Saturday, December 14, 2024

-->

कर्णालीबारे लेखिएको अर्को महत्त्वपूर्ण पुस्तक

कर्णाली देशको अभिन्न अंग हो र यसलाई बेवास्ता गरेर सिंगो देश समृद्ध हुन सक्दैन भनेर राज्यको डाडुपन्यु चलाउनेहरूलाई लेखकले सचेत गराएका छन्।

कर्णालीबारे लेखिएको अर्को महत्त्वपूर्ण पुस्तक

१२औँ शताब्दीतिर (ईसं. ११५०) नागराजले स्थापना गरेका कर्णाली राज्य उनको सातौँ पुस्ता अशोक चल्लसम्म आइपुग्दासम्म (ईसं. १२२३-८७) यो राज्य पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत र दक्षिणमा गंगाको मैदानसम्म फैलिएको थियो। अशोक चल्लको अद्भुत सैन्य संगठनलाई ‘सर्वगामिनिवाहिनी’ भनिन्थ्यो भने विशाल र समृद्ध राज्यलाई ‘सपादलक्षशिखरि खसप्रदेश’ भनिन्थ्यो। ‘सपादलक्ष’ शब्दको शाब्दिक अर्थ एक लाख २५ हजार पर्वतको राज्य हो। यही गर्विलो शब्द सापटी लिएर माधव चौलागाईंले आफ्नो किताबको नाम राखे– सपादलक्ष कर्णाली।

कर्णालीको ‘अर्ग्यानिक’ वातावरणमा हुर्केका लेखक चौलागाईंले ऐतिहासिक, सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक पक्ष समेटेर लेखेको सपादलक्ष कर्णाली उत्कृष्ट ‘कोलाज’ हो। यो पुस्तक पढ्दा अहिलेसम्म नखुलेका धेरै कुरा थाहा पाउन सकिन्छ। आजसम्म पनि धेरैलाई मिथक लाग्ने कर्णालीलाई सरल रूपमा बुझ्न यो किताबले मद्दत गर्छ। राजामहाराजाको मात्र इतिहास लेखिने परिपाटी भएको हाम्रो देशमा आममानिसको पनि इतिहास लेख्न जमर्को गरेका छन् लेखकले।

पुस्तकलाई मइडो, काँचुली र सुइना गरी तीन खण्डमा बाँडिएको छ, जसमा ३९ अध्याय छन्। 

‘मइडो’ शब्दको ठेट अर्थ चुलो वरिपरिको ठाउँ हो। खान, बस्न, कुराकानी गर्न र सुत्नका लागि उपयोग गरिने ठाउँ हो मइडो। किताबको फराकिलो पृष्ठभूमिको जानकारी दिने क्रममा लेखकले मइडो खण्डमा १५ अध्याय समावेश गरेका छन्। कुनै पनि ठाउँको वर्तमान अवस्था बुझ्न विगत पनि हेर्न जरुरी छ भन्ने हेतुले लेखकले इतिहास कोट्याएका छन्। यो खण्डमा अलिखित कथ्य, विभिन्न ठाउँमा छरिएर रहेका सम्पदाको वर्तमान अवस्था, इतिहासको साक्षीका रूपमा रहेको दयार (देवदार), विगत र वर्तमान अवस्थाको प्रशासन र व्यवस्थापन, मार्सी धानको महिमा, कुलोको कथा, तीर्थ र हाट जाने परम्परागत चलन समावेश छन्। 

त्यस्तै, इटालियन अध्येता जुसेपे टुचीले तत्कालीन समयमा नक्सांकित नभएर ‘टेरा इन्कग्निटा’को रूपमा रहेको कर्णालीको महत्त्वपूर्ण अध्ययन, कर्णालीको सामाजिक र राजनीतिक पक्षबारे अध्ययन गरिएको ‘प्रिस्ट एन्ड कोब्लर’ नामक किताबको चर्चा, खस जातिको परम्परागत संस्कृतिको अभिन्न अंगको रूपमा रहेको मस्टो र हजारौँ वर्ष पहिलेदेखि चलिआएको चलनचल्तीको बाटो कसरी नयाँ राजमार्गले विलुप्त गरायो भन्नेजस्ता विविध विषय सविस्तार उल्लेख छ। 

