विश्वभरका विभिन्न मुलुकबाट मानिस अमेरिका पुगेका छन्। अमेरिकाको ‘सेन्सस ब्युरो’को तथ्यांकअनुसार यहाँ चार करोड ५० लाख आप्रवासीको बसोबास छ। यसमध्ये मेक्सिको, भारत, चीन, फिलिपिन्स, एल साल्भाडोर, भियतनाम, क्युबालगायत मुलुकबाट जानेको संख्या उच्च छ।
बसाइसराइ विगतमा पनि थियो, आप्रवासी पहिला पनि थिए। १८औँ शताब्दीमा लाखौँ युरोपियन अमेरिका गए। १८७०–९० को बीचमा मात्र करिब एक करोड २० लाख युरोपियन अमेरिका भित्रिएका थिए, उनीहरू विशेषगरी जर्मन, आइरिस र बेलायती थिए। १९औँ शताब्दीमा जापानीज, चाइनिज, भारतीय अमेरिका पुगेर कृषि, उद्योग, कलकारखाना, सडक निर्माणमा काम गरे। सन् २००० सम्म अमेरिकामा आप्रवासीको संख्या लगभग सवा तीन करोड पुगेको थियो। त्यसयता पनि निरन्तर उकालो लागिरहेको छ।
अहिले अमेरिकामा दुई थरी आप्रवासी छन्– कानूनी प्रक्रिया पूरा भएका र गैरकानूनी रूपमा प्रवेश गरेका। अर्थात्, वैध र अवैध। प्यु रिसर्चले २०१७ मा गरेको एक अध्ययनअनुसार अमेरिकामा एक करोड पाँच लाख मानिस गैरकानूनी रूपमा बसोबास गर्छन्।
नेपालबाट समेत पानामाको जंगल हुँदै सयौँ नेपाली अवैध बाटोबाट अमेरिका गएका समाचार बेलाबेला सार्वजनिक हुन्छन्। कतिपयको जाँदाजाँदै बाटोमा मृत्यु हुन्छ। तर पनि अमेरिका जाने क्रम रोकिएको छैन।
सन् २००७ देखि अमेरिकाले निरन्तर भुटानी शरणार्थी पनि लगिरहेको छ। उसले सन् २०२१ मा विभिन्न मुलुकबाट ११ हजार ४११ शरणार्थी भित्रायो। २०२२ मा एक लाख २५ हजार भित्राउने भने पनि २५ हजार ४६५ मात्र पुनर्स्थापित भए भने २०२३ मा ६० हजार १४ जना लगेको तथ्यांकले देखाउँछ।
सन् १९८० मा विकसित देशहरूले विस्थापितलाई आफ्नो मुलुकमा शरण दिने प्रण गरेका थिए। तर आन्तरिक र राजनीतिक कारण देखाएर उनीहरूले सकेसम्म कम शरणार्थी लगिरहेका छन्।
थोरै भए पनि हरेक वर्ष अमेरिकी समाजमा अर्को भूगोलका मानिस थपिइरहेका छन्। विगत २० वर्षमा नेपालमा रहेका लगभग एक लाख भुटानी शरणार्थीमध्ये ६० हजारभन्दा बढीलाई अमेरिकाले पुनर्स्थापना गरिसकेको छ।
अमेरिकामा क्युबाबाट जाने नागरिक पनि प्रशस्त भेटिन्छन्। अमेरिकाको फ्लोरिडा राज्यको दक्षिणी सिमाना र क्युबा टापुबीच ९० माइलको सामुद्रिक दूरी छ। कामचलाउ डुंगामा क्युबनहरू अमेरिका पुग्छन्। विशेषगरी क्युबन क्रान्तिपछि अमेरिका जाने संख्या बढेको हो।
अमेरिकन सेन्सस ब्युरो–०२१ अनुसार देशभर १४ लाख क्युबन मतदाता छन्। तर, क्युबाबाट आउने शरणार्थी मुख्यतः फ्लोरिडा राज्यको दक्षिण भेगमा बसेका छन्। विगतमा पनि उनीहरूले यही भेग रोजेका थिए। नयाँ आउनेहरू पनि यहीँ बस्न रुचाउँछन्। जनसंख्या बढ्दै गएपछि फ्लोरिडाको राजनीतिमा क्युबन पनि प्रभावशाली हुँदै गए। उनीहरूको भोटलाई अमेरिकन राजनीतिज्ञले नजरअन्दाज गर्न सक्ने अवस्था रहेन।
