Thursday, January 23, 2025

-->

गाउँ: बुहारीलाई ‘सुमर्ने’देखि नेता बनाउनेसम्म

यस पटक हाम्रो गाउँमा ठूला मादल, सोरठी नाच्ने पहिरन, लय हालेर भट्याउने उस्ताद, सुरिलो भाकामा मुरलीसहित गाउँभरि सबैको स्वामित्व र सहभागिता रहने गरी भैली निस्किएन।

गाउँ बुहारीलाई ‘सुमर्ने’देखि नेता बनाउनेसम्म

कहिलेकाहीँ स्मृतिबाट लगभग हराइसकेका शब्द फेरि सुन्दा त्यसले पुरानो समयमा डोहोर्‍याएर लैजान्छन्। यस पटक जन्मघर पुग्दा त्यस्तै भयो। गाउँकै एक महिला छोराको बिहेको केही दिनमै बितिछन्। त्यही प्रसंगमा गाउँले वृद्धाले भन्नुभो, ‘छोर्छोरी हुर्काउन, पराइलेखाई गराउन मस्तै दुःख गरिन्, तर सुखभोग गर्ने बेला छोराको ब्यादान गर्नेबित्तिकै  ब्वारी सुमर्न नपाई बितिन्।’ सुमर्नुको अर्थ काममा लगाउनु, कजाउनु हो। भाले पशुको प्रजनन शक्ति नष्ट पार्नु या ‘खसी पार्नु’ पनि हो। खलंगा, सल्यानतिर निक्कै चलेको शब्द हो यो।

१८–२० वर्ष अघिसम्म पनि अधिकांश बुहारीको दर्जा घरमा सासूससुरा र श्रीमान‍्को आदेश पालकको थियो। गाउँमा धेरै बुहारी हुने सासूलाई ‘धेरै बुहारी सुमर्न पाकी भाग्यमानी’ भनेको समेत सुनिन्थ्यो। आफ्नै स्कुले सहपाठीले आफू वैदेशिक रोजगारीमा जानुअगाडि ‘बाआमाका लागि बुहारी’ बिहे गरिदिएका थिए।

जमाना बदलियो, अब अरनखटन दुर्लभ छ। दुई वर्षअघि ‘गाउँकै छोरीबुहारी’ समेतलाई यही गाउँले वडा अध्यक्षको उम्मेदवार बनायो र जितायो। शारदा नगरपालिका–३ सल्यानकी वडा अध्यक्षमा तुलसा भण्डारीले बाजी मारिन्। 

साँचो अर्थमा गाउँमा समेत अहिले महिला सशक्तीकरण देख्न पाइन्छ। सशक्तीकरणका आयाम धेरै छन्। कतिपय बलपूर्वक भएका छन् भने कतिपय स्वतःस्फूर्त। परिवर्तन अझै धेरै पक्षमा हुन बाँकी छ।

प्लास्टिक प्रदूषण र पर्यावरणीय चेत: भयावह
प्रदूषण र पर्यावरणीय मुद्दामा शहर त बिग्रेबिग्रे, शहरोन्मुख गाउँहरूले पनि शहरकै बाटो रोजे। नेपालमा आम रूपमा नदीको समानान्तर रूपमा राजमार्ग छन् र राजमार्गको छेउछाउ नै शहर र बस्ती बाक्लिएका छन्। राप्ती राजमार्गको ठूलो खण्ड पनि सल्यानको सबैभन्दा ठूलो नदी शारदा नदीको समानान्तर रूपमा अघि बढेको छ।

दाङबाट सल्यान पुग्दासम्म राजमार्ग छेउछाउ छरपस्ट फ्याँकिएका चाउचाउ, चिप्स, गुट्खाका खोल र पानीका बोतलले हाम्रो पर्यावरणीय सचेतताको स्तर देखाइरहेका छन्। दाङ, तुल्सीपुरबाट ५५ किलोमिटर यात्रा गरेपछि पुगिन्छ सल्यानको ठूलो बजार श्रीनगर। यो तिहारको अघिल्लो दिन बिहान हुस्सु लागेको थियो। बजारमा मानिसहरू दाउरा, बिस्कुट-चाउचाउका कार्टुन र प्लास्टिकसमेत बालेर आगो तापिरहेका थिए। 

