पितृसत्ताले यस्तो परिवार र समाज जनाउँछ, जसमा पुरुषले महिलामाथि असमान शक्ति विनियोजन गर्छ। आजभन्दा लगभग तीन लाख वर्षअगाडि आजको स्वरूपमा विकास भएको मानव जातिमा कहिलेदेखि पितृसत्ता उदायो? अनुमान गर्न गाह्रो छ। मानव विकासको 'हन्टर एन्ड ग्यादरर' (शिकारी र संकलक) चरणमा सिकार गर्नेमा पुरुष धेरै हुन्थे भने खाद्यान्न संकलनको काम महिलाको काँधमा आउँथ्यो।
आगोको प्रयोग सिकेसँगै लिंगअनुसार कामको विभाजन शुरू भएको केही विज्ञको अनुमान छ। मानव जाति कृषि कर्ममा लागेपछिजस्तो कडा पितृसत्ता शिकारी र संकलक अवस्थामा भने नभएको सम्भावना सबैजसो स्विकार्छन्। आदिवासी जीवनशैलीमा ठूलो लैंगिक अथवा सम्पत्तिजन्य विभेद थिएन होला भनेर अनुमान गर्न सकिन्छ।
मानव प्राकृतिक रूपमै पितृसत्तात्मक हो या पितृसत्ताको सीमित इतिहास छ? पितृसत्ता प्राकृतिक हो या होइन भन्नेमा ठूलो विवाद छ। लामो समयदेखि धेरै विज्ञले पितृसत्तालाई प्राकृतिक मान्दै आएका थिए।
कृषिको विकाससँगै मानिसहरू ठूला समूहमा बस्न थाले। समुदाय, शहर र राष्ट्रको निर्माणसँगै समाज अझ पितृसत्तात्मक हुन थाल्यो भन्ने कतिपय विज्ञको तर्क छ। उनीहरूका अनुसार आदिकालदेखिका समाजहरू हेर्दा किंवदन्तीका रूपमा एक दुई ठाउँबाहेक सबैजसो मानव सभ्यता पितृसत्तात्मक रहिआएका छन्।
तीन संशयपूर्ण कारण
विभिन्न समयावधि र भूगोलमा किन मानव समाज पितृसत्तात्मक रहेका छन्? लेखक युवल नोहा हरारीले आफ्नो पुस्तक सेपियन्समा यसका तीन वटा कारण सन्देहसाथ पेस गरेका छन्: पितृसत्ताको एउटा कारण महिलाभन्दा पुरुष बलियो भएकोले हुन सक्छ। परिवारको रक्षाको लागि पितृसत्ता जन्मेको हुन सक्छ। तर शक्तिकै आधारमा संसार चल्ने भए त पच्चिस वर्षका युवाले संसार चलाउनु पर्ने! व्यवहारमा त परिपक्व तथा अनुभवी र पच्चिस वर्ष माथिकोले संसार चलाएको देखिन्छ।
पितृसत्ताको दोस्रो कारण पुरुषमा हुने आक्रामकता हुन सक्छ। हर्मोनका कारण पुरुष बढी आक्रामक हुन्छन् र युद्धमा सैनिकका रूपमा ती बढी उपयोगी हुन्छन्। यो तर्कअनुसार लड्ने-भिड्ने पुरुष भए पनि युद्ध सञ्चालन गर्न र त्यसबाट लाभ लिन महिलालाई केहीले रोकेको छैन।
तेस्रो, पितृसत्तालाई अर्थ्याउन सबभन्दा प्रयोग हुने तर्क मानवको उद्विकाससँग सम्बन्धित छ। प्राकृतिक रूपमा पुरुषहरू बढी प्रतिस्पर्धी हुन्छन् भने महिलाहरू बढी 'चयनात्मक' हुन्छन्। आफ्नो वंश बढाउन बढी प्रतिस्पर्धी गर्नुपर्ने भएकाले पुरुषले नै मिलेर समाज चलाउने व्यवस्था भएको हुन सक्छ। तर बोनोबो (मानव प्रजाति निकट एक प्राइमेट) र हात्तीजस्ता कति अरू जीवमा पुरुष प्रतिस्पर्धी भए पनि समाज भने मातृसत्तात्मक हुन्छ।
यी तीन वटै तर्कका कारण मानव समाज पितृसत्तात्मक भयो भनेर मान्न अलि मिल्दैन।
बबुन, चिम्पान्जी र डल्फिनबारे अध्ययन गरेकी समाजशास्त्री बारबरा स्मट्सले सन् १९९५ मा लेखेको लेखमा प्राइमेटहरूमा भाले पोथीमाथि आक्रामक हुन्छन् भनेकी छन्। यो तथ्य सबैले स्विकार्छन्। विभिन्न बाँदर जातिमा विभिन्न प्रकारका आक्रामक प्रवृत्ति देखिन्छन्।
