Thursday, January 23, 2025

-->

पर्दाले आँसु झार्दा व्यवहारमा के?

आँसुको असर लामो समय किन टिक्दैन भने उत्पीडित समुदायको यस्तो अवस्था हुनु पछाडिको कारण धेरैले बुझ्न चाहँदैनन्। बरु यथार्थबाट भाग्न चाहन्छन् संरचनात्मक लाभांशवालाहरू।

पर्दाले आँसु झार्दा व्यवहारमा के 

भर्खरै किशोरवयमा टेक्दै गरेको त्यस्तै कक्षा ७/८ कक्षामा पढ्ने किशोर दौँतरीसँग हाँस्दै रमाउँदै कतै खेल्न जाँदै हुन्छ। बाटोमा एक्कासि एक जना पाका बाजेसँग भेट हुन्छ। उनी अलि टर्रो स्वरमा भन्छन्, ‘ओइ केटा तँ लालेको नाति हैनस्?’ 

एकै छिन अघिसम्म उल्लाससाथ खुट्टा उचाल्दै पुतलीझैँ उडिरहेको किशोर टक्क रोकिन्छ। मलिनो र दबिएको स्वरमा स्वरमा ऊ भन्छ, ‘हजुर हो।’ उसको उत्तर सकिन नपाउँदै बाजे भन्छन्, ‘ल उसो भा यो भारी उठाएर हिँड् त।’ केटो घोसे मुन्टो लगाउँछ।

किशोरका साथी एकअर्कालाई हेराहेर गर्छन्। ‘ल हेर् अटेरी गरेको, तँलाई हाम्रो घरको जुठोपिठो नपचेको?’ तिमारु त हाम्रा कटुवाल हौ, हिजो मात्र तेरी आमाले बाली थापेर गई।’ किशोर चुपचाप आफूभन्दा ठूलो धोक्रो बोकेर बाटो लाग्छ। यो दृश्य कुनै चलचित्र वा टेलिशृंखलाको होइन। कटुवाल परिवारमा जन्मेको एक पहाडिया किशोरको अनुभव हो।

‘तँ बाहुनको छोरो भएर जाबो सार्कीलाई जित्न सकिनस्, यहाँ रोएर हुन्छ?’ लेखक आहुतीले स्कुले जीवनको कुनै कक्षामा प्रथम हुँदा साक्खै भोगेको यथार्थको शाब्दिक चित्रण।

‘शुष्मा, जीवनमा सबै गर्नु तर दलितलाई कहिल्यै साथी नबनाउनु, मेरो आमाबाले भन्नु भएको, तिमी पनि नबनाऊ ल,’ कक्षा ९ मा पढ्दाताका मिल्ने साथीले भनेको शब्द। साथीलाई पङ्क्तिकार स्वयं उत्पीडित समुदायको भएको त्यतिखेर थाहा थिएन।

संरचनात्मक लाभांश पाउने समुदायमा जन्मेको कुनै पत्रकार, जसलाई वर्गीय र जातीय विभेदमा कुनै चासो छैन। जातव्यवस्था, संरचनात्मक लाभांश, महिला, दलित, मुस्लिम, आदिवासी, यौनिक तथा अल्पसंख्यक समुदायबारे सतही अनि फितलो ज्ञान छ। देशको कुनै विकट गाउँ पुग्छ, स्थानीय बासिन्दाको अघि क्यामरा र माइक तेर्साउँछ। सरकारको नजरमा कहिल्यै नदेखिने र नभेटिने स्थानीय विपन्न वर्गका कुनै व्यक्तिसँग अन्तर्वार्ता लिँदै प्रश्न सोध्छ, ‘पिता पुर्खाले गरेको काम अहिले किन नगरेको?’