मइडोको शासन प्रशासन अध्यायमा 'नेपाल एकीकरण' लगत्तैको कर्णालीको प्रशासनबारे लेखक लेख्छन्, “विगतमा गर्विलो इतिहास बोकेको कर्णाली राज्य विसं. १८४६ मा गोरखा राज्यमा गाभिएपछि यसका दुर्गतिका दिन शुरू भए। एकीकरण भएको १६० वर्षसम्म यो क्षेत्र अन्धकारमै रह्यो। न त्यहाँको इतिहास लेखियो, न त त्यहाँका मान्छेले सुख नै पाए।”

एकीकरणपछि कर्णालीको गर्विलो इतिहास नष्ट भयो। गोरखालीको अत्याचारले सीमा नाघ्यो। बहादुर शाहले त उर्दी जारी गरेर ‘१२ वर्षभन्दा माथिका जनताको सफाया’ नै गरे। त्यति मात्र होइन विसं. १८४९ मा गोरखा राज्यले तिब्बतसँग युद्ध गर्दाताका त्यहाँका जनताले तिब्बतलाई सघाएको भन्ने आरोपमा पुनः निर्मम दमन सहनुपर्‍यो। यही दमन निरन्तर रूपमा बढ्दै गएर राणाकालमा उत्सर्गमा नै पुग्यो। यतिसम्म भयो कि कोही सर्वसाधारणले बडाहाकिमको अगाडि घोडा चढ्यो वा छाता ओढ्यो भने उसलाई दण्ड गरिने प्रचलन नै बस्यो। त्यही अत्याचारलाई बिम्ब बनाएर स्थानीयले गाएको गीत आज पनि सुन्न पाइन्छ:   

भारीको गुन्ती नै छैन, चुँरिका ती बोजा,
उकज साहेबका रैती, यस्तै हो क्या खोजा।
(चौँरीले बोकेजस्तै बेसरी बोकेको भारीको त गन्ती नै छैन, उकज (उत्तर कमान्डिङ जनरल, राणाकालीन प्रशासकको दर्जा) साहेब, तपाईंका रैतीको भाग्य यस्तै हो।) 

राणाकालमा मात्र होइन, पञ्चायत र अहिलेको गणतन्त्रमा कर्णालीमा केबल बढुवाका लागि नम्बर बढाउने ध्येयले कर्मचारी जाने र पटक–पटक कर्मचारी फेरिइरहने परम्पराले कर्णालीका जनतासँग कर्मचारीतन्त्र जोडिनै नसकेको विषय किताबमा उल्लेख छ। लामो समयसम्म शिक्षाबाट वञ्चित कर्णालीवासीको केन्द्रको कर्मचारीतन्त्रमा पहुँच नै भएन। नीतिनियम र विकासका योजना बनाउने ठाउँमा कर्णालीवासी नपुग्दा राज्यले तर्जुमा गर्ने सबै खाले योजना केबल सतही, कर्मकाण्डी र ठाउँ सुहाउँदो भएनन्। 

विद्यमान अवस्थामा रहेका विभिन्न तथ्यांकको विश्लेषण गरेर लेखकले विगतदेखि वर्तमानसम्म आइपुग्दा कर्णालीले कति रूप फेर्‍यो भन्ने विषय १२ अध्याय भएको दोस्रो खण्ड–काँचुलीमा छ। यो खण्डमा लेखकले शिशु संघीयता, सरकारी कानून, विपद‍्मा कर्णालीवासीको बाँच्ने आधार, बनाइएका तर अपूरा विभिन्न विकासे योजना, बजेट, कर्णालीमा लगानी र पर्यटनका सम्भावना समेटिएका छन्। यसमा लेखकले कर्णालीको विकासका लागि छुट्टै ढाँचाको आवश्यकता ठहर गर्दै हचुवाको भरमा तयार पारिएका भ्रामक सरकारी प्रतिवेदनको चिरफार, खस भाषाको चर्चा र प्रदेश योजना आयोगको प्रभावहीनताबारे सरल रूपमा चर्चा गरेका छन्।