कुनै प्रजातिमा जबरजस्ती करणी गरेर गर्भवती बनाउने चलनसमेत हुन्छ। आफ्नो अधिपत्य जमाउन टोक्नेलगायत विभिन्न आक्रामक प्रवृत्ति भालेले देखाउँछ। आफ्नो बच्चा प्राप्तिका लागि कुनै प्रजातिमा अर्को भालेद्वारा जन्माइएको बच्चा मार्ने अभ्यास पनि छ। भाले बाँदरको हिंसाबाट बच्न पोथी बाँदरले पनि विभिन्न उपाय लगाउँछन्। अनेकन् उपायमध्ये अरू पोथी नातेदार वा साथीहरूको गुट बनाएर भालेहरूको प्रतिवाद गर्नु हो।
स्मट्सका अनुसार जंगलकै अवस्थामा मानव समाज पितृसत्तात्मक हुनुका दुई कारण हुन सक्छन्। महिला नातेदारहरूसँग मिलेर महिलाहरूले पुरुषको हिंसाको प्रतिवाद गर्न नसक्नु एउटा कारण हो। महिलाहरू आफ्ना नातेदार र साथीहरूसँग गुट बनाएर बस्ने गरेको भए पितृसत्ता सम्भव नहुन सक्थ्यो।
हालसालै गरिएको एक अध्ययनअनुसार ढुंगे युगका महिला पुरुष जोडीहरू २० जना जतिको नातागोता नमिल्ने समूहसँग बस्ने गर्थे। पुरुषको परिवारमा महिला नबस्ने भएकोले उतिखेर पितृसत्ता थिएन कि भन्ने जनाउँछ।
पुरुषहरूबीचको साँठगाँठ पनि हुन सक्छ पितृसत्ता। समुदाय समुदायबीच झगडा पर्दासमेत फरक समुदायभित्रका पुरुषबीच साँठगाँठ भएका कारण पनि पितृसत्ता जन्मेको हुन सक्छ।
कृषियुग र पितृसत्ता
कृषिको शुरूआतसँगै पितृसत्ताको बढोत्तरी भएको अनुमान स्मटले पनि लगाएकी छिन्। वातावरणअनुसार जनावर र मानिसको सामाजिक व्यवहार परिवर्तन हुनु स्वाभाविक नै हो। कृषिले शुरू गरेको सामाजिक परिवेशमा थोरै पुरुषहरू धेरै सम्पत्तिको मालिक भए। सामाजिक रूपले शक्तिशाली पुरुष महिलाका लागि आकर्षक भए। यही अभ्यासबाट एकै जनाको धेरै श्रीमती हुने र शक्ति बाँडफाँडमा पुरुष धेरै शक्तिशाली हुने भएको हुन सक्छ। छोराबाट सन्तान बढोत्तरी गर्न सकिने कारण पनि आमाहरूले पनि पितृसत्तालाई बढावा दिएको हुनसक्छ। मानव जातिको भाषा आफैमा सशक्त भएकाले सोही कारण विभेदको सञ्चार बढी भएको हुनसक्छ।
अरू वैज्ञानिक, इतिहासकार र समाजशास्त्रीहरू भने मानव प्राकृतिक रूपमा पितृसत्तात्मक नभएको र पितृसत्ता कृषिको कारणले नजन्मेको तर्क गर्छन्। मानवशास्त्रीहरूले १६० भन्दा बढी मातृवंशीय समाजहरू एशिया, अफ्रिका र अमेरिकामा भेट्टाएका छन्। नाै हजार वर्ष पुरानो हालको टर्कीमा विकसित सभ्यतामा पनि पितृसत्ता थिएन।
मानवशास्त्रीहरूको विचारमा पितृसत्ताको छोटो इतिहास छ। पाँच-छ हजार वर्ष अगाडि पश्चिम एशियामा मानवको संख्या घट्यो। त्यसपछि महिलालाई सकेसम्म बढी बच्चा जन्माउन लगाउने र पुरुषलाई लडाकु बनाउने सभ्यता जन्मियो। यही सभ्यताबाट जन्मेको आर्यलगायत सभ्यता विश्वभरि फैलिए र ती क्रमिक रूपमा बढी भन्दा बढी पितृसत्तात्मक हुँदै गए।