श्रीनगर बजारलाई बीचैबाट चिरेर शारदा नदीको सहायक नदी सुकेखोला बगेको छ। नाम सुके भए पनि खोलाको बहाव ‘फुके’ नै छ। फराकिलो बगरसहित बग्ने सुकेखोला वरपर अहिले बडेमानका पर्खाल लगाइएका छन्, जसका कारण खोला खुम्चेको छ। श्रीनगर बजारभन्दा एकदुई किलोमिटरमाथि यही खोलाको भित्तोतर्फ नगरपालिकाको ‘डम्पिङ साइड’ छ। त्यहाँको ‘लिच्चड’ खोलामा झर्छ र केही तलको शारदा नदीमा मिसिन्छ। सुकेखोलामाथिको अत्याचारका अनेक दृश्य त श्रीनगर बजारमै देख्न सकिन्छ। हरेक घरको फोहोरको नाली, प्लास्टिक, रक्सीका सिसीदेखि मरेका जनावरलगायत जेसुकै यही नदीमा मिसिन्छ। 

दुई वर्षअगाडि दशैँताका आएको भीषण बाढीले सुकेखोला उर्लिएर बजार पस्यो। तर मान्छेहरूले तटीय क्षेत्रमा टाँसेर भौतिक संरचना बनाउन छोडेका छैनन्। यस पछाडिको तर्क के छ भने आजसम्म त खोला मानव बस्ती र संरचना बिगार्ने गरी उर्लिएको छैन नि त! तर बुझ्नुपर्ने कुरा के भने जलवायु परिवर्तनका कारण बर्सातको तीव्रतामा व्यापक फेरबदल भइरहेको छ। दुई महिनाअघि काठमाडौँमा आएको बाढी र केही महिनापहिले भारतको केरला राज्यको वायनाड जिल्लामा आएको बाढी ‘हाइ इन्टेन्सिटी रेनफल’को परिणाम हुन्। अहिले विश्वव्यापी रूपमा तटीय क्षेत्रबाट अलि टाढा मात्र मानव बस्ती र संरचना बनाउने अभ्यास शुरू भइसकेको अवस्थामा हामी भने खोला छेउमै टाँसिएर संरचना बनाइरहेका छौँ। यसले कुन दिन कस्तो भयावह परिणाम ल्याउने हो त्यो अहिले कल्पना गएन पनि अप्ठ्यारो छ।

श्रीनगर बजारबाट थोरै माथि उक्लिएपछि सडक किनारमा दुई तर्फ खुला नाली छन्। ती नाली पनि प्लास्टिकले भरिएका छन्। छेउकै एक चौराहाबाट एउटा बाटो रुकुमतर्फ लाग्छ। म उक्लिएँ सल्यानको खलंगातर्फ। श्रीनगरबाट माथि लुहापिङ्ग डाँडामा छ सल्यानकै सबैभन्दा पुरानो स्कुल, त्रिभुवन जनता माध्यमिक विद्यालय, जुन स्कुलमा पूर्व प्रधानमन्त्री मरीचमान सिंह कुनै समय हेडमास्टर रहेका थिए। बिदाको समय स्कुल सुनसान हुने नै भयो। स्कुलअगाडि विशाल चौर छ। तर चौरभरि छरपस्ट चाउचाउ, चिप्स र पानीका बोतल छन्। चौर किनारमा आगोले डढाउन नसकेर बाँकी रहेका बोतल र चिप्सका खोल देखिन्छन्।