सरुवा अध्यायमा कर्णालीमा देखिएका विभिन्न महामारीको विवरण दिइएको छ। विसं. १९०० को शुरूआतदेखि सबै दशकमा कुनै न कुनै मानव वा पशुजन्य महामारीमा राज्यले सकभर मद्दत नै नपठाउने, पठाइहाले पनि ढिलो गरी पुग्ने भएकोले स्थानीयले यस विषयमा व्यंग्य नै गरेका छन्– ‘मर्ने अघि, डाक्टर पछि’। 

कुनै निजी 'कन्सल्टेन्सी'ले तयार परेको ‘कर्णाली प्रदेशका जाति, भाषा र सांस्कृतिक अवस्था: एक अध्ययन’ र प्रदेश योजना आयोगले तयार पारेको ‘दिगो विकासका लक्ष्यहरू: कर्णाली प्रदेशको आधार तथ्यांक प्रतिवेदन’मा ‘असंख्य त्रुटि र लापरबाहीले गर्दा ती प्रतिवेदन लाजमर्दो खालका भएको’ लेखकले औँल्याएका छन्। हचुवाको भरमा तयार पारिने अर्थहीन  प्रतिवेदन बनाउन नेता, कर्मचारी र कन्सल्टेन्सीको मिलेमतोमा नेपालमा कसरी सरकारी रकम दुरुपयोग गरिन्छ भन्ने कुरो उनको अध्ययनबाट बुझ्न सकिन्छ।

‘गरिब, पिछडिएको, अविकसित र भोकमरी ग्रस्त’ जस्ता बिम्बले चिनिने कर्णालीको मुहार फेर्न गर्न सकिने केही आशालाग्दा योजनासहितको १२ अध्यायको पोको हो– सुइना (सपना)। यो खण्डमा लेखकले जनसंख्याको वर्तमान अवस्था र भविष्यको बाटो, कर्णाली बाह्य संसारमा जोडिन द्रुत मार्गको आवश्यकता, स्याउखेतीको सम्भावना, प्रकृति र संस्कृतिमा अब्बल कर्णालीमा पर्यटनको सम्भावना, विद्यमान जनश्रुति र देउडाको सबल पक्ष, महिलाको मासिक धर्मबारे वर्तमानमा रहेको अन्धविश्वास र सुधारका कुरा, उच्च हिमाली भेगमा खेल र साइकलमार्गको सम्भावना, हिमाली सौन्दर्यबाट लिन सकिने फाइदा, स्थानीय तहमा लेखन र बोलीको प्रभावका कुरा उल्लेख गरेका छन्। 

यस पुस्तकमार्फत चौलागाईंले छरपस्ट विभिन्न विषय वस्तुलाई एकत्रित गरी तथ्यांकसहित कर्णाली चिनाउने प्रयास गरेका छन्। राज्यले कर्णालीलाई गरेको बेवास्ताबारे ऐना देखाउने कोशिश उनको छ। कर्णाली देशको अभिन्न अंग हो र यसलाई बेवास्ता गरेर सिंगो देश समृद्ध हुन सक्दैन भनेर राज्यको डाडुपन्यु चलाउनेलाई सचेत गराएका छन्।

किताबमा लेखिएका कुरा तथ्यपरक देखिन्छन्। यद्यपि, लेखकले प्रत्येक अध्यायमा प्रामाणिकताका लागि सन्दर्भ सामग्री नदिएर किताबको अन्त्यमा सन्दर्भसूची दिँदा किताब अलि फितलो भएको भान हुन्छ। आवश्यकताअनुसार प्रत्येक अध्यायमा सन्दर्भ सामग्री राख्दा पुस्तकको गुणस्तर र लेखिएका कुराको प्रामाणिकता ज्यादा हुन्थ्यो। कुनै निश्चित विषयमा गहिरो अध्ययन गर्न खोज्ने जोकोहीलाई सहज हुन्थ्यो।