‘बाउबाजे अर्काको कमारो भएर काम गरे, उहाँहरूको रहर नभएर बाध्यता थियो त्यो, तर अब केही हदसम्म समय बदलिएको छ। बाउबाजे र आमाबज्यैले जे गरे, अब हाम्रो पुस्ताले त्यही गरेर जीविका चल्दैन। अहिले त परम्परागत सीपभन्दा पनि आधुनिक शिक्षा आवश्यक रहेछ। त्यसमाथि मानिस चेतनशील बन्न शिक्षा एकदम जरुरी रहेछ। त्यही भएर हामी एक छाक खाएर भएरै सन्तानलाई भने पढाउन थालेका छौँ।’ जवाफ सुन्नेबित्तिकै पत्रकार नाक खुम्चाउँदै प्रतिप्रश्न गर्छ, ‘यसरी त तपाईंको संस्कार र संस्कृति मासिने भयो।’

यो त्यही संस्कार हो, जसले विष्ट बराजुको सेवामा पुस्तौँपुस्ता झन्डै अर्धचेत अवस्थामै बाँच्यो। बाँच्न बाध्य तुल्याइयो। त्यो संस्कार, जसले मान्छेलाई श्वास फेर्नेसमेत छुट दिएन। त्यस्तो संस्कार मासिने डर 'संरचनात्मक लाभांश पाएर माइक समाउने हैसियतसम्म पुगेका पत्रकार तथा राष्ट्रप्रेमीहरू'लाई धेरैजसो हुन्छ। 

महिला, दलित, मुस्लिम, आदिवासी, यौनिक तथा अल्पसंख्यकले जब हक र अधिकारको आवाज उठाउँदा त्यस्ता आवाजले राष्ट्र र राष्ट्रियतामाथि खतरा पारेको देख्छन् लाभांशवाला सज्जन। आवाज उठाउनेहरूलाई लाभांशवालाहरू अनागरिक या द्रोही ठान्छन्। मिलेर बसेको समाज भाँड्ने डलरवादीको उपनाम भिराइदिन्छन्। 

प्रसंग जोडौँ पछिल्लो दिन चर्चामा रहेको नेपाली चलचित्र 'पूर्ण बहादुरको सारंगी'को। चलचित्रको पात्रले गन्धर्व समुदायका प्रतिनिधित्व गरेको भए पनि अधिकांश दलित समुदायको भोगाई चलचित्रमा भेटिन्छ र त्यस्तो भोगाई अहिले पनि यथावत् छ। कात्तिक १५ मा रिलिज भएको यो चलचित्रले दर्शकको राम्रो साथ पाएको बुझिन्छ। 

जातव्यवस्थाका आधारमा निर्मित समाजमा ३ हजार/३५ सय वर्षदेखि दलित समुदाय शोषण र दमन सहेर बाँचेको छ। त्यसको लेखाजोखा अढाई घण्टाको चलचित्रले नै त कहाँ गर्न सक्ला? तर, प्रत्येक पल र पाइलामा हुने असमानता, अपमान, तिरस्कार र विभेदबाट गुज्रिएका दलित समुदायका पुस्ताको आत्मबल कसरी जातीयताको पैतालामा कुल्चिएर राखिएको थियो र छ भन्ने फिल्ममार्फत केही हदसम्म महसुस गर्न सकिन्छ। 

पूर्णबहादुरको सारंगीमा मानिसहरू भक्कानिनु चाहिँ एकै छिनको भावुकता हो, भलै केही हदसम्म यसले कतिपयलाई उत्पीडनविरुद्ध बोल्ने उभिने भावनात्मक स्मरण दिन पनि सक्छ। आँसुको असर लामो समय किन टिक्दैन भने उत्पीडित समुदायको यस्तो अवस्था हुनु पछाडिको कारण धेरैले बुझ्न चाहँदैनन्। बरु यथार्थबाट भाग्न चाहन्छन् संरचनात्मक लाभांशवालाहरू। त्यसो हुँदा फिल्म हलभित्र  झरेको आँसु घर पुगिसक्दा सुकिसक्छ।