सन्दर्भ: दानशीलता
छिमेकी भरार्नी भाउजू उमेरले ८० को उकालोमा हुनुहुन्छ। थर भण्डारी भएकोले अपभ्रंश हुँदै ‘भरार्नी’ भनिएको होला। उमेरले हजुरआमासरह भए पनि उहाँ हाम्री आमालाई बज्यै भन्नुहुन्छ। उहाँ हाम्री आमाको दुःखसुख बिसाउने साथी पनि हुनुहुन्छ। हामी भने उहाँलाई भाउजू भन्छौँ। दुई छोरीकी आमा उहाँ एक्लै हुनुभएको झन्डै चार दशक भयो। शरीर गल्दै गए पनि उहाँको दैनिक सक्रियता लोभलाग्दो छ।

सम्पत्तिका नाउँमा एउटा सानो खरले छाएको भुइँतल्ले घर र घरछेउको खनिखोस्री गर्ने बारीबाहेक अर्थोक बाँकी छैन, तर आत्मसम्मानले आर्जेको वैभव त कति कति! केही वर्षअगाडि उहाँले आफ्नो नाउँको नौ आना नामी  जग्गा वडा स्वास्थ्य कार्यालयका लागि दान गरिदिनुभयो। अहिले त्यहाँ उक्त कार्यालय भवन बनिसकेको छ। उहाँकै प्रेरणाले उहाँकै आफन्तहरू सावित्रीदेवी भण्डारी र अनिता भण्डारीले १६ आना जग्गा वडा कार्यालयको निमित्त दान गर्नुभयो। उहाँहरूले पनि पुगिसरी भएर दान दिनुभएको होइन। 

उहाँहरूको यो दानको उत्प्रेरणा के होला? अनुमान मात्र गर्न सकिन्छ। अनि घोत्लिन्छु, डलरे-अर्बपति भएर पनि शृङ्खलाबद्ध रूपमा सरकारी जग्गा हडप्ने ‘उद्योगपति’को जीवन आदर्श के होला भनेर। भरार्नी भाउजूको अर्को इच्छा छ– अहिले गुजारा गर्न भोगचलन गर्दै आएको घरबाससहितको जग्गा पनि आफ्नो शेषपछि यस्तै मानव कल्याणको काममा लगाउने। उहाँहरूको यो साँचो अर्थको समाजसेवाका लागि कोटिकोटि प्रणाम।

सांस्कृतिक बदलाव: चिन्ताजनक
यस पटक हाम्रो गाउँमा ‘ठूलो भैली’ निस्किएन। ठूलो भैलीको अर्थ हो ठूला मादल, सोरठी नाच्ने पहिरन, लय हालेर भट्याउने उस्ताद, सुरिलो भाकामा मुरलीसहित गाउँभर सबैको स्वामित्व र सहभागिता रहने गरी निस्कने भैली। स–साना केटाकेटीले पनि भैलीको रहर गर्न छोडेछन्। कसै–कसैले भने युट्युबकै देउसीभैलो बजाउँदै/गाउँदै नाचेर रहर पूरा गरे। यस्तो लाग्छ, गाउँगाउँमा पुगेको इन्टरनेट र स्मार्ट फोनको लतले छिट्टै नै सांस्कृतिक विस्थापन निम्त्याएको छ। हाम्रो गाउँ सदरमुकामको नाभिस्थलमा भएकोले पनि यस्तो भएको हुनसक्छ। 

सल्यान हिँड्दा दाङ तुल्सीपुर बजारमा भैलीको अर्को विषम चित्र देखियो:

पैसा फेँक् तमाशा देख्
नाचेगी पिंकी फुलटू लेट!!
मुम्बईकी ना दिल्ली वालोँकी
पिंकी है पैसे वालों की !!