किताबका केही ठाउँमा निश्चित समय नतोकेर ‘अघिल्लो वर्ष…’ (दोस्रो अनुच्छेद, पृष्ठ १५३), ‘गत असोज…’ (दोस्रो अनुच्छेद, पृष्ठ १५४), ‘गत हप्ता…’ (प्रथम अनुच्छेद पृष्ठ २१०), ‘गत वर्ष…’ (दोस्रो अनुच्छेद पृष्ठ २२६) जस्ता वाक्यांश राखिएका छन्। यसले पाठकलाई पढ्ने बेला असहज हुन्छ। सबै ठाउँमा प्रत्येक अंग्रेजी शब्द वा वाक्यांशलाई ‘ड्रेनेज’ र ‘डाएलेक्ट’ लेखे जस्तै अल्पविरामभित्र लेखी एकरूपता कायम गरेको भए राम्रो हुन्थ्यो।

कतिपय शब्दको हिज्जे शुद्ध नभएकोले किताब अलि हतारमै प्रकाशन गरिएको हो कि भन्ने भान हुन्छ। किताबमा केही शब्दहरू (जस्तै: नाउलो) स्थानीय भाषामा मात्र नलेखेर अर्थ खुल्नेगरी उल्लेख गरेको भए हुन्थ्यो। नाउलोको अर्थ पानीको जरुवा हो। यसका साथै केही ठाउँमा नाममै पनि त्रुटि छन्। त्यस्तै, पृष्ठ ३६ मा ‘धार्मिक र सांस्कृतिक सहिष्णुता’ शीर्षकमा ‘बोन’ धर्मबारे नलेखिनु र जुम्लाको सिँचाइ कुलोजस्तै हुम्लाको दार्ममा रहेको पुरानो ‘तामे कुलो’बारे लेखेको भए सुनमा सुगन्ध हुन्थ्यो। 

किताबमा धेरै पक्ष समेटिए तापनि जैविक विविधता, महत्त्वपूर्ण धार्मिक र पर्यटकीय स्थानले ठाउँ पाउन सकेको छैन। यसले गर्दा तिहुनमा नुन नपुगेझैँ भएको छ। कर्णालीको उत्तरी भेगमा अझै पनि जारी बहुपति प्रथाबारे केही पनि नलेखिनु विस्मयलाग्दो कुरा हो। यसैगरी नवीकरणीय ऊर्जाको मुख्य स्रोत पानीबारे पनि केही लेखिएको छैन।

नेपालमा प्रथमतः किताब लेख्न गाह्रो र लेखिसकेपछि प्रकाशक पाउन गाह्रो हुन्छ। चौलागाईंले काठमाडौँको एउटा प्रकाशन गृहले छाप्छु भनेर एक वर्षभन्दा बढी समयसम्म पाण्डुलिपि थन्क्याएर झुलाइदिएको र अन्ततः आफ्नै खर्चमा ‘खस भूमि केन्द्र, जुम्ला’को नामबाट किताब प्रकाशन गर्नुपरेको कुरा थाहा पाउँदा स्वयंले आफ्नो किताब ‘फ्लोरा एन्ड भेजिटेसन अफ् नेपाल’ विदेशी प्रकाशन गृह स्प्रिंगरलाई दिनुपर्दा अनावश्यक रूपमा किताबको मूल्य महँगो हुन गएको र अर्को किताब ‘प्लान्ट्स अफ काठमाडौँ भ्याली: ए पिक्चोरिएल गाइड’ नेपालमै प्रकाशन गर्न निक्कै पापड बोल्दा पनि प्रकाशक नपाएर अन्ततः आफ्नै खर्चमा छाप्नुपरेको अनुभव याद आइरह्यो।

धेरै विषयवस्तु समेटेर लेखिएको सपादलक्ष कर्णाली सम्भवतः विसं. २०२८ सालमा प्रकाशन भएको ‘कर्णालीको लोकसंस्कृति’पछि लेखिएको अर्को महत्त्वपूर्ण किताब हो। यो पठनीय र संग्रह गर्नयोग्य छ। यद्यपि, किताबमा रहेका कमीकमजोरी आत्मसात् गरी लेखकले उचित सुधारसहित अर्को संस्करण बजारमा ल्याउन जरुरी छ। ‘कर्णालीमा अभाव भए तापनि त्यहाँ थुप्रै सम्भावना छन्’ भन्ने सार नै किताबको महत्त्वपूर्ण सन्देश हो। ३०४ पृष्ठको यो पुस्तकको मूल्य ७९९ रुपैयाँ उल्लेख छ।


सम्बन्धित सामग्री