कागलगायत चरालाई प्रकृतिको कुचीकारका रूपमा लिइन्छ। यस्ता चराले हाम्रो वातावरण सफा गर्न भूमिका खेलिरहेका हुन्छन्। यी चरामध्ये गिद्धले सढेगलेका र मरेका जीवहरू खान्छन् भने कतिले शिकार गरेर प्राकृतिक सन्तुलनमा योगदान गरिराखेका हुन्छन्।
गिद्धको कुरा गर्ने हो भने नेपालमा ९ प्रकारका गिद्ध पाइन्छन् र यिनीहरू सबैका फरक बानी व्यवहार छन्। कसैले आन्द्रालगायत भित्री भाग मात्र खान्छन्, कुनैले हाड फुटाएर खान्छन्। हाड फुटाएर भित्रको मांसपेशी खाने गिद्धलाई हाडफोर गिद्ध भनिन्छ।
कागको कुरा गर्दा उसले कतै सिनो देख्यो भने गिद्धलाई खबर गर्छ भन्ने गरिन्छ। कुनै मृत जनावरको छाला खोलेरै खान कागलाई अप्ठ्यारो हुने हुँदा गिद्धलाई त्यसका लागि बोलाउँछ भन्ने गरिन्छ। शायद, यसै कारण गिद्ध र कागलाई मामा-भान्जा पनि सामाजिक बुझाई पनि छ।
गिद्धले पनि सिनो देख्नेबित्तिकै आफैँ झम्टेर खाँदैनन्। उनीहरू बढी समुदायमा मिलेर काम गर्ने स्वभावका हुन्छन्। पहिले एउटा गिद्धले आकाशमा सिनोको वरपर फेरो लगाउँछ। क्रमशः धेरै गिद्धले त्यहाँ फेरो लगाउँछन्। उनीहरू कति चनाखो हुन्छन् भने समुदायको ज्येष्ठ र पाको सदस्य सिनो भएको ठाउँमा पहिले उत्रन्छ। कतै आफ्ना शत्रुहरू आसपास छैनन् भनेर बुझ्न बलियो र पाको सदस्य त्यसरी उत्रेको हो। कुनै खतरा नभएको अवस्थामा उसले त्यहाँ सिनो उधिन्न थाल्छ। तब मात्र त्यो स्थान सुरक्षित ठानेर सबै गिद्ध त्यहाँ आएर खान थाल्छन्।
अरू चरा र जीवजन्तुले मासु खाँदा अलि छरपस्ट बनाएर खान्छन्। कुकुर आदिले सिनो खाँदा समुदायसम्म कुहिएको मासुका चोक्टा पुग्दा त्यसले संक्रमण फैलने डर हुन्छ, तर गिद्धले भने हाडैसमेत चम्कने गरी मासु लुछ्छन्। त्यसो हुँदा भोलिका दिनमा सिनोका कारण पानी र जमिनमा कुनै खालको प्रदूषण हुन पाउँदैन।
कागले मुसा तथा साना, कमजोर जीव र चराको शिकारसमेत गरेर खान्छ। ऊ एकदमै अवसरवादी र टाठो जीव हो। काग सर्वाहारी प्राणी हो। मान्छेले फ्याँकेका खानेकुरादेखि फलफूल र गेडागुडीसमेत खान्छ काग।
गिद्धचाहिँ सम्पूर्ण रूपमा स्क्याभेन्ज गर्ने (मरेका जनावर आदिको मासु खाने) प्राणी हो। गिद्धले आफैँ मारेर खाँदैन। सबै प्रजातिका गिद्धको स्वभाव त्यही हो। प्रकृतिले गिद्धलाई दुर्दृष्टिको क्षमता पनि दिएको हुन्छ। मान्छेको भन्दा आठ गुणा बढी देख्ने क्षमता गिद्धमा हुन्छ। त्यसो हुँदा धेरै उचाइबाट पनि गिद्धले मरेका जीवहरू देख्न र छुट्याउन सक्छ। गिद्ध, चिल र बाज प्रकृतिका महत्त्वपूर्ण कुचीकार चरा हुन्।
हाम्रो सम्पूर्ण पारिस्थितिकी प्रणाली (इकोसिस्टम) परागसेचन (पोलिनेसन)मा कागको महत्त्वपूर्ण भूमिका छ। आफूले खाएका फलफूलका बिउ बिस्ट्याएर अन्यत्र पुर्याउनमा कागजस्ता धेरै चराको भूमिका हुन्छ। गिद्धले मूल रूपमा ठूला जनावरका मृत शरीरलाई सफा गर्न मूल भूमिका खेल्यो भने कागले चाहिँ सफाइमा मात्र नभएर बीउबीजन फैलाउन पनि भूमिका निर्वाह गर्यो।