यो गीतमा एक महिला 'उत्तेजक' चालढालमा नाचिरहेकी छिन्। वरिपरि घेरा हालेर केटाहरू पैसा उडाइरहेका थिए। देउसीभैलीमा संसारकै त्यो पनि ‘निकृष्ट गीत’मा हाम्रा दिदीबहिनी नाच्दै छन्, दाजुभाइ नचाउँदै छन्। यस्तो घटिया गीतमा आफूलाई प्रस्तुत गर्नुअघि दिदीबहिनीले किन केही नसोचेका होलान्? दिदीबहिनी भन्दा पनि त्यसरी पैसा उडाएर महिलालाई बस्तुसरह खरिद गर्न पैसा उडाइरहेका पुरुषलाई त झन् के भनौँ?

सार्वजनिक यातायातमा ‘ईभी क्रान्ति’
अहिले सल्यान, श्रीनगरदेखि दाङ, तुल्सीपुर हुँदै नेपालगन्जसम्म सार्वजनिक विद्युतीय सवारीसाधन चल्छन्। सफा गाडी, चालक र चालक सहयोगीको मिठो व्यवहार, सुरक्षित र आरामदायी यात्रा। यात्राको क्रममा यात्रुले मानवीय व्यवहार पाए।

कुरा केही वर्षअघि मात्रको हो। कोचाकोच यात्रु, बसमा दोहोरो टिकटको हैरानी, थोत्रा र ठसठसती गनाउने बस, सवारी कर्मचारीको टर्रो बोली, गुनासो गर्दा उल्टै हप्की खानुपर्ने स्थिति, खाना खान ओराल्ने ठाउँमा समेत सिन्डिकेट! राप्ती राजमार्गको दाङ–सल्यान खण्डमा ठूला सवारी दुर्घटना नियमितजस्तै थिए। यस्तो हैरानीबाट यात्रुले मुक्ति पाउनु र अर्कोतर्फ विद्युतीय सवारीको कारण प्रदूषण कम हुनु खुशी र राहतको विषय हो। यात्रुलाई दाङदेखि सल्यान आउँदा बसपार्कसम्म त बसकै जिम्मा हुन्थ्यो, यस पटक त अतिरिक्त शुक्लबिनै कतिपय कम दूरीका यात्रुलाई गाडीले घरसम्मै पुर्‍याइदियो। एक हदसम्म ईभी क्रान्तिले यात्रुको आत्मसम्मान बढाएझैँ लाग्यो।

बनमाराको बिगबिगी
‘बनमाराले वनै खायो’... उदितनारायण झाले यो गीत गाउँदासम्म बनमाराले सायद थोरै मात्र वन खाएको हुँदो हो। तर आजभोलि बनमाराको साम्राज्य अलि व्यापक देखिन्छ। 

क्रोमोनाइला ओडोराटा अर्थात् औंले बनमारा नेपालमा तीव्र रूपमा फैलिएको मिचाहा वनस्पतिमध्ये एक हो। स्थानीय वनस्पतिमाथि आक्रमण गर्दै सर्वत्र फैलिनु यसको विशेषता हो। केही वर्षअगाडि वनजंगलतिर मात्र देखिने बनमारा गाउँघरका खरबारी, बाटो किनार हुँदै घरगौँडोमा समेत फैलिएको छ।

हुन त बनमाराबाट जैविक मल बनाउनेदेखि अनेक प्रयोगका विकल्प छन् भनिन्छ तर व्यावहारिक रूपमा त्यो कति सहज छ र कति कृषकले त्यसो गर्छन् भन्ने अर्को प्रश्न छँदैछ।

बसाइँसराइ एक घनचक्कर
आफैले थातथलो छोडिसकेपछि ग्रामीण बसाइँसराइबारे अलि चर्को स्वरमा बोल्नु त्यति न्यायोचित नहोला। जनगणनाको दशवर्षे अवधि (२०६८–२०७८) मा जनसंख्या घटेका ३२ जिल्लामध्ये सल्यान ३१औँ हो। यहाँ ०.१५ प्रतिशतले जनसंख्या घटेर दुई लाख ३८ हजार ६६८ हुन पुग्यो। यसको कारण प्रजनन दर घटेर नभई बसाइँसराइ हो। समृद्धि, सुरक्षा र शिक्षाको खोजीमा बसाइँसराइ गर्ने मानवीय स्वभाव आदि कालदेखि नै चलिआएको हो। हाम्रो गाउँमा पनि भएको यही हो। 