अमेरिकी राजनीतिमा भियतनामीको प्रभाव पनि ठुलो छ। देशभर २१ लाख भियतनामी मूलका मतदाता छन्। विगतमा उनीहरू विभिन्न सार्वजनिक पदमा समेत पुगेका थिए, जस्तो: २००९ मा लुईसियाना राज्यमा पहिलो पटक भियतनामी मूलका व्यक्ति कंग्रेसमा चुनिएका थिए। क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठुलो भियतनामी समुदाय बसेको राज्य हो। यहाँको करिब ९० हजार जनंसख्या भएको वेस्टमिस्टर शहरमा लगभग आधा नागरिक भियतनामी मूलका छन्। उनीहरू शहरको मेयरदेखि अन्य स्थानीय पदाधिकारीमा समेत चुनिएका छन्।
विश्वका विभिन्न कुनाबाट अमेरिका पुगेका नागरिकले एकपछि अर्को अमेरिकी निर्वाचनलाई थप रोमाञ्चक बनाइरहेका छन्। अझ रोचक त के भने अमेरिकामा बढ्दो आप्रवासी जनसंख्याले सन् २०५० सम्म श्वेत जाति अल्पसंख्यक हुने विभिन्न रिपोर्टहरूले बताएका छन्। यसले सामाजिक र राजनीतिक नीति तथा कार्यक्रममा निश्चय पनि ठूलो बदलाव ल्याउने देखिन्छ।
अमेरिका गएकामध्ये कतिपय रिपब्लिकन समर्थक छन् भने कतिपय डेमोक्रेट। विगतमा भुटान, क्युबा वा भियतनामी आप्रवासीको दल छनोटको कारणसमेत रोचक हुन्थे। उनीहरू आफ्ना मुलुकको शासकप्रति रुष्ट थिए। मुलुक छाड्न बाध्य पारेको घटनाले उनीहरूलाई भित्रभित्र पोलेको थियो। क्युबनले डेमोक्रेटभन्दा रिपब्लिकन रुचाए, किनभने रिपब्लिकन पार्टीले विगतमा क्युबाको क्यास्ट्रो सरकारप्रति कडा नीति लिएको थियो। भियतनामी मूलका नागरिकको अवस्था पनि क्युबनको भन्दा खास फरक थिएन। भियतनामको लडाइँमा विस्थापित भएकाहरू विभिन्न देशका शरणार्थी शिविर हुँदै अमेरिका पुगेका थिए। कम्युनिजमप्रति रिपलिब्लकनले लिएको नीतिका कारण धेरै भियतनामी प्रभावित भए। उसको अपराधसम्बन्धी नीति र आरक्षणसम्बन्धी प्रावधानलाई भियतनामीले प्रशंसा गरे।
पाँच/छ दशक पहिले आएका क्युबन हुन् वा चार दशकअगाडि आएका भियतनामी, उनीहरूको पछिल्लो पुस्ताको राजनीतिक झुकाव भने अलिक फरक छ।
प्यु रिसर्चले गरेको २०१३ को एक सर्वेक्षणअनुसार ६४ प्रतिशत रजिस्टर्ड क्युबन मतदाताले आफूलाई रिपब्लिकन भन्थे भने अहिले त्यो संख्या ४७ प्रतिशतमा झरेको छ। कुनैबेला रिपब्लिकनको पकड मानिन्थ्यो– फ्लोरिडा। यहाँ पनि नयाँ पुस्ताका क्युबनमा रिपब्लिकनप्रतिको झुकाव कम छ। प्यु रिसर्चको तथ्यांकअनुसार फ्लोरिडामा अहिले १८ देखि ४९ वर्षका ५६ प्रतिशत र ५० वर्ष माथिका ३९ प्रतिशतले आफूलाई डेमोक्रेट बताउँछन्।
भियतनामी-अमेरिकनको सन्दर्भमा पनि प्युको तथ्यांकअनुसार ५० वर्षमाथिका ६८ प्रतिशत मतदाताले आफूलाई रिपब्लिकन मान्छन् भने ५० मुनिका ५८ प्रतिशतले आफूलाई डेमोक्रेट भन्छन्।