सामाजिक यथार्थ बुझ्न नचाहने र बुझ्न नखोज्ने समाजमा यस्ता चलचित्र एक छिनका भावना मात्र हुन्, चलचित्र हेरुन्जेल मन भक्कानिन्छ। घर पुगेपछि उही पुरानै अभ्यास र संस्कार जारी रहन्छ। इतिहासको लामो यात्रा गरेर यहाँसम्म आइपुग्दा पनि सीमान्तकृत समुदाय चलचित्रमा देखाएझैँ संघर्ष गर्न अझै बाध्य छन्। चलचित्रमा देखाएझैँ पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा केही बदलिएजस्तो देखिन्छ, तर विभेदको स्वरूप बदलिएर पुस्तान्तर भएको छ। 

चलचित्रको एउटा दृश्यमा जनगणनाका लागि खटाइएका दुई व्यक्ति आइपुग्दा मास्टरले समेत नमस्कार गरेर इज्जत गरेको देखाइएको छ। हाकिमका रूपमा देखाइएमध्ये एक जना विश्वकर्मा थरका व्यक्ति भन्छन्, ‘मान्छेको कदर उसको थरले होइन, योग्यताले हुन्छ।’ चलचित्रकै सो डाइलगमा झैँ सोच्थेँ म पनि। आफ्नो गाउँमा हुँदा लाग्थ्यो, जातीय विभेद, हेला र अपमान त गाउँमा मात्रै हुन्छ होला। गाउँमा पढेलेखेका मान्छे नभएर विभेद भएको होला। पढेलेखेका मान्छेहरू बस्ने शहरमा त पक्कै योग्यताको कदर हुन्छ होला।

तर, जब आफ्नो उज्ज्वल भविष्यको कल्पना गर्दै काठमाडौँ छिरेँ, यहाँसमेत विभेद महसुस गरेँ। शिक्षित र विकसित राजधानी शहरमा बस्नेले कसरी विभेद गर्ला भनेर सोचेको त, यहाँ पनि गल्लीगल्लीभित्र विभेद भेटिने रहेछ। यस्तो लाग्यो, जात व्यवस्थामा आधारित समाजमा योग्यताभन्दा भारी जात नै हुने रहेछ। 

यसै विषयमा अर्को सन्दर्भ जोड्न चाहेँ। कुनै चलचित्रको कार्यशालामा एक जना दलित समुदायका निर्देशक/निर्माता कार्यशालाको 'मेन्टर'को रूपमा आउँदा सोही कार्यशालाकी एक सहभागीले भनिन्, ‘‘हामीलाई सिकाउने उनको हैसियतको कहाँ छ र, कोही नभएर मात्र उनलाई मौका दिएको हो।’’ 

यसो सुन्दा ती सहभागीले विभेद र गाली नगरेझैँ लाग्छ, तर कानलाई 'सभ्य' यस वाक्यको गहिराई केलाउने हो भने, दलित समुदायको योग्यता, तिनको मेहनत र सफलतासम्म पुग्न गरेको तिनको संघर्षको यस समाजमा अहिले पनि मोल छैन। दलित समुदायका व्यक्ति उच्च स्थानमा पुग्न सक्दैन, पुगे भने जालझेल वा घुमाउरो बाटोबाट पुग्छन् भन्ने ठान्छन् कतिपय 'अध्ययनशील, प्रगतिशील, बुद्धिजीवी'हरू समेत। हे अज्ञान! 

