य-खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुसमेत आयात गरिरहेका छौँ हामी। वैदेशिक रोजगारीको बढ्दो प्रभाव, शहरकेन्द्रित बसाइँ तथा उत्पादनसँग टाढिँदै गएको नेपाली समाजको सम्बन्धले गर्दा चाडपर्व मनाउने क्रममा मात्रै होइन, दैनिक जीवनयापन पनि दिनानुदिन महँगिँदै छ। खाद्यान्न लत्ताकपडाजस्ता आधारभूत आवश्यकताभन्दा पनि देखासिकी प्रभावले अन्य शीर्षकको खर्च बढ्न थालेका हुन्।
आम्दानीको सीमित स्रोत र खर्चको असीमित शीर्षकले गर्दा देश बाहिरबाट भित्रिएको विप्रेषण रकमको ठूलो हिस्सा वस्तु आयातमा बाहिरिने गरेको छ। यसरी हेर्दा वैदेशिक रोजगार र विप्रेषणले दीर्घकालीन पुँजी निर्माणमा सहयोग पुर्याउन नभई केवल जीवनयापनको निम्ति मात्रै उपयोग भइरहेको देखिन्छ।
बृहत् अर्थशास्त्रले एउटाको खर्च अर्कोको आम्दानी हो भनेर व्याख्या गर्छ। तर हाम्रोजस्तो आयातमुखी बजार अर्थतन्त्र भएको मुलुकका लागि भने हाम्रो खर्च हाम्रै आम्दानी हुन सक्दैन। हामीले खर्च गर्ने रकम सिधै र घुमाउरो तरिकाले अन्तर्राष्ट्रिय बजारमा पुग्ने हुनाले हाम्रो खर्चालु जीवनशैलीले हामी नेपालीको आन्तरिक अर्थतन्त्रलाई सबल बनाउन खास सहयोग गर्दैन।
सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा आम मानिसमा एक अर्कालाई देखाउने गरी जीवनशैली अपनाउने संस्कृति मौलाउँदै गएको छ। आफ्नो खास र आधारभूत आवश्यकता, जिम्मेवारी, भविष्यको योजना र दीर्घकालीन आम्दानीको स्रोत के हो भन्ने बुझ्न सक्दा मान्छेले अहिलेझैँ मनपरी खर्च नगर्दो हो।
आम्दानी र खर्चको अनुपात र सन्तुलनमा कुनै वास्ता नगरी अन्धाधुन्ध खर्च गर्ने प्रवृत्ति खराब संस्कृतिका रूपमा विकास हुँदैछ। आम्दानी र खर्चको अनुपातको सन्तुलन कायम राख्न नसक्दा धेरैको जीवनमा उतारचढाव आएको देखिन्छ। अल्पकालीन आम्दानी भएका बखत थैली खोलेर खर्च गर्नेहरूको जीवन आम्दानी बन्द भएको अवस्थामा के हुन्छ? समाजका कतिपय उदाहरण हेर्दा देखिन्छ– उनीहरू ऋणै गरेरै भए पनि पुरानै फुर्तिफार्तीको जीवन निरन्तर चलाउन खोज्छन् र बिस्तारै त्यसकै पासोमा पिसिइनथाल्छन्।
सन्तुलित पोषणयुक्त खाना, सफा पानी, न्यानो ओछ्यान, न्यानो कपडालाई व्यक्तिको न्यूनतम भौतिक आवश्यकता मान्न सकिन्छ। तर बजार, विज्ञापन र देखासिकीको चपेटामा परेर मान्छेहरूले धेरै अनावश्यक वस्तुलाई पनि अत्यावश्यक ठहर्याएका छन्। बजारले आफ्ना सामान बेच्नलाई अनेक उपाय गरिरहेकै छ।
नेपालमा उत्पादन नहुने र विदेशबाट आयात गरिएका कस्मेटिकलगायत शृङ्गार सामग्री खरिदमा समेत आम नेपाली महिलाको ठूलो रकम खर्च हुन थालेको छ। जबकि 'ह्वाइटनर' (फेयरनेस) क्रिम, लिपस्टिकदेखि पोलिसजस्ता सामग्री लगाउनुभन्दा नलगाउँदै स्वास्थ्य बढी सुरक्षित भएको विज्ञहरूले बेलाबेला भन्ने गरेका छन्। तर अनेकन् मोडलमार्फत विभिन्न भाष्य स्थापित गर्ने बजारले लक्षित समूहलाई प्रभाव पारिरहेकै छ। आरोग्यमय जीवनमा खर्च गर्न सकिने पैसा सौन्दर्य प्रसाधनमा खर्च गर्दा फेरि पनि पैसा बिदेसिएको छ। हुर्कँदो नवपुस्ता उसैगरी ग्याजेट र घडीलगायत सामग्रीमा चर्चित र लक्जरी ब्रान्डतिर आशक्त छ। मुखमा माडमा छैन, कुन्नि केमा घिउ भन्ने उखान त्यहाँ लागू भइरहेको छ। यसले पनि देशको पैसा बिदेसिएकै छ।