कहिल्यै थातथलो नछोडेकाहरूले बुढ्यौलीमा गाउँ छाड्दा 'बसाइँ सर्नेको ताँतीले बस्नेको मन रुवाउँदछ' बोलको जेबी टुहुरेले गाएको गीतको सान्दर्भिकता झनै बढेको महसुस हुन्छ। उनीहरूमध्ये धेरै नचाहेरै पनि गाउँ छाड्न बाध्य छन्। आफन्त र छिमेकीहरूले गाउँ छाडेको ननिको दृश्य हेर्दै कतिपय कोक्किइरहेका छन्।  

बसाइँसराइ एक प्राविधिक प्रक्रिया मात्र होइन। यसले गहिरो सामाजिक सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव छोड्छ। ८५ नाघेकी हाम्री ठूलीआमाको जीवनकालमै गाउँ (शारद नगरपालिका–३ बडाखोला)ले जनसांख्यिक बनोटले पूरै काँचुली फेर्‍यो। लगभग सबैजसो इष्टमित्रले बसाइँ सरे। बचेका आफन्तका एकदुई घरले पनि बसाइँ सर्न खुट्टा उचालिसकेका छन्। पुराना दिन स्मरण गर्दा उहाँलाई गाह्रो हुन्छ। बसाइँसराइ एक घनचक्कर पनि हो, केही मानिस बसाइँसराइ गरेर आएका पनि छन्, तर ज्यादै थोरै।

विकास अर्थात् बाटो
विकासप्रतिको आम ग्रामीण बुझाई बाटो नै हो। हुन पनि विकासका अरू आयामको उत्तोलक पनि बाटो हो। तर बाटो मात्र सबै विकास होइन। गाउँमा बाटो सबैतिर पुगेको छ। पहिलेभन्दा गाउँमा सुबिस्ता छ। हामीले जिउला  (धान रोप्ने खेत भएको स्थान) बाट धान पराल पिठ्युँमा बोकेर ल्याएको धेरै भएको छैन, तर अहिले ट्याक्टरले घरसम्मै ल्याइपुर्‍याउँछ। श्रमको उत्पादकत्व बढेको छ। तर प्राथमिकता बाटोले मात्र पाउँदा समृद्धिका अन्य आयाम पछि परे। 

बहुदलको शुरूआती वर्षहरूसम्म निक्कै चहलपहल हुने सल्यान सदरमुकामको देउराली पुस्तकालय २०६२/६३ ताकसम्म जसोतसो चल्दै थियो, त्यसपछि बन्द भयो। अहिले यहाँ कुनै सार्वजनिक पुस्तकालय अस्तित्वमा छैनन्। 

यहाँका सरकारी स्कुलसमेत विद्यार्थीको अभावमा बन्द वा 'मर्ज' हुँदै गए। मेरै गाउँको श्री द्वारिका प्रावि छिमेकको श्री खड्गदेवी प्राविमा गाभियो। हुन त सल्यान जिल्ला संवत् २०७२ पौष १५ गते २२औँ पूर्ण साक्षर जिल्ला घोषणा भएको हो, बडो तामझामसाथ। त्यो समय देशकै राजधानीलाई पछार्दै पूर्ण साक्षर जिल्ला बनेकोमा हामीले गर्व गरेकै हो।

तर पर्यावरण, स्रोतको विवेकपूर्ण प्रयोग, सरसफाइ, फोहोरमैला व्यवस्थापन, सीप विकासजस्ता कुरामा भने हामी निक्कै पछि पर्‍यौँ। यसको हेक्का यहाँका थोरै पनि जनप्रतिनिधि र सरकारी हाकिमलाई भएझैँ लाग्दैन। सर्वसाधारणलाई त सधैँ दुई छाकको दौडधुप छँदैछ।


सम्बन्धित सामग्री