आजभन्दा २०० वर्ष अगाडि पितृसत्ता एकदमै बलियो थियो। नारीलाई केवल पुरुषको सम्पत्तिको रूपमा हेर्ने गरिन्थ्यो। नेपाल र भारतमा सतीप्रथा व्याप्त थियो। मृत लोग्नेसँग चितामा जलेर श्रीमतीलाई मर्न विवश पारिन्थ्यो। लोग्ने मरेपछि श्रीमतीको बाँच्ने हकको अन्त्य हुन्थ्यो।
अमेरिका र बेलायतमा 'कोभरचर कानून' लागु थियो। यो नियम अनुसार बिहे गरेपछि महिलाको वैधानिक अस्तित्व समाप्त हुन्थ्यो। बिहे गरेपछि श्रीमतीको सम्पत्ति श्रीमानको हुन्थ्यो, बच्चाबच्ची भए पनि श्रीमानकै हुन्थ्यो। काम गरेर कमाएको पैसासमेत श्रीमानलाई बुझाउनुपर्थ्यो। महिलाले कसैसँग कुनै सम्झौता गर्न पाउँदैन थिए। शिक्षा हासिल गर्न पनि श्रीमानको अनुमति बिना सम्भव थिएन। श्रीमान् हिंस्रक र शोषक भए त्यसको कुनै उपचार थिएन।
विगतका २०० वर्षमा क्रमिक रूपमा पितृसत्ताको क्षय भएको छ। यो सामाजिक तथा राजनीतिक रूपान्तरण नारीवादको अभियानले सम्भव बनाएको हो। पुँजीवाद र साम्यवादझैँ सामाजिक रूपान्तरणमा नारीवादको पनि केही हदसम्म भूमिका रहेको छ।
नारीवादका चार लहर
नारीवादको इतिहास धेरै पुरानो भए पनि यसका चार लहरहरूले मानव इतिहासमा विशेष महत्त्व राख्छन्।
पहिलो लहर आजभन्दा १०० वर्षअगाडि भएको थियो। विशेषगरी गोरा र माथिल्लो वर्गका महिलाहरूद्वारा सञ्चालित यस लहरले बेलायत र अमेरिकामा महिलालाई चुनावमा मतदान गर्ने अधिकार दिलाएको थियो। प्राय: शान्तिपूर्ण रहेको यस अभियानमा केही हिंसा पनि भएको थियो। बेलायतका मताधिकार माग्ने महिलाहरूले सार्वजनिक सम्पत्ति आदि तोडफोड पनि गरे। पुलिसले समातेर जेलमा राख्दा उनीहरूले भोक हडताल गरेका थिए। त्यसपछि पुलिसले जबरजस्ती पेटमा पाइप पठाएर उनीहरूको भोक हडताल तोडेको इतिहास पनि छ। नेपाल तथा भारतलाई यस अभियानले खासै छोएन किनभने विश्वको यस भागमा पुरुषलाई समेत मतदानको अधिकार थिएन। नेपाल र भारतमा प्रजातन्त्र आएपछि पुरुष र महिलाले मतदानको अधिकार समान रूपले पाए।
नारीवादको दोस्रो लहर आजभन्दा ६० वर्षअगाडि पश्चिमी विश्वमा शुरू भएको थियो। पहिलो लहरले महिलाहरूलाई चुनाव र सम्पत्तिको अधिकार त दिलायो, तर उतिखेरसम्म धेरै महिला गृहिणी भएर घरको काम गरेर बस्थे। पुरुषझैँ बाहिरको काममा नगई घरमै बसेर बच्चा हेर्ने, घर सफा गर्ने आदि काम गर्दा महिलाहरू भित्री रूपमा असन्तुष्ट रहेको नारीवादी चित्रण गर्दै 'द फेमिनीन मिस्टिका' नामक एक पुस्तक सन् १९६३ मा प्रकाशित भयो। बेट्टी फ्राइडनको यो पुस्तक निकै लोकप्रिय रह्यो।
'व्यक्तिगत नै राजनीतिक' हो भन्ने मन्त्र आत्मसात् गरेको दोस्रो लहरले महिलाका जीवनका विभिन्न पाटाको विश्लेषण गऱ्यो। लैंगिकता, परिवार, गृहिणी जीवन, घरबाहिरको काम, प्रजननसम्बन्धी अधिकार र कानूनी असमानताजस्ता बृहत्तर विषयमा बहस चल्यो। समग्र महिलाको स्थितिमा धेरै सुधार भयो। गर्भनिरोधका साधनहरूको आविष्कार र प्रयोग हुन थाल्यो। महिलालाई गर्भपतन गर्ने अधिकार दिइयो। काममा समान पैसा दिनुपर्ने नियम लागु भयो। पारिवारिक यौनहिंसाविरुद्ध कानून बन्यो।