आप्रवासी समुदायले रिपब्लिकन या डेमोक्रेटमध्ये कसलाई समर्थन गर्ने भन्ने कुरा धेरै हदसम्म यी दुई पार्टीका नीति तथा कार्यक्रमले तय गर्छ। साथसाथै, आफूलाई श्वेत अमेरिकाले कसरी व्यवहार/दुर्व्यवहार गर्छ भन्ने कुराले पनि फरक पार्छ।
ट्रम्पको उदयसँगै अश्वेत आप्रवासीले आफूलाई रिपब्लिकनको निशानामा परेको महसुस गरेका छन्। ट्रम्प र उनका समर्थकले व्यक्त गर्ने जातीय अभिव्यक्तिले युवा पुस्ता–हिस्पेनिक हुन् या एशियन मूलका–लाई डेमोक्रेटतिर धकलेको छ।
अहिलेको अमेरिकी राष्ट्रपति निर्वाचनमा भुटानी शरणार्थीको भूमिका पनि प्रभावशाली देखिन्छ। उनीहरूमध्ये कोही रिपब्लिकन छन् त कोही डेमोक्रेट। उनीहरूले फरक–फरक दलमा लागेर राजनीति पनि गरिरहेका छन्। जस्तो: न्यु ह्याम्सयरबाट डेमोक्रेटको टिकटमा सुरज बुढाथोकी र टेनिसीबाट रिपब्लिकनको टिकटमा योग नेपाल ‘स्टेट एसेम्ब्ली’ भिड्दै छन्।
भुटानी शरणार्थीले विशेषगरी पेन्सिलभानिया र जर्जियामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। जर्जियामा भुटानी शरणार्थी लगभग पाँच हजारको हाराहारीमा भए पनि दुई दलको कडा प्रतिस्पर्धामा उनीहरूको मतले फरक पारिदिन सक्छ। पेन्सिलभानिया अहिले कमला ह्यारिस र डोनाल्ड ट्रम्प दुवैका निम्ति असाध्यै महत्त्वपूर्ण मानिएको छ र उनीहरूले आफ्नो महत्त्वपूर्ण समय त्यहीँ खर्च गरिरहेका छन्। त्यहाँको ह्यारिसवर्ग शहरमा मात्र भुटानी शरणार्थीको संख्या लगभग ५० हजार रहेको र उनीमध्ये धेरैसँग मताधिकार रहेको लेखक तथा भुटानी शरणार्थीको हक हितमा काम गरेका डा. डीएनएस ढकाल बताउँछन्। उनी भन्छन्, “यो दुई राज्यमा उनीहरूको मतले नतिजा फरक पार्न सक्छ। यसलाई भुटानीको पकेट क्षेत्र मानिन्छ।”
ढकालका अनुसार दुवै राज्यमा दुवै दलले भुटानी शरणार्थीलाई आफ्नो पक्षमा ल्याउन लबिइङसमेत गरिरहेका छन्। तर भुटानी शरणार्थीको समर्थन ह्यारिस या ट्रम्पमध्ये एकलाई मात्र छ भनियो भने गलत हुने उनले बताए। उनले भने, “उनीहरूले मुद्दा हेरेर मत दिन्छन्। सबैले डेमोक्रेटलाई या सबैले रिपब्लिकनलाई मत दिन्छन् भनियो भने गलत हुन्छ।”
भुटानी शरणार्थीले रिपब्लिकन मन पराउनुको एउटा ऐतिहासिक कारण पनि छ। रिपब्लिकन राष्ट्रपति जर्ज डब्लू बुसले २००६ मा भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वास गराउने निर्णय गरेका थिए। सोही निर्णयअनुसार २००८ देखि भुटानी शरणार्थी अमेरिका जान थालेका हुन्। बुसले लगाएको गुनका कारण भुटानी शरणार्थीमा रिपब्लिकनप्रति सहानुभूति छ।
ओहायोमा पनि भुटानी शरणार्थीको संख्या ठूलो छ। तर यसलाई रिपब्लिकन राज्य मानिन्छ, किनभने यहाँ प्रायः रिपब्लिकनले जित्ने गरेको इतिहास छ। यहाँ भुटानी शरणार्थीको मतले खास ठूलो भिन्नता ल्याउने स्थिति छैन।