चलचित्रका संवादमध्ये एउटा छ, ‘क्रान्ति त मेरा बाले उहिलेबाट गरिरहेका छन्, सारंगी बजाएर।’ हो, दलित समुदायले समाज चलायमान बनाउन आफ्नो श्रम र सिपलाई सेवाका रूपमा वाध्यात्मक योगदान दिइरह्यो, पुस्तौँपुस्ता। आरनमा फलाम पिटेर होस्, कामी दाइले हँसिया र घनमार्फत क्रान्ति गरिरहे। सियोमा धागो हाल्दै दमिनी दिदीहरूले क्रान्ति गरिरहिन्। छालाका जुत्ता बनाएर सार्की काकाले र सारंगी बजाउँदै हिँड्ने जोडीले संगीतमार्फत क्रान्ति गरिरहे। आफ्नो पहिचानका लागि उमा वादीले अर्धनग्न भएर प्रदर्शन गरिन्। ढल, नाली, सेप्टिक ट्यांक सफा गर्न बाध्य बनाइएका पोडेहरूले पनि आफ्ना कर्ममार्फत क्रान्ति गरे।

जसोतसो दुई मुठी सास र धुकधुकी बचाउन गरिएको जीवन क्रान्ति। 

फलाना समुदायले बिना ज्याला श्रम गरिरहुन्, सारङ्गीजस्तै करङ बनाएरै भए पनि अन्य समुदायको सेवा गरून् र संस्कार जोगाउन् भन्नेविरुद्ध अब भने सनैसनै साँच्चै क्रान्ति गर्दै छन् दलित समुदायका खासगरी युवा पुस्ता। हामीले के बुझ्नुपर्छ भने अन्य समुदायभन्दा पुस्तौँ पछाडि पारिएका दलित यहाँसम्म आइपुग्न गरिएको क्रान्तिसमेत कम छैन। यो भयो स्वयं उत्पीडनमा परेका समुदायको कुरा।

अहिले सामाजिक सञ्जालमा फिल्म हेर्न जान रुमाल या 'टिस्यु पेपर' जरुरत भएको बताइने गरिँदै छ। फिल्मलाई एक प्रकारले ट्रोल गरिँदै छ। कतिपय मान्छे चलचित्रका दृश्यबाट भक्कानिएका छन्, आँसु झारेका छन्। कतिपयले त यसलाई रुवाउने फिल्मको उपनामसमेत दिएका छन्। 

सज्जन वृन्द, एउटा पात्रको फिल्मी कथाले यहाँहरू भक्कानिनुभयो तर उत्पीडित समुदायको त यो दैनिकी हो। पछिल्लो समय केही हदसम्म जीवनशैलीमा परिवर्तन भए पनि अधिकांश दलित कष्टपूर्ण जीवन जिइरहेका छन्। हजारौँ वर्ष अघिदेखिको जाँतोमा पिसिनुको आँसु आज पनि पिइरहेका छन्।

तर संरचनात्मक लाभांशले तयार पारेको सामाजिक संरचनाको विरोधमा किन आवाज उठाउन किन अप्ठ्यारो मान्छन् पढेलेखेका युवा? किन विकृतिविरुद्ध उभिन अन्कनाउँछन् आँसु झार्ने युवाहरू नै? प्रश्न गर्ने चेतना किन कमजोर छ हाम्रा युवायुवतीमा? 

चलचित्रका संवाद, देखाइएका घटना पञ्चायत र गणतन्त्रको शुरूआती चरणजस्तो देखाइएको भए पनि खासगरी दलित महिलाको अवस्थामा भने खासै परिवर्तन हुन सकेको छैन। त्यसमाथि दलित समुदायको समस्यामध्ये सबैभन्दा पेचिलो र ठूलो समस्या भूमिको भएको बुझ्नुपर्छ। 

त्यसो हुँदा 'चलचित्रले रुवायो र मन जित्यो'मा मात्र सीमित नभएर उत्पीडित र सीमान्तकृत समुदायको हक र अधिकारको लागि पनि आवाज उठोस्। दलित समुदाय आत्मसम्मान र अधिकारको लागि पिल्सिन बाध्य बनाइएको विषयलाई बहसको रूपमा अघि बढाउने प्रयत्न होस्।


सम्बन्धित सामग्री