अश्लील फिल्म र लैंगिकताको विषयमा नारीवादभित्र द्वन्द्व हुन थालेपछि नारीवादको तेस्रो लहर शुरू भएको अनुमान लगाइन्छ। यो लहर आजभन्दा तीन दशक अघिबाट शुरू भएको मानिन्छ। तेस्रो लहरले भने नारीमध्ये पनि उत्पीडित वर्गलाई समेट्ने प्रयास गर्यो। यसरी विभिन्न वर्ग र वर्णका नारीलाई सम्मिलित गराउनुलाई अन्तरआबद्धता (इन्टरसेक्सनालिटी) भन्ने शब्द प्रयोग गरिन्छ। सम्भ्रान्त गोरा नारीहरूको अनुभव मात्र समेट्दा नारीवाद अपूरो हुन्छ भन्ने यसको व्याख्या थियो।
अश्वेत र उत्पीडित वर्गका नारीका पनि फरक अनुभव हुन्छन्, यसकारण नारीवादमा यो वर्गको अनुभव पनि समेट्न सक्नुपर्छ भन्ने विचार यो लहरमा समेटियो। काला नारीहरूले नारी भएकोमा विभेद अनुभव गर्नुपरेको छँदै छ, अश्वेत भएकोमा समेत विभेद सहनुपर्ने र दोहोरो विभेदको त्यस्तो चपेटाको अनुभव एकल विभेदभन्दा झनै कष्टकर हुनु स्वाभाविक हो।
३० वर्षअगाडि शुरू भएको तेस्रो लहर आजभन्दा १० वर्षअगाडि चौथो लहरको शुरूआतसँगै सकिएको मान्न सकिन्छ। चौथो लहर इन्टरनेटका सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अघि बढ्यो। यौन उत्पीडन, यौन हिंसा, महिलाको वस्तुकरण, काममा लैंगिक विभेदका घटनालगायतका घट्नाबारे महिलाहरूले सामाजिक सञ्जालमा अन्य महिलासँग अनुभव साटासाट गर्न थाले। यसबाट महिलाको उत्पीडन व्यापक हुँदो रहेछ भन्ने थाहा भयो। १९७० यता झन्डै १८ जना महिलाहरूमाथि डोनाल्ड ट्रम्पले यौन उत्पीडन गरेकोबारे यसबीचमै सार्वजनिक भयो। यस घटनाले चौथो लहरलाई अझै उत्कर्षमा पुऱ्यायो। 'मीटु ह्यासट्याग' राखेर विश्वव्यापी अभियान शुरू भयो।
यसरी पहिलो लहरदेखि चौथो लहरसम्म आइपुग्दा महिलाको सामाजिक अवस्थामा धेरै सुधार आएको छ। सन् २०१० यता अमेरिकामा उच्च शिक्षा हासिल गर्नेको संख्या पुरुषभन्दा महिलाको बढी छ। कुनै समयमा अमेरिकाको कार्यदलमा महिला बढी थिए। विश्वव्यापी रूपमा पनि पितृसत्ता व्यापक क्षय भएको छ। तर अमेरिका र विकसित देशमा अझै पनि महिलाको तलब पुरुषको तुलनामा कम हुन्छ र पछिल्लो तथ्यांकअनुसार पुरुषको तुलनामा उही पदमा पूर्णकालीन काम गर्ने महिलाको तलब १६ प्रतिशतले कम छ।
कतिपय अवस्थामा महिलाहरू तुलनात्मक रूपमा तलब कम हुने जागिर, जस्तै: स्वकीय सचिव, नर्स, शिक्षकजस्ता पदमा बढी कार्यरत छन्। अफिसको कामका साथसाथै घरको कामको बोझ पनि महिलामाथि नै बढी आउँछ। पितृसत्ताको अन्त्य अझै पनि नभएको धेरैलाई लाग्छ। हिलारी क्लिन्टन विभेदकै कारण अमेरिकाको राष्ट्रपति नचुनिएको उनीहरूको मान्यता छ। अहिले पनि राष्ट्रपतीय चुनावमा कमला ह्यारिस हार्नुमा अमेरिकनहरूको पितृसत्तावादी चिन्तन रहेको कतिपयको प्रतिक्रिया छ। २० वर्ष अगाडि मात्र ह्यारी पोटर उपन्यासकी लेखकले महिलाले लेखेको नपढ्लान् भनेर आफ्नो पुस्तकमा लिंग खुलाएकी थिइनन्।
अझै बाँकी छ विभेद