कतिसम्म भने चाडबाडपिच्छे फरक लुगा, बिहे व्रतबन्धपिच्छे नयाँ सुट र सारी लगाउने अभ्यास बढ्दो छ। एउटा भोजभतेरमा लगाएको लुगा अर्कोमा लगाउन नहुने विचित्रको मनोविज्ञान स्थापित हुँदैछ। यसले फेरि पनि हाम्रो पैसा विदेश नै पठाइरहेको छ।
हुन त कसैलाई पनि तिमीले गरेको खर्च फजुल र अनावश्यक हो, यसो गर, उसो नगर भनेर व्यक्तिगत रूपमा प्रश्न उठाउने अधिकार दोस्रो व्यक्तिलाई हुँदैन। कमाउने र खर्च गर्ने अधिकार सबैलाई छ। तर जिम्मेवारीपूर्ण खरिद जिम्मेवार परिवार र परिवारका सदस्यको हो। जिम्मेवार नागरिकले आफ्नो समाज र देशको आर्थिक अवस्था हेरेर पनि त्यहीअनुसार खर्च गर्नुपर्छ। एक जनाले गरेको खर्चको बहुआयामिक असर पर्ने हुँदा फजुल खर्च गर्नुहुन्न।
व्यक्तिगत तवरमा मात्रै नभएर सामाजिक र राष्ट्रिय स्तरमै फजुल खर्च व्यापक छ। सरकारी कार्यालयहरूले समेत गर्ने खर्चिला भ्रमण, महँगा सवारीसाधन खरिद र महँगै यात्रा, भोजभतेर, अनावश्यक सजावट, तोरण, खादामाला, तथाकथित 'मायाको चिनो' र तक्माहरू त्यसका उदाहरण हुन्। नागरिकको करको पैसाको यो दुरुपयोग हो। भ्रष्टाचार हो।
त्यसो हुँदा व्यक्ति र समाजदेखि हाम्रा विभिन्न तहका सरकारले मितव्ययिताको अभ्यास गर्न जरुरी छ। त्यसो गर्न सक्दा दीर्घकालीन पुँजी निर्माण र आन्तरिक अर्थतन्त्रको मजबुतीका लागि बलियो आधारशिला तय हुनसक्छ।
यसका लागि वित्तीय साक्षरता र सामाजिक दृष्टिकोणमा परिवर्तन आवश्यक छ। समाजको दृष्टिकोणमा सुधार र जीवनशैलीका विकल्पहरूको चयन गर्दा, मितव्ययिता र विवेकपूर्ण खर्चका आदर्शहरूलाई पुनः स्थापित गर्नुपर्छ। फजुल खर्च घटाउँदा राष्ट्रको समग्र अर्थतन्त्रका लागि लाभकारी हुनेछ।
सोच र बुझाइलाई परिवर्तन गर्न सक्ने तथा समाजका प्रभाव पार्ने व्यक्तित्वबाट सरल तथा मितव्ययी जीवन शैलीको अनुसरण हुने हो भने नेपालीहरूको अनावश्यक खर्चमा खेर गइरहेको रकमको ठूलो हिस्सा बचतमा परिणत हुनेछ र जसले दीर्घकालीन पुँजी निर्माणमा टेवा पुर्याउने छ।
समाजमा प्रभाव रहेका राजनीतिक कार्यकर्ता-अगुवा, कलाकार, शिक्षक कर्मचारी जोसुकैले मितव्ययिताको उदाहरण आफू बने तिनबाट धेरैले सिक्न सक्थे। सादा जीवन र उच्च विचारको आदर्श फैलाउन सहज होला। त्यससँगै स्कुलहरूले पनि आफ्ना विद्यार्थीलाई वित्तीय साक्षरता दिनु आवश्यक छ। सानैबाट व्यक्तिलाई मितव्ययी जीवन जिउन सिकाउँदा तिनले आफूले पाएको शिक्षा सबैतिर फैलाउन प्रयत्न गर्नेछन्।