ठ्याक्कै टुक्राटुक्रा जोडेर बनेको साइकलको चेनजस्तै रहेछ इकोसिस्टम। एउटा टुक्रा छुट्दा चेनले काम नगरेझैँ पारिस्थितिकी प्रणालीको कुनै एउटा जीव र वनस्पति छुट्दा पनि समस्या निम्तिरहेको हुन्छ। प्रकृतिमा किरा फट्याङ्ग्रा, कमिला, सर्प, चरा तथा ठूलासाना जीव र वनस्पतिको उत्तिकै भूमिका रहन्छ। एउटा मात्रै हराए या नासिए भने कालान्तरमा प्रकृतिमा असन्तुलन निम्तन्छ। असन्तुलन बढ्दै जाँदा 'मास एक्सिटिङ्सन'मा समेत योगदान पुग्छ।
वनजंगलको इकोसिस्टममा सबै जीव वनस्पति महत्त्वपूर्ण हुन्छ। पैसामा गणना गर्दा हरियो र बलियो रूख मात्रै महत्त्वपूर्ण ठानिएला, तर वातावरण/पर्यावरणका दृष्टिकोणमा मरेको/मक्किएको रूखको पनि भूमिका हुन्छ। त्यहाँ चराहरूले गुँड लगाउन सक्छन्।
नेपालमा १९८० को दशकमा १६ लाखसम्म गिद्ध पाइएकोमा अहिले त्यसको संख्या २० हजार आसपास रहेको बताइन्छ। दक्षिण एशियामै गिद्धको संख्यामा ह्रास आएपछि त्यसको वैज्ञानिक अध्ययन हुँदा घरपालुवा जनावरमा प्रयोग हुने डाइकोफ्लेनेक नामक पेनकिलर औषधि त्यसका लागि जिम्मेवार रहेको पाइयो। त्यो औषधि खुवाइएको सात दिनभित्र गाईगोरुको सिनो खाने गिद्ध मिर्गौला फेल भएर मरेको बुझियो। २०६३ सालमा सो औषधि नेपालमा प्रतिबन्ध लगाइएको छ। डाइकोफ्लेनेकले पारिस्थितिकी प्रणालीको असन्तुलनमा कति भूमिका खेलेको होला, हामी अनुमान गर्न सक्छौँ।
प्रकृतिको कुचीकार गिद्ध अहिले पनि पहिलेभन्दा आकाशमा कम उडिरहेका छन् तर बीचको समयमा भन्दा अहिले तिनको संख्या केही बढेको छ। बीचको समयमा गिद्ध संरक्षणमा काम पनि भए र औषधि माथिसमेत प्रतिबन्ध लगाइयो। अहिले कतै कुनै जनावर मरेको अवस्थामा त्यहाँ गिद्धहरू भेटिन थालेका छन्। जतिखेर गिद्धका संख्या कम भए, त्यस समयमा भुस्याहा कुकुरहरूको संख्या बढेको केही अध्ययनले देखायो।
शहरी क्षेत्रमा, खासगरी वधशाला आसपास मासुका रहलपहल फ्याँकिने डम्पिङ साइटजस्ता क्षेत्रमा धेरै देखिने चरामा कालो चिल पनि हो। काठमाडौँ उपत्यकाको आकाशमा पनि देखिन्छन् ती। उसो त ती शहरी क्षेत्रमा भेटिने चरा हुन्। नेपालले जलविद्युत्मा काम गरिरहँदा, कतिपय क्रस-ट्रान्समिसन लाइनमा काग करेन्ट लागेर मर्ने गरेका छन्। यो दुःखको कुरा हो। यसरी हुने कागको मृत्युदर घटाउन पनि हामीले काम गर्नुपर्छ।
…
आज काग पूजा हो। कागलाई पूजा गर्ने हाम्रो परम्परागत अभ्यास हो, त्यससँग अनेक श्रुति र स्मृति जोडिएका होलान्। तर पृथ्वी, समग्र प्रकृति र इकोसिस्टम लागि सबै जीवजन्तु उत्तिकै महत्त्वका छन्। अलिअलि खेतीपाती र फलफूल खाइदिएर चरा र अन्य जीवजन्तुले नोक्सानी पुर्याउलान् तर तिनले पुर्याउने क्षतिको तुलनामा प्रकृति र वातावरणलाई बढी योगदान पुर्याइरहेका हुन्छन्।
सबै चराको संरक्षणमा हामीले जानेसम्म र सकेसम्म जुटौँ। गुलेली, पासो र मट्याङ्ग्राबाट चरालाई बचाऊँ। प्रकृतिमा भएका चराको बेचबिखनसमेत हुने गरेको हामी देख्ने गर्छौं। चरा वा वन्यजन्तुलाई ल्याएर पिँजडामा राखिएको समेत देखिन्छ। त्यस्तो गलत क्रियाकलाप मानवीय दृष्टिकोणबाट पनि गलत छ। चरा प्रकृतिमै राम्रा र स्वतन्त्र छन्। पशुपक्षीलाई थुनेर तिनको प्राकृतिक व्यवहारबाट तिनलाई विमुख नगराऊँ।
(नेपाल पन्छी संरक्षण संघमा कार्यरत पौडेल चरा तथा जैविक विविधताको अध्ययन, अनुसन्धान तथा संरक्षणमा डेढ दशकयता लागिरहेका छन्। )