कतिपय भन्छन् कि असम्भवझैँ लाग्ने लैंगिक समानतामा हामी पुगिसक्यौँ। पितृसत्ता इतिहासमा मात्र थियो भन्ने उनीहरूको मान्यता छ। विकसित देशमा जति पनि लैंगिक विभेद छन्, निवारण गर्न असम्भव भएकै कारण छन् भन्ने उनीहरूको बुझाइ छ। महिला र पुरुषबीचको तलबको फरक महिलाले आफ्नो समय सुहाउँदो, लचकता बढी भएको काम गरेकोले भएको कौडिया गोल्डिनको अनुसन्धानले देखाएको थियो। यो कारणलाई समेटेर हेर्दा महिला र पुरुषबीचको आम्दानीमा फरक नभएको उनको भनाइ थियो। महिलाले घरायसी काम धेरै गर्नुमा ऐतिहासिक र लैगिंक कार्य विभाजन कारक हुन सक्छ। यसमा सुधार सम्भव छ।
नोबेल पुरस्कार जित्ने र ठूला कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नेजस्ता कुरामा पनि महिलाको उपस्थिति पुरुषकै मात्रामा अहिले पनि छैन। लामो समयदेखिको पितृसत्ताका बहुआयामिक असरका कारण त्यसो भएको नकार्न सकिन्न तर भविष्यमा यो पूरै उल्टिन्छ या उल्टिन्न भन्न सकिने अवस्था पनि छैन। औसतमा असाधारण विज्ञान र गणितमा तीक्ष्ण क्षमता भएकामा महिलाभन्दा पुरुष धेरै हुन्छन् भन्ने तथ्य विभिन्न पुराना अनुसन्धानले देखाएका थिए। तर यो विभेद समयसँगै कम भएको छ।
ह्यालपर्नका अनुसार अमेरिकाको कलेजहरूको प्रवेश परीक्षामा गणित र विज्ञानमा एकदम धेरै अंक ल्याउनेमा पुरुष र महिलाको अनुपात अन्तिम २० वर्षमा ३:१ रहेको देखिएको छ। त्यस्तै मौखिक तर्कको विधामा भने ३:१ अनुपातमा नै महिलाहरू अगाडि देखिए। अहिलेको विज्ञान र गणितको असमानता लैगिंक समानता अझ हासिल भएपछि पूरै हराएर जान पनि सक्छ। केके कारणले अहिले पनि नतिजामा लैगिंक असमानता छ भन्नेबारे वैज्ञानिक तवरले अनुसन्धान हुनु जरुरी छ। अवसर अथवा भेदभावको कारणले असमानता भएको भए त्यो असमानता सच्याइनुपर्छ।
नेपालमा पनि नारीवादका लहरहरूका प्रत्यक्ष र अप्रत्यक्ष असर व्यापक छन्। योगमायाको नेतृत्वमा आजभन्दा ८० वर्षअगाडि ६८ जनाले अरुण नदीमा हाम फालेको घटना कुनै लहरमा त नपर्ला, तर यसले नेपालमा नारीवादी अभियान निकै पुरानो र केही हिसाबले मौलिक रहेको दर्साउँछ। २०४६ सालमा बहुदलको पुनर्स्थापनापछि सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको छ, सम्पत्तिमा महिला तथा पुरुषको बराबरी हक कमसेकम कानूनी रूपमा स्थापित भएको छ। संसद्मा महिलाहरूको ३३ प्रतिशत सहभागिता सुनिश्चित छ। निर्मला पन्त हत्याकाण्ड र त्यसपछि आएका विरोध कार्यक्रम चौथो लहरसँग पर्न गएका छन्।
यी सारा प्राप्तिका बीच पनि नेपालमा अहिले पनि लैंगिक समानता छैन र नेपालका कति नारी सम्बन्धी समस्या मौलिक छन्। छाउपडी र बोक्सी प्रथा अझ व्याप्त छन्। जबसम्म यस्ता प्रथा रहिरहन्छन् तबसम्म नारीवादका देनलाई यसले थिचिरहन्छ र झनै सशक्त नारीवादको आवश्यकता रहन जान्छ। विकसित देशको हकमा पनि त्यही हो। साथै पितृसत्ता प्राकृतिक होस् या नहोस्, अहिलेको मानव समाजमा पितृसत्ताको औचित्य नभएको स्पष्ट हुँदै गएको छ।
(लेखक काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्।)